विकासन्युज

न्युटनको तीन नियम सम्झाउँदै अर्थमन्त्रीले भनेः म पनि समान हैसियतको सांसद हुँ

काठमाडौं । मुलतः यो बजेट राष्ट्रिय अर्थतन्त्र निर्माणतर्फ उन्मुख छ । समाजवाद उन्मुख अर्थतन्त्र निर्माणमा केन्द्रित छ । राष्ट्रिय पुँजी निर्माण मार्फत मुलुकको समावेशी र सर्वांगीण विकासमा लक्षित छ ।  न्युटनको तीन वटा सिद्धान्त पढेको थिएँ । पहिलो नियम:  गतिशिललाई रोक्न गति चाहिन्छ, गतिहिनलाई गति दिन पनि गति नै चाहिन्छ । हामी गतिहिन बनेको आर्थिक गतिबिधि बढाउन गति दिँदैछौं र रोकिएको सुशासनको गतिलाई बढाउन पनि गति नै दिँदैछौं । धेरै गतिशिल बनेको भ्रष्टाचार रोक्न सुशासनको गति बढाउन खोजेका छौं । दोश्रो नियम: जति आकारको बस्तु हुन्छ, त्यति नै ठूलो शक्ति लगाउनुपर्छ । संघीयता खर्चिलो छ, ठूलो छ । त्यसका लागि स्राेत बढाउनु पर्छ । त्यसैले राजश्व बढाएका हौं । अर्थशास्त्र भनेको रकेट साइन्स होइन । यो कमनसेन्स प्रयोग गरेका हौं, त्यसकै आधारमा करका दर बढाएका हौं । तेश्रो नियमः प्रत्येक क्रियाका विपरिद र बराबर प्रतिक्रिया हुन्छ भन्ने पनि सुनेको थिएँ । सायद बजेट बढि क्रियाशिल भएर प्रतिक्रिया धेरै आएको हो कि भन्ने मलाई लागेको छ । अब म चाँही न्युटनको तेश्रो नियम अगाडी बढाउन चाहान्न, तिखो प्रक्रिया दिन चाहान्न । यसलाई यहि रोकौं । आरोप प्रत्यारोपमा अन्त्य गरौं । हामी लामो दौडमा छौं । एक सय वा पाँच सय मिटर दौड्दैमा को अगाडी ? को पछाडी भन्ने निष्कर्ष ननिकालौं । घोषणा पत्रका वाचा पुरा भएनन् भनेर अहिले नै आलोचना नगरौं । त्यसो गरियो भने पाँच सय मिटर दौड्दैमा निष्कर्ष निकाल्नु जस्तै हुन्छ । घोषणा पत्रका सबै कुरा पुरा हुन्छन् । सामाजिक सुरक्षाका वाचा पुरा हुन्छ । त्यसका लागि पाँच वर्ष कुरौं । समाजवादका कुरा आएनन् भन्ने आरोप पनि छ । हामीले लोकतान्त्रिक पद्धतिको कुरा संबिधानमा लेखिएको छ । हामीले निजी क्षेत्रलाई पाखा लगाउने, सहकारीलाई पाखा लगाउने काम गर्दैनौं । सरकारले कसैसँग प्रतिष्पर्धा गर्दैन, सहकार्य मात्रै गर्छ । बजेट असिमित स्राेतको भण्डार होइन, यसको गणित हुन्छ, अंक गणितको हिसाब गरिएको छ । अंक बिनाको बजेट हावादारी हुन्छ । बजेटका सीमाहरु हुन्छन् । हामी त्यसमा बाँधिनु पर्छ । बजेट कसलाई कति ? तल्लो तहमा बजेट पनि पठाउनु पर्ने, संघको बजेट पनि ठूलो चाहिने, कर बढाउन पनि नपाउने, विदेशी ऋण पनि लिन नपाउने ? आन्तरिक ऋण नलेऊ तर बजेट चाँही ठूलो बनाऊ भन्ने कुरा ठिक भएन् । आलोचना पनि सम्भव क्षेत्रमा मात्रै गरौं भन्ने मेरो बिनम्र अनुरोध हो । स्थानीय तह र प्रदेश सरकारको क्षमता अभिवृद्धि नभई ठूलो स्राेत साधन दियो भने बजेट खर्च हुन्न । अहिले पनि २ खर्बको स्राेत प्रदेश र स्थानीय तहको खर्च नभएर बसेको छ । प्रगतिशल कर प्रणालीमा गर्व छ हामीले प्रगतिशिल कर प्रणाली अवलम्बन गरेका छौं, यसमा हामीलाई गर्व छ । हिजो १५ प्रतिशत कर तिरिरहेका न्युन आय भएकाहरुलाई अहिले १० प्रतिशत मात्रै कर लगाएका छौं । उहाँहरु खुसी हुनुहुन्छ । कर्मचारी छन् भने तलब बढे जस्तै भएको छ । कसैले बार्षिक २० लाख भन्दा बढि आम्दानी गरेको छ भने उसले अलि बढि कर तिर्नुपर्छ । त्यसो गर्दा पनि प्रभावकारी करको दर ३५ प्रतिशत मात्रै हो । धेरै पहिलोदेखि यहि दर थियो, अहिले हामीले ३६ प्रतिशत मात्रै बनाएका हौं । विकसित मुलुकमा आयकरको दर ५० प्रतिशत भन्दा धेरै छ । त्यहाँ पनि निजी क्षेत्र उत्साहित नै छ । युरोपेली अधिकांश मुलुकमा आयकरको दर ४० प्रतिशत भन्दा बढि नै । आम्दानी गर्नेले धेरै कर नतिर्ने, ऋण लिएर मात्रै लिएर विकास गर्ने हो भने देश ऋणको पासोमा पर्छ । संस्थागत आयकरको दर हामीले चलाएका छैनौं । त्यसले लगानी निरुत्साहित हुन्छ भनेर संस्थागत आयकरको दर वृद्धि नगरेका हौं । हामीले निजी क्षेत्रलाई प्रोत्साहन नै गरेका हौं । आयकर १५ प्रतिशत र २५ प्रतशित छ, उत्पादनशिल क्षेत्रलाई २० प्रतिशतको दर यथावत छ । कम्युनिष्ट सरकार भए लगानी भित्रिदैन् ? लगानी बोर्डको ऐन संसोधन गर्ने कुरा गरेका छौं । स्वदेशी उद्योगलाई संरक्षण गर्ने कुरा गरेका छौं । निजी क्षेत्र र एनआरएन हतोत्साहित हुनुपर्ने कारण छैन। कम्युनिष्ट सरकार भएका देशमा लगानी भित्रिदैनन् भन्ने हो भने चीन, भियतनाम र लाओस हेरे पुग्छ । लगानी भित्र्याउन सुशासन चाहिएको हो जुन हामी उपलब्ध गराउँछौं । विकास चाहिने तर आर्थिक वृद्धिदर चाँही नचाहिने हो ? हामीलाई छिटो विकास गर्नुछ, अल्पविकसितबाट विकासशिल हुनुछ, गरिबीबाट माथि उठ्नु छ तर आर्थिक वृद्धिदर चाँही गर्नै हुन्न भन्ने कुरा गरेर हुन्छ ? आर्थिक वृद्धिदर गर्नु पर्छ र हामी गर्छाै पनि । कृषिमा गएको बजेट कम भयो भनियो, तर तल पठाइएको पैसालाई किन हेरिएन ? उत्पादन दोब्बर गर्ने कार्यक्रम छन, तर संघको बजेट मात्रै हेरेर हुन्न । वन, सिँचाईका कार्यक्रम तल गएका छन् । ८ प्रतिशतको आर्थिक वृद्धिदरका लागि कृषिमा ५ प्रतिशत वृद्धि नभए पनि १२ प्रतिशत उद्योग र ८.५ प्रतिशत सेवा क्षेत्रको वृद्धिले ८ प्रतिशतको लक्ष्य पुरा हुन्छ । ठूला जलविद्युत आयोजना र केहि उद्योगहरु अर्काे वर्ष आउँदैछन्, खानेपानी आयोजना आउँदैछन् । त्यसको लाभ पनि प्राप्त हुन्छ । यी कुराले आर्थिक वृद्धिदर ८ प्रतिशत पुग्छ । ५ लाख रोजगारी सहजै एक प्रतिशतको आर्थिक वृद्धिदर हुँदा श्रम क्षेत्रमा आधा प्रतिशत श्रमिकको रोजगारी बढ्छ । ८ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुँदा ४ लाख रोजगारी बढ्छ । प्रधानमन्त्री रोजगारी कार्यक्रमलाई पनि जोड्दा पाँच लाख रोजगारी सृजना गर्छ भनेका हौं । म पनि बराबर हैसियतको सांसद हुँ वडादेखि संसद र उपभोक्ता समितिदेखि विद्यालय व्यवस्थापन समितिसम्म खर्चिलो भैरहेको छ । यसले लोकतन्त्रलाई खतरा उत्पन्न गर्छ । खर्चिलो र भड्किलो बन्दै गएको निर्वाचन प्रणालीबारे संसदले ठोस छलफल गरोस् । संबिधानले जुन जुन निर्वाचन प्रणालीबाट सांसदहरु निर्वाचित आउने व्यवस्था गरेको छ, उहाँहरुको हैसियत समान हो । (अर्थमन्त्री डा. खतिवडाले प्रतिनिधी सभामा बजेटमाथि छलफलमा उठेका प्रश्नहरुको जवाफ)

सनराइज बैंकको शाखा दार्चुलाकोे मार्मामा

काठमाडौं । सनराइज बैंक लिमिटेडले दार्चुलाकोे मार्मा ८२औं शाखा बिस्तार गरेको छ । उक्त शाखाको उद्घाटन दार्चुला जिल्ला विकास समन्वय समितिका सदस्य पार्वती सिंह र बैंकका कर्पोरेट बैकिङ्ग बिभागका प्रमुख हरिप्रसाद आचार्यले संयुक्त रुपमा गरेका हुन् । बैंकले आफ्ना ग्राहकर्वगहरुलाई विभिन्न सुविधा दिने क्रममा हालै बचतखाताका ग्राहकहरुको लागि “स्वास्थ्य बीमा सुविधा” प्रारम्भ गरेको छ । उक्त बीमा अन्तर्गत सरकारी वा तोकिएको निजी अस्पतालहरुमा भर्ना भई उपचार गर्दा लागेको खर्च, बचत खातामा कायम रहेको वार्षिक औसत मौज्दातको २५ प्रतिशत वा १ लाख रूपैयाँसम्मको खर्च सोधभर्ना प्रदान गर्ने भएको छ । साथै, बैंकले देशभरका ७० भन्दा वढी तोकिएका निजी अस्पतालहरुमा स्वास्थ परिक्षण गराउँदा ५ देखि २० प्रतिशत सम्म छुट उपलब्ध हुने व्यबस्था मिलाएको छ । त्यस्तै, बैंकले बचत खातामा रहेको मौज्दातको ४ गुणा वा ५ लाख रुपैयाँसम्मको दुर्घटना बीमा पनि प्रदान गर्दै आएको छ ।  

सगरमाथाको चुचुरोमा नेपाल बङ्गलादेश बैंकको झण्डा, शेर्पाले पाए कदरपत्र

काठमाडौं । नेपाल बङ्गलादेश बैंकको कपन शाखाका ग्राहक जाङ्गबु शेर्पाले बैंकको लोगो अंकित झण्डा विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा फहराएका थिए । १२ औँ पटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका शेर्पाले गत जेठ २ गते बिहान ११:२८ मा कम्पनीको झण्डा फहराएका हुन् । शेर्पालाई बैंकको लोगो विश्वको सर्वोच्च शिखरमा फहराई बैंकको ख्यातीलाई बढाउन सहयोग गरेकोमा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले कदरपत्र हस्तान्तरण गरेका छन् ।

एलजीद्धारा मास्टर्स अफ फुटबल कार्यक्रम आयोजना

काठमाडौं । एलजीले मिनभवनमा रहेको एलजी सप्पि मेगा स्टोरमा मास्टर्स अफ फुटबल कार्यक्रमको आयोजना गरेको छ । यस कार्यक्रममा एलजीले नेपालका चर्चित खेलाडी र अहिले नेपाल नेशनल टिमका कोच राजु काजी शाक्यका साथै आफ्ना ग्राहकहरुलाई पनि आमन्त्रित गरेको थियो । यहि अवसरमा त्यहाँ आमन्त्रित ग्राहकहरुले आफ्ना प्रिय खेलाडीसँग अर्न्तक्रिया पनि गरेको थिए र सँगै बसेर वर्ल्ड कपको क्लासिक म्याचेज पनि हेरेका थिए । वर्ल्ड कपसँग नेपालका लोकप्रिय खेलाडिलाई सम्झिएर उनीहरुलाई सम्मान गर्ने योजना रहेको छ । शो जस्तै कार्यक्रम एलजीले नेपाल अधिराज्य भरि गर्ने योजना रहेको छ ।

धादिङ र उदयपुरमा मेगा बैंकको नयाँ शाखा, थप ६ वटा शाखा खोल्ने तयारी

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले धादिङ र उदयपुरमा नयाँ शाखा विस्तार गरेको छ । गाउँ–गाउँमा शाखा सञ्जाल विस्तार गर्ने क्रममा बैंकले धादिङको सल्यानटार र उदयपुरको मुर्कुचेमा थप दुई शाखा विस्तार गरेको हो । धादिङमा मेगा बैंकको चार वटा शाखा पुगेको छ । यसअघि नै धादिङबेसी, मलेखु बजार र ज्वालामुखी गाउँपालिकामा बैंकको शाखा विस्तार भइसकेको छ । उदयपुरमा भने पहिलोपटक शाखा विस्तार गरिएको कम्पनीले जनाएको छ । योसँगै बैंकको शाखा संख्या ९५ पुगेको छ । ८ वटा एक्सटेन्सन काउन्टर रहेको मेगा बैंकका ७४ वटा एटीएम सञ्जाल, ५८ वटा शाखारहित केन्द्रहरु र १८ सयभन्दा बढी मेगा रेमिट एजेण्ट छन् । बैंकिङ सुविधा नपुगेका ग्रामीण भेगमा अत्याधुनिक बैंकिङ सुविधा उपलब्ध गराउने उद्देश्यले बैंकले शाखा विस्तारलाई तीव्रता दिइरहेको छ । यो आर्थिक बर्षमा थप आधा दर्जन शाखा कार्यालयहरु खुल्ने बैंकले जनाएको छ ।

फिफा वर्ल्डकपको अवसरमा टिसिएलको टिभी खरिदमा २५ प्रतिशत सम्मको छुट

काठमाडौं । विश्वकै तेस्रो ठूलो टिभी ब्राण्ड टिसिएलले आफ्ना ग्राहकका लागि ‘मेरो टिम मेरो विश्वास’ नामक नयाँ योजना ल्याएको छ । उक्त योजना अन्तर्गत कम्पनीले टिसिएलको टिभीहरुको खरिदमा २५ प्रतिशत सम्मको छुट दिने भएको छ । कम्पनीले हरेक चार-चार वर्षमा हुने फिफा वर्ल्डकपको अवसरमा उक्त योजना सार्वजनिक गरेको हो । २० इन्च देखि ६५ इन्च सम्मको स्मार्ट/ननस्मार्ट मोडलहरुमा उपलब्ध टिसिएलले आफ्नो टेलिभिजहरुमा ३ वर्षको वारेण्टी अफर पनि प्रदान गरेको छ । चौधरी ग्रुप अन्तर्गत सिजी इलेक्ट्रोनिक्सले नेपालमा बिक्री वितरण गर्दै आएको छ ।  

अब कार्डबाटै अनलाइन सामान खरिद गर्न सकिने, सटिजन्स बैंकले ल्यायो नयाँ प्रविधि

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ‘भिषा थ्रिडी सेक्योर’ प्रविधि सञ्चालनमा ल्याएको छ । उक्त प्रविधि मार्फत ग्राहकहरुले इन्टरनेटमा कार्डबाट वस्तु तथा सेवा खरिद गर्न सक्नेछन् । भिषा कार्ड इन्टरनेसनलको “भेरिफाइड बाई भिषा”मा आधारित यो प्रविधि अनलाइन कार्ड कारोबारको लागि अतिरिक्ति सुरक्षा तहको रुपमा रहने बैंकले जनाएको छ । यो सेवा लिने ग्राहकहरुले प्रत्येक कारोबार गर्दा इमेल तथा मोबाइलमा छुट्टै पिन नम्बर प्राप्त गर्न सक्नेछन्, जसले गर्दा अनलाइन कार्ड कारोबार अझै सुरक्षित हुनेछ । बैंकमा डलर खाता भएका ग्राहकहरुले विश्वका कुनै पनि स्थानमा र नेपाली रुपैयाँ खाता भएका ग्राहकहरूले नेपाल र भारतमा डेविट एवं क्रडिट कार्ड मार्फत न्यूनतम वार्षिक शुल्कमा अनलाइनमा वस्तु तथा सेवा खरिद गर्न सक्नेछन् । यस प्रबिधिबाट गरिएको अनलाइन कार्ड कारोबारमा जालझेली एवं नक्कली कारोबारको जोखिम कम हुने हुँदा अझै सुरक्षित, भरपर्दो र विश्वसनीय हुने बैंककाे अपेक्षा रहेकाे छ ।

नेपाल बैंकको सेयर मूल्यमा निरन्तर गिरावट, २८० मा एफपीओ बिक्री नहुने संभावना

काठमाडौं । थप निष्कासन (एफपीओ) को मूल्य तय भएपछि नेपाल बैंकको सेयर मूल्य निरन्तर गिरावट आएको छ ।बैंकको सेयर मूल्य घटेर प्रतिकित्ता ३१७ रुपैयाँमा झरेको छ । सेयर मूल्य घट्दै गएपछि बैंकको एफपीओ पनि बिक्री नहुने संभावना बढेको हो । बैंकको एफपीओको मूल्य प्रतिकित्ता २८० रुपैयाँ निर्धारण गरिएको छ । कारोबार रकम भन्दा कम मूल्यमा एफपीओ पाउने भएपछि लगानीकर्ताले धमाधम बैंकको सेयर बेच्न थालेका कारण मूल्यमा निरन्तर गिरावट आएको हो । बढी मूल्यको सेयर बिक्री गरेर सस्तोमा एफपीओ किन्नका लागि अहिले कारोबार बढी हुने गरेको छ । अहिले किन्ने भन्दा बेच्ने बढी भएपछि यसको असर बैंकको सेयर मूल्यमा परेको हो । आइतबार बैंकको सेयर प्रतिकित्ता ३१७ मा २ करोड ७४ लाख रुपैयाँको कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा कारोबार भएको मध्ये दोस्रो बढी रकम हो । गत चैत १२ गते घटेर २९४ रुपैयाँमा झरेको नेपाल बैंकको सेयर त्यसपछि निरन्तर बढेर प्रतिकित्ता ३५४ रुपैयाँ सम्म पुगेको थियो । एफपीओको मूल्य सस्तो भएकाले अझ घट्ने लगानीकर्ताको भनाई छ । बैंकको सेयर घट्नुमा एफपीओको मूल्य मुल कारण भएको एक ब्रोकरले बताए । “२८० रुपैयाँमा एफपीओ पाउने भएपछि कसले महंगोमा सेयर किन्छ ?” ती ब्रोकरले भने । पछिल्लो समयमा बैंकको सेयर कारोबार बढी हुदै आएको छ । बैंकले पुँजीगत आधार अझ मजवुत बनाउन बैंकले प्रिमियम मूल्यमा बैंकले १ करोड करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपीओ निष्कासन गर्न लागेको हो । एफपीओ निष्कासनपछि चुक्तापुँजी बढेर ९ अर्ब ८१ करोड ११ लाख रुपैयाँ पुग्ने छ । एफपीओबाट ४ अर्ब ९५ करोड १७ लाख रुपैयाँ प्राप्त हुनेछ । १ अर्ब ७६ करोड ८४ लाख रुपैयाँ चुक्तापुँजीमा र बाँकी संचित कोषमा जम्मा हुनेछ । संचित कोषबाट लगानीकर्ताले वर्षेनी लाभांश पाउने छन् । लगानीकर्ताले ३ अर्ब १८ करोड रुपैयाँ लाभांश पाउने छन् । बैंकको चुक्तापुँजी ८ अर्ब ४ करोड रुपैयाँ छ । बैंकमा सरकारको ६२.२१ प्रतिशत र सर्वसाधारणको ३७.७९ प्रतिशत स्वामित्व छ । एफपीओ निष्कासनपछि बैंकमा सरकारी स्वामित्व ६२.२१ बाट घटेर ५१ प्रतिशत कायम हुने छ । यस्तै सर्वसाधारणको ४९ प्रतिशत हिस्सा रहने छ । यसमध्ये एफपीओबाट प्रवेश गर्नेको स्वामित्व १७ प्रतिशत हुनेछ । बैंकले गत चैतसम्म २ अर्ब ५६ करोड ७७ लाख रुपैयाँ खुदनाफा गरेको छ ।