माछापुच्छ्रे बैंकको थप ४ शाखा रहित बैंकिङ्ग सेवा, रियल टाइममानै खाता खोल्न मिल्ने
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले मुस्ताङ्गमा ४ शाखा रहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । बैंकले मुस्ताङ्गको मार्फा, कागबेनी, लेते र लोमन्थाङ्गमा गरी ४ शाखा रहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको हो । यो सहित बैंकको हालसम्म २५ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा आइसकेका छन् । उक्त शाखा रहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भुक्तानी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको बैंकले जनाएको छ । साथै, बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ । हाल बैंकले ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २५ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा ११३ स्थानबाट बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै, बैंकको देशभर ९९ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।
राष्ट्रिय बीमा कम्पनी र मेगा बैंकबीच बैंकास्योरेन्स सम्झौता
काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनी लिमिटेड र मेगा बैंकबीच बैंकास्योरेन्स सम्झौता भएको छ । सो सम्बन्धि सम्झौतामा राष्ट्रिय बीमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत वीर बिक्रम रायमाझि र बैंकका तर्फबाट सहायक नायब प्रमुख कार्यकारी अधिकृत रबिना देशराज श्रेष्ठले हस्ताक्षर गरेका छन् । यस सम्झौता पश्चात बैंकले आफ्नो सम्पत्ति ग्राहक तथा कर्मचारीहरुको दुर्घटना तथा स्वास्थ र लगानी गरिएको सम्पत्ति माथीको विभिन्न प्रकारको बीमा सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीबाट सजिलै गर्न सक्ने छ । यस सम्झौता मार्फत बैकका ग्राहकहरुले बैंकका सम्पूर्ण शाखाबाट सबै प्रकारका निर्जीवन बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्ने लगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सक्नेछन् । साथै, बीमा कम्पनीले दाबी परेको समयमा सहजरुपमा दाबी भुक्तानी गर्ने प्रतिबद्धता गरेको छ । यो सम्झौताले मेगा बैंकको “हलो देखी हाईड्रो” सबैलाई सुरक्षा प्रदान गर्ने छ । साथै, पशुघन र साना तथा मझौला व्यवसायीलाई यो सेवा बढी प्रभावकारी हुने कम्पनीले जनाएकाे छ । बैंक र बीमाको माध्यमबाट नै देशको अर्थ व्यवस्थामा प्रभावकारी विकास गर्न सकिने दुबै पक्षको विश्वास छ । यसैबिच राष्ट्रिय बीमा कम्पनीले कृषी र पशु बीमा लगायत ग्राहस्थ बीमालाई प्रभावकारी बनाउने उद्देश्यले त्रियुगा नगरपालिकबीच सहमती गरि सकेको जानकारी दिइएको छ ।
मेगा बैंकले मासिक १५ हजारमा गाडी दिने, ब्याजदर १२.५ प्रतिशत मात्र
काठमाडौ । मेगा बैंकबाट मासिक १५ हजार रुपैयाँ किस्तामा गाडी पाइने भएको छ । किस्तावन्दीमा गाडी उपलब्ध गराउने विषयमा बैंक र नारायणी अटो बिजनेश प्राइभेट लिमिटेडबीच सरल किस्तामा अटो लोन प्रदान गर्ने सम्झौता भएको छ । नारायणी अटो बिजनेशबाट गाडी किन्न चाहने ग्राहकलाई मेगाले सरल, सहज र शुलभ दरमा १० बर्षसम्म वित्तीय सुविधा प्रदान गर्ने सम्झौता भएको हो । सम्झौतापत्रमा मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनुपमा खुञ्जेली र नारायणी अटोका प्रबन्ध निर्देशक अनुपकुमार बरालले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार, नारायणी अटोबाट कुनै पनि कम्पनीका गाडी लिँदा ग्राहकहरुले १० बर्षसम्मको वित्तीय सुविधा पाउने भएका छन् । जसमध्ये अल्टो, वागेन आर र सेलेरियो गाडीमा ३५ प्रतिशत डाउन पेमेन्ट गरेपछि १५ हजार मासिक किस्तामै गाडी किन्न सकिनेछ । ग्राहकहरुले अहिलेको प्रचलित ब्याजदर अनुसार जम्मा साँढे १२ प्रतिशतमा अटो लोन लिन सक्नेछन् । प्रक्रिया सुरु गरेको २४ घण्टाभित्रै निर्णय र ७ कार्य दिनमै कर्जा प्रवाह गरिने बैंकले जनाएको
मेगा बैंक र लाइफ इन्स्योरेन्स कर्पोरेशनबीच बैंकास्योरेन्स सम्झौता
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड र लाइफ इन्स्योरेन्स कर्पोरेशन(एलआइसी)बीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा मेगा बैंककी सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र एलआइसीका कायम मुकायम सीईओ अविजित घोष दस्टीदरले हस्ताक्षर गरेका छन् । यसका साथै, अब ग्राहकहरुले मेगा बैंकका जुनसुकै शाखाबाट एलआइसीमा जीवन बीमा गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायत सबै सेवा प्राप्त गर्न सक्नेछन् । यो सम्झौताले जीवन बीमा गर्न चाहने र गरिरहेका ग्राहकहरुलाई थप सुविधा प्राप्त हुने बैंकको विश्वास छ ।
हिमालयन बैंकको नाफा २ अर्ब ४७ करोड
काठमाडौं । हिमालयन बैंक लिमिटेडले गत आर्थिक वर्षमा २ अर्ब ४७ करोड रुपैयाँ नाफा कमाएको छ । जुन रकम अघिल्लो वर्षको तुलनामा करिब ३० करोड रुपैयाँ बढी हो । बैंकले अघिल्लो आर्थिक वर्ष(२०७३÷२०७४)मा २ अर्ब १७ करोड रुपैयाँ नाफा कमाएको थियो । उक्त तुलनामा बैंकको नाफामा १३.६० प्रतिशत वृद्धि भएको छ । बैंकको ब्याज आम्दानी बढेर ४ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, निक्षेप रकम ६ अर्ब ८६ करोड रुपैयाँले बढेर ९९ अर्ब ७४ करोड रुपैयाँ र कर्जा लगानी पनि बढेर ८७ अर्ब पुगेको छ । बैंकको चुक्ता पुँजी ८ अर्ब ११ करोड रुपैयाँ छ । त्यस्तै, गत वर्ष बैंकको संचित कोषमा ७ अर्ब ३२ करोड रुपैयाँ रहेको छ । जुन रकम अघिल्लो वर्षको भन्दा ७६ करोड रुपैयाँ बढी हो । अघिल्लो वर्ष कम्पनीको संचित कोषमा ६ अर्ब ५६ करोड रुपैयाँ रहेको थियो । त्यसैगरी, बैंकको प्रतिसेयर आम्दानी घटेर ३२ रुपैयाँ ८१ पैसामा झरेको छ भने बेसरेट(आधार दर) बढेर ९.६६ प्रतिशत पुगेको छ । त्यस्तै, सीडी रेसियो(कर्जा निक्षेप अनुपात) ७७.०२ प्रतिशतमा झरेको छ । गत असार मसान्तमा बैंकको निष्कृय कर्जा ०.९८ प्रतिशत रहेको छ । अघिल्लो वर्ष ०.८७ प्रतिशत रहेको थियो ।
कुमारी बैंकको नाफा ४३ प्रतिशत बढेर १ अर्ब नाघ्यो
काठमाडौं । कुमारी बैंकले गत आर्थिक वर्षमा नाफा ४३ प्रतिशत बढाएको छ । बैंकले गत आर्थिक वर्ष ०७४/०७५ मा १ अर्ब रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ७० करोड रुपैयाँ खुदनाफा गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष नाफा ३० कराेड रूपैयाँ बढेको छ । बैंकले गत वर्ष २ अर्ब ४ करोड ८४ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष १ अर्ब ४३ करोड ४३ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो । प्रतिसेयर आम्दानी बढेर १३ रुपैयाँ ९८ पैसा पुगेको छ । अघिल्लो वर्ष ११ रुपैयाँ ७३ पैसा थियो । बैंकको निष्क्रिय कर्जा घटेर १ प्रतिशतमा झरेको छ । यस्तै निक्षेप लागत ८.२५, कर्जा निक्षेप अनुपात ७६.५४ र आधारदर ११.६० प्रतिशत पुगेको छ । समिक्षा अवधिमा बैंकले ६९ अर्ब ६७ करोड रुपैयाँ निक्षेप परिचालन गरी ६२ अर्ब ९४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको संचित कोषको आकार बढेर ४ अर्ब ५३ करोड रुपैयाँ पुगेको बुधबार सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ ।
नेपाल लाइफ इन्स्योरेन्सको नाफा १५ प्रतिशत बढ्यो, लगानीबाट मात्रै झण्डै ४ अर्ब आम्दानी
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नाफा १५ प्रतिशत बढेको छ । कम्पनीले गत आर्थिक वर्ष ०७४/०७५ मा नाफा ४७ करोड ९२ लाख रुपैयाँ गरेको छ । यो कम्पनीको बिमाङकीय मूल्याँकन अघिको हो । मूल्याँकनपछि नाफा अझ बढ्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विवेक झाले बताए । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ४१ करोड ६५ लाख रुपैयाँ नाफा गरेको थियो । कम्पनीले लगानी, कर्जा तथा अन्य ३ अर्ब ९७ करोड रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो वर्ष २ अर्ब ५० करोड २७ लाख रुपैयाँ मात्र आम्दानी भएको थियो । गत वर्ष नेपाल लाइफले ९९ करोड २२ लाख रुपैयाँ आम्दानी गरेको छ । समीक्षा अवधिमा बीमा शुल्क आर्जन ३२.३३ प्रतिशत बढेर १६ अर्ब १ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष १२ अर्ब ५ करोड रुपैयाँ बीमा शुल्क आर्जन भएको कम्पनीले जनाएको छ । हालसम्म कम्पनीले ६८ अर्ब ५५ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । कम्पनीको घोषित बोनसदर प्रतिहजार ६२ देखि ८२ रुपैयाँसम्म रहेको छ ।
उखु कृषकलाई खुशिको खबर, प्रतिक्विन्टल ६० को दरले सरकारी अनुदान वितरण सुरु
काठमाडौँ । अर्थमन्त्री युवराज खतिवडाले चालु आर्थिक वर्षको बजेटमा उखु कृषकलाई अनुदान दिने व्यवस्था कार्यान्वयनमा आएको छ । अब उखु कृषकलाई प्रतिक्विन्टल ६० रुपैंको दरले अनुदान वितरण सुरु हुने भएको हो । अनुदान रकम वितरण गर्नका लागि अर्थ मन्त्रालयले प्रमुख जिल्ला अधिकारीलाई पत्र काटिसकेको छ । मन्त्रालयका अनुसार प्रत्येक जिल्लाका सहायक जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला कोष तथा लेखा नियन्त्रक प्रमुखको समितिले सम्बन्धित चिनी मिलमार्फत कृषकलाई रकम उपलब्ध गराउने व्यवस्था गरिएको छ । सम्बन्धित जिल्ला प्रशासन कार्यालय र कोष तथा लेखा नियन्त्रक पनि अर्थ मन्त्रालयले रकम वितरणको लागि आवश्यक निर्देशन दिइसकेको छ ।