विकासन्युज

एनएमबि क्यापिटलका दुइटा म्युचुअल फण्डको लाभांश घोषणा

काठमाडौं । एनएमबि क्यापिटलका २ वटा म्युचुअल फण्डको लाभांश घोषणा गरिएको छ । क्यापिटलले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट एनएमबि फिफ्टी र एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–२ को नगद लाभांश दिने घोषणा गरेको हो । एनएमबि म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनएमबि फिफ्टीका इकाईधनीलाई करसहित १५ प्रतिशत र एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड-२ का इकाइधनीलाई १५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएको हो ।  लाभांश वितरण प्रयोजनार्थ दु्इवटै फण्डको भदौ १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले अघिल्लो दिनसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम इकाईधनीले प्रस्तावित लाभांश प्राप्त गर्न सक्ने छन् । साथै, कम्पनीले एनएमबि हाइब्रिड फण्ड एल-२का लागि लाभांश वितरण नगर्ने जनाएको छ ।

नबिल इन्भेष्टेमन्टको एनआई ३१ मा लगानी गर्ने आज अन्तिम अवसर

काठमाडौं । नबिल इन्भेष्टेमन्ट बैंकिङ्गको एनआई ३१ मा आवेदन दिने आज भदौ ३ गते अन्तिम दिन रहेको छ । साउन ३० गतेदेखि बिक्री खुला गरेको खुलामुखी योजना एनआई ३१ मा लगानीकर्ताहरुले आजसम्म खरिद गर्न सक्नेछन् । कम्पनीले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्य दरका २ करोड ५० लाख इकाईको १५ प्रतिशत अर्थात् १ करोड ५० लाख इकाई बिक्री गरेको हो । जसमध्ये १५ प्रतिशत अर्थात् ३७ लाख ५० हजार इकाई योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गलाई सुरक्षित राखि बाँकी रहेको १ करोड १२ लाख ५० हजार इकाई सर्वसाधारण लगानीकर्तालाई बिक्री गरेको हो । कम्पनीको म्युचुअल फण्डमा लगानीकर्ताहरूले न्यूनतम १०० इकाईदेखि २५ लाख इकाईसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको म्युचुअल फण्ड निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टेमन्ट बैंकिङ्ग रहेको छ ।  लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत् फण्डमा आवेदन दिन सक्नेछन् । 

बन्दीपुर केवलकारले भदौ ११ गतेदेखि दोस्रो चरणको आईपीओ बिक्री गर्ने

काठमाडौं । बन्दीपुर केवलकार एंव टुरिजमले भदौ ११ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई सेयर जारी गरिसकेपछि अब दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ बिक्री खुला गर्ने भएको हो । कम्पनीले जारी पुँजी २ अर्ब ८३ करोड रुपैयाँको २०.७० प्रतिशत अर्थात् ५८ करोड ६० लाख रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ५८ लाख ६० हजार कित्ता सेयर बिक्री खुला गर्नेछ । जसमध्ये २ प्रतिशत अर्थात् ५ लाख ६६ हजार कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दा र १० प्रतिशत अर्थात् ५ लाख २९ हजार ४ सय कित्ता विदेशमा रोजगारी गरिरहेका नेपालीलाई बिक्री गरिसकेको छ ।  अब दोस्रो चरणमा कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुलाई ४३ करोड ४१ लाख ८ हजार रुपैयाँको ४३ लाख ४१ हजार ८० कित्ता सेयर बिक्री गर्ने भएको हो । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम २० हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ ।  कम्पनीको आईपीओमा भदौ १५ गतेसम्म आवेदन दिन सकिनेछ । यदि सो समयमा पूर्ण बिक्री नभएमा आवेदन दिने समय भदौ २५ गतेसम्म लम्बिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ रहेको छ । कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।

बरुण हाइड्रोको हकप्रद सेयरमा लगानी गर्ने आज अन्तिम दिन

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनीको हकप्रद सेयरमा आवेदन दिने आज भदौ ३ गते अन्तिम दिन रहेको छ । असार ३१ गतेदेखि बिक्री खुला गरेको सतप्रतिशत हकप्रद सेयरमा लगानीकर्ताहरुले आजसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले चुक्ता पुँजी ५३ करोड ५८ लाख १५ हजार रुपैयाँको १ सय प्रतिशत अर्थात् १ कित्ता बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद सेयर बिक्री खुला गरेको हो । कम्पनीले ५३ करोड ५८ लाख १५ हजार रुपैयाँको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य दरका ५३ लाख ५८ हजार १५० कित्ता सेयर बिक्री गरेको हो । हकप्रद सेयर बिक्री गरी बाँडफाँट पश्चात् कम्पनीको चुक्ता पुँजी १ अर्ब ७ करोड १६ लाख ३० हजार रुपैयाँ पुग्नेछ । हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले जेठ २२ गते बुकक्लोज गर्ने निर्णय गरेको थियो । त्यसैले जेठ २१ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम सेयरधनीहरूले कम्पनीको हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् ।  कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ्ग रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै राष्ट्रिय वाणिज्य बैंकका वीरगञ्ज, जनकपुर, नारायणगढ, बाग्लुङ, बुटवल, नेपालगञ्ज, वीरेन्द्रनगर, धनगढी, बिर्तामोड, हेटौंडा, तुलसीपुर, महेन्द्रनगर, चैनपुर, खाँदबारी र धरान शाखाबाट आवेदन दिन सक्नेछन् । यस्तै, सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ । 

श्रीनगर एग्रीटेक इन्डष्ट्रिजले भदौ ११ गतेदेखि आईपीओ बिक्री गर्ने, कसले आवेदन दिन पाउँछन् ?

काठमाडौं । श्रीनगर एग्रीटेक इन्डष्ट्रिजले भदौ ११ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बिक्री गर्ने भएको हो ।  कम्पनीले जारी पुँजी १ अर्ब ६३ करोड १२ लाख ५० हजार रुपैयाँको २० प्रतिशत अर्थात् ३२ करोड ६२ लाख ५० हजार रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ३२ लाख ६२ हजार ५ सय कित्ता सेयर बिक्री गर्नेछ । जसमध्ये १ प्रतिशत अर्थात् १ लाख ६३ हजार १२५ कित्ता उद्योग प्रभावित क्षेत्र रुपन्देही र पाल्पा जिल्लाका स्थानीय बासिन्दाहरूलाई छुट्याइएको छ ।  यस्तै, सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशतका दरले ३ लाख ९ हजार ९३८ कित्ता नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरिरहेका नेपालीहरूलाई बिक्री गर्नेछ ।  कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा स्थानीयले छिटोमा भदौ २५ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि सो अवधिमा पूर्ण बिक्री नभए असोज ९ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले छिटोमा भदौ १५ गते र ढिलोमा भदौ २५ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक नबिल इम्भेष्टमेन्ट बैंकिङ्ग रहेको छ । उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले नबिल बैंकको तानसेन पाल्पा र फरसाटिकर रुपन्देही, एनएमबि बैंकका तानसेन र फरसाटिकर तथा ग्लोबल आइएमई बैंकका तानसेन शाखाबाट आवेदन दिन सक्नेछन् ।  वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन् ।

नाडा अटो शो आजदेखि, दीपलको उड्ने ट्याक्सी देख्न पाइने

काठमाडौं । अटो व्यवसायीहरुको छात्ता संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा १७ औं संस्करणको ‘नाडा अटो शो २०२५’ आजदेखि सुरु हुँदैछ । राजधानीको भृकुटीमण्डपमा  ‘गो फर मोर’ नाराका साथ आयोजना हुने प्रदर्शनीको उद्घाटन मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् ।  नाडाका अनुसार यस अटो शोले नवीनतम् प्रविधि, ग्राहक संलग्नता र अटो क्षेत्रको सम्पूर्णलाई एकै छानामुनि ल्याउने विश्वास गरिएको छ । कुनै समय आयातमा मात्रै केन्द्रित रहेका नेपाली अटो व्यवसायीहरूले पछिल्लो समय उत्पादन र एसेम्बलतर्फ ध्यान केन्द्रित गरेका छन् । नाडा शोमा यसको प्रत्यक्ष झलक देख्न सकिन्छ । नेपालमै बनेका हेल्मेट, लुब्रिकेन्ट्स, ब्याट्री र तीन पाङ्ग्रे सवारी साधन पनि प्रदर्शनीमा राखिने छन् । भाद्र ८ गतेसम्म आयोजना हुने नाडा अटो शोको यो संस्करण ‘फ्युचर मोबिलिटी’ मा पनि केन्द्रित छ । शोको सबैभन्दा ठूलो आकर्षण फ्लाइङ कार र ह्युमनोइड रोबोट हुनेछ । नाडा अटो शोमा १९ चारपाँग्रे, १३ लाइट कमर्शियल र ४ दुईपाङ्ग्रे सवारी ब्राण्डले सहभागिता जनाउने छन् । त्यस्तै, ३५ बढी लुब्रिकेन्ट, टायर, स्पेयर पार्टस, ब्याट्री, बैंक तथा वित्तीय संस्थाको स्टल रहने छन् । नाडा अटो शो करिब डेढ दर्जन (चारपाङ्ग्रे/दुईपाङ्ग्रे) नयाँ सवारी मोडल सार्वजनिक हुने छन् । यस्तै मिडिया, ट्राफिक सूचना डेस्कको पनि व्यवस्था गरिएको छ । अटो शोमा सवारी साधन प्रदर्शनीसँगै सेमिनार, कार्यशाला, अन्तरक्रिया लगायत कार्यक्रम आयोजना गरिने नाडाको भनाइ छ । आकर्षण मानिएको नेपालकै पहिलो उड्ने ट्याक्सी दिपलको ईभीटोललाई प्रधानमन्त्री ओलीले सार्वजनिक गर्ने नाडाले जनाएको छ ।

स्वस्तिक लघुवित्तको आईपीओ खरिद गर्ने आज अन्तिम मौका

काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्थाको आईपीओमा आवेदन दिने आज भदौ ३ गते अन्तिम दिन रहेको छ । साउन ३० गतेदेखि बिक्री खुला गरेको लघुवित्तको आईपीओमा सर्वसाधारण लगानीकर्ताहरुले आजसम्म आवेदन दिन सक्नेछन् । लघुवित्तले जारी पुँजीको ४० प्रतिशतले हुन आउने २ करोड ३१ लाख रुपैयाँको २ लाख ३१ हजार कित्ता आईपीओ बिक्री गरेको हो । जसमध्ये १ हजार १५५ कित्ता । कर्मचारी, ११ हजार ५५० कित्ता सामूहिक लगानी कोष र २३ हजार १०० कित्ता नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीलाई बिक्री गरिसकेको छ । अब १ करोड ९५ लाख १९ हजार ५ सय रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १ लाख ९५ हजार १९५ कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।  लघुवित्तको आईपीओमा न्यूनतम् १० कित्ता र अधिकतम ५ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग रहेको छ।  नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट सिआस्बा प्रणालीमार्फत आईपीओमा आवेदन दिन सक्नेछन् ।

कोशी र बागमतीमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहँदा नेपालमा मनसुन केही कमजोर रहेको छ । तथापि बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिने क्रम भने रहिरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड र तराईका केही स्थान तथा मधेस प्रदेशको तराईका एक/दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी र बागमती प्रदेशका पहाडी भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।  त्यसैगरी, आज राति कोशी र गण्डकी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहनेछ । कोशी प्रदेशको पहाडी तथा तराई भू-भागलगायत अन्य प्रदेशका पहाडी भागका केही स्थान र तराई भागका एक/दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशको पहाडी र तराई भू-भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।