फेसबुक दर्ता नगरे पर्सिसम्म बन्द गछौंः सञ्चारमन्त्री गुरुङ
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले तोकेको म्यादभित्र दर्ता नगरे फेसबुक, इन्स्टाग्रामलगायतका सामाजिक सञ्जाल बन्द गर्ने चेतावनी दिएका छन् । शुक्रबार काठमाडौंमा सञ्चारिका समूह नेपालको ९ औं महाधिवेशन कार्यक्रममा उनले नेपालमा सञ्चालन हुने सबै सामाजिक सञ्जाल प्लेटफर्महरूले नेपालको नियम मान्नुपर्ने भन्दै सरकारले तोकेको म्यादभित्र दर्ता नगरे प्रतिबन्ध गरिने बताएका हुन् । सञ्चार मन्त्रालयले चैत ७ गते सूचना निकालेर एक महिनाभित्र फेसबुक दर्ता हुन आह्वान गरेको थियो । सामाजिक सञ्जाल दर्ताका लागि सरकारले थप गरेको एक महिनाको म्याद सकिन केही दिन बाँकी रहेको भन्दै उनले फेसबुक लगायतका सामाजिक सञ्जाल दर्ता हुन नआएको उल्लेख गरे। उनले सामाजिक सञ्जाल सम्बन्धी कानुन कुनै सञ्चारमाध्यमलाई बन्द गर्नका लागि नभइ नियमन गर्नका लागि ल्याइएको स्पष्ट पारे । उनले भने, ‘हाल दर्तासहित सम्पर्क बिन्दु तोकेको सामाजिक सञ्जाल टिकटक मात्रै छ । अब अरू सामाजिक सञ्जालका लागि पनि टिकटक जस्तै व्यवस्था रहेको छ । त्यसैले छिटोभन्दा छिटो दर्ता गर्ने भनेको हाैं । अब पनि नआए सिधैं बन्द गरिनेछ ।’ मन्त्री गुरुङले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता भत्काउने अभिव्यक्ति दिने सामाजिक सञ्जाललाई कारबाही गर्नकै लागि सामाजिक सञ्जालसम्बन्धी विधेयक ल्याइएको बताए । यस्तै, सामाजिक सञ्जालमा जथाभावी लेख्ने, मनपरी गर्ने कुरा लोकतन्त्र नभएको भन्दै उनले सामाजिक सञ्जाल नियन्त्रण आवश्यक रहेको बताए ।
नेपाली श्रमिकको स्वास्थ्य सुरक्षामा सहयोग गरिदिन युएईसँग मन्त्री पौडेलको आग्रह
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले संयुक्त अरब इमिरेट्स (युएई) सरकारसँग नेपाली श्रमिकको स्वास्थ्य सुरक्षामा सहयोग गर्न आग्रह गरेका छन् । अबुधाबीमा युएईका स्वास्थ्य विभाग अध्यक्ष मन्सुर इब्राहिम अल मन्सुरीसँग शिष्टाचार भेट गर्दै मन्त्री पौडेलले युएईमा ठूलो संख्यामा नेपाली श्रमिक कार्यरत रहेको स्मरण गराउँदै उनीहरूको स्वास्थ्य हकको प्रत्याभूति गर्न दुई देशबीच सहकार्य आवश्यक भएको बताए । 'प्रस्थान गर्नु अघि र फर्किएपछि श्रमिकहरूको स्वास्थ्य सुरक्षाका लागि नेपाल सरकारले विभिन्न कदम चालेको छ । युएई सरकारको सहयोग प्राप्त भएमा यसलाई अझ प्रभावकारी बनाउन सकिन्छ,' मन्त्री पौडेलले भने । भेटमा उनले नेपालमा स्वास्थ्य प्रणालीलाई डिजिटल प्रविधिमार्फत अगाडि बढाउने, सर्वसुलभ स्वास्थ्य बीमा प्रणाली कार्यान्वयन गर्ने तथा मृगौला डायलसिस केन्द्रको स्तरोन्नति र अंग प्रत्यारोपण सेवाको विस्तारका लागि युएई सरकारसँग सहकार्यको प्रस्ताव राखेका थिए । युएईका स्वास्थ्य विभाग अध्यक्ष मन्सुरीले नेपाली श्रमिकको योगदानको उच्च प्रशंसा गर्दै युएई नेपालसँग स्वास्थ्य क्षेत्रमा सहकार्य गर्न इच्छुक रहेको बताए । उनले भने, 'सम्झौता गरेर सहकार्य अगाडि बढाउन सकिन्छ, तर नेपाल सरकारले लगानीमैत्री कानूनी र नीतिगत वातावरण तयार गर्नुपर्छ ।' भेटमा युएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीसमेत सहभागी थिए । मन्त्री पौडेल युएईमा आयोजना हुने ‘नेपाल फेस्टिभल’ कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुँदैछन्, युएईस्थित नेपाली दूतावासले जनाएको छ ।
निजामती कर्मचारीको ६० वर्षे सेवा अवधि बनाए वार्षिक ६० अर्ब रुपैयाँ बचत हुने
काठमाडौं । अर्थ सचिव घनश्याम उपाध्यायले निजामती कर्मचारीको अवकाश उमेर ५८ वर्षबाट बढाएर ६० वर्ष पुर्याउनुपर्ने सुझाव दिएका छन् । उनले सेवा अवधिमा दुई वर्ष थप गरे वार्षिक ६० अर्ब रुपैयाँसम्म बचत हुन सक्ने दाबी गरेका छन् । शुक्रबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सचिव उपाध्यायले मुलुकको अर्थतन्त्रको अवस्थालाई ध्यानमा राखी अनावश्यक पद सिर्जना नगर्नुपर्ने तर्क राखे । उनले भने, 'अतिरिक्त सचिव नेपालको सन्दर्भमा असफल अभ्यास हो। यसले निर्णयको तह पनि बढाउँछ, खर्च पनि बढाउँछ ।' उनका अनुसार ३० वटा अतिरिक्त सचिव पद थप्दा मात्रै वार्षिक ७ करोड रुपैयाँ खर्च थपिने देखिन्छ। त्यसैले सहसचिवको समयमै बढुवा सुनिश्चित गर्न सचिव र मुख्य सचिवको सेवा अवधि एक-एक वर्षले घटाउन सकिने प्रस्ताव उपयुक्त देखिएको उनको भनाइ थियो । सचिव उपाध्यायले सहायक सचिव र उपसचिव तहमा विगतमा भएका अभ्यासबाट सिकेर अब अतिरिक्त सचिवजस्ता पद सिर्जना नगर्नुपर्नेमा जोड दिए । उनले भने, 'हामीले यहाँ जति छलफल गरे पनि सचिवको पद घटाउन सक्ने अवस्थामा छैनौं । सहसचिव ११–१२ वर्षभित्र सचिवमा बढुवा हुन्छन् । त्यसैले समयवद्ध बढुवाको प्रवाह कायम राख्नका लागि सचिवको कार्यकाल घटाएर व्यवस्थापन गर्न सकिन्छ ।' उनले कर्मचारीतन्त्रमा सुधारका नाममा खर्चिलो संरचना थप्नेभन्दा सन्तुलन र कार्यक्षमता वृद्धि गर्ने उपाय रोज्नुपर्नेमा जोड दिए ।
६६ प्रतिशतले बढे बीमा सर्भेयर, कति छन् सक्रिय ?
काठमाडौं । बीमा व्यवसायमा क्षति मूल्यांकनकर्ताको रूपमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेका बीमा सर्भेयरको संख्या पछिल्लो सात आर्थिक वर्षमा उल्लेखनीय वृद्धि भएको देखिन्छ । सात आवमा बीमा कम्पनीहरूमा सर्भेयरको संख्या ६६.६६ प्रतिशतले बढेको छ । नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार आव २०७४/७५ मा बीमा सर्भेयरको संख्या ४१६ थियो । उक्त संख्या आव २०८०/८१ मा वृद्धि भएर १ हजार २४८ पुगेको छ । तथ्यांकअनुसार आव २०७४/७५ देखि आव २०७७/७८ सम्म बीमा सर्भेयरको संख्या ४ सय को हाराहारीमा थियो भने आव २०७८/७९ मा आइपुग्दा सो संख्यामा वृद्धि भएर १ हजार २ सयको हाराहारीमा पुगेको देखिन्छ । त्यसपछिका वर्षमा भने बीमा कम्पनीहरूमा त्यही संख्याकै हाराहारीमा सर्भेयरको संख्या रहेको तथ्यांक छ । आव २०७५/७६ मा ४३५ बीमा सर्भेयरको संख्या रहेकोमा आव २०७६/७७ मा सो संख्यामा केही कमी आएको देखिन्छ । उक्त आवमा ३५६ जना सर्भेयर बीमा कम्पनीमा संलग्न छन् । आव २०७९/८० मा १२ सय ४० जना सर्भेयरको संख्या पुगेको छ । उक्त आवमा साविकको बीमा समितिले धेरै सर्भेयरहरुको तालिम र अनुमतिपत्र प्रदान गरेकाले सर्भेयरको संख्यामा उल्लेखनीय वृद्धि हुन गएको नेपाल बीमा प्राधिकरणले जनाएको छ । सक्रिय बीमा सर्भेयर नेपाल बीमा प्राधिकरणले बीमा सर्भेयरलाई इजाजतपत्र (लाइसेन्स) दिने र नवीकरण गर्दै आएको छ । हाल बीमा कम्पनीमा आवद्ध १ हजार २४८ बीमा सर्भेयर प्राधिकरणमा नवीकरण भएका सर्भेयरको संख्या हो । तीमध्ये कतिजना नियमित रूपमा सक्रिय भएर काम गरिरहेका छन् भन्ने यकिन तथ्यांक नभएको प्राधिकरणका सूचना अधिकारी निर्मल अधिकारीले बताए । बीमा सर्भेयरको लागि अहिले बीमा ऐन २०८१ मा वार्षिक रूपमा नवीकरण गर्नुपर्ने व्यवस्था गरेको छ । यो व्यवस्था लागू भएसँगै सक्रिय सर्भेयरको संख्यामा वृद्धि हुने उनको भनाइ छ । सर्भेयरको आवश्यक योग्यता बीमा व्यवसायमा क्षति मूल्यांकनकर्ताको रूपमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने व्यक्ति बीमा सर्भेयर हुन् ।सर्भेयरले क्षति भएको घटनास्थलमा गएर क्षतिको मूल्यांकन गरेपछि त्यसको आधारमा दाबी भुक्तानी दिने गर्छ । बीमितले आफ्नो सम्पति क्षति भएको कुरा बीमकलाई जानकारी गराएपछि सम्बन्धित कम्पनीले क्षतिको मूल्यांकनको लागि सर्भेयरलाई खटाउन गर्दछ । बीमा सर्भेयर बन्नको लागि बीमा प्राधिकरणले बीमा नियमालीमार्फत निश्चित मापदण्ड तोकेको छ । बीमा नियमावली २०८१ को दफा ४६ अनुसार बीमा सर्भेयर बन्नको लागि इन्जिनियरिङ विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने छ । त्यसबाहेक चार्टर्ड एकाउन्टेन्टेन्सी परीक्षा उत्तीर्ण हुनुपर्ने, स्नातक उपाधि हासिल गर्नुका साथै कुनै पनि जीवन बीमा कम्पनीमा वा प्राधिकरणमा १० वर्ष अधिकृतस्तरको पदमा काम गरेको हुनुपर्ने छ । इन्टर्नसीप गर्नुपर्ने बीमा सर्भेयरको इजाजतपत्र (लाइसेन्स) प्राप्त गर्नुअघि निवेदकले कम्तीमा तीन महिना सम्बन्धित विषयको सर्भेयर वा बीमकमा इन्टर्नसीप गर्नुपर्ने हुन्छ । लाइसेन्स नवीकरण बीमा सर्भेयरले लाइसेन्स नवीकरणको लागि लाइसेन्सको अवधि समाप्ति हुनु अगावै बीमा सर्भेयर भई कार्य गरेको विवरण तथा कागजात संलग्न गरी प्राधिकरणमा निवेदन दिनुपर्ने हुन्छ । बीमा सर्भेयरको ऐनको दफा ९४ को उपदफा (१) बमोजिमको अवधिभित्र नवीकरणको लागि निवेदन नदिएमा विलम्ब शुल्क तिरी नवीकरणको लागि निवेदन दिन पाइने व्यवस्थासमेत नियमावलीमा छ । कार्य अनुभवका आधारमा बीमा सर्भेयरहरूलाई तहगत आधारमा वर्गीकरण गरिएको हुन्छ । बीमा सर्भेयरको लाइसेन्स नवीकरणको लागि सर्भेयरले इजाजतपत्रको अवधि समाप्त हुनु अगावै बीमा सर्भेयर भई कार्य गरेको विवरण तथा कागजात संलग्न गरी प्राधिकरणमा निवेदन गर्नुपर्ने छ । संस्थागत सर्भेयरको हकमा लाइसेन्स प्राप्त गर्नको लागि सो कम्पनीको सञ्चालक, कार्यकारी प्रमुख वा उच्च व्यवस्थापकमध्ये कम्तीमा एक जनाले बीमा सर्भेयरको सम्बन्धित विषयको तालिम लिई परीक्षा उत्तीर्ण गरेको हुनुपर्ने छ । संस्थागत सर्भेयरले आफूले गर्ने सर्भेसँग सम्बन्धित विषयमा सर्भेयरको लाइसेन्सप्राप्त व्यक्तिलाई काममा लगाउन सक्ने प्रावधान छ । सर्भेयरले गर्न पाउने सर्भेको सीमा प्राधिकरणले निर्धारण गरे बमोजिम हुने नियामवलीमा उल्लेख छ । त्यस्तै, सर्भेयरको पारिश्रमिक पनि प्राधिकरणले निर्धारण गरेको मापदण्डको आधारमा बीमकले तोक्न सक्ने व्यवस्था नियमावलीमा छ । नियमावलीअनुसार प्राधिकरणले सर्भेयरलाई तीन प्रकारमा वर्गीकरण गरेको छ । प्राधिकरणले तोकेको न्यूनतम रकम र संख्या बराबरको सर्भे गरी कम्तीमा १५ वर्ष काम गरेको सर्भेयरलाई ‘क’ वर्गमा वर्गीकरण गरेको छ । प्राधिकरणले तोकेको न्यूनतम रकम र संख्या बराबरको सर्भे गरी कम्तीमा ७ वर्ष काम गरेको सर्भेयरलाई ‘ख’ वर्गमा र प्राधिकरणबाट लाइसेन्स लिई ‘क’ र ‘ख’ बमोजिमको योग्यता पूरा नभएको सर्भेयरलाई ‘ग’ वर्गमा वर्गीकरण गरेको छ । संस्थागत सर्भेयरको भने वर्गीकरण गरिएको छैन ।
भाटभटेनी समूहको स्वामित्वमा रहेको ललितपुर सिटी लिग चरणमा ‘अजेय’
काठमाडौं । लगातार दोस्रो उपाधिका निम्ति दृढ ललितपुर सिटी एफसीले नेपाल सुपर लिग (एनएसएल) २०२५ को लिग चरण शीर्ष स्थानमा रहँदै टुंग्याएको छ । भाटभटेनी समूहको स्वामित्वमा रहेको ललितपुर सिटी एफसीले एनसेल एनएसएल २०२५ को लिग चरणमा पहिलो स्थान सुरक्षित गर्दै अपराजित यात्रा कायमै राखेको छ । लिग चरणका ६ खेलमा ललितपुर सिटीले १० गोल गरेको थियो भने उसका प्रतिद्वन्द्वीहरूले सिटीमाथि ६ गोल गरेका थिए । लिग चरणमा ६ खेल खेलेको ललितपुर सिटी एफसीले तीन जित र तीन बराबरीसहित १२ अंक जोडेको छ । जारी प्रतियोगिताका सहभागी सात टिममध्ये ललितपुर नै लिग चरणमा सबैभन्दा धेरै अंक जोड्ने टोली हो । यो उत्कृष्ट प्रदर्शनले क्लबको निरन्तरता, रणनीति र जुझारुपनलाई प्रतिबिम्बित गर्ने क्लबको धारणा छ । एनएसएल–२०२३ को विजेता ललितपुर सिटी एफसी अब प्लेअफमा प्रवेश गर्दै दोस्रो उपाधि जित्ने लक्ष्यका साथ अघि बढेको छ । भाटभटेनी समूहको सशक्त नेतृत्व र प्रतिबद्धताको साथ पाएको क्लबले खेलाडी विकास, प्रशिक्षक टोली र समुदायसँगको सम्बन्धमा निरन्तर लगानी गर्दै आएको छ, जसले नेपाली फुटबलमा नयाँ मापदण्ड स्थापित गरेको छ । अपराजित, अडिग, अविरल रहँदै प्रतियोगितामा अघि बढिरहेको ललितपुर अब उपाधिमा केन्द्रित छ । लिग चरणमा अपराजित रहँदा ललितपुर प्रतियोगितामा ‘अजेय टोली’को रूपमा उदाएको छ । यो निरन्तरता र साहसी प्रदर्शन क्लबको एकाग्रता, परिपक्व रणनीति र ‘टिम फर्स्ट’ मानसिकताकै कारण सम्भव भएको क्लबले जनाएको छ । एनएसएल–२०२३ को विजेतासमेत रहेको क्लबले आत्मविश्वास, उत्साह र कुशलतासाथ प्लेअफमा पाइला अघि बढाउँदा सम्पूर्ण देशभरिका फुटबल समर्थकलाई प्रेरणा दिइरहेको छ । क्लबको यो अपराजित लयमा प्रायोजक तथा साझेदारहरूको मुख्य भूमिका रहेको क्लबले जनाएको छ । क्लबलाई एनएसएल–२०२५ मा प्रभु बैंकले मुख्य प्रायोजन गरेको छ । यस्तै, पावर्ड बाइमा एनसेल रहँदा, मुख्य साझेदारमा बीवाईडी छन् भने सह–साझेदारहरूमा पेप्सी, स्मार्ट एन्ड ह्यान्डसम, अल आउट, युनाइटेड अजोड इन्स्योरेन्स र फ्रुट जेम्स रहेका छन् । क्लबले यी सबैलाई केवल प्रायोजकको रूपमा मात्र नभई फुटबलको शक्ति र नेपाली खेलमा गर्वको भावना जगाउने विश्वासका साझेदारका रूपमा मानेको छ । भाटभटेनीले फुटबल मात्र नभई अन्य खेल र खेलाडीलाई पनि प्राथमिकतासाथ सहयोग गर्दै आएको छ । भलिबलकी उषा भण्डारीलाई ब्रान्ड एम्बासडरको रूपमा सम्झौता गरिएको छ । यस्तै, टेनिसकी सिवानी गुरुङ, स्विमिङका ओलम्पियन शिरिष गुरुङ, नेपाली राष्ट्रिय बास्केटबलकी पूर्वकप्तान सदीना श्रेष्ठ, राष्ट्रिय महिला टिमकी मिडफिल्डर प्रीति राईसँग पनि खेल कौशल र व्यक्तित्व विकासका निम्ति भाटभटेनीले सहकार्य र सहयोग गर्दै आएको छ ।
नेपाल एयरलाइन्सले वाइडबडी उडाउने ४ जना पाइलट माग्यो
काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले एयरबस ए३३० वाइडबडी विमान उडाउनका लागि ४ जना पाइलट माग गरेको छ । माग गरिएको पाइलटमध्ये ३ जना प्रशिक्षक पाइलट र १ जना लाइन पाइलट छन् । निगमले एक वर्षे करार अवधिका लागि पाइलट नियुक्त गर्न लागेको हो । इच्छुक उम्मेदवारले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन, युरोपियन युनियन एभिएसन सेफ्टी एजेन्सी, फेडेरेसन एभिएसन एडमिनिस्ट्रेसन वा नेपाल नागरिक उड्डयन प्राधिकरणबाट मान्यता प्राप्त प्रमाणपत्र पाएको हुनुपर्नेछ । विदेशी पाइलटका लागि कम्तीमा एक वर्षको वैध राहदानी भएको प्रमाण हुनु जरुरी छ । प्रशिक्षक पाइलटका लागि कम्तीमा १ हजार घण्टा वाइडबडी एयरबस विमान उडाएको अनुभव आवश्यक छ भने पछिल्लो एक वर्षभित्र वाइडबडी जहाज उडाइरहेको पनि हुनुपर्छ । लाइन पाइलटका लागि भने कम्तीमा ५०० घण्टा ए३३० वाइडबडी विमान उडाएको अनुभव अनिवार्य गरिएको छ ।
भारतमा एक वर्षमै ४३ लाखभन्दा बढी गाडी बिक्री, ६५ प्रतिशत ग्राहकको रोजाइ एसयूभी
काठमाडौं । भारतमा एक वर्षमै यात्रुवाहक सवारीसाधनको थोक बिक्री २ प्रतिशतले बढेर ४३ लाख युनिटभन्दा बढी पुगेको छ । एसयूभी, एमपीभी प्रतिको माग बढेकै कारणले यो बिक्री रेकर्ड बनेको हो । कुल बिक्रीमध्ये एसयूभीको हिस्सा ६५ प्रतिशत रहेको छ । व्यक्तिगत साधनको निर्यात पनि १५ प्रतिशतले बढेर ७.७ लाख युनिट पुगेको छ । उता दुईपाँग्रे सवारीसाधनको बिक्रीमा पनि ९ प्रतिशत वृद्धिको दर देखिएको छ भने व्यावसायिक सवारीको बिक्रीमा सामान्य गिरावट आएको छ । भारतीय अटो उद्योग संस्था सोसाइटी अफ इन्डियन अटोमोबाइल म्यानुफ्याक्चरर्स (एसआईएएम)का अध्यक्ष शैलेश चन्द्राका अनुसार यो राम्रो प्रदर्शनको कारण भनेको बजारमा राम्रो माग, पूर्वाधारमा लगानी र सरकारको नीति नै हुन् । एसआईएएमका अनुसार विगत एक वर्ष- अर्थात् २०२४ अप्रिलदेखि २०२५ मार्चसम्म- यात्रुवाहक सवारीसाधनको थोक बिक्री २ प्रतिशत वृद्धि भई ४३ लाख १ हजार ८४८ युनिट पुगेको छ । अघिल्लो वित्तीय वर्ष २०२३-२४ मा यो संख्या ४२ लाख १८ हजार ७५० युनिट थियो । यस वृद्धिमा सबैभन्दा ठूलो योगदान एसयूभी/एमपीभीहरूको रहेको छ । एसयूभीको लोकप्रियता झन् बढ्दो जनताको रोजाइमा एसयूभी झनै बढिरहेको देखिन्छ । वित्तीय वर्ष २०२४–२५ मा कुल यात्रुवाहक बिक्रीमा ६५ प्रतिशत हिस्सा एसयूभीको रह्यो । अघिल्लो वर्ष (२०२३-२४) यो हिस्सा लगभग ६० प्रतिशत थियो । एसयूभीको बिक्री ११ प्रतिशतले वृद्धि भई २७ लाख ९७ हजार २२९ युनिट पुगेको छ, जुन अघिल्लो वर्ष २५ लाख २० हजार ६९१ युनिट थियो । साधारण कारहरूको बिक्री भने १३ प्रतिशतले घटेर १३ लाख ५३ हजार २८७ युनिट मात्र रह्यो, जुन अघिल्लो वर्ष १५ लाख ४८ हजार ९४७ युनिट थियो । निर्यातमा पनि वृद्धि यात्रुवाहकको निर्यातमा उल्लेखनीय वृद्धि भएको छ । वित्तीय वर्ष २०२४–२५ मा ७.७ लाख युनिट निर्यात गरिएको छ, जुन हालसम्मकै सबैभन्दा उच्च हो। अघिल्लो वर्षको तुलनामा १५ प्रतिशत वृद्धि देखिएको छ । एसआईएएम अनुसार भारतमा बनेका गाडीहरूप्रति अन्तर्राष्ट्रिय माग बढेकाले निर्यातमा वृद्धि भएको हो । दुईपाँग्रे सवारी (बाइक-स्कुटर) को बिक्री पनि बढ्यो दुईपाँग्रे सवारी थोक बिक्री ९ प्रतिशतले वृद्धि भई १ करोड ९६ लाख ७ हजार ३३२ युनिट पुगेको छ । अघिल्लो वर्ष यो १ करोड ७९ लाख ७४ हजार ३६५ युनिट थियो ।
वार्षिकोत्सवमा सिटिजन्स बैंकको सेवा : घरबारविहीनलाई १८ दिन भोजन, सातै प्रदेशमा स्वास्थ्य सेवा
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १८ औं वार्षिकोत्सवको अवसरमा घरबारविहीन र मानसिक सन्तुलन गुमाएका सडक आश्रित व्यक्तिहरूलाई १८ दिनसम्म भोजन वितरण गरेको छ । चैत्र २० गतेदेखि वैशाख ६ गतेसम्म १८ दिन चलाइएको यस अभियानमा काठमाडौंका विभिन्न स्थानमा आश्रय लिएका करिब १ हजार ९०० जनाले लाभ प्राप्त गरेका छन् । भोटु:इन्दिरा समाज कल्याण संस्थासँगको सहकार्यमा सञ्चालन गरिएको भोजन कार्यक्रम जोरपाटी, चाबहिल, बौद्ध, मैतीदेवी, सेतोपुल, पुरानो बानेश्वर, भीमसेनगोला, बत्तीसपुतली, सिनामंगल र गौशालालगायत क्षेत्रहरूमा केन्द्रित थियो । नदी किनार, सडक छेउ र पुलमुनि वस्ने घरबारविहीन व्यक्तिहरूलाई लक्षित गरी दैनिक भोजन वितरण गरिएको बैंकले जनाएको छ । यसै क्रममा, बैंकले चैत्र २ गतेदेखि वैशाख ५ गतेसम्म सातै प्रदेशका विभिन्न स्थानहरूमा निःशुल्क स्वास्थ्य शिविर पनि सञ्चालन गर्यो । शिविरहरू कोशी प्रदेशको हल्दिबारी र महेन्द्रचोक, मधेश प्रदेशको विद्यापति चोक, बागमती प्रदेशको बुढानीलकण्ठ, गण्डकी प्रदेशको अमरापुरी, लुम्बिनी प्रदेशको जीतपुर र हस्पिटल लाइन, कर्णाली प्रदेशको श्रीनगर र दुल्लु, र सुदूरपश्चिम प्रदेशको महेन्द्रनगरमा आयोजित भएका थिए । ती शिविरहरूबाट करिब १,७०० जना बिरामीहरूले निःशुल्क स्वास्थ्य सेवा प्राप्त गरेका छन् । बैंकले आफ्नो प्रत्येक वार्षिकोत्सवमा सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम गर्दै आएको छ । संस्थागत सामाजिक उत्तरदायित्वका माध्यमबाट बैंकले आगामी दिनहरूमा पनि सामाजिक, आर्थिक, सांस्कृतिक र शैक्षिक क्षेत्रमा सकारात्मक प्रभाव पार्ने कार्यक्रमहरू सञ्चालन गर्ने जनाएको छ।