
काठमाडौं । नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष तथा लगानीकर्ता छोटेलाल रौनियारले सरकारले लगानीकर्तालाई समस्यामा पारेर सेयर बजारलाई सखाप बनाउन खोजेको आरोप लगाएका छन् ।सरकारले हकप्रद र बोनस सेयरमा समेत पूँजीगत लाभकर लगाएपछि आक्रोशित बनेका रौनियारले यस्तो आरोप लगाएका हुन् ।
नयाँ पुँजीगत लाभकरले सेयर बजारलाई सखाप पार्ने उनको तर्क छ । बोनस तथा हकप्रद सेयरमा पूँजीगत लाभकरको व्यवस्था खारेज गर्नुपर्ने उनको माग छ । इन्भेष्टर्स फोरमले नेपाल स्टक एक्सचेन्ज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउद, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीलाई ज्ञापनपत्र बुझाई नयाँ व्यवस्था तत्काल हटाउन आग्रह गरेको छ ।
यस्तै लगानीकर्ताले आजै अर्थ मन्त्रालयका सहसचिव उत्तरकुमार खत्रीलगायत अधिकारीसँग पनि छलफल गरी पूँजीगत लाभकरले लगानीकर्ता मारमा पर्ने गुनासो गरेका छन् । सोमबार छलफलमा सहमति नभए पनि मंगलबार पुनः छलफल हुनेछ ।
सरकारले आइतबारदेखि बोनस र हकप्रद सेयरमा पुँजीगत लाभकर उठाउन थालेको छ । आन्तरिक राजश्व विभागले कर उठाउन पत्राचार गरेपछि आइतबारदेखि नै बोनस र हकप्रद शेयरमा ७.५ प्रतिशत पूँजीगत लाभकर लगाएको छ ।
यो व्यवस्था व्यक्तिगत लगानीकर्ताका लागि हो । यस्तै संस्थागत लगानीकर्ताले भने १० प्रतिशत लाभकर तिर्नुपर्छ ।वोनस र हकप्रदमा लाभकरको व्यवस्था गरेपछि आइतबारदेखि बजार पुनः ओरालो लागेको छ । रासस