ललितपुर महानगरले ग्राउण्ड वाटर रिचार्जलाई अभियानको रूपमा अघि बढाउने
ललितपुर । ललितपुर महानगरले परम्परागत पानीका मुहान संरक्षण गर्न ग्राउण्ड वाटर रिचार्जलाई अभियानको रुपमा अघि बढाउने भएको छ । ललितपुर महानगरको सातौं नगरसभामा आर्थिक वर्ष २०८२/२०८३ को नीति तथा कार्यक्रम पेश गर्दै नगर प्रमुख चिरीबाबु महर्जनले ढुंगेधारा , कुवा, इनार र पोखरीजस्ता स्रोतलाई संरक्षण गर्न विशेष ध्यान दिने बताए । त्यसैगरी निजी जग्गामा रहेका पानीका मुहानहरु संरक्षणका गर्न महानगरले अधिग्रहण गरेर मुहान संरक्षण उनले बताए । खानेपानीको मुहानको संरक्षण, विकास गर्न अन्तरपालिका तथा सरोकारवाला निकायबीच समन्वय गर्ने समेत नीतिमा उल्लेख छ । यसैगरी, खोकना, बुङमती धापाखेल, सुनाकोठीमा खानेपानी व्यवस्थापनका लागि पानीट्याङ्की निर्माणको काम थलिने छ । यसैगरी परम्परा राजकुलो , जलमार्गलाई पुनर्जीवित गर्न र परम्परागत पानीको मुहानको पानी स्रोत विस्तार गर्न आवश्यक कार्य गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।
दरबारमार्गमा जे एण्ड कोको नयाँ लक्जरी स्टोर, नेपालमा पहिलो पटक अर्मानी
काठमाडौं । नेपालको लक्जरी खुद्रा बजारमा नयाँ अध्याय सुरु भएको छ । अग्रणी लक्जरी रिटेलर जे एण्ड कोले काठमाडौंको दरबारमार्गमा आफ्नो नयाँ फ्ल्यागशिप स्टोर भव्य समारोहका बीच उद्घाटन गरेको हो । यससँगै नेपालमा पहिलो पटक विश्वप्रसिद्ध इटालियन फेसन ब्रान्ड एम्पेरियो अर्मानीको औपचारिक प्रवेश भएको छ भने प्रतिष्ठित स्विस ब्रान्ड बालीलाई नयाँ अवधारणासहित पुनः लन्च गरिएको छ । उद्घाटन कार्यक्रममा ख्यातिप्राप्त उद्योगपति राजेन्द्र खेतान र आइरा झुनझुनवालाको उपस्थिति थियो । दरबारमार्गको मुटुमा अवस्थित यस आधुनिक स्टोरले अन्तर्राष्ट्रिय स्तरको ब्रान्ड तथा सेवाहरू नेपाली ग्राहकसमक्ष ल्याउने जे एण्ड कोको प्रतिबद्धतालाई अझ मजबुत बनाएको छ । सुन्दर इन्टेरियर, सुव्यवस्थित डिस्प्ले र उत्कृष्ट ग्राहक सेवा सुविधासहितको यो बुटिकले उच्चस्तरीय किनमेल अनुभव दिने विश्वास कम्पनीले व्यक्त गरेको छ । जे एण्ड कोका प्रबन्ध निर्देशक पंकज झुनझुनवाला भन्छन्, ‘यो विस्तारसँगै हामी नेपालको फेसन बजारमा नयाँ आयाम थप्दैछौं । एम्पोरियो अरमानी ले इटालियन फेसनको शालीनता र सहरी आकर्षण ल्याउँछ भने बालीले आफ्नो समृद्ध स्विस इतिहासलाई आधुनिक डिजाइनसँग समायोजन गरी फर्किएको छ । यी ब्रान्डहरूलाई एउटै छानामुनि नेपाली ग्राहकसमक्ष ल्याउन पाउँदा हामी गौरवान्वित छौं । नेपालमा पहिलो पटक भित्रिएको एम्पोरियो अरमानीले परिष्कृत डिजाइन, न्यूनतावाद र आधुनिक सहरी फेसनलाई नेपाली युवापुस्ताको लागि सजिलै उपलब्ध गराउनेछ । त्यसैगरी, बाली ले आफ्नो हस्तकला परम्परा र स्विस उत्कृष्टतालाई नयाँ डिजाइन दृष्टिकोणमा पुनः प्रस्तुत गर्दै लक्जरी सौन्दर्यमा नयाँ युगको संकेत दिएको छ । उद्घाटन समारोहमा फेसन, व्यापार र जीवनशैली क्षेत्रका चर्चित व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो। यसले जे एण्ड को लाई नेपालको लक्जरी खुद्रा बजारमा ट्रेन्डसेटरको रूपमा थप सुदृढ पारेको छ। जे एण्ड को नेपालमा लक्जरी खुद्रा व्यापारको अग्रणी नाम हो । यसले विश्वप्रसिद्ध घडी, फेसन र जीवनशैली ब्रान्डहरू नेपाली बजारमा ल्याउँदै आएको छ।
ललितपुर महानगरले कलेज अफ आर्ट स्थापना गर्ने
ललितपुर । ललितपुर महानगरले कलेज अफ आर्ट स्थापना गर्ने भएको छ । ललितपुर महानगरको सातौं नगरसभामा आर्थिक वर्ष २०८२/२०८३को नीति तथा कार्यक्रम पेश गर्दै नगर प्रमुख चिरीबाबु महर्जनले हस्तकलाको संरक्षण र सम्वर्द्धनका लागि कलेज स्थापना गर्ने बताए । उनले भने, ‘सरोकारवाला र सम्बन्धित निकायसँग छलफल गरेर हस्तकलासम्बन्धी औपचारिक शिक्षाका लागि कलेज स्थापना गर्नेछौं । ’ लोप हुन लागेका सीप र कला संरक्षण सम्वर्द्धनका लागि सीप हस्तान्तरण र पुस्तान्तरण सम्बन्धी कार्यलाई पनि प्राथमिकतामा राखेर काम गर्ने उनले बताए ।
रियल सेक्टर विस्तार गर्नु अहिलेको अपरिहार्यताः योजना आयोग सदस्य श्रेष्ठ
काठमाडौं । राष्ट्रिय योजना आयोगका सदस्य प्रकाशकुमार श्रेष्ठले रियल सेक्टर विस्तारमैत्री मौद्रिक नीति ल्याउनुपर्ने बताएका छन् । नबिल बैंकको सहयोगमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले काठमाडौंमा आयोजना गरेको दुई दिने ‘एडभान्स बैंकिङ ट्रेनिङ फर इकोनोमिक जर्नालिष्ट’ कार्यक्रमको शुक्रबार उद्घाटन समारोहमा बोल्दै डा.श्रेष्ठले आर्थिक समृद्धिका लागि रियल सेक्टर विस्तार अपरिहार्य रहेको बताए । उनले आर्थिक शिथितलाको असर बैंकिङ क्षेत्रमा परिरहेको बताए । ‘रियल सेक्टर विस्तार गर्न नसक्दा त्यसको असर बैंकमा पनि देखिन थालेको छ । यसका लागि रियल सेक्टरलाई थप विस्तार गर्नुपर्छ,’ उनले भने । उनले कर्जाको माग बढाउने गरी आगामी मौद्रिक नीति ल्याउनुपर्ने बताए । ‘अहिले पनि बैंकहरुका सात खर्ब रुपैयाँ बराबरको कर्जा योग्य रकम रहेको छ । त्यो अवस्था कर्जाको माग बढाउने गरी आगामी मौद्रिक नीति ल्याउनुपर्ने छ,’ उनले बताए । उद्योग क्षेत्रलाई चलायमान बनाउन सकेमा कर्जाको माग स्वतः बढ्ने उनको भनाइ छ। हाल नेपाल राष्ट्र बैंकले आगामी आर्थिक बर्षको मौद्रिक नीति निर्माणको तयारीमा छ। डा। श्रेष्ठले मौद्रिक नीतिले उद्यम क्षेत्रलाई कर्जा उपयोगमा सहजीकरण गर्ने गरी मौद्रिक नीति आउनुपर्ने बताए । ‘अहिले नबिल बैंकले उद्यमी कर्जा सञ्चालन गरिरहेको छ । यस्तै प्रकारका कर्जालाई अन्य बैंकहरुले प्राथमिकतामा राखेर कर्जा प्रवाह गरेमा समग्र अर्थतन्त्रलाई नै सकारात्मक प्रभाव पार्छ,’ उनले भने । सरकारले पर्याप्त खर्च गर्न नसक्दा आन्तरिक कर्जाको माग बढ्न नसकेको उनले बताए । सरकारी खर्च गर्ने चक्रलाई बिगारेको उल्लेख गर्दै उनले सरकारले वित्तीय खर्चलाई सुधार गर्दै आन्तरिक ऋण पनि बढाउनुपर्ने बताए । यस्तै, उनले आर्थिक पत्रकारहरूको क्षमता बढ्दै गएको बताए । ‘पहिला पत्र पत्रिकामा आर्थिक बिषय बस्तुले प्राथमिकता पाउने थिएनन् । अहिले सञ्चार माध्ययममा आर्थिक समाचारहरु व्यापक रूपमा देख्न पाइन्छ,’ उनले भने, ‘साथै आर्थिक पत्रकारहरुको क्षमता पनि बृद्धि हुँदै गएको देखिन्छ । पहिला आर्थिक बिषयमा बुझेका पत्रकार कम थिए । अहिले यस विषयमा पत्रकारहरू सक्षम हुँदै गएका छन् ।'
आईएमई लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता तथा कर्मचारीलाई आमा हस्पिटलमा ५० प्रतिशतसम्म छुट
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरूलाई अब आमा हस्पिटलमा उपचार सेवा लिँदा ५० प्रतिशतसम्म छुट प्राप्त हुने भएको छ । क्याबिन बेड मा ५० प्रतिशत, जनरल बेडमा ३० प्रतिशत र हस्पिटलका अन्य सेवामा २० प्रतिशतका साथै आकस्मिक एम्बुलेन्स सेवामा कुनै शुल्क नलाग्ने आईएमई लाइफले जनाएको छ । साथै हेल्थ चेकअप प्याकेजमा ४० प्रतिशतको विषेश सहुलियत पनि रहेको छ । उक्त छुट सुविधा प्राप्त गर्नका लागि कम्पनीका बीमितले कम्पनीको मोबाइल एप९आईएमई लाइफ मोबाइल एप० मा रहेको प्रिभिलेज कार्ड देखाइ छुट सुविधा लिन सक्नेछन् । त्यसैगरी अभिकर्ता तथा कर्मचारीले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेसगरी उक्त छुट सुविधाको लाभ लिन सक्नेछन् ।
सानिमा बैंकका ग्राहकलाई गोरखामा मेडिकल चेकअप र फिटनेस सेवामा छुट
काठमाडौं । सानिमा बैंकका ग्राहक र कर्मचारीका लागि गोरखामा स्वास्थ्य र फिटनेस सेवामा विशेष छुटको व्यवस्था गरिएको छ । सानिमा बैंक र गोरखा नगरपालिका- ६ मा अवस्थित संगम मेडिहेल्थ क्लिनिक तथा गोरखा फिटनेस क्लब बीचको सम्झौताअनुसार अब बैंकका सेवाग्राहीहरूले विभिन्न सेवामा २० देखि ५० प्रतिशतसम्मको छुट पाउने भएका छन्। सम्झौता अनुसार संगम मेडिहेल्थमा ल्याब परीक्षण, डेन्टल सेवा, हामेल बडी चेकअप तथा फिजियो थेरापी सेवामा २० प्रतिशत छुट उपलब्ध हुनेछ । यस्तै, गोरखा फिटनेस क्लबमा भर्ना शुल्कमा ५० प्रतिशत छुट र मासिक शुल्कमा २० प्रतिशत छुट दिइनेछ । सो सम्झौतामा सानिमा बैंकको तर्फबाट शाखा प्रबन्धक प्रवीण न्यौपाने र संगम मेडिकल हल तथा गोरखा फिटनेस क्लबका सञ्चालक संगम बाबु श्रेष्ठले हस्ताक्षर गरेका हुन् । सानिमा बैंकले आफ्नो ग्राहकलाई थप सुविधा पुर्याउन देशभर विभिन्न अस्पताल, क्लिनिक र फिटनेस सेन्टरसँग सहकार्य गर्दै आएको छ । गोरखामा भएको यो सहकार्यले बैंकका ग्राहकलाई थप स्वास्थ्य लाभ पुग्ने विश्वास लिइएको छ ।
प्रधानमन्त्रीसँग उपनिर्वाचनबारे निर्वाचन आयोगको परामर्श
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग निर्वाचन आयोग, नेपालले प्रतिनिधिसभा र प्रदेशसभाको रिक्त दुई स्थान, राष्ट्रियसभामा आगामी फागुन २० गते रिक्त हुने १८ स्थानसहित स्थानीय तहको रिक्त स्थानमा निर्वाचन गर्ने विषयमा आज परामर्श गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री ओलीलाई आयोगका कार्यबाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित आयुक्तहरूले भेटेर आगामी कात्तिकको दोस्रो साता प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचन गर्न र राष्ट्रियसभामा आगामी फागुन २० गते रिक्त हुने १८ स्थानका लागि निर्वाचन तय गर्ने विषयमा छलफल गरेको हो । प्रतिनिधिसभाका सदस्यको रुपन्देही क्षेत्र नं. ३ र गण्डकी प्रदेशसभाको मनाङ क्षेत्र नं. १ ९२० को रिक्त सदस्यका लागि कात्तिकको दोस्रो साता निर्वाचन गर्ने गरी नेपाल सरकारको परामर्शमा यही असार १६ गतेभित्र आयोगले मिति तोक्ने तयारी गरेको छ । यसैगरी स्थानीय तहमा १३ वटा वडाध्यक्षको पद रिक्त रहेको आयोगले अवगत गराएको छ । प्रधानमन्त्री ओलीले निर्वाचनका लागि आयोगले गरेको तयारी अनुसार आवश्यक सहजीकरणका लागि नेपाल सरकारका तर्फबाट सहयोग हुने विश्वास दिलाए । उनले संवत् २०८४ को निर्वाचनका लागि गर्नुपर्ने तयारी पनि गर्दै गर्न आयोगलाई सुझाव दिए । भेटका अवसरमा आयुक्तहरू डा. जानकीकुमारी तुलाधार र सगुनशमशेर जबरा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उच्चाधिकारीलगायत सहभागी थिए ।
विद्युत ट्रिपिङप्रति प्राधिकरणलाई सम्वदेनशील हुन उद्योग संगठन मोरङको आग्रह
काठमाडौं । उद्योग संगठन मोरङले नेपाल विद्युत प्राधिकरणलाई विद्युत ट्रिपिङप्रति संवेदनशील हुन आग्रह गरेको छ । संगठनका अनुसार सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगी व्यवसायी हाल दैनिक कयौंपटक भइरहेको ट्रिपिङका कारण प्रताडित भएका छन् । वर्षायाम सुरु भएसँगै विद्युत उत्पादन वृद्धि भई निरन्तर आपूर्ति हुने आश्वासन नेपाल विद्युत प्राधिकरणबाट पाएपनि उनीहरू ट्रिपिङका कारण पीडित भएका हुन् । उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले दैनिक निरन्तर भइरहने ट्रिपिङले उद्योगको मिल मेशिनेरीमा समस्या आएको, उत्पादनको क्रममा रहेको कच्चा पदार्थ खेर गएको, श्रमिकको काम नभई त्यसै राख्नु परेको, जेनेरेटर सञ्चालन गर्नुपर्दा उत्पादन लागत वृद्धि भएको जानकारी दिए । उद्योगी व्यवसायीको गुनासो सम्बन्धित निकायलाई बारम्बार सुनाउँदा समेत समस्या समाधानमा ठोस पहल नभएकोमा उनले चिन्ता व्यक्त गरे । नेपालमा उत्पादन हुने विद्युत भारत तथा बंगलादेश निर्यात गरिरहँदा स्वदेशी उद्योग व्यवसाय ट्रिपिङका कारण लामो समयसम्म हुने विद्युत कटौतीको मार खेप्न बाध्य रहेको उनले बताए । उनले सुख्खायामा विद्युतको अभाव र वर्षायाममा ट्रिपिङको मारले गर्दा उद्योगले ठूलो आर्थिक नोक्सानी बेहोर्नु परिरहेको भन्दै विद्युत आपूर्तिमा देखिने समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्न विद्युत प्राधिकरणलाई संवेदनशील हुन आग्रह गरे ।