वर्षाले त्रिभुवन विमानस्थल ठप्प, केही जहाज डाइभर्ट, केही आकाशमै होल्ड
काठमाडौं । भीषण वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शुक्रबार बिहानदेखि ठप्प बनेको छ । बिहान करिब ११ः३० बजेदेखि सुरु भएको तीव्र वर्षाले भिजिबिलिटी अत्यधिक न्यून भएपछि विमानस्थल अस्थायी रूपमा बन्द गरिएको हो । विमानस्थलका कर्मचारी महेश अर्यालका अनुसार खराब मौसमका कारण आन्तरिक तथा अन्तर्राष्ट्रिय सबै उडान प्रभावित भएका छन् । कतिपय जहाज आकासमै फन्को लगाउँदै होल्ड गरिरहेका छन् भने केहीलाई वैकल्पिक विमानस्थलमा डाइभर्ट गरिएको छ । बुद्ध एयरको काठमाडौं-विराटनगर उडान सिमरा डाइभर्ट गरिएको छ भने विराटनगरबाट काठमाडौं आउँदै गरेको यती एयरलाइन्सको जहाज आकासमै होल्डमा राखिएको छ । प्रशासनले मौसम खुल्ने बित्तिकै होल्डमा रहेका जहाजलाई प्राथमिकताका साथ अवतरण गराउने र डाइभर्ट भएका जहाजलाई पुनः काठमाडौं फर्काउने तयारी गरिरहेको जानकारी दिएको छ । वर्षा नरोकिएसम्म त्रिभुवन विमानस्थलको हवाई सञ्चालन प्रभावित हुने संकेत प्रशासनले दिएको छ ।
ओम अस्पताललाई ५० लाखभन्दा बढी क्षतिपूर्ति तिर्न उपभोक्ता अदालतको आदेश
काठमाडौं । उपचारमा लापरबाही भएको ठहर गर्दै उपभोक्ता अदालतले काठमाडौंको चावहिलस्थित ओम अस्पताललाई ५० लाख ७० हजार रुपैयाँ क्षतिपूर्ति तिर्न आदेश दिएको छ । ९८ वर्षीय हरिप्रसाद गौतमको मृत्यु भएपछि उनका छोरा बसन्त गौतमले ५ करोड रुपैयाँ क्षतिपूर्ति माग गर्दै अदालतमा मुद्दा हालेका थिए । अदालतका अध्यक्ष रामप्रसाद शर्मा र सदस्यहरू गेहेन्द्रराज रेग्मी तथा आनन्दराज पोखरेलको इजलासले बिहीबार फैसला सुनाउँदै अस्पताल र सम्बन्धित चिकित्सकलाई क्षतिपूर्ति भराउन आदेश दिएको हो । अदालतले अस्पताललाई ८० प्रतिशत अर्थात् ४० लाख ५६ हजार रुपैयाँ र घटनामा संलग्न दुई चिकित्सकलाई जनही ३ लाख ५ हजारका दरले बाँकी २० प्रतिशत रकम तिराउन आदेश दिएको छ । २०७८ माघ ५ गते बाथरुममा लडेका हरिप्रसाद गौतमलाई ओम अस्पतालको आपतकालीन कक्षमा चार दिनसम्म उपचार गरिएको थियो । परिवारका अनुसार सामान्य जाँचपछि एक्सरे गरेर केही नभएको भन्दै दुखाइ कम हुने इन्जेक्सन दिएर औषधि लेखी डिस्चार्ज गरिएको थियो । तर, चार दिनपछि समेत दुखाइ कम नभएपछि उनलाई अर्को निजी अस्पतालमा लग्दा खुट्टामा फ्र्याक्चर देखिएको थियो । बसन्त गौतमले समयमै सही उपचार नगरी लापरबाही गर्दा थप स्वास्थ्य समस्या उत्पन्न भई पिताको ज्यान गएको भन्दै क्षतिपूर्ति माग गरेका थिए ।
हिम स्टार उर्जाको आईपीओ बिक्री खुला, स्थानीय र वैदेशीक रोजगारमा रहेकाले आवेदन दिन पाउने
काठमाडौं । हिम स्टार उर्जा कम्पनीले आज (जेठ ३० गते)देखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पुँजी ३७ करोड ३० लाख रुपैयाँको ३० प्रतिशत अर्थात् ११ करोड १९ लाख रुपैयाँको ११ लाख १९ हजार कित्ता सेयर बिक्री खुला गर्नेछ । जसमध्ये १ करोड ८६ लाख ५० हजार रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ८६ हजार ५०० कित्ता सेयरमा आयोजना प्रभावित क्षेत्र ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका-८, साविक भुसिङ्गा गाविसका सम्पूर्ण वडा र सोलुखुम्बु लिखुपिके गाउँपालिका–२, साविक गोली गा.वि.स वडा नं. १, २, ३, ४, ५ का स्थानीय बासिन्दाहरूले आवेदन दिन सक्नेछन्। साथै सर्वसाधारण लगानीकर्तालाई छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने ९३ लाख २५ हजार रुपैयाँको ९३ हजार २५० कित्ता सेयरमा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरिरहेका नेपालीहरूले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम १० हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा असार १३ गतेसम्म आवेदन दिनुपर्नेछ । यदि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरूलाई छुट्याएको सेयर पूर्ण बिक्री नभएमा आवेदन दिने समय असार २९ गतेसम्म लम्बिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ। स्थानीय बासिन्दाले सिटिजन्स बैंकको लिखुपिके शाखा, खिजिदेम्बा गाउँपालिका वडा नं– ८ मा रहेको महिला भवन तथा जनस्वास्थ्य भवन र सोलुखुम्बु जिल्ला लिखुपिके गाउँपालिका वडा नं– २ को वडा कार्यालयबाट आवेदन दिन सक्नेछन्। साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट सीआस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् । इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।
इजरायलले इरानमाथि आक्रमण गरेपछि कच्चा तेलको मूल्य बढ्यो
काठमाडौं । इजरायलले इरानमाथि आक्रमण गरेको घोषणा गरेसँगै तेलको मूल्य बढेको छ । आक्रमणको खबर आएपछि बेन्चमार्क ठेक्का सम्झौताअन्तर्गत ब्रेन्ट क्रुड र निमेक्स लाइट स्वीटको मूल्यमा १० प्रतिशतभन्दा बढी वृद्धि भएको हो । इरान र इजरायलबीचको भिडन्तका कारण इरानबाट तेल आपूर्तिमा अवरोध आउन सक्ने व्यापारीहरूलाई चिन्ता छ । कच्चा तेलको मूल्यवृद्धिले खाद्यान्नदेखि लिएर सवारी साधनमा इन्धन भर्ने खर्चसम्म सबै क्षेत्रमा असर पार्छ । इरानले आगामी दिनमा जवाफी कारवाही गर्ला कि नगर्ला भन्नेबारे व्यापारीहरूले चासोपूर्वक हेरिरहेको विश्लेषकहरूले जनाएका छन् । आक्रमणमा परी इरान रिभोल्युशनरी गार्डका प्रमुख हुसैन सलामीको इजरायली आक्रमणमा मृत्यु भएको छ । इरानी सरकारी सञ्चारमाध्यमले यो खबर पुष्टि गरेको हो। उनी ती केही उच्च अधिकारीमध्ये पर्छन्, जो इजरायलको आक्रमणमा मारिएका छन्। इरानी सरकारी टेलिभिजनले इजरायली आक्रमणमा मारिएका दुई वरिष्ठ परमाणु वैज्ञानिकहरूको नाम सार्वजनिक गरेको छ । यीमध्ये परमाणु ऊर्जा संगठनका पूर्व प्रमुख फिरेदून अब्बासी र तेहरानस्थित इस्लामिक आजाद विश्वविद्यालयका अध्यक्ष मोहम्मद मेहदी तेहरानची रहेका छन् । इजरायलले इरानका परमाणु कार्यक्रमसँग सम्बन्धित केन्द्रहरू र अन्य सैन्य क्षेत्रलक्षित गरी आक्रमण गरेको जनाएको छ । इरानी सरकारी टेलिभिजनले नतांज परमाणु केन्द्रमा नयाँ विस्फोट भएको खबर दिएको छ । यो परमाणु केन्द्र तेहरानदेखि करिब २२५ किलोमिटर दक्षिणमा रहेको छ ।
सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको १ लाख ९७ हजार पुग्यो
काठमाडौं । गत मङ्गलबारदेखि अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । बिहीबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य तोलामा ४ हजार २ सय रुपैयाँले वृद्धि भएको छ भने चाँदीमा १५ रुपैयाँले बढोत्तरी भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको भाउ १ लाख ९७ हजार १ सय रुपैयाँ कायम भएको छ भने १ तोला चाँदी दुई हजार १६५ मा कारोबार भइरहेको छ । गत मङ्गलबार एक तोला सुन १ लाख ९० हजार तथा सोही परिमाणको चाँदी २ हजार १ सय ६५ रुपैयाँमा कारोबार भएको थियो । अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन ३ हजार ४ सय २७ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
कालीमाटीमा चर्को महंगी: तरकारीदेखि फलफूल र माछासम्मको थोक मूल्य आकासियो
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ८०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५८, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ७०, आलु रातो प्रतिकिलो रु ४०, आलु रातो (भारतीय) प्रतिकिलो रु ३५, आलु रातो (मुडे) प्रतिकिलो रु ३७, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४१, गाजर (लोकल) प्रतिकिलो रु ७०, गाजर (तराई) प्रतिकिलो रु ५०, बन्दा (लोकल) प्रतिकिलो रु ३५, काउली स्थानीय प्रतिकिलो रु ६०, मूला सेतो (लोकल) प्रतिकिलो रु ३४, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३५, भन्टा लाम्चो प्रतिकिलो रु २०, भन्टा डल्लो प्रतिकिलो रु ३५, तने बोडी प्रतिकिलो रु ३२, मकै बोडी प्रतिकिलो रु ६५ कायम भएको छ । यसैगरी, मटरकोसा प्रतिकिलो रु १६०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ४०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ४०, घिउ सिमी राजमा मूल्य प्रतिकिलो रु १२०, टाटे सिमी मूल्य प्रतिकिलो रु १२०, भटमास कोसा प्रतिकिलो रु १२०, तीतो करेला प्रतिकिलो रु ५०, लौका प्रतिकिलो रु ४०, परबर (लोकल) प्रतिकिलो रु ३५, परबर (तराई) प्रतिकिलो रु ३५, चिचिण्डो प्रतिकिलो रु ३२, घिरौँला प्रतिकिलो रु ३०, झिगुनी प्रतिकिलो रु ५०, फर्सी पाकेको प्रतिकिलो रु ४५, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ४०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ४०, भिण्डी प्रतिकिलो रु ३० कायम गरिएको छ । यस्तै, सखरखण्ड प्रतिकिलो ७०, पिँडालु प्रतिकिलो रु १००, स्कुस प्रतिकिलो रु ६५, रायोसाग प्रतिकिलो रु ५०, पालुङ्गो साग प्रतिकिलो रु ५०, तोरीको साग प्रतिकिलो रु ३५, हरियो प्याज प्रतिकिलो रु १२०, च्याउ (कन्य) प्रतिकिलो रु १६०, च्याउ (डल्ले) प्रतिकिलो रु २५०, कुरिलो प्रतिकिलो रु ३५०, निगुरो प्रतिकिलो रु ३० निर्धारण गरिएको छ । ब्रोकाउली प्रतिकिलो रु ६०, चुकुन्दर प्रतिकिलो रु ६५, जिरीको साग प्रतिकिलो रु १००, ग्याठकोभी प्रतिकिलो रु ६०, सेलरी प्रतिकिलो रु १२०, सौफको साग प्रतिकिलो रु १००, पुदिना प्रतिकिलो रु ११०, गान्टेमूला प्रतिकिलो रु ५०, इमली प्रतिकिलो रु १७०, तामा प्रतिकिलो रु १२०, तोफु प्रतिकिलो रु १४० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेको छ । समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (दर्जन) रु १५०, कागती प्रतिकिलो रु १६०, अनार प्रतिकिलो रु ३५०, आँप (माल्द) प्रतिकिलो रु ६०, आँप (दशहरी) प्रतिकिलो रु ७५, अङ्गुर (हरियो) प्रतिकिलो रु २५०, अङ्गुर (कालो) प्रतिकिलो रु ३५०, तरबुजा (हरियो) प्रतिकिलो रु ४०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु २५०, भूइँकटहर प्रतिगोटा रु १७०, काँक्रो (लोकल) प्रतिकिलो रु ४०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु १५, रुखकटहर प्रतिकिलो रु ६५, मेवा (भारतीय) प्रतिकिलो रु ११०, लिची (लोकल) प्रतिकिलो रु १९०, लिची (भारतीय) प्रतिकिलो रु १७० निर्धारण गरिएको छ । यसैगरी, अदुवा प्रतिकिलो रु ११०, खुर्सानी सुकेको प्रतिकिलो रु ४२०, खुर्सानी हरियो प्रतिकिलो रु ४०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ३५, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ४०, भेडेखुर्सानी प्रतिकिलो रु ८५, हरियो धनियाँ प्रतिकिलो रु ५५, लसुन सुकेको चाइनिज प्रतिकिलो रु २२०, लसुन सुकेको नेपाली प्रतिकिलो रु १७०, छ्यापी सुकेको प्रतिकिलो रु २००, छ्यापी हरियो प्रतिकिलो रु १२०, ताजा माछा (रहु) प्रतिकिलो रु ३३०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३२०, ताजा माछा (छडी) प्रतिकिलो रु २४०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकिलो रु ९०० तोकेको छ ।
प्रधानमन्त्री ओलीको चेतावनी: त्रुटीपूर्ण अनुसन्धानले न्यायमा बाधा पुग्छ, प्रहरी र वकिल प्रविधिसहित सक्षम बनुन्
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अनुसन्धान र अभियोजनलाई प्रविधिको प्रयोगसहित प्रमाणयुक्त एवं प्रभावकारी बनाएर न्याय निरुपणमा सघाउन आग्रह गरेका छन् । अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको तेस्रो राष्ट्रिय सम्मेलनको शुक्रबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अभियोजन र प्रमाणहरुका तथ्यले दुविधारहित ढङ्गले न्याय सम्पादन हुनेगरी अनुसन्धान एवं अभियोजन गर्न आग्रह गरेका हुन् । ‘समाजमा अन्याय हुन नदिन र सामाजिक सुप्रबन्धका लागि अनेक खोज अध्ययन, अनुसन्धान गरेर मानवोचित र न्यायपूर्ण समाज सृजना गर्न समयानुकूल कानुनको निर्माण तथा प्रभावकारी कार्यान्वयन आवश्यक छ । त्यसका लागि उचित स्रोत, साधनसहित दीक्षित, सक्षम र इमानदार जनशक्तिको खाँचो रहेको छ । ती सामग्री र अवसर दिलाउन सरकार प्रतिबद्ध छ”, प्रधानमन्त्री ओलीले भने, ‘प्रहरीमा स्वच्छता, निष्पक्षता, पारदर्शीता हुनुपर्छ । सुविधा पुगेन भनेर त्यतातिर सोच्नु नपरोस् भनेर सरकारले सेवा सुविधामा आवश्यक ध्यान दिनेछ ।’ अपराधीले अपराध ढाकछोपका लागि अनेक सोच र प्रविधिको प्रयोग गर्ने भएकाले त्यसलाई अपराधीलाई तत्काल नियन्त्रणमा लिन प्रहरी नयाँ नयाँ प्रविधिसहित स्रोतसाधन सम्पन्न हुनुुपर्ने र प्रहरीको त्रृटीरहित अनुसन्धानले नै न्याय निरुपणका लागि बाटो देखाउने प्रधानमन्त्री ओलीको भनाइ थियो । गृहमन्त्री रमेश लेखक, महान्याधिवक्ता रमेश बडालसहित सहभागी सम्मेलनमा प्रधानमन्त्री ओलीले प्रणालीगत प्रबन्धमार्फत समान अधिकार र अवसर दिन तथा विकास, सुव्यवस्था र सुशासनका पक्षमा ध्यान दिँदै दोषीलाई कारबाही र पीडितलाई न्याय दिनेतर्फ लाग्न आग्रह गरे । प्रहरी प्रधान कार्यालयमा जारी सम्मेलन शनिबार सम्पन्न हुनेछ ।
नबिल, ग्लोबल र एनआईएमबिबीच कडा प्रतिस्पर्धा, १० बैंकको नाफा घट्दा नेपाल बैंकको ४५७ प्रतिशत बढ्यो
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा वाणिज्य बैंकहरूको खुद नाफा १.६७ प्रतिशत अर्थात् ८१ करोड २० लाख रुपैयाँ घटेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालु आवको वैशाखसम्ममा २० वटा बैंकले ४७ अर्ब ७९ करोड ४७ लाख रुपैयाँ खुद नाफा गरेका छ । गत वर्षको वैशखमा ४८ अर्ब ६० करोड ६८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका थिए । १० महिनाको अवधिमा सबैभन्दा धेरै नाफा नबिल बैंकले गरेको छ । नबिलले ५ अर्ब ६० करोड ३९ लाख रुपैयाँ नाफा आर्जन गरेको हो । गत वर्षको वैशाखमा यस बैंकले ५ अर्ब ४६ करोड २५ लाख रुपैयाँ खुद नाफा गरेको थियो । गत वर्षको तुलनामा यस वर्ष बैंकको नाफा २.५८ प्रतिशत अर्थात् १४ करोड १३ लाख रुपैयाँ बढेको हो । ग्लोबल आइएमई बैंकले वैशाखसम्ममा ५ अर्ब ३५ करोड ५४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा यस बैंकले ४ अर्ब १२ करोड २९ लाख रुपैयाँ नाफा गरेको थियो । गत वर्षको तुलनामा बैंकको नाफा २९.८९ प्रतिशत अर्थात् १ अर्ब २३ करोड २४ लाख रुपैयाँ बढी नाफा आर्जन गरेको हो । यस्तै, तेस्रोमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआइएमबि)ले ५ अर्ब २ करोड ८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको वैशाखमा यस बैंकले ३ अर्ब ७७ करोड १० लाख रुपैयाँ नाफा गरेको थियो । गत वर्षको तुलनामा बैंकले ३३.१४ प्रतिशत अर्थात् १ अर्ब २४ करोड ९८ लाख रुपैयाँ बढी नाफा गरेको हो । यस अवधिमा नेपाल बैंक नाफा वृद्धिमा आक्रामक देखिएको छ । नेपाल बैंकको १० महिनामा खुद नाफा ४५७ प्रतिशत अर्थात् २ अर्ब ६९ करोड ८४ लाख रुपैयाँ बढेर ३ अर्ब २८ करोड ८७ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको वैशाखमा यस बैंकको नाफा ५९ करोड ३ लाख रुपैयाँ मात्रै थियो । १० महिनाको अवधिमा एभरेष्ट बैंकको ३०.९६ प्रतिशत बढेर ३ अर्ब ९० करोड ३३ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकको १८.७४ प्रतिशत बढेर १ अर्ब ३१ करोड ३५ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकको १०.१९ प्रतिशत बढेर २ अर्ब १५ करोड ६५ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । राष्ट्र बैंकका अनुसार १० महिनामा सानिमा बैंक ७.१० प्रतिशत बढेर १ अर्ब ८७ करोड ५ लाख रुपैयाँ, एनएमबि बैंकको ५.५५ प्रतिशत बढेर २ अर्ब ६२ करोड ५४ लाख रुपैयाँ, सिद्धार्थ बैंकको १.६९ प्रतिशत बढेर २ अर्ब १ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । तर, यस अवधिमा विभिन्न १० बैंकको नाफा घटेको छ । एनआईसी एशिया बैंकको सबैभन्दा धेरै नाफा घटेको छ । एनआईसीको ७७.८७ प्रतिशत घटेर ४७ करोड ८७ लाख रुपैयाँ नाफा गरेको छ । यस्तै, हिमालयन बैंकको ६९.३३ प्रतिशत घटेर ६८ करोड ३४ लाख रुपैयाँ, कुमारी बैंकको ६६.२७ प्रतिशत घटेर ४८ करोड १९ लाख रुपैयाँ नाफा गरेका छन् । राष्ट्र बैंकका अनुसार कृषि विकास बैंकको ३५.७३ प्रतिशत घटेर १ अर्ब ७३ करोड ३८ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकको ३०.९२ प्रतिशत घटेर १ अर्ब ७७ करोड ४ लाख रुपैयाँ, प्रभु बैंकको २०.०९ प्रतिशत घटेर २ अर्ब १४ लाख रुपैयाँ नाफा गरेका छन् । यस्तै, सिटिजन्स बैंकको २१.४० प्रतिशत घटेर १ अर्ब १८ करोड १५ लाख रुपैयाँ, प्राइम बैंकको १९.८४ प्रतिशत घटेर २ अर्ब ५८ करोड ५५ लाख रुपैयाँ, स्ट्याण्डर्ड चार्टर्ड बैंकको ११.९८ प्रतिशत घटेर २ अर्ब ३४ करोड ६४ लाख रुपैयाँ र नेपाल एसबिआई बैंकको २.८७ प्रतिशत घटेर १ अर्ब ३८ करोड २० लाख रुपैयाँ नाफा गरेको राष्ट्र बैंकको तथ्याङ्क छ ।