काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) को पाल्हीनन्दन गाउँपालिका–५ का तत्कालीन वडा अध्यक्ष ओमप्रकाश तेलीसमेत प्रतिवादी रहेको भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
विशेष अदालत, काठमाडौंले प्रतिवादीलाई सफाइ दिने फैसला गरेपछि त्यसमा चित्त नबुझी आयोगले भदौ २६ गते सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दर्ता गरेको हो ।
अख्तियारका अनुसार ओमप्रकाश तेलीसहितका प्रतिवादीले गलत लिखत तयार गरी भ्रष्टाचार गरेको आरोपमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिम मुद्दा दायर गरिएको थियो । आयोगले उनीहरूलाई कैद र जरिवानाको सजाय माग गर्दै विशेष अदालतमा आरोपपत्र दर्ता गरेको थियो ।
तर विशेष अदालतले २०८२ माघ १४ गतेको फैसलाबाट प्रतिवादीहरूलाई सफाइ दिएको थियो ।
उक्त फैसलामा असहमति जनाउँदै अख्तियारले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको जनाएको छ ।