सूर्यविनायक-साँगा सडकमा एकतर्फी सवारी सञ्चालन, गाडी चिप्लिएर सयौं फिट तल खस्ने जोखिम
काठमाडौं । गए रातिदेखिको वर्षाले अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको सूर्यविनायक-जगाति सडकमा आवत जावत गर्न समस्या भएको छ । जिल्ला ट्राफिक प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी निरीक्षक प्रदीप खत्रीले वर्षाका कारण भक्तपुरको सूर्यविनायक-जगाति हुँदै काभ्रेपलाञ्चोक जाने निर्माणाधीन सडक एकतर्फी रूपमा सञ्चालन गरिएको जानकारी दिए । भक्तपुर र काभ्रे जिल्ला जोड्ने राजमार्गमा छ लेनको सडक निर्माणमा ढिलाइ भएसँगै काभ्रेको साँगा र भक्तपुरतर्फ आउने सडकमध्ये भक्तपुर खण्ड वर्षाका कारण निकै जोखिम बढेसँगै अरनिको राजमार्ग एकतर्फी मात्र सञ्चालन गर्नुपरेको जनाइएको छ । सडकमा सवारीसाधन चिप्लिएर जोखिम बढेपछि काभ्रेबाट भक्तपुरतर्फ आउने सवारीसाधन मात्र साँगाबाट आउन दिएको उनले जानकारी दिए । उनका अनुसार भक्तपुर हुँदै काभ्रे जाने दुई पाङ्ग्रे लगायत हल्का चार पाङ्ग्रे सवारीसाधन जगातिबाट च्याम्हसिं हुँदै ताथली-नाला सडकबाट बनेपा निस्कने गरी सवारीसाधनलाई डाइभर्सन गरिएको छ । भक्तपुरबाट काभ्रे जाने ठूला माल वाहक सवारीसाधनलाई भने सल्लाघारीको चौर र जगातिमै रोकिएको छ । सूर्यविनायक-धुलिखेल सडक खण्ड निर्माणाधीन अवस्थामा रहेका कारण साँगा खण्डमा हल्का वर्षाले पनि सडक हिलाम्मे हुने गरेको छ । गाडी चिप्लिएर सयौं फिट तल खस्ने जोखिम रहेपछि सवारीसाधनलाई एकतर्फी गरिएको हो । बाटो हिलाम्मे भएर चिप्लिन थालेपछि ठूला सवारीसाधन माथि उक्ल नै नसक्ने, सडकमै भासिने गरेका छन् भने साना सवारी चिप्लेर लड्ने गरेको ट्राफिक प्रहरीको भनाइ छ । वर्षामा जोखिम बढे पनि समस्या समाधानका लागि तीव्र गतिमा काम हुन नसक्दा समस्या आएको छ ।
आइएमई लाइफको नाफा १०.४९ प्रतिशत बढ्यो, यस्ता छन् अन्य सूचक
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा खुद नाफा १०.४९ प्रतिशत बढेर ३६ करोड ६३ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३३ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आवको चैत मसान्तसम्ममा कम्पनीको खुद बीमा शुल्क १५.६५ प्रतिशत बढेर ३ अर्ब ६० करोड ३३ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको चैतमा कम्पनीले ३ अर्ब ११ करोड ५६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । चैतसम्म कम्पनीले ३ अर्ब ७३ करोड ९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब २९ करोड १५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । यस अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ३ अर्ब ५१ करोड ५३ लाख रुपैयाँ गरेको छ । गत वर्षको चैतमा कम्पनीले २ अर्ब ९३ करोड ६३ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । चैतसम्म कम्पनीले ४ अर्ब ८२ करोड ९४ लाख रुपैयाँ कुल आम्दानी गरेर ४ अर्ब ४६ करोड ३१ लाख रुपैयाँ कुल खर्च गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ४ अर्ब १२ करोड २७ लाख रुपैयाँ कुल आम्दानी गरेर ३ अर्ब ७९ करोड ११ लाख रुपैयाँ कुल खर्च गरेको थियो । समीक्षा अवधिसम्ममा कम्पनीको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ, सेयर प्रिमियम ५२ करोड ३८ लाख रुपैयाँ, सञ्चित नाफा ४२ करोड ५६ लाख रुपैयाँ, महाविपत्ती कोष २२ करोड ९८ लाख रुपैयाँ र जीवन बीमा कोषको आकार ११ अर्ब ८४ करोड ३४ लाख रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ९.७७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १३२.६७ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४७.३३ गुणा रहेको छ ।
४ बैंकले ७० प्रतिशत लगानी गरेको २१.३ मेगावाटको ठूलो खोला आयोजनाको परीक्षण सुरु
काठमाडौं । म्याग्दीको रघु गङ्गा गाउँपालिका-८ कुइनेमङ्गलेमा २१.३ मेगावाट क्षमताको ठूलो खोला जलविद्युत् आयोजनाको परीक्षण उत्पादनको तयारी गरिएको छ । संयुक्त ऊर्जा लिमिटेडले निर्माण गरेको यस आयोजनाको पूर्वाधार निर्माण सम्पन्न भएर भौतिक संरचना र विद्युत् गृहमा जडान भएका मेसिन उपकरणको परीक्षण सुरु गरिएको आयोजनाका ‘प्लान्ट म्यानेजर’ विनोद पौडेलले जानकारी दिए । उनका अनुसार, बाँध, सुरुङ, विद्युत् गृह र स्वीचार्डतर्फको सम्पूर्ण काम सकिएको छ । विद्युत् गृहमा टर्बाइन लगायतका मेसिन उपकरण जडान गरेर आवश्यक परीक्षण गरिसकिएको उनले बताए । आयोजनाबाट उत्पादन हुने विद्युतलाई केन्द्रीय प्रसारणमा जोड्नका लागि ८ किलोमिटर लामो ट्रान्समिसन लाइन निर्माणाधीन अवस्थामा छ । आगामी जेठ १ गते परीक्षण उत्पादन गर्ने लक्ष्यसहित प्रसारण लाइनको टावरमा तार तान्ने काम धमाधम भइरहेको आयोजनाले जनाएको छ । कुइनेमंगले र चिमखोलाको सीमाक्षेत्र फेदीमा बाँध रहेको यस आयोजनामा सुरुङ र पेन स्टक पाइप हुँदै ल्याइने पानीलाई छरीस्थित रघुगङ्गा नदी किनारमा निर्माण भएको विद्युत् गृहमा खसालेर विद्युत् उत्पादन गरिने छ । यस आयोजनामा ३ हजार ३८२ मिटर लामो सुरुङ र ६३४ मिटर पेन स्टक टनेल रहेको छ । गैर आवासीय नेपाली र नेपालीहरूको ३० प्रतिशत लगानी रहेको यस आयोजनामा ७० प्रतिशत बैंक तथा वित्तीय संस्थाको लगानी छ । ३ अर्ब ६० करोड रुपैयाँ लागत अनुमान गरिएको यस आयोजनामा नेपाल बैंकको नेतृत्वमा लक्ष्मी सनराइज बैंक, राष्ट्रिय वाणिज्य बैंक, सिद्धार्थ बैंकले लगानी गरेको आयोजनाले जनाएको छ । आयोजनामा सिभिलतर्फ साकुरा पावर/त्रिपल एस जेभीले ठेक्का लिएको थियो भने इलेक्टोमेकानिकलतर्फको ठेक्का टोयर हाइड्रोले लिएको थियो ।
८.४९ प्रतिशत बढ्यो हिमालयन लाइफको नाफा, ७३.७७ अर्ब रुपैयाँ पुग्यो जीवन बीमा कोष
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा खुद नाफा ८.४९ प्रतिशत बढेर ४७ करोड २४ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ४३ करोड ५४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आवको चैत मसान्तसम्ममा कम्पनीको खुद बीमा शुल्क १.३३ प्रतिशत बढेर १२ अर्ब १८ करोड ३० लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको चैतमा कम्पनीले १२ अर्ब २ करोड ३० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । चैतसम्म कम्पनीले १२ अर्ब ४९ करोड ५५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १२ अर्ब ३३ करोड १३ लाख कुल बीमा शुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन १.३३ प्रतिशतले बढेको हो । यस अवधिमा कम्पनीको खुद दाबी भुक्तानी १४ अर्ब ९६ करोड ८६ लाख रुपैयाँ गरेको छ । गत वर्षको चैतमा कम्पनीले १३ अर्ब ९७ करोड ११ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीले पुनर्बीमा कमिसनमा ३१ करोड २४ लाख रुपैयाँ र अभिकर्ता कमिसनमा ९८ करोड ६४ लाख रुपैयाँ खर्च गरेको छ । गत वर्षको चैतमा कम्पनीले पुनर्बीमा कमिसनमा ३० करोड ८२ लाख रुपैयाँ र अभिकर्ता कमिसनमा ९९ करोड ८१ लाख खर्च गरेको थियो । चैतसम्म कम्पनीले १८ अर्ब ४८ करोड रुपैयाँ कुल आम्दानी गरेर १७ अर्ब १४ करोड ४९ लाख रुपैयाँ कुल खर्च गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १६ अर्ब ६९ करोड ६३ लाख रुपैयाँ कुल आम्दानी गरेर १६ अर्ब २६ करोड रुपैयाँ कुल खर्च गरेको थियो । समीक्षा अवधिसम्ममा कम्पनीको चुक्ता पुँजी १४ प्रतिशत बढेर ९ अर्ब १४ करोड ३२ लाख रुपैयाँ, महाविपत्ती कोष ८.२९ प्रतिशत बढेर ४७ करोड ८ लाख र जीवन बीमा कोषको आकार ७३ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ । तर, यस अवधिमा कम्पनीको सञ्चित नाफा घटेर १ अर्ब ९ करोड ९० लाख रुपैयाँमा झरेको छ । गत वर्षको चैतमा कम्पनीको सञ्चित नाफा १ अर्ब ४२ करोड १३ लाख रुपैयाँ थियो । कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ६.८९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११६.०७ रुपैयाँ र मूल्य आम्दानी अनुपात ६१.५१ गुणा रहेको छ ।
वर्षाले नारायणघाट-बुटवल सडक र कान्ति लोकपथ अवरुद्ध, वैकल्पिक यात्रा गर्न आग्रह
काठमाडौं । गए रातीदेखि निरन्तर परेको वर्षाका कारण पूर्व पश्चिम राजमार्गको नारायणघाट-बुटवल सडक अवरुद्ध भएको छ । सडक विस्तारका क्रममा रहेको यस सडकको दाउन्ने क्षेत्रमा निरन्तरको वर्षाका कारण सडकमा सवारीसाधन चिप्लिन थालेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए । उनले गए रातीदेखि परेको पानीका कारण सडक चिप्लो भएर पूर्ण रूपमा अवरुद्ध हुँदा यो सडक भएर यात्रा गर्ने सम्पूर्ण यात्रुहरूलाई वैकल्पिक सडकबाट यात्रा गर्न समेत आग्रह गरे । सडक विस्तारको कामलाई तीव्र पार्न दाउन्ने खण्डमा राति ११ देखि बिहान ५ बजेसम्म दैनिक रूपमा सडक पूर्ण रूपमा बन्द गरिँदै आएको छ । रातीदेखि नै बन्द भएको यस सडक वर्षाका कारण आवागमन बन्द भएपछि सवारी साधनको लाइन लामो हुँदै गएको सूचना अधिकारी नेपालले जानकारी दिए । कान्ति लोकपथ सडक अवरुद्ध त्यसैगरी, गए रातीदेखि परेको अविरल वर्षाका कारण हेटौंडाबाट काठमाडौं जाने कान्ति लोकपथ अवरुद्ध भएको छ । वर्षाका कारण बागमती नदीमा बाढी आउँदा कान्ति लोकपथ अन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका-८ र ललितपुरको बागमती गाउँपालिका-२ को सिमानामा रहेको बागमती खोला डाइभर्सन बगाउँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । प्रहरीका अनुसार उक्त डाइभर्सन बगाएपछि अज बिहान ६ बजेदेखि नै सवारी साधनको आवतजावत अवरुद्ध भएको हो । अहिले प्रहरी टोली घटनास्थलमा खटिएको छ र अवरुद्ध सडक खुलाउने प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । प्रहरीले यात्रीलाई हेटौंडाबाट काठमाडौं जान अन्य मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।
आजको मौसम: बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिदा हल्का वर्षा
काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहँदा काठमाडौंसहित देशका केही पहाडी भागमा हल्का वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाद्वारा जारी मौसम ‘बुलेटिन’का अनुसार बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव रहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने र कोशी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू-भागका केही स्थान तथा बाँकी भू-भागका केही स्थानमा मेघगर्जन, चट्याङ र हुरीबताससहित हल्कादेखि मध्यम वर्षाको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ । देशका हिमाली एवं पहाडी भू-भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । त्यसैगरी, आज राति देशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहने मशाशाखाले जनाएको छ । देशको पहाडी भागका केही स्थान र बाँकी भू-भागको एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशको हिमाली भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
अप्रत्याशित बढे मुस्ताङमा विदेशी पर्यटक, ४ महिनामा ५१ हजार भित्रिए
काठमाडौं । मुस्ताङमा सन् २०२५ को चार महिना ५१ हजार ८९६ विदेशी पर्यटक भित्रिएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमका अनुसार सन् २०२५ को जनवरी १ देखि अप्रिल अन्तिमसम्म उक्त सङ्ख्यामा विदेशी पर्यटक मुस्ताङ भित्रिएका हुन् । एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्ताले मुस्ताङमा विदेशी पर्यटकको आगमन अप्रत्याशित रुपले वृद्धि भइरहेको बताए । सन् २०२५ को चार महिनामा सार्क राष्ट्रका ४३ हजार १५१ र अन्य राष्ट्रका ८ हजार ७४५ विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेका छन् । सन् २०२५ को जनवरीदेखि अप्रिलसम्म कुल विदेशी पर्यटक सङ्ख्याको ८३ प्रतिशत सार्क राष्ट्रको र १७ प्रतिशत अन्य राष्ट्रका पर्यटक मुस्ताङ भित्रिएका थिए । सन् २०२५ को जनवरीमा चार हजार ३४६, फेबु्रअरीमा पाँच हजार ३३०, मार्चमा १९ हजार ९५ र अप्रिलमा २३ हजार १५२ विदेशी पर्यटक मुस्ताङ भित्रिएका थिए । सन् २०२४ को जनवरीदेखि अप्रिलसम्म विदेशी पर्यटकको तथ्याङ्क हेर्दा सन् २०२५ को जनवरीदेखि अप्रिलसम्म (३६.६६) प्रतिशतले विदेशी पर्यटकको सङ्ख्या वृद्धि भएको हो । सन् २०२४ को सुरुआती चार महिनामा ३७ हजार ९७४ विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेकामा सन् २०२५ को सुरुआती चार महिनामा ५१ हजार ८९६ जनाले मुस्ताङको भ्रमण गरेका छन् । मुस्ताङको ऐतिहासिक, धार्मिक, संस्कृति तथा सामाजिक सभ्यता अवलोकन गर्न उल्लेख मात्रामा विदेशी पर्यटक मुस्ताङ आउने गरेको मुक्तिनाथका होटल व्यवसायी सुरज गुरुङले बताए । मुस्ताङमा बढी मात्रामा भारतीय पर्यटक आउने गरेका छन् । हिन्दू तथा बौद्धमार्गीहरूको साँझा धार्मिक तीर्थस्थल मुक्तिनाथको दर्शनका लागि छिमेकी देश भारतका विभिन्न स्थानबाट पर्यटक आउने गरेका छन् । मुस्ताङमा मुक्तिनाथ मन्दिरको दर्शनसँगै उपल्लो मुस्ताङको कोरलानाका, छोसेर गुफा, लोमान्थाङ दरबार, निफुक गुम्बा, लोघेकर (घर) गुम्बा, चराङ गुम्बा, लुरी गुम्बा, दामोदरकुण्ड, चिउसी गुफा, मुस्ताङ गेट, नुन खानी, कागबेनीधाम, ढुम्बाताल, जोमसोम बजार, मार्फा गाउँ, सेकुङ ताल र टिटी ताललगायतको पर्यटकीय गन्तव्य रहेकाले पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको घुमफिरको गन्तव्य बनेको हो ।
गर्मीले कुखुरामा तनाव बढ्ने भएकाले अण्डा उत्पादन घट्यो, पर्यटक वृद्धिपछि माग बढ्यो
काठमाडौं । गर्मीसँगै अण्डाको उत्पादन घटेपछि माग बढ्न थालेको छ । गर्मीका कारण कुखुराले दाना कम खाने हुँदा अण्डाको आकार र सङ्ख्या दुवै घट्ने गर्दछ । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका उपप्राध्यापक डा अनन्त दाहालका अनुसार गर्मीसँगै कुखुराले अण्डा कम दिन थाल्छ । मुख्य रोगहरू पनि यही मौसममा देखा पर्ने गर्दछन् । पानी परेर आर्द्रता बढ्दा कुखुरालाई गर्मीका कारण हुने तनाव निकै बढ्ने उनी बताउँछन् । अझै अण्डाको उत्पादन घट्दै जाने उनले बताए । गर्मी उच्च विन्दुमा पुग्दा २५ प्रतिशतसम्म उत्पादन घट्ने उनको भनाइ छ । नेपाल लेयर्स कुखुरा पालक सङ्घका केन्द्रीय अध्यक्ष विनोद पोखरेलले उत्पादन घटेपछि माग धान्न मुस्किल हुन थालेको बताए। चार महिना अघिसम्म दैनिक ४० हजार कार्टुन अण्डा उत्पादन हुने गरेकामा अहिले घटेर २८ हजार हाराहारीमा झरेको उनी बताउँछन् । उनको भनाइमा गर्मीसँगै दानाको मूल्य उच्च र अण्डाको मूल्य कम भएपछि धेरै किसानले कुखुरा बिक्री गरेको र चल्ला राख्न नसकेका कारण अण्डाको सङ्ख्या घटेको हो । विद्यालय, क्याम्पस खुलेका र पर्यटक बढेका कारण बजारमा अण्डाको माग बढेको उनी बताउँछन् । माग बढेसँगै किसानले उत्पादन गरेको अण्डाको मूल्य बढ्दो क्रममा छ । अध्यक्ष पोखरेलका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटा) को ४६० रुपैयाँ, ठूलाको ४३५ रुपैयाँ र मिडियमको ३८५ रुपैयाँ कायम गरिएको छ । बजारमा मागअनुसार अण्डा नपाएपछि क्रमशः मूल्य बढ्दै गएको हो । गत वर्ष प्रतिक्रेट (३० गोटा) को ५२५ रुपैयाँ सम्म पुगेको अण्डाको मूल्य घटेर ३५० रुपैयाँमा झरेको थियो । मूल्य घटेसँगै लागत मूल्य धान्न नसकेपछि धेरै किसानले अण्डा दिँदै गरेका कुखुरासमेत बिक्री गर्न बाध्य भएका थिए । नेपालमा अण्डाको लागत मूल्य प्रतिगोटा १६.५६ रुपैयाँ पर्न आउँछ । अण्डा उत्पादन गर्ने कुखुरा घटेको र माग बढेको छ । अहिलेको अवस्थालाई हेर्दा अण्डाको मूल्य क्रमशः बढ्ने देखिन्छ । अण्डाको मूल्य बढेपछि किसान उत्साहित बनेको उनको भनाइ छ ।