३ घण्टा जाममा परेपछि मन्त्री दाहालले दाउन्नेमा चाँडो यातायात खुलाउन ठेकेदारलाई दिए निर्देशन
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले हिलाम्य भएर राजमार्ग अवरुद्ध हुने क्रम बढेपछि दाउन्नेका ठेकेदारसँग छलफल गरेका छन् । शुक्रबार मन्त्री दाहालले सचिव, विभागीय प्रमुख, चिनियाँ ठेकेदार कम्पनी र परामर्शदाताबीच चितवनमा छलफल गरेको उनको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार बिहीबार मन्त्री दाहाल महेन्द्र राजमार्गको स्थलगत अनुगमनका लागि बुटवल हुँदै चितवन फर्किएका थिए । फर्कने क्रममा करिब ३ घन्टा जाममा परेपछि उनले आज बिहान ठेकेदारसँग छलफल गरेका हुन् । मन्त्री दाहालले झरी पर्न सुरु हुन लागेकाले त्यसतर्फ ध्यान दिँदै वर्षाद् सुरु हुनुअघि नै निर्माण कार्य सकेर सवारी आवागमन सहज बनाउन निर्देशन दिएका हुन् । दाउन्ने सडकखण्डमा तत्काल सडक बनाउने र ग्राभेल थपेर यातायात सुचारु हुने व्यवस्था मिलाउने विषयमा चिनियाँ ठेकेदार सहमत भएको सचिवालयले जनाएको छ । अहिले दाउन्ने सडक हिलाम्य हुँदा यातायात अवरुद्ध भएको छ ।
गुणाकर भट्टले दिए राजीनामा, गभर्नर बन्ने सम्भावना बलियो
काठमाडौं । डा. गुणाकर भट्टले नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट राजीनामा दिएका छन् । राष्ट्र बैंकको आगामी गभर्नर बन्ने सम्भावना बलियो भएसँगै उनले कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बुधबार साँझ बसेको बैठकले डा. भट्टलाई गभर्नर बनाउने सहमति भएको थियो । कांग्रेस सभापति देउवाले उनलाई बोलाएर गभर्नर बन्ने संकेत दिएपछि उनले शुक्रबार राजीनामा दिएका हुन् । डा. भट्टले दिएको राजीनामा राष्ट्र बैंक सञ्चालक समितिले पारित गर्नुपर्ने हुन्छ । तर, तत्काल कुनै एजेन्डा नरहेकाले सञ्चालक समिति बैठक आह्वान नगरिएको राष्ट्र बैंक स्रोतले बतायो । ‘उहाँले राजीनामा दिनु भएको हो । उहाँले दिएको राजीनामा राष्ट्र बैंकको गभर्नर कार्यालयमार्फत सञ्चालक समितिले स्वीकृति गर्छ,’ राष्ट्र बैंक स्रोतले भन्यो । साढे २ दशकदेखि राष्ट्र बैंकमा कार्यरत डा. भट्टले विभिन्न विभागको प्रमुखको भूमिका समेत निर्वाह गरेका छन् । हाल उनी आर्थिक अनुसन्धान विभागमा कार्यकारी निर्देशकको जिम्मेवारीमा छन् । डा. भट्टले राष्ट्रिय ऋण व्यवस्थापन विभाग, बैंक सुपरीवेक्षण, बैंक तथा वित्तीय संस्था नियमन विभाग, भुक्तानी प्रणाली विभागको प्रमुख भएर काम गरेका थिए । विस २०५७ सालमा राष्ट्र बैंकमा जागिर सुरु गरेका डा. भट्ट त्रिभुवन विश्वविद्यालयबाट (एमबीए) गोल्ड मेडलिस्ट समेत हुन् । उनले अमेरिकाको विलियम्स कलेजबाट अर्थशास्त्रमा मास्टर्स र अमेरिकाकै वेनी स्टेट विश्वविद्यालयबाट विद्यावारिधि गरेका हुन् । उनीसँग ग्रामीण विकास बैंकको सञ्चालक र नेपाल धितोपत्र बोर्डको सञ्चालक समेत रहेर काम गरेको अनुभव छ । साथै अर्थमन्त्रालयमा आर्थिक सल्लाहकार, विभिन्न समयमा बजेट तर्जुमा गर्न, आर्थिक सर्वेक्षण तर्जुमा गर्न समेत उनले योगदान पुर्याएका छन् । विभिन्न विश्वविद्यालयमा अध्यापनसमेत गरेका उनी हाल कर्जा सूचना केन्द्रको अध्यक्षको भूमिकामा समेत छन् ।
एनसेल एपको नयाँ अफर, १०० रुपैयाँ रिचार्जमै बोनस डेटा पाइने
काठमाडौं। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत अनलाइन रिचार्ज गर्दा बोनस डेटा पाउने भएका छन् । डिजिटल माध्यममार्फत सेवाको प्रयोगलाई प्रोत्साहित गर्ने उद्देश्यले एनसेलले यो नयाँ योजना ल्याएको हो । कम्पनीका अनुसार यो अफर अन्तर्गत, १०० रुपैयाँदेखि २०० रुपैयाँसम्म अनलाइन रिचार्ज गर्दा १ दिनको लागि २०० एमबी डेटा बोनस स्वरूप प्राप्त हुनेछ । त्यसैगरी, २०० रुपैयाँ वा सोभन्दा माथिको रिचार्जमा ३ दिनसम्म मान्य ५०० एमबी बोनस डेटा पाइनेछ । स्क्र्याच कार्ड प्रयोग गरेर गरिएको रिचार्जमा भने यो बोनस लागू हुनेछैन । एनसेलले ग्राहकमैत्री सेवा प्रवाह गर्ने उद्देश्यका साथ एनसेल एपलाई एक आधुनिक सेल्फ–केयर टुल को रूपमा विकास गरेको हो । यस एपमार्फत ग्राहकहरूले सजिलै डेटा, भ्वाइस प्याक, सधैं अन प्याकहरू, प्याक उपहार दिने सुविधा, सेवा प्रयोग विवरण हेर्ने, र रोमिङ सेवाहरू प्रयोग गर्न सक्छन् । एनसेल एपले ग्राहकलाई डेटा र भ्वाइस बीचमा परिवर्तन गर्ने सुविधा पनि दिन्छ, जसले सेवा उपयोगलाई अझ लचिलो बनाउँछ । एनसेल एपमा अन्य उपलब्ध सुविधाहरूमा अनलाइन तथा अफलाइन गेमहरू, अनलाइन समाचार, मासिक बिल विवरण, सेवा सक्रिय वा निष्क्रिय गर्ने विकल्प, र विदेशमा रहेका ग्राहकका लागि सजिलो रिचार्ज तथा सम्पर्क सुविधा उपलब्ध छ । यसले छोटो वा लामो अवधिको लागि विदेश जाने प्रयोगकर्तालाई पनि प्रभावकारी समाधान प्रदान गर्छ । एनसेल एप गुगल प्ले स्टोर र एप स्टोर दुबैबाट डाउनलोड गर्न सकिन्छ । यो एप प्रयोग गरेर ग्राहकहरूले बोनस डेटासहित अन्य विविध डिजिटल सेवाको सहज लाभ लिन सक्नेछन् ।
नेपालमा पहिलो पटक स्काईवेल पाईलट समिट हुँदै, हवाई सुरक्षा र पाइलट एकता प्रवर्द्धन गर्ने
काठमाडौं । नेपालको हवाई क्षेत्रको इतिहासमै पहिलो पटक ‘स्काईवेल पाइलट समिट २०२५’ आयोजना हुने भएको छ । विभिन्न वायुसेवा कम्पनीहरूमा कार्यरत नेपाली पाइलटहरूलाई एउटै छानामुनि संगठित गर्दै पाइलट एसोसिएसन अफ नेपालको स्थापनापछि, आगामी शनिबार काठमाडौंको मल्ल होटलमा यो समिट हुन लागेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री माननीय बद्री प्रसाद पाण्डेको प्रमुख आतिथ्य रहने उक्त समिटमा नेपालका पाइलटहरूको सहभागिता रहनेछ । समिटको टाइटल स्पोन्सरको रूपमा स्काईवेल नेपालमा भर्खरै भित्रिएको, युरोपियन स्ट्यान्डर्डअनुसारको पहिलो इलेक्ट्रिक एसयूभीले साथ दिएको छ । टाइटल स्पोन्सर सम्झौता हस्ताक्षर समारोहमा स्काईवेल नेपालको आधिकारिक आयातकर्ता जी मोटर्सका प्रबन्ध निर्देशक कैलाश बाबु गेलालले पाइलटजस्तो संवेदनशील पेशासँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गर्दै भने, 'पाइलट र स्काईवेल दुवै यात्रुको सुरक्षामा उच्चतम मापदण्ड अपनाउने साझा उद्देश्यमा आधारित छन् ।' स्काईवेल चीनमा निर्मित, ६५ भन्दा बढी देशमा निर्यात हुने, इयु-प्रमाणित इलेक्ट्रिक भेइकल हो, जसले चाइना एनक्याप फाइभ स्टार सेफ्टी रेटिङ प्राप्त गरिसकेको छ । सम्झौतामा हस्ताक्षर गर्दै पाइलट एसोसिएसन अफ नेपालका अध्यक्ष क्याप्टेन लेखनाथ पोखरेलले स्काईवेलको विश्वास र तत्परताप्रति आभार व्यक्त गर्दै भने, 'सुरक्षा र व्यवसायिकतामा दुई प्रतिबद्ध संस्थाबीचको यो सहकार्य नेपालको हवाई क्षेत्रमा प्रेरणादायी बन्नेछ ।' समिटको अवसर पारेर पाइलट एसोसिएसन अफ नेपालको औपचारिक शुभारम्भ घोषणा गरिनेछ । साथै, सन् २०२५ भर आयोजना गरिने जनचेतनामूलक कार्यक्रमहरूको वार्षिक कार्यतालिका (क्यालेन्डर) समेत सार्वजनिक गरिने बताइएको छ ।
'न्यूनतम आधारभूत मागहरूलाई बेवास्ता गरी ऐन आए वा कुनै बहानामा रोकिए सह्य हुँदैन'
काठमाडौं । नेपाल राष्ट्रिय निजामती कर्मचारी सङ्गठनले कर्मचारीका न्युनतम आधारभूत मागहरूलाई बेवास्ता गरी सङ्घीय निजामती सेवा ऐन आएमा सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । शुक्रवार सङ्गठनका अध्यक्ष अम्बादत्त भट्टले कर्मचारीका न्यूनतम आधारभूत मागहरूलाई बेवास्ता गरेर ऐन आए वा विभिन्न बहानामा ऐन रोकिए सहन नसक्ने चेतावनी दिए । उनले आफूहरूको आन्दोलनमा ऐन जारी नगर्दासम्म निरन्तर रहने चेतावनी दिएका हुन् । उनले आफूहरू विगत १० वर्षदेखि आन्दोलनमा रहेको बताउँदै अब आन्दोलनको स्वरूप परिवर्तन गर्दै ऐन जारी गरेरै मात्रै आन्दोलनबाट विश्राम लिने बताए । अध्यक्ष भट्टले भने, 'कर्मचारीका न्युनतम आधारभुत मागहरूलाई बेवास्ता गरेर ऐन आयो भने र अनन्तकालसम्म विभिन्न बाहानमा ऐनलाई रोक्ने काम गरियो भने अब हामी सहन सक्दैनौँ भनेर आन्दोलनमा उत्रिएका छौं । अबको आन्दोलन हामी ऐन जारी नगर्दासम्म पछाडि फर्कने अवस्था छैन । कदापि पनि हामी धमिलो पानीमा माछा मारेका छैनौँ । विगत १० वर्षसम्म हामी आन्दोलनमै छौं । अब हामी आन्दोलनको स्वरूप परिवर्तन गर्दै ऐन जारी गरेर मात्रै आन्दोलनबाट विश्राम लिनेछौं।’ सङ्गठनका अध्यक्ष भट्टले वैशाख ११ गतेभित्र आफूहरूले उठाएका मागसहित विधेयकलाई राज्य व्यवस्था तथा सुशासन समितिमा पेस गर्नुपर्ने र आगामी संसद्को अधिवेशनबाट पास गर्नुपर्ने बताए । उनले सरकारले कर्मचारीका आधारभुत मुद्दा र भावनालाई कदर नगरे त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार स्वयं सरकार नै हुने चेतावनी दिए । उनले भने, 'सङ्घ, प्रदेश र स्थानीय तहमा रहनुभएका राष्ट्रसेवक साथीहरूलाई हामी यो ऐन जारी गरेर मात्रै विश्राम लिनेछौं । त्यसको लागि तपाईंहरू तम्तयार भएर बस्नको लागि आग्रह गर्दछु । ११ गतेभित्र राज्य व्यवस्था तथा सुशासन समितिले हामीले उठान गरेका ८४ बुँदे र पछिल्लो समय हामीले ब्रेक डाउन गरेका १० बुँदेलाई समावेश गरेर सङ्घीय निजामती विधेयक सदनमा पेस गरियोस् र संसद्बाट पास गरेर कर्मचारीका आधारभुत मुद्दाहरूलाई सम्बोधन गरियोस् ।अन्यथाः यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार स्वयं सरकार हुनेछ ।’ अध्यक्ष भट्टले आफूहरूका मागहरू राज्यलाई व्ययभार पार्ने खालका नभई दीर्घकालीन महत्वका रहेको जिकिर गरे । उनले आफूहरू लोकसेवा परीक्षा उत्तिर्ण गरी आएका सचेत नागरिक रहेको बताउँदै जनताको सेवा र राष्ट्रको अवस्था हरेर मागहरू राखिएको धारणा राखे । सङ्गठनले वैशाख ११ गते सम्म संसदीय समितिमा विधेयक पेश नभए आन्दोलनमा होमिन बाध्य हुने चेतावनी दिएको छ ।
सुनको मूल्य तोलामा ८ सयले गिरावट
काठमाडौं । सुनको मूल्यमा सामान्य गिरावट आएको छ । बिहीबार हालसम्मकै उच्च मूल्यमा पुगेर प्रतितोला एक लाख ९० हजार छ सय रुपैयाँमा कारोबार भएको सुन आज तोलामा आठ सय रुपैयाँ घटेको छ । आज सुन प्रतितोला एक लाख ८९ हजार छ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, चाँदी एक हजार नौ सय ६० रुपैयाँमा किनबेच हुनेछ । यो मूल्य आज पनि स्थिर रह्यो । अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार तीन सय १५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।
बीवाईडी सिगलले जित्यो २०२५ को ‘वर्ल्ड अर्बन कार अफ द इयर’ अवार्ड
काठमाडौं । बीवाईडीको नयाँ इलेक्ट्रिक मोडल सिगलले २०२५ वर्ल्ड अर्बन कार अफ द इयर को उपाधि जित्न सफल भएको छ । अमेरिकाको न्युयोर्कमा अप्रिल १६ मा सम्पन्न न्युयोर्क इन्टरनेसनल अटो शोमा आयोजित वर्ल्ड कार अवार्ड कार्यक्रममा यो सम्मान घोषणा गरिएको हो । कम्पनीका अनुसार विश्वभरका ११ उत्कृष्ट अर्बन सवारीसाधनहरूसँग प्रतिस्पर्धा गर्दै बीवाईडी सिगलले यो अवार्ड जित्दै इतिहास रच्यो । यो अवार्ड जित्ने बीवाईडी पहिलो चिनियाँ अटोमोबाइल कम्पनी बनेको छ, जसले विश्व बजारमा चिनियाँ इलेक्ट्रिक कारको उपस्थिति बलियो बनाएको छ । बीवाईडी सिगलको डिजाइन 'ओसन एस्थेटिक्स' दर्शनमा आधारित छ, जसले यसलाई ताजा, आकर्षक र आधुनिक बनाएको छ । उच्च सुरक्षा मापदण्ड, स्मार्ट ड्राइभिङ फिचरहरू र उत्कृष्ट अर्बन परफर्मेन्सका कारण यो मोडल विभिन्न अन्तर्राष्ट्रिय बजारहरूमा बेस्ट सेलर बन्न सफल भइरहेको छ । वर्ल्ड कार अवार्डका ९६ जना अन्तर्राष्ट्रिय निर्णायकहरू सिगलको अग्रगामी डिजाइन, अर्बन मोबिलिटी प्रदर्शन, र विश्वव्यापी बजार अपिलबाट प्रभावित भएका थिए । बीवाईडीका एक्जिक्युटिभ भाइस प्रेसिडेन्ट स्टेला ली भन्छिन्, 'सिगललाई ‘वर्ल्ड अर्बन कार’ को उपाधि प्राप्त हुनु हाम्रो लागि अत्यन्तै गर्वको विषय हो । यसले विश्वभरका ग्राहकलाई दिगो प्रविधि र उत्कृष्ट सेवामा हाम्रो प्रतिबद्धता पुष्टि गर्छ ।' बीवाईडीले पछिल्ला वर्षहरूमा अन्तर्राष्ट्रिय बजारमा उल्लेख्य उचाइ लिँदै आएको छ । २०२४ मा बीवाईडी डल्फिन पनि अर्बन कार अफ द इयरको शीर्ष ३ मा पर्न सफल भएको थियो भने बीवाईडी सिल 'वर्ल्ड कार अफ द इयर' कै शीर्ष ३ मा पुगेको थियो, जुन कीर्तिमान अहिलेसम्म कुनै चिनियाँ अटो निर्माता कम्पनीले हासिल गर्न सकेको थिएन । नेपालमा बीवाईडीको आधिकारिक वितरक साइमेक्स इन्कले पहिले नै बीवाईडी सिगलको परीक्षण नेपाली सडकमा गरिसकेको छ । कम्पनीले छिट्टै यसलाई नेपालमा औपचारिक रूपमा सार्वजनिक गर्ने संकेत दिएको छ । नेपालमा यो मोडल निकै प्रतिक्षित रहेको बताइएको छ । बीवाईडीले आगामी दिनहरूमा पनि प्रविधि र नवप्रवर्तनमार्फत हरित यातायातको भविष्य निर्माण गर्दै पृथ्वीलाई १ डिग्री सेल्सियसको दरले चिसो राख्ने अभियानमा योगदान दिन प्रतिबद्ध रहेको जनाएको छ ।
ईभीमा कडाइ गर्दै चीन : 'स्मार्ट ड्राइभिङ' र 'स्वायत्त ड्राइभिङ' भन्ने शब्द प्रयोगमा रोक
काठमाडौं । चीनले सवारीसाधन निर्माता कम्पनीहरूलाई ड्राइभिङ सहायतासम्बन्धी सुविधाहरूको विज्ञापन गर्दा 'स्मार्ट ड्राइभिङ' र 'स्वायत्त ड्राइभिङ' भन्ने शब्द प्रयोग गर्न निषेध गरेको छ । र त्यस्ता प्रविधि सुधारहरूमाथि नियमहरू कडा बनाउने जनाएको छ । सरकारका अनुसार उद्योग प्रतिनिधिहरूसँगको एक बैठकको प्रतिवेदनमा यस्तो उल्लेख गरिएको हो । यस विज्ञापनसम्बन्धी निर्देशन चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालयले बुधबार झण्डै ६० वटा सवारी कम्पनीका प्रतिनिधिहरूसँगको बैठकमा दिएको हो । यो निर्णय शाओमी कम्पनीको सबैभन्दा धेरै बिक्री भएको एसयू सेभेन सेडानसँग सम्बन्धित घातक दुर्घटनापछि आएको हो । उक्त घटना मार्च महिनामा भएको थियो र जसले सवारीसाधनको सुरक्षाबारे व्यापक चिन्ता उत्पन्न गराएको थियो । प्रारम्भिक अनुसन्धान अनुसार सो कार ९७ किमी प्रतिघण्टाको गतिमा सिमेन्टको पोलमा ठोक्किएपछि आगो लागेको थियो, केही सेकेन्डअघि मात्र चालकले उन्नत ड्राइभिङ सहायता प्रणाली (एडीएएस) बाट नियन्त्रण आफैले लिएको बताइएको छ । मन्त्रालयले बुधबारको बैठकबारे एक संक्षिप्त वक्तव्यमा पुष्टि गर्दै भन्यो कि फेब्रुअरीमा प्रकाशित नयाँ नियमबारे सवारीसाधन कम्पनीहरूलाई स्पष्ट जानकारी दिइएको हो, जसमा स्मार्ट सवारीसाधनको ओभर-द-एयर (ओटीए) प्रविधि सुधारसम्बन्धी प्रावधानहरू समावेश छन् । नयाँ नियमअनुसार कम्पनीहरूले ग्राहकलाई डेलिभरी भइसकेका सवारीसाधनहरूमा अनुमति बिना ओटीएमार्फत एडीएएस प्रणाली परीक्षण तथा सुधार गर्न नपाउने छन् । अब कम्पनीहरूले सो प्रणाली विश्वसनीय छ भन्ने कुरा पर्याप्त परीक्षणद्वारा प्रमाणित गर्नुपर्नेछ र त्यसपछि मात्र सम्बन्धित अधिकारीहरूबाट स्वीकृति लिएर सार्वजनिक रूपमा लागू गर्न पाउनेछन् । बैठकमा सहभागी कम्पनीहरूमा हुवावे पनि थियो, जसले अडीसहित सातभन्दा बढी ब्रान्डलाई एडीएएस प्रविधि आपूर्ति गर्छ । हुवावेले टिप्पणीका लागि गरिएको अनुरोधमा तत्काल प्रतिक्रिया दिएको थिएन । यो नियामक कदम सवारीसाधन कम्पनीहरू स्मार्ट ड्राइभिङ विशेषताका साथ नयाँ मोडेलहरू सार्वजनिक गर्दै तीव्र प्रतिस्पर्धामा सामेल भइरहेका बेला आएको हो । यो प्रतिस्पर्धा चीनको अटोमोबाइल बजारमा लगातार तेस्रो वर्षसम्म कायम छ । बीवाईडी कम्पनीले फेब्रुअरी महिनामा १० हजार अमेरिकी डलरभन्दा कम मूल्यमा २१ भन्दा बढी मोडेल सार्वजनिक गरेको थियो, जसमा 'स्मार्ट ड्राइभिङ' सुविधा निःशुल्क दिइएको थियो । लीपमोटर,टोयोटाजस्ता अन्य कम्पनीहरूले पनि यस्तै सुविधा भएको किफायती मोडेलहरू बजारमा ल्याएका थिए । चीनको सार्वजनिक सुरक्षा मन्त्रालय अन्तर्गतको ट्राफिक सुरक्षा अनुसन्धान केन्द्रले सोमबार भनेको छ कि सहायक ड्राइभिङ सुविधा झुटो वा अतिरञ्जित रूपमा प्रस्तुत गरेर उपभोक्तालाई भ्रममा पार्ने कम्पनीहरूले चीनको विज्ञापन कानुनअनुसार विज्ञापन खर्चको ५ देखि १० गुणासम्म जरिवाना भोग्नुपर्नेछ वा उनीहरूको व्यावसायीक अनुमतिपत्रसमेत रद्द हुन सक्छ । यदि त्यस्तो झुटो विज्ञापनले दुर्घटना र मानवीय क्षति निम्त्यायो भने फौजदारी कानुनअन्तर्गत मुद्दा चल्न सक्ने र दोशीले दुई वर्षसम्मको जेल सजाय भोग्न सक्ने केन्द्रको भनाइ छ । चीनका नियामक निकायहरू इलेक्ट्रिक सवारी प्रविधिमाथि कडाइ गर्न थालेका छन्, किनभने यो उद्योग अपेक्षाभन्दा छिटो बढिरहेको छ । गत वर्षको अन्त्यतिर ईभी तथा हाइब्रिड गाडीहरूको बिक्री कुल सवारी बिक्रीको ५० प्रतिशत नाघेको थियो- जुन लक्ष्य सरकारले तय गरेको समयभन्दा अगावै प्राप्त भएको हो । नियामक निकायहरूले आगलागी तथा विस्फोटको जोखिम कम गर्नका लागि ईभी ब्याट्री सम्बन्धी मापदण्डहरू पनि कडा बनाउँदैछन् । विश्लेषक र उद्योग स्रोतहरूका अनुसार यस्ता कडा नियमले लागत बढाउने, प्रविधिको विकास ढिलो पार्ने खतरा त छ, तर यसले चीनको भीडभाड भएको अटो उद्योगमा बहुप्रतीक्षित समायोजनलाई पनि तीव्रता दिन सक्छ, जसले दीर्घकालीन रूपमा उद्योगलाई सन्तुलनमा ल्याउने सम्भावना छ । घाटैघाटामा मस्क, ट्रम्पले चिनियाँ पार्टपुर्जामा कर बढाउँदा टेस्लाको अमेरिकी उत्पादन योजना प्रभावित ट्यारिफ असर : निसानले अमेरिकामा सबैभन्दा धेरै बिक्री भएको मोडेलको जापानी उत्पादन कटौती गर्ने २५ प्रतिशत अटो ट्यारिफले अमेरिकी अटो निर्माता कम्पनीलाई थप १०८ अर्ब डलर लागत लाग्ने साउदीमा टेस्लाको डेब्यू : मरुभूमिको गर्मी, थोरै चार्जिङ स्टेशन र बीवाईडीसँग प्रतिस्पर्धा