विकासन्युज

नेपाल बङ्गलादेश बैंकको भिसा क्रेडिट कार्ड संचालनमा, आजैदेखि लागू हुने

काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडले २४औँ वार्षिकोत्सवको उपलक्ष्यमा भिसा क्रेडिट कार्ड संचालनमा ल्याएको छ । बैंकले ग्राहकहरुलाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ्ग सेवा पुर्याउने उदेश्यले उक्त कार्ड संचालनमा ल्याएको हो । जेठ २३ गते(आजै)बाट लागू हुने गरी बैंकले भिसा क्रेडिट कार्ड संचालनमा ल्याएको हो । बैंकको भिसा क्रेडिट कार्ड स्वदेश तथा विदेशमा संचालन गर्न सकिने छ । यसअघि बैंकले आफ्नो ग्राहकहरुको सुविधालाई ध्यानमा राखी स्वदेश तथा विदेशमा संचालन गर्न सकिने भिसा डेबिट कार्ड पनि ल्याइसकेको छ । अन्तर्राष्ट्रिय ब्राण्डको भिसा कार्डमा आबद्ध भएपछि बैंकको कार्ड सञ्जाल अझ बढी विस्तार हुने बैंकको विश्वास छ । बैंकले ७० शाखा, ५ एक्सटेन्सन काउन्टर, ७ शाखारहित घरदैलो बंैकिङ्ग सेवा तथा ५१ वटा एटीएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको छ ।

चाइना थ्री गर्जेजबाट पश्चिम सेती नखोस्न सुझाव, बजेटको घोषणा के होला ?

काठमाडौं । चाइना थ्री गर्जेज इन्टरनेशनल कर्पोरेशन (सीटीजीआई) लाई ७५० मेगावाटको पश्चिमसेती जलविद्युत आयोजना नखोस्न सुझाइएको छ । लगानी बोर्डले सचिव महेन्द्रमान गुरुङको संयोजकत्वमा गठित सुझाव समितिले एक पटक समय तोकेर थ्री गर्जेजलाई मौका दिने, निर्धारित समयभित्र नआए आयोजना प्रतिस्पर्धा वा सरकार आफैले बनाउने विषयमा निर्णय गर्नुपर्ने सुझाव दिएको हो । समितिले आफ्नो सुझाव लगानी बोर्डमा बुझाएको छ । प्रधानमन्त्रीको अध्यक्षतामा बस्ने लगानी बोर्डको आउँदो सञ्चालक समिति बैठकले यस विषयमा निर्णय गर्नेछ ।“एक महिनाभित्र आयोजनाको काम अघि बढाउने गरी आउन थ्री गर्जेजलाई बोलाउने र सो समयभित्र नआएमा वा नबनाउने भनेमा मात्र अन्य विकल्पमा छलफल अघि बढाउन समितिले सुझाएको छ” स्रोतले भन्यो । गत फागुन २५ गते बसेको बोर्ड बैठकले आयोजनालाई आर्थिक रुपमा संभाव्य बनाउने गठित समितिले आफनो सुझाव प्रतिवेदन लगानी बोर्डमा बुझाइसकेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बस्ने बोर्ड बैठकले निर्णय गरेपछि थ्री गर्जेजलाई वार्ता गर्न बोलाउने र नआए वा शर्त नमाने आयोजना खोसेर आफै बनाउन सुझाएको स्रोतले जानकारी दियो । समितिले विश्वव्यापी प्रतिस्पर्धा (ग्लोबल टेण्डर) सरकार आफैले बनाउने वा सार्वजनिक निजी साझेदारीमा बनाउन सकिने लगायतको विकल्प सुझाएको स्रोतले जानकारी दिएको छ । आगामी वर्षको बजेटमा पश्चिमसेती स्वदेशी लगानीमा बनाउने भनिएको छ । बजेटमा उल्लेख गरिए पनि एकपटक थ्री गर्जेजलाई अवसर दिनुपर्ने सुझाव समितिको छ । थ्री गर्जेजले आउन नचाहेमा लगानी बोर्डले आयोजना विकासका लागि अन्य विकल्प सोच्न सक्ने स्रोतको भनाइ छ । सरकारले लगानी बोर्डसंग परामर्श नगरी स्वदेशी लगानीमा पश्चिमसेती बनाउने भनेर उल्लेख गरिएको स्रोतको भनाई छ । एक पटक मौका दिने भनेपनि समितिले थ्री गर्जेजले आयोजना नबनाउने निष्कर्षमा पुगेको समितिको निष्कर्ष छ । गत कात्तिक ३० गते नेपाल विद्युत प्राधिकरण र थ्री गर्जेजबीच लगानी सम्झौता भएको थियो । हालको विद्युत खरिददर (पीपीए) ले आयोजना आर्थिक रुपमा आर्कषक नहुने भन्दै यसलाई बढाउनु पर्ने बताएको छ । यस्तै पीपीएपछि हुने डलर जोखिम सबै विद्युत प्राधिकरणले व्यहोर्नुपर्ने उसको अडान छ । उसले पीपीए दर र डलर जोखिमको विषयमा अडान लिएपछि जेभीए बाहेक अन्य कुनै पनि विषयमा सहमति भएको छैन । प्राधिकरण ऊर्जाले तयार पारेको पीपीए दर पुनरावलोकन गर्ने र डलर जोखिम सबै व्यहोर्ने पक्षमा छैन । यता सरकारले जलाशययुक्त आयोजनाको पीपीए दर तयार गरी मंसिर १५ देखि जेठ १५ सम्म प्रतियुनिट १२ रुपैयाँ ४० पैसा र जेठ १६ देखि मंसिर १४ सम्म वर्षादको ६ महिनामा प्रतियुनिट ७ रुपैयाँ १० पैसा निर्धारण गरेको छ । सुख्खायाममा न्युनतम ३५ प्रतिशत ऊर्जा उत्पादन भएको हुनुपर्ने नयाँ पीपीएमा व्यवस्था छ । जेभीएअनुसार आयोजनामा थ्री गर्जेजको ६५, विद्युत प्राधिकरणको २५ र आयोजना प्रभावित स्थानियबासिन्दाको १० प्रतिशत लगानी हुने गरी सेयर संरचना तयार पारिएको छ । ६५ प्रतिशत मध्ये १४ प्रतिशत नेपाली लगानीकर्तालाई थ्री गर्जेजले स्वामित्व बेच्न सक्ने व्यवस्था गरेको छ । आयोजना निर्माण भई सञ्चालनमा आएको ५ वर्षसम्म ५१ प्रतिशत स्वामित्वबाट घट्न नपाइने व्यवस्था गरिएको छ । ०६९ भदौमा विद्युत प्राधिकरण र थ्री गर्जेजबीच समझदारीपत्र (एमओयू) भएको थियो ।आयोजना निर्माणका लागि १ खर्ब ६० अर्ब रुपैयाँसम्म लगानी सरकारबाट ल्याउन स्वीकृति पाइसकेको छ । आयोजनाबाट वार्षिक ३ अर्ब ३३ करोड युनिट बिजुली उत्पादन हुने सम्भाव्यता अध्ययनले देखाएको छ । आयोजना सुदूरपश्चिमका डोटी, डडेलधुरा, बैतडी र बझाङ जिल्लामा पर्छ । आयोजना निर्माणपछि खपत केन्द्रसम्म बिजुली पुर्याउन आवश्यक ४ सय किलोमिटर लामो ४ सय केभीए क्षमताका प्रसारणलाइन बनाउन थप ४० अर्ब रुपैयाँ बढी लगानी लाग्ने छ । आयोजना अघि बढाउन २ हजार ३२० हेक्टर क्षेत्रफल अधिग्रहण गर्नुपर्ने देखिएको छ ।

मन्त्रालय मातहतमा १० वटा विभाग गाभियो, अब ५४ वटा मात्र हुने

काठमाडौं । संघीय संरचनामा केन्द्रीय मन्त्रालय मातहतमा ५४ वटामात्र विभाग हुने भएका छन् । यसअघि ६४ वटा विभाग हुने गरेकामा अब ५४ वटामात्र विभाग हुने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय प्रवक्ता सुरेश अधिकारीले जानकारी दिएका छन् । अहिले रहेका २१ मन्त्रालयको काम र प्रकृति अनुसार पहिले रहेका १० वटा विभागलाई गाँभेर ५४ वटा मात्र विभाग बनाइएको हो । मन्त्रालयका सहसचिव समेत रहनुभएका प्रवक्ता अधिकारीले एउटै प्रकृति र संघमा कार्यबोझ कम भएका विभागलाई गाँभिएको बताए। काम, अधिकारअनुसार संगठन तथा व्यवस्थापन सर्वेक्षण गरेर ती विभागको टुंगो लगाइएको हो । मन्त्रालयका उपसचिव सालिक दाहालका अनुसार घरेलु तथा साना उद्योगलाई उद्योग विभागमा, आपूर्ति व्यवस्थापन तथा उपभोक्ताहित संरक्षण विभागलाई वाणिज्य विभागमा, जल उत्पन्न प्रकोप विभागलाई सिँचाइ विभागमा, भू-सूचना तथा अभिलेख विभागलाई भूमि व्यवस्थापन विभागमा, यान्त्रिक तालीम केन्द्रलाई सडक विभागमा, भू तथा जलाधार संरक्षण विभागलाई वन विभागमा गाँभिने भएका छन् । यसैगरी प्रहरी किताबखाना र विद्यालय-शिक्षक किताबखानालाई निजामति किताबखानामा, शिक्षा विभाग, शैक्षिक जनशक्ति विकास केन्द्र र अनौपचारिक शिक्षा केन्द्रसहित तीन विभागलाई गाँभेर राष्ट्रिय शिक्षा तथा मानव स्रोत विकास केन्द्र बनाइने भएको छ । मन्त्रालयका सहसचिवको नेतृत्वमा गठित संगठन तथा व्यवस्थापन सर्वेक्षण समितिले मन्त्रालयको काम र प्रकृति हेरेर ती विभागको टुंगो लगाएको हो । समितिले गत फागुन २८ गतेदेखि काम गरेको थियो । यसरी नयाँ बनाइएका विभागको स्वीकृतिका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रिपरिषद्को बैठकमा पेश गर्ने र सो बैठकले स्वीकृत गरेपछि मात्र लागू हुने मन्त्रालयले जनाएको छ । रासस

‘भोईस अफ नेपाल’को मुख्य प्रयोजकमा टिभिएस्, ३० वटा एपिसोडकाे लाईभ हुने

काठमाडौं । अन्तराष्ट्रिय टेलीभिजन गायन कार्यक्रम ‘भोईस अफ नेपाल’ को मुख्य प्रायोजकमा टिभिएस अपाचे आरटि रहेको छ । टिभियस मोटर कम्पनीका सबै मोटरसाइकल र स्कूटरहरुको नेपालको लागि आधिकारीक बिक्रेता जगदम्बा मोटरस प्रालिले हालै उक्त कार्यक्रमको मुख्य प्रायोजक बन्ने साझेदारी गरेको हो । मोटरसाईकलको सबैभन्दा ठूलो रेन्ज भएको टिभिएसले आफ्नो उत्कृष्ट मोटरसाइकल रेन्ज अपाचे आरटिआरलाई यस कार्यक्रमसँग आबद्ध गरेको हो । अपाचे आरटिआरको पावर, प्रतिभा र आत्मबिश्वास जस्ता गुणहरू यस् कार्यक्रमका प्रतियोगिहरुमा पनि हुने कम्पनीले जनाएको छ । द भोईस अफहोल्ल्यान्ड, नेदरल्यान्डस्मा मूल सिर्जना र प्रसारण भएको थियो । नेपालमा पहिलो पटक यो कार्यक्रम ‘भोईस अफ नेपाल’नाम गरेर प्रसारण हुनेछ । यस कार्यक्रमले अज्ञात युवा नेपालीप्रतिभा (अकल, युगल, पेशावर र शौकिया) लाई चिनाउने र सम्मानित गर्ने लक्ष्य राखेको छ । प्रतियोगीहरुले जुन गायन शैली आफुलाई सबैभन्दा राम्रो गाउँनऔँछ त्यही शैलीमा गाउँन पाउँछन् । यो कार्यक्रम साउन २०७५ को पहिलो हप्तादेखि चार महिनासम्म लगातार चल्ने छ । पहिलो सिजनमा कुल ३० एपिसोडहरु लाईभ टेलिभिजनमा प्रसारण हुने छन् । जसमा चार राउण्डहरु ब्लाइन्ड अडिसनस्, ब्याटल राउण्डस्, नकआउटस् एण्ड ग्राण्ड फिनाले हुनेछन् । यस कार्यक्रमका अधिकारिक प्रसारण च्यानलहरु कान्तिपुर एचडी र डिशहोम रमाइलो टि.भी एचडी हुन् ।

दुई अर्बको लागतमा गोसाईंकुण्डमा केबलकार बन्दै, चीनले सरकारले लगानी गर्ने

रसुवा । धुञ्चे गोसार्इंकुण्ड केबलकार निर्माणका लागि सम्भाव्यता अध्ययन गराउने प्रदेश सरकारकोे निर्णयबाट रसुवावासी उत्साहित भएका छन् । केबलकार निर्माणका लागि दुई अर्ब रूपैयाँ लागत लाग्ने अनुमान गरिएको छ । रसुवाका-५ वटै गाउँपालिका र केही निजी क्षेत्रको समेत लगानीमा केबलकार निर्माण गर्ने तय भइसकेको र त्यसमा चिनियाँ लगानीकर्ताले पनि लगानी गर्ने प्रतिवद्धता जनाएको स्थानीय अध्ययन तामाङले बताए । गोसार्इंकुण्डमा केबलकार निर्माण गर्ने अवधारण २०६० सालदेखि नै ल्याइए पनि विद्युत्को अभावमा कार्यान्वयनमा आउन सकेको थिएन। चिलिमे जलविद्युत् कम्पनीले रसुवामा पहिलो पटक २२ मेघावाट विद्युत् उत्पादन गरेसँगै गोसार्इंकुण्डमा केबलकार निर्माण गर्ने आवधारणाले मूर्तरुप लिन सक्ने भएको छ । जिन्दगीमा एक पटक पुग्नै पर्ने तीर्थ गोसाईंकुण्डको यात्रा सहज बनाउन प्रदेश नं.३ का सरकारले गरेको निर्णयले अब धुञ्चे-गोसाईंकुण्ड केबलकार निर्माणमा सहज भएको नागरिक समाजले जनाएको छ । केबलकारको निर्माणले प्राकृतिक छटाको अवलोकन गर्दै गोसाईंकुण्ड सरर जान सहज हुनेछ । धुञ्चे गोसार्इंकुण्ड केबलकार निर्माणका लागि प्रारम्भिक प्रतिवेदन तयार भइसकेको, केबलकारको दुरी धुञ्चेबाट गोसार्इंकुण्ड आठ किलोमिटर रहेको, भगवानशंकर गोसाईंबाबाले निलाद्रिपर्वत जाँदा प्रयोग गर्नुभएको मार्गलाई नै अनुशरण गरिएको तथा गोसार्इंकुण्ड गाउँपालिकाकै वडा नं ५ र ६ अन्तर्गत धार्मिक मार्गमा पाँच वर्षभित्र केबलकार निर्माण गरीसक्ने लक्ष्य लिइएको छ । स्याफ्रु-मैलुङ सडक निर्माण भइसकेको र धुञ्चे जोड्ने करीब पाँच किमि सडकको निर्माण प्रक्रिया पनि अगाडि बढिसकेकाले अब बेत्रावतीबाट मोटरद्वारा एक घण्टामा धुञ्चे पुग्ने वातावरण सृजना भएको गोसाईंकुण्ड गाउँपालिकाले जनाएको छ । भगवान शंकर हिँडेको मार्गलाई पहिल्याइ शास्त्रीय विधिअनुरुप धुञ्चे गोसाईंकुण्ड केबलकार निर्माण गर्ने प्रस्तावले सम्पूर्ण लामा गुरुहरुमा उत्साह बढाएको बताउँदै पुरोहित टंकप्रसाद ढकालले भने, “स्थानीय सरकारले लिएको नयाँ नीतिबाट अब लाखौँलाख भक्तजनलाई तीर्थ पुग्न सहज हुनेछ ।” गोसाईकुण्डमा स्नान एवं पूजा गर्नाले आफूले मागेका सबै वर भगवानले दिने, शरीरमा रोग लाग्न नदिने, लागेका रोग हट्ने, घर परिवारमा सुख शान्ति मिल्ने र कामका लागि गएका सबै परिवारको लक्ष्य पूरा भई धन धान्य हुने विश्वास रहिआएकाले जो कोही मानिसले पनि जिन्दगीमा एक पटक भए पनि यो कुण्डमा पुग्नैपर्ने मान्यता रहिआएको पुरोहित ढकालले बताए । धुञ्चे गोसार्इंकुण्ड केबलकारको अवधारणा २०६० सालबाट तत्कालीन समयमा राससले समाचार उत्पादन गरी गोरखा, पत्र र रेडियो नेपालले प्रकाशन प्रशारण गरेको र जनहितकारी कार्यमा यी संस्थाले पुु¥याएको योगदान अविस्मरणीय रहेको रसुवाका नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले स्मरण गरेका छन् । धुञ्चे गोसार्इंकुण्ड केबलकार निर्माणले अब भक्तजन मात्रै होइन, पर्यटकसमेत बृद्धि हुने बताउँदै रसुवा-नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम (दुर्गानाथ) न्यौपानेले गोसार्इंकुण्डमा पर्यटकको अभिवृद्धि गर्न आफ्नो संस्था निरन्तर अगाडि बढ्ने बताएका छन् । प्रदेश नं. ३ का सरकारले स्याफ्रुवेँशी, लाङटाङ क्याङजेन पर्यटकीय क्षेत्रलाई डा. प्रल्हाद योञ्जन रेडपाण्डा पदमार्ग नामाकरण गरेकोमा लाङटाङवासीले त्यसको पनि स्वागत गरेका छन् । लाङटाङ पुनः निर्माण व्यवस्थापन समितिका अध्यक्ष तेम्बा लामाले अवका दिनमा लाङटाङ क्षेत्रमा पर्यटकको संख्या वृद्धि हुनेमा लाङटाङवासी आशावादी रहेको बताएका छन् । डा योञ्जनका अनुसार, रसुवाको हिमाली क्षेत्रमा रेडपाण्डा भएको पुष्टी १९८७ मा नै भएको थियो । उनको अध्ययनबाट चन्दनबारी तथा लाङटाङ पदमार्गको ठूलो स्याफ्रुको माङ्चे जंगललगायत क्षेत्रमा विश्वमा दुर्लभ मानिएको रेडपाण्डा पाएको पुष्टि गरेपछि संरक्षणका लागि सहभागितामूलक तवरले सबै क्षेत्र अगाडि बढीरहेको लाङटाङ राष्ट्रिय निकुञ्जले जनाएको छ । धुञ्चे गोसार्इंकुण्ड केबलकार निर्माणको काममा लगानीकर्तालाई पूर्णरुपमा सहयोग र समर्थन मिल्ने तथा छिटोभन्दा छिटो निर्माणका लागि आफूले समन्वयकारी भूमिका निर्वाह गरिरहेको जिल्ला समन्वय समितिका प्रमुख कुलप्रसाद भट्टले बताए । रासस

राष्ट्र बैंक नयाँ मौद्रीक नीति तयारीमा जुट्यो, माग्यो सुझाव

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रीक नीति तयारीका लागि जुटेको छ ।  मौद्रीक नीति तयारीका लागि केन्द्रीय बैंकले सुझाव मागेको छ । मौद्रिक नीतिमा समावेश गर्न आफ्ना रायसुझावहरु अनुसन्धान विभागमा पठाउन राष्ट्र बैंकले अनुरोध गरेको छ । सरकारले बजेट सार्वजनिक गरिसकेकाले सोही बजेटको धरातलमा टेकेर केन्द्रीय बैंकले मौद्रीक नीति ल्याउने गरेको छ ।

प्रभु बैंकको थप दुई शाखा ईलाम र धनुषामा

काठमाडौं । प्रभु बैंकले थप दुई नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले ईलाम जिल्लाको सन्दकपुर र धनुषा जिल्लाको मुखियापट्टी मुसहरमिया शाखा कार्यालय विस्तार गरी सञ्चालनमा ल्याएको हो । बैंकले संघीय संरचना बमोजिम गठित विभिन्न स्थानीय तहमा रहेका सेवाग्राहीहरुलाई सरल र सहज रुपमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले उक्त स्थानमा नयाँ शाखा खोलेको हो । सन्दकपुर शाखाको उद्घाटन सोही गाउँपालिकाका अध्यक्ष उदयबहादुर राईले गरेका हुन् । त्यस्तै, मुखियापट्टी मुसहरिमिया शाखा कार्यालयको उद्घाट मुखियापट्टी मुसहरमिया गाउँपालिकाका अध्यक्ष मनोज यादवले गरेका हुन् । यी दुई शाखा कार्यालयबाट त्यहाँका स्थानीय तहका सेवाग्राही, सर्वसाधारणहरु, कम्पनी तथा संघ संस्थाहरुले बैंकको सेवा उपभोग गरी लाभान्वित हुने बैंकले बताएको छ । त्यस्तै, दुवै गाउँपालिकको समग्र आर्थिक विकासमा टेवा पुग्ने बैंकको विश्वास छ ।

लाभकर व्यवस्था फिर्ता भएपछि लगानीकर्ता उत्साहित, नेप्से दोहोरो अंकले बढ्यो

काठमाडौं । सरकारले लाभकरकाे नयाँ व्यवस्था फिर्ता गरेपछि सेयर बजारका लगानीकर्ता उत्साहित भएका छन् । जसकारण बुधबारको सेयर बजार दोहोरो अंकले बढेको छ । लगातार दुई दिन पछि खुलेको बजारमा नेप्से परिसूचक १३.९१ अंकले उकालो लागेर १२८२ अंकमा पुगेको छ । दिनभर करिब २ घण्टा खुलेको बजारमा १३८ कम्पनीको २३ करोड ८९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सबैभन्दा बढी नेपाल इन्भेष्टमेन्ट बैंकको ३ करोड ९२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अर्थ मन्त्रालयका अधिकारी र लगानीकर्ताबीच बुधबार भएको वार्तामा तत्काल लाभकर नलगाउने सहमति भएको हो । उक्त सहमतिपछि लगत्तै खुलेको बजारमा एकाएक हरियाली छाएको थियो । करिब आधा घण्टामै २३ अंकले उकालो लागेर १२९५ अंकमा पुगेको बजार त्यसपछि घटेर बजार बन्द हुँदा १२८२ अंकमा पुगेको छ । बजारमा अन्य समूह बाहेक कारोबारमा आएका सबै समूह हरिया भएका छन् । ९ समूहमध्ये सबैभन्दा बढी बीमा समूह १४४ अंकले उकालो लागेको छ । सरकारले आइतबारदेखि बोनस र हकप्रद सेयरको आधार मूल्यमा कर लगाउने भएपछि लगानीकर्ता आन्दोलनमा उत्रिएका थिए । उनीहरुले सोमबार र मंगलबारको सेयर कारोबार ठप्प पारेका थिए ।