काठमाडौं । बंगलादेशले नेपालमा उत्पादन भएको धागो (यार्न) फेरी निर्यात गर्ने भएको छ । बुधबार र बिहीबार काठमाडौंमा जारी नेपाल र बंगलादेशबीचको वाणिज्य मन्त्रालय स्तरिय बैठकमा बंलादेशले नेपालकाे धागाेमा लगाएकाे अबराेध हटाउने सहमति गरेकाे हाे ।

उक्त सहमतिसँगै स्वदेशमा उत्पादन भएकाे धागो बंगलादेश निर्यातकाे लागि बाटो खुलेकाे छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता रविशंकर सैंजुले जारी बैठकमा बंलादेशले बिगतदेखि धागोमा लागाइएको अबरोध हटाइ फेरी आयात गर्ने सहमति भएको बताए । ‘सहमति भएसँगै बंलादेशले अब नेपाली धागो खरिद गर्ने प्रक्रिया अघि बढाउने बंगलादेशका उच्च अधिकारीहरुले सहमति जनाएका छन्,’ उनले भने ।
अबरोध हटेपछि बंगलादेशमा मात्रै नेपालदेखि करिब ५ अर्ब रुपैयाँभन्दा बढी धागो (यार्न) वार्षिक रुपमा निर्यात हुने मन्त्रालयको भनाइ छ । विगतमा पनि सोही बराबरको धागो निर्यात हुने प्रवक्ता सैंजुले जानकारी दिए ।
केही वर्षअघि बंगलादेशले एकै पटक नेपाल र भारतबाट धागो आयात गर्न छोडेको थियो । यद्यपि पछिल्लो समय भारतदेखि भने बंगलादेशले धागो खरिद गर्न शुरु गरिसकेकोमा नेपालसँगको अबरोध भने यथावत थियो । बैठकमा उक्त अबरोध हटाउने सहमति भएको हो । अबरोध हुनअघि नेपालबाट बंगलादेशले कांकडभिट्टाको फुलबारी बंगलावन्ध नाका हुँदै धागो बंगलादेश निर्यात हुन्थ्यो ।
त्यस्तै व्यवसायीहरुले पछिल्लो समय तेस्रो मुलकको रुपमा बंगलादेशलाई रोज्ने गरेका छन् । केहि महिनाअघि मात्रै अदुवामा भारतले अवरोध गरेपछि अदुवा व्यवसायीहरुले बंगलादेशमा पहिलो पटक अदुवा निर्यात गर्न शुरु गरिसकेका छन् ।
नेपाल धागो उत्पादक संघकाका अनुसार स्वदेशी धागो उद्योगहरुमा १५ अर्ब रुपैयाँ बराबरकाे लगानी भएकाे छ । हाल मुलुकमा ठूला ४ टेक्स्टायल उद्योगहरु सञ्चालनमा छन् । ती उद्योगहरुले १० हजार जनालाई प्रत्यक्ष भने हजाराैंलार्इ अप्रत्यक्ष रोजगार प्रदान गरिरहेकाे छ ।