सेयर बजारमा ११ अर्बको कारोबार, पञ्चकन्या माइ हाइड्रोको मूल्यमा सकारात्मक सर्किट
काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २४ अंकले घटेर २६२९ बिन्दुमा झरेको छ । आज ४७ कम्पनीको मूल्य बढ्दा २०१ कम्पनीको मूल्य घटेको छ । बिहीबार ३१४ कम्पनीको २ करोड कित्ता सेयर किनबेच हुँदा ११ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार न्यादी गुप्रको भएको छ । न्यादीको ८५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, बुटवल पावर कम्पनीको ५८ करोड, सिंगटी हाइड्रोको ४७ करोड, सानिमा माइ हाइड्रोको ४२ करोड र राधी विद्युत कम्पनीको ३५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज पञ्चकन्या माइ हाइड्रोको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
सावित्री देवी स्मृति प्रतिष्ठानले गर्यो स्वास्थ्यकर्मी लामासहित अन्यलाई सम्मान
काठमाडौं । ‘सावित्री देवी स्मृती प्रतिष्ठान’ले समाजमा योगदान पुर्याएका विभिन्न व्यक्तिहरूलाई सम्मान गरेको छ । स्व. सावित्री देवी न्यौपानेको १४ औं स्मृति दिवसको अवसर पारेर विभिन्न व्यक्तिहरू सम्मानित भएका हुन् । बुधबार काभ्रेपलाञ्चोकको पनौतीमा आयोजित कार्यक्रममा स्वास्थ्य स्वयंसेविका मनकुमारी लामा, अनिस्मा तामाङ, डा. आशिष लामिछाने र सहकारी अभियन्ता भरतप्रसाद शर्मा सम्मानित भएका छन् । स्वास्थ्य स्वयंसेविका लामा १० हजार, तामाङ १० हजार, अभियान्ता शर्मा २५ हजार र डा. लामिछाने २५ हजार नगदसहित सम्मानित भएका हुन् । माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले दोसल्ला र नगदसहित सबैलाई सम्मानित गरेकी थिइन् । जेष्ठ नागरिकको उपस्थितिमा भएको कार्यक्रममा अध्यक्ष कोइरालाले समाजमा लागूऔषधको समस्या बढिरहेको बताइन् । उनले अहिले डिक्सो, बार र क्लबमा अवाञ्छित गतिविधि भएकाले त्यहाँ निगरानी बढाउन ध्यान दिनलाई सरकारको ध्यानाकर्षण गराइन् । १३ देखि १९ वर्षसम्मका बालबालिकाहरुमा यस्तो लत देखिएको र लागुऔषध बिक्री हुनु राम्रो कुरा नभएकोतर्फ ध्यानाकर्षण गराइन् । कार्यक्रममा डा.राजेन्द्र कोजू, नेपाली कांग्रेसका नेता मधुप्रसाद आचार्य, युवा अभियन्ता भुषण श्रेष्ठ लगायतले प्रतिष्ठानले खेलेको भूमिकाको बारेमा मन्तव्य दिएका थिए । प्रतिष्ठानले खोपासीका जेष्ठ नागरिकका लागि स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । अभियन्ता श्रेष्ठले २५ हजार नगद सहयोग गरेका छन् । प्रतिष्ठानको कार्यक्रममा प्रतिष्ठानका आजिवन सदस्य, परिवारका सदस्य, जेष्ठ नागरिक, संचारकर्मीको उपस्थिति रहेको थियो । पनौती ११ का वडाअध्यक्ष विपिन लामा, नेपाली सेनाका श्री मेहर गणका गणपति, नेपाल पत्रकार महासंघ काभ्रेका पूर्व अध्यक्ष लगायतको उपस्थिति थियो ।
शिक्षा, स्वास्थ्य र पूर्वाधारमा मधेश सरकारको दुई अर्बको बजेट विनियोजन
जनकपुरधाम । मधेश प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत बजेटमा स्थानीय तहका लागि दुई अर्ब रुपैयाँ विनियोजन गरेको छ । प्रदेश सरकारले आगामी आव २०८२/८३ का लागि ल्याएको बजेटमार्फत प्रदेशभित्रका स्थानीय तहलाई लक्षित गर्दै शिक्षा, स्वास्थ्य, खानेपानी, सहिद परिवार, पूर्वाधार निर्माणलगायत शीर्षकमा करिब दुई अर्ब रुपैयाँको बजेट विनियोजन गरेको हो । प्रदेशका अर्थमन्त्री सुनिलकुमार यादवले स्थानीय तहको क्षेत्राधिकारभित्र पर्नेगरी ३८ करोड १० लाख रुपैयाँ विशेष अनुदान शीर्षकमा छुट्याइएको जानकारी दिए । उनका अनुसार उक्त अनुदान स्थानीय तहले शिक्षाको गुणस्तर सुधार, आधारभूत स्वास्थ्य सेवा सुदृढीकरण, खानेपानीको पहुँच विस्तार तथा सहिद परिवार लक्षित कार्यक्रम सञ्चालनमा उपयोग गर्न सक्नेछन् । त्यस्तै, विशेष अनुदानसम्बन्धी कार्यविधि, २०७८ मा तोकिएको मापदण्डअनुसार थप आयोजना कार्यान्वयन गर्न २८ करोड १० लाख रुपैयाँ बराबरको समपूरक अनुदान छुट्याइएको अर्थमन्त्री यादवले बताए । यो अनुदान स्थानीय तहको आवश्यकता र प्रस्तावको आधारमा उपलब्ध गराइनेछ । स्थानीय तहलाई दिइने ससर्त अनुदानतर्फ पनि सरकारले रकम विनियोजन गरेको छ । अर्थमन्त्री यादवका अनुसार आगामी आवका लागि एक अर्ब २२ करोड ५० लाख रुपैयाँ ससर्त अनुदानको रूपमा छुट्याइएको छ । यो रकम प्रदेश सरकारद्वारा तोकिएका प्राथमिकता र सर्तअनुसार खर्च गर्नुपर्ने छ । ससर्त अनुदानअन्तर्गत शिक्षा क्षेत्रमा विद्यालय भवन निर्माण, शौचालय, छात्रवृत्ति तथा पाठ्यपुस्तक वितरण, स्वास्थ्य चौकी र औषधि आपूर्ति तथा खानेपानी तथा सरसफाइका योजना कार्यान्वयन हुनेछन् । बजेट प्रस्तुत गर्दै मन्त्री यादवले अघिल्ला वर्षमा जस्तै बजेट विनियोजन भए पनि समयमा निकासा नहुँदा लक्षित कार्यक्रममा उल्लेखनीय उपलब्धि हासिल गर्न नसकिने धारणा राखे । बजेट अनुदानको प्रतिबद्धता गरिए पनि यसको प्रभावकारिता भने कार्यान्वयनको पद्धति र अनुगमन प्रणालीमाथि निर्भर रहने सरोकार भएकाहरू बताउँछन् । गत वर्षका कतिपय आयोजना बजेट निकासा ढिलो हुँदा अलपत्र परेका छन् ।
नेपालको सार्वजनिक ऋण जीडीपीको ४३.४७ प्रतिशत पुग्यो, २ खर्बले थप वृद्धि
काठमाडौं । नेपालको सार्वजनिक ऋणको हिस्सा कुल ग्राहस्थ्य उत्पादन (जीडीपी) को ४३ दशमलव ४७ प्रतिशत पुगेको छ । अर्थ मन्त्रालय मातहतको सार्वजनिक ऋण व्यवस्थापनको कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार ऋणको आन्तरीक तथा बाह्य ऋण बढ्दै गएको हो । कार्यालयका अनुसार सार्वजनिक ऋण २०८२ जेठ मसान्तसम्ममा २६ खर्ब ५४ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्षको सुरुवातमा रहेको २४ खर्ब ३४ अर्ब ९ करोड रुपैयाँ बराबरको सार्वजनिक ऋण २ खर्ब बढीले वृद्धि भई २६ खर्ब ५४ अर्ब ६८ करोड रुपैयाँ पुगेको हो । कार्यालयका अनुसार चालु आर्थिक वर्षमा जम्मा ५ खर्व ४७ अर्व सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखिएकोमा जेठ मसान्तसम्ममा ४ खर्ब १४ अर्ब १९ करोड ऋण प्राप्ति भएको छ । वार्षिक लक्ष्यको तुलनामा कुल सार्वजनिक ऋण प्राप्ति ७५ दशमलव ७२ प्रतिशत रहेको छ । जसमध्ये आन्तरिक र बाह्य ऋण प्राप्तिको प्रगति कमशः १५ दशमलव ४५ र ४५ दशमलव ७२ प्रतिशत रहेको छ । कुल सार्वजनिक ऋण प्राप्ति मध्ये आन्तरिक र बाह्य ऋणको हिस्सा क्रमश: ७६ दशमलव ९५ र २३ दशमलव ९५ प्रतिशत रहेको छ। सार्वजनिक ऋणको सावाँ र ब्याज भुक्तानीतर्फ चालु आर्थिक वर्ष २०८१/८२ मा ऋण सेवा खर्चमा ४ खर्ब २ अर्ब ८५ करोड बजेट विनियोजन भएकोमा जेठ मसान्तसम्म ३ खर्ब २९ अर्ब ६९ करोड भुक्तानी भएको छ । यो वार्षिक बजेट विनियोजनको आधारमा ८१ दशमलव ८२ प्रतिशत हो । कुल गाहस्थ उत्पादनको आधारमा जेठ मसान्त सम्ममा कुल ऋण सेवा खर्च ५ दशमलव ४ प्रतिशत रहेको छ । सरकारले आगामी वर्षको बजेटमा विभिन्न ऋण तथा ब्याज तिर्नका निम्ति वित्तीय व्यवस्थाअन्तर्गत ३ खर्ब ५७ अर्ब रुपैयाँ छुट्टयाइएको छ । यो करिब विकास बजेट जति हो । आगामी वर्षका लागि कुल बजेट रकममध्ये विकास खर्चमा रु ४ खर्ब ७ अर्ब रुपैयाँ छुट्टाएको छ । विदेशी मुद्रामा देखिएको उतारचढावका कारण सार्वजनिक ऋणको दायित्व बढिरहेको ऋण व्यवस्थापनले बताएको छ ।
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकलाई हिल्टन होटेलमा छुट
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकहरूलाई काठमाडौं स्थित हिल्टन होटेलमा छुट पाइने भएको छ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआईएमबी) लिमिटेड र हिल्टन होटेलबीच भएको सम्झौतामा एनआईएमबीका ग्राहकहरुलाई फुड एण्ड बेवरेजमा १० प्रतिशतसम्म छुट दिने भएको छ । छुट सुविधा पाउन ग्राहकले एनआईएमबीको डेबिट/क्रेडिट कार्ड वा एनआईएमबी स्मार्ट (मोबाईल बैंकिङ) मार्फत भुक्तानी गर्नुपर्ने हुन्छ । ग्राहकहरुलाई डिजिटल माध्यम प्रयोग गरि भुक्तानी प्रोत्साहन गर्न विभिन्न छुट तथा सुविधाहरु बैंकले दिदै आएको छ । छुटको विवरण बैंकको आधिकारिक वेवसाइटमा छ ।
कोरोनाका बिरामी देखिँदै : सात दिनमा ३० जनामा सङ्क्रमण
काठमाडौं । मौसम परिवर्तनसँगै कोरोना भाइरसका लक्षण भएका बिरामी देखिन थालेका छन् । मौसम परिवर्तनसँगै मानिसमा रुघाखोकी, ज्वरो, फ्लु जस्ता सङ्क्रमण देखिन थालेको हो । इपिडिमिलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशन डा चन्द्रभाल झाले सिमा नाकामा कोरोना भाइरसको सङ्क्रमण देखिए पनि अहिले त्यो पनि घटेको गएको बताए । उनका अनुसार नेपाल–भारत सीमाको सिमानापर्ने कञ्चनपुरमा केही भारतबाट आउनेमा सङ्क्रमण देखिएका छन् । उनका अनुसार अहिलेसम्म (पुस १७ गते यता) १६० जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । पछिल्लो सात दिनमा ३० जना र २४ घण्टामा पाँच जनामा सङ्क्रमण देखिएको उनले बताए । सबैभन्दा बढी वागमती प्रदेशमा १२९, सुदूरपश्चिम प्रदेशमा १७, मधेश प्रदेशमा पाँच, कोशी तथा गण्डकी र लुम्बिनी प्रदेशमा समान तीन/तीन जनामा सङक्रमण देखिएको छ । एन्टिजेन पठाइयो निर्देशक डा झाले कोरोना भाइरसको सङक्रमण देखिएका ठाउँमा एन्टिजेन पाइसकेको समेत जानकारी दिए । उनका अनुसार सीमा नाकामा परीक्षणका लागि अहिलेसम्म ६४० थान एन्टिजेन पाइसकेको छ । उनले सङक्रमणको जोखिमलाई ध्यान दिदै थप एन्टिजेन खरिद गर्ने प्रक्रियासमेत अगाडि बढाइएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतलाका निर्देशक डा युवानिधि बसौलाले फाट्टफुट बिरामी उपचारका लागि अस्पतालमा आउने गरेको बताउँछन् । 'मौसममा आएको परिवर्तनसँगै मानिसमा रुघाखोकी, ज्वरोका बिरामी आउने गरेका छन्', उनले भने । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले भारतमा सङ्क्रमण देखिएका कारणले नेपालमा पनि देखिएको बताए । 'भारतमा देखिएपछि नेपालमा पनि फाट्टफुट बिरामी देखिएका हुन्', उनले भने, 'मौसम परिवर्तनसँगै फ्लुका बिरामी देखिएका हुन् ।' मन्त्रालयका प्रवक्ता डा बुढाथोकीले कोरोना भाइरसविरुद्धको खोप नलगाएका व्यक्ति, दिर्घरोगी र ज्येष्ठ नागरिक अझै पनि जोखिम रहेको बताए ।
गोरखामा सानिमा बैंकले गर्यो नि:शुल्क स्वास्थ्य शिविर, २५० बढीले लिए सेवा
काठमाडौं । सानिमा बैंकको पूर्ण आर्थिक सहयोगमा गोरखा नगरपालिका- ७, डण्डीडाँडा स्वास्थ्य केन्द्रमा शनिबार नि:शुल्क स्वास्थ्य परीक्षण शिविर सम्पन्न भएको छ । गोरखा शाखाले शिविरको व्यवस्थापनसमेत गरेको थियो । बैंकको पहलमा आयोजित शिविरमा दुई सय पचासभन्दा बढी व्यक्तिले प्रत्यक्ष स्वास्थ्य सेवा लिएका छन् । विशेषगरी निम्न आय वर्गका बिरामीलाई लक्षित गरी आयोजना गरिएको कार्यक्रममा स्त्रीरोग, छाती, मुटु तथा पेट रोग विशेषज्ञहरूबाट परामर्श र उपचार प्रदान गरिएको थियो । साथै, भिडियो एक्स-रे (युएसजी), सुगर परीक्षण लगायतका सेवा पनि उपलब्ध गराइएको थियो । शिविरमा १४९ जनाको युएसजी परीक्षण, ९९ जनाको सुगर परीक्षण गरिनुका साथै अन्य विविध परामर्शहरू प्रदान गरिएको थियो । डा. रवि रेग्मी (स्त्रीरोग), डा. रजिनिश मानन्धर (छाती, मुटु तथा पेटरोग), डा. आकृति सापकोटा लगायतका विशेषज्ञ चिकित्सकहरूमार्फत स्वास्थ्य जाँच तथा निःशुल्क औषधि वितरण गरिएको बैंकले जनाएको छ । सानिमा बैंकले केही महिना अघि गोरखाको शहीद लखन गाउँपालिका-घैरुङमा पनि यस्तै नि:शुल्क स्वास्थ्य शिविर आयोजना गरिसकेको थियो । बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत स्थानीय जनतालाई लक्षित गरी यस्ता कार्यक्रमहरू गर्दै आएको छ । स्थानीय बासिन्दाहरूले विशेषज्ञ डाक्टरबाट सेवा पाएकोमा खुसी व्यक्त गर्दै सानिमा बैंकको प्रशंसा गरेका छन् । गोरखा जिल्लाको शक्तिचोकमा सानिमा बैंकको शाखा कार्यालय अवस्थित छ ।
नेपाललाई विकसित मुलुक बनाउन हरित अर्थतन्त्र र निर्यात प्रवर्द्धनमा जोड दिनुपर्छ : अर्थमन्त्री पौडेल
काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले हरित अर्थतन्त्रको प्रवर्द्धनमार्फत नेपालले आर्थिक वृद्धिमा रहेका चुनौतीहरूको सामना गर्न सक्ने बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमा उनले उच्च र दिगो आर्थिक वृद्धि, रोजगारी सिर्जना, गुणस्तरीय मानव पूँजी विकास, सामाजिक समावेशीकरण, लगानी तथा व्यापार प्रवर्द्धनजस्ता क्षेत्रमार्फत आर्थिक रूपान्तरण सम्भव हुने बताए । उनले सन् २०२६ मा नेपाल अल्पविकसित मुलुकबाट स्तरवृद्धि भएर विकासोन्मुख मुलुक बन्ने प्रक्रियामा रहेको र यस यात्रामा हरित अर्थतन्त्रले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे । अर्थमन्त्री पौडेलले भने, ‘रोजगारी सिर्जना, गुणस्तरीय मानव पूँजी विकास, हरित अर्थतन्त्रको प्रवर्द्धन, सामाजिक समावेशीकरण, लगानी र व्यापार विस्तारमार्फत नेपालले आर्थिक वृद्धिमा रहेका चुनौतीहरूको सामना गर्न सक्छ । यसका लागि सरकार, निजी क्षेत्र, सहकारी, गैरसरकारी संघ-संस्था तथा विकास साझेदारबीचको सहकार्य अझ मजबुत बनाउन जरुरी छ ।’ उनका अनुसार स्तर वृद्धिपछि नेपालको लागि अन्तर्राष्ट्रिय व्यापार, विकास सहायता परिचालन, दिगो विकास लक्ष्य कार्यान्वयन, प्राविधिक क्षमता वृद्धि, तथा विपद् र जलवायु परिवर्तन व्यवस्थापनमा थप जिम्मेवारीहरू थपिनेछन् । हरित अर्थतन्त्र र निर्यात प्रवर्द्धनमा जोड पौडेलले अन्तर्राष्ट्रिय व्यापारलाई दिगो बनाउन नेपालको निर्यात क्षमता वृद्धि आवश्यक रहेको उल्लेख गरे। यसको लागि उनले उत्पादन र उत्पादकत्व वृद्धि, व्यापारको देशगत र वस्तुगत विविधिकरण, बौद्धिक सम्पत्ति संरक्षण, दुईपक्षीय तथा बहुपक्षीय व्यापार सम्झौताहरूको प्रभावकारी कार्यान्वयनमा जोड दिए । उनले दिगो विकास तथा जलवायु सम्बन्धी विश्वव्यापी कोषहरूमा नेपालको पहुँच सुदृढ गर्दै आर्थिक उत्थानशीलता निर्माणमा ध्यान दिनुपर्ने बताए । लगानी प्रवाह र सहकार्यमा जोड उनले हालैको विदेशी लगानी प्रवाह र विकास सहायता परिचालनको प्रवृत्तिलाई ध्यानमा राख्दै नेपाल सरकारले विकास वृत्त संसदमा पेस गरेको जानकारी गराए । सहायता परिचालनलाई व्यवस्थित गर्न वैदेशिक सहायता परिचालन नीति २०८२ जारी गरिएको र निजी क्षेत्रको सहकार्यमा लगानीसम्बन्धी कानुनहरूमा सुधार तथा परिमार्जन गरिएको पनि उनले उल्लेख गरे । पौडेलले बौद्धिक सम्पत्ति संरक्षण, उत्पादन वृद्धि, र मानव जीवनसँग जोडिएका बहुआयामिक सूचकहरूमा सुधार गर्दै व्यापारलाई धुव्रीकरणमुक्त बनाउनुपर्ने आवश्यकता औंल्याए । यस्तै, उनले राष्ट्रिय योजना आयोग र सम्बन्धित मन्त्रालयलाई श्रम नीतिबाट सिर्जना हुने अवसरहरूको पहिचान गर्दै तिनको दिगो व्यवस्थापनमा आधारित कार्यक्रमहरू कार्यान्वयन गर्न निर्देशन दिए । उनका अनुसार दिगो विकास र नेपालको लक्ष्यहरू पूरा गर्न ठूलो मात्रामा लगानी आवश्यक छ ।