सेयर बजारमा ५ अर्ब ४४ करोडको कारोबार
काठमाडौं । बिहीबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ११.७७ अंकले बढेर २६२९ बिन्दुमा पुगेको छ । नेप्सेका अनुसार १७६ कम्पनीको सेयर मूल्य बढ्दा ९५ कम्पनीको सेयर मूल्य घटेको छ । ७ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन । बिहीबार ३५६ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ४४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै शिवम् सिमेन्टको भएको छ । शिवम् सिमेन्टको ३५ करोड ८१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । साथै हिमालयन डिस्टिलरीको ३५ करोड, सानिमा मिडल तमोरको २४ करोड, रिलाइन्स स्पिीनिङको २२ करोड र सोनापुर मिनरल्सको १८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज नेपाल ल्युबको सेयर मूल्य १२.४७ प्रतिशतले बढेको छ ।
हिमालय एयरलाइन्सले हाङझाउ उडान सुरु गर्दै, सातामा दुई उडान
काठमाडौं । हिमालय एयरलाइन्सले काठमाडौं र चीनको हाङझाउबीच ऐतिहासिक सिधा उडान सुरु गर्दै क्षेत्रीय सञ्जाल बिस्तार गर्ने तयारी गरेको छ । आगामी बुधबार (असोज १४ गते) देखि हिमालय एयरलाइन्सले नयाँ रुटमा उडान गर्न लागेको हो। उक्त उडान कम्पनीका लागि कोसेढुङ्गा रहेको हिमालय एयरलाइन्सले जनाएको छ । हिमालय एअरलाइन्स्ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हाङझाउ स्थित हाङझाउ सियाओशान अन्तर्राष्ट्रिय विमानस्थल (एचजीएच)बीच साप्ताहिक दुई सिधा उडान सेवा आरम्भ गर्न लागेको हो । यो नेपालको नागरिक उड्डयन इतिहास तथा अन्तर्राष्ट्रिय हवाई सम्पर्कको दृष्टिकोणबाट एक महत्त्वपूर्ण र ऐतिहासिक उपलब्धि रहने कम्पनीको दावी छ । नेपालको पर्यटन तथा स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्न र अन्तर्राष्ट्रिय यात्रालाई सहज तुल्याउन समर्पित हिमालय एअरलाइन्स्ले निर्बाध र सुविधाजनक यात्रा विकल्पहरू उपलब्ध गराउन आफ्नो सञ्जाल बिस्तारलाई जारी राखेको छ । काठमाडौं–हाङझाउ–काठमाडौं उडानले नेपाललाई विश्वसँग जोड्ने, सांस्कृतिक आदानप्रदानलाई सहज बनाउने र दुवै गन्तव्यको पर्यटन वृद्धिमा सहयोग गर्ने हाम्रो प्रतिबद्धतालाई जोड दिनेछ । प्रारम्भिक योजनाअनुसार ऐतिहासिक काठमाडौं–हाङझाउ उडान (एच ९ २२५) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समयअनुसार आगामी बुधबार साँझ सवा ५ बजे उडान गरी बिहीबार (असोज १५) को बिहान चीनको स्थानीय समयअनुसार १ बजेर ५ मिनेट जाँदा हाङझाउ स्थित हाङझाउ सियाओशान अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छ । त्यसैगरी, हाङझाउ–काठमाडौं उडानले हाङझाउ सियाओशान अन्तर्राष्ट्रिय विमानस्थलबाट असोज १५ गते (अक्टोबर १) मा स्थानीय समयअनुसार ०२ः०५ मा प्रस्थान गरी सोही दिन नेपाली स्थानीय समयअनुसार ०६ः२० मा काठमाडौं अवतरण गर्नेछ । हिमालय एअरलाइन्स्का उपाध्यक्ष एवम् प्रवक्ता विजय श्रेष्ठले नयाँ सेवाले यात्रुहरूको पहुँचमा वृद्धि गर्दै नेपाल र चीनबीचको लामो समयदेखिको सम्बन्धलाई अझै मजबुत बनाउने विश्वास व्यक्त गरे । हिमालय एयरलाइन्स् नेपाल–चीन बीचको संयुक्त साझेदारी कम्पनीका रूपमा स्थापित अन्तर्राष्ट्रिय विमान कम्पनी हो, जसको स्थापना सन् २०१४ मा भएको थियो । हिमालय एयरलाइन्ससँग हाल ४ वटा विमानहरू छन्, जसमध्ये तीन एयरबस ३२० – २१४ (१८० मितव्ययी सीटहरू) र एक एयरबस ३१९–११५ (१४४ मितव्ययी सीटहरू) रहेका छन् । हिमालय एयरलाइन्सले हाल मध्यपूर्व र दक्षिण एसियाका प्रमुख राष्ट्रहरूसंयुक्त अरब इमिरेट्स, मलेसिया, कतार, साउदी अरेबिया, कुवेत, बङ्गलादेश र चीनमा यात्रुवाहक उडानहरू सञ्चालन गरिरहेको छ । एयरलाइन्सले साउथ एशियन ट्राभल अवार्ड्स २०१७ मा आफ्नो सञ्चालनको पहिलो वर्षमै दक्षिण एसियामा अग्रणी नयाँ अन्तर्राष्ट्रिय एयरलाइन्सका रूपमा अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेको थियो । सन् २०२० मा यसले आफ्ना स्तरीय प्राविधिक व्यवस्थापनका लागि पहिलोपटक आईएसओ ९००१ः२०१५ प्रमाणीकरण प्राप्त गरेको थियो । विमान मर्मत र इन्जिनियरिङ् सेवाहरूमा पुर्याएको उच्च व्यवस्थापन र क्षमताप्रति कम्पनीले उक्त प्रमाणीकरण प्राप्त गरेको हो ।
घिरौँलामा भेटियो विषादी, विसर्जन गर्न निर्देशन
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा बिक्रीका लागि ल्याइएको घिरौँला मानव उपभोगका लागि अयोग्य भेटिएको छ । विषादी अवशेष द्रुत विश्लेषण गर्दा घिरौँलामा तोकिएको सीमाभन्दा अत्यधिक विषादी भेटिएपछि नमुना तत्काल विसर्जन गर्न निर्देशन दिइएको हो । केन्द्रीय कृषि प्रयोगशाला, हरिहरभवनअन्तर्गतको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ, कालीमाटीले २०८३ असोज ८ गते बजारमा ल्याइएका तरकारी तथा फलफूलका १० वटा नमुना परीक्षण गरेको थियो । परीक्षणका क्रममा स्टल नं १ का व्यापारी कृष्णबहादुर धितालले बेच्न राखेको धादिङको गजुरी गाउँपालिकामा उत्पादित घिरौँलामा अर्गानोफोस्फेट समूहको कीटनाशक विषादीको रोकावट दर ५० दशमलव ०७४४ प्रतिशत भेटिएको प्रयोगशालाले जनाएको छ । प्रयोगशालाको मापदण्डअनुसार विषादीको रोकावट दर ४५ प्रतिशतभन्दा बढी भएमा त्यस्तो तरकारी तथा फलफूल मानव उपभोगका लागि अयोग्य मानिन्छ । सोही आधारमा प्रयोगशालाले घिरौँलाको नमुना तत्काल विसर्जन गर्न केन्द्रीय कृषि प्रयोगशाला र कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिलाई पत्राचार गरेको छ । यसपटक परीक्षण गरिएका अन्य ९ वटा नमुनामा भने विषादीको मात्रा उपभोगयोग्य सीमाभित्र भेटिएको छ। गोलभेंडा, काँक्रो, बन्दागोभी, कन्ये च्याउ, काउली, बोडी, भान्टा र घिउसिमीमा ३५ प्रतिशतभन्दा कम रोकावट देखिएको प्रयोगशालाले जनाएको छ। विषादीको रोकावट दर ३५ प्रतिशतभन्दा कम भए उपभोगयोग्य, ३५ देखि ४५ प्रतिशतसम्म भए केही दिन राखेर पुनः परीक्षण वा पर्खनुपर्ने र ४५ प्रतिशतभन्दा बढी भए तत्काल विसर्जन गर्नुपर्ने मापदण्ड लागू गर्दै आएको छ । यो द्रुत परीक्षण कार्वामेट र अर्गानोफोस्फेट समूहका कीटनाशक विषादीका लागि मात्र लागू हुने प्रयोगशालाले जनाएको छ ।
राजनीतिक नियुक्तिमा पेन्सन तथा उपदान नपाउनेगरी कानुन ल्याउँछौंः कानुनमन्त्री गौतम
काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले संवैधानिक तथा राजनीतिक नियुक्तिमा पेन्सन तथा उपदान नपाउनेगरी कानुन परिमार्जन गर्ने बताएका छन्। राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ माथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै उनले बताएकी हुन् । पेन्सन तथा उपदान सरकारी सेवा गरेका व्यक्तिले मात्र पाउने सुविधा भएकाले नियुक्ति वा अन्य राजनीतिक जिम्मेवारीका आधारमा पेन्सन पाउने व्यवस्था हटाउने बताए । उनले हाल सर्वोच्च अदालतको फैसलाको आधारमा सरकारले दोहोरो सुविधा लिने अवस्थालाई सम्बोधन गर्नेगरी विधेयक ल्याएको बताइन् । पेन्सनसम्बन्धी कानुनी व्यवस्थामा सैद्धान्तिक रूपमा पुनरावलोकन गर्नुपर्ने देखिएकोले सरकारले मुल ऐन नै परिमार्जन गर्ने उनको भनाइ छ । यद्यपि, तत्कालै कानुनको व्यापक पुनरावलोकन गर्न समय अभाव रहेकोले तत्काल दोहोरो सुविधा हटाउनेगरी मात्रै कानुन संशोधन गरिएको बताइन् । उनले आगामी अधिवेशनमा पेन्सन तथा उपदानका हालका व्यवस्थालाई परिमार्जन गर्नेगरी नयाँ कानुन ल्याउने प्रतिवद्धता जनाइन् ।
५३५ ग्राम सुनजस्तो वस्तुसहित भारतीय पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५३५ ग्राम सुनजस्तो देखिने पहेंलो अर्धठोस पदार्थसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । बिहीबार दिउँसो काठमाडौं आएका भारत केरलाका मोहम्मद चेरा थोडीलाई शंकास्पद गतिविधिका गरेकाले जाँच गर्ने क्रममा उक्त पदार्थसहित उनलाई प्रहरीले पक्राउ गरेको हो । संयुक्त अरब इमिरेट्सबाट फ्लाई दुबईको उडानमार्फत उनी काठमाडौं आएका हुन् । विमानस्थलमा जाँच गर्ने क्रममा उनले लगाएको भित्री कट्टुभित्र प्लास्टिकमा पोको पारेर उनले लुकाइछिपाई ल्याएका थिए । सुनजस्तो देखिने पहेंलो अर्धठोस पदार्थ फेला परेको प्रहरीले जनाएको छ । बरामद पदार्थको तौल करिब ५३५ ग्राम रहेको छ । पक्राउ परेका थोडीलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता राजकुमार सिलवालले जानकारी दिए ।
नेपाल खुला विश्वविद्यालयमा उपकुलपति र कुलसचिव नियुक्तिका लागि दरखास्त आह्वान
काठमाडौं । नेपाल खुला विश्वविद्यालयको उपकुलपति र कुलसचिव नियुक्तिका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले दरखास्त आह्वान गरेको छ । शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गत उच्च शिक्षा शाखाले सार्वजनिक सूचना जारी गर्दै उपकुलपति र कुलसचिव पदका लागि आवेदन मागेको हो । समितिले नेपाल खुला विश्वविद्यालय ऐन, २०७३ तथा सम्बन्धित कार्यविधिअनुसार योग्य उम्मेदवारबाट दरखास्त मागेको जनाएको छ । मन्त्रालयका अनुसार उपकुलपति र कुलसचिव छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८३ बमोजिम आवेदन दिनुपर्नेछ । इच्छुक उम्मेदवारले २०८३ असोज १४ गते कार्यालय समयभित्र शिक्षा तथा खेलकुद मन्त्रालयको उच्च शिक्षा शाखामा निवेदन पेस गर्नुपर्ने सूचनामा उल्लेख छ । मन्त्रालयले आवेदनका लागि आवश्यक योग्यता, मापदण्ड, कागजात तथा अन्य विवरण सम्बन्धित कार्यविधिमा तोकिएको जनाएको छ ।
यामाहा एक्सएसआर १५५ को नयाँ ब्लु कलर सार्वजनिक, मूल्य ५ लाख ३४ हजार
काठमाडौं । यामाहाले एक्सएसआर १५५ मोटरसाइकलको नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक गरेको छ । काठमाडौंको भृकुटीमण्डपमा जारी ‘यामाहा ब्लु फेस्ट’मा असोज ७ गते नयाँ कलर सार्वजनिक गरिएको हो । नेपालका लागि यामाहा दुईपाङ्ग्रे सवारीसाधनको आधिकारिक वितरक एमएडब्लु राइड्स प्रालिले असोज ५ देखि १० गतेसम्म भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट : नेपालकै सबैभन्दा ठूलो एक्सचेन्ज मेला’ आयोजना गरिरहेको छ । नयाँ ब्लु कलरको एक्सएसआर १५५ को मूल्य ५ लाख ३४ हजार ९०० रुपैयाँबाट सुरु हुने कम्पनीले जनाएको छ । नाडा अटो शोमा सार्वजनिक भएपछि ग्राहकको बढ्दो रुचिलाई ध्यानमा राख्दै थप कलर विकल्पका रूपमा नयाँ भेरियन्ट ल्याइएको कम्पनीको भनाइ छ । नाडा अटो शोमा एक्सएसआर १५५ ले ६ दिनमै ४२८ युनिट बुकिङ प्राप्त गरेको थियो । चाडपर्वको समय नजिकिएसँगै मोटरसाइकलप्रति ग्राहकको आकर्षण बढिरहेको र नयाँ कलरको मागसमेत आएको कम्पनीले जनाएको छ । एमएडब्लु ग्रुपका अध्यक्ष विष्णु कुमार अग्रवालले नाडा अटो शोमा एक्सएसआर १५५ ले उत्साहजनक प्रतिक्रिया पाएको बताए। ग्राहकको मागलाई ध्यानमा राख्दै नयाँ ब्लु कलर सार्वजनिक गरिएको उनले बताए । उनका अनुसार आगामी दिनमा नेपालमा एक्सएसआर १५५ का थप कलर विकल्पसमेत ल्याउने तयारी छ । यामाहा एक्सएसआर १५५ मा नियो–रेट्रो डिजाइन, छुट्टै पहिचान र आधुनिक प्रदर्शनलाई संयोजन गरिएको कम्पनीले जनाएको छ । भृकुटीमण्डपमा जारी एक्सचेन्ज मेला असोज १० गतेसम्म सञ्चालन हुनेछ। मेलामा ग्राहकले नयाँ ब्लु एक्सएसआर १५५ अवलोकन तथा टेस्ट राइड गर्न सक्नेछन् । त्यस्तै, मेलामा ५० भन्दा बढी मूल्याङ्कनकर्तामार्फत पुरानो दुईपाङ्ग्रे सवारीसाधनको मूल्याङ्कन गराई जुनसुकै ब्रान्डको पुरानो मोटरसाइकल वा स्कुटर साटेर नयाँ यामाहा खरिद गर्न सकिनेछ । कम्पनीले मेलामा विशेष चाडपर्व एक्सचेन्ज अफरसमेत उपलब्ध गराएको जनाएको छ ।
कार्यालय समयमा तलबसँगै भत्ता लिने व्यवस्था हटाऔं : अमरेशकुमार सिंह
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा.अमरेशकुमार सिंहले संवैधानिक निकायका पदाधिकारीले तलबसँगै बैठक, अन्तर्वार्ता लगायत विभिन्न शीर्षकमा लिने भत्ताको व्यवस्था हटाउनुपर्ने बताएका छन् । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ माथिको छलफलमा उनले कार्यालयकै नियमित कामका भत्ता दिनु उपयुक्त नहुने बताए । उनले नियमित कामको लागि बस्ने बैठकका लागि समेत पदाधिकारीले छुट्टै भत्ता लिने गरेको बताए । लोक सेवा आयोगका अध्यक्ष तथा सदस्यले लिखित परीक्षापछि हुने अन्तर्वार्तामा छुट्टै भत्ता पाउने व्यवस्था रहेको उनको भनाइ छ । निर्वाचन आयोगका पदाधिकारीले पनि निर्वाचनका क्रममा समेत छुट्टै भत्ता लिने गरेको सांसद सिंहले बताए । निर्वाचनका समयमा निर्वाचन आयोगअन्तर्गत हुने खर्च तथा भत्ताको व्यवस्थाबारे समेत समीक्षा आवश्यक रहेको उनको भनाइ छ । लोकसेवा आयोग र निर्वाचन आयोग दुवै समितिको कार्यक्षेत्रअन्तर्गत पर्ने भएकाले ती निकायका पदाधिकारीको सुविधा सम्बन्धमा स्पष्ट व्यवस्था गर्नुपर्नेमा उनले जोड दिए । उनले कानुन निर्माण गर्दा समयसापेक्ष र देश तथा जनताको हितमा रहेर गर्नुपर्ने बताए ।