विकासन्युज

सरकारी ढुकुटीबाट तलव खाने निजामति कर्मचारीको संख्या ८७७५३, हेर्नुस, कुन तहमा कति ?

काठमाडौं । सरकारी ढुकुटीबाट तलव खाने निजामती कर्मचारीको संख्या ८७ हजार ७५३ रहेको छ । यो संख्या सेना, प्रहरी, शिक्षक बाहेकको हो । सेना प्रहरी शिक्षकको संख्या ५ लाख भन्दा बढी छ । निजामति सेवामा पुरुषको संख्या ६७ हजार ४१९ र महिला २० हजार ३३४ रहेको अर्थ मन्त्रालयले जनाएको छ । जसअनुसार निजामति सेवामा पुरुषको हिस्सा ७६.८३ र महिलाको २३.१७ प्रतिशत छ । राजपत्रांकित विशिष्ठ श्रेणीमा अर्थात सचिवको संख्या ६४ जना रहेको छ । जसमध्ये ६२ जना पुरुष र २ जना मात्र महिला सचिव छन् । प्रथम श्रेणी अर्थात सहसचिव ६१० जना छन् । जसमध्ये पुरुष ५७२ पुरुष र महिलाको संख्या ३८ जना महिला रहेका छन् । यस्तै उपसचिवमा ३ हजार ६२५ जना कार्यरत छन् । जसमध्ये पुरुषको संख्या ३ हजार ३९३ र महिला २३२ जना छ । यस्तै शाखा अधिकृतको संख्या ११ हजार २३८ रहेको छ । जसमध्ये ९ हजार ७७१ पुरुष र १ हजार ४६७ महिला रहेको अर्थले जानकारी दिएको छ ।

प्रभु इन्स्योरेन्सको सेयर मूल्य समायोजन

काठमाडौं । प्रभु इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले ४६ प्रतिशत हकप्रद पछिको मूल्य समायोजन गरेको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५४० रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ७२५ रुपैयाँ रहेको थियो ।

लगानी बोर्डले शिक्षा, स्वास्थ्य र कृषिमा ठूलो लगानी ल्याउँदै, परामर्शदाता नियुक्तिको तयारी

काठमाडौं । लगानी बोर्डले व्यवसायीक कृषि, शिक्षा र स्वास्थ्यमा ठूलो लगानी भित्र्याउने तयारी थालेको छ ।  बोर्डले यसको संभाव्यता अध्ययन गर्न स्वदेशी परामर्शदातासंग आशयपत्र (ईओआई) मागेको छ । बोर्डले शिक्षा, स्वास्थ्य, खेलकुद क्षेत्रलाई अझ बढी व्यवसायीक रुपमा अघि बढाउने भएको छ । यस्तै व्यवसायिक कृषि प्रणालीबाट उत्पादन बढाउने, पशुपालनलाई व्यवसायीकरण गर्ने र मासु प्रशोधन केन्द्र स्थापना गरेर स्वस्थकर मासुको निकासी गर्नका लागि प्रक्रिया अघि बढाएको हो । बोर्डले सार्वजनिक निजी साझेदारी वा निजी क्षेत्रबाट मात्र लगानीमा यी आयोजनाको काम अघि बढाउने जानकारी दिएको छ । एक महिनाभित्र आशयपत्र पेश गर्न भनेको छ । बोर्डले कृषिलाई व्यवसायीकरण गरेर उत्पादन बढाउन, व्यवसायीक पशुपालन र मासु प्रशोधन केन्द्रको निर्माण गर्ने तयारी थालेको हो । यस्तै शिक्षा र स्वास्थ्यमा ठुलो लगानी भित्र्याउने बोर्डको तयारी छ । परामर्शदाता नियुक्तिपछि संभाव्यता अध्ययन सम्पन्न हुने छ । संभाव्यता अध्ययन प्रतिवेदनका आधारमा सार्वजनिक निजी साझेदारीमा आयोजनाको काम अघि बढाउने भएको हो । हाल बोर्डले जलविद्युत, सिमेन्ट, फोहाेर व्यवस्थापन, मेट्रो र मनोरेललगायत वृहत लगानीका आयोजनाको काम अघि बढाएको छ ।

विश्वकप फुटबलको उचित गन्तव्य दरबारमार्गमा, के के छन् विशेषता ?

काठमाडौं । संगीतमा अधिक रुची छ, अनि भित्ता भरीको एचडी स्क्रीनमा मस्त भएर खेल हेर्दै विभिन्न परिकारका खानाको स्वाद चाख्ने चाहना छ भने दरबारमार्गको एक मात्र गन्तव्यमा तपाईको त्यो चाहना पुरा हुने भएको छ । खेलप्रेमी, संगीतप्रेमी तथा खानाका पारखीहरुलाई लक्षित गर्दै दरबारमार्गमा सञ्चालनमा आएको आधुनिक शैलीको पारिवारिक रेष्टुरेण्ट ‘किंङस लाउञ्ज’ले तपाईको यस्तो चाहना पुरा गराउने भएको हो । अनौपचारिक रुपमा सेवा शुरु गरेको छोटो समयमा नै लाउञ्जको लोकप्रियता बढेको छ । अहिले लाउञ्जमा के दिन, के साँझ, कलाकार, व्यवसायी तथा आम मानिसको बाक्लो भिड लाग्न थालेको छ । संगीत सुन्दै आईपीएल हेर्ने तथा अरु खेल हेर्नेहरु अहिले लाउञ्ज धाउन थालेका छन् । नजिकिँदै गरेको फिफा विश्वकप फुटबललाई विशेष बनाउने तयारी पुरा गर्दै लाउञ्जले अनौपचारिक सेवा शुरु गरेको हो । स्वेदेशी तथा विदेशी खानाका पारखीहरुलाई ध्यानमा राखेर सञ्चालनमा आएको पूर्ण पारिवारिक रेष्टुरेन्ट सबै वर्गका मानिसका लागि उचित गन्तव्य हुने लाउञ्जका सञ्चालकहरुको भनाई छ । लाउञ्ज सञ्चालक समितिका अध्यक्ष रामचन्द्र श्रेष्ठ भन्छन्, ‘अहिले सञ्चालनमा रहेका रेष्टुरेण्टभन्दा केही फरक शैलीको अनुभव सेवाग्राहीले बटुल्न सकुन् भन्ने उद्धेश्यले नयाँ शैलीको रेष्टुरेण्टको सुरुवात गरेका हौं । २० बाइ ११ फिटको भव्य एचडी स्क्रीनमा हरेक किसिमका खेल हेर्दै लाइभ म्युजिकमा रमाउने गन्तव्य नेपालमा अरु काँही पनि छैन ।’ विभिन्न पेशा र व्यवसायमा आवद्द केही युवाहरुको सामूहिक लगानीमा सुरुवात गरिएको रेष्टुरेन्टमा चाईनिज, थाई, इन्डियन, नेपाली तथा कन्टिनेन्टल खानाका हरेक दिन फरक फरक स्वाद लिन पाइनेछ । हाईजेनिक खानाका परिकार मात्रै नभई हरेक दिन फरक फरक लाईभ कन्सर्ट लाउञ्जको विशेष आकर्षण हो । बिहान ११ बजेदेखि राति १२ बजेसम्म संचालनमा आउने रेष्टुरेन्टमा बिहान एघार बजेदेखि साँझ ६ बजेसम्म सेमिनार, गोष्ठि, इभेन्ट तथा पार्टीहरु संचालन हुने छन् । टेरेस कर्नरका साथै पर्सनल बार सहतिको भिआईपी हल लाउञ्जको विशेषता हो । फेमिलि कर्नर पनि लाउञ्जमा लोकप्रिय बन्दै गएको छ ।साँझ ६ बजेदेखि राति १२ बजेसम्म भने दैनिक रुपमा फरक फरक कलाकारहरुबाट लाईभ म्युजिकल प्रस्तुती रहने लाउञ्जका सञ्चालक संगम राईले बताए । रेष्टुरेन्टमा क्रिस्पी चिकेन, प्रान्को फ्राईड चिकेन, प्रान्को प्राउन, डेभेलोन होर्स बोक लगायतका फरक फरक स्वादका खानाका मेनुहरु रहेका छन् । ‘दरबारमार्गमा खेल, संगीत र खानाको परिकारका लागि उत्कृट गन्तव्य बनाउने होम्रो योजना छ ।’ लाउञ्जका अर्का सञ्चालक कुमार गुरुङले बताए । अहिले रेष्टुरेन्ट अनौपचारिक रुपमा संचालनमा आए पनि भव्य औपचारिक उद्घाटन विश्वकप फुटबलको पुर्वसन्ध्यामा गरिने बताइएको छ । नेपालको नमूना रेष्टुरेण्टका रुपमा तयार गरिएको किंङस् लाउञ्जमा झण्डै एक सय जनाले प्रत्यक्ष रुपमा रोजगारी पाएका छन् ।३ सय सिटिंग क्यापासिटी रहेको लाउञ्जसँग इभेण्टहरुमा एक पटकमा १ हजार जनालाई सेवा दिन सक्ने क्षमता छ । त्यसैगरी, लाउञ्जले सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै अत्याधुनिक प्रविधियुक्त सुरक्षा प्रणाली पनि जडान गरेको छ ।

एकान्तकुना र सातदाेबाटाेकाे दुर्इ पेट्रोल पम्प सिल

काठमाडौं । मापदण्ड विपरित काम गरिएकाे भेटिएपछि दुई पेट्रोल पम्पलाई सिलबन्दी गरिएको छ । मापदण्ड विपरित काम गरेका प्रशान्ति आयल डिस्टिब्युटर एकान्तकुना र ललितपुरको सातदोबाटो १५ स्थित महालक्षमी विश्वकर्मा ट्रेडर्सको पेट्रोल डिस्पेलिङ पम्पमा सिल लगाइएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवको निर्देशनमा उपत्यकाका विभिन्न पाँच पेट्रोल पम्पमा गरिएको अनुगमन मध्ये दुई पेट्रोल पम्पमा ‘सिल’ गरिएको हो । सोमबार बिहान उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय, मातहतका आयल निगम र गुणस्तर तथा नापतौल विभागले राजधानीका विभिन्न पेट्रोल पम्पमा अनुगमन गर्नेक्रममा मापदण्ड विपरित काम गरेको भेटिएको हाे । विभागले दिएको जानकारी अनुसार १० लिटर पेट्रोल हाल्दा बढीमा २५ एमएल कम हुँदा सम्म छुट पाइने निगमको प्रावधान छ । तर, प्रशान्ति आयल स्टोरमा ३० एमएल र महालक्ष्मी विश्वकर्मा ट्रेडर्समा ४० एमएल पेट्रोल कम भएको पाइएपछि सिल गरिएको जानकारी गराइएको छ । उक्त कैफियत देखिएको दुई पम्पलाई तत्काल सिल गरिएको जनाइएकाे छ ।

६५ प्रतिशत हकप्रद पछि मेगा बैंकको सेयर मूल्य समायोजन

काठमाडौं । सोमबार मेगा बैंक नेपाल लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले बैंकको ६५ प्रतिशत हकप्रद पछिको सेयरको मूल्य समायोजन गरेको हो । समायोजन पश्चात बैंकको सेयर मूल्य प्रतिकित्ता ३११ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ३५३ रुपैयाँ रहेको थियो ।

कालिकोटको मान्मामा कृषि विकास बैंकको सुविधा सम्पन्न बैंकिङ सेवा

काठमाडौं । कालिकोट जिल्ला खाडाचक्र नगरपालिका मान्मामा कृषि विकास बैंक लिमिटेडको सुविधा सम्पन्न बैंकिङ सेवा प्रदान गरिने भएको छ । उक्त बैंकिङ सेवा सञ्चालन गर्न औपचारिक उद्घाटन गरिएको छ । उद्घाटन एक कार्यक्रमबीच कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत लिलाप्रकाश सिटौलाले गरेको बताइएको छ । उनले कार्यक्रमको अवसरमा बैंकले दिने सम्पूर्ण सेवा सुविधा तथो प्रोडक्टको बारेमा प्रकाश परेका थिए । त्यस्तै कृषि तथा लघुउद्यम विभागका विभागीय प्रमुख धु्रबचन्द्र गौतमले बैंकले वित्तीय कारोवारका साथै सामाजिक सामुदायिक कार्यक्रम सञ्चालन गर्ने, देशको आर्थिक विकासमा टेवा पुर्याउने, उद्यमशीलता विकासमा महत्वपूर्ण योगदान गर्ने लगायतका कार्य गरिरहेको जानकारी गराए ।

कुलमान घिसिङले मस्र्याङदी करिडोर पुगेर भने : एक युनिट विद्युत पनि खेर जान दिंदैनौ

काठमाडौ । नेपाल विद्युत प्राधिकरणले मस्र्याङदी नदी करिडोरमा निजी क्षेत्रबाट निर्माणाधीन जलविद्युत आयोजनाले उत्पादन गर्ने विद्युत पनि खेर जान नदिने प्रतिबद्धता जनाएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लमजुङको दोर्दी तथा न्यादी खोलामा निर्माणाधीन आयोजना सम्पन्न हुन कम्तीमा दुई वर्ष लाग्ने देखिएको र त्यस अवधिमा प्राधिकरणले सवस्टेसन तथा प्रसारणलाइन बनाइसक्ने बताए । उनले प्रसारणलाइन तथा सवस्टेसनको काम द्रुत गतिमा अघि बढाउन प्रसारण लाइनका आयोजना प्रमुखलाई निर्देशन दिएका छन् । ‘दोर्दी करिडोरमा निर्माणाधीन आयोजना सम्पन्न हुने तर प्रसारणलाइन नबनाइदिंदा विद्युत खेर जाने अवस्था रहेको गुनासो थियो, तर ती आयोजनाको निर्माण प्रगति हेर्दा त्यस्तो अवस्था नरहेको देखियो’,उनले भने,‘ती आयोजनाभन्दा पहिले प्रसारण लाइन बनाउँछौ, प्रसारणलाइन अभावमा विद्युत जोड्न नसकी खेर फाल्नु पर्ने अवस्था आउन दिंदैनौं ।’ प्राधिकरणले प्रसारणलाइन समयमा नबनाइदिंदा विद्युत खेर जाने अवस्था आउन लागेको सार्वजनिक भएपछि घिसिङ नेतृत्वको टोली निर्माणाधीन प्रसारण र जलविद्युत आयोजनाको अबस्था बुझ्न स्थलगत निरीक्षणमा गएको थियो । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले समस्या समाधान गर्न निर्देशन दिएपछि कार्यकारी घिसिङ आयोजनाको अवस्था बुझ्न शनिबार र आइतबार स्थलगत निरीक्षणमा गएका हुन् । टोलीले लमजुङको उदिपुर, कीर्तिपुर तथा टारीकुना निर्माण हुने र तनहुँको मार्कीचोकमा निर्माणाधीन सव स्टेसनको निरीक्षण गरेको थियो । यसैगरी, हिमालय पावर पार्टनरले निर्माण गरिरहेको २७ मेगावाटको दोर्दीखोला, लिबर्टी इनर्जीको २५ मेगावाटको माथिल्लो दोर्दी ए, पिपल्स हाइड्रोपावरको ४९ मेगावाटको सुपर दोर्दी ख र वुटवल पावर कम्पनीको ३० मेगावाटको न्यादी जलविद्युत आयोजनाको निरीक्षण गरेको थियो । दोर्दी खोलामा निर्माण भइरहेका आयोजनाको विद्युत जोड्नका लागि ११ किलोमिटर कीर्तिपुर–उदिपुर १३२ केभी डबल सर्किट प्रसारणलाइन बनाउन ठेक्का सम्झौता भइसकेको छ । निर्माण १८ महिनाभित्र भित्र सक्ने लक्ष्य राखिएको छ । अहिले टावरको डिजाइन भइरहेको आयोजनाले जनाएको छ । कीर्तिपुरमा सवस्टेसन बनाउने ४८ रोपनी जग्गामा २५ मेगावाटको माथिल्लो दोर्दी एले विद्युत गृह बनाउने ठाउँ खन्दा निक्लिएको ढुंगा माटो फालिदिएकाले प्राधिकरणले काम सुरु गर्न सकिरहेको छैन । यही कारण ठेकेदारलाई साइट दिन नसकिएको आयोजनाले बताएको छ । ‘सवस्टेसन बन्ने जग्गामा ढुंगा माटो फालेर हामीलाई काम गर्न नदिने अनि उल्टै प्राधिकरणले प्रसारण लाइन बनाइदिएन, बिजुली खेर जाने भो भन्दै हल्ला गर्ने ?’घिसिङले आयोजनालाई निर्देशन दिंदै भने,‘तत्काल त्यसलाई हटाउनुहोस् नत्र तपार्इंहरुका कारण कति दिन काम ढिला हुन्छ गणना गरी जरिवाना तिराउँछौ ।’ आयोजनाको प्रवद्र्धक कम्पनीका प्रवन्ध सञ्चालक डा.आत्माराम घिमिरे र सञ्चालक रामबहादुर पाण्डेले दुई महिनाभित्र ढुंगा माटो फाल्ने प्रतिद्धता जनाएका छन् । आयोजनाको समग्र भौतिक प्रगति ७० प्रतिशत रहेको जानकारी दिंदै घिमिरेले डिसेम्बर २०१८भित्र निर्माण सक्ने दावी गरे । प्राधिकरणसँग भएको विद्युत खरिद बिक्री सम्झौता (पीपीए) अनुसार आयोजनाको व्यावासायिकरुपमा विद्युत उत्पादन गर्नु पर्ने मिति (आरसिओडी) भने अगस्ट २०१९ छ । हिमालय पावर पार्टनरका कार्यकारी निर्देशक गुरु ढकालले आयोजनाको समग्र भौतिक प्रगति ६५ प्रतिशत रहेको जानकारी दिए । पीपीएअनुसार, आयोजनाको आरसिओडी पनि अगस्ट २०१९ नै रहेको छ । प्राधिकरणका प्रवक्ता एवं विद्युत ब्यापार विभाग प्रमुख प्रबल अधिकारीले स्थलगत निरीक्षणपछि दुवै आयोजनाको काम सक्न कम्तीमा पनि दुई वर्ष लाग्ने देखिएको बताए । दोर्दी करिडोरमा निर्माण भइरहेका आयोजनाको विद्युत प्रवाह गर्न उदिपुरमा सव स्टेसन बनाउनु पर्छ उदिपुर–मार्किचोक प्रसारण लाइन बन्नु पर्छ । सव स्टेसन निर्माणका लागि तीन महिनाभित्रमा ठेकेदार छनोट भइसक्ने आयोजना प्रमुख चिन्तन राणाले बताए । ‘उदिपुर–मार्किचोक–भरतपुर प्रसारण लाइन निर्माणका लागि जनबरी २०१८बाट टेक्का कार्यान्वयनमा आइसकेको छ’, राणाले भने,‘१८ महिनाभित्र सक्ने लक्ष्यका साथ काम भइरहेको छ ।’ खुदीमा सव स्टेसन निर्माणका लागि प्राधिकरणले जग्गा किनिसकेको छ ।