इन्टरनेट ग्राहकको घनत्व १४४.२३ प्रतिशत
काठमाडौं । इन्टरनेट ग्राहकको घनत्व १४४.२३ प्रतिशत पुगेको छ । आज अर्थमन्त्री विष्णु पौडेलले संसद्मा प्रस्तुत गरेको आर्थिक सर्वेक्षण प्रतिवेदनअनुसार २०८१ फागुन महिनासम्ममा इन्टरनेट ग्राहकको घनत्व १४४.२३ प्रतिशत पुगेको हो । 'सूचना प्रविधिको पहुँच आम क्षेत्रमा पुगेको छ । तीन तहका सरकारमा ई–गभर्नेन्स प्रणाली विस्तार हुँदै गएको छ । ब्रोडब्यान्ड इन्टरनेट सेवाको पहुँच सेवा स्थानीय तहका ६ हजार ५६६ वडा केन्द्रमा विस्तार भएको छ,' मन्त्री पौडेलले भने, 'डिजिटल टेलिभिजनको पहुँच ७२.० प्रतिशत घरधुरीमा पुगेको छ ।'
देशभर ९९ प्रतिशत घरधुरीमा विद्युत
काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षण संसदमा पेश गर्दै हालसम्म देशभर वैकल्पिक ऊर्जासहित ९९ प्रतिशत घरधुरीमा विद्युत पहुँच विस्तार भइसकेको जानकारी दिएका छन् । सर्वेक्षणमार्फत मन्त्री पौडेलले कुल जडित विद्युत् क्षमता ३ हजार ६ सय २ मेगावाट पुगेको समेत उल्लेख गरेका छन् । आर्थिक वर्षको फागुनसम्ममा एक हजार ७ सय ७५ मेगावाट घण्टा बराबरको विद्युत निर्यात भएको छ भने ९ सय २९ मेगावाट विद्युत आयात भएको छ । सरकारले आर्थिक वर्ष २०८१/८२ को बजेट बुधबार साँझ ५ बजे संसदमा प्रस्तुत गर्ने तयारी गरेको छ ।
चालू आर्थिक वर्षको ८ महिनामा ३७ हजार बढीले पाए निःशुल्क स्वास्थ्य सेवा
काठमाडौं । चालू आर्थिक वर्षको ८ महिनामा ३७ हजार ९ सय ८४ विपन्न नागरिकले निःशुल्क सेवा लिएका छन् । चालूआर्थिक वर्ष फागुन मसान्तसम्म ३७ हजार ९ सय ८४ विपन्न नागरिकले मुटु क्यान्सर, मृगौला सम्बन्धी रोगको उपचारका लागि निःशुल्क औषधी सहितको स्वास्थ्य सेवा प्राप्त गरेका छन् । चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले यस अवधिमा ९६.८५ प्रतिशत जनसंख्यामा आधारभूत खानेपानी सेवाको पहुँच भएको बताएका छन् ।
देशभर ३६ हजार १ सय ३२ किलोमिटर सडक विस्तार
काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले संसदमा आर्थिक सर्वेक्षण २०८१/८२ पेश गर्दै हालसम्म देशभर ३६ हजार १ सय ३२ किलोमिटर सडक विस्तार भइसकेको जानकारी दिएका छन्। बजेटको पूर्वसन्ध्यामा संसदमा आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै मन्त्री पौडेलले देशभर सडक सञ्जाल विस्तार भइरहेकाले कुल सडक लम्बाइ ३६ हजार १ सय ३२ किलोमिटर पुगेको उल्लेख गरेका हुन् । सरकारले आर्थिक वर्ष २०८१/८२ को बजेट बुधबार बेलुका ५ बजे संसदमा प्रस्तुत गर्ने कार्यक्रम छ।
नेपालको प्रतिव्यक्ति आय १ हजार ५१७ अमेरिकी डलर
काठमाडौं । नेपालको प्रतिव्यक्ति आय १ हजार ५१७ अमेरिकी डलर पुगेको छ । अर्थमन्त्री विष्णु पौडेलले बिहीबार आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षण प्रतिनिधिसभा बैठकमा पेस गर्दै प्रतिव्यक्ति कुल राष्ट्रिय आय बढेर १ हजार ५१७ अमेरिकी डलर पुगेको जनाएको छ । चालु आर्थिक वर्ष मुलुकको आर्थिक वृद्धि ४.६१ प्रतिशत रहने अनुमान रहेको मन्त्री पौडेलले बताए । उनका अनुसार प्रदेशगत रूपमा मधेस प्रदेश, कोसी प्रदेश र सुदूरपश्चिम प्रदेश बाहेक सबै प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसत ४.६१ प्रतिशत भन्दा माथि रहेको छ । चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब रुपैयाँ पुग्ने अनुमान रहेको उनको भनाइ छ । यस अवधिमा कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान २५.१६ प्रतिशत, उद्योग क्षेत्रको योगदान १२.८३ प्रतिशत र सेवा क्षेत्रको योगदान ६२.०१ प्रतिशत रहने अनुमान छ । उनका अनुसार सबै स्थानीय तहमा बैंकको शाखा पुगेको छ । बैंक तथा वित्तीय संस्थाका प्रति शाखाबाट औसत २ हजार ५२७ जनसङ्ख्यामा बैंकिङ सेवा उपलब्ध रहेको उनले बताए । २०८१ फागुनमसान्तमा बैंक तथा वित्तीय संस्थाको निक्षेप ९.५ प्रतिशत र बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ७.७ प्रतिशतले बढेको छ ।
विपक्षी दलहरूले आर्थिक सर्वेक्षण र बजेट टेबुल गर्न दिने
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)सहित विपक्षी दलहरूले आर्थिक सर्वेक्षण र आर्थिक वर्षको बजेट टेबुल गर्न मात्रै प्रतिनिधिसभा चल्न दिने भएका छन् । सभाको बिहीवारको बैठकको सुरुमा बोल्दै नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले यस्तो जानकारी गराएका हुन् । उनले भिजिट भिसा प्रकरणको छानविन गर्न उच्चस्तरीय छानविन आयोग बनाउने र गृहमन्त्री रमेश लेखकको राजीनामा विपक्षी दलहरूको आन्दोलन जारी रहने बताएका हुन् । उनले विचौलियामार्फत निर्माण भएको सरकार कुशासन र भ्रष्टचारमा लिप्त रहेको आरोप समेत लगाए । उनले भने, ‘हामीले संविधानअनुसार जेठ १५ गतेको दिनलाई विशेष व्यवस्था गरेका छौं । प्रत्येक वर्ष जेठ महिनाको १५ गते बजेट पेस गर्ने संवैधानिक व्यवस्था रहेकोले हामी जिम्मेवारीपूर्वक आज आर्थिक सर्वेक्षण प्रस्तुत हुने विषयवस्तु, संयुक्त अधिवेशनमा माननीय अर्थमन्त्रीज्यूले विनियोजन विधेयकसँगै बजेट प्रस्तुत गर्ने विषयवस्तुका लागि मात्रै हामीले सदनलाई अगाडि बढाउन दिएका छौँ । त्यो बाहेक अरु कुनै पनि काम अगाडि नबढाउने कुरा हाम्रो छ । हाम्रो आन्दोलन जारी छ ।’ पाण्डेयले वर्तमान सरकारले भ्रष्टाचारमा संलग्न कर्मचारीहरूलाई कारबाही गर्नुको सट्टा कुशासन र भ्रष्टाचारलाई मलजल गरिरहको आरोप लगाए ।
सार्वजनिक संस्थान : २८ नाफामा, १५ घाटामा
काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले कुल ४५ वटा सार्वजनिक संस्थनहरुमध्ये २८ वटा नाफामा रहेको जानकारी गराएका छन् । बिहीबार सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा २०८२ प्रतिनिधिसभा बैठकमा पेस गर्दै २८ वटा सार्वजनिक संस्थान नाफामा र १५ वटा घाटामा रहेको बताएका हुन् । उनका अनुसार २ वटा संस्थान बन्द अवस्थामा छन् । सरकारको २० वटा संस्थानमा पूर्ण र २५ वटा संस्थानमा अधिकांश स्वामित्व रहेको छ । उनले आर्थिक वर्ष २०८०/८१ मा सार्वजनिक संस्थानको कुल सम्पत्ति गत आर्थिक वर्ष भन्दा २.२० प्रतिशतले वृद्धि भई २९ खर्ब १० अर्ब १७ करोड पुगेको जानकारी दिए । यस्तै, सार्वजनिक संस्थानमा नेपाल सरकारको कुल लगानी समीक्षा अवधिसम्ममा ५.८६ प्रतिशतले वृद्धि भई रु.७ खर्ब ३ अर्ब ९३ करोड पुगेको छ । जसमा सेयर लगानी रु.३ खर्ब ६४ अर्ब ८६ करोड र ऋण लगानी रु.३ खर्ब ३९ अर्ब ७ करोड रहेको छ । आर्थिक वर्ष २०८०/८१ मा संस्थानको कुल सञ्चालन आय रु. ६ खर्ब ६० अर्ब १५ करोड पुगेको छ, जुन अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा ०.२२ प्रतिशतले कम हो । कुल गार्हस्थ्य उत्पादनमा सञ्चालन आयको अनुपात ११.५७ प्रतिशत रहेको जानकारी दिए । आर्थिक वर्ष २०८०/८१ मा सार्वजनिक संस्थानको खुद नाफा रु.४२ अर्ब ६२ करोड पुगेको छ, जुन गत समीक्षा अवधिको तुलनामा १२.८८ प्रतिशतले कम हो । नोक्सानीमा रहेका संस्थानको खुद नोक्सानी रु.३ अर्ब ६३ करोड रहेको छ।नाफामा रहेका संस्थानहरूको खुद नाफा गत आर्थिक वर्षको तुलनामा ११.५० प्रतिशतले घटेको छ भने नोक्सानीमा रहेका संस्थानहरूको खुद नोक्सानी गत वर्षको तुलनामा ८.६५ प्रतिशतले बढेको छ । यस्तै, सार्वजनिक संस्थानबाट नेपाल सरकारलाई आर्थिक वर्ष २०७९/८० मा रु.१३ अर्ब ७५ करोड लाभांश प्राप्त भएकोमा आर्थिक वर्ष २०८०÷८१ मा रु.८ अर्ब ८३ करोड प्राप्त भएको देखिएको छ। कुल सेयर लगानीको तुलनामा लाभांश अनुपात विश्लेषण गर्दा आर्थिक वर्ष २०८०/८१ मा २.४ प्रतिशत रहेको छ । सार्वजनिक संस्थानले मुलुकको आर्थिक तथा सामाजिक विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्। यिनीहरूको स्थापना, सुदृढीकरण, सुधार तथा विकासले मुलुकको समग्र आर्थिक, सामाजिक, राष्ट्रिय पुँजी निर्माण, आय वृद्धि तथा रोजगारी सिर्जना जस्ता क्षेत्रमा उल्लेखनीय योगदान पुग्न गएको अर्थमन्त्री पौडेलले जानकारी दिए ।
चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत हुने अनुमान
काठमाडाैं । चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत हुने अनुमान सार्वजनिक गरेका छन् । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बिहीबार प्रतिनिधिसभा बैठकमा आर्थिक सर्वेक्षण पेस गर्दै चालु आर्थिक वर्षको अन्तिमसम्म ४.६१ आर्थिक वृद्धिदर हुने बताएका हुन् ।