विकासन्युज

झडपपछि शिक्षक आन्दोलन थप चर्काउने, घरमा बसेकालाई काठमाडौं आउन आग्रह

काठमाडौं । शिक्षकहरूले काठमाडौं केन्द्रित आन्दोलनलाई थप चर्काउने भएका छन् । हिजो भएको झडपपछि आक्रोशित शिक्षकहरूले आज आन्दोलन थप चर्काउने बताएका छन् ।  आन्दोलनको नेतृत्व गरिरहेको  नेपाल शिक्षक महासंघले आफूहरूमाथि भएको अत्याचारको प्रतिकार गर्ने बताएको हो । संघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले शान्तिपूर्ण आन्दोलन गर्दा शिक्षकहरूमाथि दमन गरेको भन्दै घरमा बसेका शिक्षकहरूलाई काठमाडौं आउन आग्रह गरेका छन् ।  सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष सुवेदीले शिक्षक कर्मचारी माथि भएको दमनको विरोधमा आफूहरूसँग उभिन सबै पेसागत संस्था, आम शिक्षा सरोकार समूह तथा आम नेपालीलाई अपिल समेत गरेका छन् । महासंघले विज्ञप्तिमा जारी गर्दै नेपाली शिक्षक-कर्मचारीहरू अग्रगामी विद्यालय शिक्षा ऐन बिना आफ्नो कार्यक्षेत्रमा नफर्कने भन्दै देशभरका सबै शिक्षक-कर्मचारीलाई अनिवार्य काठमाडौँ आउन अपिल गरेको छ ।

आन्दोलनरत चिकित्सकहरूका मागबारे छलफल गर्न चिकित्सा शिक्षा आयोगको बैठक बस्दै

काठमाडौं । आन्दोलनरत चिकित्सकहरूका मागबारे छलफल गर्न चिकित्सा शिक्षा आयोगको १९औँ बैठक आज बस्दै छ । आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बिहान ११ बजे सिंहदरबारमा बैठक बस्न लागेको हो । सरकारले निजी मेडिकल कलेजमा कार्यरत आवासीय चिकित्सकलाई सरकारी सरह ४८ हजार ७ सय ३७ रुपैयाँ निर्वाह भत्ता दिने निर्णय गरेको छ । तर चिकित्सकहरूले नपाएपछि चिकित्सक एक महिनादेखि आन्दोलनमा छन् । निजी मेडिकल सञ्चालकहरूले साढे दुई महिना बितिसक्दा पनि उक्त निर्णय कार्यान्वयन नगरेको भन्दै सरकारी अस्पतालका चिकित्सकहरूले ऐक्यबद्धता जनाउँदै  आकस्मिक बाहेकका उपचार ठप्प पारेका छन् ।  निजी मेडिकल तथा डेन्टल कलेज सञ्चालकहरू स्रोत सुनिश्चित भएपछि मात्रै सरकारी सरह भत्ता दिन सकिने भन्दै आएका छन् । यसअघि वैशाख तीन गते बसेको १८ औँ बैठकले १० दिन भित्र निजी मेडिकल कलेजका लागि दिईदै आएको एमबीबीएस र बीडीएसको सिट संख्या तथा शुल्क संरचना पुनरावलोकन गर्न शिक्षा सचिव डा.दीपक काफ्लेको संयोजकत्वमा ११ सदस्यीय कार्यदल समेत गठन गरेको थियो । तीन पटकसम्म बैठक बस्दा पनि अधिकांश कार्यदल सदस्यले १६औं बैठकले गरेका निर्णय कार्यान्वयन नभएसम्म छलफल अगाडि नबढाउने अडान राख्दै आएका छन् ।  आवासीय चिकित्सकलाई निर्वाह भत्ता दिने हो भने एमबीबीएस, बीडीएसको सिट र शुल्क बढाउनुपर्ने निजी मेडिकल सञ्चालकको माग छ । 

आज दिउँसो देशभर बदली रहने, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ । यसका साथै बंगालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव छ । महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू-भागका केही स्थान तथा बाँकी भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।  कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा तथा हिमपातको पनि सम्भावना छ । महाशाखाका अनुसार कोशी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ । आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशको पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।  कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ भने कोशी प्रदेशको एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

पाल्पामा जिप दुर्घटना हुँदा तीनको मृत्यु, दुई घाइते

काठमाडौं । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१ सिद्धेश्वरमा गए राति जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।  लु१ज २३७७ नम्बरको जिप सिद्धेश्वरको असारेबाट ठूलापोखरातर्फ जाने क्रममा  सर्वोत्तम सिमेन्ट खानी नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।  दुर्घटनामा परी घाइते भएका पाँच जनालाई उपचारका लागि तानसेनस्थित युनाइटेड मिसन अस्पताल लगिएको र तीन जनालाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।  मृत्यु हुनेमा रैनादेवी छहरा–१ सिद्धेश्वका ३६ वर्षे दीपेन्द्र बुढा, ३१ वर्षे चेतनारायण विक र २३ वर्षे जनक रेगामी छन् ।  घाइते भएका जिप चालक २७ वर्षीय रञ्जन रेश्मी र २३ वर्षीय सरोज बुढाको अहिले अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जिप सडकबाट २०० मिटर तल खसेको थियो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

इम्बार्क कलेजले गर्याे पुस्तक विमोचन, सक्रिय व्यवसायमा आधारित ११ केस स्टडी

काठमाडौं । इम्बार्क कलेजले ‘इम्बार्क रिसर्च रिभ्युः दिगो नेपालको बाटो-दिगोपन र आर्थिक समावेशीकरणमा नेपालका नीतिगत चुनौतीहरू’ पुस्तक विमोचन गरेको छ । आइतबार एक कार्यक्रमको आयोजना गरी रोहम्प्टन विश्वविद्यालयका उपकुलपति प्रा.डा. जीन नोएल एजिन्गार्डको प्रमुख आथित्यिमा पुस्तक सार्वजनिक गरिएको हो ।  कलेजको इम्बार्क रिसर्च नेटवर्कले आर्थिक समावेशीकरण र दिगोपनका विषयमा नेपाल सरकार, प्रदेश सरकार, निजी क्षेत्र र शिक्षाविदहरूसँग सहकार्य सशक्त पार्दै नेपालमा सक्रिय व्यवसायहरूमा आधारित ११ केस स्टडी समेटेर पुस्तक तयार पारेको हो ।  इम्बार्क कलेजका कार्यकारी निर्देशक एवं प्रमुख कार्यकारी अधिकृत आशिष ठाकुरले कलेजको उद्देश्य, शिक्षा र अनुसन्धानमार्फत दीगो नेपालको निर्माणमा प्रतिबद्धता जनाएको तथा युनिभर्सिटी अफ रोहम्प्टनसँगको अन्तर्राष्ट्रिय सहकार्यले ल्याएको नयाँ नीति र कार्यक्रमहरूको महत्वबारे विशेष चर्चा गरे ।  रोहम्प्टन विश्वविद्यालयका उपकुलपति प्रा.डा एजिन्गार्डले अनुसन्धान र नीति निर्माणमा अन्तर्राष्ट्रिय साझेदारीको आवश्यकतामा जोड दिए । उनले भने, ‘विश्वविद्यालयहरूको साझा प्रयासले मात्रै वित्तीय समावेशीकरण र स्थिरताका चुनौतीहरूलाई प्रभावकारी समाधान गर्न सकिन्छ ।’ स्थिरता र वित्तीय समावेशीकरण सम्बन्धी बहस सत्रमा वरिष्ठ अर्थशास्त्री प्रा.डा. विश्वम्भर प्याकुरेल र काठमाडौँ फिनटेकका संस्थापक डा. सन्जिब सुब्बाले डिजिटल प्रविधि र नव प्रवर्तनमार्फत वित्तीय पहुँच विस्तार र दिगोपना सुनिश्चित गर्न आवश्यक नीतिगत सुधारहरूमा छलफल गरे । बहस सत्र कलेजका प्रिन्सिपल डा. स्टिफन ड्राइभरले संचालन गरे ।  प्रिन्सिपल डा. स्टिफन ड्राइभरले शिक्षा, अनुसन्धान र नीति निर्माणबीचको सहकार्यले मात्रै दिगो समाधान सम्भव भएको बताउँदै सबैलाई आर्थिक समावेशीकरण र स्थिरताको लागि साझा प्रयास गर्न आग्रह गरे ।  कार्यक्रममा पुस्तकमा समावेश ११ वटा उत्कृष्ट नेपालमा सक्रिय व्यवसायहरूमा आधारित केस स्टडीका अनुसन्धाताहरूलाई प्रमाणपत्र पनि प्रदान गरिएको थियो । इम्बार्क कलेजले नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको स्वीकृतिमा युनिभर्सिटी अफ रोहम्प्टनसँगको सहकार्यमा सञ्चालन गरेको बीएस्सी बिजनेस म्यानेजमेन्ट र एमबीए कार्यक्रममा पनि यस अनुसन्धान र नीति निर्माणको अनुभवलाई समावेश गर्दै दिगो आर्थिक विकासमा योगदान पुर्याइरहेको छ । 

अभिभावकको दबाबले खुल्न थाले सामुदायिक विद्यालय

काठमाडौं । शिक्षकहरूको आन्दोलनका कारण बन्द भएका इलामका सामुदायिक विद्यालय अभिभावकको दबाबपछि खुल्न थालेका छन् । अभिभावकले विद्यार्थीको भविष्य अन्धकार भएको भन्दै पठनपाठन सुरु गर्न दबाब बढाएपछि आइतबारदेखि केही विद्यालय सञ्चालनमा आएका हुन् । इलाम नगरपालिकाले पनि आइतबार एक विज्ञप्ति जारी गरी विद्यालय खुलाउन आह्वान गरेको थियो । इलाम नगरपालिका-३ पुवामझुवास्थित विणापाणी माध्यमिक विद्यालय आइतबारदेखि सञ्चालनमा आएको विद्यालयका शिक्षक विष्णुभक्त भण्डारीले बताए ।  ‘विद्यालयमा आज केही विद्यार्थी आए, नाम लेखाउने र पुस्तक वितरण गरियो,’ उनले भने । इलाम-१ स्थित नेपालटार माध्यमिक विद्यालयका शिक्षक निर्मल तिम्सिनाले अभिभावकको दबाबपछि आजदेखि विद्यालय सञ्चालनमा ल्याउनुपरेको बताए । देउमाई नगरपालिका-९ जितपुरस्थित खान्द्रुङ माध्यमिक विद्यालय पनि आइतबारबाटै सञ्चालनमा आएको छ । इलाम नगरपालिका-५ को अमर माध्यमिक विद्यालयका प्रधानाध्यापक सोम निरौलाले अभिभावकले विद्यालय खोलाउन आग्रह गरेपनि खुल्न अझै केही दिन लाग्ने बताउनुभयो । अभिभावकसँग छलफल गरेर निर्णय लिने उनको भनाइ छ । लामो समय विद्यालय बन्द भएपछि इलाम नगरपालिकाले आन्दोलनमा ऐक्यबद्धता जनाउँदै विद्यार्थीको भविष्य हेरेर विद्यालय खोलाउन आग्रह गर्दै आइतबार विज्ञप्ति निकालेको थियो ।  नगरप्रमुख केदार थापाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘समयमा विद्यालयमा विद्यार्थी भर्ना नभएका कारण विद्यार्थीको मनोविज्ञानमासमेत असर परिरहेको साथै अभिभावकहरु समेत गम्भीर र संवेदनशील भएको विद्यमान अवस्था र शिक्षा ऐनमार्फत शिक्षकहरुको माग पूरा गर्ने सन्दर्भमा वार्तासमेत भइरहेकाले, विद्यार्थी भर्ना र परीक्षालाई कत्ति पनि असर नहुने गरी वार्षिक शैक्षिक कार्यक्रमलाई अगाडि बढाउन इलाम नगरपालिकाका वडा शिक्षा समिति, विद्यालय व्यवस्थापन समिति र सम्पूर्ण सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीमा हार्दिक अपिल गर्दछौँ ।’ सूर्योदय नगरपालिकाका नगरप्रमुख रणबहादुर राईले विद्यालय सञ्चालनमा आउन जरुरी रहेको बताए ।  ‘विद्यालय भर्नामा असर नहुनेगरी सिर्जनात्मक आन्दोलन गर्नुपर्छ । सङ्घीय सरकारले वार्ताबाट शिक्षकका माग सम्बोधन गर्नुपर्छ । सामुदायिक विद्यालयका कक्षाकोठा खाली बनाउन मिल्दैन,’ उनले भने ।  हिमालय माध्यमिक विद्यालय सूर्योदय नगरपालिका-१ गोर्खेका शिक्षक गणेशकुमार खड्काले शिक्षकहरूको मागलाई सरकारले सम्बोधन गरिदिएर तत्काल विद्यालय खुल्ने वातावरण बनाउनुपर्ने बताए । 

स्वास्थ्य उपकरण खरिदमा करोडौं भ्रष्टाचार, तत्कालीन सचिव श्रेष्ठसहित १५ जना विरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेश सामाजिक विकास मन्त्रालय प्रदेश जनस्वास्थ्य प्रयोगशालाको स्वास्थ्य उपकरण खरिदमा भ्रष्टाचार भएको अभियोगमा तत्कालीन सचिव, निर्देशकलगायतका विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले मधेश प्रदेशको सामाजिक विकास मन्त्रालयका तत्कालीन सचिव इमनारायण श्रेष्ठ, लेखा अधिकृत नविन दास र तत्कालीन वरिष्ठ स्वास्थ्य प्रशासक मुक्तिनारायण साह विरुद्ध २१ करोड ८९ लाख ३९ हजार ७८० रुपैयाँ बिगो माग दाबी गरेको छ । त्यसैगरी प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामका तत्कालीन निर्देशक डा श्रवणकुमार मिश्र, वरिष्ठ ल्याब टेक्निसियन गुणानन्द प्रसाद साह, टेक्नोलोजिस्ट मनमोहन मिश्र र ल्याब टेक्नोलोजिस्ट रामउदगार साह विरुद्ध पनि २१ करोड ८९ लाख ३९ हजार ७८० रुपैयाँको बिगो माग दाबी गरिएको छ । माइक्रोबायोलोजिस्ट जितेन्द्रकुमार साह, अमरेन्द्रकुमार मिश्र,  मेडिकल ल्याब टेक्नोलोजिस्ट दिपेन्द्रकुमार मिश्र, ल्याब असिस्टेन्ट रमेशकुमार मण्डल, कर्मशील प्रसाद गोप, उमेश चौधरी र  लेखा अधिकृत अमरदीप महतो विरुद्ध पनि समान २१ करोड ८९ लाख ३९ हजार ७८० रुपैयाँको बिगो माग दाबी गरिएको छ । सामान आपूर्तिकर्ता हस्पिटेक इन्टरप्राइजेजका सञ्चालक विशाल पण्डित विरुद्ध २१ करोड ८९ लाख ३९ हजार ७८० रुपैयाँरको बिगो माग दावी गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए । सोही मुद्दामा आयोगले फरक फरक रुपमा विभिन्न चार वटा मुद्दा  दायर गरेको छ । आयोगले मधेश प्रदेश सामाजिक विकास मन्त्रालयका तत्कालीन सचिव इमनारायण श्रेष्ठ, हस्पिटेक इन्टरप्राइजेजका सञ्चालक विशाल पण्डित समेत १५ जना र हस्पिटेक प्रालिका विरुद्ध १९ करोड ४६ लाख १३ हजार १२० रुपैयाँ बिगो माग दाबी गरेको छ । मधेश प्रदेशका विभिन्न ६४ वटा स्थानीय तहमा जनस्वास्थ्य प्रयोगशाला निर्माणका लागि खरिद गरिएको उपकरणमा पनि चरम भ्रष्टाचार भएको भन्दै आयोगले मुद्दा दायर गरेको हो। 

शिक्षकमाथिको दमनले गुरु वर्ग मात्र नभई बौद्धिक जगतको आत्मसम्मानमा चोट पुग्यो

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले विद्यालय शिक्षा ऐनलगायतका माग राखेर शान्तिपूर्ण आन्दोलन गरिरहेका शिक्षकसँग सार्थक वार्ता गरी सरकारले समस्या समाधान गर्न आग्रह गरेको छ । सो पार्टीका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले एक विज्ञप्ति जारी गर्दै नेपाल शिक्षक महासङ्घको नेतृत्वमा विगत २५ दिनदेखि भइरहेको सडक आन्दोलनका विषयमा शिक्षकसँग छलफल गरी समस्या समाधान गर्नुको सट्टा दबाउन उद्यत हुनु निन्दनीय भएको उल्लेख गरेका छन् ।  ‘शिक्षकमाथि भएको सरकारी दमनले गुरु वर्गको मात्र होइन समस्त बौद्धिक जगतको आत्मसम्मानमा चोट पुगेको छ । यो कार्य सरकारको विवेक शून्य र गैर जिम्मेवारीको पराकाष्ठामात्र होइन समस्या समाधान गर्न सर्वोच्च अदालतले गरेको आदेशको समेत ठाडो उल्लङ्घन हो,’ विज्ञप्तिमा भनिएको छ । उपाध्यक्ष सापकोटाले शिक्षकहरूसँग इमान्दारीपूर्वक सार्थक वार्ताका लागि सरकारले गम्भीरता पूर्वक पहल गर्न आग्रह गरे ।  शिक्षकका माग पूरा गरी छिटोभन्दा छिटो शिक्षकहरूलाई कक्षा कोठामा फर्काउने वातावरण बनाउन माग गर्दै प्रवक्ता सापकोटाले  प्रदर्शनका क्रममा गम्भीर घाइते शिक्षक एवं सञ्चारकर्मीको शीघ्र स्वास्थ्य लाभको कामना गरे ।