काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकको ७४ लाख कित्ता सेयर लिलामीमा राखिएको छ । यस बैंकको मुख्य प्रर्बद्धक एनबी समूहले आफ्नो स्वामित्वमा भएको अधिकांश सेयर सेयर बिक्री गर्ने निर्णय गरेको छ । उक्त समूहले ७० लाख कित्ता संस्थापक सेयर प्रतिकित्ता न्यूनतम २१० रुपैयाँ मूल्य तोकेर बढाबढ मूल्यमा लिलामीमा राखेको छ ।

एनबी समूहको बाध्यता
२२ वर्षअघि एनसीसी बैंकको स्थापना हुँदा जीतबहादुर श्रेष्ठ, लक्ष्मीबहादुर श्रेष्ठ र उनका भाई, भतिजा तथा आफन्तको स्वामित्वमा एनसीसी बैंकको करिव ३८ प्रतिशत सेयर थियो । जीतबहादुर र लक्ष्मीबहादुर दाजुभाईको परिवार सदस्यसँग मात्र ३० प्रतिशत सेयर थियो ।
एक वर्षअघि चार वटा विकास बैंक एनसीसीमा मर्जभएपछि एनबी समूहको सेयर १५ प्रतिशतमा झरेको थियो ।
बैंकको सेयर स्वामित्व घटेपछि एनसीसी बैंकमा जीतबहादुर लक्ष्मीबहादुर दाजुभाईको केही पनि नचल्ने अवस्था सिर्जना भएको छ । उनीहरुले चारवटा विकास बैंकसँगको मर्जर प्रक्रियामा असहमति जनाउँदै नियामकहरु राष्ट्र बैंक, कम्पनी रजिष्ट्रार कार्यालय र अदालतको समेत ढोका ढकढक्याएका थिए ।
व्यवसायिक क्षेत्रमा बेईमानको उपमा पाईसकेको यो समूहलाई न नियामकले साथ दियो, न अदालतले । बैंक सम्बद्ध स्रोतका अनुसार मर्जपछि एनबी समूहले बैंक विरुद्ध ६ वटा मुद्दा अदालतमा दायर गरेकोमा सबै मुद्दामा उनले हार खानु परेको छ ।
‘पहिला सबै मुद्दा एनबी समूहले जित्थ्यो, अहिले सबै मुद्दा बैंकले जित्न थालेको छ’ बैंक उच्च व्यवस्थापन स्रोतले भन्यो । बैंक भित्र पनि एक्लिदै गएपछि, अदालत, नियामक निकायबाट पनि खेदिएको महशुससँगै एनबी समूह ७० लाख कित्ता सेयर बेच्ने निर्णयमा पुगेको विश्लेषण रहेको छ ।
७० लाख कित्ता सेयर बिक्रीपछि सो बैंकमा करिव ४ लाख कित्ता सेयर उनीहरुको स्वामित्वमा रहने स्रोतले बतायो ।
यस विषयमा कुरा गर्न हामीले लक्ष्मीबहादुर श्रेष्ठलाई पटक पटक सम्पर्क गर्दा पनि कुराकानी हुन सकेन ।
हकप्रद सेयर र ऋणको दवाब
एनसीसी बैंकले ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्दैछ । १ प्रतिशतभन्दा बढी सेयर धारण गरेका प्रबद्र्धकले हकप्रद सेयर लिन फागुन ११ गतेसम्मसम्म पैसा बुझाईसक्नु पर्नेछ ।
एनबी समूहसँग हाल करिव ७४ लाख कित्ता सेयर छ । उसले हकप्रद सेयर लिनको लागि करिब ३७ करोड रुपैयाँ बुझाउनुपर्छ ।
बैंकको ऋण र ब्याजले थला परेको र थप ऋणका लागि कुनै पनि बैंक तथा वित्तीय संस्थाले विश्वास गर्ने अवस्थामा नरहेका जीतबहादुर लक्ष्मीबहादुरहरु ३७ करोड रुपैयाँ जुटाउन नसक्ने उनी निकट व्यक्तिहरु बताउँछन् । यस्तो सेयर किन्नको लागि भुक्तानी गरिने पैसाको कानुनी रुपमा स्रोत खुलेको हुनुपर्छ ।
केही बैंकहरुले जीतबहादुर र लक्ष्मीबहादुरलाई ऋण असुलीको लागि ताकेता गरिरहेको बुझिएको छ ।
एनआरएनको सक्रियता र राष्ट्र बैंकको भूमिका
एनसीसी बैंकको ७४ लाख कित्ता सेयर लिलामीमा आएपछि नेपालको बैकिङ क्षेत्रमा लगानी गर्न इच्छा प्रकट गर्दै आएका एनआरएनहरुको सक्रियता बढेको छ । नेपाल राष्ट्र बैंकले पनि बैंकिङ क्षेत्रमा लगानी गर्न चासो राख्दै राष्ट्र बैंक धाउने ग्रुपहरुलाई एनसीसी बैंकको सेयर किन्न सुझाव दिन थालेको छ । कुमारी बैंकलाई एनसीसीमा मर्ज गराएर एनबी समूहको सेयर ८ प्रतिशतभन्दा कममा झार्ने राष्ट्र बैंकको पुरानो प्रयास विफल भएको थियो । यतिबेला लिलामीमा रहेको सेयर सेटल गर्न सके एनसीसी बैंकले झेल्दै आएको समस्या निदान हुने राष्ट्र बैंकको ठम्याई छ ।
नेपाल इन्स्याेरेन्सले ४ लाख ३३ हजार कित्ता बेच्दै
एनबी समूहका जीतबहादुर श्रेष्ठ, लक्ष्मीबहादुर श्रेष्ठले लिलामीको सूचना प्रकाशित गरेको भोेलि पल्ट नै नेपाल इन्स्योरेन्स कम्पनीले सोही बैंकको संस्थापक सेयर प्रतिकित्ता १७० रुपैयाँ न्यूनतम मूल्य राखेर लिलामीमा राखेको छ । कम्पनीले आफ्नो स्वामित्वमा रहेको एनसीसी बैंकको ४ लाख ३३ हजार ४२ कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो ।
इन्स्योरेन्स कम्पनीले आफ्नो स्वामित्वको सेयर लिलामी गर्दा एनबी समूहलाई २८ करोड रुपैयाँको धक्का लागेको छ । एनबी समूहले तोकेको मूल्य भन्दा इन्स्योरेन्स कम्पनीले तोकेको मूल्य प्रतिकित्ता ४० रुपैयाँ कम रहेको छ ।
इन्स्योरेन्स कम्पनीले प्रतिकित्ता १७० रुपैयाँ मूल्य तोकेपछि एनबी समूहले लिलामीमा राखेको सेयरले २१० रुपैयाँ पाउने सम्भावना कमजोर भएको छ । एउटै कम्पनीको एउटै प्रकृतिको सेयरमा प्रतिकित्ता ४० रुपैयाँ फरक भएकाले लगानीकर्ताले सस्तो मूल्यलाई आधार मानेर महँगो मूल्य नकार्न सक्ने देखिएको छ ।
लिलामीमा राखेको सेयर लिनको लागि माघ २८ गते भित्र आवेदन गर्नु पर्ने बिक्री प्रबन्धक एनआईबीएल क्यापिटल मार्केट्सले जनाएको छ । जीतबहादुर र लक्ष्मीबहादुरले लिलामीमा राखेको सेयर फागुन ३ गतेसम्म आवेदन गर्न सक्ने बिक्री प्रबन्धक सीआईबीएल क्यापिटलले जनाएको छ ।
स्रोतका अनुसार नेपाल इन्स्योरेन्स कम्पनीले सेयरको लागत, नेटवर्थ, बजार मूल्य, कम्पनीले दिने सम्भावित लाभांश र भविष्यमा हुन सक्ने सम्मावित मूल्य परिवर्तनलाई आधार मानेर प्रतिकित्ता १७० रुपैयाँ न्यूनतम मूल्य तोकि बढाबढ मूल्यमा लिलाम गर्न सूचना प्रकाशित गरेको हो ।