विकासन्युज

राष्ट्रिय वाणिज्य बैंक र एनआईडीसी एक आपसमा गाभिए, स्वाप रेसियो १ः१

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र एनआईडीसी डेभलपमेन्ट बैंक लिमिटेड एक आपसमा गाभिएका छन् । राष्ट्रिय वाणिज्य बैंकले आइतबार सम्पन्न एक विशेष साधारणसभा बीच उक्त संस्थालाई प्राप्त गरेको हो । बैंकको समितिबाट निर्धारण गरिएको सेयर आदान प्रदान अनुपात १ः१ (एक बराबर एक अनुपात) लाई अन्तिम स्वीकृति दिने सभाले जनाएको छ । बैंक संचालक समितिका अध्यक्ष डा.रबीन्द्रप्रसाद पाण्डेले मर्जर पश्चात बैंक अझ बलियो हुने बताएका छन् । साथै, बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको समग्र वित्तीय अवस्था, हासिल गरेको उपलब्धि तथा भावी योजनाको बारेमा जानकारी दिएका छन् । हाल बैंकले ६९ जिल्लामा १८० वटा शाखा कार्यालय, १३० वटा एटिएम, ९२ वटा शाखा रहित बैंकिङ्ग र ६८ वटा शाखाहरुबाट सरकारी कारोबार गर्दै आइरहेको छ । चालु आ.व.२०७४/०७५ को दोश्रो त्रैमाससम्म बैंकले १ खर्ब ४९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १० अर्ब रुपैयाँ कर्जा लगानी गरि १ अर्ब ७८ करोड रुपैयाँ खुद मुनाफा कमाएको छ ।

५१ प्रतिशत संस्थापक सेयर कायम गर्ने एभरेष्ट इन्स्योरेन्सको निर्णय, ६०० प्रतिशत हकप्रद नदिने

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीले ५१ प्रतिशत संस्थापक सेयर कायम गर्ने निर्णय गरेको छ । कम्पनी सञ्चालक समितिको बैठकले हाल कायम रहेका सबै सेयर धनीहरुलाई थप ५१ प्रतिशत संस्थापक सेयर कायम हुने गरि हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो । हाल १२ करोड १५ लाख चुक्ता पुँजी रहेका कम्पनीका लगानी कर्ताले अब ५१ प्रतिशतले हुने १२ करोड ६४ लाख मू्ल्य बराबरको संस्थापक हकप्रद सेयर पाउनेछन् । तर त्यसका लागि नेपाल धितोपत्र बोर्ड र बीमा समितिले अनुमति भने दिनुपर्नेछ । संस्थापक हकप्रद सेयर जारी गरेपछि कम्पनीको चुक्ता पुँजी २४ करोड ७९ लाख रुपैंयाँ कायम हुनेछ जसमा ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत साधारण सेयरको संरचना बन्नेछ । तर दुबै थरी सेयर धनी भने एउटै व्यक्ति हुनेछन् । २४ करोड ७९ लाख चुक्ता पुँजी कायम भएपछि कम्पनीलाई बीमा समितिले तोकिएको एक अर्ब पुँजी पुर्याउन थप ७५ करोड २१ लाख अपुग हुनेछ । कम्पनीले सो मात्रामा पुँजी जुटाउन ३०३ प्रतिशत हकप्रद सेयर जारी गर्न सक्नेछ । तर सोक्रममा कम्पनीले केहि मात्रामा बोनस सेयर समेत जारी गर्नुपर्ने अवस्था आउन सक्नेछ । संस्थापक लगानी कर्ता बिनै सञ्चालन हुँदै आएको एभरेष्ट इन्स्योरेन्सलाई बीमा समितिले पुस २८ गते पत्र लेखेर संस्थापक र साधारण सेयरधनीको अनुपात ५१ः४९ बनाउन निर्देशन दिएको थियो ।  

साढे १८ सय जनालाई सेनामा जागिर खुल्यो, योग्यता ८ पासदेखि एसएलसीसम्म

काठमाडौं । नेपााली सेनाले विभिन्न पदहरुमा १८ सय ५१ जनालाई जागिर खुलाएको छ । सेनाले पण्डित हुद्दा, अमल्दार, ड्राइभर, कुचिकार, चर्मकर्मी, सुचिकार, लोहकार, केशकर्तक, धोवी, सिकर्मी, र ब्रास ब्याण्डको लागि कर्मचारीहरु मगेको हो । सेनाको भर्ना छनौट निर्देशनामलय कार्यकारथी विभागले प्रतियोगिताका लागि खुल्ला र समावेशी तर्फका लागि सूचना जारी गरेको छ । प्रतियोगितामा भाग लिने व्यक्तिले पद अनुसार नेपाल सरकारको मान्याता प्राप्त शैक्षिक संस्थाबाट कक्षा आठ देखि एसएलसी सम्म पास गरेको हुनुपर्छ । निर्देशनालयले फारम भर्नका लागि माघ २१ गते देखि फागुन २१ गतेसम्म र सम्पर्क मिती फागुन ३० गते तोकेको छ । यस्तो छ माग संंख्या रहेका सैनिक कार्यलयहरु: १.भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डा -३६१ जना २.पुर्वी पृतना हेड क्याटर, ईटहरी -१०० जना ३.पशुपति प्रसाद गण ईलाम -६० जना ४.रणबम गण भोजपुर -६० जना ५. मध्य पुर्वी पृतना हेड क्वाटर -६० जना ६. इन्द्रबक्स् गण रौतहट -९० जना ७. भीमदल गण, सप्तरी -५० जना ८.९ बाहिनी अड्डा, सिन्धुली -६० जना ९.मध्य पृतना हेड क्वाटर, हेटौडा -९० जना १०.महिन्द्रलाल गण, चितवन -७० जना ११.पश्चिम पृतना हेड क्वाटर, पोखरा -१०० जना १२.२३ बाहिनी अड्डा,बाग्लुङ्ग -६० जना १३. श्री जंग गण, लमजुङ्ग -७० जना १४. मध्य पश्चिम पृतना हेड क्वाटर, रुपन्देही -१०० जना १५. गोरखबक्स गण, प्युठान -५० जना १६. शिवदल गण बर्दिया -६० जना १७. उत्तर पश्चिम पृतना हेड क्वाटर, सुर्खेत -१०० जना १८.२४ बाहिनी अड्डा,जुम्ला -५० जना १९. रणसुर गुल्म, कालिकोट -५० जना २०. सुदुर पश्चिम पृतना हेड क्वाटर, दिपायल -९० जना २१. २५ बाहिनी अड्डा कञ्चनपुर -६० जना २२. दुर्गाबक्स गण, अछाम -६० जना

एनसीसी बैंकको ७४ लाख कित्ता सेयर लिलामीमा, १ अर्ब ५५ कराेडकाे सेयरमा एनआरएनकाे अाँखा

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकको ७४ लाख कित्ता सेयर लिलामीमा राखिएको छ । यस बैंकको मुख्य प्रर्बद्धक एनबी समूहले आफ्नो स्वामित्वमा भएको अधिकांश सेयर सेयर बिक्री गर्ने निर्णय गरेको छ । उक्त समूहले ७० लाख कित्ता संस्थापक सेयर प्रतिकित्ता न्यूनतम २१० रुपैयाँ मूल्य तोकेर बढाबढ मूल्यमा लिलामीमा राखेको छ । एनबी समूहको बाध्यता २२ वर्षअघि एनसीसी बैंकको स्थापना हुँदा जीतबहादुर श्रेष्ठ, लक्ष्मीबहादुर श्रेष्ठ र उनका भाई, भतिजा तथा आफन्तको स्वामित्वमा एनसीसी बैंकको करिव ३८ प्रतिशत सेयर थियो । जीतबहादुर र लक्ष्मीबहादुर दाजुभाईको परिवार सदस्यसँग मात्र ३० प्रतिशत सेयर थियो । एक वर्षअघि चार वटा विकास बैंक एनसीसीमा मर्जभएपछि एनबी समूहको सेयर १५ प्रतिशतमा झरेको थियो । बैंकको सेयर स्वामित्व घटेपछि एनसीसी बैंकमा जीतबहादुर लक्ष्मीबहादुर दाजुभाईको केही पनि नचल्ने अवस्था सिर्जना भएको छ । उनीहरुले चारवटा विकास बैंकसँगको मर्जर प्रक्रियामा असहमति जनाउँदै नियामकहरु राष्ट्र बैंक, कम्पनी रजिष्ट्रार कार्यालय र अदालतको समेत ढोका ढकढक्याएका थिए । व्यवसायिक क्षेत्रमा बेईमानको उपमा पाईसकेको यो समूहलाई न नियामकले साथ दियो, न अदालतले । बैंक सम्बद्ध स्रोतका अनुसार मर्जपछि एनबी समूहले बैंक विरुद्ध ६ वटा मुद्दा अदालतमा दायर गरेकोमा सबै मुद्दामा उनले हार खानु परेको छ । ‘पहिला सबै मुद्दा एनबी समूहले जित्थ्यो, अहिले सबै मुद्दा बैंकले जित्न थालेको छ’ बैंक उच्च व्यवस्थापन स्रोतले भन्यो । बैंक भित्र पनि एक्लिदै गएपछि, अदालत, नियामक निकायबाट पनि खेदिएको महशुससँगै एनबी समूह ७० लाख कित्ता सेयर बेच्ने निर्णयमा पुगेको विश्लेषण रहेको छ । ७० लाख कित्ता सेयर बिक्रीपछि सो बैंकमा करिव ४ लाख कित्ता सेयर उनीहरुको स्वामित्वमा रहने स्रोतले बतायो । यस विषयमा कुरा गर्न हामीले लक्ष्मीबहादुर श्रेष्ठलाई पटक पटक सम्पर्क गर्दा पनि कुराकानी हुन सकेन । हकप्रद सेयर र ऋणको दवाब एनसीसी बैंकले ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्दैछ । १ प्रतिशतभन्दा बढी सेयर धारण गरेका प्रबद्र्धकले हकप्रद सेयर लिन फागुन ११ गतेसम्मसम्म पैसा बुझाईसक्नु पर्नेछ । एनबी समूहसँग हाल करिव ७४ लाख कित्ता सेयर छ । उसले हकप्रद सेयर लिनको लागि करिब ३७ करोड रुपैयाँ बुझाउनुपर्छ । बैंकको ऋण र ब्याजले थला परेको र थप ऋणका लागि कुनै पनि बैंक तथा वित्तीय संस्थाले विश्वास गर्ने अवस्थामा नरहेका जीतबहादुर लक्ष्मीबहादुरहरु ३७ करोड रुपैयाँ जुटाउन नसक्ने उनी निकट व्यक्तिहरु बताउँछन् । यस्तो सेयर किन्नको लागि भुक्तानी गरिने पैसाको कानुनी रुपमा स्रोत खुलेको हुनुपर्छ । केही बैंकहरुले जीतबहादुर र लक्ष्मीबहादुरलाई ऋण असुलीको लागि ताकेता गरिरहेको बुझिएको छ । एनआरएनको सक्रियता र राष्ट्र बैंकको भूमिका एनसीसी बैंकको ७४ लाख कित्ता सेयर लिलामीमा आएपछि नेपालको बैकिङ क्षेत्रमा लगानी गर्न इच्छा प्रकट गर्दै आएका एनआरएनहरुको सक्रियता बढेको छ । नेपाल राष्ट्र बैंकले पनि बैंकिङ क्षेत्रमा लगानी गर्न चासो राख्दै राष्ट्र बैंक धाउने ग्रुपहरुलाई एनसीसी बैंकको सेयर किन्न सुझाव दिन थालेको छ । कुमारी बैंकलाई एनसीसीमा मर्ज गराएर एनबी समूहको सेयर ८ प्रतिशतभन्दा कममा झार्ने राष्ट्र बैंकको पुरानो प्रयास विफल भएको थियो । यतिबेला लिलामीमा रहेको सेयर सेटल गर्न सके एनसीसी बैंकले झेल्दै आएको समस्या निदान हुने राष्ट्र बैंकको ठम्याई छ । नेपाल इन्स्याेरेन्सले ४ लाख ३३ हजार  कित्ता बेच्दै एनबी समूहका जीतबहादुर श्रेष्ठ, लक्ष्मीबहादुर श्रेष्ठले लिलामीको सूचना प्रकाशित गरेको भोेलि पल्ट नै नेपाल इन्स्योरेन्स कम्पनीले सोही बैंकको संस्थापक सेयर प्रतिकित्ता १७० रुपैयाँ न्यूनतम मूल्य राखेर लिलामीमा राखेको छ । कम्पनीले आफ्नो स्वामित्वमा रहेको एनसीसी बैंकको ४ लाख ३३ हजार ४२ कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो । इन्स्योरेन्स कम्पनीले आफ्नो स्वामित्वको सेयर लिलामी गर्दा एनबी समूहलाई २८ करोड रुपैयाँको धक्का लागेको छ । एनबी समूहले तोकेको मूल्य भन्दा इन्स्योरेन्स कम्पनीले तोकेको मूल्य प्रतिकित्ता ४० रुपैयाँ कम रहेको छ । इन्स्योरेन्स कम्पनीले प्रतिकित्ता १७० रुपैयाँ मूल्य तोकेपछि एनबी समूहले लिलामीमा राखेको सेयरले २१० रुपैयाँ पाउने सम्भावना कमजोर भएको छ । एउटै कम्पनीको एउटै प्रकृतिको सेयरमा प्रतिकित्ता ४० रुपैयाँ फरक भएकाले लगानीकर्ताले सस्तो मूल्यलाई आधार मानेर महँगो मूल्य नकार्न सक्ने देखिएको छ । लिलामीमा राखेको सेयर लिनको लागि माघ २८ गते भित्र आवेदन गर्नु पर्ने बिक्री प्रबन्धक एनआईबीएल क्यापिटल मार्केट्सले जनाएको छ । जीतबहादुर र लक्ष्मीबहादुरले लिलामीमा राखेको सेयर फागुन ३ गतेसम्म आवेदन गर्न सक्ने बिक्री प्रबन्धक सीआईबीएल क्यापिटलले जनाएको छ । स्रोतका अनुसार नेपाल इन्स्योरेन्स कम्पनीले सेयरको लागत, नेटवर्थ, बजार मूल्य, कम्पनीले दिने सम्भावित लाभांश र भविष्यमा हुन सक्ने सम्मावित मूल्य परिवर्तनलाई आधार मानेर प्रतिकित्ता १७० रुपैयाँ न्यूनतम मूल्य तोकि बढाबढ मूल्यमा लिलाम गर्न सूचना प्रकाशित गरेको हो ।

कालो सूचिमा परेका प्राइम लाइफ इन्स्योरेन्सका संस्थापकले हकप्रद भर्न नपाउने

काठमाडौं । कर्जा सुचना केन्द्रको कालो सुचीमा परेका प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका संस्थापकहरुले हकप्रद सेयर भर्न नपाउने भएका छन् । कम्पनीले संस्थापक लगानी कर्ताहरुलाई माघ २९ गतेभित्रै आफ्नो हिस्सा बराबरको हकप्रद सेयरको रकम जम्मा गर्न भनेको छ । तर कम्पनीले कालो सूचिमा परेका संस्थापकहरुले भने हकप्रद भर्न नपाउने स्पष्ट पारेको छ । प्राइमले पहिलो पटक बैंकको कर्जा नतिरेर कालो सुचिमा परेका संस्थापक सेयरधनीलाई हकप्रद निदिने जानकारी गराएको हो । कम्पनीले चुक्तापुँजी बढाउन हकप्रद सेयर निष्कासन गर्न लागेको छ । सर्वसाधारणमा हकप्रद निष्कासन गर्नुअघि संस्थापकले आफनो हिस्सामा पर्न आउने सेयर रकम बुझाउन भनेको छ । कालो सुचीमा भएकाले हकप्रद सेयर किन्न नपाउने अनिवार्य व्यवस्था नभएपनि कम्पनी आफुले यस विषय निर्णय गर्न सक्ने छन् । प्राइमले चुक्तापुँजी बढाउन १ बराबर १ः६० को अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो । सर्वसाधारण सेयरधनीलाई हकप्रद सेयर निष्कासनको सुचना प्रकाशित गर्नुअगावै धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिकामा भएको व्यवस्थाअनुसार हकप्रद निष्कासन गर्नुपर्ने कम्पनीले जनाएको छ । कम्पनीको गत भदौ २७ गते सम्पन्न सातौ, आठौ, नवौ र दशौं वार्षिक साधारणसभाले २५ प्रतिशत बोनस सेयर वितरण गरेर चुक्तापुँजी ६१ करोड २ लाख रुपैयाँ पुगेको छ । बीमा समितिले चालु आर्थिक वर्षभित्र जीवन बीमा कम्पनीलाई २ अर्ब रुपैयाँ चुक्तापँुजी पुर्याउन निर्देशन दिएको छ । कम्पनी स्थापना गर्दा बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिइ कालोसुचिमा परेका व्यक्ति तथा संस्थाले संस्थापक सेयर खरिद गर्न नपाउने व्यवस्था छ । तर पछि हकप्रद सेयर खरिदको विषयमा यस्तो व्यवस्था नभएको बीमा समितिका नियमन विभाग प्रमुख शाम्भराज लामिछानेले बताए ।

नाडाले भन्यो-कालोबजारी र ठगी गरेका छैनौं

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसियसनले कालोबजारी तथा ठगी नगरेको स्पष्ट पारेको छ । एसोसियसनले विज्ञप्ति प्रकाशित गरेर आर्थिक ऐन अनुसार बिक्रि मूल्य प्रत्येक चार।चार महिनामा प्रकाशित गर्दै आएको बताउँदै भनेको छ–एसोसियसनका कुनै पनि सदस्यले मुनाफाकै कारण कालोबजारी र ठगी गरेका छैनन् भन्ने कुरामा विश्वस्त हुन सरोकारवाला सबैमा जानकारी गराउँदछौं । प्रशासनले २०३२ सालमा बनेको कालाबजार तथा केहि समाजिक अपराध ऐनका आधारमा छानविन गरिएको भन्दै एसोसियसनले आपक्ति समेत जनाएको छ । एसोसियसनका सदस्यहरुको आय व्यय विवरण हेर्ने ठुला करदाता कार्यालयको अधिकार क्षेत्र रहेको र सो कार्यालयमा पेश गरिएको विवरणमा व्यवसायीले काला बजारी नगरेको पनि बताएको छ । अन्त शुल्क, भन्सार, मूल्य अभिवृद्धि कर, लागत खर्च, बैंकको ब्याजदर, प्रशासनिक खर्च, बजारीकरण खर्च लगायतका आधारमा आफुहरुले सवारी साधनको बिक्रि मूल्य तय गरेको समेत एसोसियसनले स्पष्ट पारेको छ ।

जनता बैंकको संस्थापक सेयर लिलामी हुदै

काठमाडौं । जनता बैंकको संस्थापक सेयर बिक्री हुने भएको छ । बैंकका केही संस्थापकले सेयर बिक्रीका लागि आवेदन दिएपछि बैंकले बिक्रीको प्रक्रिया अघि बढाएको हो । बैंकले संस्थापक सेयर खरिदका लागि प्रस्ताव गर्न भनेको छ । बैंकले बिक्री गर्न लागेको सेयरको मूल्य र संख्या खुलाएको छैन् । यस्तो सेयर १० लाख कित्ता भन्दा बढी भएको बैंकले जनाएको छ ।संस्थापक सेयर खरिदका लागि ३५ दिनभित्र निवेदन दिन बैंकले भनेको छ । यसअघि प्रतिकित्ता १२५ रुपैयाँमा संस्थापक सेयर किनबेच भएको थियो । हाल जनताको सेयर मूल्य घटेर प्रतिकित्ता १८३ रुपैयाँमा कारोबार भएको छ ।

युनाइटेड मोदी हाइड्रोपावरको नाफा ५ करोड ४९ लाख

काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले नाफा बढाएको छ । चालु आर्थिक वर्षको ६ महिनामा कम्पनीले ५ करोड ४९ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले ३ करोड १४ लाख रुपैयाँ नाफा गरेको थियो । समीक्षा अवधिमा कम्पनीले बिजुली बिक्रीबाट १६ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले १४ करोड ९७ लाख रुपैयाँ आम्दानी गरेका थियो । युनाइटेडको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ७८ पैसा छ । कम्पनीले गत आवमा गरेको नाफाबाट सेयरधनीलाई ५ करोड ७५ लाख रुपैयाँ नगद लाभांश दिन थालेको छ । कम्पनीले १० मेगावाटको तल्लोमोदी आयोजना सञ्चालन गरिरहेको छ । यस्तै साढे १० मेगावाटको मोदी आयोजना पनि बनाउदै छ ।