नेपाल एसबिआई बैंक एनपीएस नेसनल कार्ड स्वीचमा आबद्ध, डिजिटल सेवा विस्तार
काठमाडौं । नेपाल एसबिआई बैंकले डिजिटल बैंकिङ सेवा विस्तारको दिशामा थप महत्वपूर्ण कदम अघि बढाउँदै एनपीएस नेसनल कार्ड स्वीच तथा नेपालपे कार्ड योजनामा प्रिन्सिपल मेम्बरसिप लिँदै नेपाल क्लियरिङ हाउस लिमिटेड सँग सम्झौता गरेको छ । सम्झौताअनुसार बैंकले अब नेपालपे डोमेस्टिक कार्ड जारी गर्न र कार्ड प्राप्त गर्न सक्ने प्रणाली (स्विच एकीकरण) सञ्चालनमा ल्याउनेछ । यसले बैंकका ग्राहकहरूलाई अझ सहज, सुरक्षित र छरितो भुक्तानी सेवा प्रदान गर्न मद्दत गर्नेछ । सम्झौता पत्रमा नेपाल एसबिआई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्द र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् । सम्झौता कार्यक्रम प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत राम कुमार तिवारीको उपस्थितिमा सम्पन्न भएको थियो । सो अवसरमा बैंकका प्रमुख वित्तीय अधिकृत राजेश कुमार पण्डा, सल्लाहकार छपिराज पन्त, प्रमुख प्रविधि अधिकृत सुनन्द मल्होत्रा, प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत रितेश अर्याल लगायत अन्य वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो । बैंकले यो सहकार्यमार्फत डिजिटल कारोबार प्रणालीलाई अझ मजबुत बनाउँदै आफ्ना ग्राहकहरूलाई घरेलु कार्डको सुलभ र सुरक्षित सेवा उपलब्ध गराउने उद्देश्य राखेको जनाएको छ ।
जलवायु परिवर्तनले भारतीय किसानहरूको आत्महत्याको जोखिम वृद्धि, पिउने पानीको अभाव
काठमाडौं । भारतको महाराष्ट्र राज्यको एउटा सानो खेतमा कुरा गर्दै मीराबाई खिन्डकरले खडेरीमा बाली खस्किएपछि र उनका पतिले आत्महत्या गरेपछि उनको जमिनले ऋण मात्रै उब्जाएको बताए । भारतमा किसान आत्महत्याको लामो इतिहास छ । भारतमा धेरैजसो किसान एक बाली फसल नष्ट भएपछि विपत्तिको नजिक पुग्छन् तर जलवायु परिवर्तनले ल्याएको चरम मौसमले नयाँ दबाब थपेको छ । पानीको अभाव, बाढी, बढ्दो तापक्रम र अनियमित वर्षाका कारण घट्दो उत्पादन, अशक्त ऋणले भारतको एक अर्ब ४० करोड जनसङ्ख्याको ४५ प्रतिशतलाई रोजगारी दिने क्षेत्रमा ठूलो असर पारेको छ । तीन एकड (एक हेक्टर) सोयाबिन, कोदो र कपासको जग्गा चर्को गर्मीमा सुकेपछि मीराबाईका पति अमोललाई साहुकारहरूको ऋण लाग्यो । यो उनीहरूको खेतको वार्षिक आम्दानीको सयौँ गुणा थियो । उनले गत वर्ष विष खाए । 'जब उहाँ अस्पतालमा हुनुहुन्थ्यो, मैले सबै देवताहरूसँग उहाँलाई बचाउन प्रार्थना गरेँ', ३० वर्षीया मीराबाईले गला अवरुद्ध पार्दै भने । एक हप्तापछि अमोलको मृत्यु भयो । उनले मीराबाई र तीन सन्तान छोडे । उनीसँग मीराबाईको अन्तिम कुराकानी ऋणका बारेमा नै थियो । कुनै समय उर्वर खेतीयोग्य जमिनका लागि परिचित महाराष्ट्रको एक करोड ८० लाख जनसङ्ख्या भएको मराठवाडाभरि तिनीहरूको व्यक्तिगत त्रासदी दैनिक रूपमा दोहोरिरहेको छ । नयाँदिल्लीस्थित सेन्टर फर साइन्स एन्ड इनभायरोन्मेन्ट अनुसन्धान समूहका अनुसार गत वर्ष भारतभर चरम मौसमी घटनाहरूले ३२ लाख हेक्टर (७९ लाख एकड) बालीको भूमिलाई असर गर्यो । यो भनेको बेल्जियमभन्दा ठूलो क्षेत्र हो । त्यसको ६० प्रतिशतभन्दा बढी महाराष्ट्रमा थियो । 'गर्मी चरम हुन्छ र हामीले आवश्यक गरे पनि उत्पादन पर्याप्त हुँदैन', अमोलका भाइ र सहकर्मी किसान बालाजी खिन्डकरले भने, 'खेतमा सिँचाइ गर्न पर्याप्त पानी छैन । ठिकसँग वर्षा हुँदैन ।' जोखिम वृद्धि भारतका कृषिमन्त्री शिवराज सिंह चौहानका अनुसार सन् २०२२ र २०२४ को बीचमा मराठवाडामा तीन हजार ९० किसानले आत्महत्या गरे । यो दैनिक औसत तीन जनाको हाराहारी हो । सरकारी तथ्याङ्कले किसानहरूलाई आत्महत्या गर्न उत्प्रेरित गरेको कुरा निर्दिष्ट गर्दैन, तर विश्लेषकहरूले धेरै सम्भावित कारकहरूलाई औँल्याएका छन् । 'भारतमा किसान आत्महत्याहरू कृषिमा आम्दानी, लगानी र उत्पादकताको सङ्कटको परिणाम हो', टाटा इन्स्टिच्युट अफ सोशल साइन्सेसका विकास अध्ययनका प्राध्यापक आर रामकुमारले भने । धेरै भारतीय साना खेतहरूमा खेती धेरै हदसम्म शताब्दीयौँदेखि हुँदै आएको छ र सही समयमा सही मौसममा अत्यधिक निर्भर छ । 'जलवायु परिवर्तन र यसको कमजोरी तथा परिवर्तनशीलताले गर्दा खेतीमा जोखिम बढाएको छ', रामकुमारले भने, 'यसले बाली फसल नष्ट, अनिश्चितता... निम्त्याइरहेको छ... जसले साना र सीमान्त किसानहरूको खेतीको अर्थशास्त्रलाई अझ कमजोर बनाएको छ ।' चरम मौसमी घटनाहरूसँग सामना गर्न राम्रो बीमा योजनाहरू र कृषि अनुसन्धानमा लगानीका साथ सरकारले किसानहरूलाई सहयोग गर्नसक्ने उनले बताए । 'कृषि मनसुनसँग जुवा खेल्ने काम हुनु हुँदैन', उनले भने । अनिश्चित मौसमको सामना गर्दै किसानहरू प्रायः मल वा सिँचाइ प्रणालीहरूमा लगानी गरेर घट्दो उत्पादनलाई रोक्न खोज्छन् । तर बैंकहरू यस्ता अनिश्चित ऋणीहरूलाई कर्जा दिन अनिच्छुक हुन सक्छन् । केहीले तुरुन्त नगद दिने तर अत्यधिक ब्याजदर लिने साहुकारहरूकहाँ फर्कन्छन् र बाली फसल नष्ट भए विपत्तिको जोखिम मोल्छन् । 'केवल खेतीले मात्र गुजारा चलाउन गार्‍हो छ', मीराबाईले आफ्नो घर बाहिर उभिएर प्याच–कपडाको पर्खाल भएको टिनको छत भएको झुपडीमा भने । उनका पतिको ऋण आठ हजार डलरभन्दा बढी पुगेको थियो । कृषि गृहस्थीको औसत मासिक आम्दानी लगभग एक सय २० डलर मात्र रहेको भारतमा यो ठूलो रकम हो । मीराबाईले अन्य खेतहरूमा मजदुरको काम गर्नुहुन्छ तर ऋण तिर्न सकेनन् । 'ऋणको किस्ताहरू थुप्रिँदै गए', उनले भने, 'खेतबाट केही आउँदैन ।' उनले आफ्ना बच्चाहरूले ठूला भएपछि खेती बाहिर काम खोजून् भन्ने चाहेका छन् । कृषि उद्योग दशकौँदेखि निरन्तर सङ्कटमा परेको छ । महाराष्ट्रमा आत्महत्याको दर सबैभन्दा बढी भए पनि यो समस्या देशव्यापी छ । राष्ट्रिय अपराध रेकर्ड ब्युरोको तथ्याङ्कअनुसार सन् २०२२ मा कृषि क्षेत्रका ३० जनाले हरेक दिन आत्महत्या गरेका थिए । मराठवाडाको अर्को खेतमा ३२ वर्षीय किसान शेख इमरानले गत वर्ष आफ्नो भाइले आत्महत्या गरेपछि परिवारको सानो जोतको सञ्चालन सम्हालेका थिए । सोयाबिन रोप्न ऋण लिएपछि उनीमाथि पहिले नै एक हजार एक सय डलरभन्दा बढी ऋण छ । फसल असफल भयो । यसैबीच किसानहरूले पानी भेट्ने आशामा इनार विस्फोट गराउँदा विस्फोटकको आवाज वरिपरि गुञ्जिरहेको छ । 'पिउने पानी छैन', पारिवारिक मुखिया खतिजाबीले भने, 'खेत सिँचाइ गर्न पानी कहाँबाट ल्याउने ?' रासस
ट्रम्प र मस्कको विवादबीच भारतमा स्टारलिंक इन्टरनेट सेवा स्वीकृत
काठमाडौं । अर्बपति एलन मस्कको कम्पनी स्टारलिंकले भारतमा स्याटेलाइट इन्टरनेट सेवा सुरु गर्न लाइसेन्स पाएको छ । स्टारलिंक दूरसञ्चार विभाग (डीओटी) बाट यस्तो लाइसेन्स प्राप्त गर्ने तेस्रो कम्पनी बनेको छ । यसबाट भारतमा स्याटेलाइटमार्फत सञ्चार सेवाको विस्तार हुनेछ । यो सेवा पहिले नै १०० भन्दा बढी देशहरूमा उपलब्ध छ जहाँ सामान्य इन्टरनेट ठीकसँग चल्दैन त्यहाँ तीव्र इन्टरनेट दिने वाचा स्टारलिंकले दिने गर्दछ । अब भारतका ती क्षेत्रहरूमा पनि इन्टरनेट पुग्नेछ, जहाँ इन्टरनेट कहिल्यै थिएन । यो वनवेब र रिलायन्स जियोसँग भारतमा यस्तो लाइसेन्स पाउने तीन कम्पनीमध्ये एक हो । कम्पनीले टेलिकम विभागबाट लेटर अफ इन्टेन्ट (एलओआई) पनि प्राप्त गरिसकेको छ, जसलाई सुरुवाती स्वीकृति मान्न सकिन्छ । स्याटेलाइटबाट इन्टरनेट कसरी पाइन्छ? स्टारलिंक, स्पेसएक्सको परियोजना हो, जसले स्याटेलाइटमार्फत इन्टरनेट प्रदान गर्छ । यसलाई यसरी निर्माण गरिएको छ कि यसले उच्चगुणस्तरीय ब्रडब्यान्ड अनुभव दिन सकोस् । यसका लागि पृथ्वीको लो अर्थ अर्बिटमा हजारौं साना स्याटेलाइटहरू राखिन्छन् । यी स्याटेलाइटहरू परम्परागत स्याटेलाइटहरूभन्दा पृथ्वी नजिक हुने भएकाले इन्टरनेट स्पीड तेज हुन्छ र डेटा पठाउने-लिने समय कम लाग्छ । स्याटेलाइट इन्टरनेट सेवामा मूल्य प्रतिस्पर्धा सुरु हुने संकेत स्टारलिंक प्रयोग गर्नेहरू सामान्यतः २५ एमबीपीएसदेखि २२० एमबीपीएससम्मको डाउनलोड स्पीड पाउँछन् । धेरैजसो अवस्थामा यो १०० एमबीपीएसभन्दा माथि हुन्छ । सञ्चारमाध्यमका अनुसार स्टारलिंक भारतमा विशेष अफरका साथ सेवा सुरु गर्ने तयारीमा छ - जसमा १० डलर (१ हजार ३७३ रुपैयाँ) प्रति महिनाभित्र अनलिमिटेड डेटा प्लान उपलब्ध हुनेछ । यो सुरुवाती मूल्यले बजारमा चाँडै पाइलो जमाउन स्टारलिंकलाई मद्दत गर्ने विश्वास लिइएको छ । यसले वनवेब, रिलायन्स जियो र ग्लोबलस्टारजस्ता प्रतिस्पर्धी कम्पनीहरूसँगको प्रतिस्पर्धा चर्काउने सम्भावना छ । ट्रम्प र मस्कबीच विवादको बेला स्वीकृति भारतमा स्टारलिंकलाई स्वीकृति त्यस्तो समयमा दिइएको हो जब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र एलन मस्कबीच विवाद भइरहेको छ । मस्क ट्रम्पको ट्यारिफ नीतिको खुलेर विरोध गर्न थालेका छन् । यसले चीनदेखि अमेरिका फैलिएको उनको व्यवसायिक साम्राज्यमा असर पारिरहेको छ । भारतको यस कदमले मस्कप्रति चिढिएको ट्रम्पलाई झनै चित्त दुख्ने सम्भावना छ । भारत एक विशाल र तीव्र गतिमा बढ्दो डिजिटल बजार हो । स्टारलिंकलाई यहाँ स्वीकृति मिल्नु एलन मस्कका कम्पनीहरूका लागि ठूलो सफलता हो । यदि ट्रम्पले भविष्यमा अमेरिकी व्यापारिक हितहरूबारे कुरा गरे भने भारतसँगको यो सम्झौताले ट्रम्पका लागि अप्ठ्यारो स्थिति सिर्जना गर्न सक्छ ।
जावलाखेल ग्रुपले नेपाल भित्र्यायो अमेरिकी ब्रान्ड ‘सिनाबन’
काठमाडौं । नेपाली कफी बजारमा वर्चस्व जमाउँदै आएको हिमालयन जाभालाई प्रत्यक्ष टक्कर दिने गरी जावलाखेल ग्रुप अफ इण्डस्ट्रीजले विश्वप्रसिद्ध अमेरिकी कफी तथा बेकरी ब्रान्ड 'सिनाबोन' लाई नेपाल भित्र्याएको छ । विशेषगरी मदिराजन्य पेय पदार्थको उत्पादन, निर्यात तथा वितरणमा सक्रिय रहेको जावलाखेल ग्रुपले कफी र बेकरी पारखीलाई लक्षित गर्दै सिनाबोनको आधिकारिक फ्रेन्चाइज नेपाल ल्याएको हो । सिनाबोनले ५० भन्दा बढी देशमा लोकप्रियता कमाएको दालचिनी रोल र सुगन्धित कफीका लागि परिचित ब्रान्ड हो । सानेपाबाट शुरुवात, २२ आउटलेटको तयारी एक महिनाअघि ललितपुरको सानेपामा पहिलो आउटलेट सुरु गर्दै नेपाली बजार प्रवेश गरेको सिनाबोनले पहिलो चरणमा काठमाडौं उपत्यकाभित्रै २२ वटा आउटलेट सञ्चालन गर्ने योजनामा तयारी गरिरहेको कम्पनीले जनाएको छ। आगामी दिनमा प्रमुख सहरहरूमा समेत विस्तार गरिने लक्ष्य राखिएको छ। सस्तो मूल्य, गुणस्तरीय कफी सिनाबोनमा पाइने कफीको मूल्य हिमालयन जाभाको तुलनामा सस्तो रहेको कम्पनीले जनाएको छ। सानेपामा सञ्चालनमा रहेको शाखामा प्रतिस्पर्धात्मक मूल्य निर्धारण गरिएको र यही मूल्य संरचना सबै आउटलेटमा लागू गरिने जानकारी दिइएको छ । 'हाम्रो उद्देश्य सस्तो मूल्यमा उत्कृष्ट स्वाद र गुणस्तर दिनु हो,' कम्पनीका एक प्रतिनिधिले भने । हाइ-एन्ड कफी बजारमा नयाँ विकल्प अहिलेसम्म नेपाली हाइ–एन्ड कफी बजारमा हिमालयन जाभाको एकछत्र राज रहँदै आएको भए पनि सिनाबोनको आगमनले उक्त वर्चस्वमा चुनौती दिने विश्वास गरिएको छ। यसअघि अन्य ब्रान्डहरूले प्रतिस्पर्धा गर्ने प्रयास गरे पनि जाभाको प्रभुत्व कायमै रहेको थियो । तर, स्थापित र भरपर्दो समूह जावलाखेल ग्रुपद्वारा ल्याइएको ब्रान्ड भएकाले उपभोक्ताको विश्वास जित्न सक्ने सम्भावना प्रबल देखिएको छ । कम्पनीले नेपाली बजारमा स्वाद, सेवा र अन्तर्राष्ट्रियस्तरको अनुभव दिन सिनाबोनमार्फत नयाँ बेंचमार्क स्थापना गर्ने लक्ष्य लिएको छ ।
आउँदो बजेट र नीतिलाई सहभागितामूलक बनाउन ललितपुर महानगरको छलफल, कसले के सुझाव दिए ?
ललितपुर । ललितपुर महानगरले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट ल्याउनु अघि सरोकारवाला, विषय विज्ञ र ललितपुर जिल्लाका सांसदहरूसँग छलफल गरेको छ । महानगरले आवश्यकता पहिचान र आउँदो आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटलाई सहभागितामूलक बनाउने लागि फरक-फरक क्षेत्रसँग छलफल आयोजना गरेको हो । बजेट ल्याउनु अघि स्थानीय तहले यस्तो अभ्यास बिरलै मात्र गर्छन् । यसलाई महानगरको असल अभ्यासको रुपमा लिन सकिन्छ । यस अघि महानगरले सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको थियो । यसैगरी वडापिच्छे वडा भेला गरेर नीति, कार्यक्रम र बजेटका लागि सुझाव संकलन समेत महानगरले गरिरहेको छ । यसैगरी महानगरको विषयगत समितिले समेत नीति निर्माणका लागि सुझाव संकलन गरिरहेको छ । ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले जनप्रतिनिधिहरू विषयविज्ञ नभएकाले सुझाव लिन सरोकारवाला र विज्ञसँग छलफल आयोजना गरेको बताए । उनले भने, ‘सबैका कुरा सुन्न फरक फरक क्षेत्रका विज्ञसँग छलफल राखेका हौं ।’ अघिल्लो आर्थिक वर्षका ३ सय २४ मध्ये ८९ प्रतिशत नीति सम्बोधन गर्न महानगर सफल भएको महानगरको भनाई छ । महानगर प्रमुख महर्जनले भने, ‘हाम्रो काबुभन्दा बाहिरको सन्दर्भका कारण मात्रै बाँकी प्रतिशत नीति सम्बोधन हुन नसकेको हो ।’ पारदर्शिता, मितव्ययी, सुशासन र विकासको निर्माणलाई यो छलफलले सहयोग गर्ने उनको भनाइ छ । सुझावको रूपमा आएका विषयलाई नीति तथा कार्यक्रममा समेट्ने प्रतिबद्धता व्यक्त गरे । महानगर प्रमुख महर्जनले सूचना र प्रविधि इमर्जिङ विषय भएको बताउँदै सिलिकन भ्याली बनाउन यो विषयलाई नीतिमा समावेश गर्ने बताए । उनले भने,‘हामी यसलाई कार्यक्रममा पनि राख्छाैं ।’ महानगरका उप्रमुख तथा बजेट तर्जुमा समितिका संयोजक मञ्जली शाक्य बज्राचार्यले नीतिमा समावेश गर्ने विषयबारे छलफल गर्न कार्यक्रम आयोजना गरिएको बताइन् । उनले भनिन्, ‘नीति राम्रो भयो भने बजेट र कार्यक्रम राम्रो आउँछ, त्यसैले चरणबद्ध रूपमा कार्यक्रम राखेका हौं ।’ प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठले सहभागितामूलक नीति निर्माण गर्न विविधतापूर्ण समुदाय र क्षेत्रलाई समेटेर छलफल कार्यक्रम आयोजना गरेको धारणा व्यक्त गरिन् । सेवा प्रवाहलाई डिजिटलाइजेसन गरेको बताउँदै त्यो प्रभावकारी भएको उनले बताइन् । कसले कस्तो सुझाव दिए ? महानगरबासीको दिनचर्या सहज बनाउने विषयलाई प्राथमिकतामा राख्नुपर्ने ललितपुर महानगरले आव २०८२/२०८३ को नीति, कार्यक्रम र बजेट ल्याउनुअघि सुझाव संकलनका लागि सरोकारवालासँग छलफल गरेकोमा ललितपुर जिल्लाका प्रतिनिधि सभा र प्रदेशसभाका सांसदहरूले प्रशंसा गर्दै महानगरबासीको दिनचर्या सहज बनाउने विषयलाई प्राथमिकमा राखेर नीति, कार्यक्रम र बजेट ल्याउन सुझाव दिएका छन् । ललितपुर क्षेत्र नं.१ का प्रतिनिधिसभा सदस्य उदयशमशेर राणाले नख्खु करिडोर बनाउन केन्द्रको बजेट मात्रै पर्याप्त नभएको बताउँदै ललितपुर महानगरले पनि लगानी गर्न सुझाव दिए । चक्रपथमा बनाउनुपर्ने फ्लाई ओभरको सन्दर्भमा महानगरपालिका, प्रदेश, संघ र स्थानीय तह समन्वय, सहकार्य र छलफल गर्नुपर्ने बताए । ललितपुर क्षेत्र नं.२ का प्रतिनिधिसभा सदस्य पदमबहादुर महर्जनले नीति निर्माणका लागि सबै क्षेत्रबाट सुझाव संकलनका लागि चरणबद्ध रूपमा छलफल आयोजना गरेको बताए । वातावरण संरक्षणलाई अझै प्राथमिकतामा राख्नुपर्ने बताए । महानगरले प्रवाह गर्ने सेवा जनताले महसुस गर्ने गरी प्रदान गर्न सके सकारात्मक सन्देश संचार हुने बताए । शिक्षा,स्वास्थ्य, सार्वजनिक जग्गा संरक्षणलाई प्राथमिकता दिनुपर्ने बताए । राप्रपाका सांसद रोशन कार्कीले महानगरबाट भएको कामको प्रशंसा गरिन् । विपद् व्यवस्थापनलाई प्राथमिकतामा राखेर नीति निर्माण गर्नुपर्ने धारणा राख्दै कर प्रणालीलाई अझै व्यवस्थित बनाउनुपर्ने धारणा राखिन् । प्लटिङका कारण खेतीयोग्य जमिन मासिएको बताउँदै प्लटिङलाई रोक्नुपर्ने भनाइ उनको थियो । केही वडाबाट फोहोर उठे पनि सबै वडामा फोहोर संकलनको व्यवस्था मिलाउनुपर्ने बताइन् । बागमती प्रदेशका सांसद रघुनाथ महर्जन असोज दोस्रो साताको बाढीबाट प्रभावित र पुगेको क्षतिलाई सम्बोधन गर्नुपर्ने बताए । विकास निर्माणसँगसँगै युवालाई रोजगारी दिने विषयलाई नीतिगत रुपमा नै निर्णय गर्न सुझाव दिए । दीर्घकालीलन नीति र कार्यक्रम ल्याउनुपर्ने ललितपुर महानगरको विकासलाई थप उचाइमा पुर्याउन दीर्घकालीन नीति कार्यक्रम ल्याउन महानगरका सल्लाहकारले सुझाव दिएका छन् । महानगरको शहरी विकास सल्लाहकार सुरेन्द्र गोविन्द जोशीले हाल जनताको आवश्यकतालाई महानगरले सम्बोधन गरेको बताउँदै दीर्घकालीन नीति निर्माणलाई जोड दिनुपर्ने बताए । महानगरलाई व्यवस्थित बनाउन ल्याउन ल्याण्ड पुलिङसँग सम्बन्धित नीति ल्याउनुपर्ने धारणा राखे । शिक्षा सल्लाहकार लोकबहादुर खड्काले शिक्षा क्षेत्रमा गरिएको लगानीको प्रतिफल प्राप्त गर्न लामो समय लाग्ने बताउँदै दीर्घकालीन नीति ल्याउन सल्लाह दिए । पाँच वर्षे सहर शिक्षा योजना ल्याउनु पर्नेमा जोड दिँदै यो योजनाले सामुदायिक र संस्थागत विद्यालयबीचको खाडल पुर्ने बताए । अभिभावक शिक्षालाई प्राथमिकता दिनुपर्ने धारणा राख्दै अनुगमन र अभिलेखिकरणमा जोड दिनुपर्ने धारणा राखे । स्वास्थ्य सल्लाहकार तारामान अमात्यले सडकमा बेच्न राखिएका खानेकुरा (स्ट्रिट फुड)को गुणस्तर परीक्षण गर्नुपर्ने बताए । परम्परागत पानी व्यवस्थापन विज्ञ पद्मसुन्दर जोशीले पानीको स्रोत संरक्षण महत्वपूर्ण भएको बताउँदै लोप हुने अवस्थामा पुगेका ढुंगेधाराको संरक्षणमा महानगरले काम गर्नुपर्ने राय दिए । सम्पदा संरक्षणको महत्व युवा पुस्तालाई बताउनुपर्ने धारणा राख्दै शिक्षा, सम्पदाको संरक्षण र सम्पदाको महत्व बुझाउने गरी कार्यक्रम ल्याउन उनको अनुरोध छ ।
इम्बार्क अनम्याथको गणित शिक्षामा नयाँ आयाम
काठमाडौं । नेपालमा गणित शिक्षालाई व्यवहारिक बनाउने उद्देश्यले सुरु गरिएको उद्यमशील गणित कार्यक्रमले कक्षा ६ देखि १२ सम्मका विद्यार्थीहरूलाई गणित र उद्यमशीलतालाई एकसाथ जोड्ने अवसर प्रदान गरिरहेको छ। इम्बार्क अनम्याथ प्राइभेट लिमिटेडले विकास गरेको यो एक वर्षे कार्यक्रमले विद्यार्थीहरूलाई व्यापारिक योजना निर्माण, लगानी विश्लेषण, बजार अनुसन्धान र डेटा अध्ययन जस्ता क्षेत्रमा गणितको प्रयोग गराउन विशेष जोड दिने जनाइएको छ । पारम्परिक कक्षाकोठाको भित्ताबाट बाहिर निस्कँदै यो कार्यक्रम विद्यार्थीहरूलाई सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक अनुभव दिलाउने खालको रहेको इम्बार्कले जनाएको छ । गणितलाई केवल अंकगणना वा समीकरणमा सीमित नराखी, त्यसलाई जीवनमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने अभ्यास यसमा गराइन्छ । कार्यक्रमको संरचना ३० कार्यदिवशमा समेटिएको यो कार्यक्रम ६ चरणमा विभाजित छ । प्रारम्भमा विद्यार्थीहरूलाई स्टार्टअप सोच, बजारको प्राथमिक बुझाइ र उद्यमशील अवधारणामा आधारित प्रतिस्पर्धात्मक विश्लेषण गराइन्छ । यस क्रममा उनीहरूले आफ्ना व्यावसायिक विचारहरू स्थापित उद्यमीहरूसँग संवाद गर्दै परिष्कृत गर्छन् । त्यसपछि सामर्थ्य र व्यावहारिकताको मूल्याङ्कन, टिम निर्माण, र सम्पूर्ण व्यावसायिक मोडेल तयार पार्ने चरणमा पुगिन्छ। विद्यार्थीहरू आफैले बनाएको व्यापारिक अवधारणालाई व्यावसायिक योजनाको रूपमा प्रस्तुत गर्न सिक्छन् । स्टार्टअप फेस्ट २०२५ डिसेम्बरमा आयोजना हुने स्टार्टअप फेस्ट २०२५ मार्फत विद्यार्थीहरूले आफैले निर्माण गरेका उत्पादन तथा सेवाहरू पिच गर्ने, बिक्री गर्ने र बजारको वास्तविक अनुभव लिने अवसर पाउनेछन् । कार्यक्रममा सिकाइको समीक्षा, उपलब्धिको मूल्याङ्कन र भविष्यका योजनाहरू तयार पारिनेछ । यस अवधिभर विद्यार्थीहरूले वित्तीय योजना, लगानीको मूल्याङ्कन, समस्या समाधान, बजार विश्लेषण लगायतका विषयमा अभ्यास गरेर गणितको व्यवहारिक पक्षमा गहिरो दक्षता हासिल गर्नेछन् । शिक्षामा रूपान्तरणको संकेत प्रोटोटाइप विकास, प्रिरेभिन्यू योजना, उद्योग विशेषज्ञहरूसँग अन्तरक्रिया जस्ता अभ्यासहरूले विद्यार्थीहरूको आत्मविश्वास, नेतृत्व क्षमता, र उद्यमशील सोचलाई मजबुत बनाउँछ । यस्तो किसिमको सिकाइले परीक्षामुखी शिक्षाभन्दा बाहिर गएर जीवनोपयोगी सीप र दृष्टिकोणको विकासमा टेवा पुर्याउँछ । हालसम्म संस्कृति इन्टरनेशनल स्कूल, यूरो स्कूल हात्तीगौंडा र आलोक विद्याश्रम जस्ता शिक्षालयहरूले यो कार्यक्रम सञ्चालन गरिसकेका छन् । यसले के देखाउँछ भने नेपालमै नवीन, व्यवहारिक र सान्दर्भिक शिक्षाको अभ्यास सम्भव छ । विदेश जानु महँगो विकल्प बन्ने अवस्थामा, यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई यहाँकै अवसरको खोजी गर्न प्रेरित गर्दै देशको आर्थिक रूपान्तरणमा सक्रिय बनाउन सक्छ ।
इन्फिनिटी लघुवित्तको सीईओमा ज्ञानीश्वर पन्त नियुक्त
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्याकारी अधिकुत (सीईओ) मा ज्ञानीश्वर पन्त नियुक्त भएका छन् । कम्पनीको जेठ २४ गते बसेको सञ्चालक समितिको बैठकले पन्तलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । उनी सोही लघुवित्तको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) हुन् । उनलाई जेठ २५ गतेदेखि लागू हुने गरी आगामी ४ वर्षसम्मको लागि सीईओमा नियुक्ति गरिएको कम्पनीले जनाएको छ ।
एनएचआरसीको अध्यक्षमा डा. नारायण विक्रम नियुक्त
काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)को अध्यक्षमा डा. नारायण विक्रम थापा नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसख्या मन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै अगामी चार वर्षका लागि डा. थापालाई अध्यक्ष पदमा नियुक्त गरेका हुन् । यसअघिका अध्यक्ष डा. गेहनाथ बरालको कार्यकाल सकिएपछि मन्त्री पौडेलले थापालाई नियुक्त गरेका हुन् । डा. थापा यसअघि नेपाल मेडिकल काउन्सिलको उपाध्यक्ष समेत भएका थिए ।