ईश्वर पोखरेलसहित ७ जना स्थायी कमिटीमा, यी हुन् २२ निर्णय
काठमाडौं । नेकपा एमालेको चार दिनसम्म चलेको केन्द्रीय कमिटी बैठकले पार्टीको नेतृत्व संरचना, संगठन विस्तार र समसामयिक राजनीतिक विषय समेटिएका २२ वटा निर्णय गरेको छ । ललितपुरको भनिमण्डलमा अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको छ । बैठकले पूर्वराष्ट्रपति तथा एमालेकी पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीलाई पार्टीको दोस्रो वरीयतामा रहने गरी वरिष्ठ नेता पदमा मनोनीत गर्ने निर्णयसमेत गरेको छ । पार्टीको नेतृत्व संरचनामा गरिएको अर्को महत्त्वपूर्ण निर्णयअन्तर्गत ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र देवराज घिमिरेसहित सात जनालाई स्थायी कमिटी सदस्यमा मनोनीत गरिएको छ । त्यस्तै, २० जनालाई केन्द्रीय कमिटी सदस्यमा मनोनीत गर्ने निर्णय बैठकले गरेको छ । महासचिव शंकर पोखरेलद्वारा जारी बैठकका निर्णयसम्बन्धी वक्तव्यअनुसार केन्द्रीय कमिटीले मुलुकका समसामयिक राजनीतिक तथा राष्ट्रिय मुद्दामाथि समेत धारणा सार्वजनिक गरेको छ । बैठकले भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट भएको जनधनको ठूलो क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावितको उद्धार, राहत तथा पुनस्र्थापनाका कामलाई प्रभावकारी बनाउन सरकारसँग माग गरेको छ । चार दिनसम्म चलेको बैठकले पार्टीको आगामी कार्यदिशा, संगठनात्मक व्यवस्थापन तथा समसामयिक राजनीतिक विषयमा निर्णय गर्दै सम्पन्न भएको एमालेले जनाएको छ ।
सिमकार्ड र बैंक खाता प्रयोग गरी ठगी गर्ने दुई जना पक्राउ
काठमाडौं । विभिन्न व्यक्तिलाई रकम दिने प्रलोभनमा पारी सिमकार्ड र बैंक खाता खोल्न लगाएर ठगी गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको सुनवर्षी नगरपालिका–९ का ३५ वर्षीय सागर साह र सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१२ का २८ वर्षीय आनन्द आचार्य छन् । प्रहरीका अनुसार उनीहरूले विभिन्न व्यक्तिलाई पैसा दिने प्रलोभनमा पारी एनसेललगायत दूरसञ्चार कम्पनीका सिमकार्ड किन्न लगाउने गरेका थिए । त्यस्तै, विभिन्न बैंकमा ई–बैंकिङ र एटीएमसहितको खाता खोल्न लगाएर सिमकार्ड, चेकबुक, एटीएम कार्ड तथा ई–बैंकिङको ओटीपी र पिन नम्बर आफ्नो नियन्त्रणमा लिने गरेको प्रहरीले जनाएको छ । उक्त सिमकार्ड र बैंक खातामार्फत हुन्डी, अनलाइन गेम तथा अनलाइन ठगीबाट आएको रकमको कारोबार गर्ने गरेको सूचनाका आधारमा प्रहरीले अनुसन्धान थालेको थियो । प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले उनीहरूलाई असोज ७ गते पक्राउ गरेको हो । उनीहरूको साथबाट २ थान ल्यापटप, २२ थान सिमकार्ड, ३ थान मोबाइल र २ थान एटीएम कार्ड बरामद भएको प्रहरीले जनाएको छ । उनीहरूमाथि बैंकिङ कसुरसम्बन्धी मुद्दामा पाटन उच्च अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ । प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूले बैंक खाता, एटीएम र सिमकार्ड उपलब्ध गराएबापत ५० हजार रुपैयाँसम्म दिने प्रलोभन देखाउने गरेको खुलेको छ । उनीहरूले एउटै व्यक्तिलाई विभिन्न बैंकमा २१ वटासम्म खाता खोल्न लगाएको र विभिन्न व्यक्तिबाट २६० भन्दा बढी बैंक खाता खोल्न लगाएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ । खाता खोल्न लगाएका व्यक्तिहरूको सिमकार्ड, मोबाइल बैंकिङ र एटीएमसमेत उनीहरूले आफ्नो नियन्त्रणमा लिने गरेको पाइएको छ । तर, खाता, एटीएम र सिमकार्ड उपलब्ध गराएबापत दिने भनिएको रकम नदिएपछि शंका लागेर पीडितहरू प्रहरीकहाँ पुगेर उजुरी दिएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
५ प्रतिशतभन्दा बढी सेयर बिक्रीअघि अग्रिम सूचना अनिवार्य गर्ने सेबोनको तयारी
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आधारभूत सेयरधनीले ठूलो परिमाणमा सेयर बिक्री गर्नुअघि अग्रिम सूचना दिनुपर्ने व्यवस्थाबारे अवधारणापत्र सार्वजनिक गरेको छ । बोर्डले असोज ७ मा सार्वजनिक गरेको अवधारणापत्रमा ५ प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्नुअघि कम्तीमा १५ दिनअघि कम्पनीलाई जानकारी दिनुपर्ने व्यवस्था स्पष्ट पारिएको छ । कम्पनीले त्यसपछि नेप्सेमार्फत उक्त सूचना सार्वजनिक गर्ने प्रस्ताव गरिएको छ । सेबोनले यो व्यवस्था बजार निगरानी, लगानीकर्ता संरक्षण र व्यवस्थित कारोबारका लागि ल्याइएको जनाएको छ । यसले सबै लगानीकर्तालाई समान रूपमा सूचना उपलब्ध हुने र सूचित निर्णय लिन सहज हुने बोर्डको भनाइ छ । बोर्डका अनुसार अग्रिम सूचनाले बजारमा आउन सक्ने ठूलो बिक्रीको पूर्वानुमान गर्न, असामान्य मूल्य उतारचढाव पहिचान गर्न तथा बजार दुरुपयोग निगरानी गर्न पनि सहयोग पुग्नेछ । अवधारणापत्रमा अन्तर्राष्ट्रिय अभ्यास र प्रस्तावित नियामकीय ढाँचासमेत समेटिएको छ । यसबारे सरोकारवालाको बुझाइ स्पष्ट बनाउन अवधारणापत्र सार्वजनिक गरिएको बोर्डले जनाएको छ । सेबोनले यो व्यवस्था लागू हुँदा बजारमा पारदर्शिता बढ्ने, नियामकीय निगरानी प्रभावकारी हुने र साना लगानीकर्ताको हित संरक्षणमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।
नेप्सेमा ‘बाइ फर्स्ट, सेल लेटर’ प्रणालीबाट इन्ट्राडे कारोबार सुरु गर्ने प्रस्ताव
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेप्सेमा अन्तरदिवसीय (इन्ट्राडे) कारोबार लागू गर्ने तयारीस्वरूप अवधारणापत्र सार्वजनिक गरेको छ । बोर्डले सरोकारवालाबाट राय, सुझाव र सुधारका विषय संकलन गर्न सार्वजनिक परामर्श थालेको हो । बोर्डका अनुसार पूँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना–२०८३ र चालु आर्थिक वर्षको नीतिअनुसार मार्जिन ऋण तथा इन्ट्राडे कारोबार कार्यान्वयनको तयारी भइरहेको छ । अवधारणापत्रमा लगानीकर्ता संरक्षणलाई पहिलो प्राथमिकतामा राखिएको छ । जोखिममा आधारित नियमन, वास्तविक समयको कारोबार तथा अनुगमन, प्रविधिमैत्री प्रणाली र पारदर्शी बजार सञ्चालनमा जोड दिइएको बोर्डले जनाएको छ । प्रारम्भमा नियमित कारोबार हुने, पर्याप्त तरलता भएका र जोखिम कम भएका सीमित धितोपत्रमा मात्रै इन्ट्राडे कारोबार सुरु गर्ने प्रस्ताव गरिएको छ । परीक्षण चरणको अनुभवपछि यसको दायरा विस्तार गरिने उल्लेख छ । बोर्डले पहिलो चरणमा ‘बाइ फर्स्ट, सेल लेटर’ प्रणाली लागू गर्ने प्रस्ताव गरेको छ । आवश्यक पूर्वाधार तयार भएपछि मात्रै ‘सेल फर्स्ट, बाइ लेटर’ प्रणाली लागू गर्ने योजना छ । इन्ट्राडे कारोबार सुरु गर्नुअघि कानुनी व्यवस्था, ब्रोकर कार्यविधि, जोखिम व्यवस्थापन, निगरानी प्रणाली र प्रविधिगत पूर्वाधार तयार गरी परीक्षण र पाइलटमार्फत चरणबद्ध रूपमा कार्यान्वयन गरिने बोर्डले जनाएको छ । अवधारणापत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, सिडिएस एन्ड क्लियरिङ तथा स्टक ब्रोकर एसोसिएसन अफ नेपालका प्रतिनिधि सम्मिलित समितिले तयार गरेको हो ।
इन्द्रजात्राको बिदामा पनि वीर अस्पतालका सबै सेवा नियमित सञ्चालन हुने
काठमाडौं । इन्द्रजात्राको अवसरमा असोज ९ गते शुक्रबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा भए पनि वीर अस्पतालका सबै स्वास्थ्य सेवा नियमित रूपमा सञ्चालन हुने भएका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गतको वीर अस्पतालले सूचना जारी गर्दै बिदाका दिन पनि अस्पतालका सम्पूर्ण सेवा यथावत् सञ्चालन हुने जनाएको हो । अस्पतालले सेवाग्राही तथा सरोकारवालालाई सोही अनुसार जानकारी लिन अनुरोध गरेको छ ।
नेसनल मेडिकल कलेजद्वारा आवासीय चिकित्सकलाई छात्रावास खाली गर्न निर्देशन
काठमाडौं । नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालले शैक्षिक सत्र २०८२ का प्रथम वर्षका स्नातकोत्तर (पीजी) तहका आवासीय चिकित्सक (रेजिडेन्ट) हरूको सम्पूर्ण शैक्षिक तथा क्लिनिकल गतिविधि स्थगित गरेको छ । कलेज प्रशासनले बिहीबार एक सूचना जारी गर्दै अर्को व्यवस्था नभएसम्मका लागि उनीहरूलाई दिइँदै आएको कक्षा, वार्ड तथा इमर्जेन्सी ड्युटी र प्रशिक्षणसम्बन्धी कामहरू रोकिएको जनाएको छ । हालको संस्थागत तथा शैक्षिक परिस्थितिलाई कारण देखाउँदै कलेजले ती चिकित्सकहरूलाई फिर्ता बोलाइदिन त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) समक्ष औपचारिक अनुरोध गरिसकिएको जानकारी दिएको छ । यसैगरी कलेजले प्रथम वर्षका पीजी रेजिडेन्टहरूलाई सूचना जारी भएको १२ घण्टाभित्र कलेजले उपलब्ध गराएको छात्रावास, क्वाटर वा अन्य आवास खाली गर्न निर्देशन दिएको छ । आवासीय चिकित्सकहरूले तोकिएको समयभित्र कलेजको सम्पत्ति बुझाई आफ्नो व्यक्तिगत सामानसहित परिसर छाड्नुपर्ने सूचनामा उल्लेख छ । कलेजका प्रधानाचार्य र होस्टेल सुपरिन्टेन्डेन्टद्वारा जारी सूचनामा यो निर्णय अर्को सूचना नआएसम्म लागू रहने र सम्बन्धित सबैलाई यसको पालना गर्न भनिएको छ ।
एमाले केन्द्रीय कमिटी बैठक सकियो
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सम्पन्न भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहीबार (आज) बसेको बैठक सम्पन्न भएको एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिए । बैठकमा पार्टीको सांगठनिक संरचना, आगामी कार्यदिशा तथा समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो । केन्द्रीय कमिटी बैठकपछि सचिवालय बैठकसमेत बसेको छ । बैठकका निर्णय र छलफलका विषयमा पार्टीले औपचारिक रूपमा जानकारी गराउने तयारी गरेको छ ।
पछिल्लो २४ घण्टामा पाल्पाको बल्ड्याङगढीमा सबैभन्दा धेरै वर्षा मापन
काठमाडौं । पछिल्लो २४ घण्टामा पाल्पाको बल्ड्याङगढीमा देशभरकै सबैभन्दा धेरै वर्षा मापन भएको छ । मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार बल्ड्याङगढीमा १६१ मिलिमिटर वर्षा भएको हो । महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । बल्ड्याङगढीमा भने अन्य स्थानको तुलनामा उल्लेख्य रूपमा बढी वर्षा मापन भएको हो । वर्षाका कारण पहाडी तथा तराईका केही क्षेत्रमा आगामी ३ दिन बाढी, पहिरो र डुबानको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गर्दै आएका छन् ।