विकासन्युज

मुक्तिनाथ विकास बैंक र एनसीएचएलबीच राजस्व भुक्तानी गर्ने सम्झौता

काठमाडौं । मुक्तिनाथ विकास बैंक र नेपाल क्लियरिङ्ग हाउस(एनसीएचएल) बीच नेपाल सरकारको राजस्व लगायतको अनलाइन भुक्तानी सेवा उपलब्ध गराउने सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकबाट एनसीएचएल अन्तर्गत एनसीएचएल इसीसी(इलेक्ट्रोनिक चेक क्लियरिङ) र एनसीएचएल आईपीएस(इन्टरबैंक पेमेन्ट सिस्टम)का सुविधाहरु बैंकको सबै शाखाबाट सेवा लिन सकिने छ । यस कनेक्टआइपीएस इपेमेन्ट प्रणालीमार्फत बैंकको ग्राहकहरुले अनलाइनबाट नैनेपाल सरकारको राजस्व भुक्तानी लगायत अन्य भुक्तानीहरु समेत सिधै बैंकको खाताबाट कारोवार गर्न सक्नेछन् । यसका लागि बैंक खाताको सम्पुर्ण जानकारी राखी बैंक मार्फत एक पटक रुजु गराउनु पर्ने हुन्छ । यस सेवामार्फत ग्राहकहरुले राजस्व कार्यालयमा लाइन बस्नु पर्ने बाध्यताबाट छुटकारा प्राप्त गर्ने विश्वास बैंकले लिएको छ ।

जेबिल्स फाइनान्सको जेठ २३ गते बुक क्लोज, ४० प्रतिशत हकप्रद सेयर जारी गर्दै

काठमाडौं । जेबिल्स फाइनान्स लिमिटेडको आगामी जेठ २३ गते बुक क्लोज हुने भएको छ । फाइनान्सले ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रयोजनको लागि उक्त एक दिन कम्पनीको बुक क्लोज गर्न लागेको हो । हाल कम्पनीको चुक्ता पुँजी ५७ करोड ७९ लाख रुपैयाँ रहेको छ । ४० प्रतिशत हकप्रद पछि कम्पनीको चुक्ता पुँजी ८० करोड ९० लाख रुपैयाँ नाघ्ने छ । पछिल्लो समय कम्पनीको सेयर मूल्य प्रतिकित्ता १११ रुपैयाँ रहेको छ ।

दुईदिने इको प्यानल जडान तालिम शुरु, आठदस कोठे भबन बनाउन लगाइने

काठमाडौं । इन्टरनेशनल ग्रीन डेभलपर्स नेपाल प्रालिको आयोजनामा दुईदिने इको प्यानल जडान तालिम सोमबारदेखि भक्तपुरमा शुरु भएको छ । इटाको विकल्पमा कारखानामा पहिला नै तयार पारिएको प्रिफ्याब प्यानल जडान गर्ने प्रविधिबारे जानकारी दिन तालिम दिइएको हो । तालिममा काठमाडौं, भक्तपुर, बुटवल, पोखरालगायतका विभिन्न ठाउँंहरुबाट २४ जना प्रशिक्षार्थी सहभागी रहेका कम्पनीले जनाएको छ । इन्जिनियर, डकर्मी, फलामको काम गर्ने, आल्मुनियममा काम गर्ने युवाहरु तालिममा सहभागी थिए । प्रालिका प्राविधिक सिनियर ओभरसियर एवं प्रशिक्षक निरज ह्याेंगजूले तालिमपश्चात रोजगारीको ग्यारेन्टी भएकोले प्रशिक्षार्थीहरु उत्साहित रहेको बताए । तालिममा प्यानल जडान गर्ने तरिका, प्यानलको प्रोडक्ट, प्रिकाष्ट आदिबारे सैद्धान्तिक ज्ञान दिइएको थियो । साथै तालिमको अन्तिम दिन मंगलबार अभ्यास गराइने जनाइएको छ । गोर्खा इको प्यानलको मध्यपुर थिमिको राधेराधेको कार्यालय निर्माणमा प्रशिक्षार्थीलाई अभ्यास गराइने जनाइएको छ । त्यहा उनीहरुलाई विहान १० बजेदेखि ६ बजेसम्म आठदस कोठे दुईतल्ले भबन बनाउन लगाइने कम्पनीले जनाएको छ । इको प्यानल जडानमा काम गर्नेहरुले प्रतिव्यक्ति प्रतिमहिना ३० हजार भन्दा बढी आम्दानी गर्न सकिने कम्पनीले जनाएको छ ।

काबेली विकास बैंकको २ लाख कित्ता प्रवद्धक सेयर साधारण सेयरमा परिणत

काठमाडौं । काबेली विकास बैंकको दुई लाख २६ हजार ६६९ कित्ता प्रवद्धक सेयर साधारण सेयरमा परिणत भएको छ । अब यस कम्पनीको कुल सेयरमा ५१ प्रतिशत प्रवद्धकको र ४९ प्रतिशत सर्बसाधारणको भएको छ । हाल कम्पनीको चुक्ता पूँजी ११ करोड ९२ लाख ९९ हजार रुपैयाँ रहेको छ । सोमबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता २६१ रुपैयाँमा रहेको छ ।

कानको शल्यक्रिया तथा जाँच सिविरमा लक्ष्मी बैंकको सहयोग

काठमाडौं । लक्ष्मी बैंक र बिपी नेत्र प्रतिष्ठान, बाल अस्पताल, आँखा, नाक कान घाँटी अस्पताल तथा पुनःस्थापना सेवासँग कानको शल्यक्रिया क्याम्प सञ्चालन गर्न द्वीपक्षीय सम्झौता (एमओ यु) सम्पन्न भएको छ । उक्त सम्झौता अनुसार बैंकले विभिन्न प्रदेशहरुमा कानको शल्यक्रिया क्याम्प सञ्चालन गर्ने भएको छ । उक्त सम्झौतामा लक्ष्मी बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्ग र प्रतिष्ठानका तर्फबाट कार्यक्रम संयोजक माधवप्रसाद अर्यालबीच भक्तपुरको मनहरामा हस्ताक्षर भएको छ । पहिलो ३ दिनको क्याम्प बाराको निजगढमा हुदैं छ । उक्त क्याम्प यही जेठ १४ गतेदेखि जेठ १६ गतेसम्म सञ्चालन हुने छ ।

बिष्णु रिमालको खुलासाः कर्मचारीको तलब बढ्छ, वृद्ध भत्ता पनि सम्बोधन हुन्छ

काठमाडौं । प्रधानमन्त्री केपी ओलीका प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमालले कर्मचारीको तलब वृद्धि हुने खुलासा गरेका छन् । नेपाली रेडियो नेटवर्कसँग कुरा गर्दै प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार रिमालले कर्मचारीको तलब वृद्धि हुने खुलासा गरेका हुन् । ‘कर्मचारीको तलब सापेक्षित कुरा हो, बढ्दै बढ्दैन, बढाउनै हुन्न भन्ने होइन, बढ्नुपर्छ भन्ने हाम्रो मान्यता हो, त्यसमा ढुकुटीको साइज हेरेर जाने हो । केहि न केहि व्यवस्था त बजेटले गरिहाल्छ । जनताका कष्ट हटाउने तर्फ बजेट केन्द्रित हुन्छ भनेपछि काम गर्नेहरुको माग सम्बोधन गर्नुपर्छ नै । कर्मचारीको खल्तिमा केहि न केहि अंक बढ्छ नै ।’, रिमालले भनेका छन् । उनले जेष्ठ नागरिक, एकल महिला, अपांगता भएका व्यक्ति र विधवाहरुको भत्तालाई समेत यथोचित सम्बोधन गरिने बताएका छन् । ‘सरकारले कर्मचारीलाई मात्रै होइन, प्रतिपक्षीदेखि नागरिक, जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति, विधवा, एकल महिलाको भत्तामा पनि यथोचित ध्यान दिन्छौं ।’, रिमालले भने । उनले ठुला विकासका आयोजनाहरुमा बजेटलाई केन्द्रित गरिने पनि स्पष्ट पारेका छन् । अर्थमन्त्री डा. युवराज खतिवडा अर्थतन्त्रका विज्ञ भएकाले प्रधानमन्त्रीले अघि सारेको विकास र समृद्धिको अभियानलाई सार्थक बनाउने गरि नयाँ बजेट निर्माण भैरहेको पनि रिमालले दावी गरेका छन् ।

नेपाल इन्भेष्टमेण्ट बैंकको नयाँ एक्स्टेन्सन काउन्टर थापाथलीमा

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले काठमाडौं महानगरपालिकाको थापाथलीस्थित परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालमा एक्स्टेन्सन काउन्टर खोलेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र अस्पतालका निर्देशक जागेश्वर गौतमले काउन्टरको संयुक्त रुपमा उद्घाटन गरेका हुन् । योसँगै अब बैंकको एक्स्टेन्सन काउन्टर ६ वटा पुगेको छ । स्त्रीरोग तथा महिलासँग सम्बन्धीत रोगको उपचार सेवा दिइरहेको अस्पतालको परिसरमा खोलिएको काउन्टरले अस्पतालको आर्थिक कारोबार गर्न सहयोग गर्ने छ । काउन्टरले अस्पतालमा आउने बिरामीको उपचारका क्रममा टिकट काट्न पनि सहयोग गर्ने छ । बैंकको हाल ७० वटा शाखा तथा १०० वटा एटिएम पुगेको छ । बैंकको ६३ वटा शाखारहित बैंकिङ्ग सुविधाका साथै ३०० बढी भिसा तथा एनपिएन सदस्य बैंकका एटिएम रहेको छ ।

ग्लोबल आइएमई बैंकका ग्राहकलाई भारतको अपोलो अस्पतालमा १० प्रतिशत छुट

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले भारत स्थित इन्द्रप्रस्थ अपोलो अन्तराष्ट्रिय अस्पतालले दिने विभिन्न सेवामा ५ देखि १० प्रतिशत सम्म छुट पाउने छन् । यस बैंकबाट डेबिट/क्रेडिट कार्ड लिएका बैंकका ग्राहक एवं कर्मचारीले उक्त अस्पतालमा उपचार गराउँदा सो मात्राको छुट पाउने भएका छन् । अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी दुईपक्षीय सम्झौता भएको छ । उक्त सम्भौतापत्रमा ग्लोबल आइएमई बैंकका तर्फबाट बैंकको भारतको सम्पर्क कार्यालयका प्रमुख ज्वाला शर्मा र इन्द्रप्रस्थ अपोलो अन्तराष्ट्रिय अस्पतालको तर्फबाट कार्यकारी निर्देशक अशोक बाजपाईले हस्ताक्षर गरेका हुन् । साथै, बैंकको क्रोन ल्याबरेटोरी तथा रेफरल सेन्टर (के. ल्याब.) सँग पनि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकका तर्फबाट बजार व्यवस्थापन एंव व्यवसाय प्रर्वद्धन विभाग प्रमुख गणेश अवस्थी र के ल्याबका प्रशासकीय निर्देशक कान्ति थापाबीच हस्ताक्षर भएको हो । के ल्याबले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा बैंकबाट डेबिटरक्रेडिट कार्ड लिएका बैैंकका ग्राहक तथा कर्मचारीले २० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् । बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सुविधाको अतिरिक्त अन्य सुविधाहरु प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संस्थासँग समन्वय गरी यस्ता विभिन्न खाले योजनाहरु ल्याईरहेको छ । हाल बैंकले १२९ शाखा, १३१ एटिएम, ४ एक्सटेन्सन काउण्टर, १४ राजश्व संकलन काउण्टर, ८५ शाखा रहित बैंकिङ्ग सेवा र ३ प्रतिनिधि/सम्पर्क कार्यालय माफर्त ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।