लगानीकर्ता नेप्सेमा नारावाजी गर्दै, सेयर कारोबार सुरु
काठमाडौं । सेयर लगानीकर्ता लाभकर सम्बन्धी नयाँ व्यवस्थाका विरुद्धमा आन्दोलित भएपनि नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा सेयर कारोबार सुरु भएको छ । लगानीकर्ता नेप्सेमा नारावाजी गरिरहेका छन् । उनीहरुले फिर्ता नभएसम्म सेयर कारोबारमा सहभागी नहुने घोषणा गरेका छन् । उनीहरुले सेयर कारोबारमा सहभागी नहुने भनेपछि मेगा बैंकको सेयर प्रतिकित्ता १७७ रुपैयाँमा कारोबार भएको छ । सेयर बजार ०.७२ अंकले गिरावट आएको छ ।
सुन आयातमा अर्थमन्त्रीले पासो थापे, १०० ग्राम सुनमा १५ हजार रुपैयाँ कर वृद्धि, बढी ल्याए जफत
काठमाडौं । विदेशमा काम गरिरहेका ४० लाख भन्दा बढी नेपालीले पक्कै पनि अर्थमन्त्री युवराज खतिवडाको बजेट भाषण सुनेका छन्, पढेका छन् । मन्त्री खतिवडाले बजेट मन्तव्यमा भनेका छन्–‘विदेशबाट फर्किएका नेपाली यात्रुले आफ्नो साथमा ल्याएको एक सय ग्रामसम्म काँचो सुन महसुल तिरी पैठारी गर्न सक्ने व्यवस्था मिलाएको छु ।’ विदेशमा रहेका नेपालीहरुलाई लाग्न सक्छ–‘सरकारले हामीलाई राहत दियो ।’ तर ख्याल गर्नुहोस् । अर्थमन्त्रीलाई विश्वास गर्नुभयो भने तपाई राजश्व करको फन्दामा पर्नुहुनेछ । र, १०० ग्राम सुन ल्याउदा १५ हजार रुपैयाँ बढी कर तिर्नुपर्छ । त्यतिमात्र होइन, १०० ग्रामभन्दा बढी सुन ल्याउनु भयो भने सरकारले सबै जफत गर्नेछ । बजेटमा मिठा कुरा गरेको भए पनि आर्थिक ऐन २०७५ मा विदेशबाट सुन ल्याउनेको लागि पासो थापिएको छ । पहिलो ५० ग्रामसम्म सुन ल्याउदा प्रति दश ग्राम ५ हजार २ सय लाग्छ । ५० ग्रामभन्दा बढी थप ५० ग्रामसम्म प्रति दश ग्राम ६ हजार २ सय रुपैयाँ लाग्छ । सरकारले भनेअनुसार १०० ग्राम सुन ल्याउँदा ५७ हजार रुपैयाँ भन्सार महसुश लाग्छ । सय ग्रामभन्दा बढी परिमाणमा सुन पैठारी गरेमा बढी भएको परिमाण जति जफत गरिने व्यवस्था आर्थिक ऐनमा गरिएको छ । सुन व्यवसायी तेजरत्न शाक्यको अनुसार बैंकमार्फत सुन आयात गर्दा १० ग्रामको ४ हजार २ सय रुपैयाँ भन्सार महसुल लाग्छ । सय ग्रामको ४२ हजार रुपैयाँ लाग्छ । एक किलोमा ४ लाख २० हजार रुपैयाँ लाग्छ । ‘१०० ग्राम सुन बैंकबाट आयात गर्यो भने ४२ हजार रुपैयाँ भन्सार लाग्छ तर व्यक्तिले विदेशबाट १०० ग्राम सुन ल्याउँदा ५७ हजार भन्सार लाग्ने भयो’ शाक्यले भने–‘१५ हजार रुपैयाँ बढी कर लाग्ने भएपछि कसैले पनि सुन लाउँदैन । सरकारले अबैज्ञानिक कर नीति लागू गर्यो ।’ ‘अर्थमन्त्रीको भाषण सुुन्दा फुरुङ भएका थिएँ । बुझ्दै जाँदा बेकारको कुरा रहेछ’ शाक्यले अनुभव सुनाए । वर्तमान अर्थमन्त्री युवराज खतिवडा गभर्नर हँुदा पनि सुन आयातमा कडाई गरेका थिए । नेपाल राष्ट्र बैंकसँग संचित विदेशी मुद्रा घटेर मात्र ६ महिना विदेशी बस्तु तथा सेवा आयात धान्ने अवस्था आएपछि खतिवडाले झिटिगुण्टा व्यवस्था अन्तरगत सुन आयात गर्न पाउने व्यवस्था खारेज गरेका थिए । २०७३ साल भदौ १ गतेदेखि काँचो सुनको सट्टा ५० ग्रामसम्म सुनका गहना ल्यान पाउने व्यवस्था थियो । अहिले राष्ट्र बैंकसँग विदेशी मुद्रा संचित करिव १२ महिना बस्तु तथा सेवा आयात धान्न सक्ने भएपछि विदेशबाट फर्केका नेपालीले सुन ल्याउन पाउने नीति लिएको हो । तर नयाँ नीति अनुसार सुन ल्याउनेले बढी भन्सार तिर्नु पर्ने भएको छ ।
लाभकर सम्बन्धी नयाँ व्यवस्था फिर्ता नभएसम्म सेयर कारोबारमा सहभागी नहुने लगानीकर्ताको घोषणा
काठमाडौं । सेयर बजारका लगानीकर्ताहरुले लाभकर सम्बन्धी नयाँ व्यवस्था फिर्ता नभएसम्म सेयर कारोबारमा सहभागी नहुने घोषणा गरेका छन् । उनीहरुले संयुक्तरुपमा विज्ञप्ति प्रकाशित गर्दै सेयर कारोबारमा सहभागी नहुन सम्पूर्ण लगानीकर्ताहरुलार्ई आग्रह गरेका हुन् । नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष अम्बिका पौडेल, सेयर लगानीकर्ता संघका उपाध्यक्ष ताराप्रसाद फुल्लेख र नेपाल पूँजी बजार लगानीकर्ता संघकी उपाध्यक्ष राधा पोखरेलले संयुक्त विज्ञप्ति निकालेर लाभकर सम्बन्धी व्यवस्था फिर्ता नभएसम्म सेयर कारोबारमा सहभागी नहुने घोषणा गरेका हुन् । उनीहरुले आजै नेप्सेका महाप्रबन्धक चन्द्रसिंह साउँदलाई भेट गरेका छन् । नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीलाई भेट्दै छन् । उनीहरुले आजै अर्थमन्त्री डा. युवराज खतिवडालाई समेत भेट्दै छन् ।
चीनले फेरी बनायो प्रतिघण्टा ३५० किलोमिटर कुद्ने बुलेट ट्रेन, नेपालमा कहिले ?
काठमाडौं । चीनले प्रतिघण्टा ३५० किलोमिटर कुद्ने नयाँ बुलेट ट्रेनको निर्माण सम्पन्न गरेको छ । आगामी जुलार्ई १ तारिखदेखि सञ्चालनमा ल्याउने तयारी गरिएको बुलेट ट्रेनले चीनको राजधानी बेइजिङ र व्यापारिक शहर सांघाईलाई द्रुतगतिमा जोड्नेछ । बुलेट ट्रेनले एक पटक ११ सय यात्रुलाई बोक्ने क्षमता राख्छ भने १६ वटा डब्बाहरु रहेका छन् । यो ट्रेनले अघिल्ला रेलहरुको तुलनामा ध्वनी प्रदुषण समेत न्युन मात्रामा गर्नेछ । यसले आगामी ३० बर्षसम्म निर्वाध रुपमा सेवा प्रवाह गर्न सक्ने चिनियाँ अधिकारीहरुले बताएका छन् । चीनले बेइजिङ र सांघाई जोड्ने बुलेट ट्रेनलाई फुजिङ नामाकरण गरेको छ । यसले दैनिक रुपमा सांघाई र बेइजिङको सेवा प्रवाह गर्नेछ । जुलाई १ तारिख देखि सञ्चालनमा ल्याउने तयारी भैरहेको बुलेट ट्रेनले बेइजिङ र सांघाईको यात्रा ४ घण्टा ४५ मिनेटमा छोट्याउनेछ । ९ वटा स्टेशन पार गरेर एक अर्काे शहरसँग जोडिँदा ५३३ देखि १७४८ युआनसम्म भाडा लाग्नेछ । यो ट्रेनको सफल परिक्षण समेत भैसकको छ । यसलाई इन्धन बचत गर्ने, लामो समय सेवा दिन सक्ने, न्युन प्रदुषण गर्ने र सुरक्षित प्रबिधीका रुपमा लिईएको छ । चीनसँग २२ हजार किलोमिटर लामो उच्चगतिको रेलवे नेटवर्क रहेको छ, जुन विश्वको ६० प्रतिशत हुन आउँछ । नेपालमा पनि चीनले केरुङ–रसुवागढी–काठमाडौं हुँदै पोखरा लुम्बिनीसम्म विस्तार गर्ने योजना बनाएको छ । प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा केरुङ–काठमाडौं रेलमार्ग निर्माण सम्बन्धी सम्झौता गर्ने तयारी भैरहेको छ । भर्खरै मात्र चिनियाँ प्राबिधिकहरुले सो रेलमार्ग सम्बन्धी स्थलगत प्राबिधिक अध्ययन गरेको थियो । आगामी अगष्ट महिनामा प्रारम्भिक अध्ययन प्रतिवेदन तयार हुनेछ ।
सेयर लगानीकर्ताको सामाजिक सञ्जालमा आक्रोश : नयाँ लाभकरले आर्थिक स्वतन्त्रता खोस्यो
काठमाडौं । सरकारले बोनस सेयर र हकप्रद सेयरमा कर बढाएपछि लगानीकर्ताले विभिन्न सामाजिक सञ्जालमा आक्रोश व्यक्त गरेका छन् । अर्थमन्त्रीले आइतबार बजेटमाथी उठेका प्रश्नहरुको संसदमा जवाफ दिँदा कम्युनिष्ट सरकार भएका मुलुकमा लगानी भित्रिँदैन भन्नेहरुलाई चीन, लाओस र भियतनामको उदाहरण दिएका थिए । तर उनै खतिवडाले ल्याएको बजेट वक्तव्यको हवाला दिँदै कर कार्यालयले लाभकर सम्बन्धी नयाँ व्यवस्थासहितको पत्र काटेपछि सेयर बजारका लगानीकर्ता निरुत्साहित भएका छन् । आन्तरिक राजश्व विभागले बोनस र हकप्रद सेयरको लागत प्रतिकित्ता १०० रुपैयाँ मान्न र १०० रुपैयाँ भन्दा बढीमा बिक्री गर्दा नाफामा पुँजीगत लाभकर लगाउन निर्देशन दिएपछि सेयर लगानीकर्ता आक्रोशित भएका हुन् । यो निर्णय सच्चाउन लगानीकर्ताले सरकारसंग माग गरेका छन् । सरकारले करमा नयाँ नीति लागू गरेको भन्दै सेयर लगानीकर्ताहरुको संगठनहरुले विरोध जनाएका छन् । निर्देशन जारी भएको दिन आइतबार सेयर बजारमा ३३ अंकले गिरावट आएको थियो । पूर्व बैकर अनलराज भट्टराईले सेयर बजारमा घाटा भएको बेलामा पनि लगानीकर्ताले ठुलो कर बोझ बोक्नु पर्ने भन्दै यसलाई सच्याउन सरकारलाई सुझाएका छन् । उनले फेसवुकमा आफनो प्रतिक्रिया दिदै भनेका छन “नाफा भएको कर तिर्ने हो नभए कसरी तिर्ने ?” यस्तै सेयर विश्लेषक रविन्द्र भट्टराईले सरकारले लगाएको कर प्रति असन्तुष्ठि जनाउदै धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जले बुझाउन नसकेको हो वा सरकारले सल्लाह नलिएको हो भनेर फेसवुकमा लेखेका छन् । यस्तै अधिवक्ता अमृत खरेललले पनि सेयर बजारमा लगाइएको कर आर्थिक स्वतन्त्रता विरुद्धमा भएको टिप्पणी गरेका छन् । उनले अर्थमन्त्री, आन्तरिक राजश्व विभागका कर्मचारीलाई तालिम दिन तयार रहेको भन्दै व्यंग समेत गरेका छन् । सेयर लगानीकर्ता अम्बिकाप्रसाद पौडेलले नोक्सानीमा कर तिर्नु कुन सिद्धान्त हो सरकार ? भनेर प्रश्न गरेका छन् । यसैगरी स्टक ब्रोकर नरेन्द्र सिजापतिले पनि दोस्रो बजार कारोबार विपरित भएको दावी गर्दै यसलाई सच्चाउन माग गरेका छन् । यसअघि हकप्रद र बोनस सेयर सूचिकृत गर्दा नेप्सेले समायोजन गरेको मूल्यको आधारमा पुँजीगत कर लाग्ने गरेको थियो । बजेट मार्फत पुँजीगत लाभकरको दरमा ५० प्रतिशत वृद्धि गरेको साता नवित्दै सरकारले बोनस सेयर र हकप्रद सेयरमा करलाई कसिलो बनाएको हो । नेपाल इन्भेष्टर फोरमले प्रेस विज्ञप्ति जारी गर्दै आन्तरिक राजस्व विभागले जारी गरेको पत्रले आम लगानीकर्ताको भावनामा गम्भीर असर पार्नुको साथै करको सर्बमान्य सिद्धान्तलाई नै अपमान गरेको जगाएको छ ।
पोखरा फाइनान्सको साधारणसभा असार ५ मा, ८ प्रतिशत बोनस सेयर पारित गर्ने
काठमाडौं । पोखरा फाइनान्स लिमिटेडको २१ औं वार्षिक साधारणसभा असार ५ गते पोखरमा हुने भएको छ । साधारणसभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई ८.२६ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने छ । यस्तै सञ्चालक समितिले प्रस्ताव गरेको प्रतिसेयर ०.४३ प्रतिशत कर प्रयोजनका लागि लाभांश वितरणको प्रस्ताव पनि पारित गर्ने फाइनान्सले जनाएको छ । सो अवसरमा वित्तीय संस्थाको चुक्तापुँजी परिवर्तन र सञ्चालककको भक्ता वृद्धि गर्ने प्रस्ताव पारित गर्ने छ ।
प्रभु इन्स्योरेन्सको हकप्रद सेयर असार ८ देखि खुला हुने
काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडले असार ८ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले चुक्तापुँजी बढाउन साविकका सेयरधनीलाई ३१ करोड ६६ लाख ६७ हजार रुपैयाँ बराबरको ३१ लाख ६६ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रद निष्कासन बन्द साउन १० गते हुने निष्कासन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेडले जनाएको छ । हकप्रद निष्कासनपछि कम्पनीको चुक्तापुँजी बढेर १ अर्ब रुपैयाँ पुग्ने छ । नियामक बीमा समितिले आउदो असारसम्म चुक्तापुँजी बढाए १ अर्ब रुपैयाँ पुर्याउन निर्देशन दिएपछि प्रभुले हकप्रद निष्कासन गर्न लागेको हो ।
कालीमाटीमा कृषि मन्त्रीको छड्केः ११ हजारको सटरलाई २ लाखमा बेच्दै विचौलिया
काठमाडौं । कृषि मन्त्री चक्रपाणी खनालले कालीमाटी तरकारी बजारमा छड्के जाँच गरेका छन् । सोमबार बिहानै मन्त्रालयका कर्मचारी र सञ्चार कर्मीहरुलाई लिएर कालीमाटी तरकारी बजार निरिक्षणमा पुगेका मन्त्री खनालले ११ हजारका सटरलाई बिचौलियाले २ लाखमा बेचिरहेको तथ्य फेला पारेका थिए । उनले विचौलियाको चंगुलमा फसेको तरकारी बजारलाई तत्कालै उद्धार गर्ने घोषणा पनि गरे । ‘११ हजारको क्यान्टिन, सटर वा पसललाई विचौलियाले २ लाखसम्म असुलेर बेचेको देखियो, अब यीनका दिन सकिए’, मन्त्री खनालले भने । उनले एक पटक सटरको टेण्डर लगाएपछि १५ बर्षसम्म नचलाउने प्रक्रियाको पनि अन्त्य हुने बताए । उनले सटर टेण्डर लगाउने सम्बन्धी कार्यबिधी संसोधन गरेर पूर्ण प्रतिष्पर्धाको वातावरण बनाउने स्पष्ट पारे । साथै सटरहरुको छनौट गोला प्रथाबाट गर्ने पनि बताए । उनले तरकारी बिक्रेता र किसानहरुको सिधा सम्पर्क विस्तार गरेर विचौलियाहरुको अन्त्य गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका थिए । उनले उपत्यकामा तरकारी भित्रिने १० वटै नाकामा परिक्षण उपकरण राखिने र विचौलियाहरुलाई त्यहिँबाट निषेध गर्ने स्पष्ट पारेका थिए । त्यस्तै मन्त्री खनालले कालिमाटीमा रहेकाे माछा बजारकाे पनि अनुगमन गरेका थिए । अनुगमनकाे क्रममा दुर्गन्धीत अवस्थामा माछाहरु बिक्री भइरहेकाे फेला परेकाे थियाे । त्यास्ता माछाहरुलार्इ तुरुन्त हटाउन कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिलार्इ निर्देशन दिएकाे काे छ । ‘दुर्गन्धीत माछा पसलहरु तुरुन्त हटाउनुहोस्,’ उनले भने ‘त्यसो गर्दा बाधा विरोधमा आए जो कसैलाई छाडिनेछैन ।’ एक महिनाभित्र कार्यबिधी बनाएर बजारलाई व्यवस्थित गर्न निर्देशन दिएका थिए । कालीमाटी फलफुल तथा तरकारी बजारका प्रमुख तेजेन्द्र प्रसाद पौडेलले मन्त्रीको निर्देशन अनुसार काम गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।