यी हुन् मन्त्रिपरिषद बैठकका निर्णयहरू
काठमाडौं । सरकारले स्वास्थ्य बीमा (पहिलो संशोधन) नियमावली, २०८१ स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य बीमा (पहिलो संशोधन) नियमावली, २०८१ स्वीकृत गरेको हो । मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङ्गले आगामी जेठ ६ गतेदेखि ९ गतेसम्म अजरबैजानको बाकुमा आयोजना हुने भ्रष्टाचार विरोधी कानून प्रवर्तन अधिकारीहरूको विश्वव्यापी सञ्चालन सञ्जालको छैटौं पूर्ण बैठकमा सहभागी हुन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा. हरि पौडेललाई स्वीकृति प्रदान गर्ने निर्णय गरिएको छ । यस्तै, आगामी जेठ १३ गतेदेखि १७ गतेसम्म जापानको आतङ्कवाद विरोधी एकाइको पदाधिकारीहरूसँगको छलफल कार्यक्रममा सहभागी हुन राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा र अतिरिक्त मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्कीलाई स्वीकृति दिने, एसियाली विकास बैङ्कको चार्टरको आर्टिकल १२ (१) मा उल्लिखित लगानीको सीमासम्बन्धी प्रावधान हटाउने प्रस्तावको पक्षमा मतदान गर्न अर्थमन्त्रीलाई स्वीकृति दिने समेत निर्णय गरेको बताए । सरकारले जनकपुर चुरोट कारखाना लिमिटेड, गोरखकाली रबर उद्योग लिमिटेड, उदयपुर सिमेन्ट उद्योग लिमिटेड, हेटौंडा सिमेन्ट उद्योग लिमिटेड, नेपाल मेटल कम्पनी लिमिटेड, बुटवल धागो कारखाना लिमिटेड र नेपाल ओरियण्ड म्याग्नेसाइट प्रालि गरी ७ वटा प्रतिष्ठानको सरकारी लगानी व्यवस्थापन गर्न स्वीकृति प्रदान गर्ने, रानी जमरा कुलरिया सिंचाई आयोजना नहर निर्माण तथा बिस्तारका लागि आवश्यक नहरको रेखाङ्कनमा पर्ने करिव २सय ८९ हेक्टर क्षेत्रफल जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको उनले जानकारी दिए । यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र मन्त्रालयअन्तर्गतको विद्युत विकास विभागको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गर्ने, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । मन्त्री गुरुङकाअनुसार सरकारले अदालत र बेलायतको सर्वोच्च अदालतबिच हस्ताक्षर हुने लेटर अफ गुड विल स्वीकृत गर्ने र हस्ताक्षर गर्न अख्तियारी दिने, आगामी जेठ १९ गतेदेखि २३ गतेसम्म स्वीजरल्याण्डको जेनेभामा आयोजना हुने विपद् जोखिम न्युनिकरणका लागि राष्ट्रिय प्लेटफर्महरू बीच संवादः २०३० सम्ममा विपद् जोखिम न्युनिकरण शासनलाई सुदृढ गर्ने २०३० विषयक कार्यक्रममा सहभागी हुन सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई स्वीकृति प्रदान गर्ने, प्रहरी नायव महानिरीक्षकहरू चन्द्र कुवेर खापुङ, लालमणि आचार्य, कृष्ण हरि शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र डा. मनोजकुमार केसीलाई नेपाल प्रहरीको जनपद समूहतर्फ रिक्त रहेको प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा नियुक्त गरी पदस्थापन गर्ने, राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष पदमा अर्को व्यवस्था नभएसम्मका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिवलाई काम गर्न तोक्ने निणय गरेको छ । त्यस्तै, स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको सुरक्षा मन्त्रालय १ सय १३ औँ सेसनमा २०८२ जेठ २५ गतेदेखि ३१ गतेसम्म मन्त्री शरतसिंह भण्डारीलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने, नेपाल इन्जिनियरिङ सेवातर्फका एक जना सहसचिवको राजीनामा स्वीकृत गर्ने र एक जना सहसचिवलाई पदस्थापन गर्ने, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव र गृह मन्त्रालयका सचिवको वैदेशिक भ्रमण स्वीकृत गर्ने सरकारले निर्णय गरेको छ । यस्तै, वैशाख १७ गते बुधवारको मन्त्रिपरिषद् बैठकले कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशी उपचारको लागि अमेरिका जानुहुने भएकोले उहाँको मिति आगामी जेठ ५ देखि असार १३ सम्मको बिदा स्वीकृत गर्ने, उहाँको अनुपस्थितिमा वहाँले सम्पादन गर्दै आउनुभएको कार्य गर्न सुदूरपश्चिम प्रदेशको प्रदेश प्रमुखलाई तोक्न राष्ट्रपति समक्ष सिफारिस गर्ने, नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०८१÷१२÷११ गतेको निर्णयअनुसार गठित नेपाल राष्ट्र बैङ्कको रिक्त गभर्नर पदमा नाम सिफारिस समितिका सदस्य विजयनाथ भट्टराईले राजीनामा दिएकाले निजको सट्टा उक्त समितिमा पूर्व गभर्नरहरूमध्येबाट महाप्रसाद अधिकारी सदस्य रहने गरी सिफारिस समिति पुनर्गठन गर्ने, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र अन्तर्गतका निकायहरूको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । सरकारले नेपाली सेनाका एक जना सहायक रथीको उपरथी दर्जामा र दुई जना महासेनानीको सहायक रथी दर्जामा बढुवा गर्ने, वन तथा वातावरण वन तथा वातावरण मन्त्रालयअन्तर्गत सुरक्षार्थ खटिएका करारमा कार्यरत सशस्त्र वन रक्षकलाई समेत पोशाक उपलब्ध गराउन स्वीकृति प्रदान गर्ने, वन तथा वातावरण मिति २०८२ जेठ ११ गतेदेखि १३ गतेसम्म क्यानडामा आयोजना हुने जातमुक्त संसारको लागि विश्वव्यापी सम्मेलन २०२५ कार्यक्रममा सहभागी हुन वन तथा वातावरण राज्यमन्त्री रुपा वि.क.लाई स्वीकृति प्रदान गर्ने निर्णय भएको मन्त्री गुरुङले जानकारी दिए । त्यस्तै, सरकारले शिक्षक महासंघको मागलाई सम्बोधन गर्ने, एकीकृत अस्पताल सञ्चालन तथा व्यवस्थापन गर्नेसम्बन्धी विधेयक तर्जुमा गर्न सिद्धान्त स्वीकृत गर्ने, स्वास्थ्य बीमा बोर्ड, गेटा अस्पताल, सुशील कोईराला प्रखर क्यान्सर अस्पताल र डडेलधुरा अस्पतालको आव २०८१÷८२ को लागि अस्थायी दरबन्दी स्वीकृत गर्ने, नेपाल हज समिति (गठन तथा सञ्चालन) आदेश, २०८१ स्वीकृत गर्ने, बालबालिका सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसदसमक्ष पेश गर्न स्वीकृति प्रदान गर्ने, नेपाल स्मार्ट सहरसम्बन्धी सूचकहरू, २०८१ स्वीकृत गर्ने निर्णय गरेको छ ।
ग्लोबल आइएमई बैंकको ह्याकथन कार्यक्रम सम्पन्न, प्रतियोगितामा २१ टोली सहभागी
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको कृत्रिम बौद्धिकता (एआई) र मेसिन लर्निङ (एमएल) सम्बन्धी ‘ग्लोबल आइएमई एआई/एमएल ह्याकथन’ कार्यक्रम सम्पन्न भएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा बैंकको प्रमुख कार्यकारी अधिकृत, नायव प्रमुख कार्यकारी अधिकृत लगायत उच्च व्यवस्थापकहरु सहित विभिन्न संस्थाको प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । बैंकले प्रविधिमा रुति राख्ने विद्यार्थी, स्टार्टअप, डेभलपर, डेटा वैज्ञानिक तथा अनुसन्धानकर्ताहरुलाई लक्षित गर्दै सम्भावित नवीनतम प्रविधिमा आधारित बैंकिङ सेवा विकासका लागि यो प्रतियोगिता सञ्चालन गरेको हो । यस प्रतियोगितामा २१ टोलीलाई अनलाइन पेपर प्रिजेन्टेशनका लागि छनौट गरिएको थियो । प्रतियोगी टोलीहरू महेन्द्रनगर, पोखरा, वीरगञ्ज, काभ्रे, धरानबाट सहभागी भएका थिए । सहभागी टोलीमध्ये टिम क्याल्कुलुसले उक्त प्रतियोगिताको प्रथम पुरस्कार स्वरुप १ लाख जित्न सफल भएको छ । साथै, डब्लुडिके, लार्के पास, टिम जनकपुर, फ्रडेक्स टोलीहरुले क्रमश : दोस्रो, तेस्रो, चौथो र पाँचौं पुरस्कारबाट पुरस्कृत भएका छन् । दोस्रो हुने टोली डब्लुडिकेले ७५ हजार, तेस्रो हुने लार्के पासले ५० हजार, चौथो र पाँचौं हुने क्रमशः टिम जनकपुर र टिम फ्रडेक्सले १५–१५ हजारको पुरस्कार प्राप्त गरेका छन् । साथै वेष्ट प्रिजेन्टेसन बिधाअन्तर्गत बैंकले डिजीविट्सलाई १५ हजारको पुरस्कारबाट पुरस्कृत गरेको छ । प्रतियोगिताका विजेता टोलीलाई उक्त कार्यक्रमका प्रमुख अतिथि, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले पुरस्कार रकम हस्तान्तरण गरे । नेपालमा पहिलो पटक एआई र मेसिन लर्निङ (एमएल) सम्बन्धी ह्याकथन सञ्चालन गरेकोमा डेपुटी गभर्नर बमबहादुर मिश्रले आयोजक ग्लोबल आइएमई बैंकलाई धन्यवाद दिए । कार्यक्रममा बैंकका सीईओ सुरेन्द्रराज रेग्मीले यस ह्याकाथनले डिजिटल बैंकिङमा आउने सम्भावित सेवाहरु र यसको चुनौतीहरूको समाधानको लागि सहयोग पुग्नुका साथै नवीनतम सेवाहरूको विकासमा सहयोग पुग्ने विश्वास बैंकले लिएको जानकारी दिए । यस प्रतियोगिताको उत्कृष्ट टोलीहरुलाई बैंकले सहकार्य गर्ने अवसर प्रदान गर्ने समेत जानकारी प्रदान गरे । प्रतियोगिता दुई चरणमा सञ्चालन भएको थियो । जसअन्तर्गत पहिलो चरणमा कोडिङ्ग र दोस्रो चरणमा अनसाइट ह्याकाथन भएको हो ।
१ करोड २६ लाख लागतमा स्तनपान कक्षसहितको अत्याधुनिक शौचालय सञ्चालनमा
ललितपुर । ललितपुर महानगरले पर्यटकलाई लक्षित गरेर पाटन दरबार क्षेत्रमा निर्माण गरेको अत्याधुनिक सार्वजनिक शौचालय सञ्चालनमा ल्याएको छ । आइतबार महानगरले एक कार्यक्रमको आयोजना गरी नवनिर्मित शौचालय सञ्चालनमा ल्याएको हो । शौचालय सञ्चालन गर्ने जानकारी दिन आयोजित कार्यक्रममा नगर प्रमुख चिरीबाबु महर्जनले विधि र प्रक्रिया पूरा गर्दा गर्दै शौचालय निर्माणका लागि केही समय लागे पनि शौचालय निर्माणको काम सम्पन्न भएको बताए । उनले भने, ‘हाम्रो सहरको मौलिकता झल्कने गरी शौचालय बनाएका छौं, यो शौचालयले अब आन्तरिक र बाह्य पर्यटकका लागि सहज हुन्छ ।’ यसअघि पाटन दरबार क्षेत्र घुम्न आउने पर्यटकहरूको लागि पर्याप्त र व्यवस्थित शौचालायको प्रयोग गर्न नपाएको गुनासो हुँदै आएकोमा अब भने पर्यटकलाई शौचालय खोज्न भौतारिनु नपर्ने उनले बताए । महानगर प्रमुख महर्जन चिरीबाबु महर्जनले यो शौचालय निर्माण महानगरको मात्रै नभई सम्पूर्ण पालिकाको लागि ‘सो केस प्रोजेक्ट’ भएको बताए । यस अघि पाटन दरबार क्षेत्रमा सार्वजनिक शौचालय भए पनि यहाँको आवश्यकतालाई पूर्ति गर्ने किसिमको थिएन । संस्कृति पर्यटन मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले आन्तरिक र बाह्य पर्यटकलाई शौचालय निर्माणले सहज बनाएको बताउँदै पुरातात्विक मौलिकतालाई प्राथमिकतामा राख्नु महत्त्वपूर्ण भएको बताए । ललितपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठले ऐतिहासिक र पुरातात्विक महत्त्वलाई ध्यानमा राखेर शौचालयको भवन निर्माण गरेको जानकारी दिइन् । पर्यटकलाई सुविधा दिँदै पुरातात्विक महत्त्व पनि कायम राख्ने गरी महानगरले अत्याधुनिक पर्यटकीय शौचालय निर्माण गरेको उनले बताइन् । महानगरको यो परियोजनासम्पदा र आधुनिकताको समिश्रण युक्त परियोजना भएको उनले भनाइ छ । महानगरका प्रवक्ता राजु महर्जन पूर्वाधार निर्माणका अन्य अवयवमध्ये सार्वजनिक शौचालय पनि एक भएको जानकारी दिए । ललितपुर महानगरको २९ वटा वडामध्ये धेरैवटा वडामा सार्वजनिक शौचालय निर्माण भइरहेको बताए । पाटन दरबार क्षेत्रमा अत्याधुनिक शौचालय अत्यावश्यक भएको बताए । उनले भने, ‘शौचालय अति आवश्यक कुरा हो, अब हामी आवश्यकता हेरेर बनाउँछौं ।’ पूर्वाधार निर्माण महाशाखा प्रमुख प्रदीप पौडेलले पब्लिक स्यानिटेसनलाई सुधार गर्नका लागि यो महत्वपूर्ण परियोजना भएको उल्लेख गरे । सम्पदा क्षेत्रको पुरातात्विक मौलिकतामा ध्यान दिई शौचालयको बाहिरी वनावट काष्ठ कला र चुनासुर्की सहितको मा अप इँटाको प्रयोग भएको छ । शौचालयको छाना झिंगटी टायलसहित दुई पाखे गरी निर्माण गरिएको छ । यो शौचालयको निर्माणको जिम्मा पीपी एण्ड पी सिर्जनशील जेभीले पाएको थियो । शौचालय निर्माणको लागि महानगर र निर्माण कम्पनीबीच २०८० वैशाख १ गते भएको थियो । उक्त कम्पनीले सौचालय निर्माणको ठेक्का एक करोड १० लाख ७५ हजारमा पाएको थियो । महानगरका अनुसार कुल लागत एक करोड २६ लाखमा शौचालय निर्माण भएको हो । आधुनिक प्रविधिको अपाङ्गतामैत्री यो शौचालयमा पुरुषको लागि ६ वटा युरेनलसहितको तीन वटा शौचालय, महिलाको लागि ६ वटा शौचालय, १ वटा अपाङ्गतामैत्री शौचालय, १ वटा स्तनपान कक्ष राखिएको छ । अत्याधुनिक स्यानिटी सामग्रीसमेत रहेको छ ।
एनएमबि बैंकको बाह्रौं हेरिटेज वाक कार्यक्रम सम्पन्न
काठमाडौं । एनएमबि बैंकले शनिबार बाह्रौं हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको छ । एनएमबि बैंकको गट्ठाघर शाखाबाट सुरु भई शन्खधर पार्क, बालकुमारी मन्दिर, पाटी बिहार, नगदेश हुँदै बोडेको महालक्ष्मी मन्दिरसम्म पुगी कार्यक्रम सम्पन्न गरेको हो । समृद्ध नेपालको अपार सम्भावना सहित मुलुकको ऐतिहासिक तथा सामाजिक रूपान्तरणको लागि सांस्कृतिक सम्पदा प्रवर्द्धन तथा साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले उक्त गरिमामय समारोहको आयोजना गरिएको बैंकले जनाएको छ । एनएमबि बैंक लिमिटेडले नेपाल हेरिटेज सोसाईटीको सहकार्यमा बैंकका कर्मचारी, मध्यपुर थिमि नगरपालिकाका कर्मचारी, नेपाल हेरिटेज सोसाईटीका सदस्यहरु तथा सर्वसाधारणहरू गरी लगभग ७०० जनाको सहभागिता रहेको थियो । कार्यक्रमको प्रमुख अतिथिका रुपमा मध्यपुर थिमि नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठ उपस्तिथ थिए । उक्त कार्यक्रममा एनएमबि बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सम्पदा तथा वातावरण संरक्षणको लागि नेपाल हेरिटेज सोसाईटीलाइ ५ लाख रुपैयाँको सहयोगका साथै मध्यपुर थिमि नगरपालिकाकालाई डस्टविनहरू समेत हस्तान्तरण गरिएको छ । सोही प्रकारको कार्यक्रम सातै प्रदेशमासमेत गरिएको छ । एनएमबि बैंकले हाल देशभरी २०२ शाखाहरु, १८६ एटीएम, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।
कार्ल्सवर्ग गल्फ क्लासिक’ प्रतियोगिता सम्पन्न, लामाले जिते कार्ल्सवर्ग कोपनहेगन ट्रीप
काठमाडौं । कार्ल्सवर्गको आयोजनामा प्रतिष्ठित गोकर्ण फरेस्ट रिसोर्ट गल्फ कोर्समा 'कार्ल्सवर्ग गल्फ क्लासिक' प्रतियोगिता सम्पन्न भएको छ । एकदिवसीय गल्फ प्रतियोगितामा कुल १०० गल्फरहरूले भाग लिएका छन् । प्रतियोगिताका विजेताहरुलाई गोर्खा ब्रुअरीका प्रबन्ध निर्देशक अरुण अधिकारी र गोकर्ण गल्फ क्लबका कप्तान जोसेफ नाथनले पुरस्कार वितरण गरेका थिए । 'कार्ल्सवर्ग गल्फ क्लासिक’ प्रतियोगिता–२०२५ का विजेतामा ४२ अंकसहित फुन्टसोक एन लामा रहेका छन् । लामाले डेनमार्कको कोपनहेगनस्थित काल्र्सबर्ग ब्रुअरीको ट्रीप पनि पुरस्कार स्वरूप पाए । त्यस्तै, ४१ अंकसहित बेस्ट ग्रसको उपाधि टाशी छिरिङले जितेका छन् भने ४० अंकसहित नामग्याल टि लामाले रनरअपको उपाधि जिते । त्यसैगरी महिला तर्फ गीता गुरुङले २५ अंकसहित विजेता बनेकी छन् भने सिनियर तर्फ ३३ अंकसहित अर्जुन कुमार कार्की विजयी भए । त्यस्तै, सुस्मिता खड्का महिला तर्फ उपविजेता बनेकी थिइन् । त्यसैगरी छेवाङ शेर्पाले ’ कोल्जेस्ट टु द पिन’ अवार्ड जिते भने प्रकाश गुरुङले 'लङगेस्ट ड्राइभ’ को उपाधि जितेका थिए । त्यसैगरी, मोस्ट बर्डिजको उपाधि ५ वर्डिज र एक इगलसहित फुन्टसोक नोर्बु लामाले जितेका थिए । सबै विजेताहरूलाई ट्रफी र कार्ल्सवर्गको तर्फबाट गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो ।
'ऋण नलिएर ५ प्रतिशत बढीको आर्थिक वृद्धि सम्भव छैन, बजेट धेरै घटाउनु हुन्न'
काठमाडौं । पूर्वअर्थमन्त्री एवं प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. युवराज खतिवडाले आन्तरिक ऋण नलिइकन ६/७ प्रतिशत भन्दा बढीको आर्थिक वृद्धिदर हासिल गर्न सम्भव नरहेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित प्रि-बजेट छलफल कार्यक्रममा बोल्दै उनले ऋणको आकार बढे पनि त्यस्तो ऋण नलिइ ६/७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न नसकिने बताए । उनले भने, ‘आन्तरिक ऋण उठाउने कि नउठाउने धेरै भयो भन्ने कुरा छ । आगामी वर्ष तिर्नुपर्ने आन्तरिक ऋणमध्ये ३ खर्ब १७ अर्ब छ । हामी सामान्यता ५ प्रतिशत आर्थिक वृद्धिदर हासिल भयो भने हुन्छ भन्थ्यौं । तर अहिले हामीले वृद्धिदर धेरै खोज्न थाल्यौं । म अर्थमन्त्री भएको बेला ६/७ प्रतिशतको वृद्धिदर भएको थियो, त्यति बेला ऋण पनि बढेको थियो ।’ 'हाम्रो राजस्वले चालु खर्च धान्न पनि सक्दैन, विकास गर्नका लागि ऋण लिनैपर्ने बाध्यता छ । ६/७ प्रतिशतको आर्थिक वृद्धिका लागि ऋण नलिइ हुँदैन । ५ प्रतिशत बढि वृद्धिदर हासिल गर्न हरेक अर्थमन्त्रीले ऋण लिनैपर्ने बाध्यता छ,’उनले थपे । पूर्वअर्थमन्त्री खतिवडाले अब क्षेत्र मात्रै तोकेर नहुने बताउँदै परियोजना तोकेर आन्तरिक ऋण लिनुपर्ने बताए । उनले वैकल्पिक वित्तसम्बन्धि सरकारले कोष स्थापना गर्न जारी गर्न लागेको विधेयक, वैदेशिक सहायता नीतिमा समेत यस्ता कुरा रहेको बताए । खतिवडाका अनुसार हालै सरकारले ल्याएको नीति तथा कार्यक्रमले सूचना प्रविधिलाई जोड दिएको बताए । उनले सार्वजनिक खरिदमा अहिले पनि समस्या हट्न नसकेको भन्दै त्यसलाई सम्बोधन गर्न सार्वजनिक खरिद ऐनलाई संशोधन गर्न आउँदो अधिवेशनमा पेश हुने जानकारी दिए । सरकारी आयोगहरूले दिने प्रतिवेदनहरू कार्यान्वयन हुन नसकेको भन्दै प्रश्न उठिरहेका बेला खतिवडाले हुवहु त्यस्ता प्रतिवेदन लागू हुन नसक्ने बताए । उनका अनुसार आर्थिक सुधार आयोग, खर्च पुनरावलोकन आयोगहरुको प्रतिवेदन चरणवद्ध रूपमा कार्यान्वयनमा लैजाने सरकारी तयारी छ । आगामी बजेट ठूलो आकारको बन्न लागेको भन्दै सरकारको आलोचना भइरहेका बेला खतिवडाले बजेटको आकारको कुनै अंक नहुने बताए । 'स्रोतले भ्याउने बजेट राख्नुपर्छ । ढाई तीन खर्बले बजेट घटाउने प्रवृत्ति देखिँदै आएको छ, जुन विनियोजन ऐनको मर्मविपरीत हुन जान्छ । बढीमा १० प्रतिशत घटाउन सकिन्छ, त्यहाँभन्दा बढी गरियो भने त्यो ठिक होइन, त्यो कानुन सम्मत होइन,’ उनले भने । सरकारले सरकारी फाइलहरुको मोनिटरिङ थालिसकिएको बताउँदै खतिवडाले नागरिक एप जस्ता अन्य प्रविधिलाई अंगीकार गरेरै अब अघि बढ्ने ध्यानमा सरकार लागेको पनि बताए ।
पोपको रूपमा आफ्नो एआई फोटो सेयर गरेपछि ट्रम्पको आलोचना
काठमाडौं । अमेरिकी राष्ट्रपतिको कार्यालयको इन्स्टाग्राम खाताबाट डोनाल्ड ट्रम्पको पोपको रूपमा बनाइएको एआई तस्वीर सेयर गरिएको छ, जसप्रति क्याथोलिक समूहले कडा आपत्ति जनाएका छन् । यो तस्वीर त्यस्तो समयमा सार्वजनिक गरिएको हो जब क्याथोलिक समुदाय पोप फ्रान्सिसको निधनपछि शोकमा डुबेको छ । ट्रम्पले पोस्ट गरेको तस्वीरमा उनी पोपजस्तै सेतो पोशाक अनि टोपी लगाएर घाँटीमा ठूलो क्रस झुण्ड्याई गम्भीर मुद्रामा एक औंला माथि उठाएर उभिएका देखिन्छन् । न्यूयोर्क स्टेट क्याथोलिक कन्फरेन्सले ट्रम्पमाथि उनीहरूको आस्थाको अपमान गरेको आरोप लगाएको छ । केही दिनअघि मात्र ट्रम्पले पत्रकारहरूसँग मजाक गर्दै भनेका थिए, 'म पोप बन्न चाहन्छु ।’ ट्रम्प यस्ता पहिलो अमेरिकी राष्ट्रपति होइनन्, जसले यस्ता आरोप खेप्नुपरेको हो । एक वर्षअघि अमेरिकाका पूर्वराष्ट्रपति जो बाइडेनले गर्भपतनको पक्षमा आयोजित र्‍यालीमा ‘साइन अफ द क्रस’ बनाएर क्याथोलिक समुदायलाई आक्रोशित बनाएका थिए । भ्याटिकनका प्रवक्ताले ट्रम्पको तस्वीरबारे कुनै टिप्पणी गरेका छैनन् । भ्याटिकनमा बुधबारदेखि पोपको उत्तराधिकारी चयनको प्रक्रिया सुरु हुन लागेको छ । न्युयोर्क स्टेट क्याथोलिक कन्फरेन्सले एक्स (पूर्वट्विटर) मा लेखेको छ, 'यस तस्वीरमा केही पनि रमाइलो छैन, मिस्टर प्रेसिडेन्ट ।’ 'हामीले भर्खरै आफ्ना प्रिय पोपलाई गाडेका छौं र अब एक गम्भीर चयन प्रक्रिया सुरु हुँदैछ । कृपया हाम्रो मजाक नउडाउनुहोस् ।’
राष्ट्र बैंकले ५० अर्ब तरलता खिच्दै
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार ५० अर्ब बराबर तरलता खिच्न लागेको छ । राष्ट्र बैंकले सूचना जारी गरी निक्षेप संकलन उपकरणमार्फत २१ दिनका लागि उक्त रकम तान्न लागेको हो । बैंकका अनुसार आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल गर्न सकिनेछ । निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकमा पैसा निक्षेप गर्न चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सक्नेछन् । अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट पैसा खिच्न लागेको हो । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले सूचनामा उल्लेख गरेको छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने जनाइएको छ । यो २१ दिने निक्षेप संकलन उपकरणको जेठ ११ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ । पछिल्लो समय कर्जाको माग नबढेपछि बैंकिङ प्रणालीमा तरलता पर्याप्त रहेको छ ।