काठमाडौं । रगतको कमी अर्थात् एनेमिया महिलामा मात्र हुने समस्या भन्ने धारणा धेरैमा रहे पनि यो पुरुषमा पनि देखिन सक्ने स्वास्थ्य समस्या हो । स्वास्थ्य विज्ञका अनुसार पुरुषमा एनेमिया देखिए त्यसलाई सामान्य थकान वा कामको तनाव भनेर बेवास्ता गर्नु हुँदैन, किनकि यसको पछाडि गम्भीर स्वास्थ्य समस्या पनि हुन सक्छ ।
एनेमिया भनेको शरीरमा पर्याप्त हेमोग्लोबिन वा रातो रक्तकोषको कमी हुनु हो । यसका कारण शरीरका विभिन्न अंगमा पर्याप्त अक्सिजन पुग्न नसक्दा लगातार थकान, कमजोरी, रिंगटा लाग्ने, टाउको दुख्ने, छाला फिक्का देखिने, हातखुट्टा चिसो हुने, थोरै मेहनतमै सास फुल्ने, मुटुको धड्कन छिटो हुने र ध्यान केन्द्रित गर्न गाह्रो हुने जस्ता लक्षण देखिन सक्छन् । एनेमिया बिस्तारै विकास हुने भएकाले सुरुआती संकेत धेरैले सामान्य समस्या ठानेर बेवास्ता गर्ने गर्छन् ।
चिकित्सकहरूका अनुसार पुरुषमा एनेमिया हुनुको मुख्य कारण खानपानमा आइरनको कमी मात्र होइन । शरीरले आइरन राम्रोसँग अवशोषण गर्न नसक्ने अवस्था, पाचन प्रणालीबाट बिस्तारै हुने आन्तरिक रक्तस्राव, मिर्गौला रोग, भिटामिन बी–१२ को कमी तथा दीर्घकालीन सूजनजस्ता स्वास्थ्य समस्याले पनि रगतको कमी हुन सक्छ। धेरै पटक रक्तदान गर्ने व्यक्तिमा पनि आइरनको मात्रा घट्ने सम्भावना रहन्छ ।
स्वास्थ्य सम्बन्धी विभिन्न अध्ययनले विश्वभर करिब १२.७ प्रतिशत पुरुष एनेमियाबाट प्रभावित रहेको देखाएका छन् । भारतमा पनि पुरुषमा एनेमियाको समस्या उल्लेख्य रूपमा देखिएको छ र पछिल्ला वर्षहरूमा किशोर तथा वयस्क पुरुषमा यसको दर बढ्दो क्रममा रहेको अध्ययनहरूले देखाएका छन् ।
स्वास्थ्य विज्ञहरूको सुझाव अनुसार कुनै स्पष्ट कारणबिना लामो समयसम्म थकान, कमजोरी, रिंगटा वा सास फुल्ने समस्या देखिए त्यसलाई उमेर, कम निद्रा वा कामको चापको असर भनेर बेवास्ता गर्नु हुँदैन । यस्ता लक्षण देखिए समयमै चिकित्सकको सल्लाह लिएर सीबीसी (कम्प्लिट ब्लड काउन्ट) लगायत आवश्यक परीक्षण गराउँदा एनेमियाको कारण पत्ता लगाएर उपचार गर्न सकिने उनीहरूको भनाइ छ ।
एजेन्सीको सहयोगमा