विपद्मा वन्यजन्तुलाई जोगाउन नेपाल र भारतले समन्वय बढाउने
चितवन । चितवन राष्ट्रिय निकुञ्ज र भारतको वाल्मीकि टाइगर रिजर्भले विपद्का बेलामा हुने वन्यजन्तुको क्षति रोक्न समन्वय बढाउने भएको छ । अघिल्लो वर्ष बाढीले वन्यजन्तुहरु बगाएर भारत पुर्याएकाले यस्ता विपद्बाट हुने क्षति न्यून गर्न समन्वयलाई चुस्त पार्ने सहमति भएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले जानकारी दिएका छन् । केही दिनअघि चितवन निकुञ्ज र वाल्मीकि टाइगर रिजर्भका अधिकारीहरुबीच समन्वय बैठक बसेर यस्तो निष्कर्ष निकालिएको ढकालले जानकारी दिए । अहिले वाल्मीकि टाइगर रिजर्भले हात्तीसारको संख्यासमेत बढाएकाले गैँडालगायत वन्यजन्तुको उद्धारमा अझै सक्रिय भएर लाग्ने जानकारी गराएको उनले बताए । चितवन निकुञ्ज र भारतको वाल्मीकि टाइगर रिजर्भ वाल्मीकि आश्रम क्षेत्रमा जोडिएको छ । चितवन निकुञ्जका प्रमुख ढकालसहित राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख रामकुमार अर्याल तथा तराई भू-परिधि कार्यक्रम (ताल)का प्रतिनिधिहरु र भारतको वाल्मीकि टाइगर रिजर्भका निर्देशक चन्द्रशेखर लगायतका सुरक्षा र संरक्षण अधिकृतहरु सहभागी बैठकले यस्तो सहमति गरेको हो । “वन्यजन्तुहरु जोखिममा परे भने तत्कालै खबर गर्ने, सुरक्षा प्रदान गर्ने र उद्धारमा समन्वय गर्ने भन्ने छ”, ढकालले भने, “विपद्मा हुने क्षति न्यूनीकरणका लागि यो महत्वपूर्ण प्रयास हुनेछ भन्ने ठानेका छौँ ।” गत वर्ष साउन २८ र २९ गते चितवनमा भीषण बाढी आउँदा दर्जनौँ वन्यजन्तु मरेका थिए । बाढीले बगाएर भारत र सीमा आसपास पु¥याएको १० वटा गैँडालाई चितवन निकुञ्जले उद्धार गरेर ल्याएको थियो । अहिले पनि यस्तो विपद् निम्तिन सक्ने खतरालाई ध्यानमा राखेर विपद्मा वन्यजन्तु जोखिम न्यूनीकरणका लागि समन्वय गर्न थालिएको हो । राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख रामकुमार अर्याल दुई देशका अधिकारीहरुबीचको समन्वयले संरक्षण चुस्त हुने भएकाले छलफल तथा भेटघाटलाई निरन्तरता दिने गरिएको बताउँछन् । वन्यजन्तु अपराध आरोपमा थप एक पक्राउ चितवन राष्ट्रिय निकुञ्जले वन्यजन्तु अपराधमा संलग्न रहेको आरोपमा चितवनको माडीबाट थप एक जनालाई पक्राउ गरेको छ । गएको असार तेस्रो साता पक्राउ परेका भारतीय नागरिकको बयानका आधारमा माडीबाट एक जनालाई पक्राउ गरिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले जानकारी दिए । दुई दिनअघि पक्राउ परेका उनको विषयमा अहिले अनुसन्धान भइरहेकाले परिचय नखुलाइएको ढकालले बताए । दक्षिण चितवनको माडी सोमेश्वर क्षेत्रस्थित भारतीय सीमा नजिकैको कोरिडोरबाट असार तेस्रो साता सात जना भारतीय पक्राउ परेका थिए । त्यसमध्ये एकजना यसअघि गैँडा तस्करमा संलग्न रहेको भन्ने खुल्न आएको निकुञ्जले जनाएको छ । उनी विरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको र अन्य ६ जनाको विषयमा निकुञ्जले नै मुद्दा हेरिरहेको ढकालले जानकारी दिएका छन् । उनीहरु सोमेश्वर क्षेत्रमा बन्दोबस्तीका सामानसहित पक्राउ परेका थिए । हातहतियार भने नभेटिएकाले टोली परिचालन गरेर जंगलमा हातहतियारको खोजी भइरहेको निकुञ्जले जनाएको छ । वर्षा लागेसँगै विभिन्न सीमा क्षेत्रमा तस्करहरुको चहलपहल बढ्न सक्ने भएकाले सुरक्षामा कडा गरिएको चितवन निकुञ्जले जनाएको छ । रासस
१९ वर्षमै विश्वकप ट्रफी उचालेका एम्बाप्पेको मूल्य ३६५० प्रतिशतले बढ्यो, चुनौति दिदैं पाउलो डिबाला
काठमाडौं । १९ वर्षमै विश्वकपको ट्रफि उचालेका फ्रान्सका स्टार स्ट्राइकर केलियन एम्बाप्पे सबैभन्दा मूल्यवान खेलाडी बनेका छन् । एम्बाप्पेको मूल्य पछिल्लो वर्ष ४ मिलियनबाट बढेर १५० मिलियन युरो पुगेको हो । इंग्लिस फुटबल ट्रान्फर मार्केटले निकालेको प्रतिवेदन अनुसार सन् २०१७ एम्बाप्पेको मूल्य ३६५० प्रतिशतले बढेको हो । पिएसजीबाट व्यवसायीक खेल खेल्दै आएका एम्बाप्पे विश्व सर्वोकृष्ट खेलाडी घोषणा भैसकेका छन् । दोस्रो नम्बरमा मोहोम्मद साला परेका छन् । उनको मूल्य २७ मिलियनबाट बढेर १५० मिलियन पुगेको छ । तेस्रो नम्बरमा ह्यारी केन पर्दा चौथो नम्बरमा बेल्जियमका केभिन डे ब्रुने परेका छन् । पाचौं नम्बरमा ब्राजिलका फिलिपे कौटिन्हो, छैंटौमा क्रोयोसियाका साभिक सातौंमा नेइमार जुनियर, आठौंमा डेलि अलि नावौं स्थानमा अर्जेन्टिनाका पाउलो डिबाला रहँदा दशौं स्थानमा ग्रबियल जिसस परेका छन् । २४ वर्षिया पाउलो डिबालाको मूल्य १६ देखि ७० मिलियन युरो बढाएकाे छ । उनी एम्बाप्पेपछिको मूल्य बढ्नेमा दोस्रो कान्छो खेलाडी हुन् । यसैगरी आफ्नो मूल्य बढाउनेहरुमा लियोनल मेसि, रार्सफोर्ड, इडेन हाजार्ड, माउरो इकार्डी, थोमस लेमार, लाउरे साने, रोमेलु लुकाकु, मार्को एसेन्सियो र ओसामाने डेम्बेले रहेका छन् ।
राष्ट्रिय वाणिज्य बैंकद्धारा आयोजित रक्तदान कार्यक्रममा ९० जनाले गरे रक्तदान
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालले आयोजना गरेको रक्तदान कार्यक्रममा ९० जनाले रक्तदान गरेका छन् । बैंकले आफ्नो २९औँ वार्षिकोत्सवको उपलक्ष्यमा बिहीबार उक्त कार्यक्रमको आयोजना गरेको हो । कम्पनीको केन्द्रीय कार्यालय सिंहदरबारप्लाजामा आयोजित उक्त कार्यक्रम बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले संघका पूर्व अध्यक्ष एवं रक्तदाता शिवकुमार अधिकारीलाई ब्लड ब्याग हस्तान्तरण गरेको थिए । त्यस्तै, संघका अध्यक्ष हेमराज सुवेदीले रक्तदाताहरुलाई संघको लागो अंकित टोपी हस्तान्तरण गरेका थिए । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपाल नियमित रुपमा संस्थाको सम्वद्र्धनका अतिरिक्त कर्मचारीहरुको पेशागत हक हितको सवालमा जोडदार रुपमा आवाज उठाउँदै आईरहेको राष्ट्रिय वाणिज्य बैंक भित्रको सबैभन्दा जेठो ट्रेड यूनियन हो ।
शिक्षा र स्वास्थ्यमा व्यापारीकरण गर्ने काँग्रेस नै होः विवेकशील साझा पार्टी
काठमाडौं । विवेकशील साझा पार्टीले शिक्षा र स्वास्थ्य क्षेत्रमा नेपाली काँग्रेसले नै व्यापारीकरण गरेको आरोप लगाएको छ । पार्टीका प्रवक्ता डा. सुर्यराज आचार्यले एक विज्ञप्ति प्रकाशित गर्दै विगतमा काँग्रेस सरकारले नै कसिलो नियमन बिनै शिक्षा र स्वास्थ्य क्षेत्रमा व्यापारीकरण गराएर अहिलेको अवस्था उत्पन्न गराएको आरोप लगाएको हो । ‘उदारीकरणका नाममा कसिलो नियमन विना नै शिक्षा र स्वास्थ्यजस्ता अत्यन्तै गम्भीर र संवेदनशील विषयलाई निजीकरण गरेर त्यसलाई नाफा-खोर व्यापारीहरूको हातमा पुर्याउने कार्यमा विगतमा नेपाली काँग्रेसको सरकारको प्रमूख भूमिका थियो। अहिले नेपाली काँग्रेस पानीमाथिको ओभानो बन्न खोज्नुको कुनै अर्थ छैन। डा. केसीका १५ मध्ये ७ वटा अनसन नेपाली काँग्रेस नेतृत्वकै सरकारको पालामा भएका थिए र सबैभन्दा लामो २३ दिनको अनसन पनि नेपाली काँग्रेसकै शेरवहादुर देउवाको प्रधानमन्त्रीत्वकालमा भएको थियो।’, विवेकशिल साझाले भनेको छ । विवेकशील साझा पार्टीको विज्ञप्तिः सत्याग्रही डा गोविन्द केसीको अनसन त्यस्तो विन्दूमा पुगेको छ जहाँ उनको जीवनरक्षा सबैभन्दा प्रधान विषय बनेको छ। समाजवादको एउटा प्रमूख खम्बा नै स्वास्थ्य सेवालाई राज्यको दायित्वको रूपमा ग्रहण गर्नु हो। तर त्यही मागका लागि १५ पटक अनसन बसिसकेका डा केसीप्रति आफूलाई समाजवादी भन्ने सरकारले जस्तो रवैया प्रस्तुत गरेको छ, त्यसले अपराधको रेखा छुन आँटेको छ। यसै शिलशिलामा, सरकारले देखाएको दम्भ र अमानवीय बल प्रयोग निन्दनीय छ। वर्तमान स्थिति आउनमा अहिलेका सत्ताधारी दलहरू जति जिम्मेवार छन् त्यत्ति नै जिम्मेवार प्रमूख प्रतिपक्षी नेपाल काँग्रेस पनि छ। उदारीकरणका नाममा कसिलो नियमन विना नै शिक्षा र स्वास्थ्यजस्ता अत्यन्तै गम्भीर र संवेदनशील विषयलाई निजीकरण गरेर त्यसलाई नाफा-खोर व्यापारीहरूको हातमा पुर्याउने कार्यमा विगतमा नेपाली काँग्रेसको सरकारको प्रमूख भूमिका थियो। अहिले नेपाली काँग्रेस पानीमाथिको ओभानो बन्न खोज्नुको कुनै अर्थ छैन। डा केसीका १५ मध्ये ७ वटा अनसन नेपाली काँग्रेस नेतृत्वकै सरकारको पालामा भएका थिए र सबैभन्दा लामो २३ दिनको अनसन पनि नेपाली काँग्रेसकै शेरवहादुर देउवाको प्रधानमन्त्रीत्व कालमा भएको थियो। ‘कल्याणकारी लोकतन्त्र’लाई पार्टीको मूल दर्शनका रूपमा अपनाएको विवेकशील साझा पार्टी, शिक्षा र स्वास्थ्य क्षेत्र राज्यको दायित्व हो भन्नेमा विश्वास गर्दछ। विवेकशील साझा सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस दुबैलाई शिक्षा र स्वास्थ्य राज्यको दायित्व हो भन्ने स्विकार्न चुनौति दिन्छ। र, त्यसतर्फको प्रारम्भिक कदमका रूपमा डा केसीले विपन्न नेपालीले पनि चिकित्सा शिक्षा र सेवामा पहुँच पाउनु पर्छ भनि राखेको माग पुरा गर्न आह्वान गर्दछ। नेपाल कम्युनिस्ट पार्टी सरकारमा रहेकोले हाललाई त्यसको मूख्य दायित्व उनीहरूमैं निहित रहन्छ तर कम्युनिस्ट पार्टीजस्तै आफूलाई समाजवादी भन्ने नेपाली काँग्रेस पनि सो दायित्वबाट भाग्न सक्दैन। डा केसीको जीवन तलमाथि भएको खण्डमा मूलरूपमा सत्ताधारी दल र विगतमा उनका मागहरू सम्बोधन गर्न नसक्ने प्रमूख प्रतिपक्षी दल एकजना सत्याग्रहीको जीवन समाप्त पारेको दोषबाट मुक्त हुने छैनन्।
विधेयकमा सहमति भएन, संसद् बैठक एक हप्ता पछि सर्यो
काठमाडौं । चिकित्सा शिक्षा विधेयकमा सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलबीच सहमति हुन नसक्दा प्रतिनिधिसभाको बैठक एक हप्ता पछि सरेको छ । सत्तारुढ दल नेकपाले विधेयक माथेमा प्रतिवेदनको भावनाअनुसार नै संसद्मा प्रस्तुत भएको दावा गरेको छ भने प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले विधेयक आफ्नो सरकारको पालामा जारी भएको अध्यादेशको भावनाअनुरुप नभएको भन्दै संसद्मा पेश गर्नसमेत दिएको छैन । तर, सदनको आजको बैठकको दैनिक कार्यसूचीमा चिकित्सा शिक्षा विधेयक २०७५ प्रस्तुत गर्ने कार्यक्रम थिएन । दैनिक कार्यसूचीमा सो विधेयक प्रस्तुत गर्ने कार्यक्रम नहुँदा पनि संसद्को बैठक बस्न सकेन । आजको दैनिक कार्यसूचीमा अर्थमन्त्री डा युवराज खतिवडाले बीमा विधेयक, २०७५ प्रस्तुत गर्ने कार्यक्रम रहेको थियो । रासस
मनकामना र भालेश्वरपछि अब २५ स्थानमा केबलकार बन्दै
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा केबलकार निर्माणका लागि आवेदन दिने क्रम पछिल्लो समयमा बढेको छ ।मुलुकका २५ भन्दाबढी स्थानमा केबलकार निर्माणका लागि त्यस्तो आवेदन परेको हो । मन्त्रालयले अध्ययन अनुमति दिने कानूनी प्रावधान छ । सहज यातायात सञ्जालको विकास तथा विस्तार गर्ने र पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्ने लक्ष्यका साथ पछिल्लो समयमा केबलकार निर्माणका लागि चासो व्यक्त गर्दै निर्माणमा जाने समूह तथा लगानीकर्ता समेत बढेका हुन् । मन्त्रालयका अनुसार दुर्गम क्षेत्रमा सहज यातायात सञ्चालनका लागि केबलकारको माग गर्दै आउने संख्या पछिल्लो दिनमा बढ्दै गएको छ । मनकामना दर्शन प्रालिले मनकामनामा केबलकार निर्माण गरेपछि नेपालमा केबलकारको युग शुरु भएको हो । मनकामनामा केबलकार चलेको लामो समयपछि मात्रै राजधानीमा चन्द्रागिरिमा केबलकार सञ्चालनमा आएको छ । देशका एक दर्जनभन्दा बढी स्थानमा केबल निर्माण भइरहेको छ । दोलखाको कालिञ्चोक, पोखराको फेवातालदेखि सराङकोट र पाथीभरामा केबलकार निर्माणको प्रक्रिया अगाडि बढिसकेको छ । मन्त्रालयका सिनियर डिभिजनल इञ्जिनियर ध्रुवकुमार श्रेष्ठका अनुसार पछिल्लो समयमा केबलकार निर्माणका लागि भन्दै अध्ययन अनुमति माग्ने समूह बढ्दै गएको छ । पाथीभरा मन्दिरसम्म पुग्नका लागि त्रिवेणी केबलकार प्रालिले प्रारम्भिक वातावरण अध्ययनको काम सम्पन्न गरेर इञ्जिनियरिङको काम गरिरहेको छ । सोही स्थानमा हिमाल दर्शन प्रालि र पाथीभरा देवी दर्शनले पनि अध्ययन गरिरहेको छ । यस्तै भक्तपुरको सूर्यविनायकमा लिक सेवा र बूढानीलकण्ठदेखि शिवपुरी डाँडासम्म त्रिवेणी केबलकार प्रालिले अध्ययन अनुमति मागेको छ । मौलाकालिका डेभलपमेन्ट प्रालिले देवघाटदेखि मौलाकालिकासम्म केबलकार अध्ययनको अनुमति मागेको छ । दिव्य दर्शन प्रालिले मुक्तिनाथ मन्दिर, स्वर्गद्वारी र पाथीभरामा पनि केबलकार निर्माणका लागि चासो व्यक्त गरेको छ । यस्तै सोलुखुम्बुको लुक्लामा सगरमाथा रोपवे प्रालिले अध्ययन गरिरहेको छ । डोटीको ठूलाकेदार, नुवाकोटको घ्याङफेदी गोसाइँकुण्ड केबलकार, इलाम पाथीभरा दर्शन र सर्वसिद्धीधाम पञ्चकोट बाग्लुङमा पनि प्रक्रिया शुरु भएको छ । लुक्लादेखि नाम्चेसम्म केबलकार र रोपवे दुवै सेवा दिने गरी अध्ययन भइरहेको छ । काठमाडौँ उपत्यकाको बोहोराटार–नागार्जुन डाँडा जामाचोमा पनि अध्ययनका लागि स्वीकृति मागिएको छ । नागार्जुन केबलकार प्रालिले अध्ययन अनुमति मागेको मन्त्रालयले जनाएको छ । त्यस्तै मुक्तिनाथ दर्शन प्रालिले पोखराको वीरेठाँटीदेखि कागबेनी हुँदै रानीपौवा मुक्तिनाथ मन्दिरसम्म पनि केबलकार निर्माणका लागि अध्ययन अनुमति माग्दै मन्त्रालयमा आवेदन दिएको छ । सो केबलकार निर्माणका लागि आवश्यक सहजीकरणको काम लगानी बोर्डले गरिरहेको छ । बोर्डका प्रवक्ता उत्तमभक्त वाग्लेका अनुसार विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० तयारीका लागि अनुमति दिइएको हो । करीब १८ महिनाभित्र डिपिआर तयार पार्ने गरी मुक्तिनाथ दर्शन प्रालिलाई अनुमति दिइएकोछ । यस्तै नवलपरासीको रानीतालदेखि मौलाकाली मन्दिरसम्म केबलकार निर्माणका लागि दुईवटा प्रस्ताव आएको छ । वातावरणीय प्रभाव मूल्यांकनका लागि अनुमति मागिएको मन्त्रालयले जनाएको छ । उता प्यूठानको घण्टीखोलादेखि स्वर्गद्वारी मन्दिरसम्म केबलकार निर्माणका लागि स्वर्गद्वारी दर्शन प्रालिले अनुमति मागेको छ । ललितपुरको गोदावरीदेखि फूल्चोकीसम्म केबलकार निर्माणका लागि सिद्धेश्वर पर्यटन सहकारी र युवा जागरण पर्यावरणीय मञ्चले अध्ययन अनुमति मागेको छ । यस्तै मनकामना दर्शन प्रालिले कास्की पुम्दी भुम्दीमा एक किलोमिटर लामो केबलकार निर्माणका लागि अध्ययन अनुमति मागेको छ । मन्त्रालयका अनुसार रसुवाको गोसाइँकुण्डसम्म पुर्याउने गरी चारवटा प्रस्ताव आएको छ । त्यसमा ११।८ किलोमिटर लामो धुञ्चे गोसाइँकुण्ड, १६।८ किलोमिटर लम्बाइको दुप्चेश्वर बतासकुण्ड, १०।८ किलोमिटर लम्बाइको यार्सा–बतासकुण्ड र ११।२५ किलोमिटर लम्बाईको चेघ्याङ– सूर्यकुण्डको प्रस्ताव परेको छ । यस्तै लम्की चुहा कैलालीदेखि मोहन्याल नगरपालिका– ३ सम्म जोड्ने ३।१५ किलोमिटर लामो केबलकार निर्माणका लागिसमेत अध्ययन प्रस्ताव प्राप्त भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका सिनियर डिभिजनल इञ्जिनियर श्रेष्ठले केबलकार निर्माणका लागि आफूहरुले अध्ययन अनुमति दिने र वातावरणीय प्रभाव मूल्यांकनका लागि मात्रै सहजीकरण गरिदिने बताए। उनले प्राप्त भएका आवेदनलाई हेरेर आवश्यक निर्णय गर्ने भएकाले मन्त्रालयले आवश्यक काम गरिरहेको जानकारी दिए। केबलकार निर्माणका लागि गाउँपालिकाले नै पहल गरिरहेको जानकारी दिँदै गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कईसाङ नोर्बु तामाङले भने, “हामी सार्वजनिक निजी साझेदारीमा गोसाइँकुण्ड जाने तीर्थयात्रीलाई सहज सेवा दिन लागेका छौँ ।” उनी स्थानीय, प्रदेश र केन्द्रीय सरकारले पनि सो केबलकार निर्माणमा आवश्यक सहजीकरण गरिरहेको र छिट्टै परिणाम प्राप्त हुने विश्वास व्यक्त गर्छन्। हाल सो केबलकारको विस्तृत परियोजना प्रतिवेदन बनाउनेलगायत अन्य काम जारी रहेको छ । गोसाइँकुण्ड गाउँपालिकाको प्रस्तावअनुसार धुञ्चेदेखि भैरवकुण्डसम्म केबलकार निर्माण हुनेछ । नेपालका केबलकार निर्माणका लागि विगतदेखि नै काम गर्दै आउनुभएका रोपवे नेपालका अध्यक्ष गुणराज ढकाल सरकारले नीतिगतरुपमा नै प्रष्ट व्यवस्था गरेर सहजीकरण गरिदिनुपर्ने बताउँछन् । विगतमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले केबलकारको निर्माणको अनुमति दिने गरेको थियो । पछिल्लो समय भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमार्फत काम हुने गरेको छ । रोपवे नेपालले बन्दीपुर, मौलाकालिका, लुक्ला, बुटवलदेखि पाल्पाको मणिमुकुन्द सेनको दरबारसम्म जाने केबलकार निर्माणका लागि आवश्यक सहजीकरण गरिरहेको छ । नेपालमा विशेष गरी स्वीटजरल्याण्ड, अष्ट्रिया, भारत र जर्मनीको प्रविधि भित्र्याउने गरिएको छ । सरकारले आर्थिक विकासको आधारका रुपमा पर्यटन क्षेत्रलाई राखेको सन्दर्भमा पर्यटक आकर्षणका लागि केबलकार निर्माणलाई विशेष प्राथमिकतामा राख्नुपर्ने अध्यक्ष ढकालको भनाइ छ । यातायातको पहुँच पुर्याउन मुलुकको पहाडी तथा हिमाली क्षेत्रका केबलकार तथा रोपवेलगायतलाई विशेष प्राथमिकतामा राख्नुपर्ने आवश्यकता देखिएको छ । रासस
२५ अर्ब ६० करोडको हकप्रद सेयर निष्कासन, हेर्नुस कुन कम्पनीको कति (सुचिसहित)
काठमाडौं । गत आर्थिक वर्षमा नियामक निकायबाट विभिन्न ५५ कम्पनीले पुँजी बढाउनका लागि हकप्रद सेयर निष्कासन गर्न अनुमति पाएका छन् । नेपाल धितोपत्र बोर्डले २५ अर्ब ६० करोड ४१ लाख रुपैयाँ बराबरको २५ करोड ६० लाख ४१ हजार कित्ता हकप्रद निष्कासन गर्न अनुमति दिएको हो । यी मध्य अधिकाँशले निष्कासन गरिसकेका छन् । भरखरै अनुमति पाएकाले निष्कासनको तयारी थालेका छन् । सुचि हेर्न यहाँ क्लिक गर्नुहोला हकप्रद सेयर निष्कासन गर्नेमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी मात्र छन् । बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीले चुत्तापुँजी बढाउन साविकका सेयरधनीलाई हकप्रद सेयर निष्कासन गरेका हुन् । अधिकाँश बैंक तथा वित्तीय संस्थाको न्युनतम चुत्तापुँजी पुगिसकेकाले आगामी वर्षदेखि हकप्रद सेयर निष्कासन कम हुने देखिएको छ । धेरै हकप्रद सेयर निष्कासन गर्नेमा मेगा बैंक, सिभिल बैंक, कुमारी बैंक, नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंक, सिद्धार्थ बैंक र प्रभु बैंक रहेका छन् । यस्तै प्राइम लाइफ इन्स्योरेन्स कम्पनी, नेसनल लाइफ, एसियन लाइफ इन्स्योरेन्स कम्पनी लगायत ५५ कम्पनीले अनुमति पाएका हुन् । हकप्रद सेयर निष्कासन भएपनि अधिकाँशको बिक्री नभएपछि पटक पटक लिलामी गरिएको थियो । पछिल्लो समयमा १०० रुपैयाँका हकप्रद सेयर बिक्री हुन छाडेको छ ।
छोरी जन्माएको भन्दै घर निकाला, घर फिर्ता आए १० लाख ल्याउनुपर्ने
इनरुवा । सुनसरी जिल्लाको दुहबी नगरपालिका-६ कि राधा साह छोरी जन्मिएकोमा दुई वर्षदेखि घरेलु हिंसाबाट पीडित भएका छन् । सुनसरीको इटहरीमा पत्रकार सम्मेलन गरेर साहले आफू छोरी जन्माएकै कारण घरबाट निकाला भएको र अपहेलितसमेत भएको बताए । उनले छोरी जन्मिएका कारण श्रीमान् र घरपरिवारबाट अपहेलित हुँदै अहिले माइतमा बस्न बाध्य भएको बताए । साहले २०७२ सालमा २० वर्षको उमेरमा रामधुनी नगरपालिका-३, प्रिपाहका २४ वर्षीय गोपाल साहसँग विवाह गरेका थिए । विवाहपछि छोरी जन्मिएको भन्दै श्रीमानले कुटपिट गर्ने गरेको र घरबाट निकालेको पीडित साहले पत्रकार सम्मेलनमा बताएका छन् । दुई वर्षदेखि दुहबीमा रहेकी आमाको घरमा बस्दै आएको बताउँदै साहले घर फिर्ता आए १० लाख रुपैयाँ लिएर आउनुपर्ने माग श्रीमानले गरेको बताए । आफू पीडित भएर पनि सम्बन्धित निकायले न्याय र चासो नदिएका कारण बाध्य भएर पत्रकार सम्मेलन गर्नुपरेको पीडित साहले बताएका छन् । दुई वर्षकी छोरीसहित पत्रकार सम्मेलनमा उपस्थित भएकी साहले आफू अन्यायमा परेको भन्दै दुहबी नगरपालिकाको न्यायिक समितिमा निवेदन दिए पनि सुनुवाइ नभएको गुनासो गरेका छन् । आफू छोरी जन्माएकै कारण श्रीमान् र घरपरिवारबाट अलग भएकोमा उनले दुःख व्यक्त गरेका छन् । उनले श्रीमानसहित ससुरा ललित साह तथा सासु छिनादेवी साहले घरबाट निकालेको र घरमा फिर्ता आए १० लाख रुपैयाँ ल्याउन पटक पटक दबाब दिएको बताए । पीडित साहले श्रीमानकै घरमा बस्न पाउनुपर्ने मागसमेत गरेका छन् । रासस