ट्र्याक खुलेको १४ वर्षपछि दरवाङ–बिम–दिच्याम सडक स्तरोन्नति
काठमाडौं । ट्र्याक खुलेको १४ वर्षपछि म्याग्दीको मालिका गाउँपालिको दरवाङ-बिम-दिच्याम सडक स्तरोन्नति थालिएको छ । गण्डकी प्रदेश सरकारको बजेटमा पूर्वाधार विकास कार्यालय म्याग्दीले ठेक्कामार्फत दरवाङ-बिम-दिच्याम सडक अन्तरगत खारा-बिम-डाडाँगाउँ खण्डमा स्तरोन्नति गर्न आयोजना सञ्चालन गरेको हो । गत असार महिनामा ११ करोड १९ लाख ९० हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको सर्वशक्ति महामाया प्रालिले सडक स्तरोन्नतिका लागि प्रारम्भिक चरणको काम थालेको पूर्वाधार विकास कार्यालयले जनाएको छ । दुई वर्षको ठेक्का अवधि रहेको योजनाको करिब १५ प्रतिशत प्रगति भएको छ । विसं २०६८ मा तत्कालीन जिविस, बिम गाविस र स्थानीयवासीको चन्दा सङ्कलनबाट खारादेखि बिम जोड्ने करिब सात किलोमिटर सडक निर्माण भएको थियो । हाल तीन दशमलव पाँच देखि पाँच मिटर फराकिलो सडकलाई सात मिटर फराकिलो पार्ने, नाली, पर्खाल निर्माण, ढलान, ग्राभेल र कालोपत्र गरिने पूर्वाधार विकास कार्यालयका प्रमुख विष्णु पौडेलले बताए । दरवाङदेखि खारासम्मको सडकमा म्याग्दी नदीमा निर्माणाधीन जलविद्युत आयोजनाका धेरै तौलका सामान बोक्ने सवारी साधन हिँड्ने र क्षति पुग्ने भएकाले खारादेखि बिम तल्लो गाउँ हुँदै डाडाँ गाउँसम्मको खण्डमा स्तरोन्नतिको आयोजना सञ्चालन गरिएको म्याग्दी १ (२) बाट निर्वाचित रेशमबहादुर जुग्जालीले बताए । जुग्जालीले गत वर्ष गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी सम्हाल्दा चार करोड रुपैयाँ बजेट विनियोजन गरेर बहुवर्षीय ठेक्का लगाउन २० करोड रुपैयाँको बजेटको स्रोत सुुनिश्चितता भएको थियो । चालु आर्थिक वर्षमा भने एक करोड ५० लाख रुपैयाँ मात्र विनियोजन भएको छ । सडकको शनिबार अनुगमन गर्नुभएका प्रदेशसभा सदस्य जुग्जालीले निर्माण व्यवसायीलाई तीव्रता दिन निर्देशन दिए । लुरवाङ-तल्लोगाउँ खण्डमा भित्तो काटेर सडक फराकिलो बनाएको ठेकेदारले टेवा पर्खाल निर्माण गरिरहेको छ । यो सडकबाट मालिका गाउँपालिका-७ को साविक बिम गाविस, धवलागिरि गाउँपालिका-५ मल्कवाङ र-६ मराङ तथा मालिका गाउँपालिका-६ दिच्यामका बासिन्दा लाभान्वित हुने खाराका बासिन्दा बुद्धी जुग्जालीले बताए । धार्मिक पर्यटकीयस्थल मालिका धुरी, प्रभुचेला, बिम बराह ताल घुम्न तथा दर्शन गर्न जाने पर्यटक एवम् भक्तजनलाई सहज हुनेछ । सुन्तला, आलुलगायत कृषि उपज बिक्री, आवतजावतमा सहज बनाउन र बसाइँसराइ कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
ऊर्जा मन्त्रालयका १ हजार योजना सम्झौता गरी काम सुरु, खर्च बढाउन निर्देशन
काठमाडौं । कर्णाली प्रदेशको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले हालसम्म एक हजार २७३ योजनामा एक हजार १६ योजना सम्झौता गरी काम सुरु भएको छ । तेस्रो त्रैमासको प्रगति समीक्षा सार्वजानिक गर्दै मन्त्रालयले २५७ योजना अझै सम्झौताको क्रममा रहेको जनाएको छ । रुकुम पश्चिम र सुर्खेत योजना कार्यान्वयनमा सबैभन्दा कमजोर देखिएका छन् । रुकुम पश्चिममा १६४ योजनामा ११७ योजना सम्झौता भएको मन्त्रालयका सूचना अधिकारी विपिन ज्ञवालीले जानकारी दिए । प्रदेश राजधानी सुर्खेतमा १६१ योजनामा १२४ योजना सम्झौता भएका छन् । रुकुम पश्चिमको भौतिक प्रगति २० प्रतिशत र सुर्खेतको २५ प्रतिशत मात्र छ । दैलेखमा हालसम्म १४५ मा १२० योजना सम्झौता भइ काम भइरहेको छ भने २५ योजना सम्झौता हुन बाँकी छ । जुम्लामा १०४ योजनामा हालसम्म ८७ योजनाको सम्झौता भएर काम जारी छ । कालिकोटमा १५० योजनामा १३१ योजना सम्झौता भएका छन् । सल्यानमा ९९ योजनामा ८३ योजना सम्झौता भएका छन् । जाजरकोटमा ११० योजनामा ९१ योजनाको काम सुरु भएको छ । हुम्लामा १४८ योजनामा १०६ योजनाको काम तीव्र रूपमा अघि बढेको छ । सडक सञ्जालसँग नजोडिएको हुम्लामा हालसम्म ४२ योजना पाइपलाइनमा रहेको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय प्रमुख ज्वालाराज शाहीले बताए । सडक सञ्जालसँग जोडिएको भएपनि उपल्लो डोल्पामा हिमपातलगायतका कारण चिसो हुँदा काम गर्न मुस्किल हुने गर्दछ । मुगुका १०५ वटा योजनामा हालसम्म ८४ योजना सम्झौता भएका छन् । जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको भौतिक प्रगति हालसम्म २७ प्रतिशत छ । भौतिक प्रगति कमजोर हुँदा मन्त्रालयको उद्देश्य पुरा नहुने सम्भावना बढेको छ । जलस्रोत तथा उर्जा विकास मन्त्री विजया बुढाले त्रैमासिक रूपमा कामको विवरण लिने गरेको बताए । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले बजेट कार्यान्वयन गर्न निर्देशन दिए । विकास बजेटमा खर्च बढाउन मन्त्री बुढा र मुख्यमन्त्री कँडेलले मातहतका निकायलाई काममा गति बढाउन निर्देशन दिए । मन्त्रालयका प्रवक्ता सिनियर डिभिजनल इन्जिनियर पदमराज देवकोटाले केही योजनामा विवाद तथा कार्यालय प्रमुख परिवर्तन हुँदा केही ढिला भएको बताउनुभयो । उहाँले केही योजना दोहोरिएकाले पनि समस्या आएको जानकारी दिए ।
सडकको चट्टान फोर्न ‘केमीकल’ प्रयोग गरिने, यसरी प्रयोग गरिन्छ केमीकल
काठमाडौं । ओखलढुङ्गाको मोलुङ करिडोर सडक निर्माणमा हरिबोले भीरको चट्टान फोर्न केमीकलको प्रयोग गरिने भएको छ । लामो समयसम्म चट्टान फोर्न नसकेपछि, केमीकलको प्रयोग गर्नुपर्ने अवस्था भएको हो । सुनकोशी गाउँपालिका-६ काउसेदेखि वडा नं ८ भाल्दीप आँपस्वारासम्म तीन किलोमिटर नयाँ ट्रयाक निर्माण गर्नुपर्नेमा, हरिबोले भीरमा २०० मिटर चट्टान फोर्न नसक्दा सडक ट्रयाक खुल्न सकेको छैन । उक्त चट्टानलाई लामो समयसम्म ब्रेकर लगाउँदा पनि कटान गर्न नसकेकाले केमीकल प्रयोग गरी चट्टान फोर्ने तयारी गरिएको हो । कम्प्रेसर मेसिन ल्याइसकेकाले चट्टानलाई ड्रिल गरी केमीकल प्रयोग गरिने निर्माण कम्पनी महालक्ष्मी भुजेल जेभी निर्माण सेवाका प्रोपाइटर तेजबहादुर भुजेलले जानकारी दिए । यसरी प्रयोग गरिन्छ केमीकल ढुङ्गालाई कम्प्रेसर मेसिनले ड्रिल गरेर पाँचदेखि आठ फुटसम्मको प्वाल बनाइन्छ । ती प्वालमा साढे दुई लिटर र आठ फिटको प्वालमा साढे तीन लिटर केमिकल राखिन्छ । उक्त प्वालमा १२ घण्टादेखि ७२ घण्टासम्म केमीकल राखिन्छ । केमीकलले ढुङ्गालाई गलाएर चर्काउँछ र ढुङ्गा टुक्रिन्छ । चट्टानलाई कति गहिराईसम्म चर्काउने हो सोहीअनुसार प्वाल बनाउने गरिन्छ । प्वालमा नापअनुसारको केमिकल राखेर कम्तीमा १२ देखि बढीमा ७२ घण्टासम्म राख्नुपर्ने ब्लास्टर रामप्रसाद पन्थीले जानकारी दिए । सडक निर्माणमा यो प्रविधि जिल्लामै पहिलो पटक प्रयोग गर्न लागिएको हो । केमिकलबाट पनि चट्टान फुटाउन नसकेको खण्डमा ब्लास्टिङको प्रयोग गरिने प्रोपाइटर भुजेलले बताए । सडक निर्माण सम्झौतामा ‘ब्लास्टिङ आइटम’ नभएकाले केमिकल प्रयोग गर्न लागिएको उनको भनाइ छ । हर्कपुरदेखि करिब चार किलोमिटर मोलुङ दोभानसम्म कालोपत्र गर्ने र मोलुङ दोभानदेखि साढे दुई किलोमिटरसम्म कटिङ गर्न महालक्ष्मी भुजेल जेभी निर्माण सेवाले सम्झौता गरेको थियो । मिति २०७९ साल माघ २३ गते सम्झौता भई आगामी माघको २३ गते सम्पन्न गर्ने गरी रु २५ करोड लागतमा ठेक्का सम्झौता भएको सडक डिभिजन कार्यालय हर्कपुरका इन्जिनियर दिपककुमार दासले जानकारी दिए । हरिबोले भीरको चट्टान ट्रयाक जोडिएपछि ओखलढुङ्गा सदरमुकामदेखि उदयपुरको घुर्मी जोडिने छोटो दुरीको सडक खुल्नेछ ।
९ महिनामा जीवन बीमकको १४ प्रतिशतले बढ्यो व्यवसाय, कसको व्यवसाय कस्तो ?
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को चैत महिनासम्ममा जीवन बीमा कम्पनीहरुले १ खर्ब २६ अर्ब बढी कुल बीमाशुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार हाल सञ्चालनमा रहेका १४ जीवन बीमकहरूले १ करोड ३५ लाख ३९ हजार ५१० वटा बीमा पोलिसी बिक्री गरी १ खर्ब २६ अर्ब १८ करोड १२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन्। कम्पनीहरूले आर्जन गरेको कुल व्यवसाय १४.६२ प्रतिशतले बढेको हो । गत आवको यही अवधिमा कम्पनीहरूले १ खर्ब १० अर्ब ८ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका थिए । चालु आवको ९ महिनाको अवधिमा सबैभन्दा धेरै व्यवसाय गर्ने जीवन बीमा कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । नेपाल लाइफले ९ महिनाको अवधिमा ३३ अर्ब १ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । कम्पनीले आर्जन गरेको व्यवसाय गत आवको भन्दा १२.०९ प्रतिशतले बढी हो । गत आवको यही अवधिमा कम्पनीले २९ अर्ब ४५ करोड ३९ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको थियो । धेरै बीमा शुल्क संकलन गर्ने दोस्रो बीमा कम्पनीमा नेशनल लाइफ इन्स्यारेन्स रहेको छ । नेशनल लाइफले चालु आवको ९ महिनामा गत आवको यही अवधिको तुलनामा २.१३ प्रतिशतले व्यवसाय बढाएको छ । कम्पनीले गत आवमा १२ अर्ब ८९ करोड २१ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेकोमा चालु आवको ९ महिनामा १५ अर्ब ६४ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । त्यस्तै, धेरै बीमा शुल्क आर्जन गर्ने तेस्रो कम्पनी एलआईसीले चालु आवको चैत्र मसान्तसम्ममा १४ अर्ब ३ करोड ६३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । कम्पनीले चालु आवमा आर्जन गरेको व्यवसाय गत आवको तुलनामा ९.३९ प्रतिशतले बढी हो । गत आवको यही अवधिमा कम्पनीले १२ अर्ब ८३ करोड १० लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो । अन्य जीवन बीमा कम्पनीहरूमा हिमालयन लाइफले १२ अर्ब ५९ करोड रुपैयाँ, राष्ट्रिय जीवन बीमा कम्पनीले ८ अर्ब १६ करोड रुपैयाँ, सूर्यज्योति लाइफले ७ अर्ब ६५ करोड रुपैयाँ, एशियन लाइफले ६ अर्ब ४६ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । त्यस्तै सिटिजन्स लाइफले ५ अर्ब ८ करोड रुपैयाँ, सानिमा रिलायन्स ४ अर्ब ८४ करोड रुपैयाँ, मेट लाइफले ४ अर्ब ४४ करोड, आईएमई लाइफ ३ अर्ब ७७ करोड , रिलाइबल नेपाल ३ अर्ब ६९ करोड, प्रभु् महालक्ष्मी ३ अर्ब ६७ करोड रुपैयाँ र सन नेपालले ३ अर्ब ८ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन्।
सानिमा रिलायन्सको ‘मेरो मुटु बाल जीवन बीमा’ योजना सार्वजनिक, अब बचत, सुरक्षा र भविष्य निर्माण एकैसाथ
काठमाडौं । बालबालिकाको उज्ज्वल भविष्य सुनिश्चित गर्न सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले ‘मेरो मुटु बालजीवन बीमा’ योजना सञ्चालनमा ल्याएको छ । यो योजनाले एक महिनाको उमेरदेखि नै बच्चाको जीवन बीमा गर्न मिल्ने सुविधा प्रदान गर्ने कम्पनीले जनाएको छ । यसमा अभिभावक (प्रस्तावक) र बच्चा दुवैको जीवन एकैसाथ बीमा गरिन्छ । यो बीमालेखले बचत र सुरक्षा दुबै संयोजन गरेको छ । बीमा अवधिभर प्रस्तावकको कुनै कारणवश मृत्यु वा स्थायी अशक्तता भएमा बाँकी सम्पूर्ण बीमा शुल्क मिनाहा हुनेछ । त्यस्तै, बीमांक रकमको १ प्रतिशत मासिक रूपमा बच्चाको नाममा उपलब्ध हुनेछ, जसले उसको शिक्षादेखि भविष्य निर्माणसम्म सहयोग पुर्याउने कम्पनीले जनाएकाे छ । अप्रत्याशित मृत्यु भएमा के हुन्छ ? बीमीतको हकमाः बीमांक रकमको २५ प्रतिशत वा आर्जित बोनस वा भुक्तानी भएको बीमाशुल्कमध्ये जुन बढी हुन्छ, त्यो रकम दिइनेछ । प्रस्तावकको हकमाः प्रस्तावकको मृत्यु हुँदा बिमांक रकम पाउने गरी अतिरिक्त बीमाशुल्क तिरेको अवस्थामा बीमांक रकम प्रधान गरिनेछ र अतिरिक्त शुल्क नतिरेको अवस्थामा बीमांक रकम प्रदान गरिने छैन । बीमा अवधि समाप्त हुनु अगावै बीमालेख चालु रहेको अवस्थामा बीमित र बीमा प्रस्तावकको मृत्यु एउटै घटनामा भएमा प्रस्तावकको मृत्युबापत बीमांक रकम र आर्जित बोनस तथा बच्चाको मृत्यु बापत बीमंकको २५% रकम भुक्तानी दिइनेछ । बीमा अवधिभित्र प्रस्तावकको मृत्यु भएपश्चात बिमीत बच्चाको समेत मृत्यु भएमा बीमांक रकमको २५% र आर्जित बोनस वा भुक्तानी भएको बीमाशुल्क मध्य जुन रकम बढी हुन्छ सो रकम भुक्तानी दिइनेछ र बीमालेख स्वतः अन्त्य हुनेछ । ‘मेरो मुटु बाल जीवन बीमा’नै किन ? बालबालिकाको उच्च शिक्षा, आकस्मिक खर्च र दीर्घकालीन योजना सुरक्षित गर्न मासिक आय सुविधा सहितको बीमालेख भविष्यका लागि अनुशासित बचतको सुनिश्चितता न्यून प्रिमियममै दीर्घकालीन लाभ बच्चा जन्मिएको सुरुवाती चरणमै यो बीमा गर्दा भविष्यमा ठूलो लाभ लिन सकिन्छ । ‘जीवन बीमा आजै, अहिल्यै’ भन्ने सोंचेअनुरूप समयमै बीमालेख लिएर आफ्नो बालबालिकाको भविष्यलाई सुनिश्चित गर्न सकिने कम्पनीले जनाएकाे छ ।
लक्ष्मी ई-मोबिलिटी र जीओ अटोमोबाइल्सको संयुक्त आयोजनामा 'केई एक्सचेन्ज कार्निभल २०८२’ हुँदै
काठमाडौं । नेपालका लागि केई ईभीको आधिकारिक वितरक लक्ष्मी ई-मोबिलिटी र जीओ अटोमोबाइल्सले 'केई एक्सचेन्ज कार्निभल २०८२’ आयोजना गर्ने भएका छन् । काठमाडौंस्थित थापाथली (केई शोरुम/हुन्डाई शोरुमको विपरित दिशा)मा आगामी बैशाख २६ देखि २८ गतेसम्म यो कार्निभल हुन लागेको हो । 'केई एक्सचेन्ज कार्निभल २०८२’ मा केईका विद्युतीय सवारी साधनमा आकर्षक अफरहरू ल्याएको छ । सो कार्निभलमा पुराना गाडीसँग ई–क्युट ०२, ई–क्युट ०४ र एक्स ३ प्रो गरी केई ईभीका तीन मोडल विशेष अफरका साथ एक्सचेन्ज गर्न सकिने छ । कार्निभलका मुख्य आकर्षण ग्राहकहरूले यस एक्सचेन्ज योजना अन्तर्गत विशेष अन–द–स्पट सवारी साधन मूल्याङ्कन, उत्कृष्ट रिसेल भ्यालु, आकर्षक नगद छुट र प्रत्येक मूल्याङ्कनमा दुई जनाको लागि क्यूएफएक्स हलमा फिल्मका टिकटहरू प्राप्त गर्न सक्छन् । बीमा, सडक कर कभरेज र चयन गरिएका मोडेलहरूमा एक्सचेन्ज बोनस पनि प्राप्त गर्न सकिने जनाइएको छ । यसैगरी, प्रत्येक बुकिङको साथ रोमाञ्चक रिवार्ड प्राप्त गर्न सकिने छ । ई–क्युट सवारीसाधन सँग बोस्च जेट कार वासर र एक्स थ्री प्रो सवारीसाधनको साथ बोस्च वासिङ मेसिन प्राप्त गर्न सकिने छ । कार्निभलमा मनोरञ्जन र संगीत, रमाइला खेलहरू र सम्पूर्ण परिवारलाई संलग्न गराउने मनोरञ्जनात्मक गतिविधिहरू पनि हुने जनाइएको छ । चीनको सिचुआन प्रान्तको यिबिन शहरमा मुख्यालय रहेको केई अटो विश्वव्यापी रूपमा मान्यता प्राप्त सवारी साधन निर्माण कम्पनी हो । केई अटोले इन्धनबाट चल्ने र विद्युतीय दुवै सवारी साधन उत्पादन गरिरहेको छ, जुन पूर्वी युरोप, मध्य पूर्व, अफ्रिका र दक्षिणपूर्व एशिया लगायत देश र क्षेत्रहरूमा निर्यात गरिन्छ । नेपालमा केईलाई जीओ अटोमोबाइल्स प्रालि र लक्ष्मी ई–मोबिलिटी प्रालिले वितरण गर्छ ।
नबिल बैंक र अपोलो इन्फर्मेसन सेन्टरबीच समझदारी, नबिलका ग्राहकले १० प्रतिशत छुट पाउने
काठमाडौं । नबिल बैंक लिमिटेड र भारतको अपोलो अस्पतालको प्रतिनिधि संस्था अपोलो इन्फर्मेसन सेन्टरबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । बैंकका ग्राहकहरुलाई भारतमा स्वास्थ्य उपचार गर्दा विशेष छुट तथा सहजीकरणका लागि उक्त समझदारी गरिएको बैंकले जनाएको छ । बैंकका तर्फबाट प्रमुख बजार अधिकृत कृष्णप्रसाद सुवेदी र अपोलो इन्फर्मेसन सेन्टरका तर्फबाट प्रबन्ध निर्देशक (कानुन) सुशीलकुमार चापागाईंले समझदारीपत्रमा हस्ताक्षर गरे । समझदारीअनुसार अब नबिल बैंकका सेवाग्राहीहरूले अपोलो अस्पतालमा उपचार गर्दा १० प्रतिशतसम्मको विशेष छुट र व्यक्तिगत परामर्श सेवा प्राप्त गर्न सक्नेछन् । नबिल बैंकका प्रमुख बजार अधिकृत सुवेदीले यो समझदारीले बैंकका ग्राहकलाई गुणस्तरीय स्वास्थ्य सेवा लिन सहज हुने बताए । समझदारीपछि नबिल बैंकका ग्राहक, कर्मचारी तथा शेयरधनीहरूले भारतस्थित अपोलो अस्पतालमा स्वास्थ्य उपचार गर्दा विशेष छुट र भारतमा उपचार गर्नका लागि आवश्यक परामर्श तथा सुविधाहरू पाउने बैंकले जनाएको छ । यस सहकार्यबाट भारतमा विशेष स्वास्थ्य सेवा लिन चाहने नेपाली बिरामीले अस्पतालमा डाक्टर छनोट गर्न र यात्राको व्यवस्थापनमा भोगिरहेको समस्या समाधानमा सहयोग पुग्नेमा बैंकले विश्वास गरेको छ । ग्राहकले बैंकका डेबिट तथा क्रेडिट कार्ड, नबिल क्यूआर, नबिल स्मार्ट मोबाइल एप वा बैंक ट्रान्सफरमार्फत भुक्तानी गर्दा सो छुट तथा सेवा प्राप्त गर्नेछन् । उक्त समझदारी दुई वर्षसम्म लागू हुने जनाइएको छ । अपोलो इन्फर्मेसन सेन्टर अपोलो अस्पताल इन्टरप्राइजेज लिमिटेड भारतको आधिकारिक प्रतिनिधि संस्था हो । जसले दक्ष स्वास्थ्यकर्मी र अनुभवी उद्यमीहरुसहित काठमाडौँको नक्सालमार्फत सेवा प्रवाह गर्दै आएको छ । नबिल बैंक र बैंकले उपलब्ध गराउँदै आएका विशेष छुटबारे जानकारी लिन बैंकको वेबसाइटमा हेर्न सकिन्छ । नबिल बैंक लिमिटेड नेपालको निजी क्षेत्रको अग्रणी बैंक हो । बैंकले जिम्मेवार संस्थाका रूपमा समग्र देश तथा समाजको विकासमा योगदान गर्न प्रतिबद्ध रहेको जनाएको छ । नबिलले २४ लाखभन्दा बढी सेवाग्राहीहरूलाई देशभरिको २६८ शाखा र ३२० एटीएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ ।
डा. अर्जुन कार्की बने नेपाल विश्वविद्यालयको उपकुलपति
काठमाडौं । नेपाल विश्वविद्यालयको उपकुलपतिमा डा. अर्जुन कार्की नियुक्त भएका छन् । वरिष्ठ चिकित्सक कार्की पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति पनि हुन् । नेपाल विश्वविद्यालय ऐन, २०८१ बमोजिम गठित सिफारिस समितिको सिफारिसका आधारमा नेपाल विश्वविद्यालयको संरक्षक परिषद् (बोर्ड अफ ट्रष्टी) ले उनलाई उपकुलपति नियुक्त गरेको हो । त्यस्तै, विश्वविद्यालयको रजिष्ट्रारमा सार्वजनिक नीति तथा पूर्वाधार विकास विज्ञ डा. सूर्यराज आचार्य नियुक्त भएका छन् । ऐनअनुसार विश्वविद्यालयको उच्च शासकीय निकाय संरक्षक परिषद् रहने व्यवस्था छ। नेपाल विश्वविद्यालयका संरक्षक परिषदका पदेनबाहेकका अन्य सदस्यमा डा. राम मनोहर श्रेष्ठ, डा. शिवा थापा, डा. जगदीश चन्द्र पोखरेल, डा. विपिन अधिकारी, डा. विमला राई पौड्याल, लक्ष्मीदेवी पाण्डे, लालकृष्ण केसी, माधवप्रसाद पौडेल, रामेश्वर खनाल र चाँदनी जोशी रहेका छन् ।