विकासन्युज

चाडबाडको मुखमा गाडीको भाडा नबढाए टिकट बुकिङ नखोल्ने व्यवसायीको घोषणा

काठमाडौँ । यातायात व्यवस्था विभागले यातायात व्यवासायीको बैंक खाता नखुल्ने स्पष्ट पारेको छ । रोक्का राखिएको यातायात समितिको बैंक खाता खोल्ने सम्बन्धमा कुनै प्रक्रिया अघि नबढाइएको यातायात व्यवस्था विभागले स्पष्ट पारेको हो । असोज ५ गते यातायात व्यवसायीले दशैँका लागि अग्रिम टिकट बुकिङ खुल्ला गर्नुअघि रोक्का रहेका खाता खोल्नुपर्ने व्यवसायीको अडान थियो । विभागका महानिर्देशक लावण्यकुमार ढकालले रोक्का गरिएका बैंक खाता खोल्नेबारे कुनै छलफल नभएको समेत स्पष्ट पारेका छन् । “नवीकरण नै नभएका समितिको नाममा रोक्का अवस्थामा रहेका खाता खुलाउन सकिँदैन, समिति कम्पनीमा गएको प्रमाण लिएर आए खाता खोल्ने प्रक्रिया अघि बढाइन्छ, प्रधानमन्त्रीले पनि कम्पनीमा गएकाको खाता खोल्न निर्देशन दिनुभएको छ”–उनले भने । सङ्घ संस्था दर्ता ऐनअनुसार सामाजिक काम गर्ने उद्देश्यले समिति खोलेर व्यापार गरेको भन्दै विभागले चैत १८ गते नयाँ निर्देशिका जारी गरी नवीकरण नगर्ने सार्वजनिक गरेको थियो । समितिलाई पुस मसान्तसम्म कम्पनी दर्ता भइसक्न विभागले अवधि तोकेको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य भने समितिको खाता नखोले अग्रिम टिकट बुकिङ गर्न नसकिने बताए । “खाता सञ्चालन गर्न नदिए पैसा कहाँ राख्ने ? यसैले खाता नखुलेसम्म टिकट खोल्न सकिँदैन, पेट्रोलियम पदार्थको भाउ पटक–पटक बढे पनि भाडा समायोजन हुनसकेको छैन, भाडा समायोजन गर्न पनि सरकारलाई अनुरोध गरेका छौँ”–उनले भने । महासङ्घमा ३०७ समिति आबद्ध थिए । त्यसमध्ये २४५ समितिको बैंकमा खाता रहेकाले रोक्का भएको र ६२ को खाता सहकारी एवं वित्तीय संस्थामा रहेकाले सञ्चालनमै रहेको यातायात क्षेत्रको सुधारमा लागेका रामबहादुर थापाले बताए । पाँच महिनासम्म पनि समिति कम्पनीमा दर्ता नगरी राजश्व छल्न खोजेको र राज्यलाई कमजोर बनाउन लागेको उनको आरोप छ । रासस

तामाकोसी पाँचौं आयोजनामा लगानी गर्न एसियन इन्फस्ट्रक्चर इन्भेष्टमेन्ट बैंक सहमत, छिटै सम्झौता हुने

काठमाडौं । १०० मेगावाट क्षमताको तामाकोसी पाँचौ जलविद्युत आयोजना बनाउन एसियन इन्फस्ट्रक्चर इन्भेष्टमेन्ट बैंक (एआईआईबी) लगानी गर्ने भएको छ । आयोजनामा ऋण लगानी गर्न एआईआईबी सहमत भएको अर्थमन्त्री डा. युवराज खतिवडाले बताए । बैंक सहमत भएकाले अर्थले ऋण लिन प्रक्रिया अघि बढाएको उनले जानकारी दिए । छिट्टै ऋण सम्झौता हुने छ । आयोजना बनाउन १५ अर्ब रुपैयाँ अर्थात १५ करोड डलर ऋण लिने छ । आयोजना नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेको तामाकोसी जलविद्युत कम्पनी लिमिटेडले निर्माण गर्न लागेको हो । आगामी सन् २०१९ को मध्यबाट आयोजना निर्माण सुरुभई सन् २०२३ मा सम्पन्न गर्ने लक्ष्य लिएको छ । कम्पनीले आयोजना निर्माण व्यवस्थापन र सुपरिवेक्षणको काम सुरु गर्न परामर्शदाता नियुत्तिको प्रक्रिया सुरु गरेको छ । परामर्शदाताका लागि तामाकोसीले आशयपत्र (ईओआई) मागेको छ । आशयपत्र पेश गर्ने परामर्शदातबीच प्रतिस्पर्धा गराइने छ । छनौट हुने परामर्शदाताले ल्याह्मेयर इन्टरनेसनले तयार पारेको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) को पुनरावलोकन गर्नुका साथै इन्जिनियरिङ प्रक्युमेन्ट कन्ट्रयाक्ट (ईपीसी) को बोलपत्र डकुमेन्ट बनाउने छ । आगामी वर्षको मध्यदेखि आयोजनाको सिभिल निर्माणको काम थाल्नका लागि कम्पनीले सिभिल संरचना र हाइड्रो मेकानिकल उपकरण आपूर्तिका लागि ठेकेदार चयनको काम शुरु गरेको हो । कम्पनीले ठेकेदारको पूर्व योग्यता छनौट (पिक्यु) का लागि आब्हान गरेको छ । आयोजना २ प्याकेजमा निर्माण हुने भएको छ । पहिलो प्याकेजमा सिभिल र हाइड्रामेकानिकल र दोस्रो प्याकेजमा इलेक्ट्रोमेकानिकल र प्रसारणलाइन निर्माणको काम राखिएको छ । आयोजनामा अहिले विद्युत प्राधिकरणले लगानी गरिरहेको छ । आयोजनाको ६८ प्रतिशत स्वामित्व विद्युत प्राधिकरण र ३२ प्रतिशत सर्वसाधारणको हुने गरी लगानी संरचना तयार पारिएको छ । यसमध्ये १० प्रतिशत आयोजना प्रभावित स्थानीयबासिन्दा र बाँकी सर्वसाधारणलाइ सेयर आईपीओ निष्कासन गर्ने प्रधानले जानकारी दिए । निर्माणधिन ४५६ मेगावाटको माथिल्लो तामाकोसीबाट निस्कने पानी सिधै सुरुङमा पठाएर ९९.८ मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य लिइएको छ । आयोजनाको ८ किलोमिटर लामो सुरुङ रहेको छ ।

झापामा १ अर्बको लगानीमा मनषा चाउचाउ उद्योग सञ्चालनमा, दैनिक ७ लाख प्याकेट उत्पादन

बनियानी । झापामा १ अर्ब रुपैयाँ लागतमा चाउचाउ उद्योग सञ्चालनमा आएको छ । झापाको मेचीनगर–१४ स्थित दुवागढीमा मनषा थाई फुड्स प्राइभेट लिमिटेड सञ्चालनमा आएको हो । उद्योग सञ्चालक अजय अग्रवालले औद्योगिक क्षेत्रको विकास गर्ने उद्देश्यले चाउचाउ उद्योग सञ्चालनमा ल्याएका बताए । ‘‘सरकारले एक घर एक रोजगारीको अवधारणा ल्याएको छ, रोजगारी सिर्जनाका लागि पनि उद्योग स्थापना गरेका छौँ’’ उनले भने । उद्योग पूर्ण क्षमतामा सञ्चालन आएपछि करीब ३०० ले रोजगारी पाउने अग्रवालले जानकारी दिए । उद्योगमा पर्शुराम अग्रवाल, ओमप्रकाश अग्रवाल, गणेश प्याकुरेल र अजय अग्रवालले संयुक्त लगानी छ । मनषा थाई फुड्स मेची अञ्चलमै पहिलो तयारी चाउचाउ उद्योग रहेको सञ्चालक पर्शुराम अग्रवालले जानकारी दिए । पहिलो चरणमा उद्योगबाट उत्पादित चाउचाउ नेपालका सातै प्रदेश र भारतीय बजारमा निर्यात गर्ने लक्ष्य रहेको जनाइएको छ । सञ्चालक ओमप्रकाश अग्रवालले भने, “निकट भविष्यमै अमेरिका र अष्ट्रेलियासमेत निर्यात गर्ने योजना छ ।” उद्योगमा हालसम्मकै अत्याधुनिक प्रविधि र मेशिनको प्रयोग गरेर चाउचाउ उत्पादन शुरु गरिएको सञ्चालक गणेश प्याकुरेलले बताए। “क्षमताको हिसाबले हाम्रो उद्योग नेपालमै पहिलो हो”, सञ्चालक प्याकुरेलले भने, “उद्योगबाट दैनिक साढे सात लाख प्याकेट तयारी चाउचाउ उत्पादन गर्न सकिन्छ ।” पूर्ण प्रशोधित तरिकाले चाउचाउ उत्पादन गर्ने भएकाले एक प्याकेट चाउचाउ उत्पादन गर्न २० मिनेट लाग्ने उनले जानकारी दिए। ‘अब हर घर मग्मगाउँछ’ भन्ने मूल नाराका साथ कलाकार सीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीलाई ‘ब्राण्ड एम्बेसेडर’ रहेको उद्योगले जनाएको छ । उद्योगबाट मग मग, प्यारी, रेलिमाई, गट्टुबट्टु ब्राण्डका चाउचाउ र चीजबल, चीजरिङ, कुटुकुटु, पोटेटो क्र्याकर, कर्न फ्लेक्स, चोकोसलगायतका स्न्याक्स उत्पादन हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो । रासस

रिडी हाइड्रोपावरको असोज ७ गते बुक क्लोज, बोनस सेयर वितरण गर्ने

काठमाडौं । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आगामी असोज ७ गते संस्थाको बुक क्लोज गर्ने भएको छ । सेयरधनीलाई बोनस सेयर वितरण गर्ने प्रयोजनको लागि उक्त एक दिन कम्पनीको बुक क्लोज हुने भएको हो । कम्पनीको हालै बसेको सञ्चालक समितिको बैठकले गत आवको संचित नाफाबाट सेयरधनीलाई ६.३१५७ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । कम्पनीले कर सहित चुक्ता पुँजीको सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो । कम्पनीको उक्त प्रस्तावलाई वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् । उक्त लाभांश आगामी असोज ६ गतेसम्म कारोबार भई ७ कार्य दिन भिन दाखिल खारेजको लागि प्राप्त सेयरहरुबाट कायम रहेका सेयरधनीले मात्र पाउने कम्पनीले जनाएको छ ।

एक वर्षमा ४ अर्ब ३९ कराेडको काठ आयात

मेलेसियन काठ काठमाडौं । नेपालमा वार्षिक ५ अर्ब रुपैयाँको काठ आयात हुने गरेको छ । एक समयमा हरियो वनको धनी नेपालले पछिल्लो समयमा विदेशबाट काठ आयात गर्न थालेको हो । नै प्रति गत आर्थिक वर्षमा ४ अर्ब ३९ करोड ८९ लाख ८४ हजार ९३ रुपैँयाको काठ आयात भएको निकासी व्यापार प्रवद्र्धन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार तथ्याङक अनुसार २०७४/०७५ मा भारत, चीन, इण्डोनेशिया, मलेशिया, म्यान्मार, सिंगापुर र युक्रेनबाट काठका गोलिया, चिरान, प्लाई, झ्याल ढोकामा प्रयोग हुने फ्रेमलगायत काठजन्य वस्तु आयात भएका छन् । गोलिया, चिरान, प्लाई, झ्याल ढोकामा प्रयोग हुने फ्रेमलगायत काठजन्य सामान गरी १४ लाख ३३ हजार ८१७ किलो, ७ लाख ९१ हजार १०५ क्युफीट मिटर, ७६ करोड ६० लाख ६४ हजार ६६३ क्युफिट मिटर र २ हजार ३२६ वटा आयात भएको छ । नेपाल फर्निचर एसोसियसनका अध्यक्ष राजेश अग्रवालले भने ‘ काठको आपूर्ति व्यवस्था झण्झटिलो भएर जङ्गलमा काठ सडेर खेर जाने अवस्था छ ।’ व्यवसायीले काठ खरिद गर्दा नै महंगो मूल्य तिर्नुपर्ने मात्र हैन, खरिद प्रक्रिया नै झण्झटिलो तथा प्रक्रियामुखी भएको पनि उनले बताए । वन तथा भू–संरक्षण विभागका अनुसार नेपालका तराई र भित्री मधेशका जङ्गलमा २०० देखि ५०० वर्ष पुराना सालका रुखहरु छन् । सालका रुखबाट सबैभन्दा बढी उत्पादन लिने समय भनेको ८० वर्षमा हो ।

बुढानिलकण्ठमा नेपाल इन्भेष्टमेण्ट बैंकको एक्स्टेन्सन काउन्टर, सर्लाही शाखा स्थानान्तरण

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले काठमाडौंको बुढानिलकण्ठ नगरपालिका वडा नं. १३ स्थित चुनिखेलमा आफ्नो आठौ एक्स्टेन्सन काउन्टर खोलेको छ । उक्त काउन्टरको उद्घाटन बैंकका नायव महाप्रबन्धक विजेन्द्र सुवाल र वडा अध्यक्ष श्रीकृष्ण श्रेष्ठले संयुक्त रुपमा गरेका हुन् । बुढानिलकण्ठस्थित १३ नम्बर वडा कार्यलयमा खोलिएको काउन्टरले चुनिखेल क्षेत्रको वडा सम्बन्धी सम्पूर्ण आर्थिक कारोबार गर्न सहयोग गर्नेछ । साथै, काउन्टरले सात हजारको संख्यामा रहेका स्थानीय जनतालाई वित्तिय साक्षरता प्रदान गरी बैंकिङ कारोबारका लागि प्रोत्साहन गर्नेछ । त्यस्तै, सर्लाहीको बरहथवास्थित गुदारी बजारमा रहेको नेपाल इन्भेष्टमेण्ट बैंकको शाखालाई स्थानीय माग अनुसार इलाका प्रहरी कार्यालय अगाडि स्थानान्तरण गरिएको छ । ८० हजारको हाराहारीमा रहेका स्थानीयलाई छिटो, छरितो र उत्कृष्ट वित्तिय सेवा दिन बैंक प्रयासरत रहनेछ । सर्वसाधारणलाई सहज बैंकिङ सेवा प्रदान गर्ने उदेश्यले वित्तीय संजाल नपुगेका क्षेत्रमा शाखा विस्तार गर्ने योजना अनुसार बैंकले सेवा विस्तारको अभियानलाई निरन्तरता दिइरहेको बैंकले जनाएको छ ।

दुई कम्पनीका लगानीकर्ताले कमाए ९ प्रतिशत बढी

काठमाडौं । मंगलबारको सेयर बजार सामान्य अंकले उकालो लागेको छ । सोमबार केही अंकले घटेर थामिएको बजार मंगलबार भने २.४१ अंकले बढेर १२५८.८१ अंकमा पुगेको छ । बजार समान्य अंकले बढेपनि दुई कम्पनीको सेयर मूल्य भने ९ प्रतिशत बढीले बढेको छ । सबैभन्दा बढी अरुण काबेली पावरका लगानीकर्ताले ९.८४ प्रतिशत कमाएका छन् । संस्थाको सेयर मूल्य प्रतिकित्ता २६६ रुपैयाँ रहेको छ । त्यस्तै, अघिल्लो दिनको तुलनामा भार्गव विकास बैंकको सेयर मूल्य ९.२७ प्रतिशतले बढेर प्रतिकित्ता १६५ रुपैयाँ पुगेको छ । दिनभरको बजारमा कुल १६९ कम्पनीको सेयर कारोबार भएको छ । सो दिन १५ लाख ४४ हजार कित्ता सेयर ४५ करोड ८६ लाख रुपैयाँमा किनबेच भएको छ । सो मध्ये सबैभन्दा बढी नेको इन्स्योरेन्स कम्पनीको ३ करोड ३६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५७३ रुपैयाँ रहेको छ । त्यस्तै, बजारमा होटल, बैंकिङ र फाइनान्स समूह ओरालो लागेका छन् भने अन्य बाँकी समूह उकालो लागेका छन् । सबैभन्दा बढी निर्जीवन बीमा समूहको सूचक ७३ अंकले बढेको छ ।

गुहेश्वरी मर्चेण्टले ४ करोड २१ लाख रुपैयाँ नगद लाभांश दिने, सेयर मूल्यमा गिरावट

काठमाडौं । गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्सले सेयरधनीलाई ४ करोड २१ लाख ५ हजार ६०० रुपैयाँ नगद लाभांश दिने भएको छ । संस्थाले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट कर सहित सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव असोज १ गते बसेको सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ । हाल संस्थाको चुक्ता पुँजी ८० करोड रुपैयाँ रहेको छ । नगद लाभांशको घोषणा गरेसँगै मंगलबार संस्थाको सेयर मूल्यमा गिरावट आएको छ । संस्थाले बाेनस सेयर नदिने भएपछि लगानीकर्ताहरुमा निरासा छाएकाे सेयर मूल्यबाटै बुझ्न सकिन्छ ।