सिक्टा नहरमा अख्तियारको प्रवेश, ठेकेदारेमाथि कार्वाही होला ?
काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिक्टा सिँचाइ आयोजनाको मूल नहर पटकपटक भत्किएको विषयमा छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको छ । नहरको गुणस्तरमाथि नै प्रश्न उठेको भन्ने विषयमा विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचारप्रति आयोगले गम्भीरताका साथ ध्यानाकर्षण भएको उल्लेख गर्दै यस विषयमा छानबिनका लागि आयोगका सहसचिवको नेतृत्वमा समिति गठन गरिएको आयोगका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए। सो आयोजना निर्माणमा हालसम्म भएको काम कारवाहीको विषयमा यसअघि आयोगबाट भइरहेको अनुसन्धान कार्यलाई समेत एकीकृत गरी विस्तृत अनुसन्धानको कार्यलाई तीव्रता दिइएको आयोगले जनाएको छ । अध्ययन समितिले स्थलगत अध्ययन गरेको र विस्तृत अनुसन्धानको कार्य अगाडि बढाइसकेकोसमेत प्रवक्ता दंगालले जानकारी दिए । रासस
सरकारको मातहतमा रहेर युवाको क्षेत्रमा काम गर्ने पहिलो संयन्त्र परिषद नै होः उपाध्यक्ष ढुंगेल
काठमाडौं । राष्ट्रिय यूवा परिषदका कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेलले यूवाहरुको नेतृत्व विकास, उद्यमशिलता, सुरक्षा र रोगजारीका क्षेत्रमा आफूहरुले उचित प्रतिफल दिएको दाबी गरेका छन् । राजधानीमा अन्तर्राष्ट्रिय यूवा दिवस–२०७५ का बारेमा जानकारी दिनको लागि राष्ट्रिय यूवा परिषदले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष ढुङ्गेलले यस्तो दाबी गरेका हुन । उनले भने,‘नेपाल सरकारको मातहतमा रहेका काम गर्ने संयन्त्रमध्ये हाम्रो परिषद पहिलो हो, स्थापना भएको तीन वर्षमा लागत र भौतिक परिणामलाई आधार मानेर हेर्ने हो भने हामीले काम गरेका छौं, यो हाम्रो दाबी हो ।’ उनले अघि थपे,‘यूवाका लागि सुरक्षित वातावरण’ भन्ने मुल नाराकासाथ हामीले राजधानीमा यूवामैत्री अन्तर्राष्ट्रिय यूवा दिवस मनाउँदैछौं, सबैलाई यस कार्यक्रममा भाग लिनको लागि हार्दिक आग्रह गर्दछौं ।’ त्यस्तै कार्यक्रममा राष्ट्रिय यूवा परिषदकी कार्यकारी सदस्य तथा अन्तर्राष्ट्रिय यूवा दिवस–२०७५ को कार्यदलको संयोजक भावना भट्टले अन्तर्राष्ट्रिय यूवा दिवस २०७५ को सम्पूण तयारी पूरा भएको जानकारी दिएकी छिन्। अन्तर्राष्ट्रिय यूवा दिवस २०७५ लाई भव्य रुपमा सम्पन्न गर्न यूवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार (विश्वकर्मा) को अध्यक्षतामा १०१ सदस्यीय मुल आयोजक समिति बनेको छ । जुन समितिमा राजनीतिक र अन्य क्षेत्रका व्यक्तिहरुको उपस्थिति रहने आयोजकले जनाएको छ । ८ सय जना यूवा उद्यमीहरुको उपस्थिति रहने उक्त कार्यक्रममा विभिन्न झाँकी, साँस्कृतिक, कला, साहित्यलगायत विभिन्न कार्यक्रमहरु गरिनेछन् । अन्तर्राष्ट्रिय यूवा दिवस कार्यक्रम साउन २४ देखि ३० सम्म साताव्यापी रुपमा नेपालका ७७ वटै जिल्लामा मनाईने आयोजकले जानकारी दिएको छ । पत्रकार सम्मेलनमा परिषदका उप–सचिव तथा सूचना अधिकृत ध्रुवराज पौडेल, परिषदका निमित्त प्रशासकीय प्रमुख कर्णबहादुर भुवाजी र यूवा तथा खेलकुद मन्त्रालयका उप–सचिव तथा सूचना अधिकारी महेन्द्र पौडेल लगायतको उपस्थिति रहेको थियो । सन् २०१० को विश्व यूवा विकास सूचांकमा नेपाल १ सय ४५ औं स्थानमा रहेको थियो भने सन् २०१६ मा केवल ७७ औं स्थानमा उक्लिएको छ ।
लगानीकर्तालाई साक्षी राखेर धितोपत्र बोर्ड र नेप्सेका हाकिम घोचपेचमा उत्रिए
काठमाडौं । शुक्रबार नेपाल धितोपत्र बोर्डले आयोजना गरेको धितोपत्र तथा वस्तु विनिमय बजार सम्बन्धी प्रशिक्षण कार्यक्रमको उद्घाटन कार्यक्रम थियो । १ः ३० बजेट तोकिएको कार्यक्रम ढिलो गरि अर्थात २ बजेपछि मात्रै सुरु भयो । कार्यक्रम सुरु भएपछि मात्रै आईपुगे नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)का महाप्रबन्धक चन्द्रसिंह साउँद । नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्की, नेप्सेका महाप्रबन्धक साउँद, सिडिएसका कार्यकारी अधिकृत देवप्रकाश गुप्ता पहिलो लाइनमा आसन ग्रहण गरेका थिए । सँगै थिए ५० भन्दा बढि लगानीकर्ता । तीमध्ये बिभिन्न लगानीकर्ता संघका नेताहरु छोटेलाल रौनियार, उत्तम अर्याल, तारा प्रसाद फुल्लेल पनि सहभागी थिए । बोर्डका कार्यकारी निर्देशक परिष्टनाथ पौडेलले स्वागत गरेपछि बोल्ने पालो आयो नेप्सेका महाप्रबन्धक साउँदको । उनले सुरुमै बोर्डको तारिफ गरे । केहि समयभित्रै अनलाईन कारोबार सुरु हुने बताए । घर घरबाट सेयर खरिद बिक्रि गर्न सकिने दावी गरे । त्यसपछि उनले तालिमबाट सेयर बजारका लागि राम्रो प्रतिफल आओस भन्ने कामना पनि गरे । बजारमा ‘अप एण्ड डाउन’ हुन्छ भन्दै तालिमले सत्यतथ्य जानकारी दिनेछ भन्ने अपेक्षा पनि व्यक्त गरे । उनले तालिमबाट प्राप्त हुने ज्ञानले बजारमा सत्य तथ्य ज्ञान पाएर पुँजी बजारको दिगो विकासमा टेवा पुग्ने अपेक्षा राखे । उनले घुमाउरो शैलीमा बोर्डको प्रशिक्षणले लगानीकर्तामा झन त्रास आउने त होइन भन्ने संकेत गरेका थिए । बोर्डले आवश्यक समन्वय नगरेको गुनासो पनि साउँदको थियो । साउँदले बोलिसकेपछि कार्यक्रम सञ्चालक डा. नवराज अधिकारीले तुरुन्तै प्रति उत्तर दिएः ‘हामीले यो कार्यक्रम बजार सम्बद्ध सबै पक्षसँग समन्वय गरेर तय गरेका छौं, आज पनि नेप्सेको प्रस्तुति समेत रहने भनिएको थियो, पहिलो दिन भएकाले त्यो अलि सम्भव भएन्, बोर्डले नै पुँजी बजार सम्बन्धी विस्तृत कार्यपत्र पेश गरेको छ, आउँदो दिनमा साउँद सरले भने जस्तै पुँजी बजारका सम्वद्ध सबैलाई समेटेर प्रस्तुतिकरण गराउने छौं । साउँद सरले भने झै समन्वय हुनेछ, हामीले सहकार्य गर्ने उदेश्य नै राखेका छौं, यहाँले अहिले नै त्यसरी प्रस्तुत हुनुपर्ने आवश्यकता छैन, हामी सहकार्यमै छौं ।’ लगानीकर्ताका लागि तालिम दिन भनेर आयोजना गरिएको कार्यक्रममा बोर्ड र नेप्सेबिचको सम्बन्धको दरार अझै मेटिएको छैन भन्ने प्रष्ट सन्देश दिएको थियो । बोर्डका अध्यक्ष डा. कार्कीले सेयर सूचिकरणको समस्या केहि दिन भित्रै सम्बोधन हुने आश्वासन दिए । उनले बजारको आकार बढेकाले सूचिकरण शुल्क घटाउन लागेको तर नेप्सेले गुनासो गरे पनि पुनः मूल्यांकन गर्न लागिएको पनि जानकारी दिए ।
‘रानीपोखरी पुनःनिर्माण सेनालाई दिइने साँचो होइन’
काठमाडौं । काठमाडौं महानगरपालिकाले रानीपोखरी पुनःनिर्माणका लागि नेपाली सेनालाई जिम्मा दिने विषय साँचो नभएको स्पष्ट पारेको छ । कामपा भौतिक पूर्वाधार पुनःनिर्माण विभागका प्रमुख राम थापाका अनुसार केही दिनअघि पुरातत्व विभागसँग भएको बैठकमा निर्माणका क्रममा सेनाको पनि सहयोग लिने कि भन्ने विषयमा मात्र छलफल भएको हो । बाहिर आएको हल्लाजस्तो पुनःनिर्माण स्थानीय तहले गर्न नसकेर पूर्ण रुपमा सेनालाई दिने विषयमा कुरा पनि नभएको थापाले स्पष्ट पारेका हुन् । बैठकमा कामपा प्रमुख विद्यासुन्दर शाक्य पनि उपस्थित थिए । “ऐतिहासिक रानीपोखरी पुनःनिर्माणका लागि न त कामपाले सेनालाई जिम्मा दिन खोजेको छ, न सेनाले नै निर्माण गर्न इच्छा देखाएको छ, त्यसैले यो कुरा साँचो होइन । आगामी हप्तासम्म निर्माणबारे निर्णय बाहिर आइसक्छ र निरन्तर रुपमा काम अघि बढ्छ”, थापाले भने । विसं २०७२ को भूकम्पको कारण क्षति पुगेको रानीपोखरी गोरखा भूकम्प झण्डै तीन वर्ष बितिसक्दा पनि पुनःनिर्माणले गति लिन सकेको छैन । यसअघि पुनःनिर्माणका क्रममा प्रयोग भएको आधुनिक निर्माण सामग्री पनि हटाइसकिएको छ । भत्किएको नौ महिनापछि राष्ट्रपति विद्यादेवी भण्डारीले पुनःनिर्माणको शिलान्यास गरेका थिए । कामपाले म्युजिकल फाउण्टेनसहितको रमणीय पार्क बनाउने गरी उक्त पोखरीको माछा बालाजु बाइसधारा सारेको पनि दुई वर्ष बितिसक्यो । कामपाले व्यापारिक दृष्टिकोणले सोहीअनुरुप पोखरी क्षेत्रको पुनःनिर्माण शुरु गरे पनि आधुनिक निर्माण सामग्री प्रयोग गरेको भन्दै चौतर्फी विरोध आएपछि शुरु गरिएको निर्माण रोकिएको छ । सोसम्बन्धी विवाद समाधान गर्न गत पुस १३ गते गठन गरिएको विज्ञ समूहले कामपालाई प्रतिवेदन बुझाउने क्रममा प्रताप मल्लकालीन शैलीमा निर्माण गर्न कुनै समस्या नहुने सुझाव दिएको थियो । प्रताप मल्लका छोरा चक्रवर्तीन्द्रको निधनपछि रानीको चित्त बुझाउन विसं १७२७ मा रानीपोखरी निर्माण गराइएको शिलालेखमा उल्लेख छ । पोखरीका बीचमा त्यसैबेला बालगोपालेश्वर मन्दिर स्थापना गरिएको हो । पोखरीको निर्माण करीब पाँच वर्षभित्र अर्थात् नेसं ७८९ (विसं १७२६) मा सम्पन्न भएको थियो र नेसं ७९० (विसं १७२७) मा शिलापत्र राखिएको थियो जसलाई नेपाल संवत् ८११ मा न्हुरपुखुर (न्हु पुखु) भनिएको छ जसको अर्थ नयाँ पोखरी भन्ने हुन्छ । मन्दिरका बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर (वर्षमा एक दिन भाइटीका दिन मात्र खुल्ने, दिदीबहिनी नहुने दाजुभाइले दर्शन गर्नेको स्वरुप ग्रन्थकूट शैलीको थियो । यसको प्रमाण हाल मन्दिरको चारैतर्फको प्रवेशद्वारमा राखिएको ढुंगाद्वारा निर्मित संघारले पनि पुष्टि गर्छ । उक्त कुरा पुरानो मन्दिरको शैलीको स्केचबाट पनि प्रष्ट हुन्छ । पोखरीमा देशविदेशका १०८ तीर्थको जल हालिएको इतिहासकार बताउँछन् । प्रताप मल्लले पोखरीका चारैतिर चार मन्दिर स्थापना गर्न लगाएको पाइन्छ । ती मन्दिरमा उत्तर–पश्चिम कुनामा शक्तिसहितको भैरवको मन्दिर, उत्तर–पूर्व कुनामा भैरवको मन्दिर, दक्षिण–पूर्व कुनामा देवीको मन्दिर र दक्षिण–पश्चिममा सोह्रहाते गणेश छन् । रासस
संविधान कार्यान्वयन हुन भारतमा त १५ वर्ष लाग्यो, हाम्रो पनि समय लाग्छ : मन्त्री खनाल
काठमाडौं। कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ ले जथाभावी कर बढायो भनेर सरकारविरुद्ध अफवाह फैलाईएको बताएका छन् । उनले भने,‘वर्तमान सरकारले कर बढायो र जनतालाई ठूलो मारमा पार्यो भनेर अफवाह फैलाईयो । तर, बाहिर अफवाह फैलाईएकोजस्तो कर बढाईएको छैन । स्थानीय, प्रदेश र केन्द्र सरकारले छुट्टाछुट्टै कर लगाउन आँट्यो भनिएको छ, यो अफवाह मात्रै हो । यो त सरकारका बारेमा आलोचना गर्ने बहाना मात्रै हो।’ शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री खनालले जग्गाको हदबन्दी लगाउन खोज्यो भनेर तराईका मालपोत कार्यालयहरुमा जग्गा बेच्नेको भीड बढेको सुनाउँदै भने,‘सरकारले जग्गाको हदबन्दी लगाउन थाल्यो भनेर पनि जथाभावी हल्ला फैलाईएछ । ४ विघाभन्दा बढि जग्गा राख्न नपाईने भनेर हल्ला फैलाईएछ । जबकी यो विषयमा सरकारले कहीँ कतैपनि बोलेको छैन ।’ क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले सरकारले केही महिनाभित्रै जनतालाई राहतको महशुस हुनेगरि राम्रो कामहरु गर्ने सुनाए । उनले भने,‘हो, अहिले जनताको अपेक्षा अनुसार सरकारले काम गर्न सकेको छैन । तर केही राम्रा कामको सुरुवात सबै मन्त्रालयहरुले गरेका छन् ।’ सरकारले अन्तर्राष्ट्रिय सम्बन्ध सुमधुर बनाएको उनको दाबी छ । खनालले भने,‘दुवै छिमेकी राष्ट्रसँग अहिले सुमधुर सम्बन्ध भएको छ ।’ मन्त्री खनालले बाहिरबाट ल्याईने वस्तुहरुमा समेत नियमन गर्न जरुरी रहेको सुनाए । उनले भने,‘हामीले आँत्तिएर भन्दापनि नआँत्तिकन राम्रा कामहरु गर्न जरुरी छ । उनले भने्,‘कृषि, पर्यटन, उर्जा सबै क्षेत्रमा दिगो रुपमा विकास गर्नुपर्छ। आगामी ५ वर्षसम्म हामी दिगो विकासको जग हाल्छौं ।’ त्यस्तै फरक प्रसँगमा उनले कालीमाटी फलफुल तथा तरकारी बजारमा देखिएको सिण्डिकेट अन्त्यको लागि आफूले ठोस कदम चालिसकेको पनि जनाए । उनले थपे, ‘कृषकहरुले आफूले उत्पादन गरेका वस्तुहरु निर्वाध रुपमा ढुवानी गर्न पाउनुपर्छ ।’ भदौ मसान्तसम्म बजारको सुधार हुनुपर्नेगरि आफूले निर्देशन दिएको सुनाउँदै आफू भदौ २८ गते कालीमाटी बजारको स्थलगत् अवलोकनमा जाने पनि उनले सुनाए । कालीमाटीका स्टलहरु हेर्न लायकमात्रै नभएर त्यहाँ राखिएका तरकारी तथा फलफुल खानलायकको पनि हुनुपर्ने उनको भनाई छ । मुलुकको कुल ग्राहस्थमा कृषिको योगदानमा यसपटक वृद्धि हुने मन्त्री खनालले विश्वास दिलाए । खाद्य गुणस्तरको स्तरीयता कायम गर्न आफूले खाद्य सुरक्षा अभियान नै चलाईरहेको उनको भनाई छ । उनले भने, ‘विभिन्न २२ वटा पानीका फ्याक्ट्रीहरुमा अहिले ताला लगाईएको छ । गलत गर्नेलाई हामी छोड्दैनौं । हामी मुद्दा चलाउँछौं ।’ मासुमा नेपाललाई आत्मनिर्भर बनाउने लक्ष्य आफूले लिएको मन्त्री खनालको भनाई छ । उनले थपे,‘मासुमा हाम्रो देशलाई आत्मनिर्भर बनाउनुपर्छ । र, हुन सक्छ पनि । अहिले विदेशबाट आयातित मासुको पनि राम्रोसँग नियमन भएको छैन । मासुमा आत्मनिर्भर बनाउनको लागि कार्यक्रम चाहिएको छ । म त्यतातिर लागेको छु।’ नेपालमा संघीयता असफल हुन लागेको हो र ? भनेर पत्रकारले सोधेको एक प्रश्नमा उनले भने,‘संघीयताको कार्यान्वयन हुँदैछ । भारतमा त संघीयता पूर्ण रुपमा कार्यान्वयन हुन १५ वर्ष लाग्यो । केही वर्ष पहिलेसम्म त्यहाँ प्रदेशको राजधानी र केन्द्र राख्नेबारे विवाद थियो ।’ संविधानमा उल्लेख भएबमोजिम केन्द्रले प्रदेशलाई अधिकार दिने उनको भनाई छ । उनले भने,‘मैले त धेरै अधिकारहरु तल प्रदेशमा पठाएको छु । पशु सेवा निर्देशनालय तल पठाएको छु । अब सुपर जोन र जोनपनि तल पठाउनेबारे सोचिरहेको छु ।’
नेपाल बङ्गलादेश बैंक र एनएलजी ईन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता
काठमाडौं । नेपाल बङ्गलादेश बैंक र एनएलजी ईन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्स सेवा सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौतामा बैंकको तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रभुषण श्रेष्ठ तथा इन्स्योरेन्सका तर्फबाट कायम मुकायम प्रमुख कार्यकारी अधिकृत सुनिल बहादुर पन्तले हस्ताक्षर गरेका थिए । सम्झौता पश्चात बैंकका ग्राहकहरुले कम्पनीको जुनसुकै शाखाहरुबाट निर्जीवन बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सक्नेछन् ।
स्वदेशी लघुवित्तले शतप्रतिशत हकप्रद जारी गर्न पायो बोर्डको अनुमति
काठमाडौं । स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीको लागि शतप्रतिशत (१००) हकप्रद निष्कासन गर्न नेपाल धितोपत्र बोर्डको अनुमति पाएको छ । बोर्डको अनुमति अनुसार संस्थाले अंकित मूल्य १०० रुपैयाँको दरले ११ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हालै धितोपत्र बोर्डमा निवेदन दिए अनुसार ११ करोड ५० लाख रुपैयाँ बराबरको हकप्रद निष्कासन गर्ने अनुमति पाएको हो । बोर्डको अनुमति पाए पश्चात संस्थाले एनआईसी एसिया क्यापिटल लिमिटेड मार्फत सो मात्राको हकप्रद निष्कासन गर्ने छ । हाल संस्थाको चुक्ता पुँजी ११ करोड ५० लाख रुपैयाँ रहेको छ । १०० प्रतिशत हकप्रद पश्चात कम्पनीको पुँजी २३ करोड रुपैयाँ नाघ्ने छ । पछिल्लो समय लघुवित्तको सेयर मूल्य प्रतिकित्ता १५६१ रुपैयाँ रहेको छ ।
एनसेलको डीडीए गर्ने नेपाली कम्पनी भेटिएनन्, ६१ अर्ब खोज्न विदेशी कम्पनी डाकिने
काठमाडौं । निजी क्षेत्रको दुर सञ्चार सेवा प्रदायक कम्पनी एनसेलको डीडीए गर्ने कम्पनी फेला पार्न सरकार असफल भएको छ । कर सम्बन्धी विवाद निराकरणका लागि भन्दै ठूला करदाता कार्यालयले एनसेलको सम्पति दायीत्व मूल्यांकन(डीडीए) गर्न स्वदेशी फर्म तथा कम्पनीहरुलाई आवेदन खुल्ला गरेको थियो । तर तोकिएको समय अर्थात शुक्रबारसम्म एउटा पनि नेपाली फर्म तथा कम्पनीहरुले आवेदन दिएनन् । अब ठूला करदाता कार्यालयले अन्तराष्ट्रिय कम्पनीका लागि आवेदन खोल्नेछ । ‘हामीले तोकेको मापदण्ड पुरा गरेका कम्पनी नेपालमा रहेनछन्, त्यसैले एउटा पनि आवेदन परेन्, अब अन्तराष्ट्रिय आवेदन खोल्छौं, त्यसमा जेभी गरेर नेपाली कम्पनी पनि सहभागी हुन पाउनेछन’, ठूला करदाता कार्यालय श्रोतले विकासन्युजसँग भन्यो । टेलियो सोनेरा र एक्जिएटाबिच भएको खरिद बिक्रिको सम्झौता पत्र सरकारलाई बुझाउन अटेर गरेपछि कार्यालयले आफैं डीडीए गराउन लागेको हो । कार्यालयले २०७२ साल चैत २९ गते अघिको डीडीए गराउन लागेको हो । डीडीएपछि एनसेलको सेयर खरिद बिक्री तथा सम्पति र दायित्वको एकिन मूल्यांकन भएर कर असुलीमा सघाउ पुग्ने बताइएको छ । एनसेल खरिद बिक्रि प्रकरणमा करिब ६१ अर्ब रुपैंयाँ पुँजीगत लाभकर छलिएको ठूला करदाता कार्यालयको ठम्याई रहेको छ ।