आजको मौसम : देशका पहाडी भागमा साधारणतया बदली हुने
काठमाडौं । हाल देशका पश्चिम र मध्यभागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । कोशी प्रदेशका अधिकांश भागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफादेखि आंशिक बदली रहने छ । ती प्रदेशलगायत देशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । त्यसैगरी, आज राति कोशी, लुम्बिनी र गण्डकी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम सफादेखि आंशिक बदली रहने छ । यसैगरी कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
ऋणीसँग घुस लिने नेपाल बैंकका अध्यक्ष अधिकारीविरुद्ध मुद्दा दर्ता
काठमाडौं । ऋण दिलाइदिए बापत घुस लिएको अभियोगमा नेपाल बैंकका तत्कालीन अध्यक्ष डा चन्द्र बहादुर अधिकारी ५ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । नेपाल बैंकबाट हुने ऋण प्रक्रियामा सहजीकरण गरिदिने भन्दै अध्यक्ष डा अधिकारीले घुस लिएको आयोगको आरोप छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-१ बेलहियामा रहेको भुसाल हस्पिटालिटी अन्तर्गतको परियोजनाले १ अर्ब ७७ करोड २९ लाख ८६ लाख ७६५ रुपैयाँको ऋण लिनका लागि बैंकका अध्यक्ष डा अधिकारीले १९ लाख रुपैयाँ रकम लिएको पाइएको छ । ऋण प्रक्रियाका लागि बैंकमा कागजात पेस गरेपछि भुसाल हस्पिटालिटीका अध्यक्ष बालकृष्ण भुसाल र निजका छोरा अङ्कित भुुसालसँग पटकपटक भेटघाट गरेको र सामाजिक सञ्जालमार्फत कुराकानी गरेको पाइएको छ । ऋण मिलाई सहजीकरण गर्न गराउन प्रतिवादीहरु लक्की भनिने खुस नसिब अन्सारीसमेत प्रतिवादीसँगको मिलेमतोमा २०८१ भदौ फरक फरक व्यक्तिमार्फत ३ गते ७ लाख रुपैयाँ र १२ लाख रुपैयाँ रकम चेकमार्फत लिएको पाइएको छ । आयोगले तत्कालीन अध्यक्ष डा अधिकारी, नसिब अन्सारी, अमृत भुसाल, अङ्कित भुसाल र बालकृष्ण भुसालविरुद्ध पनि समान बिगो माग दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए । नेपाल बैंकका तत्कालीन अध्यक्ष डा अधिकारीले ऋण सहजीकरण गरिदिने भन्दै तनहुँको आबुखैरहनीमा रहेको अकला देवी ट्रेडर्सका सञ्चालकसँग ५० लाख रुपैयाँ घुस माग गरेको पाइएको छ । आयोगले डा अधिकारीविरुद्ध ५० लाख रुपैयाँ बराबरको बिगो माग दाबी गरेको छ । नारायणप्रसाद बराल, दानबहादुर कार्की र सुन्दरबहादुर बानियाँ, सन्तोष सुवेदी, लक्की खान भन्ने खुस नसिब अन्सारी विरुद्ध पनि समान ५० लाख रुपैयाँको बिगो माग दाबी गर्दै दोस्रो मुद्दा दायर गरेको छ । आयोगले डा अधिकारीविरुद्ध तेस्रो मुद्दा पनि दायर गरेको छ । काठमाडौं महानगरपालिका ३२ मा रहेको हिमाल तराई कन्स्ट्रक्सन प्रालीको ऋण प्रक्रियामा सहजीकरण गर्ने भन्दै ५ लाख रुपैयाँ घुस लिएको पाइएको छ । आयोगले डा अधिकारी, रमेश आचार्यविरुद्ध ५ लाख रुपैयाँको बिगो माग दाबी गर्दै तेस्रो मुद्दा दायर गरेको हो । आयोगले अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा काठमाडौं महानगरपालिकाका तत्कालीन इञ्जिनियर रामबाबु महतो कोइरी विरुद्ध मुद्दा दायर गरेको छ । आयोगले इञ्जिनियर कोइरी सार्वजनिक पद धारण गरेको विसं २०४६ वैशाख १९ गतेदेखि विसं २०७८ फागुन ३० गतेसम्मको अवधिको परीक्षण गरेको थियो । सो अवधिमा कोइरीको वैध आय ३ करोड ३७ लाख ७९ हजार ४ सय रुपैयाँ रहेको थियो । कोइरीले ७ करोड ९६ लाख ७६ हजार ८०४ रुपैयाँको रकम खर्च तथा लगानी गरेको पाइएको छ । आयोगले गरेको परीक्षणबाट ४ करोड ५८ लाख ९७ हजार ४०३ रुपैयाँको रकमको स्रोत पुष्टि हुन नसकेको पाइएको छ । इञ्जिनियर कोइरीले सार्वजनिक सेवामा रहँदा अख्तियारको दुरुपयोग गरी आर्जन गरेको रकम श्रीमती माला कुमारी महतोका नाममा जग्गा खरिद, सेयर खरिद, घर निर्माण र बैंक मौज्दात राखेको पाइएको छ । आयोगले इञ्जिनियर रामबाबु र उनकी श्रीमती माला कुमारी विरुद्ध बिगो बमोजिमको कारबाहीको माग गर्दै मुद्दा दायर गरेको छ ।
धौलागिरि अस्पताल १५ वर्षपछि १ सय शय्यामा स्तरोन्नति
काठमाडौं । बागलुङको धौलागिरि अस्पताल १५ वर्षपछि स्तरोन्नति भएको छ । विसं २०६७ मा जिल्ला अस्पतालबाट धौलागिरि अञ्चल अस्पतालका रूपमा ५० शय्यामा सञ्चालित उक्त अस्पताललाई गण्डकी प्रदेश सरकारले १५ वर्षपछि १ सय शय्यामा स्तरोन्नति गरेको हो । जिल्ला अस्पतालबाट अञ्चल अस्पताल भएपछि विशेषज्ञ सेवा दिँदै आएको अस्पतालले स्तरोन्नतिसँगै विशिष्टिकृत सेवा दिन थालेको अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा किरण तिवारीले जानकारी दिए । ५० श्ययाको अस्पतालबाट स्तरोन्नति नहुँदा अहिलेसम्म दरबन्दी थपिन नसकेको उनको भनाइ छ । गत वर्ष नर्सिङ पढाउने गण्डकी प्रदेश सरकारको घोषणा भए पनि अस्पताल स्तरोन्नति नहुँदा पठनपाठनमा समस्या भएको बताउँदै स्तरोन्नत्तिपश्चात् नर्सिङ पढाउन बाटो खुलेको डा तिवारीले जानकारी दिए । ‘अहिले पनि एक सय २६ शय्यामा बिरामीको उपचार गरिरहेका छौँ, तर नीतिगत रूपमा ५० शय्याको मात्रै हुँदा समस्या थियो, दरबन्दी बढ्दा सेवामा सहजता आउँछ,’ उनले भने, ‘एक सय शय्यामा स्तरवृद्धि गरेपछि अस्पतालमा दरबन्दी थपिनेछ भने स्वास्थ्य क्षेत्रमा गुणस्तर थपिनेछ, नर्सिङ पढाउन सहज हुनेछ ।’ तिवारीका अनुसार अहिले अस्पतालमा २२ विशेषज्ञ र १० जना मेडिकल अधिकृत कार्यरत छन् । विसं २०१५ मा धौलागिरि अस्पताल डिस्पेन्सरीका रूपमा स्थापना भई २०१६ सालमा स्वास्थ्य केन्द्रमा स्तरोन्नति गरिएको थियो । पछि २०३३ सालदेखि यो अस्पतालले बागलुङ जिल्ला अस्पतालका रूपमा सेवा सञ्चालन गरेको थियो । अस्पतालको स्तरवृद्धि गरेपछि नर्सिङ कक्षा चलाउन आगामी वर्षमा बजेट व्यवस्थापन गरिने गण्डकी प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले जानकारी दिए । उनका अनुसार प्रदेश सरकारले नौ अस्पतालको एकमुस्ट स्तरोन्नति गर्ने निर्णयअनुसार धौलागिरि अस्पताल स्तरोन्नति गरिएको हो । गण्डकी प्रदेशको यही जेठ १२ गते बसेको बैठकले नौ वटा अस्पतालको स्तरोन्नति गर्ने निर्णय गरेको हो । सरकारले अस्पतालको कर्मचारी संरचना र शय्या सङ्ख्या निर्धारण गरेको छ । धौलागिरि अस्पतालमा कर्मचारी दरबन्दी ९९ पुगेको छ । यसअघि बागलुङकै धौलागिरि आयुर्वेद अस्पताल र गण्डकी आयुर्वेद अस्पताल २५ शय्यामा स्तरोन्नति गर्ने निर्णय भइसकेको छ । धौलागिरि आयुर्वेद अस्पताल स्तरोन्नतिपछिको सेवा दिने तयारीमा रहेको स्वास्थ्यमन्त्री पाठकले जानकारी दिए ।
अत्यधिक गर्मी बढेपछि २ दिन विद्यालय बिदा
काठमाडौं । कञ्चनपुरको बेलौरी नगरपालिकाले अत्यधिक गर्मी बढेपछि दुई दिन विद्यालय बिदा दिने निर्णय गरेको छ । गर्मीका कारण शिक्षक, विद्यार्थी र कर्मचारीको स्वास्थ्यमा पर्ने प्रतिकूल असरलाई मध्यनजर गरी आज र भोलि नगरभित्र विद्यालय बिदा दिने निर्णय गरिएको हो । नगर प्रमुखस्तरीय निर्णयअनुसार विद्यालयमा बिदा दिइएको नगर प्रमुख पोतिलाल चौधरीले जानकारी दिए । बर्खे बिदाबाट मिलान हुने गरी नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा गर्मी बिदा दिइएको उनको भनाइ छ । गर्मी बढेसँगै सर्वसाधारणलाई बाह्य क्षेत्रमा हिँडडुल गर्न समस्या हुने गरेको छ । दिउँसोका बेला बजार तथा राजमार्ग क्षेत्रमा सर्वसाधारणको आगमन कम हुँदै गएको छ । गर्मीका कारण रिङ्गटा लाग्ने, टाउको दुख्ने, ज्वरो आउने, आँखा पाक्ने लगायत स्वास्थ्य समस्या लिएर अधिकांश बिरामी स्वास्थ्य संस्थामा पुग्ने गरेका स्वास्थ्यकर्मीले बताएका छन् ।
सफाइमा नवप्रवर्तन : नेपालको पहिलो राष्ट्रिय वेस्ट ह्याकाथनबाट उत्कृष्ट तीन टोली पुरस्कृत
काठमाडौं । विश्व वातावरण दिवस २०२५ को अवसरमा आयोजित नेपालको पहिलो राष्ट्रिय वेस्ट ह्याकाथन काठमाडौंमा सम्पन्न भएको छ । एनसेल फाउन्डेसन, खालिसिसि र बुढानीलकण्ठ नगरपालिकाको सहकार्यमा सम्पन्न भएको हो । तीन उत्कृष्ट नवप्रवर्तन टोलीलाई सम्मान गर्दै सफलतापूर्वक सम्पन्न भएको हो । फोहोर व्यवस्थापनमा प्रविधिमैत्री समाधान प्रस्तुत गर्ने युवाहरूको सृजनशीलता एकै थलोमा आएको थियो । ४०० भन्दा बढी आवेदनमध्येबाट छनौट गरिएका १३ उत्कृष्ट टोलीहरूले स्मार्ट सोलुसन्समार्फत फोहोरसँग जोडिएका सामाजिक, वातावरणीय र आर्थिक चुनौतीहरूको समाधान पेस गरे । ह्याकाथनको मुख्य उद्देश्य सर्कुलर इनोभेसनलाई प्रवद्र्धन गर्नु र स्थानीय समस्यामा आधारित व्यवहारिक समाधान पहिचान गर्नु थियो । प्रथम स्थान थापाथली क्याम्पसको टिम ‘ईकोलुप’ ले ओगट्न सफल भएको छ भने दोस्रो स्थान किङ्स कलेजको ‘फुलस्ट्याकजिरोवेस्ट’ले ओगट्यो । यसैगरी, तेस्रो स्थानमा काठमाडौं विश्वविद्यालयको टिम ‘सोर्स कोड’ रह्यो । ‍वन तथा वातावरणमन्त्री ऐन बहादुर शाही ठकुरीले समापन समारोहमा ह्याकाथनप्रति प्रशंसा गर्दै फोहोर व्यवस्थापन अब केवल वातावरणीय विषय नभई सामाजिक र आर्थिक अवसर पनि रहेको बताए । ह्याकाथनमा सहभागी टिमहरूले स्मार्ट फोहोर वर्गीकरण, सामुदायिक कम्पोस्टिङ, पुनःप्रयोग प्रविधि र डेटा(ड्राइभन ट्र्याकिङ प्रणालीजस्ता विषयमा सशक्त प्रोटोटाइप प्रस्तुत गरेका थिए । विजेता तीन टोलीहरूले नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चबाट परामर्श र इन्क्युबेसन सहयोग प्राप्त गर्ने एनसेलले जनाएको छ । साथै खालीसिसि, बुढानीलकण्ठ नगरपालिका र पाल उद्योग परिसंघ युवा उद्यमी मञ्चको सहकार्यमा पाइलट योजनाहरू कार्यान्वयनमा ल्याइने जनाइएको छ । गोल्यान समूहको सह–आयोजनामा सम्पन्न कार्यक्रममा प्लास्ट नेपाल फाउन्डेसन, कोकाकोला, नबिल बैंक, ग्रो बाई आइडिया, क्लाउडफ्याक्टरी, फ्युजमेसिन, लगायतका संस्थाहरूले साथ दिएका थिए । एनसेल फाउन्डेसनले हालसम्म २ अर्ब रुपैयाँभन्दा बढीको सामाजिक योगदान दिँदै १ करोड ३० लाखभन्दा बढी नेपालीको जीवनमा प्रभाव पारेको छ।
एभरेस्ट बैंक एनपीएस नेसनल कार्ड स्वीच तथा नेपालपेमा आबद्ध
काठमाडौं । एभरेस्ट बैंकले एनपीएस नेसनल कार्ड स्वीच तथा नेपालपे कार्ड योजनामा प्रिन्सिपल मेम्बरसिप लिँदै नेपाल क्लियरिङ हाउस लिमिटेड (नसीएचएल)सँग सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरे । सम्झौताअनुसार बैंकले अब नेपालपे डोमेस्टिक कार्ड जारी गर्न र कार्ड प्राप्त गर्न सक्ने प्रणाली (स्विच एकीकरण) सञ्चालनमा ल्याउनेछ । यसले बैंकका ग्राहकहरूलाई अझ सहज, सुरक्षित र छरितो भुक्तानी सेवा प्रदान गर्न मद्दत गर्नेछ । बैंकले यो सहकार्यमार्फत डिजिटल कारोबार प्रणालीलाई अझ मजबुत बनाउँदै आफ्ना ग्राहकहरूलाई घरेलु कार्डको सुलभ र सुरक्षित सेवा उपलब्ध गराउने उद्देश्य राखेको जनाएको छ । एभरेष्ट बैंकले देशभरि रहेका १३२ वटा शाखा, ४ विस्तारित काउन्टर, ३२ राजस्व संकलन काउन्टरहरू तथा १६७ एटीएम टर्मिनलमार्फत ग्राहकलाई बैंकिङ तथा वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।
लक्ष्मी सनराइजको कार्बन उत्सर्जन रिपोर्ट सार्वजनिक, १० हजार बिरुवा वृक्षरोपण गरिँदै
काठमाडौं । लक्ष्मी सनराइज बैंकले आर्थिक वर्ष २०८०/८१ (२०२३/२४) को कार्बन उत्सर्जन प्रतिवेदन सार्वजनिक गरेको छ । यसले वातावरण संरक्षण र जलवायु पारदर्शिताप्रति बैंकको प्रतिबद्धतालाई पुन: पुष्टि गरेको छ । जिम्मेवार बैंकिङको विश्वव्यापी अभ्यासहरू अपनाउने पहल अन्तर्गत यो प्रतिवेदन बैंकको दिगोपन सम्बन्धी वृहत कार्यदिशाको एक पाटो हो । कार्बन अकाउन्टिङ फाइनान्सियल (पीसीएएफ) पद्धतिको अनुसार तयार पारिएको प्रतिवेदनले बैंकको ऋण पोर्टफोलियोका प्रमुख क्षेत्रहरूसँग सम्बन्धित कार्बन फुटप्रिन्टको परिमाण निर्धारण गर्दछ । मूल्याङ्कन गरिएका पोर्टफोलियोहरूबाट सो आर्थिक वर्षमा कुल उत्सर्जन २ लाख २ हजार १३.४२ टन सीओटू बराबर (टीसीओटूई) रहेको थियो । पोर्टफोलियो अनुसार उत्सर्जन निम्न अनुसार रहेका छन् : व्यापार कर्जा: १९०,२९३.४२ टीसीओटूई परियोजना वित्त : (जलविद्युत बाहेक): ७०५.५६ टीसीओटूई गाडी कर्जा :१,५२८.९८ टीसीओटूई घर कर्जा : ९,४८५.४६ टीसीओटूई त्यस्तै, बैंकको जलविद्युत परियोजनाहरूमा लगानीहरूले अनुमानित २० हजार ३४७.११ टीसीओटूई बराबरको कार्बन उत्सर्जन रोक्न योगदान पुर्याउँदै बैंकको स्वच्छ र नवीकरणीय ऊर्जा समाधानहरूको प्रतिको प्रतिबद्धतालाइ थप जोड दिएको छ । सन् २०४५ सम्ममा नेपालको नेट शून्य उत्सर्जन लक्ष्य अनुरूप बैंकले ग्रीन फाइनान्स, ऊर्जा-सदुपयोगी कर्जाहरू तथा वातावरणीय जोखिम व्यवस्थापनजस्ता प्रयासहरू विस्तार गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना कार्यसञ्चालन र ग्राहक सेवासम्बन्धी प्रणाली तथा अभ्यासहरूमा थ्रीआर दृष्टिकोण ९घटाउने, पुन: प्रयोग गर्ने र पुनर्चक्रण ० लाई प्रोत्साहन गर्दै आएको छ । यही योजना अन्तर्गत बैंकले चालु आर्थिक वर्षमा १० हजार रूख रोप्ने साहसी पहल पनि सञ्चालन गरेको छ । यस अन्गर्गत हालसम्म लगभग ७ हजार ५०० रूखहरू रोपिइसकिएको छ ।
उपभोक्ता संरक्षण विभागले गर्यो १० फर्मको अनुगमन, डिमासालाई ५१ हजार जरिवाना
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सोमबार काठमाडौं उपत्यकास्थित विभिन्न १० वटा उद्योग तथा फर्महरूको अनुगमन गरी जरिवाना तथा निर्देशन जारी गरेको छ । विभागको आपूर्ति अनुगमन तथा उपभोक्ता संरक्षण विभागका अनुसार जरिवाना गरिएका फर्महरू काठमाडौं महानगरपालिका–३० मा रहेको डिमासालाई ५१ हजार जरिवाना गरिएको छ भने काठमाडौं महानगरपालिका(११ मा रहेको संगीता इलेक्ट्रिकल्सलाई ५ हजार जरिवाना गरिएको छ । यसैगरी, काठमाडौं महानगरपालिका–२१ मा रहेको पावर एण्ड लाइटिङ्ग सोलुसन्स प्रालि, काठमाडौं महानगरपालिका–१२ मा रहेको आनन्द ट्रेडिङ्ग कन्सर्न प्रालि, काठमाडौं महानगरपालिका–११ मा रहेको कल्पु ट्रेड कन्सर्न, काठमाडौं महानगरपालिका- २१ मा रहेको शिव ट्रेडिङ्ग कन्सर्न, काठमाडौं महानगरपालिका- ११ मा रहेको आदित्य इन्टरप्राइजेज प्रालि, चन्द्रागिरी नगरपालिका(११ मा रहेको सी। जी इम्पेक्स प्रालि, काठमाडौं महानगरपालिका-१४ मा रहेको एसटीसी अटो प्रालि, चन्द्रागिरी नगरपालिका–१४ मा रहेको श्री एसटीसी प्रालिलाई तीन दिनभित्र व्यवसाय सम्बन्धी आवश्यक कागजातसहित विभागमा उपस्थित हुन भनिएको छ भने सबै फर्महरूलाई उपभोक्ता संरक्षण ऐनमा तोकिएका व्यवसायिक मापदण्डहरूको पूर्ण पालना गरी व्यवसाय सञ्चालन गर्न निर्देशन दिइएको छ । विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ अनुसार जरिवाना तथा निर्देशन जारी गरेको हो । विभागले उपभोक्ताको हक र हितको संरक्षण, बजारमा पारदर्शिता र गुणस्तरीय सेवा सुनिश्चित गर्नका लागि नियमित अनुगमनलाई अझ प्रभावकारी बनाइने जनाएको छ ।