विकासन्युज

भरतपुर महानगरको आगामी आवको लागि ५ अर्ब १९ करोड बजेट विनियोजन

भरतपुर । भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ५ अर्ब १९ करोड ७१ लाख ६६ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ । आइतबार महानगरका प्रमुख रेणु दाहालले नगरसभामा पेश गरेको नीति तथा कार्यक्रम कार्यान्वयनको लागि आवश्यक पर्ने अनुमानित बजेट उपप्रमुख चित्रसेन अधिकारीले प्रस्ताव गरेको हुन् । आगामी आवको लागि प्रस्ताव गरेको बजेट चालु आव २०८१/८२ को तुलनामा कम हो । चालु आवको लागि भरतपुर महानगरले  ५ अर्ब ४६ करोडको बजेट ल्याएको थियो । महानगरले आन्तरिक आयतर्फ १ अर्ब ८० करोड (घरजग्गा रजिस्ट्रेसन एवं खानी तथा खनिजजन्य पदार्थको बाँडफाँटबाट प्राप्त समेत) विनियोन गरेको छ । त्यस्तै, अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट २ अर्ब १५ करोड ७६ लाख २५ हजार, संघ राजस्व बाँडफाँटबाट ३१ करोड ९१ लाख तथा बागमती प्रदेश सरकारको राजस्व बाँडफाँटबाट १४ करोड ४ लाख ४१ हजार गरी जम्मा ४५ करोड ९५ लाख ४१ हजार, जनसहभागिता/श्रमदानबाट ५ करोड बैंक मौज्दात ७० करोड, सडक बोर्ड नेपालबाट ३ करोड रहने महानगरको प्रक्षेपण छ । त्यस्तै, सामाजिक सुरक्षालगायत अन्तरसरकारी अख्तियारी शीर्षकमा अनुमानित १ अर्ब ३५ करोड रहने प्रक्षेपण  गरेको छ ।  महानगरले शिक्षा तर्फ १० करोड ५० लाख रुपैयाँ, कृषि तर्फ ९ करोड रुपैयाँ, स्वास्थ्य सेवातर्फ ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । 

स्वास्थ्य र बीमा सेवाको पहुँच विस्तारका लागि प्रभु महालक्ष्मी लाइफ र चिरायु हस्पिटलबीच साझेदारी

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स र चिरायु नेसनल हस्पिटल एन्ड मेडिकल इन्स्टिच्युटबीच सुलभ, गुणस्तरीय स्वास्थ्य सेवा तथा जीवन बीमा सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले साझेदारी भएको छ ।  यो साझेदारीका लागि सम्झौतापत्रमा प्रभु महालक्ष्मी लाइफका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईं र चिरायु हस्पिटलका अपरेसन निर्देशक चन्द्रेश्वर एनआर वैद्यले हस्ताक्षर गरेका छन् । हस्ताक्षर समारोहमा प्रभु महालक्ष्मी लाइफका नायब प्रमुख कार्यकारी अधिकृत किशोरप्रसाद लामिछाने तथा चिरायु हस्पिटलका व्यवसाय विकास अधिकारी बसन्त खनालको उपस्थिति थियो । यो १ वर्ष समयावधिको सम्झौताले नेपालको स्वास्थ्य सेवाको आपूर्ति र वित्तीय सुरक्षाबीचको अन्तरलाई कम गर्दै कर्मचारी, अभिकर्ता, सेयरधनी तथा सर्वसाधारण समुदायलाई व्यापक लाभ पुर्याउने विश्वास र प्रतिबद्धता दुवै कम्पनीले जनाएका छन् । सम्झौताअनुसार चिरायु हस्पिटलले प्रभु महालक्ष्मी लाइफका कर्मचारी, अभिकर्ता, सेयरधनी तथा तिनका आश्रित परिवार सदस्यलाई छुट सुविधा प्रदान गर्नेछ ।  चिरायु हस्पिटलले बेड चार्जमा १५ प्रतिशत, हस्पिटलभित्रको परीक्षण सेवामा १० प्रतिशत तथा औषधि खरिदमा ५ प्रतिशत छुट दिनेछ । साथै, काठमाडौं उपत्यकाभित्र निःशुल्क एम्बुलेन्स सेवा र सिफारिस भएका बिरामीलाई सेवाअनुसार १० प्रतिशतदेखि २५ प्रतिशतसम्म छुट पनि प्रदान गरिने हस्पिटलले जनाएको छ ।  सम्झौताबमोजिम चिरायु हस्पिटलमा कार्यरत कर्मचारीलाई प्रभु महालक्ष्मी लाइफले विभिन्न बीमा योजना प्रदान गर्नेछ। बीमाको प्रिमियम चिरायु हस्पिटलले भुक्तान गर्नेछ । यस पहलले चिरायु हस्पिटलका कर्मचारीको वित्तीय सुरक्षा र सर्वाङ्गीण कल्याण सुनिश्चित गर्ने लक्ष्य राखेको छ । गुणस्तरीय तथा सुलभ सेवा प्रदान गर्ने साझा उद्देश्यसहित स्थापित यस साझेदारीले स्वास्थ्य तथा बीमा क्षेत्रबीचको सहकार्यको उत्कृष्ट उदाहरण प्रस्तुत हुने विश्वास गरिएको छ ।  

मोबाइलबाटै ‘स्टार्ट र अफ’ गर्न मिल्ने डल्फिन : सस्तो मूल्य, आकर्षक फिचर

काठमाडौं । विश्वकै अग्रणी विद्युतीय सवारी निर्माता बीवाईडीले आफ्नो लोकप्रिय ईभी मोडेल डल्फिनको नयाँ संस्करण ‘डल्फिन २०२५’ नेपाली बजारमा ल्याएको छ । बीवाइडीका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले आइतबार राजधानीमा एक कार्यक्रमकाबीच यस मोडेलको औपचारिक लन्च गरेको हो । २०२५ को बीवाईडी डल्फिन एउटा स्मार्ट फेसलिफ्ट हो जसले ब्याट्री क्षमता, चार्जिङ क्षमता, सुरक्षा र चालक सहायता प्रणालीमा महत्त्वपूर्ण सुधार ल्याएको छ । नयाँ संस्करण ल्याउनुको मुख्य कारण मूल्य नबढाइ उच्च क्षमताको ईभी ग्राहकलाई उपलब्ध गराउनु हो । साथै अटोमोबाइल बजारको प्रतिस्पर्धामा आफूलाई अग्रस्थानमा राख्ने पनि उसको योजना हो । फेसलिफ्ट भन्नाले गाडीमा गरिएको एउटा मध्यम स्तरको अपडेटलाई जनाउँछ । यमुना श्रेष्ठ कार्यक्रममा साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले नयाँ डल्फिन लञ्च गर्न पाउँदा खुसी व्यक्त गरिन् । उनले भनिन्, ‘ नयाँ गाडी लञ्च गर्न पाउँदा हामी निकै खुसी छौं ।  हामी ग्राहकको सेवा सधैं तत्पर छौं । हाम्रो मोबिलिटी अरु कम्पनीभन्दा फरक छ ।’ उनले हालसम्म करिब २ हजार ५ सयभन्दा बढी डल्फिन नेपाली सडकमा गुडिरहेको बताइन् । यसैगरी साइमेक्स इंकका सीईओ साहिल श्रेष्ठले बीवाईडी डल्फिन एउटा गाडी मात्र नभई यो इलेक्ट्रिक जीवनशैलीको वाहक रहेको जानकारी दिए । उनले हरेक नयाँ संस्करणमार्फत स्वदेशी ऊर्जाको प्रयोग, शून्य उत्सर्जन र सुरुदेखि सेवा–पश्चातसम्म उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्ने वातावरण बनाइरहेको जिकिर गरे ।  साहिल श्रेष्ठ सार्वजनिक गाडीको मूल्य ४१ लाख १५ हजार रुपैयाँ तोकिएको छ । यसमा ब्लेड ब्याट्रीको प्रयोग गरिएको छ । यो ब्याट्री पारम्परिक ब्याट्रीभन्दा ६ गुणा हल्का, ५ गुणा कम सेल्फ डिस्चार्ज हुने विशेषतायुक्त छ । यसको आयु १५ वर्षसम्मको हुने दावी छ ।  गाडीमा डीसी चार्जिङ क्षमता छ र ब्याट्रीलाई ३० मिनेटमै ८० प्रतिशतसम्म चार्ज गर्न सकिने कम्पनीले जनाएको छ । कार्यक्रममा बीवाईडी डल्फिनको विश्वव्यापी रूपमा ८ लाख ३० हजार युनिट डेलिभरी पूरा भएको उपलब्धी पनि मनाइएको थियो । जसअन्तर्गत २ हजार ४९० औं युनिट नेपालमा डेलिभर गरिएको हो । यो उपलब्धि नेपालमा इलेक्ट्रिक मोबिलिटीप्रतिको बढ्दो विश्वासको प्रमाण हो। बीवाईडी डल्फिन नेपालकै सबैभन्दा धेरै बिक्री हुने इलेक्ट्रिक ह्याचब्याक बनेको छ । नयाँ बीवाईडी डल्फिन २०२५ पुरानो संस्करणको तुलनामा थप स्मार्ट, सुरक्षित र आधुनिक बनाइएको छ । यसपटक डल्फिनमा अगाडि र पछाडिको डिजाइनलाई परिमार्जन गर्दै ठूलो र प्रिमियम देखिने एलईडी हेडलाइट, आकर्षक बम्पर र नयाँ ‘बीवाईडी’ लोगो जडान गरिएको छ ।  पहिलाको ‘बील्ड यूअर ड्रिम’लेटरिङलाई हटाएर कम्पनीले आफ्नो नयाँ ब्रान्डिङलाई प्राथमिकता दिएको छ । ह्वील डिजाइन पनि अपडेट गरी १६ र १७ इन्चका नयाँ अलोय ह्वीलहरू प्रयोग गरिएको छ । क्याबिनभित्र १२.८ इन्चको घुम्न सक्ने टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम जडान गरिएको छ, जुन एप्पल कारप्ले र एन्ड्रोइड अटो दुवैसँग मेल खान्छ । ड्राइभरका लागि ८.८ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर राखिएको छ । नयाँ डल्फिनमा ४५ किलोवाट आवर ब्याट्री प्याक रहेको छ जसले एकपटकको फुल चार्जमा ३४० किलोमिटर रेन्ज दिने कम्पनीको दावी छ । यसैगरी यसमा ७० किलोवाट क्षमताको प्रमानेन्ट म्याग्नेट सिन्क्रोनस मोटर जडान गरिएको छ । यसले १८० टर्क उत्पादन गर्छ ।  डल्फिनमा मोबाइलबाटै गाडी स्टार्ट अनि अफ गर्न सकिन्छ । गाडीमा बीवाइडी एप पनि इन्स्टल गरिएको छ ।  यसले सुरक्षामा पाँच स्टार यूरो एनक्याप रेटिङ पाएको छ ।   पुरानो मोडेलको तुलनामा डिजाइन, ब्याट्री, चार्जिङ, इन्टेरियर र सुरक्षा प्रणालीमा महत्त्वपूर्ण सुधार गर्दै बीवाईडीले डल्फिन २०२५ नेपाली ग्राहकका लागि अझ भरपर्दो र सुविधाजनक बनाएको छ । नयाँ संस्करणको डल्फिन ‘आईसीई (पेट्रोलमा आधारित) गाडीहरूलाई प्रतिस्थापन गर्ने रणनीतिक कदम पनि हो । बीवाईडीले नेपालमा मात्र नभई यूरोपका विभिन्न देशमा पनि सस्ता ईभीहरू लन्च गर्दै आइरहेको छ । यसले बीवाईडीलाई आफ्नो बजार बिस्तार गर्न, टेस्लालगायतका गाडीसँग प्रतिस्पर्धा गर्न र आगामी ईभी प्राविधिमा अग्रसर बनाउँछ । सन् २०२१ मा पहिलो पटक चीनमा सार्वजनिक भएको बीवाइडी डल्फिन मोडेल हालसम्म युरोपेली देशहरूदेखि एसियाका विभिन्न मुलुकहरूमा समेत सफलतापूर्वक स्थापित भइसकेको छ ।  नेपालमा पनि यो मोडेल अत्यन्तै लोकप्रिय बनिसकेको छ । सन् २०२४ मा मात्र १ हजार ३५५ युनिट डल्फिन गाडी नेपालमा आयात गरिएको थियो, जुन सो वर्ष सबैभन्दा धेरै आयात भएको मोडेलमध्येको एक हो । विशेषतः कम्प्याक्ट ईभी सेग्मेन्टमा मात्र हेर्दा कुल आयातको झण्डै ३७ प्रतिशत हिस्सा डल्फिनको रहेको देखिन्छ । सन् २०२५ को पहिलो पाँच महिनामा डल्फिनको आयात संख्या कुलतः दोस्रो स्थानमा पुगेको भए पनि आफ्नो सेग्मेन्टमा अझै पनि एक तिहाइभन्दा बढी बजार हिस्सा ओगट्न सफल भएको छ । यसरी निरन्तर लोकप्रियतालाई कायम राख्न र ग्राहकको अपेक्षालाई अझ उत्कृष्ट रूपमा सम्बोधन गर्न, कम्पनीले डल्फिनको परिष्कृत संस्करण नेपाली बजारमा ल्याउने निर्णय गरेको हो । नेपालमा विद्युतीय सवारीप्रति जनचासो तीव्ररूपमा बढ्दो छ । यसका प्रमुख कारणहरूमध्ये सरकारको कर छुट नीति, पेट्रोलियम पदार्थको मूल्यवृद्धि, र सहर केन्द्रित आवागमन आवश्यकताहरू हुन् । बीवाईडीको स्थापना सन् १९९५ मा ब्याट्री निर्माता कम्पनीको रूपमा भएको थियो । त्यस समय कम्पनीको मुख्य फोकस रिचार्जेबल ब्याट्री उत्पादनमा केन्द्रित थियो । यसले कम्पनीलाई ईभी उद्योगमा प्रवेश गर्दा इन–हाउस ब्याट्री टेक्नोलोजी प्रयोग गर्ने दुर्लभ क्षमता दिएको थियो । जुन आज ईभीको सबैभन्दा महँगो र महत्वपूर्ण हिस्सा बन्न पुगेको छ ।  बीवाईडीले आफ्नो ईभी उत्पादनमा इलेक्ट्रिक मोटर, ब्याट्री, कन्ट्रोल सिस्टमदेखि गाडीको ढाँचासमेत सबैलाई इन-हाउस नै निर्माण गर्ने नीति अपनाएको पाइन्छ ।  चीन सरकारको विद्युतीय सवारी अनुदान नीति, कर छुट, र चार्जिङ पूर्वाधारमा लगानीले कम्पनीलाई घरेलु बजारमा छिटो विस्तार गर्न ठूलो फाइदा पुर्‍याएको छ ।  बीवाईडीले यस अवसरलाई भरपुर उपयोग गर्दै हजारौं युनिट सवारीसाधनहरू उत्पादन र बिक्री गरिररहेको छ । 

वेगनास लेक फ्रन्ट रेष्टुरेण्ट र प्रभु बैंकबीच सम्झौता, बैंकका ग्राहकलाई खाना र आवासमा छुट

काठमाडौं । पोखरा महानगरपालिका–३१, बेगनासताल, कास्कीस्थित वेगनास लेक फ्रन्ट रेष्टुरेण्ट र प्रभु बैंक लिमिटेडबीच छुट सम्बन्धी सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौता अनुसार प्रभु बैंकका ग्राहक, कर्मचारी तथा तिनका परिवारजनले रेष्टुरेण्टमा उपलब्ध खाना तथा आवास सेवामा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । बेगनास तालको रमणीय वातावरणमा स्वादिलो परिकार र शान्त विश्रामको अनुभवलाई अझ सहज बनाउन गरिएको यो सहकार्य बैंक र व्यवसायबीचको सेवा अभिवृद्धिको सकारात्मक उदाहरण भएको बताइएको छ । सम्झौता पत्रमा वेगनास लेक फ्रन्ट रेष्टुरेण्टका तर्फबाट प्रोप्राइटर विश्व राज पौडेल र प्रभु बैंक तालचोक शाखाका तर्फबाट शाखा प्रबन्धक प्रकाश पौडेलबीच हस्ताक्षर गरिएको हो ।

३२ अंकले घट्यो नेप्से, जोशी हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३२ अंकले घटेर २५९६ बिन्दुमा झरेको छ ।  आज २३ कम्पनीको सेयर मूल्य घट्दा २२५ कम्पनीको सेयर मूल्य बढेको छ ।  आइतबार ३१० कम्पनीको २ करोड कित्ता सेयर किनबेच हुँदा ९ अर्ब १४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार दोर्दी खोला जल विद्युत कम्पनीको भएको छ । दोर्दीको ७५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, बुटवल पावर कम्पनीको ७४ करोड, राधी विद्युत कम्पनीको ४९ करोड, सानिमा माइ हाइड्रोको ४६ करोड र न्यादी गुप्रको ४१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज सबै सूचक राताम्मे रहेको नेप्सेले जनाएको छ ।  आइतबार जोशी हाइड्रोपावरको सेयर मूल्य ९.९८ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

मोबाइल फोन चार्जरमै ३० करोड २९ लाख रुपैयाँ बाहिरियो

काठमाडौं । भारत, चीनदेखि क्यानडाबाट ३० करोड २९ लाख रुपैयाँ बराबरका मोबाइल फोन चार्जर नेपालमा भित्र्याइएको छ । चालु आर्थिक वर्षको साउनदेखि जेठसम्मको अवधिमा विभिन्न देशमा उक्त रकम बाहिरएको हो ।  भन्सार विभागकाअनुसार यो ११ महीनाको अवधीमा ३९ लाख ४२ हजार ८६६ थान मोबाइल फोन चार्जर आयात गरिएको छ । भारत, चीन, अष्ट्रेलिया, क्यानडा, साइप्रस, फ्रान्स, जर्मनी, हङकङ, इजरायल, इटली, जापान, कोरिया, पोल्याण्ड, पोर्चुगल लगायतका देशबाट मोबाइल फोन चार्जर ल्याइएको हो । ती चार्जर नेपालमा ल्याउँदा नेपाल सरकारले ९४ करोड ३९ लाख मात्रै आम्दानी गरेको छ । मोबाइल फोन चार्जर नेपालमा आउने देशमध्ये सबैभन्दा बढी चीनबाट हो ।  उक्त देशबाट ३५ लाख ७० हजार थान चार्ज आएको छ । उक्त चर्जर खरिद गर्न २८ करोड १० लाख रुपैयाँ चीन पठाइएको छ । चीनबाट आएका ती चार्जबाट राज्यले जम्मा ८ करोड ६२ लाख राजस्व संकलन गरेको छ ।  यस्तै ११ महीनाको अवधीमा सबैभन्दा धेरै फोन चार्ज भारतबाट भित्रिएको छ । भारतबाट ३ लाख ७२ हजार ६९२ थान त्यस्ता फोन चार्ज नेपालमा आयात गरिएको छ । जसका लागि २ करोड १७ लाख लाख  रुपैँया खर्चनु परेको छ । भारतबाट आएका त्यस्ता फोन चार्जबाट  राज्यले जम्मा ८० लाख ९९ हजार राजश्व उठाएको छ ।  समग्रमा हेर्दा चीन र भारत मोबाइल चार्जरको प्रमुख स्रोत बनेका छन् । सस्तो र व्यापक आपूर्ति भएका कारण यिनै दुई देशमाथि नेपालको निर्भरता उच्च देखिएको छ । भारतमा पछिल्लो समय चार्जर निर्माणका लागि सरकारले त्यस्ता उद्योगलाई विशेष प्राथमिकतामा राख्दै सुविधा समेत दिँदै आएको छ । त्यहाँ खासगरी पीएलआई, पीएमपी, मेक इन इण्डिया कार्यक्रम सञ्चालन भइरहेका छन् । ती कार्यक्रमहरूले चिपसेट, चार्जर, कनेक्टरहरु उत्पादक गर्नेहरुलाई विशेष सहुलित दिइरहेको छ ।  अर्थतन्त्रमा बलियो हुँदै गइरहेको चीन समेत इलेक्ट्रोनिक समान निर्माणमा छर्लङ मारिरहेको छ । चीनको मोबाइल चार्जर बजार २०२३ मा लगभग ५.८ खर्ब रुपैँया रहेको थियो । जसलाई २०३० सम्म यसलाई भारी रुपमा बढाउने लक्ष्य राखिएको छ ।   भारत, चीनले आफ्ना यस्ता उत्पादित इलेक्ट्रोनिक वस्तुहरुलाई विश्वभर फैलाउन तीव्र प्रतिस्पर्धा गरिरहेका छन् । उनीहरु तिब्र रुपमा लाग्दा नेपालमा भने यस्ता वस्तु उत्पादनमा खासै जोड दिइएको छैन । सरकारका नीतिहरुले समेत त्यतातर्फ ध्यान दिन सकिरहेको छैन ।   

मन्जुश्री फाइनान्सले सुरु गर्‍यो ‘इन्स्टा फन्ड ट्रान्सफर’ सेवा, अब अन्तरबैंक रकमान्तर निःशुल्क

काठमाडौं । मन्जुश्री फाइनान्सले डिजिटल सेवामा नवीनतम सुधार गर्दै ‘इन्स्टा फन्ड ट्रान्सफर’ मार्फत निःशुल्क अन्तरबैंक रकमान्तर सेवा सुरु गरेको छ । ग्राहकको डिजिटल बैंकिङ अनुभवलाई सहज, सुरक्षित र प्रभावकारी बनाउने उद्देश्यसहित ल्याइएको यो सुविधा मन्जुश्री स्मार्ट मोबाइल बैंकिङ एप अन्तर्गत उपलब्ध हुनेछ । यसमार्फत एनपीएसमा आबद्ध कुनै पनि बैंक तथा वित्तीय संस्थामा सजिलै रकम ट्रान्सफर गर्न सकिने कम्पनीले जनाएको छ । मन्जुश्री फाइनान्सले ग्राहकको विश्वास र सन्तुष्टिलाई प्राथमिकता दिँदै निक्षेपमा आकर्षक ब्याजदर तथा सुलभ कर्जासुविधा प्रदान गर्दै आएको छ । हालसम्म २७ शाखा र १ बिस्तारित काउन्टरमार्फत सेवा दिइरहेको मन्जुश्रीले १ लाख ५० हजारभन्दा बढी सन्तुष्ट ग्राहकहरूको सेवा गरिरहेको छ ।    

अबैध रकमको बाटो बन्द गर्नुपर्ने समय आएको छ : अध्यक्ष ओझा

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले सम्पत्ति शुद्धीकरण विरूद्ध नीति, रणनीति, प्रणाली र मापदण्ड तयार गरी कार्यान्वयन गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएका छन् । नेपाल बीमा प्राधिकरणद्वारा बीमकका एएमएल/सीएफटी कार्यान्वयन अधिकारीहरूसँग आज काठमाडौंमा आयोजित दक्षता अभिवृद्धि कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओझाले सम्पत्ति शुद्धीकरण विरूद्ध प्राधिकरणले जारी गरेका निर्देशिका र निर्देशनहरू बमोजिम आन्तरिक नीति तथा रणनीति तयार एवम् परिमार्जन गरी कार्यान्वयन गर्न निर्देशन दिए । अध्यक्ष ओझाले भने, 'बीमा क्षेत्रमा सम्पत्ति शुद्धीकरण हुन नदिन रोकथामका उपायहरूलाई बलियो बनाउनुपर्छ, प्रतिवद्ध भएर लाग्नुपर्छ, बीमा, लघुबीमा र पुनर्बीमाका जोखिम फरक फरक हुनसक्छन्, जोखिमको सही मूल्याङ्कन गर्नुपर्छ, ठीक हो होइन निर्क्यौल गर्नुपर्छ, त्रुटी पत्तालगाएर रोक्नुपर्छ, जोखिम विश्लेषणको दक्षता अभिवृद्धि गर्नुपर्छ ।' बीमा गर्ने व्यक्तिको आम्दानीको स्रोत ठीक हो होइन, बीमा गर्न वित्तीय क्षमता राख्छ राख्दैन भन्ने कुरा बीमा कम्पनीले पहिले नै निर्क्यौल गर्नुपर्ने उल्लेख गर्दै अध्यक्ष ओझाले भने, 'बीमा कम्पनीहरूको वित्तीय जोखिमाङ्कनमा समस्या छ, वित्तीय जोखिमाङ्कनलाई बलियो बनाउनुपर्छ, बीमा गर्ने व्यक्तिको आर्थिक स्रोत ठीक हो होइन, वित्तीय क्षमता राख्छ राख्दैन, बीमा गरेको सम्पत्ति बैध हो होइन लगायत सबै विषयमा जोखिमाङ्कनै क्रममा हेर्नुपर्छ, अबैध रकम आउने बाटो बन्द गर्नुपर्छ, यसो गर्न सकेमा हामी सुरक्षित हुन्छौं ।'  सम्पत्ति शुद्धीकरण विरूद्धको कार्य राज्यको प्राथमिकता भएको र राज्यको प्राथमिकता प्राधिकरणको पनि प्राथमिकता भएकाले सोही अनुरूप बीमा क्षेत्रमा पनि सम्पत्ति शुद्धीकरण विरूद्ध एकजूट भएर काम गर्नुपर्छ भन्नुहुँदै अध्यक्ष ओझाले सम्पत्ति शुद्धीकरणको विषयलाई लिएर कारवाहीको अवस्था आउन नदिने गरी कानून बमोजिम संरचनामा सुधार गरी रोकथामका उपायहरू अवलम्बन गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिए । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले बीमा क्षेत्रमा सम्पत्ति शुद्धीकरण विरूद्ध बीमकहरूलाई सबल बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । वित्तीय जानकारी इकाईका प्रमुख वासुदेव भट्टराईले बीमा क्षेत्रमा सम्पत्ति शुद्धीकरण निवारणका लागि बीमा कम्पनीहरूले विषयगत जोखिमका आधारमा जोखिमका क्षेत्र पहिचान गरी नियन्त्रण संयन्त्रलाई प्रभावकारी बनाउनुपर्ने जानकारी दिए । कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै नेपाल बीमा प्राधिकरणका नियमन महाशाखाका निर्देशक शाम्भ राज लामिछानेले बीमा क्षेत्रमा सम्पत्ति शुद्धीकरण निवारणका लागि पालना गर्नुपर्ने प्रावधान, रोकथामका उपाय र सुधारका क्षेत्रहरू लगायतका विषयमा बीमकका सम्बन्धित अधिकारीहरूलाई विस्तृत रूपमा जानकारी दिन कार्यक्रम आयोजना गरिएको बताए । कार्यक्रममा जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी, लघु जीवन बीमा कम्पनी, लघु निर्जीवन बीमा कम्पनी र पुनर्बीमा कम्पनीका एएमएल/सीएफटी कार्यान्वयन अधिकारीहरूको सहभागिता रहेको थियो ।