छोटेलाल रौनियारले भने : सरकारले सेयर बजारलाई सखाप पार्न खोजेको छ
काठमाडौं । नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष तथा लगानीकर्ता छोटेलाल रौनियारले सरकारले लगानीकर्तालाई समस्यामा पारेर सेयर बजारलाई सखाप बनाउन खोजेको आरोप लगाएका छन् ।सरकारले हकप्रद र बोनस सेयरमा समेत पूँजीगत लाभकर लगाएपछि आक्रोशित बनेका रौनियारले यस्तो आरोप लगाएका हुन् । नयाँ पुँजीगत लाभकरले सेयर बजारलाई सखाप पार्ने उनको तर्क छ । बोनस तथा हकप्रद सेयरमा पूँजीगत लाभकरको व्यवस्था खारेज गर्नुपर्ने उनको माग छ । इन्भेष्टर्स फोरमले नेपाल स्टक एक्सचेन्ज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउद, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीलाई ज्ञापनपत्र बुझाई नयाँ व्यवस्था तत्काल हटाउन आग्रह गरेको छ । यस्तै लगानीकर्ताले आजै अर्थ मन्त्रालयका सहसचिव उत्तरकुमार खत्रीलगायत अधिकारीसँग पनि छलफल गरी पूँजीगत लाभकरले लगानीकर्ता मारमा पर्ने गुनासो गरेका छन् । सोमबार छलफलमा सहमति नभए पनि मंगलबार पुनः छलफल हुनेछ । सरकारले आइतबारदेखि बोनस र हकप्रद सेयरमा पुँजीगत लाभकर उठाउन थालेको छ । आन्तरिक राजश्व विभागले कर उठाउन पत्राचार गरेपछि आइतबारदेखि नै बोनस र हकप्रद शेयरमा ७.५ प्रतिशत पूँजीगत लाभकर लगाएको छ । यो व्यवस्था व्यक्तिगत लगानीकर्ताका लागि हो । यस्तै संस्थागत लगानीकर्ताले भने १० प्रतिशत लाभकर तिर्नुपर्छ ।वोनस र हकप्रदमा लाभकरको व्यवस्था गरेपछि आइतबारदेखि बजार पुनः ओरालो लागेको छ । रासस
राधी विद्युत कम्पनीले १० प्रतिशत बोनस दिने, वार्षिक साधारणसभा कहिले ?
काठमाडौं । राधी विद्युत कम्पनीले १० प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, कम्पनीले कर प्रयोजनको लागि ०.६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको प्रस्तावलाई कम्पनीको आगामी साधारणसभाले पारित गर्नु पर्ने छ । कम्पनीको आगामी साधारणसभा असार २४ गते हुँदै छ । सो प्रयोजनको लागि असार ५ देखि २४ गतेसम्म कम्पनीको बुक क्लोज हुने नेप्सेमा जनाइएको छ ।
प्लाष्ट नेपाल फाउण्डेशनद्धारा भेटघाट कार्यक्रम सम्पन्न
काठमाडौं । विश्व वातावरण दिवसको अवसरमा विभिन्न सञ्चारकर्मी र प्लाष्ट नेपाल फाउण्डेशनका पदाधिकारी एवं सदस्यवर्गबीच भेटघाट कार्यक्रम सम्पन्न भएको छ । साथै, फाउण्डेशनका उपाध्यक्ष दिपक श्रेष्ठको सभापतित्वमा सोमबारका दिन काठमाडौंमा उक्त कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा यस फाउण्डेशनका सञ्चालक समिति सदस्य तथा मिडिया टिमका संयोजक विनित अग्रवालले कार्यक्रमको उद्देश्य र महत्वमाथि प्रकाश पारेका थिए । प्लाष्टिकजन्य सामाग्रीको उपयोगिता, महत्व र प्रयोग पश्चात् निस्कने फोहोरको नकारात्मक असर र यसको सही व्यवस्थापनबारे जनचेतना फैलाउने उद्देश्यले यस विषयमा फाउण्डेशनले एउटा सानो वृत्त चित्र तयार गरी कार्यक्रममा प्रस्तुत गरेको थियो । कार्यक्रममा फाउण्डेशनका उपाध्यक्ष श्रेष्ठले वातावरण संरक्षणमा फाउण्डेशनले विभिन्न सरोकारवालहरुसँग मिलेर काम गर्ने प्रतिवद्धता जनाएका छन् ।
पेट्रोलियम पदार्थको मूल्य वृद्धि बाध्यता- मन्त्री यादव
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले पेट्रोलियम पदार्थको मूल्य वृद्धि सरकारको रहर नभई बाध्यता भएको बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा विशेष समय लिएर इन्डियन आयल कर्पोरेशन र नेपाल आयल निगमबीच भएको सम्झौताअनुसार मूल्य वृद्धि भएको उनले बताएका छन् । सन् २०१७ मार्च १८ मा अन्तर्राष्ट्रिय क्षेत्रमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएमा सोअनुसार मूल्य समायोजन गरिने दुई देशबीचको सो सहमतिमा उल्लेख छ । रासस
मन्त्री रघुवीरको निर्णयमाथि सर्वोच्चको अंकुश, वीपी राजमार्गमा ठूला सवारी नचलाउन आदेश
काठमाडौं । वीपी राजमार्गमा ठूला सवारी साधन नचलाउन सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायधिश सपना प्रधान मल्लको एकल इजालासले सोमबार राजमार्गमा ठूला सवारी नचलाउन आदेश दिएको हो । मन्त्रिपरिषदको जेठ १३ गतेको निर्णयलाई कार्यान्वयन नगर्न सर्वोच्चले आदेश दिएको हो । सो इजलासमा बसन्त बस्नेत लगायत ३ जनाले बहस गरेका थिए । यसअघि प्राविधिक टोलीले गरेको अध्ययनमा राजमार्गमा १८ जना भन्दा धेरै सिट क्षमताको सवारी चलाउन नमिल्ने प्रतिवेदन बुझाएको थियो । वकिलहरुले रुट इजाजत दिने काम मन्त्रीको नभई विभागको भएको भन्दै इन्जिनियरहरुको रिर्पोट प्रस्तुत गरेका थिए । सर्वोच्चले मन्त्रिपरिषदको निर्णयको विषयमा लिखित जवाफ समेत माग गरेको छ । फैसलापछि दक्षिण एसियाकै नमुना राजमार्गले न्याय पाएको माइक्रो बस व्यवसायी संघका अध्यक्ष राजेन्द्र आचार्यले बताए ।
सनराइज बैंकको स्वास्थ्य बीमा अन्तर्गत महर्जनले पाए बीमा रकम
काठमाडौं । सनराइज बैंक लिमिटेडले “स्वास्थ्य बीमा सुविधा” अन्तर्गत ग्राहक राजेन्द्र महर्जनलाई बीमा रकम भुक्तानी गरेको छ । उक्त योजना अन्तर्गत बैंकले भैसीपाटी शाखाका ग्राहक महर्जनलाई उपचार खर्च ८० हजार २५६ बराबरको रकम प्रदान गरेको हो । बैंकका नायब महाप्रबन्धक रविन नेपालले सोमबार(आज) एक कार्यक्रमकाबीच बिरामी महर्जनलाई उक्त रकम दिएका हुन् । बैंकको उक्त बीमा अन्तर्गत बैंकका बचतकर्ताहरुले अस्पताल भर्ना भई स्वास्थ्य उपचार गराउँदा लाग्ने खर्च १ लाख रुपैयाँमा नबढ्ने गरी आफ्नो बचत खातामा रहने बार्षिक औषत मौज्दातको २५ प्रतिशत वा विल रकम मध्ये जुन कम हुन्छ सो रकम दाबी गर्न पाइनेछ । बैंकले यस “स्वास्थ्य बीमा सुविधा” अन्तर्गत देशभरका ७० भन्दा बढी तोकिएका निजी अस्पतालहरुमा स्वास्थ परिक्षण गराउँदा ५ देखि २० प्रतिशत सम्म छुट प्रदान गर्दै आएको छ ।
आइएमई जनरल इन्स्योरेन्स र ग्राण्डी हस्पिटलबीच क्यास लेस सम्झौता
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र ग्राण्डी इन्टरनेशनल हस्पिटलबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका नायव महाप्रबन्धक पवन थापा र ग्राण्डी हस्पिटलका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेले हस्ताक्षर गरेका छन् । यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्सबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुको बीमालेखको सीमासम्म ग्राण्डी हस्पिटलबाट नगद रहित हस्पिटलाईजेसन सेवा प्राप्त हुनेछ । सोही अवसरमा इन्स्योरेन्सका नायव महाप्रबन्धक पवन थापाले हस्पिटलसँगको सहकार्यमा कम्पनीका ग्राहकहरुलाई बीमालेखमा तोकिएको सिमासम्म क्यास लेश हस्पिटलाईजेशन सुविधा प्रदान गर्ने इच्छा व्यक्त गरी संझौता गरेकोमा अस्पतालको संचालक समिति तथा व्यवस्थापनलाई धन्यवाद दिएका छन्। साथै, कार्यक्रममा हस्पिटलले आफ्ना ग्राहकहरुलाई इन्स्योरेन्ससंग आईजीआई औषधोपचार बीमालेख खरिद गरी अस्पतालसँग बीमालेखको सिमासम्म नगद रहित हस्पिटलाईजेशन सेवा लिन आग्रह गरेका छन् । साथै, उनले अस्पताल र अस्पतालसंग आवद्ध सदस्यहरुलाई औषधोपचार लगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा यस इन्स्योरेन्सबाट प्राप्त गर्नसक्ने बताएका छन् ।
एईसीसी ग्लोबलको ‘अष्ट्रेलियन एप्लिकेशन्स् डे’ शुरु, २८ वटा विश्वविद्यालय सहभागी
काठमाडौं । एईसीसी ग्लोबलको सर्वाधिक ठूलो अष्ट्रेलियन शैक्षिक मेला “अष्ट्रेलियन एप्लिकेशन्स् डे जुन २०१८” को शुरु भएको छ । उक्त मेलाको उद्घाटन नेपालका लागि अष्ट्रेलियन राजदूत पिटर बडले गरेका हुन् । कार्यक्रममा २८ विश्वविद्यालय तथा कलेज प्रतिनिधिहरुको सहभागिता रहेको थियो । जसमा विद्यार्थी र तिनका अभिभावकले प्रत्यक्ष रुपमा ती प्रतिनिधिहरुसँग कोर्स, शुल्क एवं छात्रवृत्तिसम्बन्धी आफ्ना जिज्ञासाहरु राख्ने अवसर प्राप्त गरे । यस कार्यक्रमको मुख्य आकर्षण प्रतिनिधिहरुद्वारा स्पट असेस्मेन्ट तथा फाइनेन्सियल एवं भिसा गाइडेन्स बुथ रहेको थियो । कार्यक्रममा विद्यार्थीहरुले आफ्ना जिज्ञासाहरु प्रस्तुत गरे र एईसीसी ग्लोबलका दक्ष भिसा अफिसरहरुले उचित सल्लाहसुझाव सहित मद्दत पुर्याए । बैँकिङ पार्टनरको रुपमा एनआईसी एसिया, नेपाल एसबीआई, सानिमा बैंक, सिद्धार्थ बैंक र एभरेष्ट बैंक गरी ५ विभिन्न बैंकहरुले कार्यक्रममा उपस्थित सहभागीहरुलाई उत्कृष्ट अफरहरु प्रदान गरे । यस कार्यक्रममा ब्रिटिस काउन्सिल नेपालको पनि सहभागिता रहेको थियो । “विद्यार्थीहरु विश्व विद्यालय सम्म पुग्न नसक्ने अवस्थामा हामीले विश्वविद्यालयलाई नै विद्यार्थी सामु ल्याउने सक्दो प्रयास गरेका र्छौँ”, एईसीसी ग्लोबलका डेष्टिनेशन हेड सैलेश कुमार झाले भने । साथै, यस मेला आगामी जेठ २३ गते चितवनको भरतपुर गार्डेन रिसोर्ट र २४ गते पोखराको होटल पोखरा ग्राण्डीमा बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म आयोजना गरिने छ ।