प्रभु बैंकको थप दुई शाखा ईलाम र धनुषामा
काठमाडौं । प्रभु बैंकले थप दुई नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले ईलाम जिल्लाको सन्दकपुर र धनुषा जिल्लाको मुखियापट्टी मुसहरमिया शाखा कार्यालय विस्तार गरी सञ्चालनमा ल्याएको हो । बैंकले संघीय संरचना बमोजिम गठित विभिन्न स्थानीय तहमा रहेका सेवाग्राहीहरुलाई सरल र सहज रुपमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले उक्त स्थानमा नयाँ शाखा खोलेको हो । सन्दकपुर शाखाको उद्घाटन सोही गाउँपालिकाका अध्यक्ष उदयबहादुर राईले गरेका हुन् । त्यस्तै, मुखियापट्टी मुसहरिमिया शाखा कार्यालयको उद्घाट मुखियापट्टी मुसहरमिया गाउँपालिकाका अध्यक्ष मनोज यादवले गरेका हुन् । यी दुई शाखा कार्यालयबाट त्यहाँका स्थानीय तहका सेवाग्राही, सर्वसाधारणहरु, कम्पनी तथा संघ संस्थाहरुले बैंकको सेवा उपभोग गरी लाभान्वित हुने बैंकले बताएको छ । त्यस्तै, दुवै गाउँपालिकको समग्र आर्थिक विकासमा टेवा पुग्ने बैंकको विश्वास छ ।
लाभकर व्यवस्था फिर्ता भएपछि लगानीकर्ता उत्साहित, नेप्से दोहोरो अंकले बढ्यो
काठमाडौं । सरकारले लाभकरकाे नयाँ व्यवस्था फिर्ता गरेपछि सेयर बजारका लगानीकर्ता उत्साहित भएका छन् । जसकारण बुधबारको सेयर बजार दोहोरो अंकले बढेको छ । लगातार दुई दिन पछि खुलेको बजारमा नेप्से परिसूचक १३.९१ अंकले उकालो लागेर १२८२ अंकमा पुगेको छ । दिनभर करिब २ घण्टा खुलेको बजारमा १३८ कम्पनीको २३ करोड ८९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सबैभन्दा बढी नेपाल इन्भेष्टमेन्ट बैंकको ३ करोड ९२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अर्थ मन्त्रालयका अधिकारी र लगानीकर्ताबीच बुधबार भएको वार्तामा तत्काल लाभकर नलगाउने सहमति भएको हो । उक्त सहमतिपछि लगत्तै खुलेको बजारमा एकाएक हरियाली छाएको थियो । करिब आधा घण्टामै २३ अंकले उकालो लागेर १२९५ अंकमा पुगेको बजार त्यसपछि घटेर बजार बन्द हुँदा १२८२ अंकमा पुगेको छ । बजारमा अन्य समूह बाहेक कारोबारमा आएका सबै समूह हरिया भएका छन् । ९ समूहमध्ये सबैभन्दा बढी बीमा समूह १४४ अंकले उकालो लागेको छ । सरकारले आइतबारदेखि बोनस र हकप्रद सेयरको आधार मूल्यमा कर लगाउने भएपछि लगानीकर्ता आन्दोलनमा उत्रिएका थिए । उनीहरुले सोमबार र मंगलबारको सेयर कारोबार ठप्प पारेका थिए ।
जनता बैंक र आईमार्कबीच पीओएस् सम्झौता, बिना नगद भुक्तानी गर्न सकिने
काठमाडौं । जनता बैंक नेपाल र आईमार्क प्रालिबीच पीओएस् सेवा सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा बैंकका ट्रान्जाक्सन बैंकिङ्ग विभाग प्रमुख निरज शर्मा र आईमार्कका प्रबन्ध निर्देशक रामप्रसाद ढुगांनाले हस्ताक्षर गरेका छन् । उक्त सेवा सञ्चालन पश्चात बैंकका स्वदेश तथा विदेशका ग्राहकहरुले आफ्ना डेविट तथा क्रेडिटकार्ड मार्फत नगद रहित भुक्तानी कारोवार गर्न सक्नेछन् । बैंकले भिसा ईन्टरनेशनलसँग आवद्घभई देशभरी रहेका आफ्ना शाखा सञ्जालमार्फत विभिन्न व्यापारिक संघसंस्था, अस्पताल आदिबाट पीओएस् सेवा सञ्चालनमा ल्याएको हो ।
लिटल प्यारागनको विजेता रुस्वा गुरुङ
काठमाडौं । लिटल प्यारागन नेपाल २०१८ को विजेता आइडियल मोडल स्कूलकी रुस्वा गुरुङ प्रथम विजेता बनेकी छिन् । हालै सम्पन्न भएको लिटल प्यारागन नेपाल २०१८ कक्षा ३ मा अध्ययनरत ८ बर्षिय स्कूल आइडियल मोडल स्कुलकी गुरुङ प्रथम बिजेता बनेकी हुन् । साथै, प्रथम रनरअप कक्षा ४ मा अध्ययनरत जेम्स स्कुलकी सोफिया शाह भइन्, दोश्रो रनरअप कक्षा ४ मा अध्ययनरत काठमाण्डौं प्रज्ञा कुन्जकी रितु मानान्धर भइन् भने, तेश्रो रनरअप काभ्य इङ्गलीसमा अध्ययनरत अरिस भुर्तेल भएका छन् । साथै कार्यक्रममा उत्कृष्ट नाच मेरिसा राईले प्रस्तुत गरिन भने उत्कृष्ट चित्रकला बर्शना श्रेष्ठले प्रस्तुत गरिन् । यस बाहेक अरु थुप्रै विधामा बिजेता घोषणा गरिएको आयोजक परेली मिडियाका तर्फबाट मिसेस नेपाल आइकन २०१७ की बिजेता बर्षा कार्की तथा बिनम थापाले जानकारी दिइन् ।
सूर्या लाइफ इन्स्योरेन्सले १२ प्रतिशत बोनस सेयर दिने, हकप्रद किन्नेले पनि पाउने
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई १२ प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, कम्पनीले कर प्रयोजनको लागि ६३ लाख ८२ हजार ८९५ रुपैयाँ बराबर नगद लाभांश दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव हालै बसेको कम्पनी सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको सो मात्राको बोनस वितरण गर्ने प्रस्ताव गरेको हो । समितिको प्रस्तावलाई बीमा समितिले स्वीकृत तथा कम्पनीको साधारणसभाले पारित गर्नु पर्ने छ । हाल कम्पनीले ४० प्रतिशत हकप्रद सेयर जारी गरिरहेको छ । सो मात्राको हकप्रद किन्ने आवेदकहरुले पनि १२ प्रतिशत बोनस पाउने कम्पनीले जनाएको छ । कम्पनीको गत वर्षको साधारणसभाले चुक्ता पुँजीको ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय पारित गरेको थियो । कम्पनीको हालकाे चुक्ता पुँजी ७२ करोड १८ लाख रुपैयाँ रहेको छ । यसअघि कम्पनीले १६.८० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको थियो । तर हाल जारी गरिरहेको ४० प्रतिशत हकप्रद भर्नेले पनि बोनस पाउने भएपछि कम्पनीको बोनस सेयरको दर समायोजन भई घट्न पुगेको कम्पनीले जनाएको छ ।
अनुदान वृद्धिले उद्योगीमा उत्साह, बढ्ला त निर्यात ?
धर्मराज शाक्य, अध्यक्ष नेपाल हस्तकला महासंघ काठमाडौं । अागामी आर्थिक वर्षकाे बजेटमा सरकारले घोषणा गरेकोे उत्पादन निर्यात गरे वापत दिइने अनुदानको चौतर्फी स्वागत गरिएको छ । सरकारले आयात प्रतिस्थापन तथा निर्यात प्रवद्र्धन र रोजगारीको अवसर सिर्जनमा जोड दिदै मूल्य अभिवृद्धि गर्ने कृषि, वन तथा खानीजजन्य औद्योगिक उत्पादन तथा गुणस्तर अभिवृद्ध प्रोत्साहित गर्न औद्योगिक उत्पादनको निर्यातमा ५ प्रतिशतसम्म अनुदान दिने घोषणा गरेको छ । उक्त घोषणाको निजी क्षेत्रले खुलेरै स्वागत गरेको हो । नेपाल हस्तकला महासंघका अध्यक्ष धर्मराज शाक्यले उक्त घोषणाको सहज कार्यान्वयन भए स्वदेशी उद्योगको उत्पादनको निर्यातमा व्यापक परिवर्तन आउने बताए । यसभन्दा अघि उक्त अनुदान २ प्रतिशत मात्रै थियो, अहिले ५ प्रतिशत पुर्याएको छ । ‘हामीले कम्तिमा पनि सो अनुदानलाई बढाएर १० प्रतिशत पुर्याउन माग गरेका थियौं,’ उनले भने ‘यद्यपि माग अनुसार पुग्न सकेन ।’ उनको अनुसार अनुदान बढेता पनि कार्यान्वयन महत्वपूर्ण रहेको बताए । विगतमा पनि औद्योगीक क्षेत्रमा घोषणाहरु धेरै भएको तर व्यवहारमा आउन नसकेको अनुभव सुनाउछन् । हस्तकलाकाका सामाग्रीहरु बढी निर्यात हुने वस्तुमा पर्ने गरेको छ । व्यवसायीहरुको अनुसार गएको वर्ष करिब १२ अर्ब रुपैयाँको हस्तकला सामाग्री विभिन्न मुलुकमा निर्यात भएको थियो । औपचारिक रुपमा ६ अर्ब र अनौपचारिक रुपमा ६ अर्ब रुपैयाँको निर्यात भएको महासंघको तथ्याङ्कमा देखिन्छ । ‘आगामी वर्ष अनुदान बढेकोले निर्यातमा समेत करिब २० प्रतिशत बढ्नेछ’, उनले भने । त्यसैको समर्थन गर्दै केन्द्रिय गलैंचा उद्योग संघका अध्यक्ष छिरिङ शेर्पाले पनि निर्यातमा दिइएको अनुदानले स्वदेशी उत्पादकलाई हौसाला प्रदान गरेको बताए । उनका अनुसार अहिले नेपालबाट वार्षिक करिब ७ अर्ब रूपैयाँको गलैंचा निकासी हुने गरेको छ । ‘निर्यातमा दिइएको अनुदानको कारण आगामी आर्थिक वर्ष १५ प्रतिशतभन्दा बढी निर्यात बढ्ने हाम्रो अनुमान छ,’ उनले भने ‘पाँच वर्षको अबधिमा गलैँचाको निर्यात दोब्बर बनाउन सक्छौं ।’ उनका अनुसार नेपालबाट मुलुकबाहिर उच्च स्तरिय गलैंचा निर्यात हुदै आएको छ । उनले नेपालदेखि तेस्रो मुलकमा सबैभन्दा बढि निर्यात गर्लैचा हुने गरेको दावी गरे । संघको अनुसार विगतमा वर्षमा गलैँचामा दशौं हजारले रोजगारी पाएको र कुल ग्राहस्थ उत्पादन जिडीपीमा ४ प्रतिसतसम्म योगदान दिएको थियो । त्यस्तै व्यापार तथा निकासी प्रवद्धन केन्द्र (टीइपीसी)का कार्यकारी निर्देशक सरदबिक्रम रानाले सरकारले सार्वजनि गरेको निर्यातको अनुदानले निजी क्षेत्रलाई उत्साहित बनाएको बताए । ‘यो स्वदेशी उद्योगहरुको सुनौलो अवसर पनि हो,’ उनले भने ‘एक माघले जाडो जादैन भने झैं, उद्योगले जति राम्रो काम गर्न सक्यो त्यसरीनै बढी सरकारले निर्यातलाई प्राथमिकतामा राख्नेछ । अनुदान अहिलेकोभन्दा पनि बढाउनेछ ।’ त्यसले आयात प्रतिस्थापन गर्दै निर्यात बढाउननेछ । मुलुको चुलिदै गरेको व्यापार घाटा घटाउन सहयोग पुग्नेछ । गएको दश महिनामा मात्रै नेपलाको व्यापार घाटा ९ खर्ब १५ अर्ब रुपैयाँ पुगेको छ । ९ खर्ब ८२ अर्ब रुपैयाँको आयात हुदा निर्यात ६६ अर्ब ६४ करोड रुपैयाँको मात्रै भएको राजस्व विभागले जानकारी गराएको छ ।
कारोबार खुल्नासाथ सेयर बजारमा छायो हरियाली, नेप्सेमा २१ अंकको वृद्धि
काठमाडौ । लगातार दुई दिनको आन्दोलन पछि खुलेको बुधबारको सेयर बजारमा एकाएक हरियाली छाएको छ । सरकारले लाभकर सम्बन्धी नयाँ व्यवस्था फिर्ता गरेपछि बजारमा हरियाली छाएको हो । बोनस र हकप्रद सेयरमा लाग्ने लाभकर फिर्ता हुनेवित्तीकै खुलेको बुधबारकाे बजारमा सुधारको शुभसंकेत देखिएको छ । बजार खुलेको केही बेरमै नेप्से परिसूचक २१ अंकले उकालाे लागिसकेकाे छ । त्यस्तै, कारोबारमा आएका सबै सूचकहरु हरियाली भएका छन् । नयाँ लाभकर सम्बन्धित व्यवस्थाबाट सरकार पछि हटेपछि लगानीकर्ता उत्साहित हुँदा बजार बढेको हो ।
लाभकर सम्बन्धित नयाँ व्यवस्थाबाट सरकार पछि हट्यो, अाजै सेयर काराेबार हुने
काठमाडौं । सरकारले बोनस सेयर र हकप्रद सेयरको आधार मूल्यमा लगाएको लाभकर सम्बन्धी नयाँ व्यवस्था फिर्ता लिएको छ । अर्थ मन्त्रालयका अधिकारी र लगानीकर्ताबीच भएको वार्तामा तत्काल लाभकर नलगाउने सहमति भएको हो । सरकारले लाभकर सम्बन्धित नयाँ व्यवस्था फिर्ता लिन सहमत भएको नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष छोटेलाल रौनियारले बताए । अर्थमन्त्रालयले आइतबारदेखि लगाएको नयाँ लाभकर फिर्ता लिनका लागि आन्तरिक राजश्व कार्यलयलाई पत्राचार गरिसकेको छ । अर्थले मंगलबार सहसचिव उत्तरकुमार खत्रीको संयोजकत्वमा गठित अध्ययन समितिको प्रतिवेदन आएपछि नयाँ व्यवस्था गर्ने सहमति भएको हो । अहिले बोनस र हकप्रदमा लागेको लाभकर फिर्ता गर्न अर्थ सहमत भएको उनले जानकारी दिए । मन्त्रालयबाट औपचारिक रुपमा पत्राचार भएपछि कारोबार खुल्ने रौनियारले बताए । उनकाअनुसार बजार आजै खुल्ने संभावना रहेको छ ।