विकासन्युज

अर्थमन्त्रीले सुनाए ८ प्रतिशत आर्थिक वृद्धिदरका आधा दर्जन आधार

  काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी बर्ष ८ प्रतिशत आर्थिक वृद्धि हासिल हुने आधारहरु सार्वजनिक गरेका छन् । अर्थमन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै अर्थमन्त्री खतिवडाले प्रक्षेपित वृद्धिदर हासिल हुने दावी गर्दै आधा दर्जन आधार पेश गरेका हुन् । आगामी वर्षमा आर्थिक वृद्धिको मुल इन्जिन औद्योगिक क्षेत्र हुने उनको भनाई छ । आगामी आवमा औद्योगिक उत्पादन १२ प्रतिशत बढ्ने प्रक्षेपण सरकारले गरेको उनले जानकारी दिए । यही प्रक्षेणका आधारमा सरकारले ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य निधारण गरेको हो । देश लोडसेडिङमुक्त भएपछि औद्योगिक उत्पादन विस्तार हुदै गएको र आगामी वर्ष थप बढ्ने आधारमा यो लक्ष्य निर्धारण गरेको खतिवडाले बताएका छन् । पत्रकार सम्मेलनमा अर्थमन्त्री खतिवडाले आगामी वर्ष राष्ट्रिय गौरवका ४५६ मेगावाटको माथिल्लो तामाकोसी र मेलम्ची खानेपानी आयोजना सञ्चालनमा आउने जानकारी दिए । दुई आयोजनाले मूल्य अभिवृद्धि गर्न उनको भनाई छ । यस्तै नयाँ ठुला सिमेन्ट र खानी उद्योग सञ्चालनमा आउने भएकाले यी क्षेत्रले आर्थिक गतिविधिमा विस्तार गर्ने खतिवडाको तर्क छ । आगामी वर्ष पनि साढे ८ प्रतिशत् सेवा विस्तार हुने उनले जानकारी दिए । यस्तै कृषि क्षेत्रको विस्ता साढे ४ प्रतिशत हुने उनको भनाई छ । उद्योग, सेवा र कृषिको विस्तारका आधारमा ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य निर्धारण गरिएको उनको भनाई छ । पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिले मुद्रास्फिती बढाउने उनको भनाई छ ।

वर्षा सुरु हुन लाग्दा नारायणगढ–मुग्लिन सडक खण्ड ३३ प्रतिशत मात्रै सम्पन्न

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डको तीनमध्ये एक खण्डको काम सम्पन्न भएको छ । पाँचौँ पटक थपिएको मिति आज सम्पन्न भएपनि बाँकी दुई खण्डको काम भने सकिएको छैन । नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार सो सडकको दासढुंगाबाट सिमलतालसम्मको १०।७ किलोमिटर सडक सम्पन्न भएको ठेकेदार कम्पनीले आयोजनालाई जानकारी गराएको छ । सो सडकको काम हाल सम्पन्न भए पनि एक वर्षसम्म भत्के बिग्रिएमा हेर्नुपर्ने भएकाले बजेटको हिसाबले शतप्रतिशत सम्पन्न भएको देखिँदैन । खनालका अनुसार आँपटारीदेखि दासढुंगासम्म भारतीय बिएलए तथा नेपाली श्रेष्ठ निर्माण कम्पनी, त्यसपछिको सिमलतालसम्म भारतीय उड हिल तथा नेपाली लामा निर्माण कम्पनी र सिमलतालदेखि मुग्लिनसम्म भारतको सुप्रिम र नेपाली रौताहा निर्माण कम्पनीलाई ठेक्का दिइएको छ । यसमध्ये बीचको खण्ड उडहिल लामा जेभीले काम सम्पन्न गरेको हो । उसले ९७ प्रतिशत काम सम्पन्न गरेको छ भने पहिलो खण्ड बिएलए श्रेष्ठ जेभीले ८९।६ प्रतिशत र तेस्रो खण्ड सुप्रिम रौताहा जेभीले ८४ प्रतिशत काम सम्पन्न गरेका छन् । समग्रमा ८९।८ प्रतिशत काम सम्पन्न भएको खनालले बताए । सो सडकको पाँचौँ पटक थप गरिएको मिति पहिलो खण्डको मे १०, दोस्रो खण्डको मे २० र तेस्रो खण्डको मे ३० मा सम्पन्न भएको छ । पुनः मिति थपका लागि तीनवटै कम्पनीले परामर्शदाता कम्पनीलाई आग्रह गरिसकेका छन् । हाल सो सडकको ४५० मिटरबाहेक अन्यत्र एक तह र कतिपय तेस्रो तहको कालोपत्रको काम सम्पन्न भएको छ । सो सडक आयोजनाका परामर्शदाता कम्पनीका आवासीय इञ्जिनियर पुष्कर रेग्मीका अनुसार तेस्रो खण्डको चेपाङ डाँडामा आज साँझसम्ममा भित्तो काट्ने काम सकिन्छ भने दुई दिनमा कालोपत्रको पहिलो तह सम्पन्न हुने बताए । तेस्रो खण्डकै एङ्कर वाल उठाउने काम बाँकी रहेकाले झण्डै तीन हप्ता सो कामका लागि समय लाग्ने अनुमान गरिएको छ । सो सडक हेर्दैआएका प्रविधिज्ञले असार मसान्तसम्ममा अन्य दुई खण्ड पनि सम्पन्न हुने अनुमान गरेका छन् । चाँडै वर्षात् भएकाले काममा केही ढिलाइ भएको जनाइएको छ । रासस

वृद्ध भत्ता मासिक ५०० रुपैंयाँले बढेको छ-अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले वृद्ध भत्ता मासिक पाँच सय रुपैंयाँका दरले वृद्धि गरेको दावी गरेका छन् । आगामी आर्थिक बर्षका लागि संसदमा पेश गरिएको बजेटका बारेमा आयोजना गरेको पत्रकार सम्मेलनमा अर्थमन्त्री खतिवडाले वृद्ध भत्ता बढाएको दावी गरेका हुन् । डा. खतिवडाले गरेको दावी उनकै शब्दमा पाँच बर्षमा जेष्ठ नागरिकको भत्ता दोब्बर बनाउने भनिएको छ र युवराज खतिवडा आफैं पनि घोषणा पत्र लेखनमा बसेको मान्छे हो । मैले त्यहि बेला देखि नै भन्दै आएको छु की सामाजिक सुरक्षाका धेरै स्किम हुन्छन् । भत्ता दिने, बीमा गर्ने र आवास बनाइदिने । हामी अहिले बीमा गरिदिने स्किमबाट अघि बढेका छौं । भोली आबासमा पनि जान्छौं । अहिले आवास नभएका वृद्धवृद्धालाई आवास दिने पनि भनेका छौं । आवास र स्वास्थ्य बीमा जोड्ने हो भने भत्ता बढाएको जस्तै देखिन्छ । एक लाख रुपैंयाँको निशुल्क जीवन बीमा गर्ने भनेको ६।७ हजार त पर्छ नै । त्यसरी हेर्ने हो भने पाँच सय रुपैंयाँ त महिनाको यसै पनि बढ्यो नै । बुढाबुढीको सबै भन्दा धेरै खर्च हुने भनेको त्यहि स्वास्थ्यमा हो । खान त कति नै खाइन्छ र ? त्यो स्वास्थ्यको हेरचार सरकारले गरिदिन्छ । म अग्रज बुवाआमाहरुलाई आग्रह गर्न चाहान्छु, अब छोरा छोरीले तपाईहरु बिरामी हुँदा हस्पिटल नलगिकन पैसा छैन भनेर बस्दैनन् । हस्पिटलसम्म पुर्याउँछन र त्यहाँ निःशुल्क उपचार हुन्छ । वृद्ध भत्तालाई स्वास्थ्यसँग जोडेर अघि सारिएको कुरा त्यसरी नै बुझिदिनुहुन अग्रज बुवाआमाहरुलाई आग्रह गर्दछु ।

सिद्धार्थ बैंक ‘आइएमई पे’ वालेटमा आवद्ध, रकम जम्मा गर्न सजिलो हुने

काठमाडौं । आइएमई पेका सेवाग्राहीहरूले अबदेखि सिद्धार्थ बैंक लिमिटेडको खातामा लिङ्क गरि ‘आइएमई पे’ वालेटमा सिधैं रकमान्तर गर्न सक्ने भएका छन् । बैंकले सेवाग्राहीहरूलाई आइएमई पे वालेटमा बैंक खाता लिङ्क गर्ने लगायत बैंक खाताबाट वालेट र वालेटबाट बैंक खातामा रकम जम्मा गर्ने जस्ता सेवाहरू उपलब्ध गराउनेछ । साथै, सिद्धार्थ बैंकका सेवाग्राहीहरुले ‘आइएमई पे’ मा उपलब्ध रिचार्ज र विभिन्न प्रकारका अनलाइन र अफलाइन भुक्तानी सेवाका अतिरिक्त मनी ट्रान्सफर सम्बन्धी सुविधा पनि प्राप्त गर्न सक्नेछन् । आइएमई ग्रुपद्धारा प्रवद्र्धित ‘आइएमई डिजिटल’ र सिद्धार्थ बैंकबीच ‘आइएमई पे वालेट’ मार्फत विविध मोबाइल वित्तीय सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता पत्रमा गत फागुनमा भएको हस्ताक्षर भएको थियो । सो अनुसार यो सेवा प्रदान गर्न लागिएको कम्पनीले जनाएको छ । सिद्धार्थ बैंक ‘आइएमई डिजिटल’ को बैंकिङ्ग साझेदार संस्था हो ।

नुवाकोटको स्थानीय तहमा बजेट घट्यो, सबैभन्दा बढी विदुर नगरपालिकालाई

नुवाकोट । सरकारले आगामी आर्थिक वर्ष २०७५/७६ को लागि यहाँका दुई नगरपालिका र १० गाउँपालिकालाई दुई अर्ब ५४ करोड ४३ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । मंगलबार सार्वजनिक भएको बजेटमा सबैभन्दा बढी विदुर नगरपालिकालाई ४६ करोड २३ लाख रुपैयाँ र बेलकोटगढी नगरपालिकालाई ३३ करोड ४६ लाख रुपैयाँ बजेट छुट्याइएको छ । चालू आवभन्दा आगामी आवमा विदुर नगरपालिकालाई दुई करोड रुपैयाँ बजेट थप गरिएको छ भने बेलकोटगढीको बजेट रु पाँच करोड घटेको छ । यस्तै, ककनी गाउँपालिकाका लागि रु २३ करोड ७६ लाख, किस्पाङलाई रु १५ करोड ३१ लाख, तादीलाई रु १७ करोड ४४ लाख, तार्केश्वरलाई रु १५ करोड ८१ लाख, दुप्चेश्वरलाई रु १९ करोड ३५ लाख, पञ्चकन्यालाई रु १५ करोड नौ लाख, मेघाङलाई रु १४ करोड ६५ लाख, लिखुलाई रु १६ करोड ५० लाख, शिवपुरीलाई रु २१ करोड ६९ लाख र सूर्यगढीका लागि रु १५ करोड १४ लाख विनियोजन गरिएको छ । चालू आवका लागि यहाँ रहेका स्थानीय तहलाई वित्तीय समानीकरण र सशर्त अनुदानमार्फत रु दुई अर्ब ९९ करोड ११ लाख बजेट विनियोजित भएकामा आगामी आवका लागि रु ४४ करोड ६८ लाख कम बजेट विनियोजन भएको छ । चालू आवमा भन्दा आगामी आवमा विदुर नपा र ककनी गापाको बजेटमा केही वृद्धि भए पनि बाँकी स्थानीय तहमा बजेट कम विनियोजन गरिएको छ । रासस

आर्थिक वृद्धिदर ८ प्रतिशत कायम गर्न जिडिपीको ४३ प्रतिशत लगानी गर्नुपर्ने

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पर्यटन क्षेत्रले एक वर्षमा दुई लाख जनशक्तिलाई रोजगारी दिनसक्ने बताएका छन् । रिपोर्टर्स क्लब नेपालले बुधबार यहाँ आयोजना गरेको अन्तक्रियामा उनले पर्यटन क्षेत्रको पूर्वाधार विकासमा लगानी गरी पर्यटकलाई आकर्षित गर्न सकिने बताउँदै यस क्षेत्रमा गरिने लगानीले बहुआयामिक प्रभाव पार्ने जानकारी दिएका छन् । भैरहवामा एक वर्षभित्र अन्तर्राष्ट्रिय विमानस्थल बनाइने, निजगढको विमानस्थललाई स्तरोन्नति गरी तीन वर्षभित्र अन्तर्राष्ट्रिय विमानस्थल बनाइने, धनगढी, विराटनगर र जनकपुरमा क्षेत्रीय विमानस्थल बनाइने, सन् २०२० भित्र २० लाख पर्यटक भित्र्याइने लक्ष्य राखिएको मन्त्री अधिकारीले बताए । नेपाली काँग्रेसका नेता डा रामशरण महतले सरकारले लिएका अधिकांश लक्ष्य विरोधाभास रहेको बताउँदै पाँच वर्षमा प्रतिव्यक्ति आय दोब्बर गर्ने र आर्थिक वृद्धिदर ८ प्रतिशत पुर्याउने योजनाबीच तालमेल नहुने चर्चा गर्दै कूल गार्हस्थ्य उत्पादनको ४३ प्रतिशत लगानी गर्नुपर्नेमा जोड दिएका छन् । स्थानीय र प्रादेशिक तहका करको अधिकार प्रदेश र स्थानीय सरकारमै भएको अवस्थामा राजश्व बाँडफाँट गर्नुपर्ने हुँदा संघमा ३० प्रतिशत राजश्व उठाउन नसकिने उनको भनाइ थियो । पूर्व अर्थमन्त्री शंकरप्रसाद कोइरालाले कृषि, पर्यटन, ऊर्जा र पूर्वाधार क्षेत्रलाई प्राथमिकता दिइएकाले बजेट यथार्थफरक भएको बताउँदै आर्थिक वृद्धिदरको सम्भावना रहेको विचार व्यक्त गरेका छन्। संघीयता कार्यान्वयन भएपछिको पहिलो वर्षमा नै प्रदेश र स्थानीय सरकारलाई थोरै बजेट दिनु गलत भएको बताउँदै उनले बजेटमा प्रदेश र स्थानीय तहलाई भने पर्याप्त रकम नदिइएका कारण द्वन्द्व बढनसक्ने औँल्याएका छन् । संघीय समाजवादी फोरम नेपालका नेता हरिनारायण रौनियारले प्रस्तुत बजेटले सकारात्मक सन्देश दिए पनि कार्यान्वयनको पाटो भने जटिल भएको बताए । उनले भने,“संघीयता अनुसारको बजेट भएन, प्रदेश र स्थानीय सरकारलाई कर उठाउने अधिकारमा प्रष्ट पार्नुपर्थ्यो ।” राष्ट्रिय जनता पार्टीका नेता राजकिशोर यादवले झन्झटिलो प्रक्रियाबाट सांसदलाई चार करोड रुपैयाँ दिने प्रक्रिया गलत भएको विचार व्यक्त गरेका छन्। रासस

रोल्पाको जुगारमा नेपाल इन्भेष्टमेण्ट बैंक

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले रोल्पाको त्रिवेणी गाँउपालिकास्थित जुगारमा आफ्नो ७१ औं शाखा विस्तार गरेको छ । यस शाखाले त्यँहाका स्थानीयलाई वित्तीय कारोबारमा सहज हुने बैंककाे अपेक्षा रहेकाे छ । बैंकले ग्रामीण क्षेत्रका सर्वसाधारणलाई समेत सहज बैंकिङ सेवा प्रदान गर्ने उदेश्यले प्रदेश अनुसार वित्तीय संजाल नपुगेका क्षेत्रमा शाखा विस्तार गर्ने योजना अनुसार शाखा विस्तारको अभियानलाई निरन्तरता दिएको छ । साथै, बैंकले विपन्न वर्ग कर्जातर्फ प्रत्यक्ष २२ हजार व्यक्तिलाई ३ अर्ब ६४ करोड रुपैयाँ लगानी गर्ने छ । हाल बैंकले ६३ वटा शाखारहित बैंकिङ्ग सुविधा, १०० वटा एटिएम र ६ वटा एक्स्टेन्सन काउन्टर मार्फत सेवा दिँदै आइरहेको छ ।

७ जना डीलरसहित मेघा लुब्रीकेन्टस कम्बोडिया र थाइलैंडको भ्रमणमा

काठमाडौं । मेघा लुब्रीकेन्टसले आफ्नो उत्पादन बिक्री गर्ने डीलरहरुलाई कम्बोडिया र थाइलैंडको भ्रमणमा लगेको छ । लुब्रीकेन्टसले यस वर्ष आफ्ना सात जना उत्कृष्ट डीलरहरुलाई ७ दिने भ्रमणमा लगेको हो । प्रत्यक वर्ष लुब्रीकेन्टस्ले आफ्ना डिलर्सहरुलाई मनोरञ्जन प्रदान गर्नुका साथै लुब्रीकेन्टस उद्योग अवलोकन गराउँदै आएको छ । यसअघि इन्डोनेशीयाको भ्रमण गराएको थियो । यो क्रम हरेक बर्ष गरिने मेघा लुब्रीकेन्टसका प्रबन्ध निर्देशक तथा नाडाका उपाध्यक्ष कृष्णप्रसाद दुलालले बताए ।