प्रतिनिधिसभाको बैठक बस्दै, खर्च कटौतीको प्रस्तावसमेत पेस हुने
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दै छ । आजको बैठकमा विनियोजन विधेयक, २०८२ को विभिन्न शीर्षकहरू माथिको छलफल जारी रहने छ । सङ्घीय संसद् सचिवालयले तयार पारेको सम्भावित कार्यसूचीअनुसार आजको बैठकमा युवा तथा खेलकुद, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, अर्थ, सहरी विकास मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपति कार्यालय एवं उपराष्ट्रपति कार्यालयको विनियोजनमाथिको छलफल हुनेछ । यस्तै, सांसदहरूले राखेकाे खर्च कटौतीको प्रस्तावसमेत पेस हुनेछ । यसैगरी, सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा अन्तर्गतको विषयगत समितिमा सदस्यहरूको नाम हेरफेर गर्ने छन् । उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची तय भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
मधेशमा छाया अर्थतन्त्र बढी, किसान बिचौलियामा निर्भर
काठमाडौं । नेपाल राष्ट्र बैंकले मधेस प्रदेशका केही आर्थिक चुनौती रहेको उल्लेख गर्दै त्यसको सुधारका लागि सुझावसमेत दिएको छ । केन्द्रीय बैंकले सो प्रदेशका सम्बन्धमा गरेको अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै प्रदेशभित्र हुने आर्थिक गतिविधिलाई औपचारिकीकरण गर्न प्रोत्साहित गरी राजस्वको दायरा बढाउनुपर्ने उल्लेख गरेको छ । स्वास्थ्योपचारका लागि गुणस्तरीय अस्पताल, चिकित्सक तथा विभिन्न स्वास्थ्य उपकरणको राम्रो व्यवस्था नभएकाले अधिकांश सीमावर्ती क्षेत्रका नागरिक भारतीय अस्पतालमा उपचार गराउन जानुपर्ने बाध्यता रहेको र त्यसका लागि भारतीय रुपैयाँको पनि माग अत्यधिक रहेको जनाएको छ । सो प्रदेशका अस्पतालमा आवश्यक उपकरण, दक्ष चिकित्सक, जनशक्ति तथा अन्य स्वास्थ्य उपकरणमा आवश्यक स्रोतसाधनको व्यवस्था गर्नु चुनौतीको रूपमा रहेको अध्ययनमा देखिएको छ । सरकारी विद्यालयहरूको गुणस्तर सुधार, व्यावसायिक तथा प्राविधिक शिक्षालाई प्राथमिकता र ग्रामीण क्षेत्रका स्वास्थ्य केन्द्रहरूलाई आवश्यक स्रोतसाधन उपलब्ध गराउने कार्यलाई पनि चुनौतीका रूपमा देखाइएको छ । प्रदेशमा अवस्थित जनकपुर र वीरगन्जजस्ता ठूला र व्यापारिक शहरलाई शैक्षिक हबका रूपमा विकास गर्दै शैक्षिक गुणस्तरमा सुधार गर्नु आवश्यक रहेकाे राष्ट्र बैंकले जनाएकाे छ । वातावरणीय प्रदूषणलाई नियन्त्रण गर्दै प्रदेशलाई सुन्दर र आकर्षक प्रदेशका रूपमा विकास गर्नका लागि सहरी क्षेत्रका सडकमा जताततै थुप्रने फोहर व्यवस्थापन गर्नुपर्ने सुझाव दिइएको छ । कृषि उत्पादनका लागि उचित बजारमा पहुँच नहुनाले किसान प्रायः बिचौलियामा निर्भर रहेकाले बजारसम्म कृषि उपजको पहुँच विस्तार गर्नु तथा कृषि उपजको उचित मूल्य प्राप्तिको व्यवस्था गर्ने कार्यलाई चुनौतीका रूपमा देखाएको छ । त्यसैगरी, माछा पालनका लागि प्रसिद्ध रहेको जनकपुर तथा परवानीपुरलगायत मत्स्य विकास भइरहेको स्थानमा माछा उत्पादन क्षमता थप अभिवृद्धि गर्नु जरुरी रहेको केन्द्रीय बैंकको अध्ययनले देखाएको छ । परम्परागत रूपमा हुँदै आएको निर्वाहमुखी कृषिलाई आधुनिकीकरण तथा व्यावसायीकरण गर्नु, कृषि क्षेत्रलाई प्रतिस्पर्धी बनाउन मलखादको सुलभ आपूर्ति, उत्पादित अन्नको उचित मूल्य प्राप्ति तथा व्यवस्थापन मिलाउनुका साथै बजारको प्रबन्ध गरी कृषिजन्य क्रियाकलापमा युवाहरूलाई आकर्षित गर्नु जरुरी रहेको छ । प्रदेशका दक्ष जनशक्ति विदेश पलायन हुने प्रवृत्तिमा वृद्धि भएकाले सेवा क्षेत्र सञ्चालनका लागि प्राविधिक, स्वास्थ्यकर्मी, शिक्षक, सूचना प्रविधि विज्ञको व्यवस्था गरी रोजगारीको वातावरण सृजना गर्ने कार्य पनि चुनौतीपूर्ण देखिएको छ । वैदेशिक रोजगारीमा रहेका युवाबाट प्राप्त विप्रेषणलाई स्थानीय तहको समन्वयमा उत्पादन मूलक क्षेत्रमा लगानी गर्नु अत्यावश्यक छ । भौगोलिक तथा धार्मिक सम्पदा, जैविक विविधता आदिको उचित संरक्षण र प्रवर्द्धन गरी पर्यटकीय गन्तव्य क्षेत्रका रूपमा विकास गर्दै जानकी मन्दिर, पर्सा वन्यजन्तु आरक्ष, नजिकै रहेको कोशी टप्पु वन्यजन्तु आरक्ष, सिन्धुलीको युद्ध सङ्ग्रहालय, भरत ताललगायत क्षेत्रको संरक्षण र संवर्द्धन गरेर आर्थिक गतिविधि बढाउनुपर्नेमा केन्द्रीय बैंकले जोड दिएको छ । मधेस प्रदेशमा निर्माण सुरु भएका आयोजना हुलाकी राजमार्ग, काठमाडौं-निजगढ द्रुत मार्ग, राष्ट्रपति चुरे तराई मधेस संरक्षण कार्यक्रम तथा निजगढ अन्तर्राष्ट्रिय विमानस्थलजस्ता राष्ट्रिय गौरवका आयोजना विभिन्न सरोकारवाला निकाय तथा क्षेत्रहरूबीच समन्वय कायम गर्दै निर्धारित लागत र समय तालिकाभित्र सम्पन्न गर्ने कार्य चुनौतीपूर्ण रहेको अध्ययनको ठहर छ । प्रदेशमा वित्तीय साक्षरता अभिवृद्धि गरी सीमान्तकृत वर्गमा वित्तीय पहुँच अभिवृद्धि गर्नु, आर्थिक गतिविधिलाई औपचारिकीकरण गर्न प्रोत्साहित गरी राजस्वको दायरा बढाउनु जरुरी रहेको अध्ययनले देखाएको छ ।
'सेयर बजारको सुधारले अर्थतन्त्रलाई गति दिन्छ'
काठमाडौं । नेपाली अर्थतन्त्रमा सेयर बजारको प्रभावबारे छलफल गर्न मोरङ उद्योग व्यापार संघको आयोजनामा विजटक कार्यक्रम सम्पन्न भएको छ । रोटरी क्लब अफ विराटनगर फ्युजन र रोटरेक्ट क्लब अफ विराटनगरको सहकार्य तथा शुभकामना सेक्युरिटिजको प्रायोजनमा आयोजित कार्यक्रम संघको कार्यालयमा सम्पन्न भयो । कार्यक्रमको संयोजन मोरङ उद्योग व्यापार संघका कार्यकारिणी सदस्य ओम प्रकाश शर्माले गरेका थिए । प्यानलमा मितेरी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत अनन्त चापागाई, विशाल मैदा मिलका प्रबन्ध निर्देशक विकास कुमार बेगवानी, शुभकामना सेक्युरिटिजका प्रोमोटर निखिल अग्रवाल सहभागी थिए । कार्यक्रमको मोडरेसन केतन बोहराले गरे । स्वागत मन्तव्यका क्रममा संयोजक शर्माले नेपालको सेयर बजार विकासको चरणमा भए तापनि अस्थिर रहेको बताए । उनले अस्पष्ट नीतिहरू, नियमनको अभाव र लगानीकर्ताको विश्वास घट्नुले बजारमा अस्थिरता ल्याएको उल्लेख गरे । साथै, उनले आईपीओ प्रक्रिया सरल बनाउने, निजी क्षेत्रको सहभागिता प्रोत्साहन गर्ने र नीतिगत स्पष्टता ल्याउने खालका सुधारबाट दीर्घकालीन स्थायित्व सुनिश्चित गर्न सकिने धारणा राखे । प्यानलमा सहभागी वक्ताहरुले पनि सेयर बजारको वर्तमान अवस्था, चुनौती र सुधारका सम्भावनाबारे आफ्ना विचार राखे । सहभागीहरुद्वारा उठाइएका जिज्ञासामा प्यानल सदस्यहरुले प्रस्टिकरण दिएका थिए । कार्यक्रममा संघका अध्यक्ष अनुपम राठीसहित पदाधिकारी, कार्यसमिति सदस्य, युवा तथा महिला उद्यम समिति, विभिन्न संघसंस्थाका प्रतिनिधि, उद्योगी–व्यवसायी, सेयर लगानीकर्ता, सञ्चारकर्मी र सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रम मकालु टेलिभिजनमार्फत प्रत्यक्ष प्रशारण गरिएको थियो ।
विदेशको नागरिकता लिइसकेकालाई नेपाली नागरिकता दिन सकिँदैन : सभापति देउवा
काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विदेशको नागरिकता लिइसकेकाहरुलाई नेपाली नागरिकता दिन नसकिने बताएका छन् । शनिबार ललितपुरमा आयोजित सुगौली सन्धि र नेपालमा नागरिकता पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले ब्रिटिश गोरखा सैनिकहरुले नेपालको नागरिकता निरन्तरताको माग उठाउनु स्वभाविक भएपनि अर्को देशको नागरिकता लिइसकेपछि नेपालको नागरिकता दिन नसकिने स्पष्ट पारे । अरु कामहरुका लागि एनआरएनलाई दिए सरहको नागरिकता दिन सकिने बताए । नेपाल जस्तो देशमा त्यसरी नागरिकता दिँदा कठिनाइ आइपर्ने बताए । नेपाल फर्किन चाहनेलाई स्वागत गर्न तयार रहेको बताए । ब्रिटिश गोरखा सैनिकबारे समितिमा छलफल जारी रहेकाले संसदबाट निस्कर्ष निस्किने जिकिर गरे । सभापति देउवाले भने, ‘जहाँसम्म गोरखा ब्रिटिश सैनिकलाई बेलायती सैनिक सरह नै सेवा सुविधा दिनुपर्छ भन्ने नेपालको माग छ । त्यसमा म स्पष्ट छु । ब्रिटिश गोरखा सैनिकहरुले नेपालको नागरिकताको निरन्तरता पाउनुपर्ने माग राख्नुभएको छ, यस विषयमा राजनीतिक दलहरुले छलफल गरिरहेका छन् । नेपाल छोड्नुपर्ने विभिन्न बाध्यता छन्, त्यसैले ब्रिटिश गोरखा सरह नै नागरिकता पाउनुपर्छ भन्ने छ ।’ सभापति देउवाले गोरखा सैनिकहरुको इतिहास गर्विलो रहेको बताए । ब्रिटिश गोरखा सैनिकहरु नेपाललाई विश्वमा चिनाउने महत्वपूर्ण माध्यम भएको बताए । नेपाल र बेलायतबीचको सम्बन्ध विस्तार हुनुमा गोरखा सैनिक फौज महत्वपूर्ण रहेको जिकिर गरे ।
टेस्लाद्वारा शाङ्घाइमा नयाँ ‘ग्रिड साइड ऊर्जा भण्डारण’ स्टेशन निर्माण गर्ने सम्झौता
काठमाडौं । अमेरिकी कार निर्माता कम्पनी टेस्लाले शुक्रबार चिनियाँ साझेदारहरूसँग मिलेर शाङ्घाइमा मेगाप्याक ऊर्जा भण्डारण ब्याट्री प्रयोग गरी ग्रिडको लागि ऊर्जा भण्डारण स्टेशन बनाउने सम्झौता गरेको छ । कुल ४ अर्ब युआन (लगभग ५५६ मिलियन अमेरिकी डलर) को लगानीमा भएको यो परियोजनाले टेस्लालाई चीनको तेजीसँग बढिरहेको ऊर्जा भण्डारण बजारमा प्रवेश गर्ने मौका दिएको हो । यसले चीनको विशाल विद्युत् ग्रिडसँग जोडिने सम्भावना पनि बढाएको छ, जुन संसारकै सबैभन्दा ठूलो विद्युत् ग्रिड हो । यो गिगावाट-घण्टा स्तरको ऊर्जा भण्डारण स्टेशन चीनको शाङ्घाइको लिङगाङ विशेष क्षेत्र, चिनियाँ अन्तर्राष्ट्रिय मुक्त व्यापार क्षेत्र (पाइलट फ्री ट्रेड जोन) मा निर्माण हुनेछ । यस सम्झौता अनुसार, टेस्ला, लिङगाङ विशेष क्षेत्रको प्रशासनिक समिति, शाङ्घाइको फेंग्सियान जिल्लाको सरकारी निकाय र चिनियाँ काङफु इन्टरनेशनल लीजिङ कम्पनी लिमिटेडले भाग लिएका छन् । यो टेस्लाको पहिलो ग्रिड साइड ऊर्जा भण्डारण स्टेशन हुने भएकाले यसले चीनको मुख्य भूमिमा स्थापना हुने पहिलो यस्तो परियोजना हो । टेस्लाका चीनका ऊर्जा व्यवसायका महाप्रबन्धक डोंग कुनले भने, 'यस स्टेशनले एकपटक सञ्चालनमा आएपछि, यसले बिजुलीको स्पट ट्रेडिङमा सहभागी भएर स्थानीय ग्रिडमा चरम र कम आवश्यकताहरू बीच सन्तुलन कायम गर्न मद्दत गर्नेछ, जसले ग्रिडको स्थिरता बढाउँछ ।' यसैबीच, टेस्लाले चीन काङफुसँगको सहकार्यलाई अझ विस्तारित गरी विश्वव्यापी रुपमा शुन्य-कार्बन ऊर्जा समाधानहरू ल्याउने योजना बनाएको छ । यस वर्षको फेब्रुअरीमा, टेस्लाको नयाँ मेगाफ्याक्ट्री लिङगाङ विशेष क्षेत्रमा सुरु भएको थियो, जुन यसको दोस्रो प्लान्ट हो र यसले मेगाप्याक ब्याट्री उत्पादन गर्न थालेको छ । टेस्लाले २०२५ मा ऊर्जा भण्डारणको डिप्लोयमेन्टमा वार्षिक ५० प्रतिशत वृद्धि अपेक्षा गरेको छ । रासस
निजी क्षेत्रले व्यापार गर्नसक्ने कानूनी व्यवस्था गरेर मात्रै टेक एण्ड पेमा जानुपर्छ : सांसद बस्नेत
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले जलश्रोत विधेयक जसरी नै विद्युत विधेयक फिर्ता लिए ठूलो संकट निम्तिने बताएका छन् । प्रतिनिधि सभाको शनिबारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा गइरहेको विधेयक फिर्ता गर्नुले सरकारको जवाफदेहिता स्पष्ट हुने बताए । सरकार विधेयक र कानून निर्माणप्रति जिम्मेवार हुन नसकेको आरोप लगाए । निजामति ऐन छिटो भन्दा छिटो संसदबाट पारित हुनुपर्ने जानकारी दिए । सांसद बस्नेतले भने, ‘सरकारले जलश्रोत विधेयक जस्तो विद्युत विधेयक पनि फिर्ता गरिदियो भने अर्को डिजास्टर हुनेवाला छ । जलश्रोत विधेयक जस्तै विद्युत विधेयक पनि फिर्ता लिने । निजामति सेवा ऐनको बारेमा माननीयज्यु यहाँ भन्दै हुनुहुन्थ्यो । प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा पुगिरहेको विधेयक फिर्ता गर्ने निर्णय सरकार गर्दछ । सरकारको जवाफदेहीताको बारेमा त यो भन्दा थप कुरा के भन्नु ।’ सांसद बस्नेतले निजी क्षेत्रले व्यापार गर्नसक्ने कानूनी व्यवस्था नगरी टेक एण्ड पेमा जाँदा २८ हजार ५ सय मेगावाट विद्युत उत्पादनको योजना लथालिङ्ग हुने बताए ।
सात ठाउँको अवरुद्ध सडक खुलाइयो, तीन ठाउँ अझै बाँकी
काठमाडौं । पछिल्लो दुई दिन परेको भारी वर्षापछि बाढी र पहिरोका कारण विभिन्न क्षेत्रका १० स्थानमा अवरुद्ध भएका सडकमध्ये आजसम्म ७ ठाउँको सडकमा यातायात सञ्चालनमा आएको छ । साथै अझै तीन स्थानमा सडकमा यातायात ठप्प रहेको नेपाल प्रहरीका प्रवक्ता, प्रहरी नायब महानिरक्षिक विनोद घिमिरेले जानकारी दिए । उनका अनुसार नवपलरासी बर्दघाट सुस्तापूर्वको विनयी खोलामा डाइभर्सन बगाउँदा अवरुद्ध सडक अझै सञ्चालनमा आउन सकेको छैन । यहाँ हिजो यात्रुबाहक गाडी नै बगाएको थियो भने यात्रुलाई सकुसल उद्धार गरिएको थियो । रोल्पाको त्रिवेणी गाउँपालिका ७ जङ्डाँडामा पहिरोले घोराही–रुकुम सहिदमार्ग अवरुद्ध भएको छ । पहिरोकै कारण पाल्पाको तिनाउ नगरपालिका ३ सुरुङमार्गमा सडक अवरुद्ध हुँदा सिद्धार्थ राजमार्ग बन्द भएको छ । ती सडकहरु खुलाउने प्रयास भने जारी रहेको प्रवक्ता घिमिरेले बताए । उनका अनुसार ललितपुरको बागमती गाउँपालिकामा पहिलोले अवरुद्ध कान्ति लोकपथ पूर्णरुपमा सञ्चालनमा ल्याइएको छ । यस्तै धनकुटाको साँगुरीगढी गाउँपालिकामा पहिरोले अवरुद्ध सडक, नवलपरासी बर्दघाट सुस्तापूर्वको बुलिङ्टारमा पहिरोले अवरुद्ध कालिगण्डकी करिडोर, म्याग्दीको बेनी–जोमसोम सडक, गुल्मीमा अवरुद्ध कालिगण्डकी करिडोर पनि पहिरो पन्छाएर सडक खुलाइएको प्रहरीले जनाएको छ । यस्तै जुम्लामा अवरुद्ध जुम्ला–मुगु सडक, डोल्पामा बाढीका कारण अवरुद्ध भेरी करिडोर पनि एकतर्फी खुलाइएको र दुईतर्फी खुलाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ । शुक्रबारबाट देशभर नै मनसुन फैलिएकाले देशभर नै मनसुनै वायुको प्रभाव रहेको छ । जसका कारण जोखिम बढ्ने भएकाले सतर्कता अपनाउन प्रहरीले सबैमा अनुरोध गरेको छ ।
मुलुकको स्रोत साधनकै आधारमा बजेट विनियोजन भएको छ : सांसद डा. महत
काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८२/८३ का लागि मुलुकको स्रोत साधनको आधारमा नै बजेट विनियोजन भएको बताएका छन् । शनिबार प्रतिनिधि सभा बैठकमा विनियोजन शीर्षकहरुमाथिको छलफलमा भाग लिँदै सांसद महतले यस्तो बताएका हुन् । उनले मन्त्रालयहरुमा विनियोजित बजेटको सही उपयोग हुन्छ कि हुँदैन र बजेट सदुपयोगको सम्भावना र प्राथमिकताको आधारमा खर्च भयो कि भएन भन्ने महत्वपूर्ण सवाल रहेको टिप्पणी गरे । डा. महतले सरकारले विनियोजित बजेट कार्यान्यनतर्फ जोड दिनुपर्ने बताउँदै कनिका छरेजसरी बजेट छरिदिने परम्पराले परिणाम नआउने दाबी गरे । ठूला र महत्वपूर्ण योजना संघीय सरकारले नै गर्नुपर्ने बताउँदै उनले विकास कसरी गर्नुपर्छ भनेर प्रदेश र स्थानीय तहलाई उदाहरणका रुपमा प्रस्तुत गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘मन्त्रालयहरुले आउने दिनमा बजेटलाई कसरी कार्यान्वयन गर्छ त्यसपछि भन्न सकिने अवस्था हुन्छ । जहाँसम्म परराष्ट्र मन्त्रालयको अत्यन्त महत्वपूर्ण भूमिका छ । परराष्ट्र नीतिको कार्यान्वयन गर्ने मुख्य निकाय नै परराष्ट्र मन्त्रालय हो र यसलाई राष्ट्रिय बजेटको १५.८ प्रतिशत बजेट थपिएको छ । तथापी बढाउनु आवश्यक थियो । अहिले जुन अन्तर्राष्ट्रिय परिस्थिति छ, यो आर्थिक सहयोगलाई परिचालन गर्नपनि परराष्ट्र मन्त्रालयको महत्वपूर्ण भूमिका हुन्छ ।' छुट्याइएका बजेटमा मन्त्रालयको कार्यान्वयन हेरेपछि मात्र त्यसबारेमा टिप्पणी गर्नसकिने डा. महतले बताए ।