विद्यालय निर्माणमा भ्रष्टाचार आरोप : सफाइविरुद्ध अख्तियारको पुनरावेदन
काठमाडौं । सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतबाट सफाइ पाएका अन्नपूर्ण माध्यमिक विद्यालय, डोल्पाका प्रधानाध्यापक नरदेव रोकायासहितका प्रतिवादीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । अख्तियारका अनुसार डोल्पाको मुड्केचुला गाउँपालिका–७, सर्मीस्थित अन्नपूर्ण माध्यमिक विद्यालयमा मेशिनरी तथा आरसिसी वाल निर्माणका लागि भएको बोलपत्र मूल्यांकनमा कानुनविपरीत काम गरी सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी पुर्‍याइएको थियो । उक्त घटनामा अख्तियारले २९ लाख ६० हजार ६९२ रुपैयाँ ५५ पैसा बिगो कायम गरी नरदेव रोकायासहितका प्रतिवादीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको थियो । आयोगले बिगो बराबर जरिवाना, कैद तथा बिगो असुलउपरको मागदाबी गरेको थियो । तर, विशेष अदालतले २०८२ फागुन २७ गतेको फैसलाबाट प्रतिवादीहरूलाई सफाइ दिएको थियो । उक्त फैसलाप्रति चित्त नबुझेपछि अख्तियारले २०८३ भदौ २६ गते सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको हो । आयोगले विशेष अदालतको फैसला बदर गरी आरोप दाबीअनुसार कारबाही हुनुपर्ने माग गर्दै सर्वोच्चमा पुनरावेदन गरेको जनाएको छ ।
एक सातामा सुनको मूल्य तोलामा ६ हजार ४०० रुपैयाँ घट्यो
काठमाडौं । तीज नजिकिँदै गर्दा नेपाली सुन बजारमा मूल्यमा ठूलो उतारचढाव देखिएको छ। पछिल्लो एक साताको अवधिमा सुनको मूल्य प्रतितोला ६ हजार ४०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार भदौ २० गते शनिबार सुनको मूल्य प्रतितोला ३ लाख ७ हजार ४०० रुपैयाँ थियो । तर साताको अन्तिम कारोबार दिन भदौ २६ गते शुक्रबारसम्म आइपुग्दा सुनको मूल्य घटेर ३ लाख १ हजार रुपैयाँमा झरेको छ । साताको सुरुआतदेखि नै सुनको मूल्य ओरालो लागेको थियो । भदौ २१ गते आइतबार सुन प्रतितोला ३ हजार १०० रुपैयाँ घटेर ३ लाख ४ हजार ३०० रुपैयाँमा कारोबार भयो । त्यसको भोलिपल्ट सोमबार पनि २ हजार ४०० रुपैयाँ घट्दै मूल्य ३ लाख १ हजार ९०० रुपैयाँमा पुगेको थियो । मंगलबार भने सुनको मूल्यमा केही सुधार देखियो । उक्त दिन प्रतितोला ३ हजार ५०० रुपैयाँ बढेर ३ लाख ५ हजार ४०० रुपैयाँ कायम भयो । तर बुधबार फेरि ३ हजार रुपैयाँ घटेर मूल्य ३ लाख २ हजार ४०० रुपैयाँमा झर्यो । बिहीबार सुनको मूल्य पुनः ३ हजार ४०० रुपैयाँ बढेर ३ लाख ५ हजार ८०० रुपैयाँ पुगे पनि शुक्रबार एकैदिन ४ हजार ८०० रुपैयाँले घट्दा साताकै सबैभन्दा ठूलो गिरावट देखियो । यससँगै सुन प्रतितोला ३ लाख १ हजार रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । तीजको मुखमै सुनको मूल्य लगातार घटबढ हुँदा बजारमा अस्थिरता देखिएको व्यवसायीहरू बताउँछन् ।
पुरुषमा पनि हुन सक्छ रगतको कमी, लगातार थकानलाई बेवास्ता नगर्न चिकित्सकको सुझाव
काठमाडौं । रगतको कमी अर्थात् एनेमिया महिलामा मात्र हुने समस्या भन्ने धारणा धेरैमा रहे पनि यो पुरुषमा पनि देखिन सक्ने स्वास्थ्य समस्या हो । स्वास्थ्य विज्ञका अनुसार पुरुषमा एनेमिया देखिए त्यसलाई सामान्य थकान वा कामको तनाव भनेर बेवास्ता गर्नु हुँदैन, किनकि यसको पछाडि गम्भीर स्वास्थ्य समस्या पनि हुन सक्छ । एनेमिया भनेको शरीरमा पर्याप्त हेमोग्लोबिन वा रातो रक्तकोषको कमी हुनु हो । यसका कारण शरीरका विभिन्न अंगमा पर्याप्त अक्सिजन पुग्न नसक्दा लगातार थकान, कमजोरी, रिंगटा लाग्ने, टाउको दुख्ने, छाला फिक्का देखिने, हातखुट्टा चिसो हुने, थोरै मेहनतमै सास फुल्ने, मुटुको धड्कन छिटो हुने र ध्यान केन्द्रित गर्न गाह्रो हुने जस्ता लक्षण देखिन सक्छन् । एनेमिया बिस्तारै विकास हुने भएकाले सुरुआती संकेत धेरैले सामान्य समस्या ठानेर बेवास्ता गर्ने गर्छन् । चिकित्सकहरूका अनुसार पुरुषमा एनेमिया हुनुको मुख्य कारण खानपानमा आइरनको कमी मात्र होइन । शरीरले आइरन राम्रोसँग अवशोषण गर्न नसक्ने अवस्था, पाचन प्रणालीबाट बिस्तारै हुने आन्तरिक रक्तस्राव, मिर्गौला रोग, भिटामिन बी–१२ को कमी तथा दीर्घकालीन सूजनजस्ता स्वास्थ्य समस्याले पनि रगतको कमी हुन सक्छ। धेरै पटक रक्तदान गर्ने व्यक्तिमा पनि आइरनको मात्रा घट्ने सम्भावना रहन्छ । स्वास्थ्य सम्बन्धी विभिन्न अध्ययनले विश्वभर करिब १२.७ प्रतिशत पुरुष एनेमियाबाट प्रभावित रहेको देखाएका छन् । भारतमा पनि पुरुषमा एनेमियाको समस्या उल्लेख्य रूपमा देखिएको छ र पछिल्ला वर्षहरूमा किशोर तथा वयस्क पुरुषमा यसको दर बढ्दो क्रममा रहेको अध्ययनहरूले देखाएका छन् । स्वास्थ्य विज्ञहरूको सुझाव अनुसार कुनै स्पष्ट कारणबिना लामो समयसम्म थकान, कमजोरी, रिंगटा वा सास फुल्ने समस्या देखिए त्यसलाई उमेर, कम निद्रा वा कामको चापको असर भनेर बेवास्ता गर्नु हुँदैन । यस्ता लक्षण देखिए समयमै चिकित्सकको सल्लाह लिएर सीबीसी (कम्प्लिट ब्लड काउन्ट) लगायत आवश्यक परीक्षण गराउँदा एनेमियाको कारण पत्ता लगाएर उपचार गर्न सकिने उनीहरूको भनाइ छ । एजेन्सीको सहयोगमा
३ निर्माण कम्पनीलाई साढे ४ अर्ब रकम तिर्न सरकारको ३५ दिने अल्टिमेटम
काठमाडौं । हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय इटहरीले करारीय दायित्व पूरा नगरेको भन्दै तीन निर्माण कम्पनीसँग ठेक्का सम्झौता अन्त्य गरी साढे ४ अर्ब रुपैयाँभन्दा बढी सरकारी बाँकी रकम असुल्न ताकेता गरेको छ । कार्यालयले ठेक्का सम्झौता अन्त्य गरिएका तीन निर्माण कम्पनी पप्पु/महादेव जेभी, श्रेष्ठ कन्स्ट्रक्सन कम्पनी र गौरी पार्वती देव एन्ड सायर/भूमि जेभीलाई सरकारी बाँकी रकम दाखिला गर्न निर्देशन दिएको हो । कार्यालयले काठमाडौंस्थित पप्पु/महादेव जेभीसँग ११/एचआरपी/०६७/६८ नम्बरको ठेक्का सम्झौता २०८२ मंसिर ९ गते अन्त्य गरेको थियो । उक्त निर्माण कम्पनीले १ अर्ब ९९ करोड १२ लाख ५८ हजार ७७५ रुपैयाँ सरकारी बाँकीका रूपमा दाखिला गर्नुपर्नेछ । त्यस्तै, हेटौंडा, मकवानपुरस्थित श्रेष्ठ कन्स्ट्रक्सन कम्पनी (हेटौंडा) प्रालिसँगको ठेक्का सम्झौता २०८२ मंसिर २१ गते अन्त्य गरिएको थियो । उक्त कम्पनीबाट १ अर्ब ११ करोड ९२ लाख ५५ हजार ५८६ रुपैयाँ सरकारी बाँकी रकम असुल गर्नुपर्ने कार्यालयले जनाएको छ । यसैगरी, विराटनगर, मोरङस्थित गौरी पार्वती देव एन्ड सायर/भूमि जेभीसँगको ठेक्का सम्झौता २०८२ मंसिर १५ गते अन्त्य गरिएको थियो । उक्त निर्माण व्यवसायीबाट १ अर्ब ३९ करोड ४६ लाख ४४ हजार ५४९ रुपैयाँ ५४ पैसा सरकारी बाँकी रकम असुल गर्नुपर्ने कार्यालयले जनाएको छ । यसरी तीन निर्माण कम्पनीबाट कुल ४ अर्ब ५० करोड ५१ लाख ५८ हजार रुपैयाँ सरकारी बाँकी रकम असुल गर्नुपर्नेछ । योजना कार्यालयका अनुसार ठेक्का सम्झौता अन्त्यपछि सरकारी बाँकी रकम दाखिला गराउन सम्बन्धित निर्माण व्यवसायीलाई आग्रह तथा प्रयास गरिए पनि रकम प्राप्त हुन सकेको छैन । कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ तथा सार्वजनिक खरिद नियमावली, २०६४ बमोजिम कायम भएको रकम दाखिला गर्न सम्बन्धित निर्माण व्यवसायीलाई निर्देशन दिएको हो । निर्माण व्यवसायीहरूले ३५ दिनभित्र तोकिएको रकम नेपाल सरकारको नेपाल राष्ट्र बैंकमा रहेको खातामा दाखिला गरी त्यसको बैंक भौचर योजना कार्यालय इटहरीमा पेस गर्नुपर्नेछ । तोकिएको म्यादभित्र रकम दाखिला नगरेमा प्रचलित कानुनअनुसार सरकारी बाँकी रकम असुल गर्ने प्रक्रिया अघि बढाइने योजना कार्यालयले स्पष्ट पारेको छ ।
अध्यक्षविरुद्धको भ्रष्टाचार मुद्दामा अख्तियार सर्वोच्च अदालतमा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) को पाल्हीनन्दन गाउँपालिका–५ का तत्कालीन वडा अध्यक्ष ओमप्रकाश तेलीसमेत प्रतिवादी रहेको भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । विशेष अदालत, काठमाडौंले प्रतिवादीलाई सफाइ दिने फैसला गरेपछि त्यसमा चित्त नबुझी आयोगले भदौ २६ गते सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दर्ता गरेको हो । अख्तियारका अनुसार ओमप्रकाश तेलीसहितका प्रतिवादीले गलत लिखत तयार गरी भ्रष्टाचार गरेको आरोपमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिम मुद्दा दायर गरिएको थियो । आयोगले उनीहरूलाई कैद र जरिवानाको सजाय माग गर्दै विशेष अदालतमा आरोपपत्र दर्ता गरेको थियो । तर विशेष अदालतले २०८२ माघ १४ गतेको फैसलाबाट प्रतिवादीहरूलाई सफाइ दिएको थियो । उक्त फैसलामा असहमति जनाउँदै अख्तियारले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको जनाएको छ ।
इबोला सङ्क्रमण घट्दो क्रममा, उच्च जोखिम भने कायमै रहेको चेतावनी
काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) मा पछिल्लो समय इबोला भाइरसको सङ्क्रमण दरमा केही कमी देखिए पनि महामारी उत्कर्षमा पुगेर नियन्त्रणतर्फ गइसकेको निष्कर्ष निकाल्न अझै हतार हुने स्वास्थ्य अधिकारीहरूले चेतावनी दिएका छन् । कङ्गोको राष्ट्रिय जनस्वास्थ्य संस्थान (आईएनएसपी) का वरिष्ठ अधिकारी क्रिस्टियन न्गान्दुले राजधानी किन्सासामा आयोजित पत्रकार सम्मेलनमा महामारीको अघिल्लो चरणको तुलनामा पछिल्ला दिनहरूमा सङ्क्रमितको कुल सङ्ख्या घटेको जानकारी दिए । उनले महामारी विज्ञानसम्बन्धी तथ्याङ्क विश्लेषण गर्दा सङ्क्रमणको प्रवृत्ति घट्दो देखिए पनि यसै आधारमा मात्र ढुक्क हुन नसकिने स्पष्ट पारे । न्गान्दुले भने, ‘हामीले यसलाई केवल एउटा घट्दो प्रवृत्तिका रूपमा मात्र लिएका छौँ र समयसँगै यसको सूक्ष्म मूल्याङ्कन आवश्यक छ । प्रभावकारी नतिजा हासिल गर्न हामीले नियन्त्रणका प्रयासहरूलाई निरन्तरता दिनुपर्छ; यदि हामीले प्रयास खुकुलो बनायौँ भने सङ्क्रमण पुनः तीव्र रूपमा फैलिन सक्छ ।’ सार्वजनिक पछिल्लो आधिकारिक तथ्याङ्कअनुसार कङ्गोमा सेप्टेम्बर ८ सम्म ६ हजार ८ सय ४३ जनामा इबोला सङ्क्रमण पुष्टि भइसकेको छ । जसमध्ये ३ हजार ३ सय १० जनाको ज्यान गएको छ भने १ हजार ६ सय ११ जना उपचारपछि निको भएका छन् । हाल यस महामारीको मृत्युदर ४८.४ प्रतिशत पुगेको छ । महामारीलाई नियन्त्रणमा ल्याउन कङ्गो सरकारले हाल १८० दिने अद्यावधिक प्रतिकार्य योजना कार्यान्वयन गरिरहेको छ । यसअन्तर्गत समुदायस्तरको निगरानी, कन्ट्याक्ट ट्रेसिङ, रोकथाम र उच्च जोखिमयुक्त क्षेत्रहरूमा स्वास्थ्य पूर्वतयारीलाई उच्च प्राथमिकता दिइएको छ । सबै सरोकारवालाहरूको सहकार्यमा १८० दिनभित्र महामारी पूर्ण नियन्त्रणमा आउने विश्वास अधिकारीहरूले व्यक्त गरेका छन् । गत मे महिनामा घोषणा गरिएको यो प्रकोप कङ्गोको इतिहासमै हालसम्मकै सबैभन्दा ठूलो र घातक महामारी बनेको छ । साथै, सन् २०१४ देखि २०१६ सम्म पश्चिम अफ्रिकामा फैलिएको महामारीपछि यो विश्वकै दोस्रो ठूलो इबोला प्रकोपका रूपमा दर्ज भएको छ ।
आफ्नो व्यक्तिगत तथा पारिवारिक विवरण अद्यावधिक गर्न बोर्डको आग्रह
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध सम्पूर्ण बीमित सदस्यलाई आफ्नो व्यक्तिगत तथा पारिवारिक विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । बोर्डले शुक्रबार सूचना जारी गर्दै बीमित तथा निजका परिवारका सदस्यहरूको विवरण अद्यावधिक गर्ने उद्देश्यले स्वास्थ्य बीमा विद्युतीय पोर्टल सञ्चालनमा ल्याइएको जनाएको छ। स्वास्थ्य बीमा कार्यक्रममा यसअघि आबद्ध भएका सबै सदस्यले आफ्नो विवरण रुजु तथा अद्यावधिक गर्न अनिवार्य रूपमा ग्राहक परिचय विवरण (केवाईसी) अद्यावधिक गर्नुपर्ने बोर्डले जनाएको छ । बोर्डका अनुसार केवाईसी अद्यावधिक गर्दा नाममा भएको सामान्य त्रुटि, जन्ममिति, ठेगाना, मोबाइल नम्बर, राष्ट्रिय परिचयपत्र नम्बर, नागरिकता विवरण, परिवार विवरणलगायत आवश्यक जानकारी सच्याउन सकिनेछ । बोर्डले विवरण अद्यावधिकका लागि विद्युतीय पोर्टलमा प्रवेश गरी ‘म सुरक्षित बीमित’ विकल्प छनोट गर्ने, परिवारका कुनै एक सदस्यको स्वास्थ्य बीमा नम्बर प्रविष्ट गर्ने, प्रयोगकर्ता खाता सिर्जना प्रक्रिया पूरा गर्ने तथा ग्राहक परिचय विवरण अद्यावधिक खण्डमा गई राष्ट्रिय परिचयपत्र नम्बर वा हस्तचालित रूपमा विवरण अद्यावधिक गरी पेश गर्न सकिने जनाएको छ । यसरी अद्यावधिक गरिएको विवरण सम्बन्धित स्थानीय तह वा जिल्ला दर्ता अधिकारीबाट प्रमाणीकरण भएपछि मात्र अन्तिम रूपमा स्वीकृत हुने बोर्डले स्पष्ट पारेको छ । थप जानकारीका लागि विद्युतीय पोर्टलमा उपलब्ध भिडियो मार्गदर्शन हेर्न वा स्वास्थ्य बीमा बोर्डका जिल्ला सम्पर्क कार्यालयमा सम्पर्क गर्न बोर्डले अनुरोध गरेको छ ।
बाढीबाट बालबालिका प्रभावित, मानसिक अवस्थालाई ध्यान दिन सिजपको आग्रह
काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी (त्रिशूली) नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित बालबालिकाको सुरक्षा, संरक्षण, शिक्षा तथा मानसिक स्वास्थ्यका विषयमा राज्य, सरोकारवाला निकाय र सञ्चारमाध्यमले विशेष ध्यान दिनुपर्नेमा विज्ञहरूले जोड दिएका छन् । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) को आयोजना तथा प्लान इन्टरनेशनलको सहकार्यमा बिहीबार आयोजित ‘भोटेकोशी बाढीले बालबालिकामा पारेको प्रभाव र सञ्चारकर्मीहरूको दायित्व’ विषयक छलफल कार्यक्रममा प्रस्तुत तथ्यांकले बाढीको भयावह असर उजागर गरेको हो । कार्यक्रममा बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान तथा जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेलले बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमनपछि तयार पारिएको विवरण प्रस्तुत गर्दै बालबालिका, ज्येष्ठ नागरिक, सुत्केरी महिला र अपाङ्गता भएका बालबालिका सबैभन्दा बढी प्रभावित भएको बताए । उनका अनुसार रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा र तनहुँ जिल्ला बाढीबाट सबैभन्दा बढी प्रभावित भएका छन् । भदौ २६ सम्मको तथ्यांक अनुसार बाढीमा परी १ हजार ३ सय ८५ जनाको मृत्यु भएको पुष्टि भएको छ भने ५ हजार १ सय ३० जना अझै बेपत्ता छन् । प्रारम्भिक विवरण अनुसार बेपत्तामध्ये ४ सय ८८ जना बालबालिका रहेका छन् । पौडेलका अनुसार रसुवा, नुवाकोट र धादिङका ३२ वटा विद्यालयका ९ हजार ४ सय २८ जना विद्यार्थी प्रत्यक्ष प्रभावित भएका छन् । तीमध्ये १ हजार ३ सय ७३ जना बालबालिका विस्थापित भएर विभिन्न होल्डिङ सेन्टरमा बस्न बाध्य भएका छन् । प्रारम्भिक प्रतिवेदन अनुसार ४ सय ८८ जना विद्यार्थी अझै सम्पर्कविहीन छन् भने पाँच जना विद्यार्थीको मृत्यु भएको पुष्टि भएको छ । साथै दुवै अभिभावक गुमाएका १०२ जना बालबालिका र अभिभावकसँग छुट्टिएका सयौं बालबालिका रहेको तथ्यांकले अवस्था झन् चिन्ताजनक देखाएको छ । उनले बाढीका कारण बालबालिकाले अभिभावक गुमाउनु, शिक्षा अवरुद्ध हुनु, स्वास्थ्य समस्या बढ्नु, मानसिक आघात बेहोर्नुपर्नु र हिंसा तथा बेचबिखनको जोखिममा पर्नुजस्ता गम्भीर समस्या सामना गरिरहेको बताए । बालबालिकाको संरक्षण, शिक्षाको निरन्तरता, सुरक्षित आवास तथा मनोसामाजिक सहयोगलाई तत्काल प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए । छलफलमा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष धर्मेन्द्र झाले विपद्का बेला बालबालिका सम्बन्धी रिपोर्टिङ गर्दा पत्रकारहरूले विशेष संवेदनशीलता अपनाउनुपर्ने बताए । उनले मिडियाले आवाजविहीनहरूको आवाजलाई प्राथमिकता दिनुपर्ने, बालबालिकाको गोपनीयता र पहिचानको रक्षा गर्नुपर्ने तथा मानसिक आघात बढाउने खालका सामग्री प्रकाशन वा प्रसारण नगर्नुपर्ने धारणा राखे । सिजपको प्रस्तुतीकरणमा पनि सञ्चारमाध्यमले तथ्यमा आधारित सूचना प्रवाह गर्नुपर्ने, पीडादायक दृश्य र तस्बिरहरू अनावश्यक रूपमा सार्वजनिक नगर्नुपर्ने तथा बालबालिकाको पहिचान खुल्ने सामग्री प्रकाशन गर्न नहुने उल्लेख गरिएको थियो । प्लान इन्टरनेशनलका पोलिसी मेनेजर इसार्द अहमद अन्सारीले विपद्का समयमा बालबालिकाका मुद्दालाई प्राथमिकतामा राखेर रिपोर्टिङ गर्नुपर्ने बताए । उनले बालबालिकाको संवेदनशीलता र गोपनीयतालाई ध्यानमा राख्दै जिम्मेवार पत्रकारिता गर्नुपर्नेमा जोड दिए । साथै सिजपसँग बालअधिकार र संरक्षणका क्षेत्रमा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता पनि व्यक्त गरे । कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले बालबालिकाको विषयमा गलत सूचना, तथ्यहीन समाचार वा बालअधिकारविपरीत गतिविधि भएमा सिजपले स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने, सम्बन्धित निकायसँग वकालत र पैरवी बढाउनुपर्ने सुझाव दिएका थिए । छलफलमा सहभागीहरूले भोटेकोशी बाढी केवल प्राकृतिक विपद् मात्र नभई बालअधिकारको गम्भीर संकटका रूपमा देखिएको निष्कर्ष निकाल्दै प्रभावित बालबालिकाको संरक्षण, पुनर्स्थापना र शिक्षाको सुनिश्चितताका लागि राज्य, विकास साझेदार, नागरिक समाज र सञ्चारमाध्यमबीच समन्वित प्रयास आवश्यक रहेको औँल्याए ।