विकासन्युज

५० पैसाको बिजुलीले १ किलोमिटर गुड्ने स्कुटर

काठमाडाैं । ‘मेड इन चाईना आज छ भोली छैन’, भन्ने उखान नेपाली बजारमा चर्चित छ । तर पनि नेपालीको भान्छादेखि अफिसम्म चिनियाँ समानहरुकै बिगबिगी छ । त्यति मात्रै होइन पछिल्लो समय मोटर बजारमा पनि चिनियाँ उत्पादनहरुको प्रभव बढिरहेको छ । संसारभर चिनियाँ प्रविधीले आफ्नो प्रभाव बढाउँदै लगिरहेका बेला नेपाली बजार पनि त्यसबाट टाढा रहने कुरै भएन् । चिनियाँ उत्पादन कमसल मात्रै छैनन्, न्युन लागतसँगै किफायती पनि छन भन्ने प्रमाण हो विद्युतिय स्कुटर । चीनको प्रसिद्ध मोटर कम्पनी एनआईयुले निर्माण गरेको विद्युतीय स्कुटरले प्रति किलोमिटर ५० पैसा मात्रै इन्धन खपत गर्छ । अर्थात ५० पैसा बराबरको विद्युतले चार्ज गर्दा एक किलोमिटर माइलेज दिन्छ । चिनीयाँ कम्पनी एनआईयुले उत्पादन गरेको विद्युतीय स्कुटर नेपालमा इको इन्फिनिटी प्राइभेट लिमिटेडले बजारीकरण गरिरहेको छ । यी स्कुटरमा २ वर्षसम्मको मर्मत खर्च नलाग्ने सुविधा पनि उपलब्ध छ । स्कुटरको महंगो मूल्य, आकाशिदो पेट्रोलको भाउ थेग्न नसक्ने, सर्भिस शुल्कले हैरान भएका स्कुटर चालकको लागि यो खुसीको खबर हुन सक्छ । यो स्कुटरको मोबाइल एप्स पनि छ । जसले बिग्रिएको बेला स्कुटर बनाउन जानकारी पनि दिने छ । पहिलो चरणमा २ वटा मोडलका मात्रै विद्युतीय स्कुटर भित्रीएका छन् । एन सिरिजको मूल्य २ लाख ४९ हजार रुपैंयाँ र एम सिरिजको मूल्य २ लाख २९ हजार रुपैयाँ तोकिएको इको इन्फिनिटीले जनाएको छ । ‘४० रुपैया बराबरको चार्ज गर्दा ८० किलोमिटर गुडछ । ब्याट्री चार्ज गर्न ३ घन्टा देखी ४ घन्टासम्म लाग्छ ।’, इको इन्फिनीटीका सिनियर मार्केटिङ मेनेजर राकेश प्रधानले भने । २ वर्षसम्मका लागि कम्पनीले वारेन्टी दिएर बिक्रि गरिरहेको छ । पेट्रोलबाट सञ्चाल हुने बाइक र स्कुटर भन्दा विद्युतीय बाइक र स्कुटरमा भन्सार शुल्क कम हुने भएकाले मूल्य अन्यको भन्दा सस्तो हुने प्रधान बताउँछन् । उनका अनुसार विद्युतीय सवारी साधनमा २५ प्रतिशत मात्रै सरकारले भन्सार शुल्क उठाउने गरेको छ । १ वर्ष परिक्षण गरेर मात्रै ल्याएकाले समस्या नभएको उनले बताए । नेपालमा विद्युतीय सवारी नेपालमा विद्युतीय सवारी साधनको प्रयोग सन् १९९३ देखि हुन थालेको हो । उपत्यकामा सञ्चालित बिक्रम टेम्पोले प्रदूषण बढाएपछि विकल्पका रुपमा अमेरिकी सहयोग नियोगको सहयोगमा ७ वटा ब्याट्रीबाट सञ्चालन हुने सफा टेम्पो सञ्चालनमा ल्याइएको थियो । त्यसको एक वर्षपछि थप ८ वटा सफा टेम्पो ल्याइयो । अहिले उपत्यकामा ७०० विद्युतीय टेम्पो र त्यसका लागि ३१ वटा चार्जिङ्ग स्टेशन छन् । एक स्टेशनमा दैनिक २० देखि ३० वटा टेम्पोको ब्याट्री रिचार्ज गर्न मिल्छ । तर, पाँच वर्षयता भने विद्युतीय टेम्पोको नयाँ दर्तामा रोक लगाइएको छ । भारतले सन् २०३० सम्म तेलबाट चल्ने सवारीसाधनहरुको बिकल्पका रुपमा इलेक्टोनिक सवारी साधन सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

लालपूर्जा नभएपछि धादिङका चेपाङले घर बनाउन पाएनन्

काठमाडौं । गाउँबासी सबैको आवास पुनःनिर्माण लाभग्राही सूचीमा नाम भएर पनि घर बनाउन नपाएपछि बेनिघाट रोराङ गाउँपालिका–२ पार्लाक, भैँसे र बाङकूर्तिका चेपाङ समुदाय आक्रोशित भएका छन् । भूकम्पले ध्वस्त भएको बस्तीमा पुनःनिर्माण प्राधिकरणबाट आएका प्राविधिक टोलीले घरको सर्वेक्षण गरेर गएपछि अनुदान सम्झौता भए पनि जग्गाको लालपूर्जा नहुँदा उनीहरूले घर बनाउन नपाएको पूर्णबहादुर चेपाङले बताए । आवास पुनःनिर्माण सूचीमा नाम भएर पनि घर निर्माण गर्न सम्झौता रोकिएपछि धेरै पटक तत्कालीन गाविस÷वडा कार्यालय र गाउँपालिका धाएको जीतबहादुर चेपाङले बताए । पूर्णबहादुर चेपाङ मात्र होइन हस्तबहादुर चेपाङ, सुकरा चेपाङ, सुकरामबहादुर चेपाङ, सोमसिं चेपाङ, चन्द्रबहादुर चेपाङ, दीपलाल चेपाङ, सोमबहादुर चेपाङ, पार्लाकका शुकराम चेपाङ, लालबहादुर चेपाङ, दीलबहादुर चेपाङ, वीरबहादुर चेपाङ, शेरबहादुर चेपाङ, विक्रम चेपाङ र आइतसिं चेपाङ, जगतबहादुर चेपाङ र रुपबहादुर चेपाङ, धनबहादुर चेपाङको नाम पुनःनिर्माणको सूचीमा रहेको छ तर उनीहरूले अनुदानको रकम पाउन नसक्दा अन्योलमा परेका छन् । गाउँभरिका कसैको पनि लालपूर्जा छैन । पार्लाक र बाङकुर्ती गाउँका विसं ०३२ मा जग्गा नापी हुँदा बागमती अञ्चल, धादिङ जिल्ला लोथर कान्द्राङ पञ्चायत वडा नं ४ को ठेगानामा नापी भएको थियो । जग्गाको नापी छैन । जग्गाको पूर्जा छैन । उठिबास लाउँछ कि सरकारले । हामीलाई धादिङ चाहिन्छ । चितवन जाँदैनौँ, रुपबहादुर चेपाङले बताउँदै गर्दा चेपाङ समुदाय आक्रोशित भएका थिए । धादिङ जिल्लाको तर्फबाट नापी भएको जग्गापछि चितवनतर्फ सो गाउँ राखिएपछि चितवनमा नापीको श्रेस्ता गएकाले धादिङबाट केही गर्न नसकिएको वडाध्यक्ष टंकबहादुर थापाले बताउनुभयो । गाउँपछि धादिङतर्फ परेपछि चितवनमा भएको श्रेस्ता धादिङ आएको छैन । चेपाङ समुदाय खानका लागि सङ्घर्ष गरिरहनु परेकाले पहल गरेनन् । अहिलेसम्म बनेका सरकारले उनीहरूको गुनासो सुन्ने फुर्सद नै निकालेनन् । हालसम्म पनि भूमिकर नतिरेकाले उनीहरूले अहिले आफ्नो नाममा जग्गा ल्याएर घर बनाउन नसक्ने अवस्था भएकाले गाउँबासीको समस्या समाधान गर्न पहल गर्नुपर्ने वडाध्यक्ष थापाको भनाइ छ । रासस

प्रभु बैंकको सीओओमा थकाली र सीसीओमा लम्साल नियुक्त

काठमाडौ। प्रभु बैंक लिमिटेडको उच्च व्यवस्थापनमा दुईजना युवा बैकर थपिएका छन् । बैंकको प्रमुख सञ्चालन अधिकृत (सीओओ)मा दिनेश थकाली र चिफ क्रेडिट अफिसर (सीसीओ) मा निरज लम्साल नियुक्त भएका हुन् । सीओओ थकालीले भदौ १ गतेदेखि कार्यभार सम्हालेको प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले जानकारी दिए । उनका अनुसार सीसीओ लम्सालले भदौ ४ गतेदेखि कार्यभार सम्हालेका हुन् । थकाली यसअघि सांग्रिला डेभलपमेन्ट बैंकको डेपुटी सीइओ थिए । ३२ वर्षको उमेरमै तत्कालीन सांग्रिला डेभलपमेन्ट बैंकमा प्रमुख कार्यकारी अधिकृत रहेका दिनेश थकाली बागेश्वरी र सांग्रिला गाभिएपछि भने डेपुटी सीइओको भूमिकामा थिए । थकाली नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघका पूर्वमहासचिव समेत हुन् । उनले लण्डन स्कूल अफ इकोनोमिक्स, लण्डन, विश्व बैंक, वासिङ्गटन, हिडा, जापान, एआइटी, थाइलैण्ड, फिच्ट लर्निङ्ग, सिंगापुर लगायतका प्रतिष्ठित संस्थाहरुबाट बैंकिङ्ग तथा व्यवस्थापन सम्बन्धि विभिन्न विद्यामा अध्ययन तथा तालिम लिएका छन् । त्रिभुवन विश्व विद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर तथा कानूनमा स्नातकको अध्ययन पूरा गरेका थकालीले सांग्रिलाबाट म्यानेजमेण्ट ट्रेनीको रुपमा बैकिङ करियर शुरु गरेका थिए । त्यसैगरी, चिफ क्रेडिट अफिसरमा नियुक्त भएका लम्साल यसअघि नेपाल बंगलादेश (एनबी) बैंकको सिनियर म्यानेजर तथा कर्पोरेट अफिसको ब्राञ्च म्यानेजर थिए । लम्सालसँग १९ वर्षसम्म बैंकमा काम गरेको अनुभव छ । पछिल्लो अढाई वर्ष उनले एनबिमा सिनियर म्यानेजरको रुपमा काम गरेका थिए । त्रिभुवन विश्व विद्यालयबाट एमबिएसम्मको अध्ययन पूरा गरेका लम्साल विद्यार्थी जिबनकालमै सन् १९९९ मा एनबी बैंकमा म्यानेजमेन्ट ट्रेनीको रुपमा काम गरेका थिए । सीइओ अशोक शेरचनले दुई जुझारु युवा बैंकरको आगमनले बैंकलाई नयाँ उचाइमा पुर्याउन ठूलो मद्दत पुग्ने बताए ।

उपचार गर्न विदेश जानु पर्दैन, नेपालमै सुविधा सम्पन्न अस्पताल छन : डा. राकेश वर्मा

पछिल्लो समयमा निजी लगानीमा अस्पताल खुल्ने क्रम बढेको छ । जनतालाई स्वास्थ्य सेवा दिन सञ्चालनमा ल्याइएका निजी अस्पतालले ठुलो भुमिका निर्वाह गरेका छन् । यस्तै निजी लगानीमा भक्तपुरमा स्थापना भएको नागरिक कम्युनिटी अस्पतालले पनि ८ वर्ष पुरा भएको छ । सर्वसाधारणलाई सस्तो मूल्यमा स्वास्थ्य सेवा नागरिकले दिदै आएको छ । समाज प्रतिको आफ्नो दायित्व पुरा गर्न खोलिएको यस अस्पतालको मुख्य उदेश्य नाफा भन्दा गुणस्तरिय स्वास्थ्य सेवा उपलब्ध गराउने रहेको निर्देशक  डा.राकेश वर्मा बताउँछन्। अस्पतालले दिइरहेको सेवा र भावि योजनाको विषयमा निर्देशक डा बर्मासंग विकास न्युजका लागि डोमी शेर्पाले गरेको कुराकानी । डा. राकेश वर्मा, निर्देशक, नागरिक कम्युनिटी अस्पताल कम्युनिटी अस्पताल भनेर कस्तो स्वास्थ्य संस्थालाई भनिन्छ ? नागरिक कम्युनिटी अस्पताल भन्नाले एउटा क्षेत्रका बिभिन्न बर्गका ब्यक्तीहरुले थोरै थोरै लगानी गरेर खोलिएको संस्था हो। यसको मुख्य उदेश्य नाफा भन्दा एउटा गुणस्तरिय सेवा उपलब्ध गराउने र सकेसम्म नाफा न घाटाको हिसाबले समुदायलाई एउटा स्तरिय सेवा दिनु हो। कुन उदेश्यको साथ यो अस्पतालको स्थापना गर्नुभएको हो ? हाम्रो अस्पताल यस भेगमा एउटा उल्लेखनीय सेवा दिने स्वास्थ्य केन्द्र बन्नका लागि स्थापना भएको हो । किनभने सरकारले मात्र सबैलाई स्वास्थ्य सेवा उपलब्द गराउन सक्दैन। अहिले स्वास्थ्य क्षेत्रमा लगभग ५० प्रतिशत भागीदारी निजी अस्पतालको रहेको छ। सरकारले पनि ५० प्रतिशत जनतालाई स्वास्थ्य सेवा उपलब्द गराउँदै आईरहेको छ । त्यस्तै निजी क्षेत्रले पनि त्यतिकै योगदान दिईरहेको छ। एउटा सरल सस्तो र सुलभ हिसाबले एउटा स्तरिय स्वास्थ्य सेवा उपलब्ध गराउ भन्ने मुख्य उदेश्यको साथ हाम्रो अस्पतालको स्थापना भएको हो। कति चिकित्सक र कर्मचारीबाट यो अस्पताल सुरुवात गर्नुभएको थियो ? कति डाक्टर र कर्मचारीसँग अस्पताल सुरु गरियो ठ्याक्कै यकिनको साथ भन्न सकिदैन। यो अस्पातल १०० बेडको अस्पताल हो। सरकारले  मापदण्ड राखेको अनुसार त्यही हिसाबले स्टाफ नर्सदेखी लिएर ४२ जना चिकित्सक कार्यरत हुनुहुन्छ । बिस्तारै हामीले विशेषज्ञहरुको संख्या पनि थप्दै गईरहेका छौ।। हामीसँग ९ जना मेडिकल अफिसर  हुनुहुन्छ ।  उहाँहरु पुरा समय अस्पतालमै कार्यरत हुनुहुन्छ। एउटा मेडिकल अफिसर इमर्जेन्सीको ब्लकलाई र अर्को आईसियुको ब्लकलाई दिईएको छ। । अरु विशेषज्ञहरु हाम्रो पार्ट टाईम कार्यरत हुनुहुन्छ। हाल कति जना लगानीकर्ता हुनुहुन्छ ? हाम्रो लगानीकर्ताहरु करिब करिब ६०० जना हुनुहुन्छ। कसैको बढी लगानी छ भने कसैको थोरै लगानी स्वामित्व छ । तर उदेश्य सबैको एउटै छ। आफ्नै छरछिमेकमा एउटा राम्रो स्तरिय सेवा दिने हाम्रो मुख्य उदेश्य हो। यसमा अब आउने दिनमा अझै लगानीकर्ताहरु आकर्षित हुने देखिन्छ। अस्पतालले भक्तपुरबासिलाई विशेष छुट दिएको छ ? भक्तपुरबासिलाई भनेर छुट्टै बिशेष छुट हामीले दिएका छैनौ । तर प्राय जसो असाहय तथा आर्थिक स्थिती कमजोर भएको व्यक्तिहरुलाई हामीले १५ देखि २० प्रतिशतसम्म बिभिन्न सेवामा छुट दिने गरेका छौ । जस्तै, ल्याबको सेवामा, अप्रेसन, बेड चार्ज र कुनै सुबिधामा पुरै शुल्कमा छुट पनि दिने गरेका छौ। यहाँ भक्तपुरको मात्रै नभई बिभिन्न जिल्लाको मानिसहरु पनि उपचारको लागि आउँछन्। उदारणका लागि करिब एक बर्ष पहिला पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको अप्रेसन मैले यहाँ गरे । त्यसको भोली पल्टै दाङबाट उहाँको नाम सुनेर अर्को मान्छे त्यही अप्रेसनको लागि यहाँ आउनुभएको थियो। बाहिरबाट आउने बिरामीहरुले खासखास केही सेवाको लागि यो ठाउँलाई विश्वास गर्नुभएको छ । र, आईरहनु भएको छ। त्यसबाहेक हाम्रो अरु सेवा पनि विश्वाससिलो र स्तरिय छ । हामीले नियमित रुपमा यि सेवाहरु उपलब्ध गराउदै आएका छौँ। यहाँहरुले के कस्तो सेवा दिदै आईरहनु भएको छ ? सेवाको बारेमा कुरा गर्नुपर्दा मेडिसिन,सर्जरी, गाईनो, बालरोग, स्किन, डेन्टल, युरोलोजी सेवा दिदै आईरहेका छौ । नयाँ सेवाहरु थप्ने प्रकृयामा पनि छौ। हाम्रो मुख्य आकर्षण अहिले आईसीयुको सेटअप रहेको छ। हाम्रो अपरेसन सेवा २४ सै घण्टा उपल्ब्ध छ। युरोलोजिस्ट सेवामा बिशेष मान्छेले यसलाई पहिचान गरिसकेको छ । विश्वास छ, २४ सै घण्टा एम्बुलेन्स सेवा, फार्मेसी र चमेना गृह पनि रहेको छ। सरकारको मापदण्ड अनुसार १०० वटा बेडको अस्पतालले पुराउनुपर्ने सेवा सबै हाम्रो अस्पतालमा उपलब्ध छ। यहाँले दिने सेवामा बिरामीबाट कस्तो प्रतिक्रिया पाउनु भएको छ ? हामीलाई बिरामीहरुको प्रतिक्रिया राम्रो छ । यसबाट हामी एकदमै उत्साहित पनि छौ किनभने हाम्रो राम्रोपन र कमी कमजोरीहरुमा बिरामीले नै प्रतिक्रिया दिने हो। हामीले आफुले आफुलाई मुल्याङ्कन गर्ने भन्दा बिरामीले नै मुल्याङ्कन गरेर उहाँहरुको आगन्तुकहरुले हाम्रो बारेमा बुझेर जानुहुन्छ त्यो नै हाम्रो अगाडीको मार्गदर्शन पनि हो। त्यसैबाट हामी प्रभाबित भएर केही कमी कमजोरी छ भने त्यसलाई हामी सुधारदै जाने गर्छौ। तपाईहरुको सबैभन्दा बढी मन पराईएको सेवामा के पर्छ ? हाम्रो प्राय सबै सेवा मानिसहरुले मनपराईएको छ । तर बढी मनपराईएको सेवामा हाम्रो युरोलोजी पर्दछ किनभने एउटा भीआईपीको सेवापछि मानिसहरुको यसप्रति विश्वास बढी पाईएको छ। अहिले धेरै बिरामीहरु मेडिसिनमा, अर्थोपेडिकमा र गाईनोअप्सट्रिजमा धेरै छन। सबै विशेषज्ञहरु आ(आफ्नो क्षेत्रमा सक्षम भएकोले उहाँहरुको सेवामा कुनै कमी छैन। हामी नयाँ सेवा नेफ्रोलोजी  थप्ने प्रकृयामा छौ। युरोलोजी सेवा भनेको के हो ? युरोलोजी भन्नाले म्रिगौला देखी पिसाबको थैला र मुत्रनली सम्मको जुन सर्जिकल रोगहरु हुन्छन त्यसको उपचार सम्बन्धी विधालाई भनिन्छ। जस्तो किड्नीको नलिको पथरी सम्बन्धी उपचार, किड्नीमा कुनै टिउमर छ, पिसाबको थैलामा टिउमर छ, प्रोस्ट्रेटको ग्ल्यान्डको उपचार, सर्जरीबाट हुने जती म्रिगौलदेखी मुत्रनलि सम्मको कुनै पनि रोग जसको उपचार हामी अपरेसनबाट गर्छौ। खर्चको आधारमा नागरिक अस्पताल कस्तो रहेक छ ? हाम्रो अस्पताल खर्चको आधारमा एउटा समाजमा मानिसको जुन न्युन सोचाइ हुन्छ त्यस्तो पनि छैन । यसमा केही पैसा हामी चार्ज गर्छौ। अरुभन्दा हामीहरुको सेवा शुल्क सस्तो होला तर सरकारी अस्पतालको जस्तो शुल्क हाम्रोमा छैन। यसमा सकेसम्म न फाईदा न घाटा जस्तो रहेको छ। किनभने कुनै पनि मेडिकल सेवा र उपकरणहरु उपलब्ध गराउनका लागि धेरै प्रशिक्षण र  उपकरणहरु चाहिन्छ। नेपालमा हाम्रो उपकरणहरु बन्दैनन् र त्यो सबै बाहिरबाट आउँछन्। यही उपकरणहरुलाई हामीले बिचार गरेर मुल्यदर निर्धारण गर्छौ। डाक्टरी फिल्डमा लाग्नु भएको कती बर्ष भयो ? चिकित्सक बन्ने सपना कसरी आयो ? म यस क्षेत्रमा लागेको ३८ बर्ष भयो। डाक्टर बन्ने सपना मेरो सानैबाट सुरु भएको हो। म जब ४ कक्षामा पढ्थे त्यो समयमा डाक्टरहरु थिएनन् । त्यो समयमा डाक्टर जस्तो उपचार गर्ने मानिसलाई कम्पाउन्डर भन्थियो। हाम्रो गाउँमा एकदमै चर्चित कम्पाउन्डर थिए। उहाँ जो बिरामी भए पनि आफ्नो झोला लिएर त्यहाँ पुगिहाल्नु हुन्थियो। एकपटक मलाई ज्वोरो आएको थियो। त्यस समयमा ज्वरोको उपचार भनेको धेरै लुगा ओडाई दिन्थिए। पसिना धेरै आएर ज्वरो जान्छ भन्ने मानिसहरुमा भ्रम थियो। तर मलाई २÷४ दिनसम्म रोग निको भएन त्यसैले कम्पाउन्डरलाई बोलाईयो। मेरो बुवाले उहाँलाई लिन जानुभयो र उहाँको ब्याग बोकेर आदरपुर्वक घरमा ल्याउनुभयो। मलाई अझै पनि याद छ उहाँले स्प्रिटले हात धोएर, सरसफाइ गरेर मलाई सुइ लगाइदिनु भयो र बिस्तारै मलाई सन्चो पनि भयो। त्यसपछी मलाई डाक्टर भएपछी धेरै मान, सम्मान पाईन्छ र म अब सबैलाई चाहिने कुरा पनि हो भन्ने अनुभूति भयो । त्यसपछी मलाई पनि भबिष्यमा पनि डाक्टर हुन पाए रमाइलो हुन्थियो जस्तो लाग्यो र सफल पनि भइयो । मेरो स्कुलदेखी कलेजसम्म अब्बल दर्जाको पढाई रह्यो। त्यसपछि मैले डाक्टरी क्षेत्र नै रोजेर पढें । डाक्टर भएर बिरामीको सेवामा लाग्दा कस्तो महसुस हुन्छ तपाईंलाई ? बिरामीको सेवा गर्न पाउँदा एकदम खुशी लाग्छ तर कहिलेकाँही धेरै बिरामी हेर्दा पनि पिर हुन्छ किनभने बिरामी हुनु राम्रो कुरा होईन। उनीहरुलाई उपचार गरेर पठाउँदा भने मन एकदमै खुशी हुन्छ। नेपालीहरु अझै पनि स्वास्थ्य सेवाको लागि बाहिर जान्छन, यस बिषयमा तपाई के भन्न चाहानुहुन्छ ? हामी मान्छौ कि सुरुमा हामीसँग दक्ष जनशक्ति थिएनन् । मानिसहरु उपचारको लागि बाहिर जानु स्वभाविक पनि थियो। छिमेकी मुलुक भारतमा खुला सिमानाले पनि थप समस्या निम्ताएको हो। नेपालको उपचार पद्ती भारतबाट आएको डाक्टरहरुले वीर अस्पातलदेखी लिएर अन्य ठाउँमा सुरु गरेका हुन्।तर अहिलेको अवस्थामा नेपालमा आधुनिक उपचार पद्ती उपलब्ध छन्। जस्तो म मानव अङप्रत्यापरोण अस्पतालमा पनि कार्यरत छु। हाम्रो देशमा प्रत्येक बर्ष ३००० म्रिगौला प्रत्यारोपण गर्नुपर्ने अवस्था छ । मानव अङप्रत्यारोपण केन्द्र, टिचिङ अस्पताल र वीर मिलाएर जम्मा ३०० प्रत्यापरोपण मात्र गर्छौ। हामीले गरिरहेको प्रत्यापरोण संसारको कुनै पनि राम्रो केन्द्र दाँज्दा केही फरक पर्दैन तर मानिसहरु सुरुबाटै छिमेकी मुलुक जाने,बाहिर जाने त्यो एउटा प्रवृत्ति जस्तै भईसक्यो। बिस्तारै बिस्तारै मानिसहरु नेपालको स्वास्थ्य सेवाको स्तर अरु भन्दा कम छैन। केवल हामीले रोबट चलाऊन पाएको छैन । उक्त रोबट किन्ने पैसाले हामी त यहाँ गाउँमा सानो तिनो अस्पताल बनाउन सक्छौ र रोजगार को अवसरको साथसाथै स्वास्थ्य सेवा नुपुगेको ठाउँलाई अस्पताल बनाईदिन सके त्यो भन्दा राम्रो केही पनि हुँदैन । नेपालमा उपचारको विश्वास दिलाउन के गर्नु पर्ला ? नेपाली जनतालाई विश्वाश दिलाउन संचारमाध्यमको पनि ठुलो हात रहेको छ । किनभने संचारमाध्यमबाट गएको समाचार धेरै मानिसहरुले थाहा पाउँछन्। पत्रपत्रीका र अन्य सञ्चार क्षेत्रको यसमा ठुलो भूमिका हुन्छ। बाँकी समाजमा बस्ने बिभिन्न बर्गका व्यक्तिले एकअर्कालाई यो ठाउँमा यो सेवा उपलब्द छ भनेर जानकारी गराए मानिसहरुको नेपाली स्वास्थ्य क्षेत्र प्रति विश्वाश बढ्ने थियो। बाहिर र छिमेकी मुलुकमा जाने प्रवृति पहिले भन्दा कम भएको देखिएको छ। नागरिक अस्पतालको भावी योजना के छन ? हामीसँग जमिन छ र त्यो जमिनको व्यवस्थापन गरेर सकेसम्म एक दुई बर्ष भित्रै आफ्नै भवनबाट अस्पताल संचालन गर्ने हाम्रो लक्ष्य छ । सरकारबाट यहाँले कस्तो सहयोगको अपेक्षा गर्नु भएको छ ? सरकारको सहयोगको हामीलाई एकदम आवश्यक छ । किनभने सरकारको एउटा अभिभारामा सहभागी भएर काम गर्दैछौ। शिक्षा र स्वास्थ्य सरकारको जिम्मेवारी भनिन्छ । तर जहाँ ५० प्रतिशत स्वास्थ्य सेवा निजी अस्पतालहरुले दिदै आईरहेका छन् । सरकारले उपकरण ल्याउने समयमा लगाउन कर छुट दिनपर्छ। सरकारले कडा नियम बनाएको छ । २०७६ सम्म आफ्नो भवनमा अस्पताल जानै पर्छ नत्र अस्पताल खारेज हुन्छ। काठमाडौं जस्तो शहरमा जग्गा पाउन गाह्रो हुन्छ। सरकारले जमिनहरु लिजमा दिए धेरै राम्रो हुन्थियो। सरकारले सहयोग गरे हामीलाई पनि सेवाको लागि हौसला प्राप्त हुन्थियो।

अर्जेन्टिनाका नयाँ प्रशिक्षक स्कालोनीले भने-मेसीले राष्ट्रिय टोली छोडे सबैभन्दा अभागी प्रशिक्षक हुनेछु

काठमाडौं । अर्जेन्टिनाका नयाँ प्रशिक्षक लियोनल स्कालोनीले स्ट्राइकर लियोनल मेसीलाई राष्ट्रिय टोलीमा समावेस गर्न प्रयास गरेका छन् । अर्जेन्टिनाले आउँदो महिना ग्वाटेमाला र कोलम्बियासँग हुने मैत्रीपुर्ण खेलको लागि मेसी टोलीमा समावेश हुन नमानेपछि मेसी अर्जेन्टिनाबाट खेल्ने नखेल्नेमा अन्योलता बढेको हो । मुख्य प्रशिक्षक स्कालोनीले देशको कप्तानल नै खेल्ने नखेल्ने अन्योल हुनु ठूलो बहसको कुरा भएको बताएका छन् । उनले पत्रकार सम्मेलनमा भनेका छन् -“मलाई थाहा छ सबै जना मेसीको प्रतिक्षामा रहेका छन्, यो एउटा विशिष्टकृत विषय हो, यसलाई म समाधान गर्नेछु । मेसीसँग मेरो केहि कुरा भएको छ । तर प्रष्ट कुरा भएको छैन । यदि मेसिले राष्ट्रिय टोली छोडेमा सबैभन्दा अभागी प्रशिक्षक म हुनेछु किनभने खेलमा मेसीबाट जस्तो फाइदा कुनै पनि प्रशिक्षकले लिन सक्दैन । तर अहिले नै मेसीको भविष्यबारे कुरा गर्ने बेला भएको छैन ।” अर्का स्ट्राइकर सर्जियो अग्गुइरो पनि टोलीमा नभएपछि स्कालोनीले इन्टरमिलानका माउरो इकार्डीलाई टोलीमा समावेस गरेका छन् । अर्जेन्टिनाले अमेरिकाको लस एन्जलसमा सेप्टेम्बर ७ तारिखमा ग्वाटेमालासँग प्रतिस्पर्धा गर्दैछ ।

बैंकमा जनताको पैसा १५ खर्ब २५ अर्ब पुग्यो, कसको कति (सूचिसहित)

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा व्यक्तिगत निक्षेप २०.२ प्रतिशत वृद्धि भएको छ । गत असारसम्म व्यक्तिगत निक्षेप बढेर १५ खर्ब २५ अर्ब २७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष १२ खर्ब ६९ अर्ब १४ करोड रुपैयाँ थियो । एक वर्षको अवधिमा व्यक्तिगत निक्षेप २ खर्ब ५६ अर्ब १२ करोड रुपैयाँ बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्ष व्यक्तिगत निक्षेप १५ प्रतिशत बढेको थियो । असारसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप १९.४ प्रतिशत बढेर २८ खर्ब ३६ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष २३ खर्ब ७५ अर्ब १० करोड रुपैयाँ थियो । एक वर्षको अवधिमा कुल निक्षेप ४ खर्ब ६१ अर्ब ५४ करोड रुपैयाँ बढेको छ । बैंक तथा वित्तीय संस्थाहरुले लगानीयोग्य पुँजी (क्रेडिट क्रन्च) भएको बताए पनि व्यक्तिगत निक्षेप भने बढेको छ ।असारमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ति, बचत र मुद्दतीको अंश क्रमशः ९.३ प्रतिशत, ३४.५ प्रतिशत र ४४.८ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अंश क्रमशः ८.७ प्रतिशत, ३५.४ प्रतिशत र ४३.२ प्रतिशत थियो । बैंक तथा वित्तीय संस्थामा कुल निक्षेपमा झण्डै ६० प्रतिशत व्यक्तिगत निक्षेप रहेको छ । बैंक तथा वित्तीय संस्थामा कर्मचारी संचय कोष, नागरिक लगानी कोष, राष्ट्रिय बीमा संस्थानलगायत सबै बीमा कम्पनी, स्थानीय सरकार, सार्वजनिक संस्थान, गैरसरकारी संस्था र वैदेशिक निक्षेप रहेको छ । कुल निक्षेप मध्ये बैंक तथा वित्तीय संस्थामा बीमा कम्पनीको १ खर्ब ८७ अर्ब ६२ करोड, संचय कोषको ५२ अर्ब ८० करोड, लगानी कोषको ६८ अर्ब ४९ करोड, स्थानीय सरकारको १० अर्ब ९० करोड, सार्वजनिक संस्थानको २ खर्ब ५५ अर्ब ५४ करोड रुपैयाँ रहेको छ । नेपाल राष्ट्र बैंकले संस्थागत निक्षेप सीमा घटाएर ४५ प्रतिशतमा झारेपछि कम देखिएको छ ।  

विदेशी ऋणबाट मुक्त भएको ग्रीसको घोषणा, अब आफ्नै बलबुँताले देश बनाउने उद्घोष

ग्रीस । ग्रीसले विदेशी ऋणबाट मुक्त भएको घोषणा गरेको छ । ग्रीसका प्रधानमन्त्री अलेक्सिस सिप्रासले अब मुलुकले जमानतको लामो यात्राबाट मुक्ति पाएको घोषणा गरेका हुन् । उनले अब आफ्नै बलबुँताले समृद्धिको यात्रा अघि बढाउने प्रतिवद्धता पनि व्यक्त गरेका छन् । ग्रीसको आर्थिक सङ्कट टार्न विभिन्न मुलुकबाट लिएको जमानत रकम तिरिसकेको बताउँदै सिप्रासले भने, “अब हामीले आठ बर्ष लामो पीडादायी जमानतको यात्रा पार गरेका छौँ ।” इओनियाली टापू इथाकामा टेलिभिजन प्रसारणका लागि रेकर्ड गरिएको भिडियोमा उनले थपे, “आजको दिन ऋणबाट मुक्तिको दिन हो तर यो नयाँ युगको सुरुवात पनि हो ।” इथाका टापू ग्रीक कवि होमरको प्रसिद्ध अभिनेता युलिसेसको घर भएको विश्वास गरिन्छ । सिप्रासको भाषणमा होमरको महाकाव्यमा वर्णन भएका दैत्य तथा दुःख सम्बन्धी प्रशस्त उद्धरणहरूलाई समावेश गरिएको छ । ग्रीसको तेस्रो र अन्तिम आर्थिक सहायता कार्यक्रम अन्त्य भएको भोलिपल्ट ग्रीक प्रधानमन्त्री सिप्रासले भने, हाम्रो देशले आफ्नो भाग्य तथा भविष्यको निर्णय लिने अधिकारलाई पुनः प्राप्त गरेको छ । ग्रीसले आधुनिक कालको ‘अडिसी’ (ग्रीक पुराणमा वर्णन भएको ग्रीकहरूको सङ्कटको कथा जुन आठौँ इशापूर्वमा ग्रीसले सामना गरेको विश्वास गरिन्छ) को सामना गर्दै अघि बढेका छौँ । सेतो शर्टमा सङ्कटको सामना गरिरहेको व्यक्तिजस्तै टापूमा रहेको चट्टानमाथि उभिएरै रेकर्ड गरिएको भाषणमा उनले सङ्कट मोचनका लागि ग्रीसले करिब ७५ अर्ब अमेरिकी डलर ऋण लिएको बताउँदै उक्त समयमा लामो तथा स्थिर खालको सङ्कटको सामना गरेको स्मरण गरे । सङ्कटबीच नेतृत्व सम्हालेका ४४ बर्षीय प्रधानमन्त्रीले भने, गत महिनामा करिब १०० जनाको मृत्यु हुनेगरी लागेको डढेलोपूर्व ग्रीसले आफूलाई गरीबीको रेखाबाट उठाउने अभ्यास गरिरहेको जनाउँदै उक्त डढेलो राज्यलाई पुनः पीडा दिएको बताए । सङ्ख्यामा प्रतिपक्षीभन्दा दश सदस्य बढी रहेको अनुदारवादी समूहद्वारा पिछा गरिरहेका सिप्रासले आगामी दिनमा मन्त्री परिषद्को पुनर्गठन गर्ने योजना ल्याएको चर्चा भएपनि सम्बोधनमा उनले यसबारे केही बताएनन् । निर्वाचनको समय आउन अझै एक बर्षभन्दा बढी रहेका समय प्रधानमन्त्रीले सन् २०१९ को शुरुमा नै निर्वाचन गर्ने योजना रहेको अनुमानहरू व्यक्त गर्न थालिएको छ । ग्रीसले जमानतको लामो यात्राबाट औपचारिक रूपमा सोमबारदेखि छुटकारा पाएको बताइएपनि आर्थिक विश्लेषकहरूले अझै ग्रीसको सङ्कट पूर्णरूपमा अन्त्य भैनसकेको बताउँदै आएका छन् । यूरोपेली संघ, यूरोपेली केन्द्रीय बैंक तथा अन्तराष्ट्रिय मुद्रा कोषले ऋणले सङ्कटग्रस्त ग्रीसलाई सन् २०१०, २०१२ र २०१५ मा गरी तीन चरणमा ३ खर्ब ३० अर्ब अमेरिकी डलर बराबरको ऋण उपलब्ध गराएर आर्थिक सङ्कट टार्न सहयोग गरेका थिए । सम्बोधनमा प्रधानमन्त्री सिप्रासले भने, ग्रीस अब जमानतबाट गुज्रने दिनको अन्त्य भएको छ र उक्त अवधिमा भएका त्यागले ग्रीसको प्रजातन्त्रलाई परीक्षण गरेको र सफलता दिलाएको छ । उनले भने, “अब ग्रीस कहिल्यै पनि घाटा र आर्थिक सङ्टतर्फ धकेलिने छैन ।”सिप्रासले इथाका टापूमा गएर गरेको सम्बोधन सन् २०१० मा प्रधानमन्त्री रहेका जर्ज पापान्द्रेउले गरेको अभ्यासको पुनरावर्तन हो । उक्त समय तत्कालिन प्रधानमन्त्री पापान्ड्रेउले ग्रीकहरूले नयाँ अडिसीको सामना गरिरहेको बताएका थिए ।

भेरीमा पक्की पुल निर्माण अन्तिम चरणमा, भदौभित्र सञ्चालनमा आउने

वीरेन्द्रनगर । कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित भेरी नदीमा पक्की पुल निर्माण अन्तिम चरणमा पुगेको छ । सुर्खेतको पञ्चपुरी नगरपालिकास्थित जामु र ताखाकुना जोड्ने भेरीमा पक्की पुल निर्माणको ९० प्रतिशत काम पूरा भएको छ । जामुस्थित भेरीमा लुम्बिनी–हिम्दुङ जेवी कन्स्ट्रक्सनले निर्माणको जिम्मा लिएको हो । सो पुलको लम्बाइ ३५० मिटर छ । सम्झौताअनुसार पुल बनाउने अवधि पाँच वर्ष भए पनि तोकिएको अवधिभन्दा छिट्टै पुल निर्माण सम्पन्न हुन लागेको निर्माण कम्पनीका इञ्जिनियर दिनेशकुमार श्रेष्ठले जानकारी दिए । “हामीले समयमै पुल निर्माण सम्पन्न गछौँ,” उनले भने, “अहिले पुलको बीच भागमा प्लाष्टर गरिएको छ ।” उनले स्थानीयवासी, राजनीतिक दल, कर्मचारीको उत्साहजनक साथ र सहयोगका कारण पुल समयमै निर्माण हुन लागेको बताए । यही भदौभित्र पुल निर्माण गरिसक्ने उनको भनाइ छ । पुल सुरक्षाका लागि ४०० मिटरभन्दा बढीमा नदी किनारामा ढुङ्गा भर्ने काम गरिएको छ । यसअघि पुल नहुँदा ज्यान जोखिममा राखेर डुङ्गा चढ्ने गरिन्थ्यो । पञ्चपुरी नगरपालिकाको बाबियाचौर तथा सुर्खेत सदरमुकाम ज्यान जोखिमा राखेर जानुपर्ने बाध्यता रहेको पञ्चपुरी– १० जामुका सुरेन्द्र विष्टले बताए । राति भेरी नदी तर्न निकै समस्या हुने गरेको थियो । भेरीमा २०७१ मा ठूलो बाढी आएको थियो । सो बाढीले पञ्चपुरी नगरपालिका–१० मा सो झोलुङ्गे पुल बगाएको थियो । बाढीबाट ९३ परिवार विस्थापित भएका थिए । त्यसयता भेरी तर्न डुङ्गाको प्रयोग गरिँदै आएको छ । रासस