आइपीओ जारी गर्ने एनसेलको पहल, रियल सेक्टरलाई नयाँ बजेटमा उच्च प्राथमिकता
काठमाडौं । बहुराष्ट्रिय दुर सञ्चार सेवा प्रदायक कम्पनी एनसेलले आइपीओ जारी गर्ने पहल थालेको छ । एनसेलका प्रतिनिधीले नेपाल धितोपत्र बोर्डसँग आइपीओ जारी गर्ने प्रक्रिया र सुबिधाका बारेमा पछिल्लो समय निरन्तर छलफल गरिरहेका छन् । ‘एनसेलका कर्मचारीले आइपीओ जारी गर्नेबारे बोर्डसँग छलफल गरिरहनु भएको छ, सुबिधाबारेमा पनि कुरा गरिरहनु भएको छ’, नेपाल धितोपत्र बोर्डका सहायक प्रवक्ता निरञ्जय घिमिरेले भने । एनसेलले नयाँ बजेट मार्फत थप सुबिधाको अपेक्षा गरिरहेको पनि उनले बताए । हाल रियलसेक्टर कम्पनीलाई आइपीओ जारी गरेमा १५ प्रतिशत आयकर छुट दिने सुबिधा छ । अर्थमन्त्री डा. युवराज खतिवडाले रियलसेक्टरका कम्पनीलाई आइपीओ जारी गर्ने वातावरण बनाउन बिशेष व्यवस्था गरिने बताउँदै आएका छन् । ‘५० लाख पुँजी भएका कम्पनी पनि सेयर बजारमा छन, बार्षिक ५० अर्ब नाफा कमाउने कम्पनी पनि पुँजी बजारमा छैनन्, अब यस्तो अवस्थाको अन्त्य हुन्छ’, अर्थमन्त्री डा.खतिवडाले केहिदिन राजधानीको एक कार्यक्रममा भनेका थिए । उनले नेपालको पुँजी बजारमा बैंक तथा बीमा कम्पनीहरुको हिस्सालाई घटाएर उत्पादन मुलक क्षेत्रलाई पनि प्रवेश गराउनुपर्ने बताउने गरेका छन् । खतिवडाले रियलसेक्टरका कम्पनीलाई सेयर बजारमा ल्याउनका लागि सरकारले बिशेष सुबिधा दिने संकेत समेत गर्दै आएका थिए । नयाँ बजेटबाट रियलसेक्टरका कम्पनीहरुलाई सेयर बजारमा आउनका लागि प्रोत्साहन दिनुपर्ने नेपाल धितोपत्र बोर्डले अर्थमन्त्रीलाई सुझाव दिएको बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीले बताए । कम्पनी ऐनको पहिलो संसोधनले ५ करोड भन्दा बढि चुक्ता पुँजी रहेका दुर सञ्चार सेवा प्रदायक कम्पनीहरु २ बर्षािभत्रै पब्लिक कम्पनीमा परिणत भैसक्नुपर्ने व्यवस्था गरेको थियो । २०७४ साल बैशाख १९ गतेदेखि संसोधित ऐन कार्यान्वयनमा आएको लामो समयपछि एनसेलले छलफल अघि बढाएको हो । कम्पनी ऐनको पहिलो संसोधन अनुसार एनसेल, युटिएल र नेपाल स्याटेलाइट टेलिकमले २ बर्षभित्रै पब्लिक कम्पनीका रुपमा रुपान्तरण हुनुपर्नेछ । एनसेलको चुक्ता पुँजी १० करोड छ भने युटिएलको चुक्ता पुँजी २१ करोड ५० लाख र नेपाल स्याटेलाइटको चुक्ता पुँजी १० करोड रहेको छ । एनसेलले सर्वसाधारणका लागि सेयर जारी गर्न तयार रहेको बताउँदै आएको छ । यी तीन वटै कम्पनीले आगामी डेढ बर्षभित्र पब्लिकलाई सेयर जारी नगरेपनि न्युनतम सात जना लगानी कर्तालाई भने सेयर बेच्नै पर्नेछ । किनकी कम्पनी ऐनको पहिलो संसोधनले पब्लिक कम्पनी बन्नका लागि न्युनतम सात जना सेयरधनी हुनैपर्ने व्यवस्था गरेको छ ।
टेलिकमको मिस्ड कल एलर्ट सेवा पुनः सञ्चालनमा, १८ रुपैयाँमै ‘अनलिमिटेड प्याक’ अफर
काठमाडौं । नेपाल टेलिकमले मिस्ड कल एलर्ट सेवालाई पुनः सञ्चालन गर्ने भएको छ । गणतन्त्र दिवस २०७५ को अवसरमा कम्पनीले सो सेवा भोलि (जेठ १५ गते) देखि पुनः सञ्चालनमा ल्याउने भएको छ । जीएसएम पोष्टपेड तथा प्रिपेड मोबाइलमा यो सेवा उपलब्ध हुनेछ । यो सेवा शुभारम्भ भए पश्चात् सेवाग्राहीको नम्बर व्यस्त भएको अवस्थामा, नेटवर्क नभएको अवस्थामा र स्वीच अफ भएको अवस्थामा कसैको कल आएमा पछि त्यसको वारेमा एसएमएस मार्फत नोटिफिकेसन आउनेछ । सेवा शुभारम्भ गर्नको लागि उपभोक्ताले एसयुबी एमसीए लेखेर १४०० मा एसएमएस गर्ने वा स्टार १४०० ह्यास्ट्रिक डायल गर्नुपर्ने हुन्छ । नेपाल टेलिकमको जीएसएम मोबाइल फोन प्रयोगकर्ताहरुलाई हाल यो सेवा १५ दिनका लागि कम्पनीले निःशुल्क उपलब्ध गराउने भएको छ । त्यसपछि भने मासिक रुपमा ५ रुपैयाँ शुल्क लाग्ने कम्पनीले जनाएको छ । त्यस्तै, गणतन्त्र दिवसकै अवसरमा कम्पनीले १८ रुपैयाँमै एक घण्टासम्म भ्वाइस, एसएमएस र डाटा चलाउन सकिने ‘अनलिमिटेड प्याक’ अफर ल्याएको छ । जीएसएम तथा सीडीएमए मोबाइल प्रयोगकर्ताले सो अफर उपभोग गर्न सक्ने छन् । प्रयोगकर्ताले एक घण्टासम्म कम्पनीको नेटवर्क भित्र जति पनि कल गर्न र एसएमएस पठाउन तथा डाटा चलाउन सक्ने छन् । त्यसैगरी १२ रुपैयाँमा कम्पनीको नेटवर्क भित्र १ सय २० वटा एसएमएस पठाउन सकिने ‘एसएमएस प्याक’ पनि ल्याएको छ । सो प्याक ५ दिन भित्र प्रयोग गरिसक्नु पर्नेछ । अनलिमिटेड प्याक र एसएमएस प्याक आज (जेठ १४ गते) देखि आगामी जेठ २८ गते सम्म खरिद गर्न सकिन्छ । प्याकेज खरिद गर्नका लागि स्टार १४१५ स्टार ८ ह्यास्ट्रिक डायल गर्न सकिने कम्पनीले जनाएको छ ।
महासंघको निमित्त महानिर्देशकमा गोपाल तिवारी नियुक्त
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निमित्त महानिर्देशकमा गोपालप्रसाद तिवारी नियुक्त भएका छन् । उनलाई जेठ ९ गते उक्त पदमा नियुक्त गरिएको हो । सार्वजनिक निजी क्षेत्र, नेपालस्थित विभिन्न दातृ निकाय र सञ्चार क्षेत्रमा लामो समय बिताएका तिवारी पछिल्लो पटक नेपाल सरकारबाट प्रवद्र्धित एवं सार्वजनिक निजी संवाद प्रतिष्ठानको रुपमा र नेपाल व्यवसाय मन्चमा सल्लाहकार⁄परामर्शदाताको रुपमा कार्यरत थिए । निमित्त महानिर्देशक तिवारीले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सस्थामार्फत आर्थिक विषयमा अनुसन्धान गरेका छन् भने उनकाे अन्तराष्ट्रिय जर्नलमा अनुसन्धानमुलक विभिन्न लेखहरू लगायत प्रकाशित भएका छन् ।
अहिलेको पत्रकारको तलबले जीविकोपार्जन गर्न समस्या- विपुल पोखरेल
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका, प्रतिष्ठान र एशोसिएट प्रदेश समितिले साेमबार आयोजना गरेको ‘श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन समस्या र समाधानका उपाय’ विषयक अन्तरक्रियात्मक गोष्ठी सम्पन्न भएकाे छ । कार्यक्रममा सहभागीले अहिलेको न्यूनतम पारिश्रमिकले पत्रकारको जीवनयापन गर्न समस्या पर्ने भएकाले पुनरावलोकन हुनुपर्नेमा जोड दिएका हुन्। कार्यक्रममा महासंघका कार्यवाहक अध्यक्ष विपुल पोखरेलले पत्रकारको हकहितका लागि महासंघ लागिपरेको भन्दै पत्रकारको पारिश्रमिक पुनरावलोकन गरिनुपर्ने बताए । “अहिलेको पत्रकारको तलबले जीविकोपार्जन गर्न समस्या हुन्छ”, उनले भने, “त्यसैले हामी अहिलेको न्यूनतम रहेको पारिश्रमिकलाई बढाउन लागिरहेका छौँ ।” न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीले श्रमजीवी पत्रकार ऐनले तोकेको पारिश्रमिक परिवर्तित समयअनुसार व्यावहारिक नभएकाले पुनरावलोकन गरिने बताए । उनले अहिले पनि पत्रकारले न्यूनतम पारिश्रमिक व्यवहारमा नभई कागजीरुपमा मात्र पाएको बताएका छन् । कार्यक्रममा महासंघका पूर्व अध्यक्ष डा महेन्द्र विष्टले न्यूनतम पारिश्रमिक निर्धारण समितिले तोकेको पारिश्रमिक कार्यान्वयन गर्ने अवस्था बढेको भन्दै तर त्यसलाई सन्तोष मान्नुपर्ने अवस्था नहरेको बताएका छन् । कार्यक्रममा महासंघका पूर्व अध्यक्ष डा सुरेश आचार्यले महँगीअनुसार पत्रकारको तलब समय समयमा पुनरावलोकन हुनुपर्ने भए तापनि तीन वर्षदेखि हुन नसकेको बताएका छन् । उनले पत्रकारलाई वर्गीकरण गरी सोहीअनुसार पारिश्रमिकको पुनरालोकन हुनुपर्ने बताए । कार्यक्रममा पत्रकार महासंघका सचिव रामप्रसाद दाहालले हरेक वर्ष पत्रकारको न्यूनतम पारिश्रमिक पुनरावलोकन हुनुपर्ने बताएका छन् । कार्यक्रममा प्रेस चौतारी नेपालका उपमहासचिव रामकुमार एलन र प्रेस युनियनका सचिव खिला कार्की, महासंघका प्रतिष्ठान प्रदेश अध्यक्ष शेखर अधिकारी, उपत्यका प्रदेश अध्यक्ष श्रीजन झा र अनलाइन पत्रकार संघका अध्यक्ष शिव सत्याललगायतले पत्रकारको न्यूनतम पारिश्रमिक पुनरावलोकन गरेर कार्यान्वयन गर्नुपर्ने जनाएका छन् । अहिले पत्रकारको न्यूनतम पारिश्रमिक १९ हजार ५०० कायम गरिएको छ । रासस
ज्ञानेन्द्र मल्ल बने इसेवाको ब्राण्ड एम्बेष्डर, सेवा लिने ६० लाख नाघ्यो
काठमाडौं । नेपालको पहिलो पेमेन्ट गेटवे, इसेवा फोन पेमेन्ट प्रालिले नेपाली क्रिकेट राष्ट्रिय टिमका उपकप्तान ज्ञानेन्द्र मल्ललाई ब्राण्ड एम्बेष्डरमा नियुक्त गरेको छ । सोमबार राजधानीमा एक कार्यक्रमबीच इसेवाकोतर्फबाट एफ वान सफ्टका प्रेसिडेन्ट विश्वास ढकाल र उपकप्तान ज्ञानेन्द्र मल्लबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । कार्यक्रममा एफ वान सफ्टका प्रेसिडेन्ट ढकालले क्रिकेट लगायत अन्य खेलकुदमा इसेवाको शुरुदेखिनै लगाव रहेको बताए । साथै कम्पनीले विभिन्न स्तरमा सहकार्य गर्दै आइरहेको जानकारी दिए । ‘नेपाली खेलकुद र खेलाडीहरुसँगको सहकार्यलाई निरन्तरता दिने क्रममा मल्ललाई ब्राण्ड एम्बेष्डरमा नियुक्त गरेका हौं,’ उनले भने ‘उपकप्तान ज्ञानेन्द्र मल्ललाई ब्राण्ड एम्बेष्डरका रुपमा नियुक्त गरी सहकार्य गर्न पाउँदा खुसी लागेको छ ।’ कार्यक्रममा उपकप्तान मल्लले इसेवासँग जोडिन पाउदा खुसी व्यक्त गरे । विगतदेखि नै इसेवा कम्पनीले नेपालको क्रिकेट क्षेत्रमा विभिन्न योगदान पुर्याउदै आएको उनको भनाइ छ । कम्पनीले यसअघि पनि नेपाली क्रिकेट राष्ट्रिय टिमका युवा क्रिकेटर प्रदिप ऐरी, अभिनास कर्ण तथा मेहवुब अलामसँग समेत सहकार्य गरेको थियो । इसेवा कम्पनी क्रिकेट क्षेत्रको लागि राष्ट्रिय तथा अन्तराष्टिय क्रिकेट म्याच तथा टुर्नामेन्टहरुमा पनि आवद्ध हुदै आएको छ । जसमा प्रधानमन्त्री कप २०७४ र ०७५, आइसीसी वल्र्ड क्रिकेट लिग च्याम्पियनशीप लगायत खेलको व्यवस्थापन गरेको थियो । यसअघि इसेवाले अष्ट्रेलियन क्रिकेटर फिलिप ह्युजको सम्झनामा भएका खेल र डिपिएल टु खेलको टिकट बिक्री तथा व्यवस्थापन लागयतमा पनि सहयोग पुर्याएको कम्पनीको भनाइ छ । इसेवाबाट मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानी महशुल भुक्तानी, इन्टरनेटको शुल्क भुक्तानी, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका २०० भन्दा बढी सेवाहरुमा शुल्क भुक्तानी गर्न सकिने कम्पनीले जानकारी गराएको छ । इसेवामा हाल ४५ वटा बैंक सदस्य रेहका छन् । उक्त बैंकबाट इसेवामा रकम जम्मा गर्न, बैंक खातामा रकम पठाउन सकिन्छ । कम्पनीको अनुसार हालसम्म इसेवाबाट प्रत्यक्ष, अप्रत्यक्ष रुपमा ६० लाख बढीले सेवा लिइरहेका छन् । इसेवाका देशभर ३० हजारभन्दा बढी एजेन्ट छन् । इसेवाको मोबाइल एप्स प्रयोग गर्नेको संख्या मात्रै ७ लाखभन्दा बढी र खाता खोलेर कारोबार गर्नेको संख्या पनि उतिनै संख्यामा रहेको कम्पनीको भनाइ छ ।
बजार बढ्दा ग्लोबल आईएमई र सिटिजन्स बैंकको संस्थापक सेयर धेरै कारोबार
काठमाडौं । सेयर बजार बढेको दिन दुई वाणिज्य बैंकको संस्थापक सेयर (प्रमोटर सेयर) बढी कारोबार भएको छ । सिटिजन्स बैंक र ग्लोबल आईएमई बैंकको संस्थापक सेयर बढी कारोबार भएको हो । सोमबार दुई बैंकको ७ करोड ३१ लाख २६ हजार २४० रुपैयाँको संस्थापक सेयर किनबेच भएको छ । सोमबार कुल ४७ करोड ८९ लाख रुपैयाँको सेयर किनबेच भएको छ । सिटिजन्सको प्रतिकित्ता १५० रुपैयाँमा ५ करोड ६ लाख २२ हजार र ग्लोबलको १७६ रुपैयाँमा २ करोड २५ लाख ४ हजार २४० रुपैयाँको संस्थापक सेयर किनबेच भएको छ । दुई बैंकको संस्थापक सेयरले सोमबार कारोबार रकम बढाएको हो ।
दुई कम्पनीको २४ लाख ७४ हजार कित्ता बोनस सेयर सूचिकृत, क-कसकाे ?
काठमाडौं । नागरिक लगानी कोष र पूर्णिमा विकास बैंकको गरि कुल २४ लाख ७४ हजार कित्ता बोनस सेयर सूचिकृत भएको छ । सोमबार मात्रै यी दुई कम्पनीको सो मात्राको सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको हो । सूचिकृत मध्ये नागरिक लगानी कोषको १६ लाख २८ हजार कित्ता रहेको छ भने पूर्णिमा विकास बैंकको ८ लाख ४५ हजार ५०० कित्ता बोनस सेयर रहेको छ ।
बजेटमा नयाँ कार्यक्रम अाउने आशामा लगानीकर्ता हौसिए, सेयर बजार ३५ अंक बढ्यो
काठमाडौं । आगामी आर्थिक वर्षको बजेटमा सेयर बजार विकासमा नयाँ कार्यक्रम आउने अनुमानका आधारमा लगानीकर्ता हौसिएका छन् । अभिवृद्धि कर(भ्याट) नलाग्ने र बजार सुधार हुने सम्भावना देखिएपछि सोमबारको सेयर बजार दोहोरो अंकले उकालो लागेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार दिनको ४ वजे आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दैछन् । बजेटमा नयाँ कार्यक्रम आउने अनुमानका आधारमा निरन्तर ओरालो लागिरहेको सेयर बजार सोमबार एकाएक उकालो लागेको छ । सोमबार मात्रै बजार ३५ अंकले बढेर नेप्से परिसुचक १ हजार ३३६ अंकमा पुगेको छ । मंगलबार आउने नयाँ बजेटले बजारको विकासका लागि महत्वपुर्ण व्यवस्था अघि सार्ने आसमा सोमबारको नेप्से एक्कासी उकालो लागेको लगानीकर्ताको भनाई छ। नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीले नयाँ बजेटले सेयर बजारको विकासका लागि महत्वपुर्ण व्यवस्थाहरु अघि सार्ने बताएका छन् । साथै, प्रधानमन्त्री केपी ओलीले सेयर बजारमा भ्याट लगाउनु नहुने बताएका थिए । प्रधानमन्त्रीले प्रतिवद्धता जनाएपछि लगानीकर्ता भ्याट नलाग्नेमा ढुक्क छन् । तर उनीहरु ३० प्रतिशत आयकर तिर्न तयार रहेका छन् । ब्रोकर एसोसियसनका अध्यक्ष प्रियराज रेग्मीले सेयरमा भ्याट नलगाउन अर्थमन्त्रीलाई आग्रह गरिएको बताए । ब्रोकरहरुले वित्तिय सेवामा सहभागी भएर ३० प्रतिशत आयकर तिर्न तयार रहेको तर सेयरमा भ्याट लगाउन नहुने सुझाव अर्थमन्त्रीलाई दिएका थिए । नेपाल इन्भेष्टर्स फोरमले पनि सेयरमा भ्याट नलगाउन अर्थमन्त्रीलाई सुझाव दिएको थियो । फोरमका उपाध्यक्ष छोटेलाल रौनियारले सेयर बजारको विस्तार र विकासका लागि भ्याट लगाउनै नहुने स्पष्ट पारे । सेयरमा भ्याट लगाउन नहुने चौतर्फी दबावकाबीच सरकारले बजेट ल्याउँदैछ । सेयर बजारका लगानीकर्ता सोही बजेट कुरेर बसिरहरको छन् । साेमबारकाे बजारमा परिसूचकसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । कुल १६८ कम्पनीको ४७ करोड ४८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सबैभन्दा बढी सिटिजन बैंकको ५ करोड रुपैयाँ बढीको प्रमोटर सेयर किनबेच भएको छ । त्यस्तै, ग्लोबल आईएमई बैंकको पनि २ करोड रुपैयाँको प्रमोटर सेयर कारोबार भएको छ । कारोबारमा आएका १० वटै समूहको सूचक हरिया भएका छन् । सबैभन्दा बढी बीमा समूह २७२ अंकले उकालो लागेको छ । त्यस्तै, होटल १०१, माइक्रोफाइनान्स ५९, विकास बैंक ४८, हाइड्रोपावर र उत्पादनमूलक ४७ र बैंकिङ समूह २५ अंकले उकालो लागेका छन् । सेयरमा भ्याट नलगाउन चौतर्फी दबाव, के होला नयाँ बजेटमा ?