विकासन्युज

रेखा थापा पहिलोपटक रंगमञ्चमा, ‘मीरा’ नाटकमार्फत अभिनय यात्रा विस्तार

काठमाडौं । करिब एक महिनादेखि नेपाली सिने उद्योगकी पहिलो महिला सुपरस्टार रेखा थापा झण्डै साढे दुई दशकदेखि आफू व्यस्त रहेको क्षेत्रभन्दा फरक अवस्थामा आफ्नो दैनिक चारदेखि पाँच घण्टा व्यतित गरिरहेकी छिन् ।  ‘हिरो’ फिल्मबाट नेपाली रजतपटमा डेब्यू भएकी ‘स्टार’ अहिले ठूलो पर्दाको आकाशबाट नाटकको धर्तीमा आफूलाई अभ्यस्त गराइरहेकी छिन् । अर्थात उनी आफ्नो अभिनय करियरमा पहिलोपटक मञ्चमा मञ्चित हुँदै छिन् । कान्तिपुर थिएटर, गैरीधारामा आज जेठ १५ गते पहिलोपटक दीपक सिंजाली लिखित तथा सुन्दर धिताल निर्देशित ‘मीरा’बाट डेब्यू हुन लागेको संयोग सुनाउँदा उनी केही कौतुहलतासहितको एउटा फरक उत्साह अनुभूत गरिरहेकी छिन् । नाटकका लागि केही वर्षअघि दुईवटा नाटक गर्ने प्रस्ताव आएको थियो । त्यो लकडाउनको सेरोफेरोमा आएको प्रस्ताव थियो । तर आफ्नो व्यस्त दैनिकीले नाटकका लागि दिनुपर्ने एक डेढ महिनाको समय उनका लागि त्यतिबेला सम्भव थिएन, त्योसँगै उनलाई नाटकमा गर्छु वा गर्ने भन्ने आत्मविश्वास पनि नभएको उनले बताइन् । ‘रिहर्सल अनि दैनिक मञ्चनजस्ता कुरा मेरा लागि फरक संसार जस्तो कुरा थियो । समय व्यवस्थापनमा नै समस्या देखेकाले मैले त्यतिबेला चासो दिइन’, उनले भनिन् । तर यसपटक कसरी उनको मञ्च उक्लने कुरा सम्भव भयो त रु यो सम्भव गराउने काम कान्तिपुर फिल्म एकेडेमी तथा कान्तिपुर थिएटरका संचालक प्रकाश पुरीको मुख्य हात रहेको उनको भनाइ छ । पुरीले स्क्रिप्ट राइटरका रूपमा रेखा फिल्म्सबाट नै डेब्यू गरेका हुन् ।  ‘प्रकाशले नाटकघर सञ्चालन गर्न लाग्नुभएको र म आफैँले उहाँको क्षमता देखेर डेब्यूसमेत गराएकाले उहाँमाथिको विश्वास र समय संयोजन गर्न सक्ने दुबै संयोग मिलेकाले नाटक गर्ने निर्णय गरें’, उनले भनिन् । उनलाई यतिले मात्र नभई ‘मीरा’ उपन्यासको कथाले पनि बलियो गरी आकर्षण गर्यो । ‘कथा सुनेपछि १५ दिन ‘मीरा’को जीवन एकपटक जिएर हेरौंँ न भनेर हो। मीरा एउटा सच्चा क्रान्तिकारी हो । ऊ भावुक पनि छ । समाज र परिवारका बन्धनले उसलाई कसरी भित्रभित्र खाइरहेको छ र त्यो कुरालाई ऊ कसरी सामना गर्छे भन्ने कुराले मलाई मञ्चमा ‘मीरा’ हुन मन लाग्यो’, उनले भनिन्। थापाका अनुसार प्रेमका विभिन्न प्रकारहरू देखिने र तिनमा समाजका विविध कुराको प्रभाव र असर पर्ने गरेको छ। प्रेममा जातका कुरा, समुदायका कुरा, आर्थिक वर्गका कुरा, समाजका कुरा तथा दुई परिवारका द्वन्द्वलगायतका कुराहरूले प्रभाव पार्ने उनी बताउँछिन् । मीरा’ नाटकमा यसकी शीर्षक पात्र ‘मीरा’को प्रेमकथा हामीले आमरूपमा सोच्दै–हेर्दै–देख्दै–पढ्दै आएको प्रेमकथाहरूभन्दा फरक भएको उनको भनाइ छ । ‘एउटा यस्तो फरक प्रेमकथा छ, जुन तपाईं हामीले झट्टै सोचिहाल्ने वा अनुमान गरिहाल्ने किसिमको छैन । त्यो प्रेमकथामा वास्तविक जीवनकी रेखा थापा थियो भने त्यही प्रकारको विद्रोह गर्न सक्थी ? के उसले त्यो प्रेम गर्न सक्थी ? कसलाई छनोट गर्थी होला ? समाज, परिवार, प्रेमी या प्रेममा कृष्णकी मीराझैँ हुन्थी ? यस्ता प्रश्नको उत्तर यो नाटकमा छ’, उनले भनिन् । त्यसैगरी थापाले आफूलाई एउटा विद्रोही अभिनेत्रीका रूपमा हेरिने भए पनि आफूमा ‘मीरा’ पात्रको झैँ विद्रोही नभएको बताइन् । ‘प्रेमको मामिलामा त मैले विद्रोह नै गर्न पाइन । समाजसँग जुन विद्रोह गर्ने रेखा थापा छ, अन्याय अत्याचारविरुद्ध, पात्र त्यस्तै हो तर मीरा अझ बढी सशक्त र विद्रोही हो’, उनले भनिन् । यसैगरी नाटकको अभिनय र सिनेमाको अभिनय दुबै अभिनय नै भए तापनि थापाको एक महिनाको अनुभवले उनी यसलाई बिना एक्सन–कटको फिल्म मान्छिन् ।  ‘दुबैमा प्रयोग हुने त अभिनयका नवरस नै हुन्, तर यसमा एक्सन–कट, टेक–रिटेक भन्ने हुन्न । रिहर्सल पढाइ हो भने मञ्चन त्यसको परीक्षा जहाँ उत्कृष्ट हुनु जरुरी छ, जस्ट पास भन्ने नै हुँदैन’, उनले भनिन्, ‘दर्शकसँग प्रत्यक्ष रहेर गर्ने काम हो । म मेरो पात्रमा सजीव हुनुपर्छ । यसमा भेटेको फरक भनेको शुद्धता, किनकि यसमा एडिटिङ भन्ने हुन्न, भ्वाइस डब भन्ने हुन्न, अलिकति ठूलो स्वरमा बोल्नुपर्छ । एउटै रफ्तारमा बहनुपर्छ ।’ नाटकलाई लिएर उनी अहिले आत्मविश्वासमा छिन् भने यो महिना दिनको अवधिले उनलाई ‘हिरो’ फिल्मबाट डेब्यू हुनुअघिको तयारीका दिनहरूको सम्झना गराइरहेको स्मरण गरिन् ।  ‘जीवनमा म दोस्रोपटक यसरी अभ्यास गरिरहेकी छु । ‘हिरो’ फिल्ममा डेब्यू हुने भएपछि १६ वर्षकी रेखा थापाले नृत्य र अभिनयको प्रशिक्षण लिएको सम्झना मलाई यतिखेर भइरहेको छ । विश्व बस्नेत (अन्याय फिल्मका नायक) ले अभिनय सिकाउनुहुन्थ्यो भने कमल राईले नृत्यको अभ्यास गराउनुहुन्थ्यो । आज २४ वर्षपछि म फेरि १८ वर्षकी मीरा हुने अभ्यास गरिरहेकी छु । यसमा दुईवटा मीरा छन्– एउटा १७–१८ वर्षकी र अर्को ३५–३६ वर्षकी । मलाई अहिलेको अभ्यासले पहिलाकै ऊर्जा बोकेकी रेखा थापा भएको अनुभव भइराखेको छ । अभ्यास गरिरहँदा पहिलो फिल्ममा डेब्यू गर्दाको अनुभव अहिले मलाई भइरहेको छ ।’ यस्तै, सिनेमामा अभिनय गर्ने रेखा र अब नाटकमा देखिने अभिनेत्री रेखामा फरक अनुभव गरिरहेको उनले बताइन् ।  ‘यहाँ अझ बढी राम्रोसँग अभिनय गर्न पाइन्छ । एक्सन–कट हुँदैन, पात्रको संवेगसँग बग्नुपर्छ । एउटा लयमा बग्न पाइन्छ । अझ राम्रो प्रस्तुति ‘मीरा’मा हुनेछ भन्ने मेरो विश्वास छ’, उनले भनिन् । आगामी दिनमा नाटकमा पुनः रेखा थापा मञ्चित हुने–नहुने कुरा आफूलाई आउने नाटकका प्रस्तावमा भर पर्ने उनले बताइन् । समय जुर्दा आगामी दिनमा राम्रा कथा भएका नाटकलाई स्वीकार गर्ने उनको भनाइ छ । ‘मेरा लागि रङ्गमञ्च होस् या सिनेमा, अभिनय उत्तिकै सम्मानीत र प्रगाढ भएर बसेको छ । त्यसैले नाटकका लागि भविष्यमा पनि म खुला नै हुनेछु’, उनले भनिन् । एक महिने नाटक जीवनपछि थापाको नजरमा नाटक एउटा साधना र ध्यानजस्तो भएको अनुभव हुन गएको छ । अब रेखा १५ गतेको पर्खाइमा छिन् । त्यतिखेर दर्शकका लागि आफू एउटा ‘सरप्राइज’ बनेर आउनेमा ढुक्क छिन् । यो नाटकले थापालाई धेरै उत्साह भरेको छ । उनी यो नाटकलाई मञ्चबाट बाहिर लाने सोचमा पनि रहेकी छिन् ।  ‘हुनसक्छ यो सिनेमा नै बन्नेछ, तर त्यो नभएमा सिरिजका रूपमा निश्चित रूपमा आउनेछ । मैले यसका लागि निर्देशक सुन्दर धितालसँग कुरा गरिराखेकी छु ।’ कुराकानीका क्रममा साथै रहेका निर्देशक सुन्दर धितालले सुरुमा नाटकका लागि प्रस्ताव गर्न केही हिच्किचाएको भए पनि प्रस्ताव गरिसकेपछि अभिनेत्री थापालाई पूर्ण रूपमा एउटा निर्देशकको कलाकारका रूपमा भेटेको सुनाउँछन् । निर्देशकका कलाकारका रूपमा उपस्थित भएकाले थापालाई नाटक गराउन सहज भएको र आफूले चाहेको आकारमा नै उनले बताए । ‘मलाई उहाँसम्म पुग्न कठिन थियो सुरुमा, तर कान्तिपुर एकेडेमीमा आएर प्रकाश सरसँग कुरा गरेपछि सरले म उपन्यास पढ्छु भने । उनले 'दिदी पनि बगाले थापा हो र पात्र पनि, एकपटक कुरा गर्ने हो' भने । अनि उनलाई सोधियो, उनले सुन्छु भने । उनले मन पराउनुभयो र गर्न तयार भए । तर सुरुमा मलाई यो चिज असम्भव लागिरहेको थियो’, उनले भने । नाटक जेठ १५ गते बिहीबारबाट असार ७ गतेसम्म प्रत्येक दिन बुधबार बाहेक ५ः३० बजे मञ्चन हुनेछ । अशेष अधिकारी/रासस

१० महिनामा निर्जीवन बीमकको व्यवसाय ६.७६ प्रतिशतले बढ्यो, शिखर इन्स्योरेन्सको सर्वाधिक

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को १० महिना (वैशाखसम्म) सम्ममा निर्जीवन बीमा कम्पनीहरूले ३५ अर्ब ९ करोड बराबरको व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार सञ्चालनमा रहेका १४ वटा निर्जीवन बीमकले २३ लाख ५८ हजार ५११ वटा बीमालेख जारी गरेर ३५ अर्ब ९ करोड ८० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन् । चालु आवको १० महिनामा निर्जीवन बीमकले गरेको व्यवसाय गत आवको सोही अवधिको तुलनामा ६.७६ प्रतिशतले बढेको हो । गत आवको यही अवधिमा बीमा कम्पनीहरूले २३ लाख ९३ हजार १८२७ वटा बीमालेख जारी गर्दै ३२ अर्ब ८७ करोड ४८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका थिए । सबैभन्दा धेरै व्यापार गर्नेमा शिखर इन्स्योरेन्स  चालु आवको १० महिनामा सबैभन्दा धेरै व्यवसाय शिखर इन्स्याेरेन्सले गरेको छ । वैशाखसम्ममा निर्जीवन बीमा कम्पनीहरूले ४ अर्ब ६८ करोड १८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा र ३.१० प्रतिशतले बढेको छ । गत आवको सोही अवधिमा कम्पनीले ४ अर्ब ५४ करोड ११ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो । दोस्रो धेरै व्यवसाय गर्ने कम्पनीमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) रहेको छ । सलिकोले वैशाखसम्ममा ४ अर्ब ४ करोड १५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा कम्पनीले ३ अर्ब ८८ करोड ५४ लाख रुपैयाँ कुल व्यवसाय गरेको थियो । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको व्यापार ४.०२ प्रतिशतले बढेको छ । तेस्रो धेरै व्यवसाय गर्ने कम्पनीमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी रहेको छ । सिद्धार्थ प्रिमियरले १० महिनामा कम्पनीले ३ अर्ब ४७ करोड ९८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । जुन गत आवको तुलनामा ९.१८ प्रतिशतले वृद्धि हो । गत आवको यही अवधिमा कम्पनीले ३ अर्ब १८ करोड ७१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो ।  अन्य बीमा कम्पनीहरूमा हिमालयन एभरेस्ट इन्स्योरेन्सले ३ अर्ब ८ करोड रुपैयाँ, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ३ अर्ब २ करोड रुपैयाँ, नेको इन्स्योरेन्सले २ अर्ब ७० करोड रुपैयाँ, एनएलजी इन्स्योरेन्सले २ अर्ब ४२ करोड रुपैयाँ, ओरिएन्टल इन्स्योरेन्सले २ अर्ब २५ करोड रुपैयाँ सानिमा जीआइसीले २  अर्ब ९ करोड रुपैयाँ व्यवसाय आर्जन गरेका छन् । ४ बीमकको घट्यो व्यापार  वैशाखसम्म ४ वटा बीमकको व्यवसाय घटेको छ । समीक्षा अवधिमा युनाइटेड अजोडको व्यवसाय ३.८४ प्रतिशतले घटेको छ । गत आवमा युनाइटेडले २ अर्ब १७ करोड ६१ लाख व्यवसाय गरेकोमा समीक्षा अवधिमा २ अर्ब ९ करोड २६ लाख रुपैयाँ व्यवसाय आर्जन गरेको छ ।  राष्ट्रिय बीमा कम्पनीको व्यवसाय १३.१६ प्रतिशतले घटेको छ । गत आवको वैशाखसम्मममा एक अर्ब ३४ करोड रुपैयाँ व्यवसाय गरेको राष्ट्रिय बीमाले समीक्षा अवधिमा १ अर्ब १६ करोड ३७ लाख रुपैयाँको व्यापार गरेको छ । प्रभु इन्स्योरेन्सको व्यवसाय ०.६५ प्रतिशतले घट्दा नेशनल इन्स्योरेन्सले १.४८ प्रतिशतले घटेको छ ।  प्रभु इन्स्योरेन्सले चालु आवको ११ महिनामा १ अर्ब ४३ करोड ४५ लाख व्यवसाय गरेको छ । गत आवको यही अवधिमा कम्पनीले १ अर्ब ४४ करोड ३९ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको थियो । नेशनल इन्स्योरेन्सले गत आवमा ९४ करोड ३९ लाख व्यवसाय गरेकोमा चालु आवमा ९२ करोड ९९ लाख रुपैयाँको व्यवसाय गरेको छ ।   निर्जीवन बीमा कम्पनीको व्यवसाय (रु.लाखमा)

निर्यातमूलक व्यवसायको आम्दानीमा कर बढ्ने, सेयर कारोबारमा पनि वैकल्पिक कर

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट बिहीबार सार्वजनिक गर्दैछन् । संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते संघीय सदनको संयुक्त बैठकमा उनले बजेट प्रस्तुत गर्न लागेका हुन् ।  राष्ट्रिय योजना आयोगले दिएको साढे १९ खर्ब रुपैयाँको बजेटको सीमालाई केही बढाएर सार्वजनिक गर्ने तयारी अर्थमन्त्री पौडेलले गरेका छन् । अर्थमन्त्री पौडेलले बजेटमार्फत धेरैका करका शीर्षकलाई हेरफेर गरेर सार्वजनिक गर्ने तयारी गरेको बुझिएको छ ।  उनले यसअघि उच्च स्तरीय आर्थिक सुधार सुझाव आयोग र राजस्व सुधार समितिले दिएको सुझावलाई आधार मानेर करका दर हेरफेर गर्ने तयारी गरेका छन् । पौडेलले बजेटमार्फत निर्यातमूलक व्यापार तथा व्यवसायलाई आयकरको दरलाई अधिकतम १० प्रतिशत निर्धारण हुन सक्ने स्रोतको भनाइ छ । ‘निर्यातमूलक व्यवसायको आम्दानीमा कर बढाउने कुरा भएको छ, अर्थमन्त्रीज्यूले बजेटमा त्यो कुरा समावेश गरे नगरेको थाहा भएन । तर, अधिकतम १० प्रतिशत तोक्ने छलफल भएको थियो,’ स्रोतले भन्यो ।  उसो त यसअघिको कर सुधार समितिले पनि निर्मातमूलक व्यवसायको आम्दानीमा कर बढाउनुपर्ने सुझाव दिएको थियो ।  यस्तै, अर्थमन्त्री पौडेलले पूँजीगत लाभकर बढाउनुका साथै कुल सेयर कारोबारमा थप कर लगाउने तयारी गरेका छन् । बजेट लेखन समितिसँग अर्थमन्त्रीले पुँजीगत लाभर कढाउनुको विषयमा छलफल गरेका थिए । छलफलमा अधिकतम १० प्रतिशत कायम गर्ने र सेयर कारोबारमा थप अधिकतम दुई प्रतिशतसम्म वैकल्पिक कर लगाउन सक्ने छलफल भएको स्रोतको दाबी छ । अहिले अधिकतम .५ प्रतिशत पूँजीगत लाभकर लाग्दै आएको छ । सरकारले बजेटमार्फत विद्युतीय गाडीसँगै मदिरा, चुरोट तथा सूर्तीजन्य पदार्थमा पनि कर बढाउने बुझिएको छ । यस वर्ष कर्मचारीको तलब बढाउनु पर्ने भएकोले अधिकतम १० प्रतिशत कर्मचारीको तलब बढ्न सक्नेछ । स्रोतका अनुसार आयकरको सीमासँगै कर पनि हेरफेर गर्ने तयारी गरेको छ । अहिले रहेको न्यूनतम सिलिङलाई बढाएर तीन प्रतिशत पुर्‍याउने तयारी अर्थमन्त्रीको छ ।  सम्बन्धित सामग्री : मदिरामा २० प्रतिशत कर बढ्ने सूचना अर्थबाटै चुहियो, विष्णुले महत र पुनको नीति उल्ट्याउँदै कर्मचारीको तलब बढ्ने, अर्थमन्त्रीको ‘ग्रिन सिंग्नल’ विद्युतीय सवारीमा कर वृद्धिको त्रास, बैंकमा एलसी खोल्नको भीड बजेटमा आयकर : ७ लाखसम्म कमाउनेलाई पेल्ने, २० लाख बढी तलब खानेलाई राहत

चीनको अटो बजार : मूल्य प्रतिस्पर्धाले उद्योगमा ठूलो परिवर्तनको डर उत्पन्न

काठमाडौं । चीनको अटो उद्योगमा तीव्र बन्दै गएको मूल्ययुद्धले विश्वकै सबैभन्दा ठूलो गाडी बजारमा लामो समयदेखि अनुमान गरिएको ठूलो परिवर्तन (सेक-आउट) को डर बढाएको छ । चिनियाँ इलेक्ट्रिक गाडी निर्माता बीवाईडीले एक दर्जनभन्दा बढी मोडेलमा नयाँ छुटहरूको घोषणा गरेपछि ठूला गाडी निर्माता कम्पनीहरूका सेयर सोमबार घटे । बीवाईडीको मूल्य कटौतीले यसको सबैभन्दा सस्तो मोडेल सीगल ह्याचब्याक(ब्याट्रीबाट चल्ने) को सुरुवाती मूल्य करिब १० हजार डलरबाट घटाएर ५५ हजार ८०० युआन (७ हजार ७६५ डलर) बनायो । सीनो अटो इनसाइज्ट्सका प्रबन्ध निर्देशक टु लीका अनुसार बीवाईडीको मूल्य कटौती र अन्य घटनाक्रमहरूले कमजोर कम्पनीहरूले मूल्यमा लगातार भइरहेको गिरावट र घाटा धान्न नसक्ने अवस्था आउन सक्ने औंल्याए । उनले नेटा, पोलेस्टरजस्ता पहिले नै संघर्षरत स्टार्टअपहरूलाई दबाबमा पार्न सक्ने बताउँछन् । शुक्रबार ग्रेट वाल मोटर्सका अध्यक्ष वेई जिआनजुनले चेतावनी दिएका थिए कि चीनको अटो उद्योग अस्वस्थ अवस्थामा पुगेको छ, जहाँ मूल्य प्रतिस्पर्धाले कार निर्माता र आपूर्तिकर्ताहरूको नाफामा गहिरो असर पारेको छ । उनले चिनियाँ रियल स्टेट कम्पनी इभरग्रान्डसँग तुलना पनि गरे, जुन ठूलो ऋण संकटपछि गत वर्ष बन्द भयो । 'अहिले अटोमोबाइल उद्योगमा ‘एभरग्रान्ड’ पहिले नै छ तर अझै पतन भएको छैन,' उनले सीना फाइनान्ससँगको अन्तर्वार्ताका क्रममा भने । बजारमा तनावको अर्को संकेतस्वरूप रोयटर्सले रिपोर्ट गरेको छ कि चिनियाँ नियामकहरू 'प्रयोगशाला गाडी' बिक्रीबारे अनुसन्धान गरिरहेका छन्, जुन वास्तवमा नयाँ गाडीहरू हुन् तर ‘जीरो माइल्स’ मा बिक्री गरिन्छन् । एक स्रोतका अनुसार कम्पनीहरू आक्रामक बिक्री लक्ष्य पुरा गर्न यस्तो तरिका अपनाइरहेका छन् । पछिल्लो दशकमा धेरै स्टार्टअप कम्पनीहरू चीनको अटो बजारमा प्रवेश गरेका छन्, मुख्य रूपमा विद्युतीय गाडी (ईभी) क्षेत्रको तीव्र विकासको कारण । तर अहिले बजार अत्यधिक प्रतिस्पर्धी भएको छ र धेरै कम्पनीहरू ठूलो घाटामा चलिरहेका छन् । जाटो डाइनामिक्सको तथ्याङ्कअनुसार चीनमा हाल सक्रिय १६९ गाडी कम्पनीहरूमध्ये आधाभन्दा बढीको बजार हिस्सा ०.१ प्रतिशतभन्दा कम छ । यो अवस्था २०औं शताब्दीको सुरुमा अमेरिकाको अटो उद्योग जस्तै हो, जहाँ फर्डजस्ता ठूला कम्पनीहरूसँग प्रतिस्पर्धा गर्दै सयौं कम्पनीहरू बजारमा आएका थिए, अन्ततः केही उद्योग बन्द भए त केही मर्जरमा गए ।   लीले भनेअनुसार मूल्ययुद्ध करिब तीन वर्षदेखि चलिरहेको छ । सुरुमा ड्राइभर असिस्टेन्ट प्रणालीहरू (जसले केही अवस्थामा स्टेयरिङ र ब्रेकिङ नियन्त्रण गर्छ) जस्ता विशेषताहरूका लागि ग्राहकहरूले बढी मूल्य तिर्थे तर अहिले यी सुविधा बहुसंख्यक कम्पनीहरूले सामान्य मूल्यमै दिन थालेका छन् । गत हप्ता, चीनको राज्य योजना आयोगले चेतावनी दिएको थियो कि केही उद्योगहरूमा प्रतिस्पर्धा अत्यधिक भइसकेको छ, केही कम्पनीहरूले लागतभन्दा सस्तो मूल्यमा गाडी बिक्री गरिरहेका छन्, जसले निष्पक्ष प्रतिस्पर्धा विथोलिरहेको छ । शुक्रबार ग्रेट वालका अध्यक्ष वेई ले भने,  'यो दीर्घकालीन मूल्य युद्धले गाडी आपूर्ति शृंखलालाई असर गरिरहेको छ । कार कम्पनीहरूबाट मूल्य घटाउन दबाब आएपछि केही आपूर्तिकर्ता कम्पनीहरू बन्द हुने खतरा छ ।' 'केही उत्पादनहरू २ लाख २० हजार युआनबाट १ लाख २० हजार युआनसम्म घटाइएको छ । एक लाख युआन घटाएर अझै गुणस्तर कायम राख्न सकिने कुन औद्योगिक उत्पादन हुन्छ ?,’ उनले थपे । चीनको अटो उद्योगमा लामो समयदेखि एकीकरण हुने अनुमान हुँदै आएको भए पनि कम्पनीहरूको संख्या अझै बढिरहेको माइकल जे डुने नामक विश्लेषकले बताए।  'बीवाईडीको मूल्य कटौतीले केही कमजोर कम्पनीहरूलाई बजारबाट हटाउनेछ,’ उनले भने, 'तर यहाँ हरेक पतनसँगै साओमी वा हुवावेजस्ता नयाँ खेलाडीहरू मैदानमा छिर्दै छन् ।’

‘ग्लोबल स्मार्ट प्लस’ एपबाट ई-कम डलर कार्डमा रियल टाइम लोड गर्न सकिने

काठमाडौं । डिजिटल बैंकिङलाई उच्च प्राथमिकता दिएको ग्लोबल आइएमई बैंकले ‘ग्लोबल स्मार्ट प्लस’ एपमा आकर्षक फिचर थप गरेको छ । बैंकले सेवाग्राहीलाई थप सहज र प्रभावकारी डिजिटल बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले मोबाइल एपमार्फत ई-कम डलर कार्डमा रियल टाइम लोड सुविधा उपलब्ध गराएको हो । यससँगै अन्तर्राष्ट्रिय अनलाइन किनमेल तथा सेवा सदस्यता जस्ता कार्यका लागि आवश्यक अमेरिकी डलर आफ्नै मोबाइलबाट सेवाग्राही आफैंले तुरुन्तै कार्डमा लोड गर्न सक्ने भएका छन् । भिसा ब्रान्डको यो कार्ड अन्तर्राष्ट्रिय कारोबारका लागि मान्य हुने बैंकले जनाएको छ । रियल टाइम लोड सुविधा उपलब्ध भएसँगै डलर कार्डमा रकम लोड गर्न शाखामा गइरहनु पर्ने झन्झट अन्त्य भएको छ । मोबाइल एपबाट तुरुन्तै रकम लोड गर्न सकिने भएकाले अनलाइन किनमेल, अन्तर्राष्ट्रिय सब्स्क्रिप्सनहरू र अन्य डिजिटल सेवाहरूको भुक्तानी सहजै गर्न सकिन्छ । यसले समय, ऊर्जा र लागतमा बचत गर्नुका साथै विश्वव्यापी अनलाइन कारोबारमा सहज पहुँच प्रदान गर्ने बैंकको विश्वास छ । भर्चुअल कार्ड जारी गर्दा सेवाग्राहीले पाँच सय रुपैयाँ शुल्क तिर्नुपर्छ भने नवीकरण शुल्क वार्षिक तीन सय रुपैयाँ तोकिएको छ । मोबाइल बैंकिङमार्फत टप-अप गर्दा भने कुनै शुल्क लाग्दैन । ई-कम डलर कार्डमार्फत वार्षिक अधिकतम ५ सय डलरसम्म कारोबार गर्न सकिनेछ । सेवा लिन ग्राहकले ‘ग्लोबल स्मार्ट प्लस’ मोबाइल एप प्रयोग गरी सजिलै अनलाइन आवेदन दिन सक्नेछन् । ‘ग्लोबल स्मार्ट प्लस’ एपले बैंकिङ सेवालाई छिटो, सुरक्षित र प्रयोगमैत्री बनाउँदै आएको छ । यस एपमार्फत खाताको व्यवस्थापन, रकम ट्रान्सफर, बिल भुक्तानी, क्यूआर पेमेन्ट, वालेट लोडलगायतका सेवा सहज रूपमा उपलब्ध छन् । अब यसमा थपिएको रियल टाइम डलर कार्ड टप–अप सुविधा विशेष आकर्षणको रूपमा रहने बैंकको विश्वास छ ।  ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक होे । साथै ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुबाट फरक फरक विधामा सम्मानित भएको छ ।

डिल्लीबजार सडकमा गुड्दागुड्दै भासियो बस (तस्बिरहरू)

काठमाडौं । काठमाडौंको डिल्ली बजार पिपल बोट चोकको सडकमा गुडिरहेको बस भासिएको छ ।  रत्नपार्कतर्फ जाँदै गरेको बा ५ ख ४२ ६२ नम्बरको बस गुडिरहेको बेला भासिएको हो । सडक भासिएर चक्का फसेपछि बस कोल्टे परेको छ । लगत्तै यात्रुहरू बाहिर निस्किएका थिए ।  नजिकै रहेका ट्राफिक प्रहरीहरू आएर बसलाई त्यहाँबाट हटाउन समन्वय गरिरहेका छन् । बुधबार राति भएको अविरल वर्षाका कारण सडक कमजोर भएको अनुमान गरिएको छ।  

विद्यार्थी सङ्ख्या तीन, शिक्षक, कर्मचारी पनि तीन !

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–५ स्वाँतस्थित  शिखर आधारभूत विद्यालयमा शिक्षक र विद्यार्थीको सङ्ख्या बराबर  छ ।  कक्षा ५ सम्म अध्यापन हुने यो विद्यालयमा तीन जना विद्यार्थी छन् । कक्षा ३ मा दुई र कक्षा ४ मा एक जना विद्यार्थी छन् । प्रधानाध्यापक रामचन्द्र पाइजाका अनुसार विद्यालयमा एक जना स्थायी दरबन्दी, एक जना निजी स्रोतका शिक्षक र एक जना कार्यालय सहयोगी छन् ।  'तीन वर्षयता विद्यालयमा विद्यार्थी आएका छैनन्', उनले भने, 'भएका विद्यार्थी पनि गएपछि बालकक्षा, कक्षा १, २ र ५ विद्यार्थीविहीन भएको छ ।'   स्वाँत गाउँमा ७० घर भए पनि हाल  परिवारको  मात्र बसोबास छ । विद्यार्थी सङ्ख्या कम भए पनि विद्यालय सञ्चालन गर्नुपरेको अन्नपूर्ण गाउँपालिकाका शिक्षा अधिकृत गणेशबहादुर कटुवालले बताए । स्वाँतको छिमेकी गाउँ किन्दु आधारभूत विद्यालयमा पनि विद्यार्थी सङ्ख्या न्यून रहेको उनले बताए ।   

‘राइड सेयरिङ’विरुद्ध गण्डकीका यातायात व्यवसायी

गण्डकी । गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’ कम्पनीलाई वैधानिकता दिएपछि यातायात व्यवसायीले त्यसको विरोध गरेका छन् ।  सार्वजनिक यातायात बचाउ सङ्घर्ष समितिले बुधबार पोखरामा पत्रकार सम्मेलन गरेर  उक्त नियमावली खारेज हुनुपर्ने बताएको छ । प्रदेश सरकारले राइड सेयरिङ (नियमन र व्यवस्थापन) नियमावली स्वीकृत गरी यही जेठ १ गते प्रदेश राजपत्रमा प्रकाशन गरेको हो ।  सङ्घर्ष समितिका संयोजक केदारप्रसाद पौडेलले राइड सेयरिङ नियमावलीलाई प्रदेश सरकारले फिर्ता नलिए शुक्रबारदेखि गण्डकी प्रदेशमा सार्वजनिक यातायात सेवा बन्द गरिने बताए ।  प्रदेश सरकारले सर्वोच्च अदालतको फैसलालाई आधार मानेर राइड सेयरिङ कम्पनीलाई वैधानिकता दिन नियमावली जारी गरेको  जनाएको छ । सर्वोच्च अदालतले राइड सेयरिङ कम्पनीलाई उपभोक्ताको हक, श्रम र रोजगारीजस्ता मौलिक हकसँग जोड्दै कानुनी व्यवस्था गर्न आदेश दिएको थियो ।  यातायात व्यवसायीले भने सवारी तथा यातायात व्यवस्था ऐन २०४९ विपरीत रातो नम्बर प्लेट भएका सवारीसाधनले यात्रु बोक्न नपाउने भन्दै राइड सेयरिङको विरोध गर्दै आएका छन् ।