सहकारीको पूँजी उत्पादनमूलक क्षेत्रमा, जग्गाको खण्डकीकरण रोकिने छ: मन्त्री अर्याल
पोखरा । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले सहकारीमा संकलित पूँजीलाई उत्पादनमूलक क्षेत्रमा लगानी गरिने बताएकी छिन् ।अनलाइन पत्रकार संघ कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले सहकारीको समग्र व्यवस्थापन गर्न आवश्यक कानून निर्माणको तयारी भइरहेको जानकारी दिइन। महिला र युवालाई लक्ष्य गरी उद्यमशीलताको विकास गर्नु आवश्यक भएको उनको भनाइ थियो । मन्त्री अर्यालले उपलब्ध साधन स्रोतको उपयोग गर्दै स्वरोजगारका कार्यक्रम अघि बढाउन सकिने बताए।“सहकारीमा संकलित सानो पूँँजी समाजको आर्थिक समुन्नतिका लागि महत्वपूर्ण माध्यम बनेको छ,” उनले भनिन्, “यसबाट आपसी समझदारी एवं सामूहिक भावनाको विकास हुँदै गएको छ ।” स्थानीय तह र सहकारीबीच समन्वय आवश्यक भएको औल्याउँदै उनले व्यवहारिकताका आधारमा सहकारीका लागि कर निर्धारण गर्नुपर्ने बताइन। जग्गाको खण्डीकरणलाई निरुत्साहित गर्दै उत्पादनशील बनाउन आवश्यक रहेको उनको भनाइ थियो । रासस –––
अमेरिकी प्रतिबन्धका कारण रुसी मुद्राको भारी अवमूल्यन, सेयर बजार पनि घट्यो
मास्को । अमेरिकाले रुसविरुद्ध घोषणा गरेको पछिल्ला आर्थिक प्रतिबन्धका कारण अमेरिकी डलरको तुलनामा रुसी मुद्रा रुबल दुई वर्षयता सबैभन्दा बढी अवमूल्यन भएको छ । बेलायतमा बस्दै आएका एकजना पूर्व रुसी जासुसमाथि स्नायू प्रणालीमा असर पार्ने घातक आक्रमण गरेको विरोध स्वरुप अमेरिकाले प्रतिबन्धहरु घोषणा गरेको हो । वासिङ्टनको दण्डात्मक कारबाहीका कारण बिहीबार बिहान अमेरिकी डलरको तुलनामा रुबलको मूल्य ६६.४८ पुगेको छ । यो मूल्य नोभेम्बर २०१६ यताकै सबैभन्दा कम हो । अमेरिकी प्रतिबन्धको असर रुसी सेयर बजारमा पनि परेको छ । रुसी स्टक एक्सचेन्ज ३.२ प्रतिशतले घटेको छ भने मोएक्स इन्डेक्स झण्डै १.२ प्रतिशतले तल झरेको छ । रुसी बैंकहरुको सेयर पनि ओरालो लागेको छ । राज्य सञ्चालित स्बरबैंकको सेयर ४.७ बिन्दुले घटेको छ । अमेरिकी विदेश मन्त्रालयले बुधबार मात्र नयाँ प्रतिबन्धहरुको घोषणा गरेको थियो । बेलायतमा बसोबास गरिआएका बेलायती नागरिक सर्गेई स्क्रीपाल र उनकी छोरी युलियामाथि गत मार्च महिनामा रुसी जासुसहरुले नोभिचोक नामको स्नायूप्रणालीमा असर पार्ने एजेन्टले आक्रमण गरेका थिए । अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गरी रासायनिक वा जैविक हतियार प्रयोग गरेको देखिएकोले रुसमाथि यस्तो कारबाही गर्नु परेको हो, अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता हिथर नर्टले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । प्रतिबन्ध अन्तर्गत “राष्ट्रिय सुरक्षा संवेदनशील” अमेरिकी प्रविधिहरु रुसलाई बेच्न पाइने छैन । यस्ता प्रविधिहरुमा विद्युतीय उपकरणहरुका साथै क्यालिब्रेसन उपकरणहरु रहेका छन् । विगतमा यस्ता उपकरणहरु निर्यात गर्न दिइएको थियो । रुसले युक्रेनमाथि गरेको व्यवहारका कारण लागेको अन्तर्राष्ट्रिय प्रतिबन्ध तथा त्यही वर्ष तेलको मूल्यमा आएको भारी गिरावटका कारण रुसको अर्थतन्त्र सन् २०१४ को अझै तङ्ग्रिन सकेको छैन । दुई वर्षको आर्थिक संकटपश्चात सन् २०१७ बाट रुसको अर्थतन्त्र सही बाटोमा आएको थियो । यसैबीच, अमेरिकाले लगाएको प्रतिबन्ध अस्वीकार्य रहेको भन्दै रुसले आपत्ति जनाएको छ, तर अमेरिकासँगको सम्बन्ध रचनात्मक दिशातर्फ उन्मूख हुने अपेक्षा गरिएको छ । “अमेरिकाले लगाएको नयाँ प्रतिबन्ध गैरकानुनी छ, यो अस्वीकार्य पनि छ,” क्रेमलिनका प्रवक्ता डिमित्री पेस्कोभले बताए । एफपी÷रासस
२६०० परिवारद्वारा स्वास्थ्य बीमा
म्याग्दी । डेढ वर्षको अवधिमा जिल्लाका २ हजार ६०० परिवारले स्वास्थ्य बीमा गराएका छन् । विपन्न र गरीब समुदायका नागरिकको गुणस्तरीय स्वास्थ्य उपचार सेवामा पहुँच बढाउने उद्देश्यले सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले २०७३ पुस १३ देखि जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम शुरु गरेको हो । यस क्रममा ११ हजार ७३० जनाले स्वास्थ्य बीमा गराएको समितिको बेनीस्थित कार्यालयले जनाएको छ । अघिल्लो आवमा बीमा गरेका ६ हजार २९६ जनाले नविकरण गरेका छन् । आव २०७४/७५ मा ५ हजार ४३४ जनाले स्वास्थ्य बीमा गराएका थिए । बीमा गरेकाहरुले ९ हजार ३२३ पटक सो सेवा लिएका छन् । बेनी अस्पताल, दरवाङ प्राथमिक स्वास्थ्य केन्द्र, धौलागिरि अञ्चल अस्पताल बागलुङले सिफारिश गरेमा बिमा गराएका नागरिकले सूचीकृत भएका मुलुकका विभिन्न अस्पतालबाट स्वास्थ्य सेवा पाउने व्यवस्था छ । पाँच जनासम्मको परिवारले वार्षिक रूपमा प्रतिपरिवार २ हजार ५०० तिर्नुपर्ने र परिवारका सदस्य ५ भन्दा बढी भएमा प्रतिसदस्य ४२५ का दरले थप शुल्क तिरेर एक वर्षका लागि स्वास्थ्य बीमामा आवद्ध हुन सक्नेछन् । पाँच जनाको परिवारका लागि प्रतिपरिवार वार्षिक ५० हजार रुपैयाँसम्मको स्वास्थ्य सेवा पाइने तथा पाँचभन्दा बढी सदस्य भएमा १ लाख रुपैयाँसम्मको सेवा पाउने प्रावधान छ । कार्यक्रमबाट बीमाकर्ताले बहिरंग, प्रसूति, एक्सरे, प्रयोगशाला, घाउ चिरफार, टाँका सिलाइ, अल्ट्रासाउन्ड, इन्डोस्कोपी, फिजियोथेरापी, मधुमेह, आँखाको उपचारलगायत ३२ किसिमका स्वास्थ्य सेवा पाउनेछन् । वडास्तरमा खटिएका दर्ता सहयोगीमार्फत स्वास्थ्य बीमा गराउन सकिन्छ । जिल्लामा ४३ दर्ता सहयोगी परिचालित छन् । रासस
संचय कोषले ६ लाख संचयकर्ताको स्वास्थ्य बीमा सित्तैमा गरिदिने, भदौदेखि कार्यान्वयन ल्याउने तयारी
काठमाडौं । कर्मचारी संचय कोषले भदौदेखि ६ लाख संचयकर्ताको स्वास्थ्य बीमा सित्तैमा गरिदिने भएको छ । कोषले वार्षिकोत्सवको अवसर पारेर संचयकर्ताको स्वास्थ्य बीमा योजना सार्वजनिक गर्ने भएको हो । भदौ अन्तिम साता कोषको वार्षिकोत्सव रहेको छ । वार्षिकोत्सवका अवसर पारेर संचयकर्तालाई दिने स्वास्थ्य बीमा योजना सार्वजनिक गर्ने तयारी भइरहेको कोषका प्रशासक तुल्सी गौतमले बताए । उनले स्वास्थ्य बीमाका लागि काम भइरहेको सुनाए । कोषले सरकार स्वामित्वको राष्ट्रिय बीमा कम्पनी लिमिटेडमा संचयकर्ताको स्वास्थ्य बीमा गर्ने भएको छ । राष्ट्रिय बीमा सरकारी कम्पनी भएकाले उसैसंग बीमा योजना हुने उनको तर्क छ । संचयकर्ताको स्वास्थ्य बीमामा कोषले वार्षिक ६० करोड रुपैयाँ लगानी गर्ने भएको छ । एक जनालाई न्युनतम ५०० देखि अधिकतम १ हजार रुपैयाँ बीमा शुल्क लाग्ने अनुमान कोषले गरेको छ । कोषको आफनै आम्दानीबाट संचयकर्ताको बीमा गरिदिन लागेको हो । स्वास्थ्य बीमामा सबै रकम कोषले व्योहर्ने र संचयकर्ताको दायित्व नहुने भएको छ । “कोषले संचयकर्तालाई औषधी उपचार सुविधा दिइरहेको छ । यसलाई अझ व्यवस्थित गरी बीमामार्फत उपचार खर्चको व्यवस्था मिलाउन लागिएको हो” उनले भने । ठुला र जटिल रोग लागेकालाई उपचार खर्चमा राहत हुने उनको भनाई छ । रोगको प्रकृतिअनुसार क्षतिपूर्ति रकम फरक हुने छ । यो योजनाअन्र्तगत गम्भीर प्रकृतिको रोग लागेकालाई प्रतिकर्मचारी न्युनतम ८ लाखदेखि १० लाखसम्म उपचार बीमाबाट हुने व्यवस्था मिलाउन लागेको हो । यस्तै दुर्घटना बीमा न्युनतम ३ देखि ५ लाख र औषधी उपचार खर्च १ देखि २ लाख रुपैयाँसम्मको ब्योहर्ने गरी स्वास्थ्य बीमा योजना कार्यन्वयन गर्न लागेको हो । कोषले अहिले पनि संचयकर्तालाई औषधी उपचार खर्च दिदै आएको बताउदै उनले अब बीमाबाट ब्योहर्ने किसिमले आउन लागेको स्पष्टपारे । दुर्घटना क्षतिपुर्ति, औषधी उपचार र प्रसुति उपचारका लागि कोषले पैसा दिदै आएको छ ।
बंगलादेशका उर्जा राज्यमन्त्रीद्वारा चन्द्रागिरिको भ्रमण
चन्द्रागिरि । बंगलादेशका बिजुलीको लागि राज्य, ऊर्जा र खनिज संसाधनमन्त्री नर्सुल हमिद सहितको टोलिले चन्द्रागिरिको भ्रमण गरेका छन् । चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष एवम् नेपालउद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले हमिदलाई स्वागत गर्दै परियोजनाको स्थलगत भ्रमण गराएका थिए । भ्रमणमा हमिदले प्राकृतिक सौन्दर्यताले भरिपूर्ण चन्द्रागिरि पर्वतमाअति नै राम्रो परियोजना निर्माण भएको बताएका छन् । भ्रमणका क्रममा हमिदले कम्पनीका अध्यक्ष ढकाललाई परियोजनाको सफलताको शुभकामना व्यक्त गरेका छन् ।
अब महालक्ष्मी विकास बैंकबाटै प्रभु लाइफको इन्स्योरेन्स सेवा पाइने
काठमाडौं । अब महालक्ष्मी विकास बैंकबाटै प्रभु लाइफ इन्स्योरेन्सको सेवा पाइने छ । बिहीबार दुई कम्पनीबीच भएको बैंकास्योरेन्स सम्झौता अनुसार प्रभु इन्स्योरेन्सका ग्राहकले महालक्ष्मी विकास बैंकबाटै सम्पूर्ण बीमा सेवा पाउने भएका छन् । उक्त सम्झौतामा प्रभु लाइफ इन्स्योरेन्सका निमित्त प्रमुख कार्यकारी अधिकृत किशोरप्रसाद लामिछाने तथा महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले हस्ताक्षर गरेका छन् । अब जीवन बीमाको प्रिमियम महालक्ष्मी बिकास बैंक मार्फत समेत बुझाउन सकिने छ । प्रभु लाइफ इन्स्योरेन्सले केही समयमै थप शाखाहरु विस्तार गर्दे लैजाने लक्ष्य लिएको छ । दुई अर्ब चुक्ता पूँजी रहेको प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडमा संस्थापक सेयरधनीले १ अर्ब ४० करोड रुपैयाँ लगानी गरेका छन् । कम्पनीले निकट भविष्यमा बाँकी ६० करोड रुपैयाँ बराबरको साधारण सेयर जारी गर्ने बताएको छ ।
नेपाल बङ्गलादेश बैंक र सगरमाथा इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता
काठमाडौं । नेपाल बङ्गलादेश बैंक र सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्स सेवा सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौतामा बैकको तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रभुषण श्रेष्ठ तथा इन्स्योरेन्सका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत एसके रावलले हस्ताक्षर गरेका छन् । यस सम्झौता पश्चात बैकका सम्पुर्ण ग्राहकहरुले बैंकका सम्पूर्ण शाखाबाट निर्जीवन बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सक्नेछन् ।
जनता बैंकको इन्टरनेशनल रेमिट्यान्स सेवा शुरु, विदेशबाट पैसा पठाउन सजिलो
काठमाडौं । जनता बैंक नेपाल लिमिटेडले इन्टरनेशनल रेमिट्यान्स सेवा सञ्चालनमा ल्याएको छ । उक्त सेवा मार्फत बैंकले अबदेखि विदेशमा रहेका ग्राहकहरुले समेत सहजै जनता रेमिटबाट रेमिट्यान्स सेवा उपयोग गर्न सक्नेछन् । बहराइनको बेक्स मनी बहराइन एक्स्प्रेस एक्स्चेन्ज र जनता बैंक नेपालबीच उक्त सेवा सञ्चालन गर्ने सम्बन्धी भएको हो । सम्झौताअनुसार अब बहराइनमा रहेका नेपालीहरुले जनता रेमिट मार्फत जनता बैंकमा रहेको खातामा रकम पठाउन सक्नेछन् । खाताबाट कारोवार गर्नको लागि बेक्स मनी बहराइनमा रहेको कुनै पनि शाखामा सम्पर्क गरी जनता बैंकमा खाता खोल्न र चेक बुक तथा एटीएम कार्ड प्राप्त गरी करोबार गर्न सक्नेछन् । बहराइनबाट जनता रेमिटमार्फत पठाइएको रकम जनता बैंकको जुनसुकै शाखाकाे सम्सारा रेमिट, आईपे रेमिट, बूम रेमिट, जिएमई रेमिट र सेवा रेमिटबाट समेत भुक्तानी लिन सक्नेछन् । जनता रेमिट सेवा निकट भविष्यमै भारत, मलेशिया, जापान, कुवेत, कतार, ओमान र यूएईबाट समेत शुरु गरिनेछ । जनता बैंकले हाल १२१ शाखा सञ्जाल, ४० शाखा रहित बैंकिङ्ग, २ सिमित बैंकिङ्ग ईकाइ, २ एक्सटेन्सन काउन्टर र ७० एटिएमबाट सरल र सहज रुपमा बैकिङ्ग सेवा प्रदान गरिरहेको छ ।