विकासन्युज

बजेट माग्नेसँग भेट्न अर्थमन्त्रीलाई भ्याइनभ्याइ, सिंहदरबारमा जात्रा

काठमाडौं । मुलुकमा तीन तहको सरकार बनेपनि सिंहदरबारमा बजेट माग्ने क्रम घटेको छैन । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणको काम अघि बढिरहेको बेला जनप्रतिनिधिदेखि अगुवाहरूसम्मै सिंहदरबारमा योजना लिएर जाने गरेका छन् ।  साना खुद्रे योजनाहरुमा बजेट माग्नेको घुँइचो नै लागेको संवद्ध सरकारी अधिकारीहरूले बताएका छन् ।  भौतिक, पूर्वाधार तथा यातायात सचिव केशवकुमार शर्माले १२ देखि १४ हजार वटा योजनामा बजेट माग भएको बताए । उनले माग गर्न कुनै रोकतोक नभएका कारण सिंहदरबारमा घुइँचो नघटेको बताए ।  उनले भने, ‘१२/१४ हजार योजनामा बजेट माग भएको छ । माग गर्न रोकतोक छैन, माग गर्नुहुन्छ । अहिले कुनै नीति नै छैन । नीति बन्यो भने केन्द्रमा बजेट नमाग्ने सिस्टम बस्छ कि ।’ उनका अनुसार नीति बन्यो भने नमान्ने कुरै नआउने हुँदैन । राष्ट्रिय राजमार्ग बाहेकका अरु योजनाहरु भौतिक पूर्वाधार मन्त्रालयले नहेर्ने भनेर स्पष्ट नीति भयो भने बजेट माग्ने काम नहुने विश्वास उनको छ ।  अहिले विभिन्न नाममा बजेट पर्दै आएका कारण आशमा सिंहदरबारसम्म दौडिएर योजनामा बजेट माग्ने प्रवृत्ति देखिएको उनले बताए ।   भौतिक सचिव शर्माका अनुसार राष्ट्रले एउटा नीति बनाएर योजना हेर्ने संयन्त्रबारे स्पष्ट खाका बनाए यो समस्या हल हुनेछ ।  त्यसो त, बजेटमा योजनादेखि सुझाव माग्न अर्थमन्त्री तथा उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल कहिले कांग्रेस सभापति शेरबहादुर देउवा निवास त, कहिले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल निवास दौडिरहेका छन् ।  अर्थमन्त्रीको दौडधुप सबैलाई रिझाउनेतर्फ उन्मुख हुँदा जनप्रतिनिधिदेखि अगुवाहरू पनि सिंहदारबारमा आफ्ना योजनाहरूमा बजेट पार्न तँछाडमछाड गरिरहेका छन् । यो तँछाडमछाडमा भाग लिन स्थानीय तहका कर्मचारीहरुले समेत छाडेका छैनन् ।  स्थानीय तह कर्मचारी संघ नेपालले आगामी बजेटमा आफ्ना सरोकार समेट्न माग गर्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलसमक्ष १० बुँदे ज्ञापनपत्र बुझाएको छ । नेकपा एमाले निकट पेशागत महासंघ नेपालका अध्यक्ष पुण्य ढकालको नेतृत्वमा गएको संघको टोलीले स्थानीय तहका कर्मचारीहरूका लागि छुट्टै अस्पतालको व्यवस्था हुनुपर्ने र त्यो नभएसम्म निजामती अस्पतालमा उनीहरूका परिवार समेतले औषधि उपचार गर्न पाउने व्यवस्था गर्न माग गरेको छ ।  स्थानीय तहमा करार सेवामा कार्यरत कर्मचारीहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन तथा मूल्य वृद्धिको आधारमा समान रूपमा तलब वृद्धि गर्न माग गरिएको छ ।   

नेपाल लाइफले भव्यताका साथ मनायो २४औं वार्षिकोत्सव

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो २४औँ वार्षिकोत्सव देशव्यापी रुपमा विभिन्न कार्यक्रम गरी भव्यताका साथ मनाएको छ । वार्षिकोत्सवको अवसरमा देशको १० स्थानमा रक्तदान कार्यक्रम, काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर तथा विभिन्न कार्यक्रमहरू पनि सञ्चालन भएको थियो । यस अवसरमा कम्पनीले देशको सातैवटा प्रदेशमा रक्तदान कार्यक्रममार्फत कोशी प्रदेशको इटहरीमा ५६, मधेश प्रदेशको वीरगञ्जमा ३०, बागमती प्रदेशको काठमाडौंमा ८२, गण्डकी प्रदेशको पोखरामा ६१ र कावासोतीमा ३९, लुम्बिनी प्रदेशको बुटवलमा ३०, भैरहवामा ३० र नेपालगञ्जमा २५, कर्णाली प्रदेशको सुर्खेतमा ३१ र सुदूरपश्चिम प्रदेशको  टीकापुरमा २८ गरी कुल ४१२ पिन्ट रगत संकलन गरेको छ ।  कम्पनीले केन्द्रीय कार्यालयमा २ दिने निःशुल्क स्वास्थ्य शिविर पनि सञ्चालन गरेको थियो । यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनी आफ्नो चौबीसौं वर्ष पूरा गरी पच्चीसौं वर्षमा प्रवेश गरेको सुखद उपलक्ष्यमा सबैलाई धन्यवाद तथा शुभकामना व्यक्त गरेका थिए । 

प्रचण्डलाई योगेशको प्रश्न- प्रधानसेनापति हटाउनेले सहसचिव हटाउँदा मुटुमै गोली लागेको जस्तो किन ?

काठमाडौं । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले सरकारले सहसचिव तहका एक कर्मचारी हटाएको विषयलाई लिएर अनावश्यक हल्ला र राजनीतिक आरोप लगाइएको टिप्पणी गरेका छन् ।  प्रतिनिधि सभाको मंगलवारको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद भट्टराईले यस्तो बताएका हुन् । सरकारको मातहत रहने कर्मचारी व्यवस्थापन सरकारको स्वाभाविक अधिकारभित्र पर्ने उनको भनाइ छ ।  सांसद भट्टराईले उहाँले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले प्रधानसेनापति र मुख्यसचिव हटाएको स्मरण समेत गराए ।  उनले यसअघिको प्रचण्ड नेतृत्वको सरकारले मुख्यसचिव हटाएको र हुँदै नभएको राष्ट्रिय सुरक्षा सल्लाहकार पद खडा गरेको आरोप समेत लगाए । सांसद भट्टराईले भने, ‘केही कर्मचारीलाई सरकारले हटायो । त्यो एउटा सरकारको अविशिष्ट अधिकार पनि हो । कर्मचारी सरकारको मातहत हुन्छ । त्यसमा समीक्षा गर्न सकिन्छ । म कमरेड प्रचण्डलाई भन्न चाहन्छु- तपाईंले त प्रधानसेनापतिलाई नै हटाउनु भयो । एकपल्ट सम्झनु त । एकचोटि सम्झिनु त अस्तिकै कार्यकालमा काम गरिरहेको मुख्य सचिवलाई हटाउनु भयो । तर एउटा हुँदै नभएको राष्ट्रिय सुरक्षा सल्लाहकार पोस्ट खडा गर्नुभयो । अनि को अर्को मुख्यसचिव ल्याउनुभएको थियो तपाईंले ? अनि केपी ओलीको सरकारले एउटा सहसचिवलाई हटाएकोमा यति ठूलो चिन्ता र मुटुमै गोली लागेको जस्तो किन भएको छ ?’ उनले सरकार र कर्मचारीबीच ‘ट्युनिङ’ नमिल्दा गरिएको व्यवस्थापनलाई अस्वाभाविक रूपमा नहेर्न पनि आग्रह गरे ।  

कांग्रेस उपसभापति गुरुङको प्रस्ताव- संविधान संशोधन गर्न सर्वदलीय समिति गठन गरौं

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले संविधान संशोधनका लागि सर्वदलीय समिति गठन गर्नुपर्ने बताएका छन् ।  प्रतिनिधि सभाको मंगलबारको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उपसभापति गुरुङले यस्तो बताएका हुन् । दश वर्षदेखि संविधान प्रयोगमा रहेको उल्लेख गर्दै उनले अब पुनरावलोकन नभई संशोधनतर्फ लाग्नुपर्ने बताए । संविधान संशोधन प्रक्रियामा सहमतिको बाटो अपनाउनुपर्ने र त्यसका लागि सर्वदलीय समिति गठन गर्नु उपयुक्त हुने उनको भनाइ छ । उपसभापति गुरुङले निर्वाचन प्रणालीमा समेत सुधारको माग गर्दै वर्तमान समानुपातिक प्रणाली अन्तर्गतको बन्दसूची हटाउने प्रस्ताव गरे ।  उहाँले भने, ‘हामीले संविधान प्रयोगमा ल्याएको दश वर्ष भयो । संविधानको संशोधन सहमतिद्वारा गरौं भन्ने कुरा आएको छ, त्यो स्वागतयोग्य कुरा हो । यहाँ अर्को कुरा पनि थपिनुपर्ने थियो संविधान संशोधन गर्नको लागि सर्वदलीय समिति गठन गरिनेछ । संशोधन गर्न पनि सबै मिल्नैपर्छ । हामीले अब समानुपातिक प्रत्यक्ष निर्वाचन प्रणालीमा जान आँट गर्ने कि नगर्ने ? अब ११० जनाको जुन बन्दसूची छ त्यसलाई हटाऊँ । १६५ निर्वाचन क्षेत्र बाँकी रहन्छ । बाँकी ५५ जना महिला हुने गरेर छुट्याइदिऊँ ।’ उनले अहिलेसम्म भएका भ्रष्टाचारको घट्नामा संलग्नहरूलाई कानुनी दायरामा ल्याउन उच्चस्तरीय छानविन आयोग बनाउन समेत प्रस्ताव गरे ।

ज्योति विकास बैंक एनपीस-नेसनल कार्ड स्विच तथा नेपालपे कार्डमा आवद्ध

काठमाडौं । ज्योति विकास बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच एनपीस-एनसीएस तथा डोमेस्टिक कार्ड स्किम (नेपालपे कार्ड) को प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ ।  सम्झौतापत्रमा बैंकका तर्फबाट वरिष्ठ उप–प्रमुख कार्यकारी अधिकृत प्रकाश बराल तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् ।   एनसीएचएलले हालै एनपीस-एनसीएसको पूर्वाधारको तयारी पूरा भएको घोषणा गर्दै बैंक वित्तीय संस्थाहरूलाई नेपालको आफ्नै डोमेस्टिक कार्ड स्किम नेपालपे काडै इस्यूइङ र अक्वायरिङका लागि आफ्नो स्विच इन्टिग्रेट गर्न आग्रह गरेसँगै बैंक वित्तीय संस्थाहरू एनपीस-एनसीएस र नेपालपे कार्डमा आवद्ध भइरहेका छन् ।  नेपालपे पूर्वाधारको कमर्सियल रोलआउट पश्चात ज्योति विकास बैंकले ग्राहकहरुका लागि उक्त कार्ड इस्यू तथा अक्वायर गर्न सक्नेछन् ।  एनपीस-एनसीएसलाई विभिन्न कार्ड स्विचहरूबीच अन्तरआबद्धता कायम गर्दै डोमेस्टिक कार्ड कारोबारहरुको राउटिङ्ग र सेटलमेन्टको लागि एक सेन्ट्रल कार्ड स्विचको रुपमा स्थापना गरिँदैछ । उक्त प्रणालीको पूर्ण कार्यान्वयन पश्चात डोमेस्टिक कार्ड कारोबारहरूको लागत घटाउने, डाटा लोकलाइजेशन सुनिश्चित गर्ने र डिजिटल इकोसिस्टममा नवीनतम उपकरणहरुको विकास तथा प्रवर्द्धन हुने अपेक्षा गरिएको छ । एनसीएचएलले ५४ भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरू, अधिकांश पीएसओ र पीएसपी र १०० भन्दा बढी गैर-बैंकिङ सदस्यहरूलाई विभिन्न राष्ट्रिय भुक्तानी प्रणालीहरू सञ्चालन गरी सेवा प्रदान गर्दै आएको छ ।  एनपीस-एनसीएस र नेपालपे कार्डको कार्यान्वयनले नेपालको कार्ड इकोसिस्टमलाई  थप उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ ।  नेपालका अग्रणी बैंकहरूमध्येको ज्योति विकास बैंकले देश भरी रहेका १२४ वटा शाखा/विस्तारित काउन्टर तथा ७५ एटीएम टर्मिनल मार्फत ग्राहकवर्गहरूलाई अत्याधुनिक बैंकिङ तथा वित्तीय सेवाहरू प्रदान गर्दै आइरहेको छ । 

नेक्सजेन म्यानेजमेन्ट अब पब्लिक कम्पनीमा जाने

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स अब पब्लिक कम्पनीमा जाने भएको छ । कम्पनीको सोमबार सम्पन्न वार्षिक साधारणसभाले लिमिटेडमा जाने निर्णय गरेको हो । यसका साथै साधारणसभाले नेक्सजेनको अधिकृत पूँजी एक अर्ब, तत्काल जारी पूँजी ५० करोड पुर्‍याउने निर्णय गरेको छ । साधारण सभामा प्रबन्ध सञ्चालक रमेशकुमार भट्टराईले बैंक वित्तीय संस्थाको निष्क्रिय कर्जा र गैरबैंकिंङ सम्पत्ति तीव्र गतिमा वृद्धि भइरहेको बताए । उनले सोको न्यूनीकरणको लागि सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना बारेमा विगतको मौद्रिक नीति र हालै सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा आइसकेको जानकारी गराए । सम्पति व्यवस्थापनको मूख्य कार्य गर्ने गरी स्थापना भएको नेक्सजेन म्यानेजमेन्टले पनि सोही अनुरूप पूँजी वृद्धि गर्नु पर्ने तथा बैक वित्तीय संस्था, बीमा कम्पनी र अन्य संस्थालाई समावेश गरी कार्य गर्न पब्लिक लिमिटेड कम्पनी बनाउनु पर्ने आवश्यकता औल्याउँदै सो निर्णय गरेको जनाएको छ । नेक्सजेन म्यानेजमेन्टले विगत एक वर्षदेखि बैंक तथा वित्तीय संस्थाको समस्याग्रस्त ऋणीहरूको कर्पोरेट एडभाइजरको रूपमा काम गर्दै आइरहेको छ । यसले निष्क्रिय कर्जा नियमित गर्न, पुनः संचालन गर्न तथा बिक्रीको लागि पनि सहजीकरण गर्ने गरेको छ । यो कम्पनी पूर्व बैंकहरू समेतको लगानीमा खुलेको संस्था हो । कम्पनीका सञ्चालक तथा कार्यवाहक अध्यक्ष अजयकुमार मिश्रको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको थियो।

सुनको मूल्य ह्वात्तै बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं। नेपाली बजारमा मंगलबार सुनको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा तोलामा ५ हजार ३ सय रुपैयाँले बढी १ लाख ८९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेकाे छ । यसअघि सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियाे । यसैगरी, चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य तोलामा १ हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

हिमालयन रिइन्स्योरेन्सको लाभांश घोषणा, लगानीकर्ताले ४.५ प्रतिशत बोनस सेयर पाउने

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले आर्थिक वर्ष २०८०/८१ का लागि लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको वैशाख २२ गते बसेको बैठकले आव २०८०/८१ सम्मकाे वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी १० अर्ब ४० करोड रुपैयाँको कुल ४.५० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।  जसमा ४.५ प्रतिशतले हुन आउने ४६ करोड ८० लाख रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.२४ प्रतिशतले हुन आउने २ करोड ४६ लाख ३१ हजार ५७८.९५ रुपैया बराबरको नगद लाभांश प्रस्ताव गरेका छन् । कम्पनीले प्रस्ताव गरेको लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृति तथा आगामी वार्षिक साधारणसभाबाट पारित भएपश्चात् लगानीकर्ताले पाउने छन् ।