भूकम्प प्रभावित चार जिल्लाका ६७५ स्थानमा निःशुल्क इन्टरनेट सुविधा, हेराैँ कहाँ कहाँ ?
काठमाडौं । नेपाल टेलिकमले भूकम्पबाट अति प्रभावित चार जिल्लाका ६ सय ७५ स्थानमा निःशुल्क इन्टरनेट सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीले भूकम्पबाट अति प्रभावित सिन्धुपाल्चोक जिल्लाका १८७, काभ्रेपलाञ्चोक जिल्लाका २८९, नुवाकोट जिल्लाका १५९ र रसुवा जिल्लाका ४० स्थानमा सो सेवा सञ्चालनमा ल्याइसकेको छ । भूकम्पबाट अति प्रभावित चार जिल्लाका जम्मा ७४७ सेवा केन्द्रमा यो सेवा उपलब्ध गराउने कम्पनीको योजना अनुसार हाल सम्म ९० प्रतिशत भन्दा बढी कार्य सम्पन्न भइसकेको छ । आगामी असार मसान्त सम्ममा बाँकी सम्पूर्ण स्थानमा सेवा उपलब्ध गराउने लक्ष्य अनुरुप दु्रत गतिमा काम भइरहेको छ । समग्रमा हालसम्म २८४ नगरपालिका, गाउँपालिका तथा वडा कार्यालय, १४७ हेल्थपोष्ट तथा पब्लिक हेल्थपोष्ट र २४४ विद्यालयमा विभिन्न प्रविधिमार्फत इन्टरनेट चलाउन सकिने व्यवस्था गरिएको छ । जिल्लागत रुपमा हेर्दा सिन्धुपाल्चोकका ८४ नगरपालिका, गाउँपालिका तथा वडा कार्यालय, ४१ हेल्थपोष्ट तथा पब्लिक हेल्थपोष्ट र ६२ विद्यालय, काभ्रेपलाञ्चोकका १२६ नगरपालिका, गाउँपालिका तथा वडा कार्यालय, ५८ हेल्थपोष्ट तथा पब्लिक हेल्थपोष्ट र १०५ विद्यालय, नुवाकोटका ५७ नगरपालिका, गाउँपालिका तथा वडा कार्यालय, ३६ हेल्थपोष्ट तथा पब्लिक हेल्थपोष्ट र ६६ विद्यालय तथा रसुवाका १७ नगरपालिका, गाउँपालिका तथा वडा कार्यालय, १२ हेल्थपोष्ट तथा पब्लिक हेल्थपोष्ट र ११ विद्यालयमा सो सेवा सञ्चालन गरिएको छ । सेवाग्राहीले ती स्थानमा कम्तीमा ५१२ केबीपीएस गतिको अनलिमिटेड इन्टरनेट सेवा २ वर्षसम्म निःशुल्क उपभोग गर्न पाउने व्यवस्था गरिएको छ । कम्पनीले इन्टरनेट सेवा उपलब्ध गराउनका लागि स्थान अनुसार वाइम्याक्स बेस स्टेशन, थ्रीजी डिभाइस र ईभीडीओ उपकरणको व्यवस्था गरेको छ । यसका लागि विभिन्न स्थानमा सर्भिस प्वाइन्ट स्थापना गरिएको छ । सर्भिस प्वाइन्टमा आवश्यकता अनुसार वाइम्याक्स, जीएसएम, सीडीएमए र एडीएसएल मार्फत इन्टरनेट सुविधा उपलब्ध गराइएको छ । भूकम्प प्रभावित क्षेत्रमा निःशुल्क इन्टरनेट सुविधा उपलब्ध गराउनका लागि नेपाल दूरसञ्चार प्राधिकरणसँग गत २०७४ बैशाख २१ मा भएको सम्झौताअनुसार नेपाल टेलिकमले यी क्षेत्रमा आवश्यक सेवा उपलब्ध गराउन थालेको हो । यस आयोजना अन्तर्गत टेलिकमले भूकम्पबाट अति प्रभावित काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट र रसुवा जिल्लाका विभिन्न स्थानमा दुर्त गतिको इन्टरनेट सेवा उपलब्ध गराउनेछ । साथै, यो सेवाको सञ्चालन तथा मर्मत कार्यमा पनि कम्पनीले भूमिका निर्वाह गर्नेछ ।
७३ मेगावाट बिजुली उत्पादन बन्द, मर्मत जारी रहेको विद्युत प्राधिकरणको भनाई
काठमाडौं । प्राविधिक समस्याले गर्दा ७३ मेगावाट बिजुली उत्पादन बन्द भएको छ । चिलिमे, मैलुङखोला, कुलेखानीको १ र २ आयोजनाको दुई विद्युतगृहबाट बिजुली उत्पादन बन्द भएको हो । चिलिमे–त्रिशुली ६६ केभी प्रसारणलाइन आइतबार अपरान्ह १ बजेर ५० मिनेट जादा तार चुँडिएपछि चिलिमेको २२ र मैलुङखोलाको ५ गरी २७ मेगावाट बिजुजी बिद्युत प्रवाह बन्द भएको छ । आइतबारदेखि कुलेखानी दोश्रो जलासययुक्त बिद्युतगृहको दोश्रो युनिटको जेनेरेटरको आर फेजमा इन्सुलेसन रेजिस्ट्यान्स अत्यन्त कम भै रोटरमा नै समस्या भएको देखिन आएपछि मर्मतको अवस्थामा रहेको नेपाल विद्युत प्राधिकरणका प्रवत्ता प्रवल अधिकारीले बताए । कुलेखानी दोस्रोको १६ मेगावाट र कास्केड बिद्युतगृह भएकाले त्यसका कारण कुलेखानी पहिलोको एउटा युनिट ३० मेगावाट गरी ४६ मेगावाट उत्पादन हुन नसक्ने अवस्थामा पुगेको उनले जानकारी दिए ।काठमाडौंबाट आईतबार प्रस्थान गरेको प्राबिधिक टोलीलाई केही स्थानीयबासिन्दाका अबरोधका कारण मर्मत कार्य गर्न बिलम्ब भएको उनको भनाई छ । यस्तै मोदी–लेखनाथ–पोखरा १३२ केभी प्रसारणलाइन टावर मर्मतका लागि बन्द अवस्थामा छ । टनकपुर–महेन्द्रनगर १३२ केभी प्रसारणलाइन नियमित मर्मत सम्भारका लागि बन्द अवस्थामा रहेको उनले जानकारी दिए । ७३ मेगावाट बिजुली प्रणाली बाहिर भएपछि लो भोल्टेजले गर्दा कुनै ठाउँमा बिद्युत सेवा अवरोध भएको छ ।
भाडामा वृद्धि भएपछि विमान सेवा फेरि बन्द
दाङ । दाङको विमान सेवा फेरि बन्द भएको छ । जनप्रतिनिधिहरु निर्वाचित भएपछि तुलसीपुर उपमहानगरपालिकाले २०७४ पुस १९ गते बाजागाजासहित पहिलोपटक समिट एयरसँग सम्झौता गरी विमान सञ्चालन गरेको थियो । स्थानीय तहमा निर्वाचन अगाडी तुलसीपुर उद्योग वाणिज्य संघले केही समयसम्म निजी विमान कम्पनीसँग समन्वय गरी विमान सेवा सञ्चालन गरेको थियो । पटक पटक सञ्चालन र बन्द हुँदै आएको विमान सेवा बन्द भएपछि यहाँका स्थानीयवासीले फेरि नेपालगञ्जबाटै विमान सेवा लिनुपर्ने बाध्यता भएको स्थानीयवासी पवन बुढाथोकीले बताए । तुलसीपुर उपमहानगरपालिका र समिट एयरबीच गत पुसमा प्रतियात्रु रु सात हजार २०० भाडा लिने सहमति भएको थियो । सोही सहमतिअनुसार १९ पुसमा समिट एयरले पहिलोपटक दाङको टरीगाउँ हवाईमैदानबाट उडान भरेको थियो । इन्धनको मूल्य वृद्धि भएको भन्दै समिट एयरले प्रतियात्रु रु दुई हजार ६८० रुपैयाँ एकतर्फीरुपमा भाडामा वृद्धि गरेपछि तुलसीपुर उपमहानगरपालिकाले समन्वय गर्न छोडेको छ । भाडा वृद्धिसँगै यात्रु पाइन छोडेपछि गएको जेठ १३ र २० गते समिट एयरले उडान भर्न सकेन । समिट एयरले हप्तामा आइतबार र बुधबार दुईपटक उडान भर्ने सहमति गरे पनि पछिल्लो समय आएर आइतबारमात्रै उडान भर्दै आएको थियो । “अघिल्लो आइतबार काठमाडौं जानका लागि नौजना यात्रु थिए”, तुलसीपुर उपमहानगरपालिका सूचना अधिकारी झरेन्द्र खरेलले भने, “उताबाट पुरानो भाडादरमा उडान भर्न नसकिने भन्दै उडान रद्द भएको बताएपछि टरीगाउँ हवाईमैदानमा जहाजको पर्खाइमा बसेकालाई पैसा फिर्ता दिएर पठायौँ ।” हप्तामा एकपटक उडान भर्दै आएको समिट एयरले पुसदेखि जेठसम्म ६ महिनाको अवधिमा तीनपटक उडान रद्द गरेको सूचना अधिकारी खरेलले बताए । नियमित उडान पनि नहुने, महँगो भाडादरले हवाइ सेवा सञ्चालन गर्न निकै कठिनाइ र समस्या भएको उपमहानगरपालिकाले जनाएको छ । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले आपसी सहमतिका आधारमा गरिएको सम्झौताविपरीत काम गर्नु राम्रो नभएको भन्दै पुनर्विचारका लागि विमान कम्पनीलाई अनुरोध गर्ने बताए । “हामीलाई बिनाजानकारी भाडा वृद्धि गरेको खबर आयो, पुरानै भाडामा उडान भर्नका लागि विमान कम्पनीसँग समन्वय गरिरहेका छौं”, उनले भने । सम्झौताअनुसार काम नभए नयाँ र धेरै विमान भएको विमान कम्पनीसँग समन्वय गरेर उडान सेवा सञ्चालन गर्ने प्रमुख पाण्डेले बताए । विसं २०११ मा स्थापना भएको हवाईमैदान २०१६ सालदेखि सञ्चालनमा आएको थियो । पछिल्लो समयमा घाँसेमैदान हवाईमैदान पछिल्लो समयमा १० करोड रुपैयाँ लगानीमा ७०० मिटर धावनमार्ग कालोपत्र भएको थियो । विमानस्थल सानो भएकाले ठूला विमान अवतरण गर्न नसक्ने भन्दै त्यसको स्तरोन्नतिका लागि पहल गर्नुपर्ने स्थानीयवासीको माग छ । रासस
दश महिनामा पाैने १० खर्बकाे अायात हुँदा साढे ६६ अर्बकाे निर्यात, ब्यापार घाटा ९ खर्ब नाघ्याे
काठमाडौं । सरकारले स्वदेशी उत्पादन वृद्धि गर्दै आयात घटाउने भनिरहदा गएको दश महिनामा मुलुकको व्यापार घाटा ९ खर्ब १५ अर्ब रुपैयाँ पुगेको छ । अर्थ मन्त्रालय, भन्सार विभागको अनुसार साउनदेखि यता वैशाखसम्ममा विभिन्न मुलुकबाट नेपालमा ९ खर्ब ८२ अर्ब रुपैयाँको विभिन्न वस्तुहरु आयात भएको छ भने निर्यात ६६ अर्ब ६४ करोड रुपैयाँको मात्रै भएको छ । आयात र निर्यातलाई तुलना गर्दा व्यापार घाटा ९ खर्ब १५ अर्ब रुपैयाँ पुगेको छ । गएको आर्थिक वर्षको सोही अबधिमा उक्त व्यापार घाटा ७ खर्ब ४६ अर्ब रुपैयाँ मात्रै थियो । गएको आर्थिक वर्ष २०७३/७४ को दश महिनाको अबधिमा मुलुकबाहिरबाट आयात ८ खर्ब हुदा निर्यात ६० अर्ब रुपैयाँको मात्रै भएको थियो । त्यासको तुलनामा यो आर्थिक वर्ष व्यापार घाटा गएको वर्षभन्दा २२.७२ प्रतिशत बढेको छ । सबैभन्दा बढी भारतसँग नेपालको व्यापार घाटा ६ खर्ब ११ अर्ब रुपैयाँ पुगेको छ । भारतबाट नेपालमा ६ खर्ब ४९ अर्ब रुपैयाँको आयत हुदा निर्यात ३८ अर्ब रुपैयाँको मात्रै भएको छ । दोस्रोमा चीनसँग १ खर्ब २४ अर्ब रुपैयाँ व्यापार घाटा भएको छ । गएको दश महिनामा नेपालबाट चीनमा १ खर्ब २७ अर्ब रुपैयाँको विभिन्न वस्तुहरु आयात भएकोमा निर्यात २ अर्ब ६६ करोड रुपैयाँको मात्र गर्न सकिएको विभागको भनाइ छ । विभागको तथ्याङकअनुसार गएको दश महिनामा सबैभन्दा बढी आयात भारतबाट भएको छ । कुल आयातको ६६.१ प्रतिशत वस्तु भारतबाट मात्रै आयात गरिएको देखिन्छ । सबैभन्दा बढी निर्यात पनि सोही देशसँग ५७.२ प्रतिशत भएको छ । त्यस्तै सो अबधिमा दोस्रो बढी आयात गरिएको मुलुक चीन हो भने निर्यात यूएसएमा भएको छ । कुल आयातको १३ प्रतिशत चीनबाट आयात भएको छ भने कुल निर्यातको ११ प्रतिशत यूएसएमा निर्यात नेपालबाट विभिन्न वस्तुहरुको निर्यात गरिएको छ । विभागको अनुसार गएको दश महिनामा मुलुकमा कुल १० खर्ब ४९ अर्ब रुपैयाँको व्यापार भएको छ । त्यसमा आयतको हिस्सा ९४ प्रतिशत छ भने निर्यातको हिस्सा ६ प्रतिशत मात्रै छ । आयात र निर्यातको अनुपात १४ गुणा पुगेको छ ।
मिसन डेभलपमेन्ट बैंकको सीईओमा पुनः हरिप्रसाद घिमिरे
काठमाडौं । मिसन डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा हरिप्रसाद घिमिरेको पुनःनियुक्ती भएको छ । घिमिरेले गत जेठ १९ गतेदेखि नै आफ्नो दोश्रो कार्यकाल सम्हालेका छन् । गत जेठ १९ देखि पहिलो ४ वर्षे कार्यकाल सकिन लाग्दा बैंक सञ्चालक समितिले थप ४ वर्षका लागि घिमिरेलाई पुनः सीईओ पदमा नियुक्त गरेको हो । उनले २०७० साल जेठ १९ गतेदेखि पहिलो कार्यकाल सम्हालेका थिए । उनको ४ वर्षे कार्यकालमा बैंकले राम्रो वित्तीय प्रगति गरेपछि सञ्चालक समितिले आगामी ४ वर्षका लागि पुनः नियुक्त गरेको हो ।
भरियालाई आठ करोड जरिवानासहित साढे १० वर्ष जेल
लमजुङ । अन्नपूर्ण पदमार्गअन्तर्गत लमजुङको खुदीमा १७ किलो सुनसहित पक्राउ परेका युवकलाई आठ करोड रुपैयाँ जरिवानासहित १० वर्ष छ महिना जेल सजायको फैसला भएको छ । ज्याला मजदूरी गर्दै आएका मनाङको नासोङ गाउँपालिका–९, दानाक्युका ३१ वर्षीय पासाङ गुरुङलाई उक्त सजाय फैसाला भएको हो । जिल्ला अदालत लमजुङका न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत सो कैद सजायको फैसला गरेकोे अदालतले जनाएको छ । बिगोबमोजिम उनलाई रु आठ करोड १६ लाख १४ हजार ९६० जरिवाना तोकिएकोे अदालतका स्रेस्तेदार भूमिप्रसाद शर्माले जानकारी दिए। मनाङबाट बेंसीशहरतर्फ मोटरसाइकलमा आएका गुरुङ पाँच महिनाअघि १७ किलो सुनसहित मस्र्याङ्दी–२, खुदीमा पक्राउ परेका थिए । भरियाका रुपमा सुन बोकेका गुरुङ पक्राउ परे पनि यसको तस्कर समूह अझै पक्राउ पर्न सकेका छैन् । रासस
सरकार र सेयर लगानीकर्ताबीचको वार्ताबिना निष्कर्ष टुङ्गियाे, अब के हाेला ?
काठमाडौं । सरकार र सेयर लगानीकर्ताबीचको छलफल बिना निष्कर्ष टुङ्गिएको छ । सरकारले आइतबारदेखि बोनस सेयर र हकप्रद सेयरको लागत मूल्यमा लाभकर लगाएपछि आन्दोलित भएका लगानीकर्ताले सोमबार राजश्व सचिव शिशीरकुमार ढुङ्गानासँग भेट गरेको थियो । भेटमा सचिव ढुङ्गानाले लगानीकर्ताको कुरा अर्थमन्त्री समक्ष राखिदिने प्रतिवद्धता जनाएको नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलले बताए । “लगानीकर्ताले आफनोतर्फबाट कुरा राखेको र हामीले लाभकर यसरी लाग्नु हुदैन भनेर राजश्व सचिवलाई बुझाउने प्रयास गरेका छौं” उनले भने । ठुला लगानीकर्ताले सरकारले लगाएको लाभकरको खारेजीको माग गर्दै सोमबारदेखि कारोबार नगर्ने निर्णय गरेका छन् ।
सबै स्थानीय तह बैंकिङ पहुँचमा जोडिँदै
खोटाङ । जिल्लाका सबैजसो स्थानीय तहमा बैंकिङ सुविधा विस्तार हुने भएपछि स्थानीयवासीलाई सहज भएको छ ।स्थानीय तह कार्यान्वयनमा आए पनि बैंकिङ सेवा नहुँदा सदरमुकाम धाउनुपर्ने अहिलेको अवस्थामा क्रमशः स्थानीय तहमै बैंकिङ सेवा विस्तार हुँदै गएपछि सहजता आएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा पर्ने सदरमुकाम दिक्तेल बजारमा मात्र केन्द्रित बैंकहरु पछिल्लो समय खोटेहाङ गाउँपालिका, हलेसी तुवाचुङ नगरपालिका हुँदै अन्य गाउँपालिकामा विस्तार भएपछि स्थानीय निकायलाई सहज भएको छ । स्थानीय तह कार्यान्वयनमा आएसँगै जिल्लाको ऐँसेलुखर्क गाउँपालिकामा राष्ट्रिय वाणिज्य बैंक र यसअघि नै राष्ट्रिय वाणिज्य बैंकको शाखा रहेको खोटेहाङ गाउँपालिका–८ सिम्पानीमा साल्पा विकास बैंक सञ्चालनमा आएपछि सरकारी कामकाज तथा स्थानीयवासीलाई सजिलो भएको स्थानीय जनप्रतिनिधि बताउँछन् । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीमा कृषि विकास बैंक र साल्पा विकास बैंक, उत्तरी क्षेत्रको रावाबेँसी गाउँपालिका–३ लामिडाँडामा सेन्चुरी कमर्सियल बैंक र दिप्रुङ चुइचुम्मा गाउँपालिका–२, डाँडागाउँ ओख्रेमा सानिमा विकास बैंक सञ्चालन भएको छ । हलेसी तुवाचुङमा हालैमात्र माछापुच्छे बैंक स्थापना भएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाको केपिलासगढी, बराहापोखरी र साकेला गाउँपालिकामा पनि बैंक स्थापनाको तयारी अन्तिम चरणमा पुगेको प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले बताए । “सबै स्थानीय तहमा बैंक स्थापना गर्ने सरकारको योजना छ ।” उनले भने, “जिल्लाका बाँकी स्थानीय तहमा आगामी असार मसान्तभित्र स्थापना गरेर कारोवार शुरु हुन्छ ।” स्थानीय तहमै बैंक स्थापना भएपछि कर्मचारीको तलब, विकास निर्मार्णको भुक्तानी, सामाजिक सुरक्षा भत्तालगायतका लागि दुई दिनसम्म पैदल यात्रा गरेर सदरमुकाम दिक्तेल जानु÷आउनुपर्ने बाध्यता हटेको ऐसेलुखर्क गाउँपालिकाका अध्यक्ष विश्वनाथ निरौलाले बताए । “बैंक नहुँदा गाउँपालिकामा चेक बनाएर भुक्तानी लिन दुई पैदल हिँडेर सदरमुकाम दिक्तेल पुग्नु पथ्र्यो ।” उनले भने, “अहिले पालिकामै बैंक सञ्चालन भएपछि समय र खर्च दुवैको बचत भएको छ ।” दिक्तेल बजारमा रहेको राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, बैंक अफ काठमाण्डु, सेन्चुरी कमर्सियल बैंक र हलेसी तुवाचुङ नगरपालिकामा रहेकोे माछापुच्छ«े बैंकलगायत आधा दर्जन ‘क’ वर्गका बैंक र अन्य ‘ख’ वर्गका सालपा विकास बैंक, ज्योति विकास बैंकलगायत एक दर्जनभन्दा बढी वित्तीय संस्था छन् । रासस