सिंहदरबारमा बोतल र जार निषेध, मेलम्ची खानेपानी जडान गर्न निर्देशन
काठमाडौं । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र आगामी जेठभित्र मेलम्चीको खानेपानी वितरण गरिने भएको छ । सिंहदरबारभित्र रहेका मन्त्रालय, आयोग, निकाय तथा कार्यालयमा आगामी जेठभित्रै मेलम्चीको खानेपानी जडान गरिसक्ने गरी काम सुरु गरिएको खानेपानी मन्त्रालयका सचिव ई प्रमिलादेवी शाक्य बज्राचार्यले जानकारी दिए । उनका अनुसार सिंहदरबारभित्र मेलम्चीको खानेपानी वितरण प्रणाली जोड्न काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) लाई निर्देशन दिइएको र सोहीअनुसार काम भइरहेको छ । खानेपानी मन्त्री प्रदीप यादवले अब सिंहदरबारमा खानेपानीका बोतल र जार निषेध गर्ने घोषणा गरेका थिए । हाल मेलम्चीको पानी वितरण प्रणालीको काम तीव्र रुपमा अगाडि बढेको मन्त्रालयका प्रवक्ता एवं सहसचिव ई मीना श्रेष्ठले बताए । ‘सिंहदरबारमा बोतल र जारको पानी निषेध गर्न मन्त्रीले निर्देशन दिनुभएको छ । अब यहाँ मेलम्चीको पानी वितरणका लागि काम तीब्र रुपमा अगाडि बढेको छ,’ उनले भने । मेलम्ची खानेपानी वितरण प्रणालीबाट पठाइएको पानी ढुक्क भएर पिउन मिल्ने काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का कार्यकारी प्रमुख अशोककुमार पौडेलले बताए । ‘मेलम्चीबाट जोडिएको पानी शुद्ध र पिउन योग्य हुन्छ । अब चाँडै सिंहदरबारमा मेलम्चीको पानी वितरण हुन्छ,’ उनले भने ।
आतङ्ककारी हमलापछि नेपाल–भारत सीमा क्षेत्रमा कडा निगरानी
काठमाडौं । भारतको जम्मु कश्मीर राज्यको पहलगाममा भएको आतङ्ककारी हमलापछि नेपाल-भारत सीमा क्षेत्रमा निगरानी बढाइएको छ । खुला सीमाका कारण कुनै किसिमका अवाञ्छित गतिविधि हुन नदिन निगरानी बढाइएको सुनसरी प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए । सुनसरी जिल्लाको बर्जु, हरिनगर र कोसी गाउँपालिकामा पर्ने नेपाल-भारत सीमा क्षेत्रको निरीक्षण गर्नुका साथै सुरक्षा सतर्कता बढाइएको उनले बताए । सशस्त्र प्रहरी, नेपाल प्रहरी र भारतीय सीमा सुरक्षा बल एसएसबीसहितको टोलीले संयुक्त गस्ती गर्नुका साथै सीमा क्षेत्र भएर आवतजावत गर्ने मानिसलाई जाँच गरेर मात्र आवतजावत गर्न दिएको सशस्त्र प्रहरी उपरीक्षक निर्मलकुमार थापाले जानकारी दिए ।
लगानी बोर्डको सङ्गठन संरचना खाका स्वीकृत, अधिकतम १४ परियोजना निर्माण गर्ने लक्ष्य
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आइतबार भएको लगानी बोर्डको ६१ औं बैठकले बोर्डको रणनीति तथा व्यावसायिक योजना कार्यान्वयनका लागि आवश्यक पर्ने सङ्गठन संरचनाको खाकालाई स्वीकृत गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको बैठकले विभिन्न निर्देशनालयसहितको सङ्गठन संरचनाको खाकालाई स्वीकृत गरेको हो । पाँच वर्षे उक्त रणनीतिले ४२ परियोजनाको सम्झौता गर्दै अधिकतम १४ परियोजना निर्माण, ११ परियोजना सञ्चालन तथा ९२ निजी लगानीका परियोजनाहरू लगानी स्वीकृत गर्ने लगायतका लक्ष्य लिएको छ । बैठकमा बोर्डका अध्यक्ष ओलीका साथै उपाध्यक्ष उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, मुख्यसचिव एकनारायण अर्याललगायत सहभागी थिए ।
मोरङ उद्योग व्यापार संघमा आयात-निर्यात सुव्यवस्थापन विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
काठमाडौं । मोरङ उद्योग व्यापार संघले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, काठमाडौंसँगको सहकार्यमा संघमा आयात निर्यात नीति सुदृढीकरण तथा सु-व्यवस्थापन लगायतका विषयमा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ । संघका अध्यक्ष अनुपम राठीको अध्यक्षतामा वरिष्ठ उपाध्यक्ष अनिलकुमार साहले सो अन्तरक्रिया कार्यक्रम सञ्चालन भएको थियो । कार्यक्रममा संघका अध्यक्ष राठीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, काठमाडौंका उपसचिव अच्युत ढुंगाना समक्ष उद्योग/व्यवसाय क्षेत्रको आयात निर्यातको विद्यमान अवस्था, समस्याहरू र तीनका समाधानका उपायहरूबारे अवगत गराउँदै सुझाव पत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, काठमाडौंका शाखा अधिकृत गणेश पाण्डे, कोशी प्रदेश अधिकृत चन्द्र बहादुर कार्की, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, विराटनगरका नि.कार्यालय प्रमुख हितेश बस्नेत, संघका पूर्व अध्यक्षहरू, पदाधिकारीहरु, कार्यसमिति सदस्यहरू, युवा र महिला उद्यम समिति संयोजक तथा सदस्यहरू, विभिन्न वस्तुगत संघ/संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरू, सदस्य औद्योगिक/व्यावसायिक प्रतिष्ठानका प्रमुख एवं प्रतिनिधिहरू, सञ्चारकर्मीहरू लगायतको उपस्थिति रहेको थियो ।
यामाहाको काठमाडौं उपत्यकाभरि एक्सचेन्ज अफर
काठमाडौं । यामाहा नेपालले काठमाडौं उपत्यकाका दुई–पांग्रे सवारीसाधन पारखीका लागि एक्सचेन्ज अफर ल्याएको छ । यो अफर २०८२ बैशाख १४ गतेदेखि १९ गतेसम्म उपत्यकाभरिका सबै आधिकारिक शोरुमहरूमा लागु हुनेछ । यामाहा ब्लु फेस्टको सफलतापछि कम्पनीले फेरि एकपटक ग्राहकहरूलाई एक्सचेन्ज अवसर प्रदान गरेको हो । यस्ता छन् सुविधा : जुनसुकै ब्राण्डको पुरानो सवारीसाधनमा न्यूनतम २५ हजारको भ्यालुएसन (कर चुक्ताको प्रमाणपत्र अनिवार्य) एक्सचेन्ज भ्यालु अझ बढाउन थप १० हजारको अतिरिक्त भ्यालुएसन धरौटीबिना नै सजिलो फाइनान्सिङ सुविधा यामाहा लिन अहिलेसम्मकै सहज बनाउन केवल ७.९९ प्रतिशत व्याजदरमा सस्तो किस्ताबन्दी सुविधा थ्रील अफ थ्री अफर अन्तर्गत १ लाख रुपैयाँसम्मको स्योर शट छुट । उपहारमा हेल्मेट, लेग गार्ड, फुट म्याट, स्पोट्र्स ब्याग र बाइक कभरजस्ता निःशुल्क एसेसरिजहरू
निसानले वुहान कारखानामा सवारीसाधन उत्पादन अन्त्य गर्ने
काठमाडौं । निसान मोटरले चीनको वुहान कारखानामा सवारीसाधन उत्पादन सन् २०२६ मार्च ३१ भित्र अन्त्य गर्ने योजना बनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । यो निर्णय वुहान कारखानाको सञ्चालन दर घटेपछि आएको हो, जसको वार्षिक उत्पादन क्षमता ३ लाख सवारीसाधन रहेको छ र जसले एरिया इलेक्ट्रिक गाडी र एक्स–ट्रेल एसयूभी उत्पादन गर्छ । चाइनिज कार निर्माता कम्पनीहरूसँगको तीव्र प्रतिस्पर्धाका कारण सञ्चालन दर घटेको यमिउरी पत्रिकाले पहिले नै रिपोर्ट गरेको थियो । डोङफेङ मोटरबाट भाडामा लिइएको उक्त सुविधामा सन् २०२२ मा सञ्चालन सुरु भएदेखि वार्षिक उत्पादन केवल करिब १० हजार ००० युनिट मात्र पुगेको एक स्रोतले जनाएको छ । जापानी कार निर्माता कम्पनी निसानले बिहीबार सन् २०२५ मार्च ३१ मा समाप्त भएको आर्थिक वर्षको लागि ७०० अर्ब येनदेखि ७५० अर्ब येन (४.८७ अर्ब डलर – ५.२२ अर्ब डलर) सम्मको अभिलेख उच्च शुद्ध घाटाको पूर्वानुमान गरेको छ ।
आईआईएनले बीमा सर्भेयरको आधारभूत तालिमको आयोजना गर्ने
काठमाडौं । इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल (आईआईएन) ले बीमा सर्भेयरको आधारभूत तालिम कार्यक्रम आयोजना गर्ने भएको छ । घर, सम्पत्ति, व्यवसाय तथा इञ्जिनियरिङ बीमा, मोटर बीमा, परिवहन बीमा र हवाई बीमाको बीमा सर्भेयर सम्बन्धी आधारभूत तालिम आयोजना गरिन लागिएको हो । तालिममा भाग लिनका लागि बीमा नियमावली, २०८१ बमोजिम बीमा सर्भेयर हुने योग्यता हासिल गरेको हुनुपर्ने जनाइएको छ । आईआईएनका अनुसार इञ्जिनियरिङ विषयमा कम्तीमा स्नातक उपाधि हासिल गरेको, चार्टर्ड एकाउन्टेन्ट परीक्षा उत्तीर्ण गरेको र स्नातक उपाधि हासिल गरेको तथा कुनै निर्जीवन, लघुनिर्जीवन वा पुनर्बीमा वा नेपाल बीमा प्राधिकरण कम्तीमा १० वर्ष अधिकृतस्तरको पदमा काम गरेको वा स्नातक उपाधि हासिल गरेको तथा अन्तर्राष्ट्रिय रुपमा मान्यताप्राप्त बीमा सम्बन्धी इन्स्टिच्युटबाट निर्जीवन बीमामा एसोसिएटसीप वा सो सरहको उपाधि हासिल गरेको हुनुपर्नेछ । तालिममा भाग लिनका लागि यही २०८२ साल वैशाख १९ गतेसम्म आवेदन दिन सकिने र पहिले आवेदन दिनेलाई पहिलो प्राथमिकताका आधारमा छनौट गरी प्रत्येक समूहमा ३० जनाका दरले तालिम सञ्चालन गरिने आईआईएनले जनाएको छ ।
यी हुन् आन्दोलनमा घाइते भएका शिक्षक (सूचीसहित)
काठमाडौं । आइतबार भएको शिक्षक आन्दोलनको क्रममा प्रहरीको लाठीचार्जबाट घाइते शिक्षकहरूको नामावली र्साजनिक भएको छ । नेपाल शिक्षक महासंघले घाइते ४६ जनाको नामावली सार्वजनिक गरेको हो । घाइते भएकाहरूको काठमाडौंको सिभिल अस्पताल, एभरेष्ट अस्पताल र ट्रमा सेन्टरमा उपचार भइरहेको छ । उपचाररत केही शिक्षकहरू सामान्य उपचारपछि फर्किएका छन् भने केहीको अवस्था गम्भीर रहेको छ । गम्भीर शिक्षकहरूको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । हेलमेटधारीले निम्तिएको अराजक आन्दोलन, शिक्षक र प्रहरीको आ-आफ्नै विश्लेषण