सम्पत्ति बीमालेखसम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै बीमा सर्भेयर संघ
काठमाडौं । बीमा सर्भेयर संघ नेपाल, बुटवल च्याप्टरले सम्पत्ति बीमालेखसम्बन्धी अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएको छ । बुटवल च्याप्टरले केन्द्रीय संघको सहकार्यमा यही वैशाख २७ गते अन्तरक्रिया कार्यक्रमको आयोजना गर्न लागेको च्याप्टर प्रमुख गोविन्द लामिछानेले जानकारी दिए । उनका अनुसार अन्तरक्रिया कार्यक्रममा सम्पत्ति बीमालेखसम्बन्धीसँगै, प्री–रिस्क सर्भे, सर्भेयरका चुनौतीसम्बन्धी विविधि प्रस्तुतिकरण गर्ने कार्यक्रम रहेको छ । संघले कार्यक्रमको प्रमुख अतिथिको रूपमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद् ओझालाई बोलाएको छ भने प्रस्तुतिकरणको लागि कार्यकारी निर्देशक सुशीलदेव सुवेदीलाई निम्तो गरेको छ । बीमा सर्भेयर संघ, बुटवल च्याप्टरका प्रमुख गोविन्द लामिछानेले भने, ‘हामीले नियामक निकायलाई ल्याएर प्रस्तुतिकरण गर्नुको मुख्य उद्देश्य उहाँहरूले बीमक, सर्भेयर, बैंकर्सलगायतबाट आएका सल्लाह सुझावलाई मनन गर्नुहुन्छ र त्यही सुझावलाई लिएर नीति निर्माणमा ध्यान जाओस् भनेर नै हो ।’ उनले कार्यक्रममा सर्भेयर, बीमा कम्पनीका सिईओ, कर्मचारी, बीमित, बैंकर्स एशोसिएसन, उद्योग वाणिज्य संघका अध्यक्षहरु, नेपाल इन्जिनियरिङ एसोसिएनका प्रतिनिधिहरूलाई बोलाएको जानकारी दिए । कार्यक्रममा एक सय भन्दा बढीको सहभागिता रहने उनकाे दाबी छ । कार्यक्रममा नेपालमा सर्भेयरका चुनौती विषयमा संघका महासचिव विकास महर्जनले प्रस्तुतिकरण गर्ने कार्यक्रम छ । ‘प्री-रिस्क सर्भे’ विषयमा शिखर इन्स्याेरेन्सका महाप्रबन्धक उदित काफ्लेले प्रिजेन्टेसन दिनेछन् । कार्यक्रममा प्यानल डिस्कसन, प्रश्नोतर, छलफल कार्यक्रमसमेत राखिएको छ ।
गभर्नर कांग्रेसकै भागमा परेको देउवाको खुलासा, प्रक्रिया लम्बिनुको कारण खुलाए
काठमाडौं । प्रमुख सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गभर्नरको भागबण्डा मिलिसकेको बताएका छन् । मंगलबार पार्टी कार्यालय सानेपामा भएको कार्यक्रममा आफूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग गभर्नरको भागबण्डा मिलाइसकेकाे बताउँदै उनले गभर्नर कांग्रेसको भागमा परेको खुलाएका हुन् । ‘नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति ढिलाइको कारण ओलीजी र म होइन, ओलीजीले कांग्रेसलाई दिने भनिसक्नु भएको छ,’ उनले भने । यस्तै, सभापति देउवाले राष्ट्र बैंककै आन्तरिक कारणले गभर्नर नियुक्ति प्रक्रिया ढिलाइ भएको धारणा राखे । उनले कार्यवाहक गभर्नर नीलम ढुङ्गानाले कार्यकारी निर्देशक डा. गुणाकर भट्टको राजीनामा स्वीकृत नगर्दा समस्या भएको संकेत गरेका हुन् । यस्तै, उनले अहिले गठबन्धनमा कुनै समस्या नरहेको पनि बताएका छन् ।
अस्ताए पूर्वमन्त्री प्रदीप नेपाल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता एवं पूर्वमन्त्री प्रदीप नेपालको निधन भएको छ । केही वर्षदेखि पार्किन्सन रोगबाट पीडित उनको मंगलबार उपचारका क्रममा नर्भिक अस्पतालमा निधन भएको एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वमा गठित पहिलो वामपन्थी सरकारमा उनी सूचना तथा सञ्चारमन्त्री थिए । यसैगरी उनले जलस्रोत र शिक्षा मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका थिए । एमालेको पोलिटब्युरो सदस्य रहिसकेका उनले पत्रकारिता एवं साहित्य विधामा निरन्तर कलम चलाउँदै आएका थिए । नेपालले एमालेको प्रचार तथा प्रकाशन विभाग प्रमुख तथा प्रवक्ताका रूपमा समेत काम गरेका थिए । नवयुग, दृष्टि, छलफल, प्रकाश साप्ताहिकमा सम्पादक रहेका नेपाल विभिन्न पत्रपत्रिकामा लेख, रचना र नियमित स्तम्भकारका रूपमा पनि सक्रिय थिए । भूमिगत कालमा उनी सञ्जय थापाका नाममा परिचित थिए । नेपालको जन्म विसं २०१० पुस २८ गते भोजपुरको गोगने गाउँमा भएको थियो ।
चेपाङ समुदायका लागि नेपाल एसबिआई बैंकले गर्यो खाद्यान्न वितरण
काठमाडौं । नेपाल एसबिआई बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नं १४ र १५ का चेपाङ समुदायलाई लक्षित गरी खाद्य सामग्री वितरण गरेको छ । बैंकका बागमति प्रदेश प्रमुख सुशीलराज श्रेष्ठले समुदायका त्रिसठ्ठी परिवारलाई एक कार्यक्रमका बीच औपचारिक रुपमा उक्त सामाग्रीहरू हस्तान्तरण गरे । बैंकले विपन्न तथा पिछडिएका वर्गहरूमा यस किसिमको कार्यक्रम समय समयमा गर्दै आइरहेको छ । नेपाल एसबिआई बैंकले विगत ३१ वर्षदेखि बंैकिङ सेवा प्रदान गर्दै आइरहेकोे छ । हाल बैंकका १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, २२ शाखारहित बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।
नेपालमा लोकप्रिय बन्दै सेरेस ईभी
काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधन (ईभी) को लोकप्रियता बढ्दै गएको छ । इन्धनको बढ्दो मूल्य, वातावरणीय चिन्ता र विद्युतीय सवारीलाई प्रवर्द्धन गर्ने सरकारी नीतिका कारण पनि यसको प्रयोग बढ्दै गएको हो । नेपाली अटो बजार विस्तारै स्मार्ट र ईभीमैत्री बन्दै गएसँगै अटो व्यवसायीहरूले पनि विद्युतीय सवारीमा जोड दिन थालेका छन् । नेपालको अटो क्षेत्रलाई स्मार्ट र दिगो यातायातको नयाँ युगमा प्रवेश गराउनमा महत्त्वपूर्ण योगदान पुर्याउने ईभीमध्ये सेरेस पनि एक हो । कम्पनीका अनुसार आकर्षक डिजाइन, एडभान्स फिचरहरू र वातावरणमैत्री प्रविधिका कारण सेरेस इलेक्ट्रिक गाडी नेपाली चालकहरूमाझ लोकप्रिय हुँदै गएको छ । सेरेस स्मार्ट ड्राइभिङ र स्वच्छ ऊर्जामा ध्यानकेन्द्रित गरेको एक विश्वव्यापी इलेक्ट्रिक भेहिकल ब्रान्ड भएको कम्पनीले दाबी गरेको छ । कम्पनीका अनुसार नेपालमा यस ब्रान्डका मोडलहरूमध्ये सेरेस थ्री प्रमुख हो, जुन पूर्णतया विद्युतीय एसयुभी हो । यसले पर्फर्मेन्स, लक्जरी र आधुनिक प्रविधिलाई एकै साथ प्रस्तुत गर्छ । सेरेस थ्रीले एकपटक चार्ज गर्दा अधिकतम ४०५ किलोमिटरको दूरी तय गर्न सक्छ । जसले यसलाई सहरभित्रका साथै लामो यात्राको लागि पनि उपयुक्त बनाउने कम्पनीको भनाइ छ । बलियो ब्याट्री र फास्ट चार्जिंगको सुविधाले चालकहरूलाई ‘रेन्ज’को चिन्ता नगरी यात्रामा केन्द्रित हुन मद्दत गर्ने हुँदा पनि चालकको रोजाइमा सेरेस पर्न सफल भएको हो । सेरेस ईभीले आधुनिक र लक्जरियस ड्राइभिङको अनुभव गराउनुका साथै डिजिटल ड्यासबोर्ड, टचस्क्रिन डिस्प्ले, रिभर्स क्यामेरा, ड्राइभर असिस्टेन्स प्रणाली जस्ता स्मार्ट सुविधाहरूले यो गाडीलाई अझ सुरक्षित र रमाइलो बनाउँने कम्पनीको दाबी छ । विशेषगरी प्रविधिमा रुचि राख्ने प्रयोगकर्ताहरूका लागि सेरेस उपयुक्त छनोट हुन सक्छ । पेट्रोलियम गाडीभन्दा सस्तो कम्पनीका अनुसार सेरेस डिजेल वा पेट्रोल गाडीहरूभन्दा सस्तो मूल्यमा ग्राहकले किन्न सक्छन् । ईभी गाडी बिजुलीबाट चल्ने हुँदा प्रति किलोमिटरको हिसाबले सस्तो पर्न जाने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार इन्धनमा आधारित गाडीहरूभन्दा ईभीहरूमा चल्ने भागहरू कम हुने भएकाले मर्मतसम्भार खर्च पनि कम नै लाग्छ । नेपाल सरकारले ईभी प्रयोगलाई प्रोत्साहन गर्न सक्रिय रूपमा लागिपरेको छ । ईभीलाई नेपाली अटो बजारमा थप विस्तार गर्दै लैजानमा केही चुनौतीहरु भने छन् । देशभर चार्जिङ पूर्वाधार निर्माण हुनको लागि सरकारले यसतर्फ पनि ध्यान दिनुपर्ने देखिन्छ । साथसाथै विद्युतीय गाडीहरूमा आयात कर कम लाग्ने, पेट्रोल र डिजेल गाडीभन्दा फरक सुविधा दिनुपर्ने देखिन्छ । सरकारले यी कुरामा ध्यान दिन सके सेरेसजस्ता ब्रान्डहरूलाई बजार विस्तार गर्न सजिलो हुने कम्पनीको सुझाव छ ।
ट्रम्पको एक घोषणाले विश्वका शीर्ष मूल्यवान कम्पनीलाई फाइदैफाइदा
काठमाडौं । अमेरिकासहित विश्वभरका सेयर बजार केही समयदेखि उकालो लागेको छ । धेरै कम्पनीहरूको सेयर मूल्यमा तीव्र वृद्धि देखिएको छ । यदि विश्वका ५ सबैभन्दा मूल्यवान कम्पनीहरूको कुरा गर्‍याैं भने तिनीहरूको सेयर मूल्य पछिल्लो एक महिनामा आकाशिएको छ। ती कम्पनीहरू हुन्- माइक्रोसफ्ट, एप्पल, एनभिडिया, अमेजन र अल्फाबेट । यी सबै अमेरिकी कम्पनीहरू हुन् । यी कम्पनीहरूको सेयरमा पछिल्लो एक महिनामा २० प्रतिशतभन्दा बढी वृद्धि आएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्यारिफ घोषणाले विश्वभर व्यापार युद्ध सुरु भएको थियो । विश्वका धेरै सेयर बजार ध्वस्त भएका थिए, जसबाट अमेरिका पनि अछुतो रहन सकेन । अमेरिका र चीनबीच एक अर्कामाथि बढी ट्यारिफ लगाउने प्रतिस्पर्धा चलेको थियो । त्यसबाट यी मूल्यवान कम्पनीहरूको सेयर बजारमा नराम्रो असर परेको थियो । यद्यपि अहिले अवस्था केही सुधारिएको देखिन्छ। कसको कति वृद्धि ? पछिल्लो एक महिनामा यी मूल्यवान कम्पनीहरूको सेयर ८ प्रतिशतदेखि २१ प्रतिशतसम्म उफ्रेका छन् । सबैभन्दा बढी वृद्धि माइक्रोसफ्ट कम्पनीको सेयरमा देखिएको छ । यसै कारणले यो कम्पनी अहिले विश्वकै सबैभन्दा मूल्यवान कम्पनी बन्न सफल भएको हो । यसले एप्पललाई पछि पारेर पहिलो स्थान हासिल गरेको छ । माइक्रोसफ्टको क्लाउड सेवा र एआई (कृत्रिम बौद्धिकता) को बढ्दो मागले सेयर वृद्धिमा सहयोग पुर्याएको हो । कम्पनीहरूमा देखिएको तीव्र वृद्धिको एक प्रमुख कारण ट्रम्पको एक घोषणा पनि हो । ट्रम्पले हाललाई ट्यारिफलाई ९० दिनका लागि स्थगित गरेका छन् । यसले गर्दा विश्वव्यापी व्यापार युद्ध केही समयका लागि रोकिएको छ । यी ९० दिन जुलाईमा समाप्त हुनेछन् । त्यसपछि ट्रम्पले के निर्णय लिन्छन् भन्ने कुरा पछि मात्र प्रस्ट हुनेछ । कसलाई कति फाइदा? पछिल्लो एक महिनामा विश्वका ५ सबैभन्दा मूल्यवान कम्पनीहरूको सेयर यति प्रतिशतले बढेका छन्ः माइक्रोसफ्टः विश्वकै सबैभन्दा मूल्यवान कम्पनी हो । यसको सेयर एक महिनामा २१.६३ प्रतिशतले बढेको छ । एप्पलः दोस्रो स्थानमा रहेको एप्पलको सेयर एक महिनामा १३.१७ प्रतिशतले बढेको छ । एनभिडियाः तेस्रो सबैभन्दा मूल्यवान कम्पनी एनभिडियाको सेयर एक महिनामा १७.२७ प्रतिशतले बढेको छ । अमेजनः चौथो स्थानको अमेजनको शेयर एक महिनामा ८.४० प्रतिशतले बढेको छ। अल्फाबेटः गुगलको मातृ कम्पनी अल्फाबेटको सेयर एक महिनामा ११.१० प्रतिशतले बढेको छ । ट्यारिफपछि अवस्था खराब डोनाल्ड ट्रम्पले यस वर्ष जनवरीमा राष्ट्रपति पद सम्हालेपछि भारत र चीन लगायत विश्वका धेरै देशहरूमा ट्यारिफ लगाउने घोषणा गरे । यसले गर्दा व्यापार युद्ध सुरु भयो र धेरै देशहरूको सेयर बजार ध्वस्त भयो । अमेरिका पनि यसबाट बच्न सकेन । त्यसपछि यी कम्पनीहरूको सेयर मूल्य निकै घटेको थियो । यदि पछिल्ला ६ महिनाको कुरा गरौं भने यी पाँचै कम्पनीहरूको अवस्था खासै राम्रो देखिँदैन । ६ महिनाको रिटर्न हेर्दा माइक्रोसफ्ट बाहेक सबै कम्पनीहरू घाटामा छन् । माइक्रोसफ्टले यी ६ महिनामा करिब ६ प्रतिशतको रिटर्न दिएको छ भने सबैभन्दा बढी घाटा एनभिडियाले बेहोरेको छ– यसको सेयर ६ महिनामा १८ प्रतिशतभन्दा बढी घटेको छ ।
वैदेशिक रोजगार बीमालेखबाट २ अर्ब ५८ करोड संकलन, सन नेपालले कमायो सर्वाधिक
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को चैत्र मसान्तसम्ममा जीवन बीमा कम्पनीहरूले वैदेशिक रोजगार बीमालेखबाट २ अर्ब ५८ करोड ७३ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । ११ जीवन बीमा र ३ वटा लघु बीमा कम्पनीले २४ लाख ६८ हजार २१९ वटा वैदेशिक रोजगार बीमालेख जारी गरेर उक्त रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेका हुन् । कम्पनीहरूले चैत्र महिनामा मात्रै ७१ हजार ७२४ बीमालेख जारी गरेर ३० करोड ६० लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । यस अवधिमा वैदेशिक रोजगार बीमालेखबाट सन नेपाल लाइफले सर्वाधिक व्यापार गरेको छ । सन नेपालले चालु आवको ९ महिनामा ८ लाख ७९ हजार ८२९ वटा बीमालेख जारी गरी ९८ करोड ५५ लाख बीमाशुल्क संकलन गरेको छ । वैदेशिक रोजगार बीमालेखबाट धेरै व्यवसाय गर्ने दोस्रो कम्पनीमा एशियन लाइफ इन्स्याेरेन्स रहेको छ । उक्त कम्पनीले २ लाख ३३ हजार ८४२ बीमालेख जारी गरेर ६७ करोड ४७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गर्न सफल भएको छ । त्यसैगरी तेस्रोमा नेपाल लाइफ इन्स्याेरेन्स रहेको छ । कम्पनीले ९ महिनाको अवधिमा कुल ५ लाख ७१ हजार ४९४ बीमालेख जारी गरेर १८ करोड ११ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । ९ महिनाको अवधिमा वैदेशिक रोजगार बीमालेखबाट आईएमई लाइफले २ लाख ३९ हजार ८०६ बीमालेख जारी गरी १७ करोड ६९ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । त्यस्तै, नेशनल लाइफले १५ करोड २६ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले १२ करोड ८६ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले ८ करोड ६८ लाख रुपैयाँ, सूर्यज्योति लाइफले ७ करोड ९५ लाख रुपैयाँ, सिटिजन लाइफले ७ करोड ७५ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले ३ करोड १ लाख रुपैयाँ र हिमालयन लाइफले ५७ लाख ३६ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । लघु जीवन बीमातर्फ वैदेशिक रोजगार बीमालेख बिक्री गरेर लिबर्टी माइक्रो लाइफले ९५८ बीमालेख जारी गरेर ४० लाख ८३ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । यस्तै गार्डियन माइक्रो लाइफले ३१ लाख ७५ हजार रुपैयाँ र क्रेस्ट माइक्रो लाइफले ४ लाख ९६ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।
लेमिनार टायल्स्को उत्कृष्टताको अवलोकन र अनुभव अब काठमाडाैंमै गर्न सकिने
काठमाडाैं । देशकै पहिलो र एकमात्रै शतप्रतिशत भिट्रिफाइड टायल, लेमिनार टायल्स्ले काठमाडाैंमा एस्क्लुसिभ फ्ल्यागशिप एक्सपिरियन्स सेन्टरको शुभारम्भ गरेको छ । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले आइतबार एक समारोहबीच औपचारिक उद्घाटन गरे । नयाँ घर बनाउन वा घरको पुनः निर्माण गर्न चाहने उपभोक्ता, निर्माणकर्मी, इञ्जिनियर र इन्टेरियर डिजाइनरका साथै टायलबारे रुचि र सरोकार राख्ने जोकुकैको लागि उक्त सेन्टरको खुल्ला भएको कम्पनीले जनाएको छ । एकै थलोमा रहेर कम्पनीले उत्पादन गरिरहेको सम्पूर्ण संग्रहहरूका साथै नेपाली टाइलको नविनता प्रविधिको प्रत्यक्ष अवलोकन र अनुभव लिनको लागि अवसर प्रदान गर्ने उद्देश्यका साथ गैरीधारा, उत्तरढोका अगाडि सेन्टरको स्थापना गरिएको हो । विशेषगरी सातवटा संग्रहमा वर्गीकृत ४०० भन्दा बढी अन्तर्राष्ट्रिय स्तरका डिजाइनहरूलाई प्रदर्शित गर्न चार हजार वर्गफिट क्षेत्रफलमा यो सेन्टर फैलिएको छ। कुनकुन ठाउँमा लामिनार टायल्स उपयोगी ? घर तथा व्यावसायिक भवनका भित्री भित्ता तथा भुइँ शपिङ्ग मल, होटल, शैक्षिक संस्था, विमानस्थल जस्ता उच्च आवतजावतका क्षेत्रहरू छत, बाल्कोनी, पोखरी, बाथरुम जस्ता पानीको सम्पर्कमा आउने वा भिज्ने तथा खुला क्षेत्रहरू क्लाडिङ्ग, फसाड, ड्राइभवे र पार्किङका लागि बाहिरी प्रयोगका क्षेत्रहरू सेन्टरमा ०.०८ प्रतिशतभन्दा कम पानी सोस्ने गुणयुक्त पूर्णतया भिट्रिफाइड टायलहरुलाई प्रदर्शनीमा राखिएका छन् जसले उच्च मजबुती, दीर्घकालीन टिकाउपन, दाग प्रतिरोधी विशेषताका साथ दिगो सौन्दर्यलाई सुनिश्चित गर्नेछन् । लुम्बिनी सेरामिक्स् लिमिटेडद्धारा उत्पादित लामिनार टायल्स् बर्दियाको गुलरियास्थित अत्याधुनिक १४ विघा क्षेत्रफलमा अवस्थित उत्पादन केन्द्रमा निर्माण हुन्छ जसको दैनिक उत्पादन क्षमता एक लाख ४० हजार वर्गफिटभन्दा बढी रहेको छ ।