विकासन्युज

'जिओ फ्लाईट' सञ्चालनमा : मोबाइलबाटै सहज र सस्तोमा हवाई टिकट पाईने

काठमाडौं । उपभोक्तालाई सस्तो, सहज र डिजिटल माध्यमबाट हवाई टिकट र भ्रमण प्याकेज उपलब्ध गराउने लक्ष्यसहित 'जिओ फ्लाईट' नामक नयाँ अनलाइन प्लेटफर्म सञ्चालनमा आएको छ । जोय ग्रुपले प्रविधिमैत्री सेवा विस्तार गर्ने उद्देश्यले यो प्लेटफर्म सार्वजनिक गरेको हो । एन्ड्रोइड र आइओएस दुवै संस्करणमा उपलब्ध रहेको 'जिओ फ्लाईट' मोबाइल एप तथा वेबसाइटमार्फत देशभित्र र बाहिरका हवाई टिकट सहजै खरिद गर्न सकिने सुविधा रहेको छ । साथै, प्रयोगकर्ताले धार्मिक, पारिवारिक, व्यवसायिक तथा व्यक्तिगत भ्रमण प्याकेज पनि एप वा वेबसाइटमार्फतै छनोट र खरिद गर्न सक्नेछन् । जिओ फ्लाईटका प्रबन्ध निर्देशक रमेश पौडेलका अनुसार यो एपले अन्य प्लेटफर्मभन्दा फरक र प्रयोगमैत्री अनुभव दिनेछ । 'अहिलेसम्म अधिकांश प्लेटफर्मबाट हवाई टिकट मात्र खरिद गर्न सकिन्थ्यो । तर, हाम्रो एपबाट सम्पूर्ण जानकारी प्राप्त गर्दै, सस्तो मूल्यमा टिकट तथा प्याकेजहरू उपलब्ध हुन्छन्,' पौडेलले भने । उनका अनुसार एपमार्फत उपलब्ध सेवाले प्रयोगकर्ता र सेवा प्रदायकबीचको दूरी कम गर्नेछ, र सम्पर्कमा आउने झन्झट हटाउनेछ । जिओ फ्लाईटमार्फत नयाँ व्यवसाय सुरू गर्ने, पर्यटन व्यवस्थापनसम्बन्धी जानकारी लिने र परामर्श प्राप्त गर्ने व्यवस्था पनि गरिएको छ । यसले नेपालको पर्यटन क्षेत्रलाई प्रविधिसँग जोड्दै, थप उचाइमा पुर्‍याउन सहयोग पुर्‍याउने कम्पनीको विश्वास छ ।

बैंकर र व्यवसायी छुट्याउने भए तीन वर्ष अनिवार्य कुलिङ पिरियड राखौं : सांसद गौतम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले बैंकर र व्यवसायी छुट्टाउने भए कुलिङ पिरियड राखिनुपर्ने बताएकी छन् । अर्थ समितिमा बिहीबार भएको बैंक तथा वित्तीय संस्था सम्बन्धि विधेयकमाथिको छलफलमा बोल्दै सांसद गौतमले यस्तो बताएकी हुन् ।  उनले राज्यले कुनै व्यवस्था गर्दै गर्दा उद्योग-व्यवसायीको सम्पतीको क्षति नहुनेगरि व्यवहारिक हिसाबले लिनुपर्ने बताइन् । बैंकर र व्यवसायी छुट्याउने भए कुलिङ पिरियड अनिवार्य रुपमा ३ वर्ष राख्नुपर्ने उनले बताइन् । सांसद गौतमले भनिन्–‘सबैको चासो बैंकर र व्यवसायी छुट्टाउनेमा छ । यदी छुट्याउने हो भने ३ वर्षको समय दिनुपर्छ । जसबाट उद्योगी, व्यवसायीहरुले सम्पत्ति व्यवस्थापन गर्न सकुन् ।’ उनकाअनुसार बैंर्कर र व्यवसायी छुट्टाउँदा स्वार्थको द्वन्द अन्त्य हुनसक्छ । 

कलंकी-बसुन्धरा चक्रपथ विस्तार : फिल्ड सर्भे सम्पन्न, अब डिजाइनको काम सुरु हुने

काठमाडौं । चक्रपथ विस्तार परियोजना अन्तर्गत दोस्रो खण्ड (कलंकी-बसुन्धरा) को फिल्ड सर्भे सम्पन्न भएको छ । काठमाडौं चक्रपथ सुधार योजनाका अनुसार, चिनियाँ प्राविधिक टोलीले करिब दुई महिना लगाएर ८.२ किलोमिटर लामो यस सडक खण्डको सर्भे पूरा गरेको हो ।  योजनाका प्रमुख कृष्णनाथ ओझाले ’सीसीसीसी फस्र्ट हाइवे कन्सल्टेन्ट्स’ र ’सिआन फाङ्झाउ इन्जिनियरिङ कन्सल्टिङ’का १८ जना प्राविधिक सर्भेमा संलग्न रहेको जानकारी दिए ।  ‘सर्भे सकिएसँगै अब चिनियाँ टोलीले डिजाइनको काम सुरु गर्नेछ,’ प्रमुख ओझाले भने, ‘यो खण्ड चीन सरकारको अनुदानमा बन्ने भएकाले विस्तृत डिजाइन चीनबाटै तयार हुनेछ । डिजाइन तयार भएपछि स्वीकृतिका लागि नेपाल सरकारलाई पेस गरिनेछ । हाम्रो भूमिका समन्वय र सहजीकरणमा सीमित रहन्छ ।’ उनका अनुसार, आगामी तीन महिनाभित्र अर्थात् असोजसम्ममा डिजाइनको प्रतिवेदन प्राप्त हुने अपेक्षा गरिएको छ। सडक विभागबाट डिजाइन स्वीकृत भएपछि मात्र निर्माण प्रक्रिया अघि बढ्नेछ । यो परियोजना पूर्णतः अनुदानमा आधारित भएकाले सर्भे, डिजाइन, निर्माण कम्पनी छनोट र निर्माण लगायतका सम्पूर्ण काम चिनियाँ पक्षले नै गर्नेछ । विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएपछि मात्रै आयोजनाको कुल लागत टुंगो लाग्ने ओझाले बताए । माछापोखरीमा फ्लाइओभरको प्रस्ताव यसैबीच, यस खण्डको माछापोखरी चोकमा फ्लाइओभर निर्माणका लागि पनि प्रस्ताव गरिएको छ ।  योजना प्रमुख ओझाका अनुसार, अत्यधिक ट्राफिक जामलाई मध्यनजर गर्दै चिनियाँ पक्षले फ्लाइओभर निर्माणको सम्भाव्यतासहित सर्भे गरेको हो । यद्यपि, फ्लाइओभरको अन्तिम स्वरूप (मोडेल) भने सडक विस्तारको डिजाइन स्वीकृत भएपछि मात्र यकिन हुनेछ ।

त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित

काठमाडौं ।  त्रिभुवन विश्वविद्यालयको वार्षिक साधारणसभा बैठकले विभिन्न संकाय र तहमा उत्तिर्ण भएका ८९ हजार एक सय ९१ विद्यार्थीहरुसहितको ६३ औँ ग्रेसलिष्ट पारित गरेको छ । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीका अध्यक्षतामा  प्रधानमन्त्री निवास, बालुवाटारमा बिहीबार सम्पन्न बैठकले रजिष्ट्रार प्राडा केदारप्रसाद रिजालद्वारा प्रस्तुत ग्रेस लिष्ट पारित गरेको हो ।  बैठकमा आर्थिक वर्ष २०८२/८३ का लागि बजेट तथा कार्यक्रम प्रस्तुत भएको छ । कुलपति ओलीले विश्वविद्यालयलाई २१औँ शताब्दीको समय सुहाउँदो प्रतिस्पर्धी र सक्षम विश्वविद्यालयका रुपमा स्थापित गर्न आग्रह गरे । शिक्षा, सहकुलपति एवं विज्ञान तथा प्रविधिमन्त्री रघुुजी पन्तले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय सङ्कल्प पूरा गर्न शिक्षा क्षेत्रको महत्वपूर्ण भूमिका हुने भएकाले विश्वविद्यालयले त्यस अनुसार काम गर्नुपर्नेमा जोड दिए । नवनियुक्त उपकुलपति प्राडा दीपक अर्यालले विश्वविद्यालयमा कुल विद्यार्थीको कम्तीमा एक प्रतिशत (करिव चार हजार) विदेशी विद्यार्थी हुने गरी लाग्नुपर्ने बताए ।  

हिमताल विस्फोटबाटै रसुवामा बाढी

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हिमताल विस्फोटबाटै गत मंगलबार बिहान रसुवास्थित नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा बाढी आएको प्रारम्भिक निष्कर्ष निकालेको छ । विभागले ‘सेन्टिनेल’ उपग्रहबाट गरेको अध्ययनले हिमताल फुटेर बाढी सिर्जना भएको जनाएको छ । विभागका बाढीविद् विनोद पराजुलीले ‘सुप्राग्लेशियल’ ताल फुट्दा बाढी आएको प्रारम्भिक अनुमान गरिएको जानकारी दिए । 'रसुवागढीस्थित नेपाल–चीन सीमाबाट करीब ३६ किलोमिटरमाथि (अक्षांशः २८.४०४३, देशान्तरः ८५.६४६९, समुद्री सतहदेखि करिब ५१५० मिटर उचाइ) ल्हेन्दे खोलाको माथिल्लो जलाधार क्षेत्रमा पर्दछ । हिम नदीको करिब बीच भूभागमा विकास भएको सुप्राग्लेशियल ताल (हिमताल) करिब ०.७५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको देखिन्छ', उनले भने, 'उक्त हिमतालको क्षेत्रफल करिब ०.६० वर्ग किलोमिटर मात्र देखिएको छ । बाढीको घटना हुनुपूर्व र घटना भइसकेपछिको तालको क्षेत्रफलमा परिवर्तन भएको देखाएको छ । अध्ययनले उक्त समयावधिमा तालबाट पानी निकास भएको र त्यसको प्रभाव तालको तलको क्षेत्रमा परेको देखिएको छ ।' पराजुलीका अनुसार यस सम्बन्धमा मित्रराष्ट्र चीनबाट थप स्थलगत प्रतिवेदन प्राप्त हुने अपेक्षा गरिएको छ । साथै आगामी दिनमा भू–उपग्रहमार्फत प्राप्त हुन सक्ने अन्य तस्बिरहरुले थप पुष्ट्याइँ दिन सक्नेछ । जल तथा मौसम विज्ञान विभागले निरन्तर अध्ययन जारी राख्ने उनको भनाई छ । 'बाढी पूर्व र बाढीपछिको अवस्थाबीच उल्लेखनीय अन्तर देखिएको र विशेष गरी तालको क्षेत्रफल उल्लेख्य रूपमा घटेको देखिएको छ, जसअनुसार उक्त हिम तालबाट पानी निकास भएको देखिन्छ', उनले भने । अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) का वैज्ञानिकहरुले चीन–नेपाल सीमाको ल्हेन्दे खोलामा बनेको सुप्राग्लेशियल ताल फुटेर रसुवाको भोटेकोशीमा बाढी आएको पुष्टि गरेका छन् । 

एनआईसी एशिया बैंकले भन्यो–प्यान अपडेट नगरेर समस्या भए हामी जिम्मेवार हुँदैनौ

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई खातामा स्थायी लेखा नम्बर अद्यावधिक गर्न आग्रह गरेको छ । बैंकका अनुसार, 'आयकर ऐन, २०५८' बमोजिम ग्राहकका खाताबाट हुने कर कट्टी नेपाल सरकारको स्थायी लेखा नम्बर प्रणालीमा समावेश गर्न आवश्यक भएकाले प्यान अद्यावधिक अनिवार्य छ । ग्राहकहरूले बैंकको मोबाइल बैंकिङ एप वा वेब पोर्टल प्रयोग गरी सजिलै प्यान अद्यावधिक गर्न सक्नेछन् । साथै, प्यान अद्यावधिकको सुविधा देशभरका शाखा कार्यालयहरूमा समेत उपलब्ध गराइएको बैंकले जनाएको छ । बैंकले निक्षेपमा तिर्नुपर्ने ब्याजमा गरिएको कर कट्टीलाई इडीटीएस प्रणालीमा पठाउन प्यान आवश्यक भएको स्पष्ट पारेको छ । प्यान अद्यावधिक भएपछि कर कट्टी विवरण स्वचालित रूपमा मिलान हुने र कर चुक्ता प्रमाणपत्र लिन बैंक धाउनुपर्ने झन्झट हट्ने बैंकको भनाइ छ । बैंकले प्यान अद्यावधिक नगरेका ग्राहकको ब्याज कर समायोजनमा उत्पन्न हुन सक्ने समस्यामा बैंक जिम्मेवार नहुने स्पष्ट रूपमा जनाएको छ । यदि यसअघि प्यान उपलब्ध गराइसके पनि विवरण समावेश नभएको खण्डमा ग्राहकले नजिकको शाखा वा ग्राहक सेवा केन्द्र (१६६०–०१–७७७७१, ०१–५९७०१०१) मा सम्पर्क गर्न सक्नेछन् । सहायक प्रमुख कार्यकारी अधिकृत एवं प्रमुख सूचना अधिकारी अर्जुन राज खनियाले सबै ग्राहकलाई समयमै प्यान अद्यावधिक गरी लाभ लिन अनुरोध गरेका छन् ।

एक वर्षमै ४ खर्बले बढ्यो मुलुकको अर्थतन्त्र

काठमाडौं । एकै वर्षमा मुलुकको अर्थतन्त्र ४ खर्बले बढेको छ । अर्थ मन्त्रालयले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्ष ५७ खर्ब थियो । चालु आर्थिक वर्षमा ६१ खर्ब मुलुकको अर्थतन्त्र पुगेको छ । अर्थमन्त्रालयका अनुसार यसरी एकै वर्षमा मुलुकको अर्थतन्त्रको आकार ४ खर्बले बढेको हो । यस्तै राजस्व पनि एक वर्षको अवधिमा १ खर्ब ८ अर्बले बढेको छ भने पूँजीगत खर्चमा समेत गत वर्षको भन्दा ३६ अर्बले वृद्धि भएको छ ।  निजी क्षेत्रमा प्रवाहित कर्जा ८.७ प्रतिशतले बढेको छ । गत वर्ष यस्तो कर्जा ५.६ प्रतिशतले मात्रै बढेको थियो । रेमिट्यान्समा समेत १५.५ प्रतिशतले वृद्धि भएको अर्थमन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । गत वर्षको तुलनामा ७७.८ प्रतिशतले निर्यात वृद्धि भएको छ भने आयात १३.१ प्रतिशतले वृद्धि भएको छ ।  राष्ट्रिय तथ्यांक कार्यालयको सर्वेक्षणलाई आधार मान्दै अर्थतन्त्रका १८ वटा क्षेत्रको सूचकहरु सकारात्मक रहेको अर्थमन्त्रालयले तथ्य प्रस्तुत गरेको छ । जसमा सकारात्मक सुचांकहरुमा यातायात, निर्माण, खानी, विद्युत तथा ग्यास, व्यापार, बैंक तथा बीमा, उद्योग, घर जग्गा, सूचना प्रविधि, कृषि तथा वन, प्रशासनिक सेवा,स्वास्थ्य सेवा, वैज्ञानिक सेवा, औद्योगिक उत्पादन, शिक्षा, आवास तथा भोजनजस्ता क्षेत्र रहेका छन् ।    अर्थमन्त्रालयका अनुसार मुलुक भित्र लगानी मैत्री वातावरण बन्दै गएको छ । नीतिगत तथा कानूनी सुधारतर्फ व्यापक प्रगति भएको छ । नीतिगत सुधारतर्फ आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) ऐन, २०८१, आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन २०८१, निजीकरण (पहिलो संशोधन) ऐन, २०८१, भन्सार महसुल ऐन, २०८१, बैंकिङ कसुर तथा सजाय ऐन, २०८२, भन्सार ऐन अघि बढाइएको अर्थमन्त्रालयले जनाएको छ । त्यस्तै वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रतिनिधि सभा पेश गरिनुलाई पनि अर्थमन्त्रालयले उपलब्धि मानेको छ । पछिल्लो एक वर्षको बीचमा उच्चस्तरीय आर्थिक सुझाव सुधार आयोग गठन र प्रतिवेदन कार्यान्वयन शुरु भएको, निजी क्षेत्रको गुनासा तथा मागहरु सुनुवाइ र आत्मविश्वास वृद्धि भएको, निर्माण क्षेत्रको गुनासा र माग सुनुवाइ, अघिल्लो वर्षको दायित्व ३० अर्ब रुपैयाँ भन्दा बढी भुक्तानी तथा भुक्तानीको समस्या साम्य भएको अर्थमन्त्रालयको दाबी छ ।      अर्थमन्त्रालयकाअनुसार लक्ष्यअनुसारको राजस्व संकलन, पूँजीगत खर्चमा थप वृद्धि, ग्रे लिष्टबाट बाहिर निस्कने चुनौतीहरू अर्थतन्त्रमा देखिएका छन् ।  

चिमखोला-राहुघाट प्रशारण लाइनको परीक्षण थालियो, विद्युत केन्द्रीय प्रणालीमा जोडिने तयारी

म्याग्दी । म्याग्दीको राहुघाट वेशिनका जलविद्युत आयोजनाबाट उत्पादित विद्युतलाई केन्द्रीय प्रणालीमा आवद्ध गराउन निर्माण भएको दुई सय २० केभी क्षमताको चिमखोला–राहुघाट प्रशारण लाइनको परीक्षण थालिएको छ ।  पैतीस मेगावाट क्षमताको चिमखोला–मंगले राहुघाट, ४८.५ मेगावाट क्षमताको माथिल्लो राहुघाट,  २१.३ मेगावाटको ठूलोखोला र २३.५ मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत आयोजनाको विद्युतलाई केन्द्रीय प्रणालीमा आवद्ध गराउन चिमखोलादेखि गलेश्वर स्थित राहुघाट जलविद्युत आयोजनाको स्वीचयार्ड सम्म १३ किलोमिटर लामो प्रशारण लाइन निर्माण भएको हो ।  नेपाल विद्युत प्राधिकरण मार्फत रघुगङ्गा गाउँपालिका–३ अम्बाङमा निर्माणाधिन सवस्टेशन सम्पन्न नहुँदा सम्मको लागि अस्थायी रुपमा राहुघाटको स्वीचयार्डबाट २२० केभी क्षमताको दाना–खुर्कोट प्रशारण लाइन मार्फत केन्द्रीय प्रणालीमा विद्युत पठाउन लागिएको चिमखोला–मंगले राहुघाट र माथिल्लो राहुघाटको प्रर्वद्धक तुँदि पावरका प्रतिनिधि उपेन्द्र गौतमले जानकारी दिए ।  चिमखोला–मंगले राहुघाट र ठूलोखोला जलविद्युत आयोजनाको बाँध, सुरुङ, पेनस्टक पाइप लगायत भौतिक संरचना र विद्युतगृहका उपकरणको परीक्षण भइसकेको छ । माथिल्लो राहुघाट र माथिल्लो ठूलोखोला निर्माणको अन्तिम चरणमा छन् ।  चिमखोला देखि गलेश्वरस्थित राहुघाटको स्विचयार्ड जोड्ने प्रशारण लाइनमा विद्युत आपुर्ती गराएर परीक्षण गराउन थालिएको तुँदिका प्रतिनिधि गौतमले जानकारी दिए । परीक्षण लगत्तै केन्द्रीय प्रणालीमा विद्युत जोडिने उनले बताए । चिमखोलादेखि राहुघाटसम्म ३९ टावर छन् ।  चार  आयोजनाले सहकार्य गरेर एउटै प्रशारण लाइन मार्फत विद्युत आपूर्ति गर्ने संरचना बनाएका छन् । एकदेखि अर्को आयोजनाको स्वीचयार्ड सम्म सम्बन्धित आयोजना र त्यसपछि सवस्टेशनतर्फ सहकार्य गरेर प्रशारण लाइन बनाएका हुन् ।  परीक्षण शुरु भएको प्रशारण लाइनको टावर र तार नछुन तथा राहुघाट नदी किनारमा जाँदा सतर्कता अपनाउन तुँदि पावरले आज एक सार्वजनिक सूचना जारी गरेर प्रभावित क्षेत्रका बासिन्दाहरुलाई आग्रह गरेको छ । रघुगङ्गा गाउँपालिकाको ३, ४ र ७ नम्बर वडामा प्रशारण लाइन र टावर निर्माण भएको छ ।  विद्युतगृहमा पानी हाल्न थालेपछि नदीको सतह घटबढ हुने हुँदा माछा मार्ने, पौडि खेल्ने, नुहाउने, दाउरा छोप्न नदी किनारमा नजान तथा गाईबस्तु र पशुचौपाया नलैजान आयोजनाले अनुरोध गरेको हो । रासस