विकासन्युज

विदेश पढ्न जाने विद्यार्थीलाई १४ प्रतिशत कर थपियो

काठमाडौं । सरकारले उच्च शिक्षाका लागि विदेश जाने नेपाली विद्यर्थीहरुमा कर थपिदिएको छ । आगामी आर्थिक बर्षको बजेटले मार्फत उच्च शिक्षा अध्ययनका लागि विदेश जाने नेपाली विद्यार्थीहरुलाई भ्याट र २ प्रतिशत शिक्षा सेवा शुल्क लगाएको हो । यस अघि विदेश अध्ययन गर्न जाने विद्यार्थीहरुले विदेशी मुद्रा सटही गर्दा १ प्रतिशत सेवा शुल्क मात्र लिइन्थ्यो । ‘विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलाई शिक्षण शुल्क बापत विदेशी मुद्राको सटही सुविधा दिँदा त्यस्तो सटही रकममा दुई प्रतिशत शिक्षा सेवा शुल्क लगाइने र असुल उपर गरिनेछ ।– आर्थिक बिधेयक २०७५ मा लेखिएको छ । त्यस्तै, अब शैक्षिक परामर्श उपलब्ध गराउने कन्सल्ट्यान्सीहरु भ्याटको दायरामा तानिएका छन् । उनीहरुले विद्यार्थीसँग असुल्ने सेवा शुल्कमा १३ प्रतिशत भ्याट तिर्नुपर्नेछ । सो भ्याट समेत विद्यार्थीहरुबाटै असुलिेनछ । ‘कन्सल्ट्यान्सीहरुले विद्याथीबाट लिने सेवा शुल्कमा १३ प्रतिशत भ्याट लिने व्यवस्था गरिएको हो, एक प्रतिशत शिक्षा सेवा शुल्क पनि वृद्धि गरेका छौं’, अर्थमन्त्रालयका राजश्व सचिव शिशिर ढुंगानाले भने । विदेश पढ्न जाने नेपाली विद्यार्थीहरुले सटही गरेको विदेशी मुद्राको २ प्रतिशत शिक्षा सेवा शुल्क तिर्नु पर्छ । त्यस्तै, कन्सल्ट्यान्सीलाई बुझाएको सेवा दस्तुरमा १३ प्रतिशत भ्याट तिर्नुपर्छ । हाल युरोपियन देशहरुमा उच्च शिक्षा अध्ययनका लागि जाने नेपाली विद्यार्थीहरुबाट कन्सल्ट्यान्सीहरुले एक हजार डलर सेवा शुल्क लिँदै आएका छन् । युरोपियन देशका शैक्षिक संस्थाहरुले उच्च शिक्षा अध्ययनका लागि नेपाली विद्यार्थी पठाउँदा कमिसन नदिने भएकाले एक हजार डलरसम्म सेवा शुल्क उठाउँदै आएका छन् । अन्य देशहरुका हकमा भने २५ हजारसम्म सेवा शुल्क तोकिएको छ । विद्यार्थीहरुले युरोपियन मुलुकमा अध्ययनका लागि जाँदा १३ डलर भ्याट वापत १३० डलर बुझाउनुपर्छ । त्यस्तै, ती देशमा जाँदा लाग्ने १२।१५ लाखको रुपैंयाँको २ प्रतिशत शिक्षा सेवा शुल्क तिर्नुपर्छ । त्यस बाहेक भाषा अध्ययनका लागि तिरिएको रकममा पनि भ्याट भने तिर्नुपर्नेछ ।

नक्कली शैक्षिक प्रमाणपत्रले जागिर खाने २ जना विरुद्ध अदालतमा मुद्दा दायर

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र देखाई सरकारी जागिर खाने २ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विषेश अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । नक्कली प्रमाणपत्रले जागिर खाने सन्देशकुमार श्रेष्ठ र ओमप्रसाद लुईटेल विरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो । श्रेष्ठ प्रहरी प्रधान कार्यालय,नक्साल अन्तर्गतका तत्कालिन प्रहरी नायव निरीक्षकमा नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी नियुक्ति भएका थिए । यस्तै लुईटेल सुगाहट माध्यमिक विद्यालय, मोरङमा नक्कली प्रमाणपत्रले नियुक्ती लिएको प्रमाणित भएको थियो । दुबै जना विरुद्ध भ्रष्ट्राचार ऐन बमोजिम कारबाहीको माग गर्दै अदालतमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।

सेञ्चुरी बैंकका ग्राहकलाई ओम हस्पिटलमा १० प्रतिशतसम्म छुट

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकका ग्राहकले ओम हस्पिटल एण्ड रिर्सच सेन्टरको सेवामा १० प्रतिशतसम्म छुट पाउने भएका छन् । बिहीबार दुई संस्थाबीच हस्पिटलले प्रदान गर्ने विभिन्न सेवा सुविधामा छुट दिने सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्का र ओम हस्पिटल एण्ड रिर्सच सेन्टरका प्रबन्ध निर्देशक बाबुकाजी कार्कीले हस्ताक्षर गरेका छन् । बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा शयेरधनिहरुलाई सहुलियत प्रदान गर्ने सम्झौता गरेको हो । सम्झौता अनुसार बैंकको क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा बैंकका सेयरधनीहरुले १० प्रतिशतसम्म प्याथोलोजी, अल्ट्रासाउन्ड, सीटी स्क्यान, मेम्मोग्राम, दन्त प्रक्रिया, सर्जरी, बेड चार्ज, रेडियोलेजी तथा अन्य जाँचमा छुट पाउनेछन् ।

सेयर बजार २५ अंक घट्यो, लगानीकर्तामा अर्थमन्त्री डा. खतिवडाको त्राश कायमै

काठमाडौं । सरकारले बोनस र हकप्रद सेयरको आधार मूल्यमा लगाएको लाभकर हटेपनि लगानीकर्ता विश्वास नबढ्दा बिहीबारको सेयर बजार २५ अंक घटेको छ । बुधबार लाभकर तत्कालका लागि हटेपछि १३ अंकले बढेको बजार बिहीबार भने घटेको छ । बजार पुनः घट्न थालेकाले लगानीकर्तामा लाभकरको त्राश अझै कायम रहेको देखिन्छ । अर्थ मन्त्रालयले लाभकरको विषयमा अध्ययन गर्न सहसचिव उत्तरकुमार खत्रीको संयोजकत्वमा अध्ययन समिति गठन गरेको छ । अध्ययन समितिले कस्तो सुझाव सरकारलाई दिन्छ ? र त्यसपछि सरकारले लाभकरको विषयमा लिने निर्णको विषयमा लगानीकर्तामा मनोवैज्ञानिक त्रास अझै कायम रहेको एक ब्रोकरले बताए । समितिले दिने सुझाव र त्यसपछि सरकारले लिने निर्णयलाई बजारले पर्खेर बसेको अवस्था रहेको ती ब्रोकरको भनाई छ । लगानीकर्ताले भनेको जस्तै गरी सरकारले लाभकार हटाउँछ की हटाउँदैन भन्ने त्राश लगानीकर्तामा रहेको ती ब्रोकरको भनाई छ । समग्रमा बिहीबारको बजार २५.६८ अंकले घटेर १२५७ अंकमा झरेको छ । कुल १६६ कम्पनीको ४६ करोड ८५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । मेगा बैंकको सबैभन्दा बढी २ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बजारमा कारोबारमा आएका सबै समूह राताम्मे भएका छन् । बीमा समूह १७४ अंकले घटेको छ । त्यस्तै, फाइनान्स समूह ५ अंकले घटेको छ भने बाँकी समूहको सूचक दोहोरो अंकले घटेको छ । बिहीबार सबैभन्दा बढी नागबेली लघुवित्त विकास बैंकको सेयर मूल्य ७.६६ प्रतिशतले घटेको छ । अघिल्लो दिनको तुलनामा समता माइक्रोफाइनान्सको सेयर मूल्य सबैभन्दा बढी ३.९६ प्रतिशतले बढेको छ ।

ज्योति विकास बैंकको थप तीन स्थानमा एटीएम सेवा, यसै वर्ष ५ वटा थप्ने तयारी

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले थप तीन नयाँ स्थानमा एटीएम सेवा शुरु गरेको छ । बैंकले काठमाडौंको पेप्सिकोला तथा नेपालटार र विराटनगरमा गरी तीन स्थानमा उक्त सेवा शुरु गरेको हो । यससँगै बैंकले १७ स्थानबाट एटीएम सेवा सञ्चालन गरेको छ । हालै मात्र बैंकले एससीटी कार्डलाई प्रतिस्थापन गरि भिसा डेबिट कार्ड ल्याएको हो । हाल बैंकले ५४ वटा शाखा कार्यालयबाट सेवा उपलव्ध गराउँदै आएको छ । यस आर्थिक वर्ष भित्रनै बैंकले थप ५ वटा नयाँ शाखा तथा थप ५ स्थानमा एटीएम संचालनमा ल्याउने प्रक्रियामा रहेको छ ।

एलजी टिभीको निशुल्क नेट टिभी एप्स, सेटअप बक्सबिना १२० भन्दा बढी च्यानेल हेर्न सकिने

काठमाडौं । एलजीले आफ्नो स्मार्ट टिभीको लागि नेट टिभी एप्स प्रस्तुत गरेको छ । जसबाट ग्राहकहरुले बिना सेटअप बक्स र बिनातार १२० भन्दा बढी च्यानेलहरु प्रत्यक्ष हेर्न सक्नेछन् । यो एप एनआईटिभी स्ट्रिमज् प्रालिले एलजीसंगको सहकार्य विकास गरेको हो । अहिलेसम्म नेट टिभी एप मोबाईल फोनमा मात्र उपलब्ध हुँदै आएकोमा अब ग्राहकहरुले यसको मज्जा टिभीमा पनि लिन सक्ने छन् । यसको लागि एलजीको कन्टेन्ट स्टोर माग गएर एप डाउनलोड गर्नुपर्नेछ । यो एप्स इन्स्टल गरेपछि सम्पूर्ण च्यानेलहरु एसडी र एच डी क्वालिटीमा हेर्न सकिन्छ । ग्राहकहरुले यस एप्सको सुरुवाती अफरको रुपमा निःशुल्क रुपमा सबै च्यानेलहरु हेर्न सक्नेछन् । साथै एलजी स्मार्ट टिभीका ग्राहकहरुले अब चाँडै नै नयाँ रिलिज भएको चलचित्र भिडीयो अन डिमाण्डको न्यूतम मूल्यमा मज्जा लिन सक्नेछन् । यो फिचर विकास गर्ने काम भइरहेको कम्पनीले जनाएको छ । नेपालका लागि एलजी ब्राण्डको आधिकारिक विक्रेता सिजी इलोक्ट्रोनिक्सले यस एप्सको माध्यमबाट ग्राहकहरुलाई आर्थिक फाइदाको साथ साथै तार र सेटअप बक्सको झनझटबाट मुक्ति पाइने बताएको छ ।

विश्वकप खेल्ने १० उत्कृष्ट जर्सी, नाइजेरिया पहिलो ब्राजिल र अर्जेन्टिना कति औं स्थानमा ?

काठमाडौं । विश्व फुटबलको महाकुम्भ सुरु हुन ७ दिन मात्रै बाँकी रहदाँ विश्व फुटबल समर्थक यति बेला मनपर्ने देशको जर्सी किन्नमा व्यस्त रहेका छन् । यसैबीच स्पेनिस अनलाइन मार्काले गरेको अध्ययनमा नाइजेरियाको जर्सी नम्बरमा परेकाे  छ । अनलाइन भोटिङको आधारमा गरिएको सर्वेक्षणमा सबैभन्दा धेरै भोट नाइजेरियाको जर्सीले पाएको हो । कालो हरियो रंग मिसिएको सो जर्सी लोकप्रिय बनेको हो । यसैगरी गाढा निलो रंगमा रहेको फ्रान्सको जर्सी २ नम्बरमा परेको छ । रातो सेतो रंगको कोठा रहेको क्रोयोसियाको जर्सी ३ नम्बरमा परेको छ । चार पटककको विश्व विजेता जर्मनीको जर्सी चौथो स्थानमा परेको छ । सेतो कलरमा रहको इरानको जर्सी ५ नम्बरमा परेको छ । रातो कलरमा रहेको युरोकप विजेता पोर्चुगलको जर्सी छैंटौ नम्बरमा परेको छ । सेतो कलरमा रातो निलो कलर रहेको दक्षिण कोरियाको जर्सी ७ औं स्थानमा परेको छ । आकाशे र सेतो कलरको धर्को रहेको अर्जेन्टिनाको जर्सी ८ औं नम्बरमा परेको छ । सेतो र निलो रंगमा रहेको आइल्याण्डको जर्सी ९ औं स्थानमा परेको छ ।   ५ पटक विश्व विजेता बनेको ब्राजिलको पहेँलो रंगको जर्सी १० नम्बरमा परेको छ।

बर्दिवासबाटै स्मार्ट लाइसेन्स वितरण शुरु, पहिलो दिनमै ४१ जनाले पाए

बर्दिवास । महोत्तरी जिल्लाको बर्दिवासस्थित यातायात व्यवस्था कार्यालयले डिजिटल प्रणालीबाट बनेको सवारीचालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) वितरण शुरु गरेको छ । बिहीबार कार्यालय परिसरमा आयोजित एक समारोहबीच महोत्तरी-१ ‘क’ का प्रदेशसभा सदस्य शारदा थापाले कार्यालयबाट थप प्रवाह हुने स्मार्ट लाइसेन्स वितरण कार्यको शुभारम्भ गरेकी छिन् । कार्यालयका पहिलो सेवाग्राही बर्दिवास-१ का दीननाथ पोखरेललाई प्रदेशसभा सदस्य थापाले स्मार्ट लाइसेन्स प्रदान गरेर थप सेवा शुरु गरिएको हो । कार्यक्रममा बर्दिवास नगरपालिकाका प्रमुख विदुरकुमार कार्कीले पनि सेवाग्राहीलाई स्मार्ट लाइसेन्स वितरण गरेका थिए । कार्यालयबाट स्मार्ट लाइसेन्ससहित सवारीचालक अनुमतिपत्र र सवारी दर्ता प्रमाणपत्र (ब्लुबुक) हराएको प्रतिलिपि र सवारी चालक अनुमतिपत्रको नवीकरणसमेत आजबाट थप सेवा प्रवाह शुरु गरिएको छ । यसअघि कार्यालयले वार्षिक सवारी कर संकलन, सवारी दर्ता प्रमाणपत्रको नवीकरण, बाटो इजाजत नवीकरण, सवारी जाँचपास र अस्थायी रुट इजाजतपत्र (पटके) सेवामात्र प्रदान गर्दै आएको थियो । बिहीबार थप सेवा शुरु गरिएको समारोहमा ४१ जना सेवाग्राहीले स्मार्ट लाइसेन्स प्राप्त गरेका कार्यालयका निमित्त प्रमुख पोषण थापाले जानकारी दिएका थिए । विसं २०७१ मंसिर १७ गते स्थापना भएको यो कार्यालयले अहिलेसम्म २१ करोड २५ लाख रुपैयाँ राजश्व संकलन गरेको समारोहमा जानकारी दिइएको छ । थप गरिएका सेवा लिन यसअघि जनकपुरस्थित यातायात व्यवस्था कार्यालय जानु पर्थ्यो । अब यी सेवा बर्दिवासबाटै शुरु गरिएपछि महोत्तरी, धनुषाको उत्तरी क्षेत्र, सिन्धुली र सर्लाही जिल्लाका सेवाग्राहीलाई सजिलो भएको छ । आँफू अर्कै प्रदेश (प्रदेश नं ३) को बासिन्दा भए पनि भौगोलिक निकटताले बर्दिवासस्थित कार्यालयबाट थप सेवा पाउँदा समय र खर्च दुवैको बचत भएको सिन्धुली जिल्लाको कमलामाई नगरपालिका-५ का सेवाग्राही मदनकुमार श्रेष्ठले प्रतिक्रिया दिए । रासस