विकासन्युज

सरसफाईसम्बन्धी सचेतना घरघरमा फैलाउनुपर्छ : कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले सरसफाईसम्बन्धी सचेतना घरघरमा फैलाउनुपर्नेमा जोड दिएका छन् । काठमाडौंमा आयोजित ६ महिने दैनिक सफाइ अभियान समापन कार्यक्रममा बोल्दै उनले यस्तो जोड दिएका हुन् ।  उनले सफा गर्ने अभियान मात्रै नभएर अब सचेतना फैलाउने कार्यक्रम पनि शुरु गर्नुपर्ने बताए । घरघरमा सचेतना फैलाउँदै सफा गर्न थालेपछि फोहोर गर्नेहरूलाई पनि लाज लाग्ने र सफाइ गर्नतर्फ लाग्ने बताए । बौद्ध क्षेत्र पर्यटकीय गन्तव्यको विस्तार हुँदै गएको र बिस्तारै धेरै होटेलहरू पनि खुल्न थालेको बताए । ठमेल लगायतका ठाउँका पर्यटकहरू बौद्धतर्फ आकर्षित हुन थालेको बताउँदै उक्त क्षेत्र पर्यटकीय, वातावरणीय र सांस्कृतिक हिसावले पनि उपयुक्त भएको जिकिर गरे ।   उनले भने, 'बौद्ध क्षेत्र पर्यटकीय गन्तव्य हुँदै छ । बिस्तारै धेरै होटेलहरू यहाँ खुल्दै छन् । धेरै पर्यटकहरू पनि यतै बसेको देखिन्छ । बिस्तारै ठमेल लगायतका ठाउँका पर्यटकहरू यता आकर्षित हुन्छन् जस्तो मलाई लाग्छ । हामीले कार्यक्रम सफा गर्ने मात्रै नभएर अब अवारनेश फैलाउने पनि गर्नुपर्छ ।'   उनले सरसफाई अभियानलाई काठमाडौंभर सञ्चालन गर्नुपर्नेमा समेत जोड दिए ।   

इरान-इजरायल युद्धमा अमेरिकाको सीधा हस्तक्षेप, मध्यपूर्वमा संकट गहिरिँदै

काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार घोषणा अमेरिकाले इरानका आणविक केन्द्रहरूमा आक्रमण गरेको घोषणा गरेका छन् । यससँगै अमेरिका इजरायलको पुरानो शत्रु र क्षेत्रीय शक्तिसँगको युद्धमा मुछिएको छ। ‘केही बेरअघिमात्रै अमेरिकी सेनाले इरानी शासनका तीन प्रमुख आणविक केन्द्रहरू- फोर्डो, नातान्ज र इस्फाहानमा विशाल हमला गरेको छ,’ ट्रम्पले ह्वाइट हाउसबाट सम्बोधन गर्दै भने । अमेरिकी नौसेनाका सब्मेरिनहरूले पनि इरानमा ३० भन्दा बढी टोमहक मिसाइल प्रहार गरेको दुई रक्षा अधिकारीहरूले एनबीसी न्यूजलाई जानकारी दिएका छन् । ट्रम्पले भने, ‘अमेरिका र इजरायलले सँगै एउटा टोलीको रूपमा काम गरे । सायद कुनै पनि टोलीले यति राम्रोसँग कहिल्यै काम गरेको थिएन । हामीले हाम्रो मित्र राष्ट्रमाथिको यो भयावह खतरा हटाउने दिशामा ठूलो फड्को मारेका छौं ।’ राष्ट्रपतिले अमेरिकी सेनालाई बधाई दिँदै भने, ‘यो अपरेसन जस्तो अपरेसन संसारले धेरै दशकदेखि देखेको थिएन । आशा छ, अब यसरी उनीहरूको सेवा लिनु परोस् भन्ने आवश्यकता नपरोस् ।’ ‘अब या त शान्ति हुनेछ अथवा इरानका लागि त्योभन्दा ठूलो विपद् आउनेछ जुन हामीले पछिल्ला आठ दिनमा देखेका छौं । सम्झनूस्, अझै धेरै निशाना बाँकी छन्,’ ट्रम्पले थपे । शनिबार ट्रम्पले ह्वाइट हाउसको सिचुएसन रूमबाट आक्रमणको विवरण हेरे, जहाँ उनीसँग राष्ट्रिय सुरक्षा टोली र निकटतम सहयोगीहरू पनि थिए । राष्ट्रपतिले सबैभन्दा पहिले शनिबार सामाजिक सञ्जालमार्फत आक्रमणको घोषणा गरेका थिए र लेखेका थिए, ‘प्राथमिक साइट फोर्डोमा पूर्ण बम आक्रमण गरिएको छ ।’ शनिबारको यो कदमले अमेरिका र इरानबीच प्रत्यक्ष सशस्त्र संघर्ष सुरु गराएको छ, जसले तेहरानको आणविक कार्यक्रम नष्ट गर्न र शासन परिवर्तन गर्न इजरायलको प्रयासमा अमेरिकाको संलग्नता झनै बढाएको छ । अमेरिकी आक्रमणपछि ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग कुरा गरेको ह्वाइट हाउसका एक अधिकारीले एनबीसी न्यूजलाई जानकारी दिए । इरानमाथि आक्रमण गर्ने निर्णयले अमेरिकी सेनालाई फेरि मध्यपूर्वमा सक्रिय युद्धमा तानिएको छ- जुन ट्रम्पले आफ्नो दोस्रो कार्यकालमा टाढा रहने वाचा गरेका थिए । यो निर्णय ४८ घण्टा अगाडिसम्मको स्थितिबाट ठूलो मोड हो, किनकि ट्रम्पले भनेका थिए कि अमेरिका इजरायल र इरानबीचको विवाद कूटनीतिक रूपमा समाधान हुन दुई हप्ता कुर्नेछ । ‘इरानसँग वार्ता हुने सम्भावना अझै धेरै छ वा छैन भन्नेमा आधारित भएर म अर्को दुई हप्ताभित्र निर्णय लिनेछु,’ ट्रम्पले बिहीबार ह्वाइट हाउसबाट जारी गरेको विज्ञप्तिमा भनेका थिए । भित्रभित्रै ट्रम्प प्रशासन इरानसँग आणविक कार्यक्रमबारे सम्झौता गर्न प्रयासरत थियो र पछिल्ला केही महिनामा ट्रम्पले नेतान्याहुलाई हमला नगर्न सुझाव दिएको बताइएको थियो । तर अब त्यो कूटनीतिक बाटो बन्द हुनसक्छ । इरानी सर्वोच्च नेता आयातोल्ला अली खामेनीले भर्खरै भनेका थिए, ‘अमेरिकी सेनाले सैन्य रूपमा प्रवेश गरेमा त्यसको क्षतिपूर्ति कहिल्यै गर्न नसक्ने क्षति हुनेछ ।’   ‘यदि उनीहरू सैन्य रूपमा भित्रिए भने त्यसको नोक्सानी कहिल्यै नभरिने गरी हुनेछ,’ उनले इरानी सरकारी टेलिभिजनमार्फत जारी वक्तव्यमा थपे । अमेरिकी आक्रमणपछि इरानले अमेरिकासँग कसरी बदला लिने भन्ने विषय अझै स्पष्ट भएको छैन । आरबीसी क्यापिटल मार्केट्सका ग्लोबल कमोडिटी रणनीतिक प्रमुख हेलिमा क्रफ्टका अनुसार तेहरानले होरमुजको जलडमरूमध्यमा बारुदी सुरुङहरू राखेमा त्यसको प्रत्यक्ष असर विश्व अर्थतन्त्र र आपूर्ति शृंखलामा पर्नेछ । इरान र ओमानबीचको यो साँघुरो जलडमरूमध्यबाट संसारको करिब २० प्रतिशत कच्चा तेल ट्याङ्करमार्फत ओसारिन्छ । यदि सुरुङहरू राखिए भने जलडमरूमध्य बन्द हुनसक्छ, किनकि जहाजहरूले सुरुङहरू कहाँ राखिएका छन् भनेर थाहा पाउने छैनन् । ‘हामीले पहिले नै इरानले जहाजका ट्रान्सपोन्डरहरूलाई धेरै आक्रामक रूपमा जाम गरिरहेको रिपोर्ट पाएका छौं,’ क्रफ्टले सीएनबीसीको ‘फास्ट मनी’ कार्यक्रममा बताइन् ।  कतारइनर्जी र ग्रीक शिपिङ मन्त्रालयले आफ्ना जहाजहरूलाई सकेसम्म जलडमरूमध्यबाट टाढा रहन पहिले नै सचेत गराइसकेका छन् । शनिबार अमेरिकी आक्रमणपछि यस्ता थप चेतावनीहरू आउने अपेक्षा गरिएको छ । ट्रम्प र उनका पूर्ववर्ती अमेरिकी राष्ट्रपतिहरूले सधैं इरानलाई आणविक हतियार राख्न नदिने अडान लिँदै आएका छन् । आफ्नो पहिलो कार्यकालमा ट्रम्पले ओबामा प्रशासन र अन्य राष्ट्रहरूले २०१५ मा इरानसँग गरेको आणविक सम्झौताबाट अमेरिका बाहिर निकालेका थिए र त्यसले अमेरिका सुरक्षित नगर्ने र तेहरानलाई प्रशोधन गर्ने योजना रोकिने सुनिश्चित नगर्ने जिकिर गरेका थिए । इजरायलले सधैं इरान आणविक हतियार बनाइरहेको दाबी गर्दै आएको छ र यसअघि पनि हमला गर्ने धम्की दिएको थियो । तर अहिलेसम्म तेलअविवले लक्षित हत्या र साइबर आक्रमणसम्म मात्रै सीमित राखेको थियो । मार्चमा ट्रम्पकी राष्ट्रिय गुप्तचर निर्देशक तुलसी गब्बार्डले कंग्रेससमक्ष भनेकी थिइन् कि अमेरिकी गुप्तचर निकायको मूल्याङ्कन अनुसार ‘इरानले अहिले आणविक हतियार निर्माण गरिरहेको छैन र सर्वोच्च नेता खामेनीले सन् २००३ मा स्थगित गरेको आणविक हतियार कार्यक्रम पुनः सुरु गर्न स्वीकृति दिएका छैनन् ।’   तर ट्रम्पले आफ्नै क्याबिनेट अधिकारीको मूल्याङ्कनलाई पटकपटक अस्वीकार गर्दै आएका छन् । ‘म उनलाई के भनिन् भन्नुमा चासो राख्दिनँ। मलाई लाग्छ उनीहरू एकदम नजिक पुगेका थिए,’   ट्रम्पले गत साता एयर फोर्स वनमा भनेका थिए ।

बैंकिङ प्रणालीमा अधिक तरलता कायमै, फेरि ६० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाडौं । राष्ट्र बैंकले आइतबार ६० अर्ब निक्षेप खिच्दैछ । निक्षेप संकलन उपकरण बोलकबोलमार्फत राष्ट्र बैंकले बैंकिङ प्रणालीमा थ्रुपिएको उक्त निक्षेप खिच्न लागेको हो । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि चालु आर्थिक वर्ष २०८१/८२ सुरुवातबाटै नै राष्ट्र बैंकले निरन्तर तरलता खिच्दै आएको छ ।  नेपाल राष्ट्र बैंकले दिएको जानकारीअनुसार निक्षेप बढेको बढ्यै गर्दा आइतबार अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न लागिको हो । ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने भोली बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज २०८२ साउन १८  गते भुक्तानी हुने राष्ट्र बैंकले जनाएको छ । बोल गर्न सकिने रकम न्युनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ । आइतबारका लागि जारी बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । अहिले कुल निक्षेप ७० खर्बमाथि पुगेको छ । बैंकमा ठूलो मात्रमा निक्षेप थ्रुपिएपनि लगानी हुन सकिरहेको छैन । लगानीकर्ताको आत्मविश्वासमा अझै पनि कमी रहेको बैंकबाट प्रवाह हुने कर्जा बढ्न नसक्नुले पनि पुष्टी गरेको छ । कर्जा प्रवाह नबढ्ने र बैंकमा अधिक तरलता भएपनि राष्ट्र बैंकले रकम खिच्दै आएको छ । राष्ट्र बैंकले बोलकबलमार्फत पुँजी धेरै हुँदा मात्रै नभई कम हुँदा पनि मौद्रिक उपकरण प्रयोग गर्दै आएको छ । गत साता पनि नेपाल राष्ट्र बैंकले एकै दिन ९० अर्ब खिचेको थियो । राष्ट्र बैंकले रिभर्स रिपो, निक्षेप संकलन, आउटराइट सेल र बन्ड जस्ता उपकरणमार्फत प्रणालीमा अधिक भएको रकम खिच्ने गरेको छ ।   

सुनचाँदी बजार : सुन बढ्यो, चाँदी घट्यो

काठमाडौं । विगत केही दिनदेखि उच्च वृद्धि भएको सुनचाँदीको मूल्यमा बिहीबारदेखि सामान्य गिरावट आएको छ । शुक्रबारको तुलनामा आज बजार खुल्दा सुन तोलामा ५०० रुपैयाँले बढेको छ भने र चाँदी १० रुपैयाँले घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार एक तोला सुनको मोल एक लाख ९५ हजार २०० रुपैयाँ तथा सोही परिमाणको चाँदीको मोल दुई हजार १६० रुपैयाँ निर्धारण भएको छ । शुक्रबार प्रतितोला सुन एक लाख ९४ हजार ७०० रुपैयाँ र चाँदी दुई हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।  अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३६७ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

दरबारमार्गमा जे एण्ड कोको नयाँ लक्जरी स्टोर, एम्पोरियो अरमानी पहिलोपटक नेपालमा

काठमाडौं । लक्जरी रिटेलर जे एण्डको ले राजधानीको दरबारमार्गमा नयाँ फ्ल्यागशिप स्टोर रूपमा उद्घाटन गरेको छ । यस अवसरमा कम्पनीले पहिलोपटक नेपालमा विश्वप्रसिद्ध इटालियन फेसन ब्रान्ड एम्पोरियो अरमानी को प्रवेश गराएको छ भने, प्रतिष्ठित स्विस लक्जरी ब्रान्ड बाली लाई नयाँ जोश र पहिचानसहित पुनः लन्च गरिएको छ । स्टोरको उद्घाटन नेपालका प्रतिष्ठित उद्योगपति राजेन्द्र खेतान र श्रीमती आइरा झुनझुनवालाद्वारा सम्पन्न भएको थियो, जसले अनुभव र नयाँ पुस्ताको स्टाइल नेतृत्वलाई प्रतिनिधित्व गर्छन् । राजधानीको मुटुमा अवस्थित यो स्टोरले जे एण्ड कोको अन्तर्राष्ट्रिय लक्जरी ब्रान्डहरूलाई नेपाली ग्राहकहरूसम्म पुर्‍याउने प्रतिबद्धता झल्काउँछ । आधुनिक तथा सुरुचिपूर्ण इन्टेरियरले सजिएको यो बुटिकले उपभोक्तालाई उच्चस्तरीय किनमेल अनुभव प्रदान गर्छ । 'यो विस्तार नेपालको फेसन क्षेत्रमा नयाँ अध्याय हो,' जे एण्ड कोका प्रबन्ध निर्देशक पंकज झुनझुनवाला भन्छन्, 'एम्पोरियो अरमानीले शालीनता र शहरी सौन्दर्य ल्याउँछ भने बाली ले स्विस इतिहासलाई नयाँ दृष्टिकोणसहित पुनः जीवन्त बनाएको छ । यी ब्रान्डहरू एउटै छानामुनि नेपालमा ल्याउन पाउँदा हामी गौरवान्वित छौं ।' एम्पोरियो अरमानीले नेपालमा पहिलोपटक आफ्नो परिष्कृत इटालियन डिजाइन, न्यूनतावाद, र आधुनिक शैली सहितका उत्पादनहरू प्रस्तुत गर्दैछ, जुन विशेषगरी फेसनप्रेमी युवापुस्तालाई लक्षित गरिएको छ । उता, बालीले आफ्नो स्विस हस्तकला र उत्कृष्टताको परम्परालाई आधुनिक डिजाइन दृष्टिकोणसँग जोड्दै नेपाली बजारमा पुनरागमन गरेको छ, जसले लक्जरी फुटवेयर र एक्सेसरीजप्रतिको धारणा नै बदल्ने अपेक्षा गरिएको छ । उद्घाटन समारोहमा नेपालका फैशन, व्यापार, र जीवनशैली क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थितिले जे एण्ड को लाई नेपालको लक्जरी खुद्रा बजारमा ट्रेन्डसेटरको रूपमा थप स्थापित गरेको छ ।

गत शुक्रबारदेखि अवरुद्ध बनेको कालीगण्डकी करिडोर अझै खुलेन

गुल्मी । गत शुक्रबारदेखि अवरुद्ध बनेको गुल्मीको कालीगण्डकी करिडोर सडकमा अझै खुलेको छैन । लामो समयसम्म सडक अवरुद्ध बनेका कारण स्थानीयवासी थप समस्यामा परेका छन् । कालीगण्डकी गाउँपालिका–१ अन्तर्गत हर्मीचौर–अर्बेनी सडकअन्तर्गत गरगरेमा शुक्रबार अपराह्नदेखि सडकमा सुक्खा पहिराले उक्त सडक तीन  दिनदेखि पूर्ण रूपमा अवरुद्ध बनेको छ । सडक अवरुद्ध बनेपछि गाउँपालिका केन्द्र पुर्तिघाट जाने र पुर्तिघाटबाट बुटवलसम्म जाने सवारीसाधन बीच बाटोमा अलपत्र परेका छन् । सडक सञ्चालन गर्न पहिरोग्रस्त क्षेत्रमा तीनवटा डोजर तयारी अवस्थामा राखिएका भए पनि पहिरो खसिरहेको हुँदा सडक सञ्चालन गर्न समस्या परको कालीगण्डकी गाउँपालिका अध्यक्ष बेदबहादुर थापाले बताए ।  'सडकभन्दा धेरै माथिबाट लगातार सुक्खा पहिरो खसिरहेको छ, हामीले यात्रीको सुरक्षालाई ध्यानमा राखेर प्रहरी टोलीलाई पहिरोग्रस्त क्षेत्रमा खटाएका छौँ, यात्रीलाई हर्मिचौर माथिबाट देउरालीहुँदै अर्बेनीकोटको वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेका छौँ', जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारुले भने ।   पहिरो झर्ने क्रम नरोकिएका कारण उनले आज केलुकीसम्म पनि उक्त सडक सञ्चालन हुनसक्ने अवस्था नरहेको बताए । लामो समयसम्म मुख्य सडक बन्द हुँदा त्यस क्षेत्रका नागरिकलाई समस्या परेको गाउँपालिका अध्यक्ष थापाले बताए । 'सडक कतिबेला खुल्छ भनेर नागरिकले बारम्बार सोधिरहनुहुन्छ, तीन दिन भयो सडक पूर्ण रूपमा बन्द छ, के भनेर नागरिकलाई जवाफ दिने अवस्था यस्तो छ', उनले भने ।  

पाँचखालमा ‘विषादीरहित’ तरकारी संकललन केन्द्र सञ्चालन

काभ्रेपलाञ्चोक । यहाँको खाद्यान्न तथा तरकारीको भण्डारका रूपमा परिचित पाँचखाल नगरपालिकामा विषादीरहित तरकारी संकलन गर्न लक्षित कृषि उपज संकलन तथा बजार केन्द्र स्थापना गरिएको छ । रासायनिक विषादीको प्रयोग नगरी जैविक विषादीको मात्र प्रयोग गरी उत्पादिन भएका तरकारी संकलन गर्न उक्त केन्द्र स्थापना गरिएको हो ।  केन्द्र स्थापनार्थ लवग्रीन नेपाल नामक संस्थाको २५ लाख रुपैयाँ र पाँचखाल नगरको नौ लाख रुपैयाँको साझेदारी गरिएको थियो । पाँचखालका नगरप्रमुख महेश खरेलका अनुसार विशेषगरी एकीकृत शत्रुजीव व्यवस्थापन (आइपीएम) प्रविधिबाट उत्पादन गरिएका तरकारी संकलन गर्न केन्द्र सञ्चालनमा ल्याइएको हो ।   'केन्द्रमा संकलन गरिएका कृषि उपजको प्याकेजिङ, ब्राण्डिङ र सर्टिङ गरेर राजधानी काठमाडौं आपूर्ति गर्ने उद्देश्य राखेका छौँ', खरेलले भने । अग्र्यानिक तरकारी उत्पादनले पाँचखालमा उत्पादन भएका तरकारीबारे दशकौँदेखि गरिएको दुष्प्रचार मेटाउन सफलतातर्फ उन्मुख भएको उनको भनाइ छ । अब हाटबजार सञ्चालनार्थ प्रक्रिया अघि बढाइने खरेलले बताए ।  केन्द्रको जापान सरकारको अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)का नेपालका प्रमुख प्रतिनिधि माचुजाकी मिजुकी, नगरप्रमुख खरेल र लवग्रीन नेपालका अध्यक्ष अमिरा दलीले सयुक्त रूपमा शनिबार शुभारम्भ गरे । केन्द्रले नगरमा विषादीरहित तरकारी उत्पादनमा सहयोग पुग्ने जाइका नेपालका प्रमुख प्रतिनिधि माचुजाकीले बताए । नगर कार्यालय र लवग्रीन नेपालद्वारा संयुक्त रूपमा सञ्चालन गरिएको वातावरणमैत्री एकीकृत दिगो कृषि विकास परियोजनाले करिब चार वर्षदेखि सञ्चालन गरेको ‘विषादीमुक्त पाँचखाल’ बनाउने अभियानअन्तर्गत हाल उत्पादित तरकारीलगायत बाली अग्र्यानिक हुँदै गएको जनाइएको छ । केन्द्रमा १८ महिने आइपीएम कृषक पाठशालामा २२ थरिका आइपीएम प्रविधि अध्ययन गरेका एक हजार २०० अगुवा किसानले जैविक विषादी प्रयोग गरी उत्पादित तरकारी संकलन हुने अपेक्षा गरिएको छ ।  

डोकामा पानी बोक्ने दिन गए, धजे-मकरजुङ गाउँका घरमै धारा

इलाम । सूर्योदय नगरपालिका–१ स्थित धजे-मकरजुङ गाउँमा वर्षौँदेखि डोकामा पानी ओसारेर गुजारा गर्दै आएका बासिन्दाको घरआँगनमा अहिले स्वच्छ खानेपानीको धारो बगिरहेको छ । 'डोकामा पानी ल्याउने तीतो दिन सम्झिँदा अचेल सपनाजस्तै लाग्छ', ८० वर्षीय वीरबहादुर राईले भने । ६० वर्षीया तुलसा सापकोटा विगत सम्झिँदै भन्छिन्, 'पहिला एक गाग्री पानीका लागि घण्टौँ हिँड्नुपथ्र्यो, आजकल घरमा धारा बग्दा जीवन नै फेरिएको महसुस हुन्छ ।' विसं २०७५ देखि सुरु गरिएको धजे-मकरजुङ खानेपानी आयोजना २०८१ साल चैत २ गते सम्पन्न भई हाल एक सय ६७ घरमा धारा जडान गरिएको छ । कोशी प्रदेश सरकारको रु ५८ लाख २० हजारमा आयोजना सम्पन्न भएको उपभोक्ता समितिका अध्यक्ष टीका सापकोटाले बताए । जोगमाई खोलाबाट ९.८ किलोमिटर लामो पाइप लाइन बिछ्याएर ल्याइएको पानी सञ्चालनमा आएसँगै यहाँका नौ सय ४० उपभोक्ता लाभान्वित भएका छन् । शनिबार मकरजुङको सार्वजनिक भवनमा एक भव्य समारोहका बीच कोशी प्रदेशसभा सदस्य खिनु लङ्वा लिम्बू र सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले संयुक्त रूपमा आयोजनाको उद्घाटन गरे । प्रदेशसभा सदस्य लिम्बूले सुक्खा क्षेत्रसम्म पानी ल्याउन अनेकौँ चुनौती झेलिएको उल्लेख गरे । 'अब धजे-मकरजुङका बासिन्दाले शुद्ध पानी पाउनुभएको छ, खानेपानी हाहाकार अन्त्य भएको छ', उनले भने । उपभोक्ता समितिका अध्यक्ष सापकोटाका अनुसार योजनाअन्तर्गत ५० घनमिटर क्षमताका दुई र १० घनमिटर क्षमताका तीन थान ट्याङ्की निर्माण गरिएका छन् । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय झापा चन्द्रगढीका प्रमुख विकास काफ्लेले आयोजना निर्माणले स्थानीयको समस्या समाधान भएको बताए ।