१ वर्षमा सहकारीको लगानी २९ अर्ब बढाउने सरकारको लक्ष्य
काठमाडौं । आउँदो आर्थिक वर्षमा वचत तथा ऋण सहकारी संस्थाको लगानी २९ अर्ब रुपैयाँ थप हुने भएको छ । हालसम्म ३ खर्ब रुपैयाँ लगानी रहेकोमा यसलाई बढाएर आगामी आर्थिक वर्षको अन्त्यसम्म ३ खर्ब २९ अर्ब रुपैयाँ पुग्ने सरकारको अनुमान रहेको छ । यस्तै निक्षेप पनि २७ अर्ब रुपैयाँ बढ्ने प्रक्षेपण रहेको छ । आगामी वर्षको असारसम्म सहकारी संस्थाबाट हुने लगानी साढे ३ खर्ब रुपैयाँ पुर्याउने लक्ष्य लिइएको छ । सरकारले ल्याएको बजेटमा एक वर्षमा सहकारी संस्थाका सदस्य २ लाख ७० हजार बढाएर ६७ लाख ५० हजार पुर्याउने भनिएको छ । हालसम्म ६४ लाख ८० हजार जना सहकारीमा आवद्ध रहेका छन् । आउदो वर्ष सहकारी क्षेत्रले मात्रै ३ हजारलाई रोजगारीको सिर्जना गर्ने बजेटमा उल्लेख छ । आउदो वर्ष यसको संख्या बढेर ६५ हजार पुग्ने छ । हाल ६४ हजार रहेको छ । सार्वजनिक, निजी र सहकारी अर्थतन्त्रको ३ खम्बाको रुपमा लिइएको छ ।
पूर्व राष्ट्रपतिका नातिसँग लभ गरेवापत निशाकुसुम भण्डारीलार्इ राष्ट्रपतिले तक्मा दिनुपर्ने ?
मेरा एकजना लगौटीयार एमाले साथी छन् रामप्रसाद (नाम परिवर्तन) । हामी एउटै थालमा खाएर हिडेका पनि छौं, एउटै सिरक तानातान गर्दै कयौ रात काटेका पनि छौै । कलेज पढ्दा उ अखिल सखिलमा राम्रै लागेको पनि हो । सरकारी कर्मचारी कहिल्यै जान नमान्ने जुम्लामा गएर उसले बर्षौ काम गरेको छ, अहिले पनि उसको पोष्टिग दार्चुलामा छ, एकदम खुशीसाथ जनताको सेवा गरेकै छ । म आज दावाका साथ यत्ति भन्छु उषाकिरण र लताकिरणको भन्दा मेरो त्यो साथीको योगदान कम चाही छैन । हिजो राजपरिवार र गणतन्त्र आइसकेपछि प्रचन्डले छोरा प्रकाशलाई तक्का दिएको भनेर विरोध गर्नु बेकार रहेछ । निशाकुसुम भण्डारीले पूर्व राष्ट्रपति रामवरण यादवकाे नाति अभिशेष यादवसँग लभ गरेर विहे गरेको योगदानभन्दा लगभग दुई दसक निष्पक्षताका साथ सरकारी सेवा गरेको मेरो त्यो साथीले किन तक्मा नपाउने ?
तल्लो मोदीमा वम भेटियो, दोषि पत्तालगाई कारबाही गर्न महासंघको माग
काठमाडौं । पर्वत जिल्लाको पार्दीस्थित तल्लो मोदी हाइड्रो पावर परियोजनामा हिजो विहान (मंगलबार) अज्ञात समूहद्वारा बम राखिएको घटनाप्रति नेपाल उद्योग वाणिज्य महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । विकास निर्माण परियोजनालाई लक्षित गरी गरिएका त्यस्ता कार्यको महासंघले विरोध गरेको बताएको छ । सरकारले उर्जा विकासलाई उच्च प्राथमिकतामा राखेर अगाडी बढीरहेको अवस्थामा यस्ता घटना हुनु दुःखद भएको महासंघको ठहर छ । मुलुकनै विकासको मार्गमा अगाडी बढ्न अग्रसर भैरहेको अवस्थामा भएका यस्ता घटनाप्रति सरकारको ध्यानाकर्षण गराउदै त्यस्ता कार्यमा संलग्नहरुको खोजी गरी कानुनको दायरामा ल्याउन महासंघले माग गरेको छ ।
‘आगामी आर्थिक वर्षभित्र निजी आवासको कार्य सम्पन्न गरिने’
काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भूसालले आगामी आर्थिक वर्षभित्र निजी आवासको कार्य सम्पन्न गरिने लक्ष्य रहेको बताएका छन् । उनले बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्राधिकरणलाई दिइएको समयभित्र पुनर्निर्माणका लगभग सबै कार्य सम्पन्न भइसक्ने बताएका छन् । साथै, भूसालले निजी आवास निर्माण तीव्र गतिमा भइरहेको तथा विद्यालय भवनहरुको पुनर्निर्माण पनि उत्साहजनक ढंगले अघि बढिरहेको जानकारी गराएका छन् । युरोपेली कमिसनको अन्तर्राष्ट्रिय सहयोग तथा विकास महानिर्देशक इयान क्रिष्टोफ भिरियु र नेपालका लागि न्यूजिल्याण्डकी राजदूत जोआना केम्पकर्सले पुनर्निर्माणको प्रशंसा गरेका छन् । उनीहरुले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भूसालसँग भेटघाट गरी भूकम्पपछि भइरहेको पुनर्निर्माण अवस्था बारे जिज्ञासा राखी सो कुरा बताएका हुन् । बुधबार प्राधिकरण कार्यालयमा भएका छुट्टाछुट्टै भेटमा युरोपेली कमिसनका भिरियु र न्युजिल्याण्डका राजदूत केम्पकर्सले खासगरी निजी आवास तथा विद्यालय भवनहरुको पुनर्निर्माणका बारेमा जिज्ञासा राखेका थिए । कार्यक्रममा सीमितता तथा संक्रमणकालका बाबजूद पुनर्निर्माणमा उल्लेख्य प्रगति भएकोमा प्राधिकरणको प्रशंसा भएको छ । भूसालले पुनर्निर्माणमा युरोपेली युनियन र न्यूजिल्याण्डले पुर्याएको सहयोगका लागि धन्यवाद दिंदै आगामी दिनमा पनि सहयोग निरन्तर हुने अपेक्षा व्यक्त गरेका छन् ।
महासंघ र चिनिया उद्यमी व्यवसायीबीच द्विपक्षीय भेटवार्ता, प्रविधिमा सहयोग गर्न आग्रह
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा सहित महासंघका पदाधिकारी समक्ष चीनको कुइचाओ प्रान्तको कुइचाओ उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चा चाओको नेतृत्वमा नेपाल भ्रमणमा आएको चिनिया उद्यमी व्यवसायीहरुबीच बुधबार महासंघ सचिवालयमा भेटवार्ता भएको छ । अखिल चीन उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति सदस्य समेत रहेका उपाध्यक्ष चा चाओ आगामी जुलाईमा चीनको कुइचाओ प्रान्तमा आयोजना हुने नेपाल चीन गैह्र सरकारी सहयोग मञ्चको बैठकको तयारी भेटघाटका लागि महासंघ आएका हुन् । उनका साथमा आएका प्रतिनिधिमण्डलसँग भएको भेटवार्तामा नेपालमा चिनिया लगानीका लागि सम्भाव्य क्षेत्रहहरुका विषयमा छलफल भएको छ । उक्त प्रतिनिधिमण्डलसँग भएको भेटवार्तामा नेपालमा उर्जा, पूर्वाधार विकास, कृषि, पर्यटन, शिक्षा लगायतका क्षेत्रमा लगानीको पर्याप्त सम्भावना रहेकाले लगानी गर्न महासंघले आग्रह गरेको छ । सो अवसरमा चिनिया पक्षबाट चीनको एक्जिम बैंकको कुइचाओ शाखा नेपालमा लगानी गर्न निकै सकारात्मक रहेको र कुइचाओ विश्व विद्यालय नेपालको शैक्षिक विकासमा तालिम तथा नेपाली विद्यार्थीको उच्च शिक्षामा सहयोग गर्न तयार रहेको जानकारी गराइएको छ । भेटवार्तामा भएको छलफलमा आगामी जुलाईमा चीनको कुइचाओ प्रान्तमा हुने नेपाल चीन गैह्र सरकारी सहयोग मञ्चको बैठकमा कृषि, पर्यटन, शिक्षा, उर्जा तथा पूर्वाधार लगायतका क्षेत्रमा छलफल गरिने प्रस्ताव समेत महासंघले गरेको छ । कार्यक्रममा महासंघका अध्यक्ष भवानी राणाले उक्त प्रतिनिधिमण्डलको स्वागत गर्दै नेपालमा चीनको कुइचाओ प्रान्तसँग निकै धेरै सहकार्यका सम्भाव्यता रहेकाले लगानी, प्रविधि तथा विकासको मोडल लगायत कार्यमा सहयोग गर्न आग्रह गरिन् । भेटवार्तामा महासंघका पूर्व अध्यक्ष एवं नेपाल चीन गैह्र सरकारी सहयोग मञ्चका सहसभापति रविभक्त श्रेष्ठ, कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधान, कार्यकारिणी समितिका सदस्यहहरु, महासंघका निमित्त महानिर्देशक गोपाल तिवारी, वरिष्ठ कर्मचारी लागयतको उपस्थिति रहेको थियो ।
स्वास्थ्य बीमा अन्तर्गत शान्ती काउचाले पाइन् ३५ हजार रुपैयाँ
काठमाडौं । सनराइज बैंक लिमिटेडको ग्राहक शान्ती काउचाले स्वास्थ्य बीमा अन्तर्गत पाइन् ३५ हजार ०९४ रुपैयाँ बराबरको रकम पाएकी छिन् । कलंंकी शाखाकी ग्राहक काउचाले बैंकको “स्वास्थ्य बीमा सुविधा” अन्तर्गत उपचार खर्च बमोजिम सो मात्राको रकम पाएकी हुन् । बैंकका सहायक महाप्रबन्धक सर्बेन्द्र मिश्रले काउचालाई उक्त रकम प्रदान गरेकी हुन् । उक्त बीमा अन्तर्गत बैंकका बचतकर्ताहरुले अस्पताल भर्ना भई स्वास्थ्य उपचार गराउँदा लाग्ने खर्च १ लाख रुपैयाँमा नबढ्ने गरी आफ्नो बचत खातामा रहने बार्षिक औषत मौज्दातको २५ प्रतिशत वा विल रकम मध्ये जुन कम हुन्छ सो रकम दाबी गर्न पाइनेछ । साथै, बैंकले नारायणगढ शाखाका ग्राहक विक्रम अधिकारीलाई उपचार खर्च ७६ हजार ८२७ रुपैयाँ तथा राधा श्रेष्ठलाई उपचार खर्च ४ हजार ०२२ रुपैयाँ र राजबिराज शाखाका ग्राहक रामअवतार यादवलाई ४२ हजार १११ रुपैयाँ बराबरको रकम प्रदान गरेको छ । बैंकले यस “स्वास्थ्य बीमा सुविधा” अन्तर्गत देशभरका ६० भन्दा बढी तोकिएका निजी अस्पतालहरुमा स्वास्थ परिक्षण गराउँदा ५ देखि २० प्रतिशत सम्म छुट प्रदान गर्दै आएको छ ।
रेल किन्न ५० करोड बजेट, अर्काे बर्ष गुड्ने पक्का
काठमाडौं । सरकारले रेल खरिदका लागि ५० करोड रुपैंयाँ बजेट छुट्याएको छ । रेल खरिदका लागि बजेट विनियोजन भएसँगै आगामी आर्थिक बर्षभित्रै नेपाली भूमिमा रेल गुड्ने पक्का भएको हो । ‘रेलका डब्बा खरिदका लागि ५० करोड रुपैंयाँ बजेट विनियोजन भएको छ, आगामी आर्थिक बर्षभित्रै नेपाली भूमिमा रेल गुड्नेछ’, रेल विभागका सिनियर डिभिजनल इञ्जिनियर प्रकाशभक्त उपाध्यायले विकास न्यूजलाई भने । सरकारले आफ्नो श्रोतबाट ३ करोड ७५ लाख र विदेशी सहयोगबाट ४६ करोड २५ लाख रुपैंयाँ रेल खरिदका लागि छुट्याएको हो । उपाध्यायका अुनसार जनकपुर जयनगर रेलमार्गको काम अन्तिम चरणमा पुगिसकेको छ । सोही मार्गमा गुडाउन रेलका डब्बा खरिदका लागि रकम विनियोजन गरिएको हो । जयनगर जनकपुर बर्दिबाससम्म ६९ किलोमिटर रेल वे ट्रयाकमा गुडाउन डब्बा खरिद गर्न लागिएको हो । बजेट पाएपछि तत्कालै रेलका डब्बा बुक(अर्डर) गर्न सकिने उपाध्यायले जानकारी दिए । ‘यो ५० करोडले तत्कालै पाँच सात वटा रेलका डब्बा अर्डर गर्न सकिन्छ, हामीले छिट्टै त्यो काम सुरु गर्छाै’, उपाध्यायले भने । सरकारले आगामी आर्थिक बर्षभित्रै पुर्वपश्चिम रेलमार्ग अन्तगर्त बर्दिबास लालबन्दीदेखि निजगढसम्मको खण्डमा रेल मार्ग निर्माणको काम अघि बढाउन लागेको अर्थमन्त्री डा. युवराज खतिवडाले बताए ।
एनआईसी एशिया बैंकको थप शाखा रौतहटको बंकुल बजारमा
काठमाडौं । एनआईसी एशिया बैंकले रौतहटको बंकुल बजारमा नयाँ शाखा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन बौधीमाई नगरपालिकाका मेयर राजीव रंजन यादवले गरेका छन् । हाल बैंकले २१७ शाखा कार्यालयहरु, २०३ एटिएम, ८ वटा एक्स्टेन्सन काउण्टर एवं ८ वटा शाखारहित बैंकिङ्ग मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।