विकासन्युज

किसान सहकारीद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न, ३०० जना विद्यार्थी सहभागी

काठमाडौं । कैलालीको लम्की चुहास्थित किसान बहुउद्देश्यीय सहकारी संस्थाले विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरि सम्पन्न गरेको छ । “सबैलाई वित्तिय साक्षरता, आजको आवश्यकता” भन्ने मूल नाराका साथ शुरु गरिएको उक्त कार्यक्रम विभिन्न ४ वटा विद्यालयमा सञ्चालन भएको थियो । उक्त कार्यक्रममा कक्षा ८ देखि १० सम्म अध्ययन गर्ने करिव ३०० जना विद्यार्थी सहभागी भएका थिए । प्रत्येक सहभागीलाई १ थान खुत्रुके प्रदान गरिएको थियो । यसरी प्रदान गरिएको खुत्रुके १ महिना पछि चेकजा“च गरिने र सबैभन्दा बढि बचत गर्नै विद्यार्थीलाई पुरस्कार प्रदान गरिने सहकारीले जनाएको छ । विद्यार्र्थी समाजको सचेत वर्ग भएकोले सानैदेखि उनीहरुलाई वित्तिय सचेतनाको माध्यमले सचेत गर्न सके समग्र परिवारको फजुल खर्च रोकी बचत गर्ने बानिको बिकास हुने उद्देश्यले संस्थाले उक्त कार्यक्रमको आयोजना गरेको हो । संस्थाका महा–प्रबन्धक डम्बरबहादुर शाहले बिगत बर्षहरुदेखि गदै आईरहेको कार्यक्रमलाई यस बर्ष सबै सदस्यमाझ लैजाने योजना रहेको बताएका छन् ।

ज्योति विकास बैंक र सानिमा बैंकबीच रेमिटेन्स सम्झौता

काठमाडौं । ज्योति विकास बैंक र सानिमा बैंकबीच रेमिटेन्स सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा ज्योति विकास बैंकको तर्फबाट संचालन विभाग प्रमुख बलदेव थापा तथा सानिमा बैंकका तर्फबाट प्रबन्धक सरोज गुरागाँईले हस्ताक्षर गरेका छन् । सम्झौता पश्चात दुई संस्थाले रेमिट आदान प्रदान गर्ने भएका छन् । ज्योति विकास बैंकले हालै संचालनमा ल्याएको ज्योति रेमिट सेवा अबदेखि सानिमा बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट पनि रकम भुक्तानी लिन र दिन सकिने बैंकले जनाएको छ ।

लक्ष्मी बैंकको १०२ औं एटिएम पोखराको बिजयपुर व्यारेकमा

काठमाडौं । लक्ष्मी बैंकले पोखराको पश्चिम पृतना हेडक्वाटर बिजयपुर व्यारेकमा नयाँ एटिएम सेवा संचालनमा ल्याएकोे छ । उक्त एटिएमको उद्घाटन पृतनापति देवेन्द्र बहादुर मेधासी र लक्ष्मी बैंकको तर्फबाट मनिषराज कुँवरले गरेका छन् । यस एटिएमको सेवा व्यारेकका सैनिकहरुका लागी मात्र नभई, सर्वसाधारणहरुका लागी पनि उपलब्ध हुनेछ । यस सहित बैंकको ए.टि.एम संख्या १०२ पुगेको छ भने देशभर कुल ८४ शाखाहरु पुगेका छन् ।

‘भ्वाइस अफ नेपाल’ अब डिशहोमको रमाइलो टिभीमा, साउनदेखि प्रशारण हुने

काठमाडौं । अर्न्तराष्ट्रिय रियालिटि शो ‘भ्वाइस अफ नेपाल’ अब डिशहोमको रमाइलो टिभीमा प्रसारण हुने भएको छ । उक्त कार्यक्रम प्रायोजनको लागि डिशहोम र एडि रिलिज प्रा.लिबीच सम्झौता भएकाे छ । उक्त सम्झौतामा बिहीबार एक कार्यक्रमकाबीच डिशहोमका प्रमुख कायृकारी अधिकृत(सीईओ) सुदीप आचार्य र एडिरिलिजका मार्केटिङ् म्यानेजर दिपक कोइरालाले हस्ताक्षर गरेका छन् । ‘भ्वाइस अफ नेपाल’ नेदरल्याण्डको गायन रियालिटि शो ‘द भ्वाइस’को नेपाली संस्करण हो । जुन शो आगामी साउनको पहिलो हप्तादेखि प्रशारण हुने डिशहोमले जनाएको छ । कार्यक्रममा डिशहोमका प्रमुख कायृकारी अधिकृत सुदीप आर्चायले यस रमाईलो टिभीमा नेपाली हाँस्य श्रृंखला, नेपालीमा अनुवाद गरिएका चर्चित हिन्दी टेलिश्रृंखला, सांगितिक कार्यक्रम, जिवन कथा लगायतका विभिन्न मनोरञ्जनात्मक सामाग्रीहरु प्रशारण भइरहेका बताएका छन् । साथै, उनले भ्वाईस अफ नेपालसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए । त्यस्तै, डिशहोमका जेनरल म्यानेजर कल्यान अधिकारीले यस टिभी ‘हाई डेफिनेशन’मा प्रशारण हुने बताएका छन् । साथै, कार्यक्रममा रमाइलो टिभीका दयाराम पाण्डेले ९० प्रतिशत टिभी डिशहोमबाट चल्ने र सबै डिशहोममा रमाइलो टिभी आउने बताएका छन् ।

बंगलादेशले धागोमा लगाएको अबरोध हटायाे, निर्यातको बाटो खुल्यो

काठमाडौं । बंगलादेशले नेपालमा उत्पादन भएको धागो (यार्न) फेरी निर्यात गर्ने भएको छ । बुधबार र बिहीबार काठमाडौंमा जारी नेपाल र बंगलादेशबीचको वाणिज्य मन्त्रालय स्तरिय बैठकमा बंलादेशले नेपालकाे धागाेमा लगाएकाे अबराेध हटाउने सहमति गरेकाे हाे । उक्त सहमतिसँगै स्वदेशमा उत्पादन भएकाे धागो ब‌ंगलादेश निर्यातकाे लागि बाटो खुलेकाे छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता रविशंकर सैंजुले जारी बैठकमा बंलादेशले बिगतदेखि धागोमा लागाइएको अबरोध हटाइ फेरी आयात गर्ने सहमति भएको बताए । ‘सहमति भएसँगै बंलादेशले अब नेपाली धागो खरिद गर्ने प्रक्रिया अघि बढाउने ब‌ंगलादेशका उच्च अधिकारीहरुले सहमति जनाएका छन्,’ उनले भने । अबरोध हटेपछि बंगलादेशमा मात्रै नेपालदेखि करिब ५ अर्ब रुपैयाँभन्दा बढी धागो (यार्न) वार्षिक रुपमा निर्यात हुने मन्त्रालयको भनाइ छ । विगतमा पनि सोही बराबरको धागो निर्यात हुने प्रवक्ता सैंजुले जानकारी दिए । केही वर्षअघि बंगलादेशले एकै पटक नेपाल र भारतबाट धागो आयात गर्न छोडेको थियो । यद्यपि पछिल्लो समय भारतदेखि भने बंगलादेशले धागो खरिद गर्न शुरु गरिसकेकोमा नेपालसँगको अबरोध भने यथावत थियो । बैठकमा उक्त अबरोध हटाउने सहमति भएको हो । अबरोध हुनअघि नेपालबाट बंगलादेशले कांकडभिट्टाको फुलबारी बंगलावन्ध नाका हुँदै धागो बंगलादेश निर्यात हुन्थ्यो । त्यस्तै व्यवसायीहरुले पछिल्लो समय तेस्रो मुलकको रुपमा बंगलादेशलाई रोज्ने गरेका छन् । केहि महिनाअघि मात्रै अदुवामा भारतले अवरोध गरेपछि अदुवा व्यवसायीहरुले बंगलादेशमा पहिलो पटक अदुवा निर्यात गर्न शुरु गरिसकेका छन् । नेपाल धागो उत्पादक संघकाका अनुसार स्वदेशी धागो उद्योगहरुमा १५ अर्ब रुपैयाँ बराबरकाे लगानी भएकाे छ । हाल मुलुकमा ठूला ४ टेक्स्टायल उद्योगहरु सञ्चालनमा छन् । ती उद्योगहरुले १० हजार जनालाई प्रत्यक्ष भने हजाराैंलार्इ अप्रत्यक्ष रोजगार प्रदान गरिरहेकाे छ ।  

रैराङ हाइड्रोपावरको सेयर रजिष्ट्रेशनको काम भिवोर क्यापिटलले गर्ने

काठमाडौं । रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर रजिष्ट्रेशनको काम भिवोर क्यापिटल लिमिटेडले गर्ने भएकाे छ। उक्त कार्यकाे लागि बिहीबार(आज) कम्पनीका कार्यकारी संचालन गुरुप्रसाद न्यौपाने र भिवोर क्यापिटलका प्रमुख कार्यकारी अधिकृत बद्रीबिक्रम थापाले हस्ताक्षर गरेका छन् । यस पश्चात हाइड्रोको सेयर रजिष्ट्रेशन सम्बन्धी सम्पूर्ण कार्यहरु भिवोर क्यापिटलले गर्ने भएको छ । क्यापिटलले असार १ गतेदेखि रैराङ हाइड्रोको सेयर रजिष्ट्रेशन सम्बन्धी सम्पूर्ण कार्य गर्ने कम्पनीले जनाएको छ ।

बजारमा परिसूचक र कारोबार दुबैमा गिरावट, ट्रेडिङ् बाहेक सबै समूह राताम्मे

काठमाडौं । सेयर बजार ओरालो लाग्ने क्रम जारी रहेको छ । बिहीबारको बजारमा पनि नेप्से परिसूचक र कारोबार रकम दुबैमा गिरावट आएको छ । सो दिनको परिसूचक १४.६१ अंकले घटेर १३०७ अंकमा झरेको छ । त्यस्तै, १६५ कम्पनीको कुल ३४ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन अघिल्लो दिनको तुलनमा १० करोड रुपैयाँ घटि हो । दिनभर कारोबारमा आएका सूचक मध्ये ट्रेडिङ् बाहेक सबैसमूह राताम्मे भएका छन् । सबैभन्दा बढी बीमा समूह ११५ अंकले घटेको छ । ट्रेडिङ समूह भने २.९६ अंकले उकालो लागेको छ । त्यस्तै, बैंकिङ् समूहको सबैभन्दा बढी अर्थात १० करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बिहीबार सबैभन्दा बढी मेघा बैंकको सेयर मूल्य ९.६५ प्रतिशतले घटेकोे छ ।

परिसंघले भन्यो– बजेट सकरात्मक

काडमाडौं । नेपाल उद्योग परिसंघले आगामीआर्थिक वर्ष २०७५/७६ को बजेट सरात्मक रहेको बताएको छ । संघले बजेटमार्फत रोजगारी, पूर्वाधार विकास, पर्यटन, कृषि व्यवसायको प्रवद्र्धनको लागि नीतिगत सुधार गरी औद्योगिक लगानीको सुनिश्चितता प्रदान गरेको जानकारी दिए । त्यस्तै निर्यात प्रोत्साहन रकममा वृद्धि, ऊर्जा दशकको घोषणा, उद्योग दर्ता र खारेजी सरलीकरण, जग्गा प्राप्तीमा सरलीकरण, उद्योगमा रोजगारी दिए वापत करमा छुट, प्राविधिक शिक्षामा इन्टर्नको लागि बजेट विनियोजन, सातै प्रदेशमा विशेष आर्थिक क्षेत्र र औद्योगिक क्षेत्र स्थापना गर्ने प्रावधान सकारात्मक पक्ष रहेको संघको भनाइ छ । सुशासनमा उच्च प्राथमिकता दिएको र सुशासन कायम भए स्वतःलगानी विस्तार हुने संघको भनाइ छ । आगामी ५ वर्षमा नेपालीको आय दोब्बर बनाउन ८ प्रतिशतको हाराहारीको आर्थिक वृद्धिदर लक्ष्य सहित संघीय गणतन्त्र नेपालको पूर्ण संघीय बजेट समृद्धिको इतिहास रच्ने आधार वर्ष बनाउने प्रयास रहेको छ । ८ प्रतिशतको आर्थिक वृद्धि र ५ प्रतिशतको मूल्यवृद्धिको लक्ष्य राख्दै ल्याइएको बजेटमा अन्र्तनिहित कार्यक्रम मुलुकलाई औद्योगिकरणतर्फ उन्मुख गर्ने प्रयास भएतापनि विकासको इञ्जिनको रुपमा रहेको निजी क्षेत्रभन्दा सहकारीलाई बढी जोड दिइएको पाइएको संघले बताएको छ । संघको अनुसार बजेटले परिलक्षित गरिएका उद्देश्यहरुमा नागरिकका मौलिकहकको रुपमा रहेको जीवनयापनका न्यूनतम आधारभूतआवश्यकताहरु शीघ्र परिपूर्ति गर्दै चरम गरिबी, विपन्नता र पछौटेपनको अन्त्य गर्ने, साधन स्रोत, अवसर र क्षमताको विकास तथा उच्चतम उपयोग गरी द्रुत आर्थिक तथा मानवीय विकास गर्ने र आर्थिक भौतिक तथा सामाजिक पूर्वाधार विकास गरी समुन्नत, सुदृढ, स्वाधीन र समाजवाद उन्मुख आर्थतन्त्रको निर्माण गर्ने उद्देश्य सकारात्मक छ । त्यस्तै आगामी दुई वर्षभित्र चिनी, औषधी, फलामे डण्डी, काठ सिमेन्ट लगायतका आधारभूत निर्माण सामाग्रीकामा आत्मनिर्भर हुने, बन्द र रुग्ण उद्योगहरुलाई सम्भाव्यताका आधारमा सहकारी र निजी क्षेत्रको साझेदारीमा सञ्चालनगर्ने व्यवस्था मिलाउनु, उद्यमशीलता र सीपविकास तथा तालिमको माध्यमबाट महिला उद्यमशीलता विकास गरी उनीहरुबाट सञ्चालन हुने परियोजनामा आधारित रु. १५ लाखसम्मको सामूहिक ऋणमा ६ प्रतिशतव्याजअनुदानको व्यवस्था गरिनु उद्योगमैत्री रहेको परिसंघको धारणा छ ।