विकासन्युज

रसुवाको बाढीले ६०० मेगावाटका जलविद्युत आयोजना प्रभावित, दैनिक करोडौंको घाटा

काठमाडौं । चीनको तिब्बतबाट नेपाल प्रवेश गर्ने भोटेकोशी नदीमा मंगलबार आएको विनाशकारी बाढीले जलविद्युत क्षेत्रमा ठूलो क्षति पुर्याएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अनुसार, बाढीका कारण करिब ६०० मेगावाट भन्दा बढी क्षमताका आयोजनाहरू प्रभावित भएका छन् ।  इप्पानका अनुसार, सञ्चालनमा रहेका २५० मेगावाट बराबरका आयोजनाको उत्पादन पूर्ण रूपमा बन्द भएको छ भने ३५० मेगावाटभन्दा बढी क्षमताका निर्माणाधीन आयोजनाहरूको काम रोकिएको छ । कहाँ कति क्षति ? उत्पादन बन्द भएका आयोजनाहरूमा रसुवागढी (१११ मेगावाट), त्रिशूली ३ ‘ए’ (६० मेगावाट), चिलिमे (२२ मेगावाट), माथिल्लो मैलुङ (१४ मेगावाट), मैलुङ खोला (५ मेगावाट), त्रिशूली ३ ‘बी’ हब सबस्टेसनमा क्षति पुगेकाले मैलुङ, माथिल्लो मैलुङ, देवीघाट र त्रिशूली जलविद्युत केन्द्रबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोड्न नसकिएको इप्पानले जनाएको छ ।  यसैगरी निर्माण कार्य रोकिएका आयोजनाहरूमा माथिल्लो त्रिशूली–१ (२१६ मेगावाट) सुपर त्रिशूली (१०० मेगावाट), त्रिशूली ३ ‘बी’ (३७ मेगावाट) को प्रसारण लाइन र सबस्टेसनमा पुगेको क्षतिका कारण आगामी केही दिनसम्म विद्युत उत्पादन र प्रसारण ठप्प हुँदा दैनिक करोडौं रुपैयाँ घाटा हुने निश्चित रहेको इप्पानको भनाइ छ ।  इप्पानद्वारा उद्धार र पुनर्निर्माणका लागि आग्रह इप्पानले बाढीमा फसेका १५० जनाभन्दा बढी नागरिकको उद्धारमा खटिएकोमा नेपाल सरकार, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलप्रति विज्ञप्तिमार्फत् आभार व्यक्त गरेको छ । साथै, संस्थाले क्षतिग्रस्त संरचनाहरूको शीघ्र पुनर्निर्माणका लागि आवश्यक नीतिगत सहजीकरण गर्न र विद्युत उत्पादन तथा प्रसारण सुचारु गराउन सरकारसँग आग्रह गरेको छ । भविष्यमा यस्ता घटनाबाट थप जनधनको क्षति हुन नदिन आवश्यक कदम चाल्न पनि इप्पानले जोड दिएको छ । इप्पानले बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ताहरूको शीघ्र खोजी र घाइतेहरूको स्वास्थ्य लाभको कामना गरेको छ । साथै, देशभरका नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन पनि अपिल गरेको छ ।

ग्लोबल आईएमईले पायो २०२५ का लागि उत्कृष्ट बैंकको उपाधि

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२५ बाट सम्मानित भएको छ ।  यो अवार्डसगैं ग्लोबल आइएमई बैंक लगातार २ वर्ष ग्लोबल फाइनान्स म्यागाजिनका बेष्ट बैंक अवार्डबाट सम्मानित भएको हो । ग्लोबल फाइनान्सले ग्लोबल आइएमई बैंकलाई २०२४ मा पनि सम्मानित गरेको थियो ।  विश्वसनीयता, वित्तीय श्रोत परिचालन, पहुँच विस्तार, रणनीतिक सम्बन्ध स्थापना, व्यावसायिक तथा ग्राहकमैत्री सेवाहरूको विकास, क्रेडिट रेटिङ लगायतका मापदण्डहरूमा ग्लोबल आइएमई बैंक सन् २०२५ को लागि नेपालको उत्कृष्ट बैंक भएको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले यस सम्मानले ग्लोबल आइएमई बैंकलाई थप उत्कृष्ट सेवा प्रदान गर्न प्रोत्साहित गरेको बताउँदै यस सम्मानका लागि विभिन्न पक्षबाट सहयोग गर्ने नेपाल सरकार, नेपाल राष्ट्र बैंक लगायत अन्य नियामक निकायहरू, सेयरधनी, कर्मचारी तथा सम्पूर्ण ग्राहकमा खुसी साट्दै हार्दिक आभार व्यक्त गरे ।  ग्लोबल फाइनान्स म्यागाजिनले ग्लोबल आइएमई बैंकसहित अफ्रिका, एशिया प्यासिफिक, क्यारिबियन, मध्य अमेरिका, ल्याटिन अमेरिका, मध्य र पूर्वी युरोप, मध्य पूर्व, उत्तर अमेरिका र पश्चिम युरोप क्षेत्रका उत्कृष्ट बैंकहरूलाई सम्मान गरेको हो  ।   ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको यस प्रतिष्ठित अवार्डबाट सम्मानित हुने पहिलो नेपाली बैंक हो । ग्लोबल फाइनान्सले विश्वका उत्कृष्ट केन्द्रिय बैंक र वाणिज्य बैंकहरूलाई यो प्रतिष्ठित अवार्ड प्रदान गर्ने गर्दछ ।  ग्लोबल फाइनान्सले २०२५ को लागि हङकङको एचएसबीसी, भारतको स्टेट बैंक अफ इन्डिया, चीनको चाइना कन्स्ट्रक्सन बैंक, नेपालको ग्लोबल आइएमई बैंक, मलेशियाको यूओबी मलेशिया, बङ्लादेशको सिटी बैंक, जापानको एसएमबीसी लगायतका विश्वभरका विभिन्न बैंकहरूलाई विभिन्न विधामा सम्मानित गरेको हो ।  ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गरी समयसान्दर्भिक नविनतम् सेवाहरु प्रदान गर्दै आइरहेको ग्लोेबल आइएमई बैंकलाई ग्लोबल फाइनान्सबाट 'नेपालको उत्कृष्ट बैंक' को सम्मानले आगामी दिनमा बैंकलाई रचनात्मक सेवाहरू प्रदान गर्न प्रोत्साहित गर्नेछ । यस अघि पनि ग्लोबल आइएमई बैंक ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ । बैंकले अहिलेसम्म यस अवार्डसहित बैंक अफ द इयर २०१४, बेष्ट इन्टरनेट बैंक २०१६, बेष्ट बैंक नेपाल २०२४ र २०२५, बेष्ट बैंक ईएसजी नेपाल २०२४, बेष्ट इम्प्लोयर जस्ता प्रतिष्ठित अवार्डहरु प्राप्त गरिसकेको छ ।      

नक्सालमा खुल्यो सि-कार, नयाँ तथा पुराना गाडीको सोरुम, चाजिङ स्टेसन र क्याफे एकै ठाउँमा

काठमाडौं । नेपालकै अटो हब नक्सालमा सवारी साधनसम्बन्धी विभिन्न सेवा एकै थालोमा उपलब्ध गराउने उद्देश्यले ‘सि–कार’ सञ्चालनमा आएको छ । एक औपचारिक समारोहबीच महानायक राजेश हमालले सि–कारको शुभारम्भ गरेका छन् । सि–कारमा नयाँ तथा सेकेन्ड ह्याण्ड गाडीको सोरुम, एस्सेसरिज पसल, चार्जिङ स्टेसन र क्याफेलगायत विभिन्न सुबिधा एकै स्थानमा उपलब्ध भएको सि कारका सँस्थापक रोशन घिमिरेले बताए । शुभारम्भका अवसरमा महानायक हमालले सवारी साधनसम्बन्धि एकै थालेमा विभिन्न सेवा उपलब्ध हुनुले ग्राहकको समय र खर्च दुवै बचत हुने भएकाले लाभदायी भएको प्रतिक्रिया दिए । कम्पनीका अनुसार पछिल्लो समय विद्युतीय सवारीमा अत्यधिक रुचाइएको विवाइडीको नयाँ शोरुमले ग्राहकलाई सहज हुनेछ । साथै सि–कारमा विभिन्न ब्राण्डका सेकेन्ड ह्यान्ड सवारी साधन पनि उपलब्ध हुनेछन् । ग्राहकले सेकेन्ड ह्यान्ड सवारी खरिद गर्नुका साथै एक्सचेञ्जका पनि सुविधा पाउनेछन् । कम्पनीले सवारी खरिदबिक्रीका साथै सि–कार परिसरमा चार्जिङ स्टेसन पनि सञ्चालनमा ल्याएको छ । जहाँ एकै साथ (१५) भन्दा बढी विद्युतीय सवारी चार्ज गर्न सकिनेछ । कम्पनीले यसका लागि दु्रत गतिमा चार्ज हुने सुविधा ल्याएको छ । ग्राहकले सि–कार परिसरमै रहेको इटालियन रेस्टुरेन्टको मज्जा लिन सक्नेछन् । त्यति मात्रै होइन, सि–कारमा सवारी साधनका स्पेयर पार्टस् पनि सुलभ मूल्यमै उपलब्ध हुनेछन् । कम्पनीले ग्राहकलाई अधिकतम सेवा दिने उद्देश्यले सेकेन्ड ह्यान्ड सवारी बिक्री गरेको तीन महिनासम्मको प्राविधिक रुपमा सम्पूर्ण जिम्मेवारी लिनेछन् । 'ग्राहकहरु अहिले सेकेन्ड ह्यान्ड सवारी खरिद गर्दा ढुक्क हुने अवस्था छैन, त्यसैले हामीले तीन महिनाका लागि प्राविधिक रुपमा कुनै समस्या आए समाधानको जिम्मेवारी लिने गरी अफर ल्याएका छौँ', घिमिरेले भने । साथै कम्पनीले ग्राहकलाई अझ बढी सेवा दिने उद्देश्यले बिलबुक निःशुल्क नवीकरण सुविधा पनि ल्याएको छ । सि–कारमार्फत सवारीको बीमा गर्नेले बिलबुक नवीकरणको पनि सुविधा पाउनेछन् । जसका लागि उनीहरुले कुनै पनि अतिरिक्त शुल्क तिर्नुपर्दैन । कम्पनीले ग्राहकहरुलाई सहज सेवा दिने उद्देश्यले सदस्यता योजना पनि ल्याएको छ । विभिन्न वर्गीकरणका सदस्यता योजनामा सि–कारमा उपलब्ध कुनै पनि सेवा उपयोग गर्दा निश्चित प्वाइन्ट प्राप्त हुन्छ भने विभिन्न सेवामा आकर्षक छुट पनि पाउने कम्पनीको भनाइ छ । ४ रोपनी क्षेत्रमा फैलिएको सि कारमा करिब ५० जनाले रोजगारी पाएका छन् ।

हिमालयन एभरेष्ट इन्स्योरेन्सले पायो दुई अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स (एचइआई) ले दुई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड जित्दै अन्तर्राष्ट्रिय मञ्चमा पुनः सफलता हासिल गरेको छ। बुधबार सिंगापुरमा आयोजित विशेष समारोहमा कम्पनीलाई ‘डोमेस्टिक जनरल इन्स्योरर अफ दि एअर २०२५’ र ‘इन्स्योरेन्स प्रडक्ट इनोभेशन अफ दि एअर २०२५’ अवार्डबाट सम्मानित गरिएको हो । समारोहमा कम्पनीका अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठ र निर्देशक विजय कुमार पन्त सहभागी भई अवार्ड ग्रहण गरे । एसिया प्यासिफिक क्षेत्रकै प्रतिष्ठित मानिने यी अवार्डहरूले नेपाली बीमा उद्योगको अन्तर्राष्ट्रिय छवि थप उजागर गरेको छ । यसअघि पनि एचइआईले २०२३ मा इन्स्योरेन्स एशिया अवार्ड तथा २०२४ मा डोमेस्टिक जनरल इन्स्योरर अफ दि एअर र स्ट्राटेजिक पार्टनरसिप अफ दि एअर अवार्ड प्राप्त गरिसकेको छ । उत्कृष्ट सेवा, नवीन रणनीति र ग्राहकमुखी दृष्टिकोणका कारण एचइआई निरन्तर प्रशंसा बटुल्दै आएको छ । अध्यक्ष श्रेष्ठले अवार्ड ग्रहण गर्दै भने, 'यो अवार्ड सम्पूर्ण टिमको कठिन परिश्रम र प्रतिबद्धताको नतिजा हो ।' निर्देशक पन्तले पनि अन्तर्राष्ट्रिय सम्मानले भविष्यमा अझ जिम्मेवार र सशक्त रूपमा अघि बढ्ने प्रेरणा दिएको बताए ।    

हामी सबैको अन्तरतमसम्म उज्यालो फैलियोस् : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गुरु पूर्णिमाको शुभकामना व्यक्त गर्दै सबैको अन्तरतमसम्म उज्यालो फैलियोस् भन्ने कामना गरेका छन् । सामाजिक सञ्जालबाट शुभकामना व्यक्त गर्दै उनले हामीलाई अरुमाथि प्रश्न गर्ने होइन, आफ्नो आन्तरिक सत्यमा प्रकाश दिने साक्षात् ‘दीप’ चाहिएको र त्यस्तो दीप विवेक भएको बताए । गुरु पूर्णिमालाई महर्षि व्यास जयन्तीका रूपमा पनि लिइने गरेको बताउँदै प्रधानमन्त्री ओलीले भनेका छन्,'हाम्रो प्राचीन पूर्वीय सभ्यताले आफ्नो अन्तरतम अस्तित्व चिन्न दृष्टि दिने व्यक्तिलाई गुरु भन्छ र संसारको बारेमा सिकाउनेलाई शिक्षक भन्छ ।' फेसबुकमा प्रधानमन्त्रीले लेखेका छन्, 'गुरु अन्धकारबाट प्रकाशमा पुर्याउने र आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् । गुरु पूर्णिमाको पवित्र दिन हामी सबैको अन्तरतमसम्म उज्यालो फैलियोस् । सबैलाई शुभकामना'

६ करोडमा अस्पताल भवन निर्माण

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–७ हिस्तान औलामा ६ करोडमा अस्पताल भवन निर्माण भएको छ । सघन सहरी विकास तथा भवन आयोजनाले पाँच शय्याको अस्पताल गर्न भवन निर्माण गरेको हो । वडाध्यक्ष मइलन पुनका अनुसार औलामा रहेको स्वास्थ्य चौकीको भवन पहिरोको जोखिममा परेपछि नयाँ भवन निर्माण गरिएको हो । नयाँ भवनबाट चाँडै सेवा प्रवाह गर्ने तयारी भइरहेको छ । भवनमा कर्मचारी तथा स्वास्थ्यकर्मीका लागि आवासको व्यवस्था गरिएको छ । भवन निर्माणका निम्ति हर्कबहादुर गरबुजालगायत पाँच जना स्थानीयले पाँच रोपनी जग्गा दान गरेका थिए ।

घरजग्गाको मूल्य पहुँचभन्दा माथि भयाे, हतारिएर गरिएका निर्णय सच्याउनुपर्छ

काठमाडौं । सङ्घीय संसदका सांसद र अर्थतन्त्रका जानकारले आगामी मौद्रिक नीति वैदेशिक लगानी आकर्षण, अर्थतन्त्र चलायमान, लगानीको वातावरण सिर्जना र आर्थिक अनुशासन कायम गर्ने खालको हुनुपर्नेमा जोड दिएका छन् ।  प्रतिनिधिसभा अर्थ समितिको आजको बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिका  विषयमा उनीहरूले उत्पादन र रोजगारी बढाउने क्षेत्रमा कर्जा वृद्धिको व्यवस्था लागु गर्न सुझाव दिए ।  बैठकमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले घरजग्गाको धितो बाहेक परियोजना कर्जा सहज रूपमा दिने व्यवस्था गर्न सुझाव दिए । उनले कुल कर्जाको हाल ६५ प्रतिशत ऋण घरजग्गा धितोमा दिइएकाले त्यसमा पुनः विचार गर्न सल्लाह दिए । बैंकिङ क्षेत्रको साधन स्रोत सार्वजनिक सम्पत्ति भएकाले हाल ७० खर्ब रुपैयाँ निक्षेप हुँदा लगानीकर्ताको पुँजी ४ खर्ब ४ अर्ब रुपैयाँ मात्र प्रयोग भएको अवस्थालाई ध्यान दिई सन्तुलित विकास हासिल गर्न विवेकशील लगानीको अभ्यास सुरू गर्नुपर्ने उनको भनाइ छ । विदेशी मुद्राको हालको विनिमय दर व्यवस्था पुनरावलोकन गर्न अध्ययन र पूर्व तयारी गरी अघि बढ्न सुझाव दिँदै उनले बैंकिङ क्षेत्रबाट हुने आन्तरिक र बाह्य कारोबारको निगरानी गरी अवैध र अवाञ्छित क्रियाकलाप रोक्ने प्रभावकारी व्यवस्थाको खाँचो औंल्याए ।  अर्का अर्थविद् नरबहादुर थापाले अधिकतम तरलता र ब्याजदर न्यून हुँदासमेत लगानी नभइरहेको अवस्थालाई ध्यान दिएर विनियोजन विधेयकलाई मेल खाने गरी आगामी मौद्रिक नीति तर्जुमा गर्न सुझाव दिए ।  उनले भने, ‘अर्थतन्त्र चलायमान नहुनु भनेको निराशाको परिस्थिति सिर्जना हुनु हो । सहरी क्षेत्रका घडेरी सर्वसाधारणको पहुँचभन्दा माथि छ । वैज्ञानिक रूपमा कृषि क्षेत्रका विकासका लागि लगानी ज्यादै न्यून भएकाले बढाउनुपर्छ ।’ बैठकमा पूर्व अर्थमन्त्री वर्षमान पुनले श्रोत कम भएको नाममा बजेट सानो आकारको घोषणा गर्ने कार्यले आर्थिक नीतिलाई सङ्कुचन गर्ने धारणा राखे ।  उनले भने, ‘मौद्रिक नीति खुकुलो, संयमित, अनुशासित र अर्थतन्त्र चलायमान भएर अघि बढ्ने खालको हुनुपर्छ । खास गरी साना र मझौला उद्योगको मनोबल बढाउनुपर्छ ।’  पूर्व अर्थमन्त्री डा प्रकाशशरण महतले अब आउने मौद्रिक नीतिले विगतमा हतारिएर गरिएका काम कारवाही सच्याउने विश्वास व्यक्त गरे ।  ‘उच्च व्यावसायिकता र दीर्घकालीन सोचका साथ मौद्रिक नीति आउनुपर्छ । कृषि क्षेत्रमा नयाँ प्रविधिको प्रयोग गरी व्यावसायिक गर्न चाहनेलाई केन्द्रमा राखेर मौद्रिक नीति बनाइनुपर्छ,’ उनले भने ।  समिति सदस्य एवं अर्थविद् डा स्वर्णिम वाग्लेले मुलुकका आर्थिक संरचना र प्रक्रिया पनि राजनीतिक चङ्गूलको चपेटामा परेको प्रतिक्रिया दिए । सांसद विनोद चौधरीले अहिले भइरहेको लगानी निस्प्रभाविको अवस्थामा सुधार ल्याउन लगानीकर्ता प्रोत्साहन गर्ने तथा बैँकलाई पनि कर्जा फर्कने सुनिश्चितताको वातावरण बनाउन आवश्यक रहेको बताए ।  त्यस अवसरमा अहिले मुलुकको शोधनान्तर बचत र ४ खर्ब ९१ अर्ब रुपैयाँ तथा विदेशी मुद्रा सञ्चिति २५ खर्ब ६९ अर्ब रुपैयाँ उच्च रहेको तथ्याङ्क प्रस्तुत गरिएको छ । मुद्रास्फ्रिति ४.२ प्रतिशत मात्र रहेको तथा बैंकिङ क्षेत्रमा ७ खर्ब रुपैयाँभन्दा बढी कर्जा योग्य रकम रहेको र कर्जाको ब्याजदर एकल अङ्कमा झरेको तथ्याङ्क प्रस्तुत गरियो । पछिल्लो समय आयात तथा निर्यातमा बृद्धि हुन थालेको तथा जलविद्युत, सडक सञ्जाल, सूचना तथा सञ्चार प्रविधि र पर्यटन पूर्वाधार निर्माणमा उल्लेखनीय कार्य भएको जानकारी दिए । 

७ पुल बगाउँदा डेढ करोडभन्दा बढीको नोक्सान, हिउँका ढिस्का खसेर हिमपातमा क्षति

काठमाडौं । उपल्लो मुस्ताङमा अकल्पनीय बाढीले पुर्याएको क्षतिको प्रारम्भिक अनुगमनका लागि अनुगमन सुरु भएको छ । लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङ, उपाध्यक्ष छ्युमी बिष्ट, प्रमुख प्रशासकीय अधिकृत विकास केसी, गाउँपालिकाका प्राविधिक टोली, पाँच वटै वडाका वडाध्यक्ष तथा सदस्यलगायत नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षा प्रतिनिधिहरूले संयुक्त रूपमा बाढीले त्यहाँ पुर्याएको क्षति यकिन गर्न बुधबार अनुगमन गरेका छन् । बाढीले तीनवटा पक्की पुलसहित गाउँपालिकाको शाखा सडकमा कुल सात वटा पुलमा क्षति पुगेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केसीले जानकारी दिए । यसबाट डेढ करोड रुपैयाँ भन्दा बढी नोक्सान भएको अनुमान गरिएको उनले बताए । प्रमुख प्रशासकीय अधिकृत केसीका अनुसार मङ्गलबार साँझ लोमान्थाङ-४ चुम्जुङस्थित छुआमा खोलाको बाढीले आर्का-भार्सा जोड्ने पक्की पुलसहित तीनवटा पक्की मोटरेबल पुल, एक फलामे पुल र तीनवटा काठे पुलमा पूर्ण क्षति पुगेको छ । बाढीले सडक पुलहरूमा क्षति पुगे पनि मानवीय तथा पशु चौपायामा कुनै क्षति नपुगेको जनाइएको छ । अध्यक्ष गुरुङले लोमान्थाङ गाउँपालिका भित्रको रिङरोड सडक र अन्य शाखा सडक जोड्ने पक्की पुल र अस्थायी पुलमा क्षति पुगेको बताए । बाढीले पुलहरूमा क्षति पुगेपछि रिङरोड सडकको सवारी आवागमन अवरुद्ध रहेको उनको भनाइ छ ।  उपल्लो मुस्ताङको लोमान्थाङ-४ स्थित चुम्जुङ गाउँ नजिकैको छुआमा खोलामा अकल्पनीय बाढी हिमताल फुटेका कारण आएको हुनसक्ने आशङ्का गरिएको छ । पानी नै नपर्ने भनेर चिनिएको हिमाली जिल्ला मुस्ताङमा बाढी आउँदाको समय त्यस क्षेत्रमा वर्षा नभएको लोमान्थाङ गाउँपालिका अध्यक्ष गुरुङले बताए ।  ‘हामीले बाढी आउँदा त्यस स्थान र मुहानको लेकमा मौसमी अवस्था कस्तो थियो भनेर स्थानीयसँग जानकारी लियौँ, उनीहरूले त्यस क्षेत्रमा पानी नपरेको जनाएका छन्,’ अध्यक्ष गुरुङले भने, ‘यसरी एकाएक बाढी आउनुको एउटै कारण हुनसक्छ, त्यो हो हिमताल फुट्नु ।’ लोमान्थाङ-२ छोसेरस्थित नेचुङस्थित सशस्त्र प्रहरी बोर्डर आउटपोस्ट (बिओपी)का सशस्त्र प्रहरी निरीक्षक विष्णुहरि थापाले बाढी आउनाका कारण पत्ता लगाउन गएको टोली चुम्जुङबाट फर्किएको जानकारी दिए । चुम्जुङस्थित छुआमा खोलाको मुहान भएको लेकमा हिमतालहरू रहेको यार्सा सङ्कलन गर्नेहरूले बताएका उनको भनाइ छ ।  ‘यहाँ बाढी आउनुको मुख्य कारण हिमपात नै फुटेर हो कि भन्ने हाम्रो अनुमान छ, बाढी आउँदा मुहानको लेकमा पानी परेको थियो भनेर जानकारी आइसकेको छैन,’ उनले भने ।  लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले उपल्लो मुस्ताङका शाखा नदीहरूको मुहानमा दर्जनौं हिमताल रहेको जानकारी दिए । उनले जलवायु परिवर्तनका कारण जमिनको तापमान वृद्धि भइरहेकाले उच्च लेकमा रहेका हिमालका हिउँका ढिस्का खसेर हिमपातमा क्षति पुर्याउने सम्भावना रहेको उल्लेख गरे ।